Monday, June 10, 2019

घुमिफिरी ‘फेरी’

घुमिफिरी ‘फेरी’ 
संस्कृति
पुस २१, २०७५कुलचन्द्र न्यौपाने
काठमाडौँ — यी हुन्, काठमाडौंमा फेरी (फिरी) लगाउने एक्ला कान चिरेका जोगी, अर्थात् डिल्लीनाथ योगी । कान चिरेर ठूलो बाला लगाएका, घाँटीमा हड्डी, मोती, रुद्राक्षको माला भिरेका, साइडमा झोला, रातो ज्याकेट अनि हातमा मृगको सिङको ढुम्रोजस्तो बजाउने बाजा । सत्ययुगका बाबा गोरखनाथको जस्तो भेष अहिले डिल्लीनाथको चिनारी बनेको छ ।
१६ वर्षअघि सुदूरपश्चिमी एक गाउँबाट काठमाडौं छिरेका उनी अहिले साँखुस्थित शालीनदीको महन्थ आश्रममा बस्छन् । तर, कात्तिक सुरु भएदेखि नै उनको त्यहाँ बास छैन । एक दिन झुलुक्क एउटा गाउँ/टोलमा देखिने उनी अर्को दिनभने अर्के गाउँ/टोलमा पुगिसकेका हुन्छन् ।
उनको मुख्य पेसा घरघर डुलेर फेरी लगाउने हो । उनकै शब्दमा केही वर्षअघिसम्म यो पेसा थियो, हिजोआज पुर्खादेखि चल्दै आएको संस्कृति जोगाउने धर्म बनेको छ । उनी फेरी लगाउने एक्ला जोगी भने होइनन् । तर, गोरखनाथबाट दीक्षित र कान चिरेको फेरी लगाउने जोगीमा भने ‘आफू एक्लो भएको’ उनको दाबी छ । उनको दाबीमा सही थाप्दै अर्का जोगी पद्म भन्छन्, ‘शुद्ध मन्त्र भनेर फेरी लगाउने र त्यसमा पनि कान चिरेको जोगी उहाँ मात्रै हो ।’
६० वर्षीय डिल्लीनाथ राति ९ बजेदेखि फेरी लगाउन सुरु गर्छन् । निर्धारित टोल र बस्ती नभ्याउँदासम्म चेला पदमका साथ डुलिरहन्छन् । यसरी डुल्दा राति २ बजेदेखि कहिलेकाहीं बिहानको ४ बजिसकेको हुन्छ । फेरी लगाएका घरमा बिहान ७ बजेदेखि नै सिदा थाप्न हाजिर हुनुपर्छ । फेरी लगाउन कात्तिक लागेदेखि नै सुरु हुन्छ र फागुनसम्म चल्छ ।
फेरीको आफ्नै कहानी छ । यसको सुरुआत सत्ययुगबाटै भएको मानिन्छ । इतिहास भन्छ— यसको प्रचलन गोरखनाथ बाबाबाट सुरु भएको हो । सत्ययुगमा राक्षसी जगजगी थियो । देवताहरू त्राहीमाम थिए । त्यसबाट बचाउन गोरखनाथ बाबा आफैंले घरघरमा पुगेर फेरी लाउन थाले । आफूपछि कान चिरेका जोगीलाई उत्तराधिकारी रूपमा उनले सुम्पेपछि जोगीले फेरी लगाउन थालेका हुन् भन्ने किंवदन्ती छ ।
डिल्लीनाथ योगी आउनुअघिसम्म महन्थ आश्रममा गुरु थिए— गंगानाथ योगी । आफूपछि फेरी लगाउन उनले डिल्लीनाथ योगीलाई सुम्पे । ९ वर्षअघि गंगानाथको देहान्त भयो । त्यहाँबाट डिल्लीनाथ आश्रमका मुख्य हर्ताकर्ता छन् । आश्रममा एक दर्जन जोगी छन्, सबै फेरी नै लगाउँछन् ।
जोगीहरूले फुक्ने विशेष प्रकारको बाजा मृगको सिङ हो । यस्तो प्रकृतिको बाजा अहिले दुर्लभ छ । कतिपय जोगीहरू यस्तो बाजा नपाएर शंख फुक्ने गर्छन् । ‘वर्षभर नै भूतप्रेत नलागोस्, कुनै छेद नलागोस् भनेर मन्त्रसहित यो बाजा बजाउने गरिन्छ,’ उनी भन्छन्, ‘यो पवित्र स्वरले घर र गाउँलाई शान्ति दिन्छ ।’
फिरी लगाउने जोगीलाई विशेष महत्त्वका साथ धान, चामल, तरकारी, नगदसहित सिदा दिने चलन गाउँमा छ । कतिपय गाउँमा वर्षमा दुई पटक धान र गहुँ छुट्टाएर राख्ने प्रचलन हुन्छ । ‘यसरी उठाएको सिदाको थोरै
अंश गोरखनाथलाई भोग चढाउँछौ, कर बुझाउँछौं,’ डिल्लीनाथ भन्छन्, ‘अनि बल्ल गोरखनाथ बाबाबाट
आशीर्वाद पाइन्छ ।’ प्रकाशित : पुस २१, २०७५ ०८:५९

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...