Monday, June 10, 2019

गणतन्त्रको जग : माघ १९

गणतन्त्रको जग : माघ १९
सामयिकी
माघ १९, २०७५
किशोर नेपाल
काठमाडौँ — माघ १९ ले सिर्जना गरेको आतंक अब हामी नेपालीले भोग्नु नपर्ला । अथवा हामीले त्योभन्दा ठूलो आतंकको सामना गर्नुपर्ला । अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे । माघको महिनामा जाडोको अनुभूति कम हुन्छ । चिसोको दबाब कम भएको हुँदैन । चिसो बढी नै भए पनि त्यो दिन देशको प्रमुख आध्यात्मिक थलो स्वर्गद्वारी प्रवेशद्वारको रूपमा रहेको प्यूठान जिल्लाको भृंगृ बजारको बिहान निकै उज्यालो र सुमधुर थियो । पश्चिमबाट पूर्वतिर बगिरहेको माण्डवी नदीको आवाजले वातावरणलाई अझै रमाइलो बनाएको थियो ।
प्यूठान र रोल्पाको सिमानामा रहेको, सानो र सुन्दर भृंगृ बजारले यस भेगका करिब साठी हजार जनसङ्ख्यालाई व्यापारिक सेवा पुर्‍याउँदै आएको थियो । सरकारले माओवादी विद्रोहीलाई निरुत्साहित गर्न व्यापारमा कठोर नियन्त्रण लगाएकाले उपभोक्ताको सेवाको अवस्था थिएन । सरकारी कारबाहीले प्यूठान र रोल्याका झन्डै बाह्रवटा गाउँहरू व्यापारविमुख बनेका थिए । चामल यहाँका जनताको मुख्य आवश्यकता हो । तर, प्रशासनले यो क्षेत्रमा चामलको व्यापार सीमित गरेको थियो । व्यापारीले चालीस क्विन्टल चामल ल्याउने अनुमति पाए पनि सुरक्षाले त्यो अनुमतिलाई मान्यता दिंदैनथ्यो । त्यतिबेला व्यापारीहरूले सरकारले दिने पीडा मात्र होइन, विद्रोहीले दिने पीडा पनि समान रूपले भोगेका थिए । यतिबेला ती व्यापारीहरू त्यो पीडालाई सम्झन चाहँदैनन् ।
२०६१ माघ १९ गते बिहान भृंगृका सामान्य नागरिक, राजनीतिकर्मी, पर्यटन व्यवसायी र व्यापारीहरू चन्द्रेश्वर प्राथमिक शिक्षालयको आँगनमा जम्मा भएका थिए । म उनीहरूसँग जनताले दिनहुँ भोग्नुपरेका हिंसात्मक द्वन्द्वका समस्या र विकासका सम्भावनावारे छलफल गर्दै थिएँ । बजारबाट उपभोग्य वस्तुहरूको ओसार–पसारमा सुरक्षाफौजले गर्ने रूखो हस्तक्षेप त्यतिबेला जनताले भोगिरहेको मुख्य समस्या थियो । उनीहरू यो समस्यालाई सोझै र स्पष्ट शब्दमा सुरक्षाफौजसँग जोडेर प्रस्तुत गर्न हिच्किचाइरहेका थिए । सुरक्षाको ज्यादतीको कुरा गर्दा सरकारी पक्षले माओवादीको आरोप लगाउने त्रास सबैको अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यो त्रासलाई लुकाउन खोज्दै, घुमाउरो भाषामा, अड्किई–
अड्किई समस्याको गाँठो फुकाउन खोज्थे व्यापारीहरू :
चार पोका चाउचाउ र चार किलो चिनी ल्याउन पनि पाएका छैनौं हामी व्यापारीले औषधिको नाममा सिटामोलको गोली सामान्य उपभोगका सामान ल्याउँदा पनि प्रशासनको सिफारिस चाहिन्छ त्यो सिफारिसका लागि हामीले बेग्लै कष्ट खेप्नुपर्दछ यस्तो अवस्थामा के उन्नति हुन्छ?फौजी ब्यारेकमा बस्ने अल्लारे र उरन्ठेउला सिपाहीहरूका कारण आफ्नो सामाजिक प्रतिष्ठा छिन्नभिन्न हुने चिन्ता र आशंकामा डुबेका थिए बजार क्षेत्रका भलाद्मीहरू । उनीहरू साँझ–बिहान लामाटारको बाटो हिंड्ने छोरी– बुहारीहरूको इज्जत सुरक्षित नभएको गुनासो गर्दै थिए : हाँस्ने–बोल्नेसम्मको कुरासँग उनीहरूको परहेज थिएन । तर, खानतलासीका नाममा गरिने अभद्र व्यवहारका कारण समस्या उत्पन्न हुने डरले सबै तर्सिएका थिए । असुरक्षित खालको सुरक्षा व्यवस्थाले सबैलाई चिन्तामा पारेको थियो । चिन्ताको अर्को पाटोमा विद्रोहीहरू थिए । मानिसको हैसियत नै नहेरी दस हजारदेखि पचास हजारसम्म चन्दा तोक्ने, चन्दा नदिए हात–गोडा भाँचेर अपांग बनाइदिने, अपहरण गर्ने र घरबास नै छाडेर हिंड्नुपर्ने अवस्थामा पुर्‍याइदिने †
बाटो–घाटो, टेलिफोन, नहर–कुलो र विकासका अन्य विषयहरूमा विद्रोहीहरूको निरन्तर हस्तक्षेप र अवरोध कसैलाई पनि मन परेको थिएन । विकासका काममा आएको रकमको हिस्सा खोज्ने र हिस्सा नपाए काम रोक्ने † उनीहरूको व्यवहारसँग मानिसहरू आजित भएका थिए । यो पनि खुलेर बोल्न सक्ने विषय थिएन । विद्रोहीको चर्चा गर्दा सुराकीको आरोप लाग्ने पीर †
बिहान ढल्किन थालेपछि छलफललाई निष्कर्षमा पुर्‍याउँदै सहभागीहरू भन्दै थिए,
बल प्रयोग गरेर माओवादी समस्या समाधानको छेउ– टुप्पो केही फेला पर्दैन यसका लागि दुवै पक्षले वार्तामा आउनैपर्छ वार्ता र सहमतिबाटै यो समस्यालाई टुंग्याउनुपर्दछ दुईथरी बन्दुकको चेपमा चेपिएर हामी कति दिनसम्म बाँच्न सक्दछौं ?
छलफलको अन्त्यमा टुप्लुक्क आइपुगे, जनमोर्चाका स्थानीय नेता थम्मन बुढामगर । उनले भने,
अहिले भर्खर रेडियोबाट शाही घोषणा भएको छ राजाको रोडम्याप आएको अब २०४६ को जनआन्दोलनको उपलब्धि बहुदलीय प्रजातान्त्रिक पद्धति पनि गएजस्तो
सुनेर म झसंग भएँ । थम्मन आफैंले शाही घोषणाका केही अंश मात्र सुनेका थिए । त्यत्तिकै भरमा कुनै निष्कर्ष निकाल्न सकिने थिएन । यता भेलाका सहभागीले शाही घोषणाको बारे खासै उत्साह देखाएर सोधखोज पनि गरेनन् । कार्यक्रममा शाही घोषणाको उल्लेख हुनेबित्तिकै उनीहरूको अनुहार चकमन्न बन्यो । थम्मनले विचार राखेपछि मैले छलफल कार्यक्रम टुंग्याएँ ।
म र मेरा साथीहरूमा शाही घोषणा सुन्ने उत्सुकता प्रबल थियो । हामीलाई थाहा थियो, सरकारी सञ्चार माध्यमहरूले शाही घोषणा अविरल प्रसारित गर्नेछन । भृंगृबाट फर्कंदा शाही घोषणा सुन्ने अवसर हामीलाई कतै मिलेन । हामीसँग भएको सानो एफएम रेडियोले रेडियो संकेत टिप्न सकिरहको थिएन । हामीले एफएम प्रसारणमा रोक लागेको अनुमान नै गरेनछौं । लामाटार ब्यारेकबाट केही पर रहेको एउटा पसलमा रेडियो घन्किरहेको थियो । हामी केही बेर पर्खेर भए पनि रेडियो सुन्ने नियतले त्यहाँ रोकियौं । हामीलाई देख्नेबित्तिकै पसलेले रेडियो र पसल एकसाथ बन्द गरे । उनको व्यवहार हामीलाई अनौठो लाग्यो । हामीले उनीसँग रेडियो सुन्न दिने आग्रह गर्दा नगर्दै उनी माण्डवी नदी किनारको ओरालो ओर्लिसकेका थिए । पहाडमा मानिस देख्नेबित्तिकै पसल बन्द गरेको हाम्रा लागि यो पहिलो अनुुभव थियो । हामी चकमन्न बजार, वस्ती र सडक काटेर भालुबाङतिर लाग्यौ । झिमरुकदेखि भालुबाङसम्मको बाटो पूरै सुनसान थियो । त्यतिखेर प्यूठानको यो भागमा माओवादीहरूको बन्द चलिरहेको थियो । बन्दका कारण बजारहरू खुलेका थिएनन् । जनताले बन्दलाई सदाझैं सहज रूपमा लिएका थिए । जीवन सामान्य थिएन । सार्वजानिक यातायात पूरै बन्द थियो ।शाही घोषणाबारे हाम्रो उत्सुकता भालुबाङमा पनि मेटिन सकेन ।
हामी निर्धारित कार्यक्रम छोट्याएर भालुबाङबाट बुटवलतिर लाग्यौं । परिवर्तित सन्दर्भमा शाही घोषणाका प्रस्तावहरूका बारे थाहा नपाएसम्म यात्रा जारी राख्नु निरर्थक हुन्थ्यो भन्ने बोध हामीलाई छिट्टै भयो । गोरुसिंगे कटेपछि मोबाइल चल्ने आशा थियो । त्यहाँ पुगेपछि थाहा भयो, बिहानैदेखि सञ्चारका सबै मार्गहरू अवरुद्ध छन् । भालुबाङदेखि बुटवलसम्मको सडक लगभग सुनसान थियो । हामी झमक्क साँझ पर्दा बुटवल पुग्यौं । बल्ल हामीलाई राजाको सम्बोधन सुन्ने अवसर प्राप्त भयो ।
सम्बोधन सुन्यौं । त्यसलाई भावुक शब्दहरूले सिंगार्ने कोसिस गरिएको थियो । विद्रोहका कारण उब्जिएका सबै समस्याहरूलाई शब्दमा समेटिएका थिए । तर, ती शब्दहरूले कतै पनि सम्बोधनको अभिप्राय स्पष्ट पार्न सकेका थिएनन् । माओवादी विद्रोहको परिस्थितिप्रति देखाएको निरपेक्षताका कारण राजनीतिक दलहरूसँग जनताले गर्ने गरेका गुनासा र असन्तुष्टिहरूलाई राजाको सम्बोधनले सकेसम्म बढी समेट्ने प्रयास गरेको थियो । सम्बोधनले यिनै गुनासा र अस्न्तुष्टिहरूलाई अभियोग बनाएर दलहरूको चर्को आलोचना गरेको थियो । राजाको सम्बोधन बहुदलीय व्यवस्थाप्रति पूर्ण असहमतिको अभिव्यक्ति थियो ।
घोषणाको परिणाम
लगत्तै नागरिक अधिकारहरू निलम्बित भए । जनता सञ्चार सम्बन्धबाट अलग गरिए । सूचनाको अधिकार धराशायी भयो । संगठित क्षेत्रका रूपमा विकासका शृङ्खलाहरू उक्लिंदै गरेका सञ्चार–माध्यमसँग सम्बन्धित सबै संस्था घेराउमा परे । मोबाइल फोनमा रोक, छापामा सेन्सरसिप, एफएम रेडियोहरूको सूचनामूलक प्रसारणमा सुरक्षाकर्मीहरूको ठाडो हस्तक्षेप शाही घोषणाका तात्कालिक परिणाम थिए । सुरक्षा निकायका साना–ठूला अधिकारीहरू आफ्नो हातमा शासनको जिम्मेवारी आएको दाबी गर्न थाले । नागरिक प्रशासन प्रभावशून्य भयो ।
प्रारम्भमा माओवादी विद्रोहबाट आजित भएको दाबी गर्ने सहरियाले राजाको कदमप्रति खासै असन्तोष व्यक्त गरेको पाइएन । शाही घोषणापछि गिरफ्तार भएका दलका साना–ठूला नेताहरूप्रति पनि जनताको खासै सहानूभूति देख्न पाइएन । नागरिक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक र गैरव्यावसायिक संघ–संस्थाहरूले तत्काल स्वत:स्फूर्त विरोधको संयोजन गर्न सकेनन् । प्रजातान्त्रिक शासन पद्धतिप्रति जनताको विमति थिएन । राजाबाट हिंसात्मक द्वन्द्वको समाधान निस्किहाल्छ कि ? झिनो आशाले सबैलाई अल्झाएको थियो ।
शाही घोषणाको लगत्तैपछि विभिन्न शहरमा दिपावली भए भने देशकाअसंख्य बजार र बस्ती अँध्यारै रहे । शाही घोषणाको प्रतिरक्षाका लागि देशमा संकटकाल घोषणा भयो । यसले माओबादी बिद्रोहीले आह्वान गरेको फागुन १ गतेदेखिको अनिश्चितकालीन नेपाल बन्दलाई निष्प्रभावी तुल्याउन सकेन । माओबादीहरूले लेउती खोलाछेउको सडकमा पर्खाल उठाएर अवरोध खडा गरेकाले धनकुटा जाने यात्रुहरू भेडेटारबाट तल ओर्लिन सकेनन् । महेन्द्र राजमार्गको कानेपोखरी–दमक खण्डमा राखिएका धराप र दुई पक्षको झडपका कारण झापा पहुँचबाहिर पर्‍यो । चितवनबाट पश्चिम बुटवलसम्म राजमार्गमा सयौं क्विन्टल गोलभँेडा फालिए । यातायात अवरोधका कारण बजार पुर्‍याउन नसकेपछि कुहिन थालेका गोलभेँडा सडकमा फाल्नुको विकल्प किसानहरूसँग थिएन । बुटवलबाट पश्चिम, महेन्द्र नगरसम्म अवस्था अझै कष्टकर थियो । मेचीदेखि महाकालीसम्म, राजमार्गको सुरक्षा व्यवस्था सचेत र सजग भएको शाही सरकारले दाबी गरे पनि यातायात सेवा ठप्प रह्यो । राजमार्ग छेउका बजारहरू फाटफुट खुलेका थिए । मानिसको चहलपहल भने शून्य थियो । बन्दको बेलामा राजमार्गमा चलाइने सवारी साधनलाई सुरक्षा दिइने व्यवस्था भएपनि व्यवसायीहरू जोखिम उठाउन तयार थिएनन् । राज्य आफैँ युद्धरत रहेका बेला राज्यको सुरक्षा घेराभित्र रहेर यात्रा गर्दा आइपर्ने खतराका सामना गर्न कोही तयार थिएन । नारायणघाटमा एक जना यात्रु भन्दै थिए,
सुरक्षा घेराभित्रको यात्रा झन् खतरनाक हुन्छ भर्खर शाही घोषणा भएको विद्रोहीहरूले यतिबेला झन धेरै धराप थापेका होलान् यस्तो अवस्थामा कतिबेला के हुने हो पत्तै हुँदैन
माथिका विवरणहरू काल्पनिक कथा होइनन् । यो हाम्रो जीवनको यथार्थ हो । अहिले यस्तो लाग्दछ, मात्र चौध वर्षअघिका यी कठोर अनुभव हामीले बिर्सिइसकेका छौं । संसारभर इतिहासकार, सिनेकर्मी, कलाकार, साहित्यकार आ–आफ्नो देशले भोगेका अमानवीय परिस्थितिको अभिलेख पुस्तक, सिनेमा, नाटक, कविताजस्ता प्रभावकारी माध्यम मार्फत तयार पारिरहेका छन् । हामी भने ती कालखण्डलाई बिर्सिइरहेका छौं । हामी सामान्य कुरामा रमाइरहेका छौ । यो नै हाम्रो दुर्गतिको कारण हो । गति भनेको चेतना हो । हामीमा यो चेतनाको सर्वथा अभाव छ ।
माघ १९ राजाको इन्कार थियो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति । २०४६ को राष्ट्रिय जन–आन्दोलन मार्फत जनताले अभिव्यक्त गरेका विधिका शासनविरुध्द प्रहार थियो । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे ।
अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । तर, माघ १९ को रचनात्मक विरोध हुनुपर्दछ जसले जुनसुकै प्रकारको एकाधिकारवादी, तानाशाही शासन प्रणालीप्रति जनतालाई सजग बनाओस् ।
देशको राजधानी शहरका अँध्यारा कोठाहरूमा गणतन्त्रविरुद्धका खेलको प्रायोजन भइरहेको छ । यस्तोमा, देश राजनीतिक खतराबाट मुक्त छ भन्न मिल्दैन । नेपालमा राजनीतिक संस्कार छैन । यस्तोमा भन्न सकिन्न सत्ताको मोहमा परेका मानिसले कस्तो षड्यन्त्र रच्नेछन् ? राजनीतिक दलहरू पनि कतै यो षड्यन्त्रको वृत्तमा त छैनन् ? प्रश्न जायज हो । सत्ताका लागि दल टुक्य्राउने परम्परा छ देशमा । यति भन्न सकिन्छ सबै कुरा शत–प्रतिशत प्रमाणित छैनन् । यस्तो अवस्थामा जनता सचेत रहने हो भने कुनै पनि षड्यन्त्र सफल हुन सक्दैन।
Kantipur प्रकाशित : माघ १९, २०७५ १२:००

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...