Monday, June 10, 2019

आज चाख्नुहोस् चाकु

आज चाख्नुहोस् चाकु
माघे संक्रान्ति
माघ १, २०७५
सुनीता साखकर्मी
काठमाडौँ — तराईमा माघे संक्रान्तिसम्बन्धी एउटा भनाइ छ– ‘खिचडी के चार यार– दही, पापड, घी, अचार ।’ अर्थात्, दही, पापड, घ्यू र अचार खिचडीका चार साथी हुन् । माघे संक्रान्तिको दिन तराईमा खिचडीमा तिल पनि हाल्ने चलन छ ।
माघे संक्रान्तिमा तराईमा मात्रैनभई प्राय: मुलुकभर नै विभिन्न परिकार खाने परम्परा छ । सबैजसो जाति–समुदायले आआफ्नै नाममा मनाउने गरे पनि यो चाडका बेला खाइने परिकारहरूले शरीरलाई अत्यावश्यक ऊर्जा दिने गर्छन् ।
सप्तरीकी गीता चौधरीका अनुसार, तराईमा माघे संक्रान्तिलाई ‘तिला संक्रान्ति’ पनि भनिन्छ । थारू समुदायले यसलाई माघी पर्वका रूपमा मनाउने गर्छन् । ‘संक्रान्तिमा तिलका विशेष परिकारहरू बन्ने भएकाले पनि यसको यो नाम रहन गएको हुन सक्छ,’ उनले भनिन्, ‘हाम्रोतिर यो बेला नुहाउनदेखि खानामा र आगो ताप्दा पनि तिलकै प्रयोग गरिन्छ । तराईमा यो दिन तिल, चामल र सक्खर राखेर बनाइने खिचडी विशेष मानिन्छ ।’ गीताका अनुसार, तराईमा संक्रान्तिको दिन बिहानै तिल हालेकै पानीले नुहाइधुवाई गरी तिल, मुरही र चिउराको लड्डु, तिलै हालेको खिचडी, तिलका रोटीहरू, तरुवा (तरुलको परिकार) लगायत खाने गरिन्छ ।
‘तराईमा सेतोभन्दा पनि कालो तिल मिठो मानिन्छ । यी परिकार पाकेपछि सबैभन्दा पहिले देवतालाई चढाइन्छ, अनि मात्रै मान्छेले खान्छौँ,’ केही वर्षयता ललितपुरको टीकाथलीमा बस्दै आएकी उनले भनिन्, ‘घुँगी, माछा, मासु, गंगटालाई पकाएर खाने चलन छ ।’
यस्ता परिकारहरू खानाले ‘जाडो याममा शरीरमा चिसो लाग्न नदिने र रोगव्याधिबाट बचाउने’ मान्यता छ । ‘सप्तरीमा तरुल नपाइने हुनाले यो खाने चलन थिएन,’ उनले भनिन्, ‘त्यसको बदला सखरखण्ड (सुठुनी) खान्थ्यौँ । तर टीकाथलीमा बस्न थालेदेखि यो दिन
तरुल पनि खान थालेका छौँ । देशअनुसारको भेष !’
माघे संक्रान्तिका बेला तराईमा गाउँघरतिर मुखिया चुन्ने कार्यक्रम पनि हुन्छ । पहिलेको ऋण चुक्ता गरी नयाँ लिने चलन पनि थारूहरूमाछ । ‘यो दिनमा विवाहित वाअविवाहित छोरीबेटीलाई चामल, दाललगायत निचरो दिने चलन पनि छ,’ गीताले सुनाइन् ।
मगर समुदायकाले माघे संक्रान्तिलाई ‘माघे संकराई’ भन्ने गर्छन् । संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार, मगर जाति आदिवासी भएको हुनाले यो दिन कन्दमुल, पिँडालु, वन तरुल, घरतरुल खाने चलन छ । ‘प्राकृतिक रूपमा पाइने दालबाली, तरुल, जौजस्ता अर्गानिक खानेकुरा खाइन्छ । संक्रान्तिको दिन जौको फूल टाउकोमा सिउरिने चलन पनि छ,’ उनले भनिन्, ‘यो दिन खोलामा गई माछा मार्ने, सुंगुर/राँगाजस्ता घरपालुवा जनावर काट्ने वा वन गई मृग मारी खाने चलन पनि छ, मगर समुदायमा ।’
बमकुमारीका अनुसार, मगर समुदायमा असारदेखि पुससम्म गरिने नाचगान यही माघे संक्रान्तिपछि अर्को असारसम्मका लागि औपचारिक रूपमा बन्द गर्ने परम्परा छ । योबीचको अवधि नयाँ पुस्तालाई सिकार गर्न सजिलो होस् भनेर ‘तारा खेल’ को अभ्यास गराइन्छ । ‘माघ महिनाको सुरुमा तारा खेल सिकेर गर्मी महिना सिकार खेलेर बिताइन्थ्यो,’ उनले सुनाइन् ।
संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार, यो बेला किरातीहरूको मेनुमा भने तरुल, माछा, मासुलगायत ‘झोले वा’, ‘वाचिप्पा’ पर्छन् । सामान्य कोदोको जाँडरक्सीलाई घ्यू र तेलमा मरमसलासँगै झानेर ‘झोले वा’ बनाइन्छ । वाचिप्पा चाहिँ कुखुराको सानो प्वाँखलाई पोलेर त्यसको धुलोमा पखेटा, खुट्टा, भित्र्यांश मिसाई भातसँग पकाएर बनाइन्छ ।
‘पहिले गाउँघरमा जंगलतिर गई सिकार गरेर मासुको व्यवस्था गरिन्थ्यो,’ तीर्थराजले भने, ‘विभिन्न किसिमका तरुलहरू पोलेर खाने चलन थियो । पोल्दा कालो भएको तरुलको बाहिरी भागलाई टीकाको रूपमा लगाउने गरिन्थ्यो । अहिले तरुल उसिनेर खाने गर्छन्, जताततै ।’
उनका अनुसार, संक्रान्तिको दिन चामलसित सिलाम र सेल खाने गरिन्छ । त्यस्तै गहतको झोल र मुलाको सिन्कीले पनि शरीरलाई न्यानो दिने उनले बताए ।
नेवारलगायतका विभिन्न समुदायमा जाडोमा चाकु, तिलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने प्रचलन छ । सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक भएको पोषणविद् डा. अरुणा उप्रेतिले सुनाइन् । जाडोमा चाकु, घ्यू, तिल, खिचडी, मासको दाल, तरुलजस्ता खानेकुरा पौष्टिक हुनुका साथै यसमा भएका विभिन्न पदार्थले शरीरलाई ऊर्जा दिन्छन् । अरुणाका अनुसार, चाकुमा पर्याप्त मात्रामा क्याल्सियम र आइरन हुन्छ भने तिलमा भिटामिन ए, सूक्ष्म पोषणतत्त्व आदि पाइन्छन् ।
‘हामीले खाने कालो तिलमा बढी आइरन हुन्छ । तिलको तेल छालाको लागि पनि राम्रो हुन्छ,’ उनले भनिन्, ‘सन् २००६ मा अमेरिकामा भएको बायोलोजिकल अनुसन्धानमा तिलको तेलको प्रयोगले ब्लड प्रेसर घटाउन मद्दत गर्ने निश्कर्ष निकालिएको थियो ।
त्यस्तै, महिनावारी सुकिसकेका महिलामा हर्माेन उत्पादनको लागि र गर्भवतीका लागि पनि तिल लाभदायक छ । शरीरलाई चाहिने क्याल्सियम र म्याग्नेसियम, भिटामिन ए, पोटासियम पनि हुने भएकोले तिल कोलेस्ट्रोल घटाउनसमेत उपयोगी हुने गर्छ ।’
तरुलमा कार्बाेहाइड्रेड र अन्य सूक्ष्म पोषकतत्त्व हुने भएकोले यसलाई उसिनेर वा तरकारीको रूपमा जुन हिसाबले खाए पनि शरीरलाई ऊर्जा मिल्ने उनले बताइन् । तरुल रेसादार पदार्थ भएकोले यसमा प्रोटिन, फाइबर र भिटामिन ‘डी’ को मात्रा बढी हुने उनले जनाइन् ।
‘कति जनाले यसलाई गुलियो आलु भन्ने गरेका छन्,’ अरुणाले भनिन्, ‘नेपालकै चेपाङ समुदायले पनि तरुल खान्छन् । अफ्रिकामा पनि यो खाइन्छ ।’ प्रकाशित : माघ १, २०७५ ०८:१०

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...