यले संवत्को संवर्द्धन
अस्तित्व र अधिकार खोजी गर्ने क्रममा किरात राजा यलम्बर सम्झनेहरू बढ्दै गएका छन् ।
माघ १, २०७५
अर्जुन जम्नेली राई
काठमाडौँ — नेपालको इतिहासमा किरात राजा यलम्बर खिएर सकिन लागेको अवस्थामा भेटिन्छन् । अस्तित्व र अधिकार खोजी गर्ने क्रममा यलम्बरको सम्झना गर्नेहरू बढ्दै गएको देखिन्छ । जानी–नजानी प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन हाङ यलम्बरको तस्बीर राखेर स्मरण गर्ने चलन व्यापक बन्दैछ ।
यो माघ १ मा ५०७९ सुरु भएको छ । पूर्वी नेपालमा बसोबास गर्दै आएका किरातीले माघ १ गतेलाई नयाँ संवत् (नयाँ वर्ष) का रूपमा मनाउने गर्छन् । यस दिन किरातीहरू राई, लिम्बु, याक्खा र सुनुवारहरूले आआफ्नै अनुकूलतामा कार्यक्रम गरेर शुभकामना आदान–प्रदान गर्छन् ।
किरातहरूले आफ्नो पुर्खाले जंगली अवस्था पार गरेर कृषि युगमा प्रवेश गरेको दिनका रूपमा समेत माघ १ लाई सम्झने गर्छन् । विभिन्न खाले तरुल, गिठ्ठा भ्यागुर उसिनेर खाने चलन छ । तरुल डढाएर टीका लगाएर जंगली युग सम्झने पनि गरिन्छ ।
यले संवत् सुरुवात
किरातकालीन प्रथम राजा हाङ यलम्बरको सम्झनामा यले संवत् सुरु भएको हो । यसलाई लिम्बुले यले तङ्बे, राईले यले दोङ, सुनुवारले यले थोचे भन्ने गर्छन् । हाङ यलम्बरले शासनसत्ता सञ्चालन सुरु गरेको समयदेखि यो संवत् गणना हुन्छ । इतिहास अनुसार जंगलै–जंगलले ढाकेको वर्तमान १ नम्बर प्रदेशलाई किराती पुर्खाले आवाद गरेका थिए ।
तिनै किरातहरूले वर्तमान राजधानी काठमाडौंमा महिषपालवंशी राजालाई पराजित गरेर शासनसत्ता स्थापित गरेका थिए । यलम्बरले सुरु गरेको किरातकाल ३२ पुस्ता गरी १९०३ वर्षसम्म चलेको बताइन्छ ।
किरातहरूको सामाजिक संस्थाहरूले हाङ यलम्बरले शासन सुरु गरेको मितिलाई आधार मानेर यले संवत् गणना गर्दै आएका हुन् । तर विभिन्न अध्ययनले किरात राजाहरूको नाम तथा उनीहरूले शासन चलाएका वर्ष हिसाब गर्दा यले संवत् नमिलेको भनी तर्क गर्दै आएका छन् ।
यले संवत्को प्रचलन
पहिचान सम्बन्धी चेतना खुलेका आदिवासी किरात समुदायद्वारा प्रकाशित संस्थागत मुखपत्र, पत्रपत्रिका तथा कार्यक्रममा लामो समयदेखि यले संवत् उल्लेख हुँदै आएको पाइन्छ । राई, लिम्बु, याक्खा र सुनुवार जातिको सामाजिक व्यक्तिहरूले यले संवत्लाई आन्तरिक कार्यक्रमहरूमार्फत प्रचलनमा ल्याउने प्रयास गरेको देखिन्छ ।
सरकारी तवरबाट भने गोरखापत्र दैनिकले गणतन्त्र स्थापनापछि २०६४ सालमा सुरु गरेको ‘नयाँ नेपाल’ पृष्ठमा यले संवत् उल्लेख गर्यो । यस अघि सुनसरीको धरानबाट प्रकाशन हुँदै आएको औजार दैनिक पत्रिकले केही वर्षसम्म यले संवत् उल्लेख गरेका थिए । २०७२ मा संसद्मा यले (यलम्बर) संवत्को पहिचान हुनुपर्ने आवाज उठेपछि सरकारले यसलाई किरात संवत् भनी सूचीकृत गरेको छ ।
क्यालेन्डर निर्माणको दायित्व
बढ्दो विश्वव्यपीकरणसँगै नेपालका भाषा, लिपि, धर्म, संस्कार, उत्पादित सामग्रीमा आएको नकारात्मक प्रभावले यले संवत्लाई पनि छोएको छ । लेख तथा पुस्तकमा विक्रम संवत् नभएर इस्वी संवत् लेख्ने क्रम बढ्दो छ । विदेशीलाई बुझ्न र बुझाउन सजिलोका लागि पनि इस्वी संवत् राख्नैपर्ने बाध्यता बनेको हो ।
तर प्रदेश १ को सरकारले यले संवत्लाई आधिकारिक क्यालेन्डर निर्माण गरेर प्रचलनमा ल्याउन सक्छ, ल्याउनुपर्छ । यो प्रदेशमा यले र इस्वी संवत् चलाउँदा उपयुक्त हुन्छ । यसमा सरोकारवालाको सिर्जनात्मक पहलकदमी जरुरी छ ।
लेखक किराती राष्ट्रिय मुक्तिमोर्चाका महासचिव हुन् । newsjamneli@gmail.com प्रकाशित : माघ १, २०७५ ०७:५०