Tuesday, June 11, 2019

सात साल, कानुन र बीपी

सात साल, कानुन र बीपी
समय रेखा
फाल्गुन ११, २०७५अभि सुवेदी
काठमाडौँ — फागुन सात । म सात सालमा लिम्बुवानको एउटा गाउँमा एक नाबालक थिएँ । केही सम्झना छन् । यो दिनले इतिहास विस्मृति होइन भनेर झक्झकाउने काम सधैं गरिआएको छ । मेडिकल क्षेक्रबाट लिइएको शब्द ‘एम्नेसिया’ वा बिर्सिने अथवा शत्तिमा हुनेले इतिहास बिर्साउने काम गर्ने विषयमाथि अध्ययन भएका छन् ।
तर २००७ फागुन ७ गते त्यस्तै विस्मृतिमा पर्दै गएको कुरा बुझिनसक्नु छ । यसबारे नै केही कुरा लेख्न बसेको छु । कानुनको विषयमा लेख्दा हामीले साहित्य सिद्धान्तको दृष्टिले नै लेख्ने हो । भर्खरै कानुनको विषयमा पश्चिमी साहित्यशास्त्री र विचारकका बहसको विषयमा छलफल गरेको थिएँ ।
ज्याक डेरिडा र आगाम्बेनका कानुन सम्बन्धी धारणा, झँ पोल सार्त्र र मिसेल फुकोका कानुन र इतिहास विषयका बहस । यस्तै थिए प्रसङ्ग । तर यो मेरो निबन्ध हो, जसमा फागुन ००७ भन्ने एउटा पद, साहित्यिक भाषामा भन्दा एउटा लक्षणा अनि नेपालीले सम्झिने र सम्झिनैपर्ने इतिहासको अभिव्यञ्जनाले मलाई अर्थहरूका ढोका खोलिदिएको भान भएको छ ।
ती सबै कुरा गर्ने ठाउँ नभएकाले कानुन भन्ने विषय र यसको प्रजातन्त्रसँगको सम्बन्धबाट पसेर केही कुरा राख्न चाहन्छु । बीपी कोइरालाको ‘अदालतको बयान’ (२०३६, २०६९) यसमा सबैभन्दा वाचाल आलेख हो । मैले यस बयानबाट नेपाली प्रजातान्त्रिक चेतनाको मूलमन्त्र समातेको छु । त्यो राजनीतिक सिद्धान्तका छलफलमा नभएर कानुनका दृष्टिले प्रस्तुत भएको छ ।
यो विषयमा छलफल र विश्लेषण खोजेंँ । तर खासै नभेटेको अवस्था हो । २००७ साल नेपाली जीवनमा, चेतनामा, विश्वसँग नेपालको सम्पर्क खोलिदिने सबभन्दा महत्त्वपूर्ण ऐतिहासिक
घटना हो । यसको भित्री अर्थ कानुनको माध्यमबाटहेर्न सकिन्छ ।
इतिहासको कुरा आउँदा मानिस एउटा कुनै कालक्रमभित्र पस्छन् । सबैले पस्ने कोणहरू हुन्छन्, इतिहासमा । भारतीयहरू १९४७, अनि भारत र पाकिस्तान विभाजन भनेर पस्छन् । चिनियाँहरूका आफ्नै पस्ने ठाउँ हुन्छन् । जापानीहरूको इतिहासभित्र पस्नेआफ्नै कथा छ । तोकुगावा साम्राज्यले विश्वबाट अलग राखेको जापानलाई सन् १८५६ मा अमेरिकी कमडोर पेरीले चारवटा काला जहाज धर्ना राखेर समुद्रबाट आवागमन खोलेका थिए ।
तोकुगावा शासन त्यसको केही वर्षपछि अन्त्य भएर मेजीको शासन आरम्भ भएको जापानीहरूको इतिहासभित्र पस्ने सबभन्दा उत्तेजक मोड थियो भन्ने मैले टोकियो विश्वविद्यालयमा अनुसन्धानको सिलसिलामा काम गर्दा प्राध्यापक र विद्यार्थीहरूको नजिकबाट बुझेको थिएँ । जापानको प्रसङ्ग यहाँ ल्याउनुको कारण सोझै छ । सम्वत् २००७ सालले हामीलाई विश्व खोलिदिएको हुनाले नेपालको इतिहासमा योजस्तो महत्त्वपूर्ण आधुनिक इतिहासमा पस्ने मोड अर्को हुनसक्दैन भन्ने मेरो विश्वास छ ।
नेपालमा ०७ साललाई सबैले आत्मसात गरेका हुनाले त्यसलाई बिर्सिने सुविधाले सबै ओतप्रोत छन् । एउटा गणतन्त्रको सरकारले भन्छ, भैगो यो दिन कुनै पनि सार्वजनिक विदा नगरौं । विदैविदा दिइबसेको देशमा यो कुरा उठ्दा मलाई एउटा कुराको बोध भयो । हामी कहिलेदेखि स्वतन्त्र भयौं ? बन्द युगबाट विश्वमा कहिलेदेखि पस्यौं ? कहिलेदेखि राजनीतिक आन्दोलन र विद्रोह अनि परिवर्तन र संविधानमाथि बहसका शृङ्खला आरम्भ गर्‍यौं ? त्यो हामीलाई ख्यालै भएन कि त ।
वास्तवमा त्यो २००७ सालको परिवर्तनले ल्याएको युगचेतनाले गर्दा भएको हो । त्यो परिवर्तनले राजनीतिक परिवर्तनमात्र गरेन, कानुनी दृष्टि मूलरूपमा परिवर्तन गर्‍यो । त्यसैले पञ्चायती कालमा पनि अदालतमा गएर बीपी कोइरालाले २०३४ सालमा जुन नागरिक स्वतन्त्रताको आधार लिएर बहस गरे, त्यसमा ००७ साल नै मूलरूपमा थियो ।
पञ्चायती एकतन्त्री शासनले राजनीतिक दलहरू र स्वतन्त्रतामाथि प्रतिबन्ध लाए पनि कानुनको भाष्य जीवन्त थियो, बीपीले त्यही भाष्यको उद्घोष गरेका हुन्, अदालतमा । यस लेखमा उनको बयानबाट उद्धरण गरेर केही कुरा राख्छु, जसले मेरो भनाइको अर्थ स्वतः प्रस्ट हुनेछ ।
बीपी कोइरालाले अदालतको बयानमा भने, ‘यदि इमानदारीपूर्वक २००७ सालको क्रान्तिमा मेरो योगदानमा निहित आदर्शलाई स्वीकार गर्ने हो भने मेरो या आजको क्रान्तिलाई बुझ्न कसैलाई गाह्रो पर्ने छैन । मेरो क्रान्तिको प्रकृति फरक छ । २००७ सालको क्रान्तिबाट स्वतन्त्र भएका यो देशका नरनारीलाई फेरि बन्धनमा पार्नेहरूले पनि ००७ सालको क्रान्तिकै हवाला दिएर झुक्याइरहेका छन् । म त्यो कुरा प्रस्ट पार्न चाहन्छु । अनि मेरो क्रान्तिको अर्थ बुझिनेछ ।’ बीफीको क्रान्तिको अर्थ कानुन हो । इतिहासकार र राजनीतिक व्यत्तिहरले खासै ध्यान नदिएको कुरा हो यो ।
फ्रान्सेली विद्वान सिमोन वेलको भनाइलाई लिएर एच जेफर्सन पवेल र जेम्स बोइड ह्वाइटले आफूले कानुन विषयमा तयार पारेको किताबको शीर्षक नै ‘शक्तिको साम्राज्य (२०१२)’ राखेका छन् । फ्रान्सेली दार्शनिक र निबन्धकार सिमोन वेल (१९०९–१९४३) को ‘शक्तिको साम्राज्य’को व्याख्यालाई उनीहरूले आफ्नो विचारको आधार राखेका छन् । सिमोन वेलले शक्तिको साम्राज्य पुलिस र सैन्यको कारणले मात्र जन्मिँदैन ।
हाम्रा कुराकानी, विचार गर्ने तरिका, प्रोपगन्डा, अर्थको गहिराइमा नगई प्रयोग गरिने विचार, हल्लैहल्लामा चल्ने राजनीतिले फनि जन्मिन्छ, शक्तिको साम्राज्य । यस्तो शत्तिको साम्राज्यमा प्रजातन्त्र र कानुन टिक्न सक्दैन । बीपीले २००७ साललाई कानुनको अर्थमा बुझाउँदा पञ्चायतकालमा तयार भएको ठिक त्यस्तै ‘शक्तिको साम्राज्य’लाई बुझेका थिए ।
बीपीले २००७ सालको क्रान्ति भनेको अथवा नेपालको सामन्ती युगले फेरेको अवतार भनेको जस्तो भए पनि त्यसलाई कानुनको रूपमा परिवर्तन भएको हो भन्ने अर्थमा बुझाए । सायद हामीले अहिले त्यही नबुझेकाले शक्तिको साम्राज्य बनाउने सतही चेतना र विचारलाई अँगालेका त छैनौं ? प्रश्न छ । बीपीले भने, ‘...२००७ सालको क्रान्ति सम्पन्न भएको हो र देशले एउटा बहुमुखी नवजागरणको युग प्राप्त गरेको थियो । आज एउटा विडम्बना खडा भएको छ कि म ती आदर्शको लागि काम गर्दा पुनः अभियुक्त बनाइएको छु ।’
पञ्चायतले उनलाई अभियुक्त बनाउनु भनेको त्यही कानुनी परिवर्तनलाई नमान्ने प्रपञ्च गर्नु थियो । त्यसो त जस्तो भए पनि अदालत र कानुनलाई बीपीले समातिराख्नुको पछि त्यही शक्तिको साम्राज्यको विनिर्माण गर्ने चाहना थियो । एउटा कुरा बुझ्नुपर्छ, अदालतले विरासतका रूपमा साधारण शिक्षा भएका न्यायकर्मी वा तथाकथित ‘चार पासे’हरूले गरेका न्याय सम्पादनका शृङ्खला पनि लिएर आयो ।
अहिलेको सर्टिफिकेट र प्रमाणको छलफल इतिहासको त्यही ख्याक वा ‘स्पेक्टर’ हो । म त्यसलाई कुनै भयानक दुर्घटना भन्दिन, त्यो हिजोको सामन्ती प्रणालीको अवशेष हो र त्यो युग अनुसार समाधान हुँदै जान्छ भन्ने मान्छु । पढेका विद्वान न्यायकर्मी, वकिलहरू र एकेडेमिकहरूले पनि योग्यताका सर्टिफिकेट लिएर अमूक दल र एजेन्सीका निम्ति काम गरिबसे भने त्यहाँ शिक्षाको प्रयोग नभएको अवस्था आउँछ ।
त्यो सामन्ती न्याय प्रणाली र लोकतान्त्रिक चेतनाको द्वन्द्व बीपीले यसरी राखे, ‘प्रत्येक अवसरमा, प्रत्येक समस्याको लागि कानुनी व्यवस्था छँदा पनि मप्रति सधैं राजनीतिक दृष्टिकोणबाट नै, जुन निर्णय कार्यान्वित हुन्छन् भने म त्यसै परिस्थितिमा यस कानुनी प्रक्रियाको यथासम्भव छिटो समाप्ति चाहन्छु ।’
बीपीको क्रान्तिको चरित्र र त्यसको परिकल्पना गर्ने आधारको अन्तर्य २००७ सालको क्रान्ति नै थियो । त्यसको रक्षा उनले कानुनबाट हुने देखे । उनले भने, ‘म नेपाली समाजको हरेक पक्षमा परिवर्तन चाहन्छु ...राजनीतिक..., आर्थिक, सामाजिक, बौद्धिक र शैक्षिक क्षेत्रमा । समाजको कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणको अन्त्य हुनुफर्छ ...।
राजनीतिक क्रान्तिले यही समग्र सामयिक त्रान्तिका लागि उपयुक्त पृष्ठभ्मृि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले पनि आफ्लृाई क्रान्तिवादी भन्छु ।’ बीपीले कानुनको मर्यादा र प्रजातान्त्रिक चेतनाको व्याख्या गर्दा भनेका यी तर्कबाट बुझ्नुपर्ने कुरा गहिरो छ ।
नेपालमा जस्तोसुकै परिस्थिति भए पनि कानुनले काम गरेको इतिहास छ । जस्तासुकै अवस्थामा भए पनि न्यायमा काम गर्नेहरूले कानुनको पालनाको नैरन्तर्यमा माथि बीपीले भनेजस्तो नेपाली चेतनाको नैरन्तर्यलाई मर्न दिएका छैनन् । तर आजको द्वन्द्व भनेको कानुन र त्यसको प्रयोगको आमवृत्तफराकिलो भएको बेला पनि कानुनको परम्परा, संस्कृतिको नैरन्तर्य नै हो ।
झँ पोल सार्त्र र मिसेल फुकोको बहसमा सार्त्रले इतिहासको कानुन, अर्को शव्दमा इतिहासरूपी कानुनलाई बुझेर मात्र सामाजिक गति बुझिन्छ भने । उनी साहित्यकार थिए । बीपी पनि साहित्यकार थिए । तर उनले साहित्यमा प्रयोग हुने मानिसले बुझ्ने कानुनलाई सार्त्रले जस्तै अन्तर्यमा राखे, तर आफ्ना छलफलमा ल्याएनन् ।
म साहित्यमा अराजकतावादी हुँ भन्नु नै कानुनी चेतनाको प्रयोग हो । यो लामो छलफलको विषय हो । तर अन्त्यमा भन्दा २००७ साल बिर्सने, कम महत्त्व दिने विषय नभएर नेपाली इतिहासले प्रजातान्त्रिक कोल्टो फेरेको मोड हो । कानुनको आधारबाट त्यो कुरा देखाउँदा बीपी गणतन्त्रसम्म आइपुग्दा पनि एकल व्याख्याता रहेको यथार्थ कानुनकर्मी र लोकतन्त्रवादीहरूले बुझुन् ।
प्रकाशित : कान्तिपुर, फाल्गुन ११, २०७५ ०८:२३

युग परिवर्तनको कम्युनिस्ट बहस

युग परिवर्तनको कम्युनिस्ट बहस
पञ्चायती
पुँजीवादको विकासक्रमका दृष्टिले भूमण्डलीकृत पुँजीवादी युगमा मानवसमाज पुगेको छ । क्रान्तिका दृष्टिले वैज्ञानिक समाजवादी युग प्रारम्भ भएको छ । भूमण्डलीकृत पुँजीवाद नाशवान् हो भने वैज्ञानिक समाजवाद उदीयमान ।
फाल्गुन १२, २०७५आहुति
काठमाडौँ — मार्क्सवादी सिद्धान्तले विकास र विनाशको मुख्य कारण वस्तुभित्रै हुन्छ भन्छ । यसले समाज व्यवस्थाभित्र विकसित हुने उत्पादक शक्तिले उन्नत समाज व्यवस्था निर्माण सुरु गर्छ भन्ने तर्क गर्छ । उत्पादक शक्ति भन्नाले मानिस र उत्पादन गर्न प्रयोग हुने औजार, श्रम आदि हुन् । यसमा मानिस निर्णायक हुन्छ भने औजारचाहिँ मुख्य हुन्छन् । यसरी मार्क्सवादी अथवा कम्युनिस्ट साहित्यमा उत्पादनका निम्ति मुख्य भूमिका खेल्ने भौतिक औजार वा अवधारणागत औजार परिवर्तन भएपछि समाज नयाँ युगमा प्रवेश गर्छ । मानवसमाजको नयाँ युग भनेको नयाँ उत्पादन सम्बन्ध हो । राजनीतिक अर्थशास्त्रमा उत्पादन सम्बन्ध भन्नाले तीन कुरा पर्छन् । एक, स्वामित्वको स्वरूप । दुई, उत्पादित वस्तुको वितरण प्रणाली र तीन, स्वामित्वको स्वरूप र वितरण व्यवस्थाबाट मानिसबीच बन्ने आपसी सम्बन्ध ।
उत्पादक शक्ति र उत्पादन सम्बन्धको गम्भीर अध्ययनपछि सन् १९०५ तिर लेनिनले मार्क्स बाँचेको प्रतिस्पर्धात्मक पुँजीवादी युग अन्त्य भई एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी नयाँ युग सुरु भएको निष्कर्ष अगाडि ल्याएका थिए । त्यस नयाँ युगको सानदार थेसिसपछि पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धसँगै संसारमा कम्युनिस्ट र उपनिवेशवादविरोधी क्रान्तिको आधा शताब्दी लामो उभार आएको थियो । लेनिनले मरणासन्न बताएको पुँजीवाद शीतयुद्धमा छिप्ने स्थितिमा पुग्यो ।
दोस्रो विश्वयुद्धले पारेको प्रभाव घटेसँगै कम्युनिस्ट आन्दोलन ओरालो लाग्ने क्रम थामिएको छैन । आज कम्युनिस्टहरूबीच विश्वव्यापी भागदौड छ, सन् १९०५ भन्दा ठीक अगाडि जस्तै । शीतयुद्धमा खुम्चिएको पुँजीवाद कसरी बिग्रियो ? लेनिनको थेसिसअनुसार पहिलो र दोस्रो जस्तै तेस्रो विश्वयुद्ध किन भएन ? उद्योगमा थुप्रिनुपर्ने करोडौं मजदुर सेवा क्षेत्रमा कसरी फालिए ? यी यस्ता प्रश्‍न हुन्, जसको सही उत्तर मार्क्सवादीहरूले आज खोज्नैपर्ने चुनौती छ । सही उत्तरतिर अघि बढ्न फेरि पनि आजको मुख्य उत्पादक शक्ति के हो र त्यसले कस्तो युगमा ल्याइपु‍र्‍याएको हो भन्ने विषयमा प्रवेश अनिवार्य छ ।
दोस्रो विश्वयुद्धपछि विश्वमा तीव्र गतिमा विज्ञान–प्रविधि विकास हुन थाल्यो । विशेषतः सन् १९५० देखि आजसम्मको विज्ञान–प्रविधिको विकास पहिलेको विकाससँग तुलना गर्न नसकिने स्तरमा गुणात्मक फड्कोयुक्त हो । यस्तो असाधारण प्रगतिले हिजोको मुख्य उत्पादक शक्तिका रूपमा रहेको मेसिन र मानव श्रमको भूमिकालाई गुणात्मक रूपमै न्यूनीकरण गर्‍यो ।
हजार मेसिन आठ घण्टा चलाउन हजार जना मानिसको ८ घण्टा श्रमशक्ति लाग्ने ठाउँमा हजार मेसिन एक जना मानिसले एकै पटकमा एउटा स्विच दबाएपछि चल्ने स्थिति उत्पन्न भयो । विज्ञान–प्रविधिको यस्तो विकासले डिजिटल युग सुरु हुन पुग्यो । इन्टरनेटजस्ता प्रविधिमा मारिएकोफड्कोले विश्व पुँजीवादलाई पुनः नयाँ चरणमा जीवित हुन सक्ने बाटो खुल्यो ।
एकातिर, उत्पादनका थलोहरूमा लाखौं मजदुर केन्द्रित हुने मार्क्स र लेनिनको समयको औद्योगिक पुँजीवाद वा एकाधिकार पुँजीवादको अवस्था विश्वमा रहेन । उत्पादनको सट्टा श्रमिकहरू सेवा क्षेत्रमा अथवा मूलतः असंगठित क्षेत्रमा छरिन बाध्य भएका छन् । नेपालबाट वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली सुरुङ–सडक निर्माण, होटल, ड्राइभिङ, वृद्धवृद्धाको हेरचाह, घरेलु सेवा, चौकीदारी, व्यापारिक मलका कर्मचारी, स्वास्थ्य क्षेक्र आदिमा त्रियाशील छन् ।
अर्कातिर, विज्ञान–प्रविधिका कारणले धेरै देशका पुँजीपति एकीकृत रूपमा बहुराष्ट्रिय कम्पनीमार्फत विश्वको लुटमा उत्रिन सम्भव भयो । हिजोको एकाधिकार पुँजीवादी विश्वमा पुँजीपति वर्गका ठूला समूहबीच आपसी युद्ध र विश्वयुद्धसम्म हुन्थ्यो किनभने तिनीहरू एकअर्कोलाई सिध्याउन चाहन्थे । आज विश्वभरिका पुँजीपति तथा तिनका समूह आपसमा बहुराष्ट्रिय र पराराष्ट्रिय कम्पनीमार्फत एकीकृत भएका छन् । एकले अर्कालाई नसिध्याईकनै नाफा बढ्ने समय आएको छ ।
पुँजीवादको यस्तो परिदृश्य वा चरण यसअघि देखिएको थिएन, देख्न सम्भव पनि थिएन । तसर्थ, आजको विश्व पुँजीवाद वा साम्राज्यवाद भूमण्डलीकृत पुँजीवादका रूपमा वेगवान् बन्न पुगेको छ । पुँजीवादी समाजको उदयदेखि एकाधिकार पुँजीवादको युगसम्म उत्पादक शक्तिका रूपमा पुँजीअन्तर्गत मेसिन र सामूहिक मानव श्रम प्रमुख थिए । आज औजार र सामूहिक मानव श्रमले नायकत्व गुमाए । उत्पादनमा तिनीहरूको भूमिका सहायक हुन थाल्यो । मुख्य भूमिका विज्ञान–प्रविधिको हुन थाल्यो ।
सारमा, सामूहिक मानव श्रम मुख्य उत्पादक शक्ति भएको युग गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति हुने आजको युग बन्न पुग्यो । आज पनि नेपाल र विश्वका कैयौं स्थानमा सामन्तवादकालीन हल गोरु जोतिँदै छन् तर मानव श्रमका यस्ता तरिका अवशेष मात्र हुन् । उत्पादक शक्तिमा गुणात्मक परिवर्तन भएर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेको यस ऐतिहासिक यथार्थलाई गहिरो गरी आत्मसात् नगरी नयाँ युगमा कम्युनिस्ट आन्दोलन मुर्छनाबाट ब्युँतने सम्भावना देखिँदैन ।
वैज्ञानिक समाजवादी युग प्रारम्भ
उत्पादक शक्तिमा गुणात्मक परिवर्तन हुने सिलसिलाले मानव जीवनलाई सहज मात्र बनाउँदैन, बरु नयाँ युग वा नयाँ उत्पादन सम्बन्धलाई पनि अनिवार्य रूपमा जन्माउन सुरु गर्छ । मुख्य उत्पादक शक्तिका रूपमा विज्ञान–प्रविधि आएपछि यसले मानव जीवनमा सुविधा थपेको छ र पुँजीवादलाई भूमण्डलीकृत रूपमा शोषण गर्ने अवसर पनि सिर्जना गरेको छ तर यो मुख्य र क्रान्तिकारी पक्ष होइन । मुख्य र क्रान्तिकारी पक्ष भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी व्यवस्थाभित्रै वैज्ञानिक समाजवादी युग प्रारम्भ हुन पुग्नु हो । हो, आज वैज्ञानिक समाजवादी युग प्रारम्भ भइसकेको छ ।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले के संश्लेषण गरेका थिए भने तबसम्म विश्वव्यापी वैज्ञानिक समाजवाद र साम्यवाद सम्भव छैन, जबसम्म मानिसको आधारभूत आवश्यकता पूर्ति गर्न प्रचुर उत्पादन हुँदैन । अब मार्क्स र एंगेल्सले संश्लेषण गरेको त्यो प्रचुर उत्पादन हुने युग प्रारम्भ भयो किनभने विज्ञान–प्रविधि त्यो उचाइ हासिल गरेर अझ द्रुत गतिमा अगाडि बढिरहेको छ ।
करिब १५ प्रतिशत जनसंख्याले उत्पादन गरेको कृषिजन्य वस्तु शतप्रतिशत इजरायलीलाई पर्याप्त बनाइवरी विदेश निर्यात भइरहेको छ । कृषिका लागि इजरायलको माटो अन्यत्रको दाँजोमा गुणकारी मानिँदैन । प्रविधिले त्यति कमसल माटो भएको स्थानमा प्रचुर उत्पादन सम्भव बनायो । यो जीवन्त दृष्टान्तले मात्र पनि सजिलै प्रस्ट हुन्छ, विज्ञान–प्रविधिको तीव्र विकासले खाद्य पर्याप्ततामा मानवसमाज अब पुग्न सक्ने भयो । यो विषय मार्क्स–एंगेल्सले संश्लेषण गरेको प्रचुर उत्पादनकै युगको प्रारम्भ हो भन्ने स्वीकार गर्न हिचकिचाउनुपर्ने कुनै कारण छैन । आज नाफाखोर पुँजीवादका हातमा सत्ता हुँदाहुँदै पनि सञ्चार सुविधा प्रचुर हुन पुगेको छ ।
पुँजीवादले अझै सञ्चारलाई व्यापार बनाइरहेको छ तर थोरै रकममा वाईफाई जोडिएपछि विश्वव्यापी सञ्चार सम्बन्धबाट मानिसलाई रोक्न अब उसले पनि नसक्ने भयो । सञ्चारमा भएको यो छेलोखेलो उत्पादन विज्ञान–प्रविधिले ल्याएको हो जसलाई पुँजीवादले रोक्नै सक्दैन । रेडियो, पात्रो, घडी, क्यामेरालगायत चिज अब डिजिटल्ली छ्याल्लब्याल्ल उपलब्ध भए । जति चाहे पनि उपभोग गर्न सकिने भयो । गीत, सिनेमा, पुस्तक करोडौं मानिसले नगण्य दाममा उपभोग गर्न सक्ने प्रचुर उत्पादनको समय आयो ।
हिजो दुई प्रति ‘कम्युनिस्ट घोषणापत्र’ पुस्तकालयमा राखेर १०० जनाले पढ्न ५० साता पनि लाग्न सक्थ्यो । त्यो च्यातिन्थ्यो । अब त्यो पुस्तक इन्टरनेटमा राखिदिने हो भने दुनियाँभरिका अर्बौं मान्छेले एकसाथ पढ्न सक्ने, कपी गरेर जति अर्ब बनाए पनि हुने, अरूलाई डिजिटल्लीबाँड्दा आफूकहाँ पनि रहिरहने भयो । यही त हो मार्क्स–एंगेल्सले भनेको प्रचुर उत्पादन !
केही दशकअघिसम्म पुँजीवादले टिकाउ सामान बनाउने रणनीति लिन्थ्यो किनभने प्रचुर उत्पादन हुने विज्ञान–प्रविधिको विकास भएको थिएन । उत्पादन थोरै हुने हुनाले अभाव स्वतः रहन्थ्यो । त्यसले अभावमाथि नाफाको रणनीति बनाउँथ्यो । आज पर्याप्त उत्पादन हुने विज्ञान–प्रविधिको युग प्रारम्भ भएकाले पुँजीवाद नाफा बढाउन कृत्रिम अभाव सृष्टि गर्ने, उपभोक्तावादी बनाएर मानिसमा वस्तुको अनावश्यक उपभोगको लत बसाल्ने, छोटो समय उपभोग गरी फाल्नुपर्ने सामान बनाएर पटकपटक एउटै उपयोगिताको सामान चाँडोचाँडो किन्न बाध्य पार्ने, सफ्टवेयरको एप्लिकेसन बेच्दा त्यसलाई बिगार्ने भाइरस पनि सँगै पठाउनेलगायत रणनीति अख्तियार गर्न बाध्य भएको छ । यसरी विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युगले गर्दा भूमण्डलीकृत पुँजीवाद पनि सम्भव भयो र त्यसलाई अन्त्य गर्न छ्यालब्याल उत्पादनसहितको वैज्ञानिक समाजवादी युग पनि प्रारम्भ भयो ।
उत्पादन सम्बन्धमा परिवर्तन
मार्क्सवादले समाज विकासको द्वन्द्वात्मक भौतिकवादी संश्लेषण गर्दै अघि सारेको अवधारणाअनुसार मुख्य उत्पादक शक्ति फेरिएपछि उत्पादन सम्बन्धका तीनवटै आयाममा परिवर्तन हुन थाल्नु युग परिवर्तनले गति लिनु हो । यो संश्लेषणबाट हेर्दा हिजोको मेसिन र सामूहिक मानव श्रम मुख्य उत्पादक शक्ति गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति भइसकेको निष्कर्षलाई प्रस्ट पार्न उत्पादन सम्बन्धमा पनि तीव्र परिवर्तन भएको दृष्टान्तलाई स्पष्ट गर्न अनिवार्य आवश्यक हुन्छ ।
स्वामित्वको स्वरूपमा परिवर्तन
एकाधिकारी पुँजीवादको युगसम्म मुख्य उत्पादक शक्ति मेसिन र मानव श्रम हुँदा उत्पादनका साधन पुँजीवादी राज्यसत्ताको सुरक्षामा पुँजीपति वर्गको कब्जामा हुन्थे । सर्वहारा–श्रमिकहरू आफ्नो श्रमशक्ति बेच्न पुँजीपतिको अनुमतिमा घण्टी बजेपछि कारखानाभित्र छिर्नुपर्थ्यो ।
यसरी उत्पादक शक्तिको औजार र साधन खण्ड पूर्णतः पुँजीपति वर्गको हातमा हुन्थ्यो, जसले उसलाईमालिक बनाउँथ्यो ।
अहिले विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेकाले स्वामित्वको स्वरूप स्वतः परिवर्तन हुन सुरु भएको छ । विज्ञान–प्रविधि भनेको ज्ञान हो । ज्ञानलाई पर्खाल लगाएर वा सशस्त्र फौजको क्याम्पमा थुन्न सकिँदैन । विज्ञान–प्रविधि मानिसले पत्ता लगाएको प्रकृतिमा रहेको नयाँ प्रकृति हो । विज्ञान–प्रविधि प्रकृतिभित्रको मानिसले पत्ता लगाएको प्रकृति भएकाले प्रकृतिमाथि सबै मानिसको स्वामित्व हुन सक्छ ।
विज्ञानको नियम मानव जातिको सम्पत्ति हो । खास वर्गले मात्र प्रयोग गर्न मिल्ने सम्पत्ति होइन । जसरी आदिम साम्यवादी समाजमा प्रकृति मुख्य उत्पादक शक्ति हुँदा स्वामित्वको स्वरूप समान थियो, त्यसरी नै आज नयाँ प्रकृति अर्थात् विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति भएपछि निर्णायक स्वामित्वको स्वरूप पनि समान हुने क्रम तीव्र हुनैपर्छ । आजको विज्ञान–प्रविधि सबैले प्रयोग गर्न सक्छन् तर प्रयोग गर्ने कि नगर्ने, कति गर्ने, प्रयोग गर्ने क्षमता विकास गर्ने कि नगर्ने भन्ने चाहिँ मानिसको प्रयत्न र चाहनामा भर पर्छ । पुँजीपति वर्गले त्यसलाई प्रयोग गर्नबाट रोक्न सक्दैन । रोक्ने क्षमता पुँजीवादसँग छैन ।
यही कारणले पुँजीपति घरानाबाट नआएका माइक्रोसफ्ट र फेसबुक सञ्चालक घरानियाँ पुँजीपतिभन्दा बढी सम्पत्तिवाल हुन पुगे । विज्ञान–प्रविधिलाई घरानियाँ पुँजीपतिभन्दा उनीहरूले बढी सफलतापूर्वक प्रयोग गरे । आज सानो भूगोल र सानो अर्थतन्त्र भएको उक्तर कोरियाले किन संयुत्त राज्य अमेरिकालाई सैन्य चुनौती दिन सम्भव भयो ? उत्तर सीधा छ– हाइड्रोजन बमको विज्ञान–प्रविधि उपयोग गरेर । अब विज्ञान–प्रविधिको अगाडि अर्बौं पुँजीले पनि शासन गर्न नसक्ने युग आयो, जसरी प्रतिस्पर्धात्मक पुँजीवादको युगमा १०० बिघा जग्गाको धनी सामन्त १० वटा कपडा बुन्ने मेसिन र केही लाख पुँजी भएको पुँजीपतिका अगाडि निरीह बनेको थियो । यसरी स्वामित्वको स्वरूपमा तीव्र परिवर्तनको युग स्पष्ट देख्न सकिन्छ ।
वितरण प्रणालीमा परिवर्तन
एकाधिकार पुँजीवादसम्मको युगमा मानिसका निम्ति आवश्यक वस्तु पुँजीपतिवर्गले नाफा लिएपछि मात्र प्राप्त हुन्थ्यो तर आज तीव्र रूपमा वस्तु वितरणको तरिकामा फेरबदल सुरु भयो । सूचना र सञ्चार प्रविधिको वितरण मूलतः सामाजिक बन्दै छ । त्यसबाट नाफा त पुँजीपतिले अझै कमाउँदै छ तर त्यसलाई आम समाजले जति उपभोग गरे पनि हुने बनेको छ । टेलिभिजन, क्यामरा, पात्रो, घडी, रेडियो, पुस्तक इत्यादि वस्तु यो क्रूर पुँजीवादमा समेत नगण्य खर्चमा आम मानिसले प्राप्त गर्न थालिसके ।यही त हो– वितरण प्रणालीमा सुरु भएको तीव्र परिवर्तन र सामाजिकीकरण ।
सुरुमा सफ्टवेयरवाला रेडियोलगायत चिज पुँजी कमाउन पुँजीपतिले बनाएका हुन् । त्यो प्रविधि भएकाले धेरै प्राविधिकले बनाउन थाले । त्यसपछि त्यो मूलतः बिक्रीको माल बन्न सकेन र त्यो प्रचुर उत्पादन हुन पुग्यो । यसरी मानिसको आवश्यक वस्तुको उत्पादन प्रचुर हुन थाल्नाले उपभोगका निम्ति वितरण पनि प्रकृतिले उपलब्ध गराएको वस्तुजस्तै जति भोगे पनि मिल्ने हुन थाल्यो । के यो पुरानो उत्पादन सम्बन्धको वितरण प्रणालीमा आउन सुरु गरेको आधारभूत परिवर्तन होइन ?
मानिसबीच सम्बन्धमा परिवर्तन
उत्पादन सम्बन्धको तेस्रो पक्ष मानिसमा आपसी सम्बन्ध हो । पुँजीवाद सुरु भएदेखि एकाधिकार पुँजीवादको युगसम्म मानिसबीचका सम्बन्ध कस्ता थिए ? पुँजीपति र सर्वहारा, स्वतन्त्र किसान र कृषि मजदुर, दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति इत्यादि तर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेपछि मानिसको आपसी सम्बन्धको चरित्रमा तीव्र परिवर्तन सुरु भएको छ ।
औद्योगिक सर्वहारावर्गको जमात क्रमशः घट्दो छ । असंगठित सेवा क्षेत्रका श्रमिकको संख्या अकल्पनीय बढेको छ । अपरेटरहरू पुँजीपतिवर्गको सहायक अंगमा फेरिएका छन् । भूमण्डलीकृत पुँजीवादले लिएको बहुराष्ट्रिय कम्पनी चरित्रले उत्पीडित राष्ट्रमा राष्ट्रिय पुँजीपतिवर्ग हराउने क्रम तीव्र भएको छ । निम्नमध्यमवर्ग विघटन भएर आधारभूत श्रमिक वर्गमा परिणत हुँदो छ । यो मानिसहरूको आपसी सम्बन्धमा तीव्र रूपमा आएको परिवर्तनबाहेक अरू के हो त ?
पुँजीवादको विकासक्रमका दृष्टिले उत्पादक शक्तिमा आएको गुणात्मक परिवर्तनका कारण पुँजीवादको चौथो चरण अर्थात् भूमण्डलीकृत पुँजीवादी युगमा मानव समाज पुगेको छ भने क्रान्तिका दृष्टिले वैज्ञानिक समाजवादी युग प्रारम्भ भएको छ । आजको युगलाई ‘भूमण्डलीकृत पुँजीवाद र वैज्ञानिक समाजवादी युग’ का रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ ।
भूमण्डलीकृत पुँजीवाद नाशवान् हो भने वैज्ञानिक समाजवाद उदीयमान हो । त्यसैले आजको युगको मूल प्रवृत्ति वैज्ञानिक समाजवाद हो । आज विश्वव्यापी रूपमा मुर्छित कम्युनिस्ट आन्दोलनलाई नवीन जीवन दिने चाहना राख्ने मार्क्सवादीहरूले अबको क्रान्तिकारी आन्दोलनको रणनीति विकास गर्न सर्वाधिक महत्त्व राख्ने युग परिवर्तनको यस विषयको बहसमा चाख राख्लान् ? अर्को विकल्प पनि सम्भवतः छैन ।
प्रकाशित : कान्तिपुर, फाल्गुन १२, २०७५ ०७:३३

त्यो बनाना बैठकी

त्यो बनाना बैठकी
हामी यदाकदा 'बैठकी’ पनि गर्दथ्यौं । तिनताक एउटा ॅबनाना’ भन्ने पेय पाइन्थ्यो । त्यसले 'किक’ भने राम्रै दिन्थ्यो । मलाई भने त्यसको हरियो रङ मन पर्थ्यो । देख्दा लाग्थ्यो— काँचो केराको हरियो बोक्रा वा केराको पात निचोरेर यो चीज बनाइएको हो ।
फाल्गुन ११, २०७५ध्रुवचन्द्र गौतम
काठमाडौँ — संवत् २०२२ साल जेठको एउटा कुनै मध्याह्न ! भारतबाट हिन्दीका केही वरिष्ठ कविहरू आएका थिए  । तिनीहरूसँगै बागबजारको त्यस बखत ‘कोरोनेसन’ भन्ने एउटा होटल थियो, त्यहाँ नेपाली लेखक–कविले भेट्ने कार्यक्रम थियो  ।
ती कविहरू त्यसै होटलमा बसेका पनि थिए । सर्वेश्वर दयाल सक्सेना, भारतभूषण अग्रवाल, बालस्वरूप ‘राही’ र उनकी श्रीमती पुष्पा राहीसहित अर्का एक कवि । सर्वेश्वर, सबभन्दा प्रखर कवि थिए र भारतभूषण वरिष्ठ एवं विशिष्ट कवि । उनको निधनपछि उनको नाउँमा भारतमा एउटा पुरस्कार पनि राखिएको थियो । तर, म भने सर्वेश्वर दयाल सक्सेनासँग भेट नभए पनि परिचित र सबभन्दा प्रभावित पनि थिएँ, कविताकै कारण ।
मेरो कविता र कथालेखनको थालनी ‘रूप–रेखा’ मार्फत भइसकेको थियो तर म एकदम नयाँ थिएँ । खासमा त त्यो जमाना मोहन कोइराला, मदन रेग्मी, भूपी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र पारिजातहरूकै थियो । शंकर लामिछानेको गद्यले चारैतिर धुम मच्चाएको थियो । प्रेमा शाह, वानीरा गिरि आफ्नो लेखनद्वारा चर्चित भएको समय थियो । जुन दिनको म कुरा गर्दैछु, त्यस दिन म आफ्नो एमएको क्लास छाडेर आएको थिएँ । त्यसै हप्ता मेरो एक कविता ‘रानीपोखरीको किनारमा’ रूप–रेखा पत्रिकामा प्रकाशित भएको थियो । त्यसबखतको रानीपोखरीको किनार, अब त्यस्तो भेटिंदैन, जस्तो मेरो कवितामा छ । बागबजार मोडमा हामी भेट्दा थाहा भयो, त्यस दिनको कवि भेटघाटको कार्यक्रम क्यान्सिल भएछ, कुनै कारणवश को–को थिए— अहिले म सम्झिन्नँ तर त्यहीं वानीरा गिरिले एकाएक भनिन्—‘पारिजातलाई भेट्न जाऊँ ।’
पारिजात कविता र कथा दुवैमा चर्चित भइसकेकी थिइन् । उनको ‘बीसौं शताब्दी एउटा गल्लीमा’ कथा पढेर म निकै प्रभावित भएको थिएँ । त्यस्तोमा वानीराको प्रस्ताव सुनेर म निकै उत्साहित भएको थिएँ । त्यसरी एक जमात लेखक त्यसदिनको मौका खेर नजाओस् भनेर पारिजात निवासतर्फ लाग्यौं । पारिजात त्यसबखत पुतलीसडकको एक घरमा बस्थिन् । परम्परागत, सेतो रङको घर थियो । टाउको निहुराउने खालको काठे भर्‍याङ उक्लेर हामी उनको कोठामा पुग्यौं । त्यसबखतसम्म मैले पारिजात वा उनको तस्बिरसम्म पनि देखेको थिइनँ । त्यहाँ जाँदा केवल ‘बीसौं शताब्दी एउटा गल्लीमा’ मेरो मस्तिष्कमा घुमिरहेको थियो ।
पारिजात एक्लै बसिरहेकी थिइन् । परिचय त पछि गराइन् वानीराले, पहिले मैले नमस्ते नै गरें । पारिजातपछि मलाई आकर्षित गर्‍यो, पारिजातको कोठाको भित्तामा झुन्डिएको एक पेन्टिङले । सर्रियालियस्ट पेन्टिङ भन्ने त थाहा भयो, त्यसबारे थोरै जानकारी हुनाले, म सोच्न थालें, कसको होला यो चित्र ? अद्भुत खालको थियो । मैले ध्यानले हेरेको देखेर पारिजातले नै भनिन्, ‘साल्बाडोर डालीको हो यो ।’ त्यो त रहेछ, डालीको प्रसिद्ध चित्र, जुन मैले पछि साल्बाडोर डालीबारे पढ्दा, बारम्बार उनको प्रतिनिधित्व चित्रका रूपमा प्रस्तुत गरिन्थ्यो ।
त्यही भेट पारिजातसँगको मेरो पहिलो भेट र साक्षात्कार थियो । त्यसपछि उनीसित मेरो भेट लगातार हुन थाल्यो । त्यसको एउटा अर्को कारण पनि थपियो । केही समयपछि, म रत्नराज्यलक्ष्मी कलेजमा पढाउन थालें । रत्नराज्य त्यसबखत यति ठूलो थिएन । धेरैलाई थाहा नहुन सक्छ, त्यो त्यसबखत ‘रत्नराज्यलक्ष्मी गर्ल्स कलेज’ थियो । बिहानको कलेज, कोठा ससानै थिए । भित्र एउटा चौर थियो जहाँ कहिलेकाहीं कार्यक्रम हुन्थे । यसलाई सुविधै मानेको मैले के भने, त्यो कलेज, त्यही पुतलीसडकमा थियो, जहाँ पारिजात बस्थिन् । त्यही लहरमा म पढाइ सकेर, कहिलेकाहीं बीचको समयमा पनि पारिजातकहाँ जान थालें । एउटा कुरा के थियो भने जतिसुकै नयाँ लेखक भए पनि, पारिजातको ढोका, सबका लागि खुलेको हुन्थ्यो ।
सुकन्या, पारिजातकी बहिनी पनि त्यहीं हुन्थिन् । क्रमशः हामी पर्याप्त साहित्यिक कुराकानी गर्न थाल्यौं । पारिजातकहाँ सुरुसुरुमा जाँदाको संकोच क्रमशः मेटिँदै गयो । संकोचबाट बिस्तारै हाम्रो सम्बन्ध मित्रतातर्फ बढ्दै गयो । पछि क्रमशः मित्रता, घनिष्ठ मित्रतातर्फ हिंड्न थाल्यो । त्यो घनिष्ठता जीवनभरि रहिरह्यो । यद्यपि पारिजातका विचारधारामा पछि परिवर्तन आयो, तर हाम्रो मित्रता कायमै रह्यो । पछि उनी अरूअरू ठाउँमा बसे पनि म उनीकहाँ जाने गर्थें । जाँदा उही आत्मीयता भेटिन्थ्यो । उनका अन्तर्वार्ताहरूमा नयाँ लेखकमा मेरो नाउँ पनि लिन्थिन् उनी । पछि, अन्य नाउँहरू आउन थाले । तर, पारिजातको स्वभावगत विशेषता भनूँ, उनीसँग मेरो मित्रतामा भिन्नता आएन, मलाई कहिल्यै लागेन त्यस्तो । म्हैपीको घरमा पनि म लगातार जान्थें । म, सुकन्या र पारिजात कति साँझ गाएर पनि बिताउँथ्यौं । पारिजात र सुकन्या लोकगीत गाउँथे, एक्लै वा मिलेर पनि । म हिन्दी फिल्मी गीतहरू गाउँथें । हाम्रो समय यति राम्ररी काटिन्थ्यो कि समय गएको पत्तै हुँदैन थियो ।
म्हेपीमै एकदिन पारिजातले भनिन्, ‘हामीकहाँ बुधबार र शनिबार मोमो पाक्छ, आउनुस् न ।’ त्यसपछि म जहिले पनि जान्थें, बुधबार नै जान्थें । कोही न कोहीलाई लिएर जान्थें, प्रायः ध्रुव सापकोटा वा गोविन्द वर्तमान आदि । म अघिल्लो दिन नै फोन गरिदिन्थें । यसले के हुन्थ्यो भने, त्यो साँझ पारिजात अरूसँग अप्वाइन्टमेन्ट राख्दिन थिइन् । यसले के हुन्थ्यो भने संगतमा हामीहरू मात्र हुन्थ्यौं, यही मलाई राम्रो लाग्थ्यो ।
एक जर्मन दार्शनिक हर्बर्ट मार्कुस र रेगिस डेब्रेका नाउँहरू मैले पारिजातबाटै सुनेको हुँ । मार्कुसको ‘वन डाइमेन्सनल म्यान’ र डेब्रेको ‘रिभोल्युसन इन द रिभोल्युसन’ जस्ता पुस्तकको चर्चा गर्थिन् उनी । यिनमा ‘वन डाइमेन्सनल म्यान’ मैले पारिजातकै सिफारिसमा पढेको थिएँ । पछिबाट उनका भिक्ताहरूमा त्रान्तिकारीका तस्बिरहरू देखिन्थे— मोओत्सेतुङ, फिडेल क्यास्ट्रो, चे–गुवेरा आदि ।
यो बेला उनको ‘अनिदो पहाडसँगै’ आइसकेको थियो, ‘परिभाषित आँखाहरू’ लेख्ने बेला थियो । ‘परिभाषित आँखाहरू’ मा उनको केही उनका वैचारिक मित्रहरूले आलोचना गरेको कुरा पनि उनी गर्थिन् । तर, उनी भन्थिन्, ‘मैले यसलाई अझ कलात्मक बनाउने प्रयास गरेकी छु । म डोग्माटिक छैन ।’
पारिजातले मलाई पढ्न दिएको आफ्नो उपन्यास त्यही एउटा हो । ‘परिभाषित आँखाहरू’ मलाई मन पर्ने नेपाली उपन्यासमा पर्छ । एकदिन पारिजातले एउटा कविता पढ्न दिइन् । मैले पढें र सोधें—कसको हो यो, निकै राम्रो छ । पारिजात हाँस्न थालिन्, ‘तपाईं पनि ध्रुवजी’ भनिन् । ‘सबैलाई थाहा छ, तँलाई थाहा भएन’ भनेजस्तै गरी । कविता सुमित्रा ‘काँडा’को नाउँले छापिएको थियो । त्यो पारिजात नै हुन् भन्ने मलाई थाहा थिएन । पारिजात हाँसेकी थिइन्, त्यसकारण ।
एकताक पारिजात साहित्यकार, लेखकलाई सँगै राखेर आफ्नो उपन्यासको सामूहिक–श्रवण गराउँथिन् । त्यसपछि विभिन्न व्यक्तिले दिएको राय सुन्थिन् । त्यसपछि त्यसैअनुसार उपन्यासमा गर्थिन् कि गर्दिनथिन्, त्यो मलाई ज्ञान भएन । यस्ता पाठमा म हुन्न थिएँ । उनैले भनेर थाहा पाएको थिएँ । मैले भनें, ‘पारिजातजी, यसले कतिको राम्रो हुन्छ म भन्न सक्दिनँ तर पारिजातको उपन्यासमाथि राय व्यक्त गर्ने भनेर बोल्नैका लागि बोल्ने पनि हुन्छन् । पारिजातलाई राय दिएँ भन्ने क्षणिक सन्तुष्टि...।’
उनले त्यसपछि केही भनिनन् । मैले पनि कहिल्यै त्यो कुरा फेरि दोहोरयाइँन । तर, निकै समयपछि एकदिन उनले आफैं भनिन्, ‘ध्रुवजी, मैले सामूहिक पाठ अब बन्द गरिदिएँ ।’ म त्यसपछि पनि केही बोलिनँ । मैले आफ्नो कुरा धेरैअघि भनिसकेको थिएँ । पारिजातले ढिलो–चाँडो त्यो सुनाउँदा लाग्यो, उनी भनिरहेकी छन्— तेरो कुरा ठीक रहेछ । नत्र यो खबर मलाई किन सुनाउँथिन् ?
पारिजातले कति आफ्ना निजी संस्मरण पनि सुनाएकी थिइन् । तनाव र उपलब्धिका कुराहरू । जीवन र दर्शनका कुराहरू । जीवनमा धोका र बेइमानी पाएका कुराहरू । त्यसबखतका कुरा पनि सुनाउँथिन्, जब उनी पद्मकन्या कलेजमा साथीहरूसित हाँसखेल गर्दै घुम्थिन् । त्यसैगरी एक दिन इन्डियन लाइब्रेरीमा कार्यरत शंकर लामिछानेसित भेट्न गएकी थिइन् ।
पछि पारिजातकहाँ आउने लेखक–लेखिकाको दायरा बढ्दै गयो । बरु मेरै भेट अलि कम हुन थाल्यो । तैपनि हामीबीच मित्रता कम भएन, एकअर्काप्रतिको विश्वास कम भएजस्तो कहिल्यै लागेन मलाई ।
एकपटक म काठमाडौंबाट वीरगन्ज जान भनेर बस–स्ट्यान्डमा पुगेको थिएँ । त्यसबखत बस चल्थ्यो, भृकुटीमण्डप आसपासको कुनै ठाउँबाट । टिकट लिएर म आफू चढ्ने बसअगिल्तिर उभिएर कुनै गीत गुन्गुनाइरहेको थिएँ । समय भइसकेको थियो । त्यस कारण, हिंडोस् बस र गुडेको बसको ढोकाको ह्यान्डल समाएर उफ्रेर चढूँ भन्ने, हलुको रोमाञ्चकता उत्पन्न गर्ने ‘हिरोइक’ भाव । त्यत्तिकैमा ४–५ जना केटीहरू आए र भने, ‘तपाईं ध्रुवचन्द्र गौतम होइन ?’
‘हो,’ मैले भनें ।
तीमध्ये एउटीले एउटा सानो चिठी दिइन्, ‘यो पारिजात दिदीले दिनुभएको ।’
मैले चिठी लिएँ । तिनीहरू गएनन्, उभिइरहे । त्यसकारण पढें । त्यसमा लेखिएको थियो:
ध्रुवजी,
यी केटीहरू भूमिगत क्रान्तिकारी केटीहरू हुन् । ...कजका लागि फन्ड जम्मा गर्दैछन् । सकेको मद्दत गरिदिनुहोला ।
पारिजात ।
माथि जुन ‘डट’ हरू छन्, त्यो कारण मैले अहिले बिर्सेकाले त्यस्तो गरें । त्यहाँ कुन उद्देश्यका लागि भनेर लेखेकी थिइन् । नोकरी त म गर्न थालिसकेको थिएँ, तर भर्खरै थियो । अलिक फक्कडै भएर हिंड्ने बानी पनि थियो । तैपनि घर जाँदा केही त लिएर हिँडेकै थिएँ । पारिजातले मलाई पत्याएर ती भूमिगत केटीहरूलाई पठाएकी थिइन् । तिनलाई निराश किन पार्न चाहिनँ भने, एक त ती भूमिगत थिए । पारिजातले कतिलाई यस्तो चिठी लेखेकी होलिन् र ? मैले रित्तै फर्काउँदा म त छाडिदिऊँ, पारिजातप्रति पनि त अलिकति खिन्नै हुँदा हुन्, कस्ताकस्तालाई पत्याएकी उनले ? त मैले प्रसन्न भएरै तिनीहरूलाई सकेको सहायता गरेर पठाएँ । सोचें, म त वीरगन्ज, आफ्नो घरै जाँदै छु । रिक्सा पनि उधारै चढेर जान सक्छु । ती केटीहरू होलो मान्दै, धन्यवाद भनेर गए ।
त्यो चिठी र अरू पनि त्यस्ता चिठीहरू मैले लेखक काशीनाथ तमोटलाई दिएको थिएँ, सुरक्षित हुन्छ भनेर । उनले त्यस्ता सामग्री संकलन पनि गर्ने गरेका थिए । मैले आफ्नो एक उपन्यासको पाण्डुलिपि पनि उनीकहाँ त्यसैगरी दिएको थिएँ, उनैले मागेर । केहीअघि एक दिन ध्रुव सापकोटा र म काशीनाथ तमोटकहाँ गयौं, त्यस्ता चिठीहरू प्रकाशित गरूँ कि भनेर । उनीबाट पनि त्यो हराएछ । तर पनि पारिजातको प्रसंगमा अहिले त्यो संक्षिप्त नोटको बेहोरा सम्झन मलाई कठिन भएन । पारिजातले मलाई कसरी लिंदिरहिछन् भन्ने एक नमुनाका लागि यो पर्याप्त छ । नत्र भने कसरी त्यसबखतसम्म पारिजात पहिलेभन्दा अर्कै वैचारिक धरातलमा उभिएकी थिइन् । प्रगतिशील लेखनको धरातल ।
ित्यो निकै पछिकी पारिजात हुन् । म त्यसबखतको आसपासकै पारिजातको कुरा गर्न चाहन्छु, जुन पारिजातको लेखकलाई उचाइ दिने जग थियो । ‘शिरीषको फूल’को समय । शंकर लामिछानेले सन १९६६ को क्यालेन्डरमा ‘शिरीषको फूल’ को उचाइको कुरा लेखेका छन्, त्यो समय । २०२२ को समय । पारिजातसँग मैले भेटेको समय । त्यसबखत ‘शिरीषको फूल’ पारिजातले लेख्दै थिइन् कि अन्तिम चरण थियो कि ? प्रकाशितै चाहिं भएको थिएन कि ? नभएको भए, हाम्रो भेटको केही समयपछि नै भयो । भएपछि, मैले त्यो उपन्यास एक बसाइमा पढें । जति मनोयोगले र जति अभिभूत भएर मैले ‘शिरीषको फूल’ पढेको थिएँ, त्यति मैले एकदमैं कम नेपाली उपन्यास पढेको छु । पारिजातकै पनि अन्य उपन्यास त्यस्तरी पढेको छैन होला । कारण त्यो उपन्यासले उपन्यास विधामा ल्याएको नयाँपन र मेरो आफ्नो नयाँपनप्रतिको मोह, जे पनि हुन सक्छ । त्यसमा शंकर लामिछानेले लेखेको भूमिकाको पनि चर्चा भयो । केहीले त यस्तो पनि भने, भूमिकाका कारण ‘शिरीषको फूल’ चर्चित भयो । मैले त्यो भने कहिल्यै भनिनँ । शंकर लामिछानेको भूमिका अद्भुत हो, यसमा सन्देह छैन । तर, फेरि उपन्यास त उपन्यासै थियो । उपन्यास अद्भुत थियो र भूमिका भयो, नभए के हुन्थ्यो ?
पछि एक बेला यस्तो आयो, जब पारिजातमा वैचारिक परिवर्तन आयो र उनले ‘शिरीषको फूल’ प्रति निर्लिप्तता देखाइन् । हामीले भन्यौं— यो त न्यायपूर्ण हुँदैन । कुनै बेलाको पारिजात हो भनेर पनि राख्न सकिन्छ, त्यसलाई दस्तावेजका रूपमा । पछि म साझा प्रकाशनको सञ्चालकमा हुँदा (२०३६ तिर) एक दिन पारिजातले मलाई एउटा नोट पठाइन्, ‘शिरीषको फूल’ छाप्ने व्यवस्था मिलाउने हेतुको ।
जे भनिएको होस्, जे गरिएको होस्, ‘शिरीषको फूल’ ले पारिजातलाई जुन उचाइ दियो, नेपाली साहित्यमा त्यो उचाइ कायमै रहेको छ, यसमा सन्देह छैन । त्यो उचाइ छोएको त पहिलो पटक ‘शिरीषको फूल’ले नै हो, यसमा पनि सन्देह छैन । साँच्चि भन्ने हो भने त्यो समयलाई म बढी किन सम्झिन्छु भने पारिजात मसित घनिष्ठ बनेको त्यही समय हो । हामी यदाकदा ‘बैठकी’ पनि गर्दथ्यौं । तिनताक एउटा ‘बनाना’ भन्ने पेय पाइन्थ्यो । त्यो कस्तो थियो, त्यो त त्यति थाहा थिएन, ‘किक’ भने राम्रै दिन्थ्यो । मलाई भने त्यसको हरियो रङ मन पर्थ्यो । देख्दा लाग्थ्यो— काँचो केराको हरियो बोक्रा वा केराको पात निचोरेर बनाइएको चीज हो । हामीबीच त्यो ‘बनाना’ निकै प्रचलित थियो । खासगरी पारिजातकहाँ त धेरै कालसम्म हामी त्यही सेवन गर्दथ्यौं । बेलुकी हो तर कहिलेकाहीं, सूर्यास्त पर्खिने काम पनि गरिन्नथ्यो ।
पारिजात शालीन थिइन् । उनका व्यक्तिगत रुचिहरू पनि निकै सफा–सुग्घर थिए । फूल, गमला, क्याक्टस, स्कार्फ र नरम बोलाइ । सब सुरुचिपूर्ण थिए । तर, आफ्नो विचारमा अडिग पनि रहन्थिन्, कुरा मसिनोसँग गरे पनि । सुकन्याको रुचि पनि त्यस्तै सुकिलो थियो, उत्तिकै । दाँज्न नसकेकाले उत्तिकै भन्छु । म अलिक फरक थिएँ । रुचि त उनकै राम्रो लाग्थ्यो, तर मेरो बानीबेहोरा फरक थियो । अलिक ‘रफ’ खालको होला । म बहस गर्दा त्यति मसिनो स्वरमा गर्न सक्दिन थिएँ । मेरो बानी बेहोरामा त्यति सुकिलोपन थिएन । वीरगन्जको मानिस म बोली अलि ‘कडक’ नै होला । म कोसिस त गर्थें, अलिक मसिनो आवाजमा बोलूँ तर सफल हुन्थेंजस्तो लागेन । तैपनि केही कुरा होलान् जसले गर्दा पारिजात, सुकन्या मेरो कुरा सुन्थे । मलाई लाग्थ्यो— मन पराउँथे पनि ।
पारिजातकहाँ आउने साहित्यकारमा मदन रेग्मी, भूपी, द्वारिका श्रेष्ठ, मोहन कोइराला, पुरुषोत्तम बस्नेत, कृष्णभक्त श्रेष्ठ आदि पनि हुन्थे । यति भनूँ— उनीहरूसँग नजिक हुने क्रम पारिजातकै घरबाट थालियो भन्दा अनुपयुक्त हुँदैन । म साहित्यिक बहस पनि गर्थें । यो त्यो बेला थियो, जब ‘राल्फा’ को उदय भइसकेको थिएन । भविष्यमा ‘राल्फा’ बन्ने मञ्जुल, विमल, रायन, रामेश, अरिम, निनु आदि सब त्यहाँ आइरहन्थे । तर त्यसबखत पारिजात निस्सारता, अस्तित्व र अनस्तित्वको घनत्वमा थिइन् । हामी सबै, त्यसै प्रभावमा थियौं । निकटता त्यो कारणले पनि होला ।
टीएस इलियट (द वेस्टलेन्ड), अल्बेयर कामु, काफ्का, सार्त्र अनि डाइलन टमस उनका आदर्श कवि–लेखक थिए । एलेन गिन्सबर्ग (हाउल, अमेरिका) र बिट जेनेरेसनको प्रभाव निकै थियो । आर्थर रिम्बाउड (अ सिजन इन हेल), रेनर मारिया रिल्के, लरेन्स फेर्लिङ्घेटी आदिको पर्याप्त चर्चा हुन्थ्यो । साँच्चि भन्ने हो भने मेरो साहित्यिक चेतनाको एक खण्डको श्रेय म यही समयलाई दिन्छु ।
पारिजातकहाँ आउने साहित्यकार मात्र हुन्थे भन्ने पनि थिएन । एक दिन मैले दुई यस्ता युवकलाई त्यहाँ देखें जो काठमाडौंका जात्राहरूमा प्रायः भेटिन्थे र, ती मेला भर्न आएका केटीहरूसँग ‘छेडखानी’ पनि गर्थे । तिनीहरूसित ‘हाई–हेलो’ तिनै मेलाहरूमा भेट्दा भएको थियो । एक्कासि तिनलाई पारिजातकहाँ देख्दा मलाई केही अचम्म पनि लागेको थियो । त्यहाँ ती निकै भलाद्मी भएर प्रस्तुत भएका थिए । पछि पारिजातले बताइन्, उनले एउटा कथा ‘जिन्दगी ः फुर्सदको एक क्षण’ तिनैलाई आधार बनाएर लेखेकी थिइन् ।
एकदिन अपराह्नमा हामी ‘बनाना बैठकी’ मा थियौं । एकजना कहिल्यै नआउने मानिस पारिजातकहाँ आए । ती कमलमणि थिए । सामुको झिटीमिटी लाखापाखा लगाउने अवसर पनि पाइएन । स्थगित भने तत्कालै गरियो । कमलमणिले सुनाए— ‘तपाईंलाई बधाई छ, २०२२ सालको मदन पुरस्कार ‘शिरीषको फूल’ ले पायो ।’
त्यति भने उभिएरै र उनी लगत्तै फर्केर गई पनि हाले । कोठाभरि खुसीको लहर व्याप्त भयो । त्यसपछि के हुन्थ्यो ? ‘बनाना बैठक’ समाप्त हुन थालेको थियो, भएन ।
एक दिन म त्रिचन्द्र कलेजको बार्दलीमा घाम तापेर बसिरहेको थिएँ, मेरो हातमा एउटा प्याकेट आयो । खोलेर हेरें । बंगालमा ‘हंग्री जेनेरेसन’ भन्ने युवा कवि–लेखकको एउटा जमातले भर्खरै खोलेको एक संस्थाको घोषणापत्र रहेछ । अंग्रेजीमा लेखिएको त्यस घोषणापत्रमा, परम्परागत लेखनप्रतिको तीव्र आक्रोश–विद्रोह थियो । त्यस्तो पत्र काठमाडौंका केही अन्य पनि नयाँ साहित्यकारलाई आएको थियो । पारिजातलाई त कुरै आएन । मलाईसमेत व्यक्तिगत रूपमा आएको त्यो पत्र पाएर म चकित भएको थिएँ । कसरी मेरो नाउँ–ठेगाना जाने ? कसरी म लेख्छु भनेर नोटिस गरे ? ०२४ को कुरा थियो । म छापिन थालेको भर्खर चार वर्ष भएको थियो । मेरो पहिलो उपन्यास (अन्त्यपछि) त झन् केही महिना मात्र भएको थियो छापिएको आदि । त्यस घोषणापत्रलाई मैले कैयौं पटक पढें, अलिकति त अंग्रेजीमा भएकाले पनि हो, धेरै त्यसको अद्भुत विद्रोही स्वरका कारण ।
यो घटनासँग पारिजात कसरी जोडिइन् भने, केही समयपछि एउटा मेरा लागि यादगार घटना भयो । त्यसबखतसम्म पारिजात कुनै अरू घरमा सरिसकेकी थिइन् । वैशाख १, २०२५ को नयाँ वर्ष पारिजातको त्यसै कोठामा मनाइयो । यादगार कसरी भयो भने, त्यहाँ त्यस दिन ‘हंग्री जेनेरेसन’का तिनै हस्ताक्षरहरू, जसले ‘घोषणापत्र’ पठाएका थिए, पारिजातकहाँ आउने रहेछन् । त्यो नयाँ वर्ष त्यसरी यादगार भयो । हिन्दी जगत्मा पनि ‘भूखी पीढी’ भनेर त्यो जमातले हलचल मचाइसकेको थियो । तिनीहरूले नै खोज्दैखोज्दै पारिजातलाई सम्पर्क गरेका थिए । अनि वैशाख १ गतेको दिन निश्चित गरिएको रहेछ । त्यहाँ आएका ‘हंग्री जेनेरेसन’ का नेताहरू नै थिए— मलय राय चौधरी, समीर राय चौधरी, सुविमल बसाक यति नै थिए कि एउटा अर्को कोही पनि थियो, मलाई गाढा सम्झना भएन ।
अंग्रेजीमा बोल्नुपर्ने । अंग्रेजीमा त्यसरी बोलेको लामो, त्यो पहिलो पटक थियो मेरो । मेरा अन्य केही साथीहरूले सुनेका भए, ‘अंग्रेजी छाँट्यो’ भन्थे होलान् । म त कहाँ छाँट्नु, मलाई सहज थिएन, जति पारिजात वा सुकन्यालाई थियो । पोखरीमा पौडी नजान्नेले पौडी खेलेजस्तै थियो । हातखुट्टा चलाउनैपर्ने ।
मैले पनि तिनलाई प्रभावित पार्न दर्शन त अलिकति छाँटेको हुँ ।
अनौठो कहाँ भयो भने मैले बोलेपछि मलय
रायले भने, ‘मिस्टर गौतम, यू आर स्पिकिङ फ्रम द पेजेज अफ किर्केगार्ड ।’ उनको भनाइ थियो— तँ जे बोलिरहेको छस्, त्यो नयाँ होइन, किर्केगार्डले बोलिसकेको कुरा हो ।
पाठकलाई आश्चर्य लाग्ला, यो थाहा पाएर कि उनको त्यो कुरा सुनेर म त खिन्न हुनुसाटो गद्गद् भएँ । खुसी यसकारण कि त्यसबखतसम्म मैले किर्केगार्ड सुनेको त थिएँ, राम्ररी पढेको भने थिइनँ । तैपनि किर्केगार्डले बोलेको बोलिस् भनेको सुन्दा म आफैं अचम्मित भएँ, अकारण खुशी पनि ।
त्यहाँ उनीहरूले एक दिन एलएसडी खाने प्रोग्राम बनाएको कुरा गरे । एलएसडी एक चरम कोटिको ‘इल्युजन’ उत्पन्न गर्ने ड्रग मानिन्थ्यो । त्यो उनीहरूले चोभार, धुलीखेल कताको एकान्तमा सेवन गर्ने कार्यक्रम बनाएका थिए । दिन पनि तोके । तर, त्यसमा पारिजात पनि सामेल भइनन्, म पनि भइनँ । उनीहरूले के गरे, थाहा भएन ।
यी सारा घटनाहरूकी साक्षी प्रायः सुकन्या छिन्, उनलाई सम्झना पनि होला । पारिजातसँग जोडिएका यस्ता सम्झना अनन्त छन्, लेखीसाध्य छैन । यो आलेखमा तस्बिर पनि जुन छापिएको छ, त्यही समयको एउटा प्रेमिल चिनो हो ।
अन्तिम एउटा कुरा । कसैले सोध्यो, मसँग, लेखिकाहरूमा तेरो सबभन्दा घनिष्ठ मित्र को हो ? घनिष्ठ त अरू पनि भए तर तिनमा मेरो पहिलो नाउँ पारिजातकै हुन्छ, यसमा पनि फेरि कुनै सन्देह छैन ।
प्रकाशित : कान्तिपुर, कोसेली, फाल्गुन ११, २०७५ ११:४५

मातृभाषा सशक्तीकरण कहिले ?

मातृभाषा सशक्तीकरण कहिले?
फाल्गुन ९, २०७५मल्ल के सुन्दर
काठमाडौँ — पूर्वी बंगाल नवोदित पाकिस्तानको भौगोलिक निरन्तरतारहित पूर्वी पाकिस्तान थियो । बंगाली भाषाभाषीको बाहुल्य रहेको त्यहाँ पाकिस्तानी शासकले एक भाषा नीतिअन्तर्गत उर्दुलाई मात्र सरकारी कामकाजी भाषाका रूपमा कानुनी व्यवस्था गरे ।
त्यो तत्कालीन पूर्वी पाकिस्तानका बंगाली बाहुल्य नागरिकका लागि मान्य भएन । असन्तोष आन्दोलनमा परिणत भयो । ढाका विश्वविद्यालयका विद्यार्थी हजारौंको संख्यामा एक भाषा नीतिको प्रतिरोधमा सडक प्रदर्शनमा निस्किए । अन्य राजनीतिक दलहरूको पनि त्यसमा समर्थन र ऐक्यबद्धता थियो । त्यो २१ फेब्रुअरी १९४८ को घटना थियो ।
प्रहरी दमनका कारण प्रदर्शनकारी मारिए, कैयौं घाइते भए, थुप्रैलाई हिरासतमा लिए । प्रहरी प्रशासनको व्यवहारका कारण विरोधको स्वरूप झन् व्यापक र सशक्त बन्यो । सरकारले बाध्यतावश भाषा नीतिसम्बन्धी पूर्ववर्ती कानुनमा बंगाली भाषाले पनि राज्यस्तरीय मान्यता पाउने गरी संशोधन गरेर सन् १९५२ मा आन्दोलन मत्थर भयो ।
तर, यिनै भाषा आन्दोलनबाट पूर्वी पाकिस्तानका बंगाली भाषाभाषीमा समुदायगत पहिचानको चेतले झकझक्यायो । पृथक् पहिचानको खोजीमा सुरु भएको छबुँदे आन्दोलन कालान्तरमा बंगलादेश मुक्ति संग्राममा परिवर्तन भयो । यिनै विरोध र विद्रोहको यात्राबाट नयाँ मुलुकका रूपमा बंगलादेश अस्तित्वमा आयो सन् १९७१ मा ।
बंगलादेशमा सोही भाषा आन्दोलनको मर्म, भावना र उद्देश्यको स्मृति र सम्मानमा आज पनि ‘सहिद दिवस’ मनाइन्छ, प्रत्येक वर्ष २१ फेब्रुअरीमा । क्यानडाको भ्यानकुभरमा निर्वासित जीवन बिताइरहेका बंगलादेशी अभियन्ता रफिकुल इस्लामले १९९८ जनवरी ९ मा तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव कोफी अनानलाई सम्बोधन गरेर अस्तित्व खतरामा पर्दै गरेका मातृभाषाको संवर्द्धन र संरक्षणका लागि सकारात्मक पहलका रूपमा २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा स्मरण गर्न आग्रह गरेका थिए ।
विश्वका मातृभाषाप्रेमीहरू भन्ने संस्थाका सदस्यसमेत रहेका रफिकुलले भाषा आन्दोलनमा सहादत प्राप्त गरेका योद्धाहरूको सम्मानस्वरूप २१ फेब्रुअरीलाई स्मरण गर्न प्रस्ताव गरेका हुन् । उनको प्रस्तावको एक वर्षपछि अर्थात सन् १९९९ बाटै युनेस्कोले २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन सुरु गर्‍यो जुन पछि राष्ट्र संघ महासभाबाट अनुमोदन गरियो ।
भाषा अभिव्यक्तिको माध्यम मात्र नभई समुदायको पहिचान, सामाजिक एकता, शिक्षा र विकाससँग प्रत्यक्ष सम्बन्ध रहने रणनीतिक महत्त्वको पक्ष पनि हो । मुलुक सीमाबाहिर विश्वमण्डलीकरण र राष्ट्रिय सीमाभित्र राज्यको गलत भाषा नीतिका कारण मातृभाषाको अस्तित्व चिन्तनीय छन् ।
विश्वमा हाल सात हजार भाषाभाषी बोलिन्छ भन्ने आकलन छ तर राष्ट्रसंघको अध्ययनअनुसार तीमध्ये २ हजार छ सय ८० मातृभाषा खतरायुक्त छन् । प्रत्येक दुई सातामा एउटा मातृभाषा लोप हुने क्रममा छ । राष्ट्रसंघ भन्छ– भाषाहरू विश्व मानव सभ्यताका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनका प्रभावकारी साधन हुन् ।
मातृभाषाको प्रचारप्रसार तथा विकासका लागि चालिनेसबैखाले कदमले भाषिक बहुलता र बहुभाषिकशिक्षालाई मात्र टेवा पुर्‍याउने नभई भाषिक र सांस्कृतिक परम्पराका सम्बन्धमा विश्वभरि पूर्ण जागरुकता ल्याउँछ र समझदारी, सहनशीलता तथा संवादमा आधारित ऐक्यबद्धतालाई समेत दिगो बनाउँछ । यिनै आस्थाकासाथ राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि ‘समृद्धि, शान्ति र मेलमिलापका लागि आदिवासीभाषा अर्थपूर्ण छन्’ भन्ने आदर्श वाक्य छनोट गरेको छ ।
सशस्त्र विद्रोह, सामाजिक द्वन्द्वको शान्तिपूण रूपान्तरणसहित राष्ट्रिय मेलमिलाप तथा समृद्धिको परिकल्पना र राष्ट्रिय पुनःसंरचनाका क्रममा रहेको नेपालको सन्दर्भमा राष्ट्रसंघले उद्घोष गरेको आदर्श वाक्य निकै अर्थपूर्ण छ । नेपाल बहुभाषिक मुलुक मात्रै छैन, राष्ट्रसंघले आकलन गरेको तथ्यअनुरूप यहाँका अधिकांश मातृभाषाको स्थिति चिन्ताजनक पनि छ । गैरनेपाली मातृभाषा सिकाइका माध्यम बन्न सकेका छैनन् ।
संघीय तथा प्रदेश सरकारहरूमा कामकाजीभाषाका रूपमा ती भाषा आधिकारिक प्रयोगमा ल्याइएका छैनन् । यद्यपि, संविधानले नेपालको भाषिक बहुलता र विविधतालाई स्विकारिसकेको छ, नेपालमा बोलिने मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता दिइएको छ तर राज्यसत्ताको व्यवहार र मनोदशा मातृभाषाको सम्मान र सशक्तीकरणमा उदासीन र गैरजिम्मेवार छन्, त्यसलाई संवैधानिक रूपमा व्यवस्था गरिएको भाषा आयोगको पुङमाङे गठनले छर्लंग पार्छ ।
भाषा समुदायको सामूहिक पहिचानको आधारभूत तत्त्व हो भन्ने विश्वजन्य मान्यतालाई राज्य पुनःसंरचनाका क्रममा स्थापित गराउन प्रमुख राजनीतिक दलहरूको भूमिका नकारात्मक रह्यो । राज्यका सम्पूर्ण निर्णायकतहमा भाषाभाषीको समानुपातिक पहुँच र प्रतिनिधिको सवालमा पनि दलहरू अनुदार बने । हालसम्मका विकसित राजनीतिक पृष्ठभूमिका आधारमा वर्तमान सक्ताशत्ति भाषाभाषीलाई संवैधानिक रूपमा शक्तिसम्पन्न बनाउन इच्छुक छैन भन्न सकिन्छ ।
एकातिर सत्ताको उद्घोष छ– समृद्धि र विकास अनि स्थायी शान्ति । अर्कोतिर राष्ट्रसंघको गहन बुझाइ छ– समृद्धि, शान्ति र मेलमिलापका लागि आदिवासी भाषा अर्थपूर्ण छन् । सरकारको व्यवहार र कार्यनीति उसले परिकल्पना गरेको समृद्धि र विकास तथा स्थायी शान्तितिर उन्मुख छैनन् भन्ने कुरा राष्ट्रसंघले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि चयन गरेको आदर्श वाक्यले व्यंग्य गरिरहेको छ । सत्तासीनहरूमा यस कुराको हेक्का हुनु आवश्यक छ ।
कुटिलतामा सिद्धहस्त राजनीतिज्ञहरू तामाङ, गुरुङ, शेर्पाका ल्होसार उत्सवहरूमा अतिथिका रूपमा निर्धक्क उपस्थित हुन्छन्, नेवारको भिन्तुनामा शुभकामना दिन्छन् । राई, लिम्बू, किरातको उँभौली उँधौलीदेखि थारूहरूको माघीमा पनि नाच्छन्, गाउँछन्, रमाउँछन् । ‘आदिवासी, मातृभाषाभाषीको पहिचान नेपालको राष्ट्रियता र सम्पदा
हुन्’ भनेर आदर्श वचन बोल्न पनि हिचकिचाउँदैनन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रप्रमुख, कार्यकारी प्रमुखदेखि दलीय नेताहरूको यस्तै भूमिका पुनरावृत हुन्छ । यो नौलो कुरा रहेन ।
आकर्षक नारा र सपनाको बिक्रीकै आधारमा सशस्त्र विद्रोहको मोर्चामा रैती बनाइयो आदिवासी, मातृभाषाभाषी समुदायलाई । संसदीय चुनावका क्रममा पनि भोट बैंकभन्दा माथिको दर्जामा राखेनन् दलहरूले यिनीहरूलाई तर प्रश्न हो, के नेता तथा दलहरूको यो कुटिलताले अब पनि थेग्न सक्छ ?
राष्ट्रसंघले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा उद्घोष गरेको आदर्श वाक्यले समृद्धि, विकास, शान्ति र मेलमिलापका बाटामा भविष्यमा सिर्जना हुन सक्ने चुनौतीलाई पनि संकेत गरेको छ । राष्ट्रसंघले ‘आदिवासी भाषा अर्थपूर्ण छन्’ भन्नु अन्तर्राष्ट्रिय समाजका लागि एक दिशाबोध माक्र होइन, एक सशत्त खबरदारी पनि हो ।
नेपाल परिवर्तनका क्रममा छ । विगतका भूलहरूबाट सिकेर रूपान्तरणमा पुग्ने आकांक्षा हो भने संयुक्त राष्ट्रसंघको आदर्श वाक्यको मर्म र भावनालाई बुझौं । समृद्धि, शान्ति, विकास र मेलमिलापको गन्तव्यमा पुग्न नेपालका आदिवासी जनजाति र तिनका मातृभाषा अर्थपूर्ण छन् भन्ने स्वीकार गरौं । अब पनि धुर्त्याइँ र कपटी व्यवहार चल्दैन । फगत मीठा सन्देशमा लोभ्याउने काम छैन।
प्रकाशित : kantipur, फाल्गुन ९, २०७५ ०७:५४

धुन र ताल

धुन र ताल
युवा मौलिक बाजा र नाच प्रवद्र्धनमा जुटेका छन् । कतिपयले यसैलाई पेसा बनाएका छन् । विद्यालयले पनि परम्परागत बाजा र नाचलाई प्राथमिकता दिन थालेका छन् ।
फाल्गुन ८, २०७५लीला श्रेष्ठ
काठमाडौँ — छोरीले बाजा छुनु हुँदैन भन्ने समाजमा जन्मिएकी इन्दिरा लाछिमस्युले बाजा बजाउनुलाई पेसा बनाएकी छन् । उनको दाबी छ, ‘सम्भवत: धिमे बाजा बजाउने पहिलो महिला मै हुँ ।’
इन्दिरा ११ वर्षकी छँदा उनको घरमै १२ जना केटा धिमे बाजा सिक्थे । बाजे रत्नलाल र बुबा पञ्चलाल लाछिमस्युसँगै बाहिरबाट आएका गणेशबहादुर सिजखु र गेर्ट वक्ग्रारले उनीहरूलाई सिकाउँथे । ‘धिमे बाजाको कक्षा बेलुका हुन्थ्यो, घरमै बाजा सिकाएको सुनेर/हेरेर मैले पनि सिकें,’ ३५ वर्षीया इन्दिराले सुनाइन् । उनले बाजा बजाइरहेको एक दिन गुरु गेर्टले सुनेछन् । ‘त्यसपछि मलाई पनि कक्षामा नियमित बस्न भन्नुभयो,’ उनले भनिन् ।
भक्तपुर आदर्शकी इन्दिरा सिकिसकेपछि टोलटोलमा धिमे बजाउँदै हिँडिन् । केटीले बाजा बजाएको भनेर सुरुसुरुमा हेर्नेको भीड लाग्थ्यो । धिमे बाजा बजाएर हिँड्दा ‘धिमे थाइम्ह मिसाम्ह धिमे’ (धिमे बजाउने केटी आयो) भन्दै टोलका मान्छे हेर्न आउँथे । बाह्रजना केटाको बीचमा एक्लो केटीले बाजा बजाउनु सामान्य थिएन । यो बुबाकै प्रेरणाले सम्भव भएको उनी बताउँछिन् ।
छोरीलाई बाजा सिकाएको भनेर समाजका मान्छेले कुरा नकाटेका होइनन् । त्यही कुरा काट्ने समाज अहिले छोरीलाई बाजा सिक्न पठाउने भएको छ । ‘सुरुमा बाजा बजाएको रमिता हेर्ने छोरीहरू आफैं बाजा बजाउन सिपालु भएका छन्,’ इन्दिराले भनिन्  ।
इन्दिरा लोप हुने अवस्थामा पुगेका नौ बाजा संरक्षणमा जुटेकी छन् । परम्परागत नौ बाजा (करखीङ्ग, पास्त, धाँचा, न्याखिंङ्ग, धिमेचा, कोखिङ्ग, नगरा, छिमा, धलक), धिमे बाजा नेवारी परम्पराअनुसार दसंै, सकिमना पूर्णिमालगायत चाडपर्वमा बजाइने गरिन्छ ।
बाबु/बाजेले परम्परा धान्न बजाउने बाजा, चाडपर्वमा गरिने नृत्य (प्याखं) लाई इन्दिराले पेसामा परिणत गरेकी छन् । यसको श्रेय उनी बुबा र बाजेलाई दिन्छिन् । ‘पहिले हाम्रो कलासंस्कृति बचाउनुपर्छ भन्ने थिएन, चलनचल्तीका रूपमा मात्र आयो,’ उनले भनिन्, ‘अमूर्त सम्पदाको पनि मूर्त सम्पदाझैं महत्त्व छ । त्यही भएर बचाउन लागेकी छु ।’इन्दिरा विद्यार्थीलाई माकं प्याख:, देवी, जङ्गली, कवांचा, नागाचा, फाकन्दली प्याख: लगायत नाच सिकाउँछिन् ।
पछिल्लो समय रिदम भएको, समूहलाई आकर्षण गर्न सक्ने वाद्यवादनमा युवा पुस्ताको आकर्षण र सहभागिता बढ्दो छ । धिमे, बाँसुरी, धाँ बाजा उल्लेख्य वृद्धि भएको छ । आधुनिक शिक्षा प्रणालीले पनि स्थानीय मौलिक वाद्यवादन, गीतसंगीत र नृत्यलाई पनि विद्यार्थीको अतिरिक्त क्रियाकलापका रूपमा सिकाउन थालेको छ । विभिन्न स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय मौलिक भाषा, संस्कृति, बाजागाजा, नृत्य, जात्रा, स्थानीयस्तरमा उत्पादित खाद्यान्नलगायत विभिन्न विषयमा अध्ययन अध्यापन सुरु गरेपछि युवा पुस्तामा परम्परागत सीपलाई आयआर्जन तथा सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने अभ्यास सुरु भएको छ । यसले पनि मौलिक भाषा, संस्कृति, जात्रा पर्व र परम्पराको दिगो संरक्षणमा टेवा पुगेको छ ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा प्राथमिकताका साथ परम्परागत बाजा, नाचलाई राखेको छ । इन्दिरा एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुल र ब्रह्मायणी आधारभूत विद्यालयमा सांस्कृतिक महत्त्व बोकेको मौलिक बाजा नौ बाजा, धिमे, धाँलगायत बाजा विद्यार्थीलाई सिकाउँछिन् । विद्यालयमा उनी प्याख: (नाच) पनि सिकाउँछिन् । सामुदायिकभन्दा संस्थागत विद्यालयले मौलिक बाजा, नाचलाई प्राथमिकतामा राखेको उनको बुझाइ छ ।
इन्दिरा मौलिक बाजा, नाच विभिन्न कार्यक्रममा पनि प्रस्तुत गर्ने गर्छिन् । मौलिक बाजा प्रदर्शनका लागि थाइल्यान्ड, इटाली, जर्मन, अस्ट्रिया, भारतको सिक्किम, दार्जिलिङ, असमलगायतमा पुगेकी छन् । परम्परागत सांस्कृतिक बाजा सिकाउन व्यस्त इन्दिरालाई आजकल समय निकाल्न मुस्किल पर्ने गरेको छ । इन्दिराले चर्चित ब्यान्ड ‘कुटुम्ब’ लाई समेत धिमे सिकाइन् ।
भक्तपुर नगरपालिका ग:हिटीका मुक्तिसुन्दर जधारीको दिनचर्या पनि महाकाली नाच सिकाउँदैमा बित्छ । ४ वर्षको उमेरमा कवांचा प्याख: (कंकाल नाच) बाट सुरु गरेका जधारी सांस्कृतिक महत्त्वको मौलिक नाच जोगाउन लागिपरेका छन् । उनले परम्परागत नाचमा श्रीमती रोमी (रामकेशरी) जधारी, छोरी रोशीका र छोरा रोशिकलाई समेत समावेश गरेका छन् । उनले बुबा पूर्णबहादुर जधारीबाट चलनचल्तीका रूपमा कवांचा सिकेका हुन् । मुक्तिसुन्दरका लागि महाकाली नाच पेसामा परिणत भएको छ ।
‘बाबुबाजेले चलनचल्तीका रूपमा बजाउँदै आएको बाजा, चाडपर्वमा नाच्ने नाचलाई मैले पेसाका रूपमा अवलम्बन गरेको छु,’ उनले भने, ‘पछिल्लो समय हाम्रो कला, संस्कृति पुस्तान्तरण हुन छाड्यो । चलनचल्तीकै रूपमा सीमित भयो ।’ लोप हुने अवस्थामा पुगेको मौलिक अमूर्त सभ्यतालाई बचाउन अभिलेख तयारी तथा प्रशिक्षक आवश्यक भएको उनी बताउँछन् ।
मुक्तिसुन्दरले महाकाली नाच (देवी प्याख:) सम्बन्धी पुस्तकसमेत प्रकाशित गरेका छन् । लोपोन्मुख प्याख: को इतिहास, कला र संस्कृतिको जगेर्नाका लागि पुस्तक प्रकाशन गरेको उनले बताए । देवी प्याख: मा १७ देवगण आवश्यक पछ । देवगण जुटाउन कठिन भएकाले यो लोपोन्मुख अवस्थामा पुगेको थियो । उनले अहिले महाकाली, महालक्ष्मी, कुमारी १/१, बेत्ताल–३, ख्याक, कवां, जंगली, भूतभैरव २/२, सिंह, सिंहजो र दैत्य गरी १७ देवगणको तीन समूह तयारी अवस्थामा रहेको बताए । केही वर्षयता विभिन्न सांस्कृतिक कार्यक्रममा देवी प्याख: प्रदर्शन गर्ने गरेको छ ।
भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा वर्षमा एकपल्ट मौलिक नाचहरूको प्रतियोगिता गराउने गरेको छ । सोही प्रतियोगिताले समेत केही हदसम्म परम्परागत नाच प्रवद्र्धनमा टेवा पुगेको उनी बताउँछन् । भक्तपुर मात्र नभई उपत्यकाको विभिन्न स्थानमा देवी प्याख: प्रदर्शन गर्ने र प्रदर्शनबापत आउने रकमले देवगण (कलाकार) को जीवनस्तरमा सुधार हुने मुक्तिसुन्दरले बताए । देवी प्याख: प्रदर्शन गर्न थाइल्यान्ड, भारतलगायत मुलुकमा पुगेको र अस्ट्रेलिया जाने तयारीमा रहेको उनले बताए । मुक्तिसुन्दरले १ सय ५० भन्दा बढीलाई घरमै प्रशिक्षण दिइसकेका छन् । उनी ‘द राइजिङ स्कुल’ का विद्यार्थीलाई देवी प्याख: सिकाउँछन् । विशेष गरी गाईजात्रा, इन्द्रजात्रामा प्रदर्शन गरिने मल्लकालीन महाकाली नाचलाई मुक्तिसुन्दरले अन्य समयमा समेत प्रदर्शन गरेर बचाउनुपर्ने भन्दै सरोकारवालासमक्ष आवाज उठाउँदै आएका छन् । ‘वर्षमा दुईपल्ट मात्र प्रदर्शन गर्न देवगण पाइँदैन, अमूर्त सम्पदालाई पेसा/व्यवसायसँग नजोडे हराउने जोखिम छ,’ उनले भने, ‘स्थानीय तहले महाकाली नाचलगायत मौलिक नाच, बाजालाई पर्यटन व्यवसायसँग जोड्दै लैजानुपर्छ ।’ भक्तपुर अवलोकनका लागि वार्षिक लाखौं पर्यटक आउने गर्छन् । ‘ती पर्यटकलाई मूर्त सम्पदा मात्र होइन, अमूर्त सम्पदा (कला, संस्कृति) समेत अवलोकन गराउनुपर्छ,’ उनी भन्छन् ।
भक्तपुर दत्तात्रयका ४० वर्षीय विष्णुबहादुर मानन्धरले १३ वर्षको उमेरमा तबला सिके । तबलाबाट सुरु भएको उनको संगीत यात्रा काठमाडौं विश्वविद्यालय (केयू) मा मौलिक बाजा प्रशिक्षकमा पुगेको छ । उनी केयूमा नेवारी मौलिक बाजा नगरा, धिमे, धाँ, पोङ्गा, धिमेचा, नायखीं सिकाउँछन् । मौलिक धिमे/धाँ बाजामा नयाँ–नयाँ बोल थप्दै विद्यार्थीलाई सिकाउने गरेको उनी बताउँछन् । विष्णुबहादुरले केयूमा विदेशीलाई समेत परम्परागत मौलिक बाजा सिकाउँछन् । ‘नेवारी बाजाको छुट्टै स्वाद छ, सांस्कृतिक विविधता बोकेको बाजामा विदेशीको मोह बढ्दो छ,’ उनले भने, ‘पुर्खाको चलनचल्तीलाई पर्यटनसँग जोड्दै विदेशीलाई प्रशिक्षण दिँदै आएको छु ।’ स्थानीय तहलगायत सम्बन्धित निकायले पुर्खाले चलनचल्तीका रूपमा मनाउँदै आएको संस्कृति बचाउन आयआर्जनका रूपमा विकास गर्दै लैजानुपर्ने उनी बताउँछन् । ‘मुलुक व्यवसायीकरण हुँदै गएको छ,’ उनले भने, ‘हाम्रो कला, संस्कृति, बाजागाजा, नाचलाई समयानुकूल व्यावसायिक बनाउनुपर्छ, मौलिक सभ्यता पुस्तान्तरण नहुँदा संकटमा पुगेका छन् ।’ स्थानीय तहले सांस्कृतिक बाजा प्रवद्र्धनका लागि पर्यटनसँग जोड्न सकिने उनी बताउँछन् ।
मौलिक बाजा नगरा, धिमे, धाँ, पोङ्गा, धिमेचा, नायखींले उनलाई उपत्यकामा मात्र नभई चेक रिपब्लिक, अस्ट्रिया, फ्रान्स, जर्मनी, इटालीलगायत मुलुकमा पुर्‍याएको छ । विष्णुबहादुरसँग नेवारी परम्परागत बाजा सिकेका विद्यार्थीले नेवार समुदायलाई मात्र नभई सिंगो नेपाललाई विश्वसामु चिनाएको उनी बताउँछन् । एउटा टोल, समाजमा सीमित व्यक्तिले बजाउने मौलिक बाजा विदेशमा देखाउन पाउनुलाई उनी महत्त्वपूर्ण उपलब्धि मान्छन् ।
प्रकाशित : kantipur, फाल्गुन ८, २०७५ २१:०२

लिच्छवि को थिए ?

लिच्छवि को थिए?
'लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दाबी गर्ने कुनै जाति फेला पर्दैनन्’
फाल्गुन ९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — नेपालको इतिहासमा गोपाल र महिषपालपछिका शासक थिए– किरात । किरातकालपछि लिच्छविले शासन गरेका थिए ।
लिच्छविकाललाई स्वर्णकाल भनेर उल्लेख गरिएको पाइन्छ । लिच्छवि को थिए ? इतिहासविद्को मत छ– ती लिच्छविको वंश दाबी गर्ने कुनै जाति छैन । तर, किरात जाति भनेर दाबी गर्नेहरूमा छन्– राई, लिम्बू, याक्खा र सुनुवार ।
किरात राई प्रज्ञा परिषद्द्वारा हालै राजधानीमा आयोजित किरात राई प्राज्ञिक गोष्ठीमा किरात राई जातिको इतिहास, भाषा, लिपि, साहित्य, मुन्धुम संस्कृति, कलाबारे चर्चा चल्यो । मुन्धुमविद् बैरागी काइँलाले किरात जातिले बाँचेको जीवनले इतिहास खोतल्न नसकेको बताउँदै थपे, ‘ती इतिहासको सत्यतथ्य खोतल्न सके संसारलाई हेर्ने दृष्टिकोण बन्न सक्छ ।’
इतिहासविद् दिनेशराज पन्तको मतमा लिच्छवि काल प्रामाणिक काल हो । ‘लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दावी गर्ने कुनै जाति फेला पर्दैनन्,’ गोपाल राजवंशावली र भाषा वंशावलीको चर्चा गर्दै पन्तले भने, ‘किरात काल थियो भन्ने प्रष्ट हुन्छ । गोपाल राजवंशावलीले काल दिएको छैन ।
अहिलेभन्दा पाँच हजार वर्षअगाडि विक्रमपूर्व ३ हजार वर्षअगाडि साल छन् । हामीले भाषा वंशावलीका आधारमा भन्न सक्छौं । जति माथि गयो, उनीहरूको कुरा अर्धसत्य, कतै पूर्ण असत्य, कतै असत्य छन् ।’ दुई सय वर्षअघि लेखिएको अभिलेखले किरातकाल कायम गर्नु मूर्खता हुने उनको भनाइ थियो ।
किरात समाज र जनजीवन मुन्धुमबाट निर्देशित रहेको र मुन्धुम श्रुति र स्मृतिमा आधारित दर्शन भएको अध्येता चतुरभक्त राईले बताए । ‘मुन्धुमले मान्छेको इतिहास, जनावरको उत्पत्तिबारे व्याख्या गर्छ र यो ठोस हुँदैन,’ मुन्दुम अलिकति काल्पनिक र बढी दार्शनिक अलिखित ग्रन्थ भएको उल्लेख गर्दै उनले भने, ‘चेतना कि पदार्थ पहिला भन्ने बहस पनि छ । म पदार्थपछि चेतना आएको भन्ठान्छु । मुन्धुम दर्शन दुवै कोणबाट निर्देशित छ । यसले धार्मिक सहिष्णुताकोकुरा गर्छ ।’
दर्शनशास्त्री डा. भक्त राईले पूर्वीय सभ्यतासँग मुन्धुम जोडिएको बताउँदै थपे, ‘नेपालमा पूर्वीय दर्शनको बहस हुँदा नौ वटा दर्शनको मात्र उल्लेख गरिन्छ । श्रुति र स्मृति परम्पराले निर्देशित मुन्धुम फरक दर्शन हो । मुन्दुममा पनि पाँच चिन्तन छन् ।’
भाषाशास्त्री प्रा. नोवलकिशोर राईले किरात राई जातिको परम्परागत ज्ञान, सीप, कला, भाषा, संस्कृति लोपोन्मुख रहेको औँल्याए । अर्का भाषाशास्त्री प्रा. टंक न्यौपानेले किरात जातिले आफ्नोपन जोगाउन एकढिक्का हुनैपर्ने बताए । आयोजक संस्थाका कुलपति जयकुमार राईले किरात इतिहास, भाषा, संस्कृतिको पुनःउत्थानको प्रयास जारी रहने सुनाए ।
प्रकाशित : KANTIPUR, फाल्गुन ९, २०७५ ०८:०४

इतिहासले बिर्सने छुट दिँदैन

इतिहासले बिर्सने छुट दिँदैन

 नरेन्द्रजंग पिटर
विचार
अन्नपूर्ण,
 ०१ फागुन २०७५ ०९:०४:००
 स्थगित भयो भने सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको किसमिस झैं
चाउरिन्छ ?
कि घाउ झैं पाक्छ र पीप बहन्छ ?
कि कुहिएको मासुजस्तै गनाउँछ त्यो ?
सायद त्यो गह्रुँगो भारीजस्तो
विस्तारै घर्सिने हुन्छ।
कि विस्फोट हुन्छ सपना ?
ल्याङ स्टन ह्युज
‘जनयुद्ध’ ले १ फागुन ०५२ गते उद्घोष गरेका मर्म र सन्देश इतिहासका विषय बने। आखिर त्यत्रो उथलपुथलकारी विद्रोही शक्ति आफ्नै चारित्रिक आदर्शका बोझ धान्न नसकेर कसरी यो अवस्थामा पुग्दो रहेछ ? आफ्नै गौरवता नायकलाई नै किन गह्रांै बन्दो रहेछ ? राजनीतिक परिवर्तनको स्वामित्व स्वयं त्यसका अगुवाले लिन किन चुक्दा रहेछन् ? सत्ता प्राप्ति नै राजनीतिको केन्द्रीय विषय हो। तर नयाँ सत्ता चरित्रले जन्माउने नयाँ मान्छे, नयाँ समाज, अवस्था कस्तो हुने ? सम्पूर्ण क्रान्तिसँगै जन्मने प्रश्न हुन्। जे छ त्यो भन्न नसक्नु, जे छ त्यो देखाउन नसक्नुको पछाडिका कारक के-के हुन् ?
माओवादी पदावली कुनै पार्टीको मात्र नाम नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरण र आन्दोलन थियो। उत्पीडित र आवाजरहित भुइँमान्छेका लागि कुनै दिन शब्दशक्ति थियो। सनातनसँग विद्रोह थियो। सत्ता थियो। आशा, भरोसा र सपना थियो। हरेकखाले उत्पीडक र वर्चस्वशाली वर्ग र समुदायका लागि भने आतंक थियो। विद्रोहको सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार गर्दा सामाजिक सौन्दर्यशास्त्रका मानक मूल्यमाथि नै प्रहार गर्‍यो।
हस्तक्षेपले सुषुप्त बस्ती र सनातनी चेतना खजमजिए। निर्धा र सुदूरबस्तीले आफ्ना शक्ति चिन्यो। हरेक क्षेत्रमा महत्वाकांक्षा र पहिचानको भोक पनि जाग्यो। ०६२÷६३ सम्म आइपुग्दा ‘जनयुद्ध’ र जनआन्दोलनको सहमतीय यात्रा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, केन्द्रीकृत राज्यसत्तालाई संघात्मक सोच, बहुजातीय बहुसांस्कृतिक समाजको राज्यमा समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षताको हुँकार बन्न पुग्यो।
क्रान्ति र विद्रोहले एकअर्कालाई रक्तपात निषेध गर्थे। तर यहाँ त्यस्तो नभई शक्ति सन्तुलनको अनिवार्य वि श्राम सहमतीय राजनीतिको सुरुवात भएर विकसित राजनीतिक घटनाक्रममा शास्त्रीय र सक्रिय सामन्तवादबाट सम्बन्ध-विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्न पुग्यो। ‘जनयुद्ध’ ‘शान्तियुद्धमा’ फेरियो। युद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हो।
माओवादी युद्ध भन्नेबित्तिकै प्रचण्ड र बाबुरामको नाम अगाडि आउने गर्छ। तर दुवैलाई अब युद्धकालीन माओवादी न नामसँग न कामसँग महत्व राख्छन्। कमान्डरहरूकै यो अवस्था भनेको विश्व इतिहासको भद्दा ठट्टा पनि हो। सैद्धान्तिक रूपमा मोहन वैद्य किरणहरू सक्रिय भए पनि पार्टीलाई सामाजिक र व्यवहारीकरण गर्न अझै सकेका छैनन्। विप्लवको एकीकृत जनक्रान्ति पाँच वर्ष पुग्न थाल्दा अझै पनि विद्रोही आकार ग्रहण गर्न सकिरहेको छैन।
आदेशले मात्रै समाज परिवर्तन पनि हुँदैन। माओवादी विरोधीले जे चाहन्थे, त्यो हुँदै गयो। पार्टी फुट्दै गए। स्वत्वका टकराहट सिद्धान्तका नाममा, व्यवहार र आचरणमा टसल बढ्दै गए। जे नारा र आदश थियो, समग्रमा युद्धको धरापबाट त उम्क्यो तर मनोयुद्धको धराप भने छिचल्न सकेन। समग्र माओवादी युद्धको समीक्षा नै नगरी फुट्यो। अझै पनि विश्लेषण हुन नसकेको धोबीघाट भेलाका आयोजक त देखिए तर प्रायोजक भने देखिएनन्।
इतिहास बिर्साउने खेल
प्रसिद्ध जनइतिहासकार प्रो. लालबहादुर बर्मा भन्छन्- अपूरो क्रान्तिका पनि ‘इतिहासबोध’ आवश्यक हुन्छ। इतिहास अणु पनि हो परमाणु पनि। वर्तमानको औचित्य सावित गर्ने र प्रतिकारको औजारसमेत हो। पक्षधारिताकै आधारमा अहिले इतिहास बिर्साउने वा वीभत्सकरण गर्ने युद्धविरोधी एक खेल मञ्चन हुँदैछ। त्यसको सौन्दर्यकरण गर्ने नैतिक पुँजी अगुवामा स्खलित हुँदै जाँदा प्रतिपक्षले मौका पाएका हुन्। माओवादीमै पनि आर्थिक सांस्कृतिक वर्ग रूपान्तरणको तीव्र गति बढ्दै जाँदा विरोधीका काम पनि उनीहरूबाटै भयो।
कसैले चाहोस् वा नचाहोस् ! अगुवाहरू जो, जहाँ हुन् ? तर नेपाली राजनीतिक इतिहासका लागि फागुने संक्रान्ति राजनीतिक क्रमभंगताको कोसेढुंगा भइसक्यो। सकार-नकार पक्षधारिताका आधार हुन् तर दसबर्से युद्ध र १४ वर्षको शान्तिपूर्ण टकराहटलाई अब नेपाली इतिहासबाट खारेज गर्नै सकिँदैन। राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पारेको प्रभावलाई सन्दर्भबाट कटाउनै सकिँदैन। पहिचान र सामथ्र्यको खोजी, त्यसको मूल्य भुक्तान र सामाजिक उथलपुथलले बनेका केन्द्रीय मुद्दा, पैदा गरेको राजनीतिक अवस्थाबारे आआफ्नै कोण, सोच र पक्षधरताका आधारमा समीक्षा हुँदै जाला।
सहमतीय राजनीतिका अगुवाले शान्ति अभ्यासलाई सकारात्मक दिशा दिन सकेनन् भने त्यो अवसर बन्दुकबाट छुटेको गोलीजस्तै हुनेछ।
चौबीस वर्ष पहिला र अहिलेको अवस्था, परिस्थिति, बहस र अभ्यास धेरै फरक छन्। विद्रोहरत पक्षका मित्र र दुस्मनका परिभाषा फेरिए। क्रान्ति एकाध शूर, वीर, योद्धाहरूले मात्रै होइन, कविता मात्रै होइन भन्ने कुरा पनि यो अवधि र अभ्यासले देखाइदियो। एउटा गर्भे शिशु अहिले लोर्के भइसकेर हरेक क्षेत्रको नीतिनिर्माता तहमा पुगिसके। तर पनि इतिहास गर्भमा पुरिएका सबैका आग्रह, पीडा थेग्रिएर सोच र भूमिकामा भने प्रभाव पारिरहेका छन्।
कुनै न कुनै नै रूपमा देखा परिरहेका छन्। जुन कारणले विद्रोहको उद्घोष भयो त्यसैले गणतन्त्र शब्दमा आए पनि अझै परिवर्तन व्यवहारमा पाउन भने सकिएको छैन। रूपमा हैन गुणमै सत्ता चरित्रमा फेरबदल गर्ने र नगर्ने बीचको टकराहट झन् बढेको छ। सहमतीय राजनीतिका अगुवाले शान्ति अभ्यासलाई सकारात्मक दिशा दिन सकेनन् भने त्यो अवसर बन्दुकबाट छुटेको गोलीजस्तै हुनेछ। इतिहासमा विद्रोहको पूर्णविराम कहिल्यै हुँदैन, त्यो अवस्थाका जनक अहिले शान्तिको सकारात्मक व्यवस्थापन नगर्ने, नचाहने, घर्काउने, तन्काउने, मर्म ध्वस्त गर्नेहरूलाई नै जान्छ।
छिचल्न नसकेको मनोयुद्ध
विद्रोहकाल १० वर्ष २ महिना १२ दिन चल्यो। शान्ति टसलका १४ वर्ष बित्दैछन्। यो समय भनेको नेपाली इतिहासकै महाउथलपुथल कालखण्ड हो। जनयुद्ध अहिले मनोयुद्धमा फेरिएको छ र सुषुप्त टकराहट घनीभूत भइरहेका छन्। विगत चौबीस वर्षमा राजनीतिक घटनाक्रमः यति तीव्रता साथ बढे कि त्यसको गति पक्रनसमेत सामान्यजनलाई सहज र सरल भएन। धेरैका भविष्यवाणी हावादारी भए। जे पर्ला सोही टर्ला भन्ने नेतृत्वसँग शान्ति प्रक्रियामा आउँदा न कुनै योजना थियो, न मार्गचित्र।
मनोयुद्धको धरापमा फस्दै जाँदा आपस भ्रम, अन्योल, अकर्मण्यता र प्रतिक्रिया मौलाउँदै पार्टी फुट भए। द्वन्द्व र शान्तिका अभ्यासमा विद्रोही आदर्श स्खलन हुँदै बजार संस्कृतिको हावी हुँदा आफ्नै सुन्दर सपनाको बोझ गह्रुँगोे हुने, मित्र विमित्रमा फेरिने र विरोधी एवं दुस्मनहरू साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई अन्यन्त्र मोड्दै गए। शान्तियुद्धका जटिलतामा विद्रोहलाई विधिमा टेक्दै विधि भत्काउँदै विधि निर्माणका जटिलता र सहयात्रीबीचका भ्रम र त्यसका परिणाम दम्भ, अहंकार कुण्ठाले दिएन।
दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैनथ्यो। माक्र्स, लेनिन र माओले नेपाली माओवादीलाई यी विषय लेखिदिएनन्। यसै समाजको ऐतिहासिक विकासक्रमः, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना मान्छेका भाग्यसँग जोडिएका हुन्थे। जब एकाध मान्छेले देखेका सपना ह्वात्त एकैसमयमा समाजले देख्न थाल्छ तब त्यो सपना विद्रोह बन्छ, आन्दोलन बन्छ र क्रान्तिमा फेरिन्छ भन्ने हेक्का नराख्नु मनोयुद्धको धराप थियो। मनोयुद्धको विश्वव्यापी अभ्यासको सशक्त प्रहार शान्तियुद्धको चोट झेल्न माओवादी बबुरोे बन्यो।
अझै शीतयुद्ध जारी छ
नयाँ कुरा सोच्ने सोचले नै सनातन वा परम्परामा जिउने समाजमा आतंक बन्ने गर्छ। घाउ निको हुन्छ तर खाटा बसे पनि दाग भने रहिरहन्छ। विद्रोहकालीन समयमा भएका टसललाई राजनीतिक समाधान भए पनि भावनात्मक रूपमा भने हुन सक्दैन। त्यसका खाटा धेरै समयसम्मै रहिरहन्छन्। सामाजिक सौहार्द र सहकार्यले मात्रै त्यसको उपचार हुन्छ। सत्ताका फेरिएका चरित्र र कार्यक्रमले नेतृत्व गर्नुपर्छ, तर त्यो अझै देखिँदैन। द्वन्द्वउद्यमी द्वन्द्व चर्काएर फसल काट्न व्यस्त छन् भने प्रतिगामी तत्व त्यसैमा खेल्न।
जनयुद्ध’ सम्झने वाध्यता
माओवादीमै सहिद अर्काका घरमा पैदा होस् र आन्दोलनको उपलब्धिको अग्र हिस्साको हकवाला म हुन पाऊँ भन्ने चरित्र देखिँदै गए। सहिदको जैविक हकवालाले आफ्नो सेयर पार्टीमा सबभन्दा ठूलो रहेको दाबी पनि रह्यो। योग्यता, दक्षता र आवश्यकताका परिभाषा फेरिए। युद्धले सत्ता दिलाएका र परिचय दिएकाहरूले त युद्धलाई नाटकै भए पनि सम्झन बाध्य भए भने जसका कारण वर्चस्वशाली वर्गबाट च्युत भएको स्वार्थ समूह छ, त्यो पनि यसलाई घृणा र षड्यन्त्रै गर्नसमेत सम्झन बाध्य छन्।
अन्त्यमाः अब माओवादी युद्ध भने प्राज्ञिक अनुसन्धान, समाजशास्त्रीय अध्ययन, विद्रोही मनोविज्ञानको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको उपज अध्ययन विषय बन्नेछन्। आआफ्ना आग्रहले तत्कालीन अवस्था, शब्द, अर्थ, कारक पक्ष कार्य, कारक र परिणामलाई व्याख्या गरेर स्वऔचित्य सावित गर्ने प्रयत्न त गर्ला। त्यो एकांकी हुन सक्छ। कर्ता नै विचलन र सत्ता प्राप्ति खेलमा रुमलिँदा पनि विद्रोहले पैदा गरेका सामाजिक र आर्थिक हस्तक्षेपले राजनीतिक क्रमभंगता जे गर्‍यो त्यो भने मेटिन सक्दो रहेनछ। सामाजिक अन्तरविरोधको कुशलतापूर्वक हल भनेको प्रगतिशील राजनीतिले दिने उपचार हो र दिनुपर्छ,। दिन सकेन भने कस्तै शक्तिले पनि विद्रोह र क्रान्ति रोक्न भने सक्दैन।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...