Tuesday, June 11, 2019

युग परिवर्तनको कम्युनिस्ट बहस

युग परिवर्तनको कम्युनिस्ट बहस
पञ्चायती
पुँजीवादको विकासक्रमका दृष्टिले भूमण्डलीकृत पुँजीवादी युगमा मानवसमाज पुगेको छ । क्रान्तिका दृष्टिले वैज्ञानिक समाजवादी युग प्रारम्भ भएको छ । भूमण्डलीकृत पुँजीवाद नाशवान् हो भने वैज्ञानिक समाजवाद उदीयमान ।
फाल्गुन १२, २०७५आहुति
काठमाडौँ — मार्क्सवादी सिद्धान्तले विकास र विनाशको मुख्य कारण वस्तुभित्रै हुन्छ भन्छ । यसले समाज व्यवस्थाभित्र विकसित हुने उत्पादक शक्तिले उन्नत समाज व्यवस्था निर्माण सुरु गर्छ भन्ने तर्क गर्छ । उत्पादक शक्ति भन्नाले मानिस र उत्पादन गर्न प्रयोग हुने औजार, श्रम आदि हुन् । यसमा मानिस निर्णायक हुन्छ भने औजारचाहिँ मुख्य हुन्छन् । यसरी मार्क्सवादी अथवा कम्युनिस्ट साहित्यमा उत्पादनका निम्ति मुख्य भूमिका खेल्ने भौतिक औजार वा अवधारणागत औजार परिवर्तन भएपछि समाज नयाँ युगमा प्रवेश गर्छ । मानवसमाजको नयाँ युग भनेको नयाँ उत्पादन सम्बन्ध हो । राजनीतिक अर्थशास्त्रमा उत्पादन सम्बन्ध भन्नाले तीन कुरा पर्छन् । एक, स्वामित्वको स्वरूप । दुई, उत्पादित वस्तुको वितरण प्रणाली र तीन, स्वामित्वको स्वरूप र वितरण व्यवस्थाबाट मानिसबीच बन्ने आपसी सम्बन्ध ।
उत्पादक शक्ति र उत्पादन सम्बन्धको गम्भीर अध्ययनपछि सन् १९०५ तिर लेनिनले मार्क्स बाँचेको प्रतिस्पर्धात्मक पुँजीवादी युग अन्त्य भई एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी नयाँ युग सुरु भएको निष्कर्ष अगाडि ल्याएका थिए । त्यस नयाँ युगको सानदार थेसिसपछि पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धसँगै संसारमा कम्युनिस्ट र उपनिवेशवादविरोधी क्रान्तिको आधा शताब्दी लामो उभार आएको थियो । लेनिनले मरणासन्न बताएको पुँजीवाद शीतयुद्धमा छिप्ने स्थितिमा पुग्यो ।
दोस्रो विश्वयुद्धले पारेको प्रभाव घटेसँगै कम्युनिस्ट आन्दोलन ओरालो लाग्ने क्रम थामिएको छैन । आज कम्युनिस्टहरूबीच विश्वव्यापी भागदौड छ, सन् १९०५ भन्दा ठीक अगाडि जस्तै । शीतयुद्धमा खुम्चिएको पुँजीवाद कसरी बिग्रियो ? लेनिनको थेसिसअनुसार पहिलो र दोस्रो जस्तै तेस्रो विश्वयुद्ध किन भएन ? उद्योगमा थुप्रिनुपर्ने करोडौं मजदुर सेवा क्षेत्रमा कसरी फालिए ? यी यस्ता प्रश्‍न हुन्, जसको सही उत्तर मार्क्सवादीहरूले आज खोज्नैपर्ने चुनौती छ । सही उत्तरतिर अघि बढ्न फेरि पनि आजको मुख्य उत्पादक शक्ति के हो र त्यसले कस्तो युगमा ल्याइपु‍र्‍याएको हो भन्ने विषयमा प्रवेश अनिवार्य छ ।
दोस्रो विश्वयुद्धपछि विश्वमा तीव्र गतिमा विज्ञान–प्रविधि विकास हुन थाल्यो । विशेषतः सन् १९५० देखि आजसम्मको विज्ञान–प्रविधिको विकास पहिलेको विकाससँग तुलना गर्न नसकिने स्तरमा गुणात्मक फड्कोयुक्त हो । यस्तो असाधारण प्रगतिले हिजोको मुख्य उत्पादक शक्तिका रूपमा रहेको मेसिन र मानव श्रमको भूमिकालाई गुणात्मक रूपमै न्यूनीकरण गर्‍यो ।
हजार मेसिन आठ घण्टा चलाउन हजार जना मानिसको ८ घण्टा श्रमशक्ति लाग्ने ठाउँमा हजार मेसिन एक जना मानिसले एकै पटकमा एउटा स्विच दबाएपछि चल्ने स्थिति उत्पन्न भयो । विज्ञान–प्रविधिको यस्तो विकासले डिजिटल युग सुरु हुन पुग्यो । इन्टरनेटजस्ता प्रविधिमा मारिएकोफड्कोले विश्व पुँजीवादलाई पुनः नयाँ चरणमा जीवित हुन सक्ने बाटो खुल्यो ।
एकातिर, उत्पादनका थलोहरूमा लाखौं मजदुर केन्द्रित हुने मार्क्स र लेनिनको समयको औद्योगिक पुँजीवाद वा एकाधिकार पुँजीवादको अवस्था विश्वमा रहेन । उत्पादनको सट्टा श्रमिकहरू सेवा क्षेत्रमा अथवा मूलतः असंगठित क्षेत्रमा छरिन बाध्य भएका छन् । नेपालबाट वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली सुरुङ–सडक निर्माण, होटल, ड्राइभिङ, वृद्धवृद्धाको हेरचाह, घरेलु सेवा, चौकीदारी, व्यापारिक मलका कर्मचारी, स्वास्थ्य क्षेक्र आदिमा त्रियाशील छन् ।
अर्कातिर, विज्ञान–प्रविधिका कारणले धेरै देशका पुँजीपति एकीकृत रूपमा बहुराष्ट्रिय कम्पनीमार्फत विश्वको लुटमा उत्रिन सम्भव भयो । हिजोको एकाधिकार पुँजीवादी विश्वमा पुँजीपति वर्गका ठूला समूहबीच आपसी युद्ध र विश्वयुद्धसम्म हुन्थ्यो किनभने तिनीहरू एकअर्कोलाई सिध्याउन चाहन्थे । आज विश्वभरिका पुँजीपति तथा तिनका समूह आपसमा बहुराष्ट्रिय र पराराष्ट्रिय कम्पनीमार्फत एकीकृत भएका छन् । एकले अर्कालाई नसिध्याईकनै नाफा बढ्ने समय आएको छ ।
पुँजीवादको यस्तो परिदृश्य वा चरण यसअघि देखिएको थिएन, देख्न सम्भव पनि थिएन । तसर्थ, आजको विश्व पुँजीवाद वा साम्राज्यवाद भूमण्डलीकृत पुँजीवादका रूपमा वेगवान् बन्न पुगेको छ । पुँजीवादी समाजको उदयदेखि एकाधिकार पुँजीवादको युगसम्म उत्पादक शक्तिका रूपमा पुँजीअन्तर्गत मेसिन र सामूहिक मानव श्रम प्रमुख थिए । आज औजार र सामूहिक मानव श्रमले नायकत्व गुमाए । उत्पादनमा तिनीहरूको भूमिका सहायक हुन थाल्यो । मुख्य भूमिका विज्ञान–प्रविधिको हुन थाल्यो ।
सारमा, सामूहिक मानव श्रम मुख्य उत्पादक शक्ति भएको युग गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति हुने आजको युग बन्न पुग्यो । आज पनि नेपाल र विश्वका कैयौं स्थानमा सामन्तवादकालीन हल गोरु जोतिँदै छन् तर मानव श्रमका यस्ता तरिका अवशेष मात्र हुन् । उत्पादक शक्तिमा गुणात्मक परिवर्तन भएर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेको यस ऐतिहासिक यथार्थलाई गहिरो गरी आत्मसात् नगरी नयाँ युगमा कम्युनिस्ट आन्दोलन मुर्छनाबाट ब्युँतने सम्भावना देखिँदैन ।
वैज्ञानिक समाजवादी युग प्रारम्भ
उत्पादक शक्तिमा गुणात्मक परिवर्तन हुने सिलसिलाले मानव जीवनलाई सहज मात्र बनाउँदैन, बरु नयाँ युग वा नयाँ उत्पादन सम्बन्धलाई पनि अनिवार्य रूपमा जन्माउन सुरु गर्छ । मुख्य उत्पादक शक्तिका रूपमा विज्ञान–प्रविधि आएपछि यसले मानव जीवनमा सुविधा थपेको छ र पुँजीवादलाई भूमण्डलीकृत रूपमा शोषण गर्ने अवसर पनि सिर्जना गरेको छ तर यो मुख्य र क्रान्तिकारी पक्ष होइन । मुख्य र क्रान्तिकारी पक्ष भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी व्यवस्थाभित्रै वैज्ञानिक समाजवादी युग प्रारम्भ हुन पुग्नु हो । हो, आज वैज्ञानिक समाजवादी युग प्रारम्भ भइसकेको छ ।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले के संश्लेषण गरेका थिए भने तबसम्म विश्वव्यापी वैज्ञानिक समाजवाद र साम्यवाद सम्भव छैन, जबसम्म मानिसको आधारभूत आवश्यकता पूर्ति गर्न प्रचुर उत्पादन हुँदैन । अब मार्क्स र एंगेल्सले संश्लेषण गरेको त्यो प्रचुर उत्पादन हुने युग प्रारम्भ भयो किनभने विज्ञान–प्रविधि त्यो उचाइ हासिल गरेर अझ द्रुत गतिमा अगाडि बढिरहेको छ ।
करिब १५ प्रतिशत जनसंख्याले उत्पादन गरेको कृषिजन्य वस्तु शतप्रतिशत इजरायलीलाई पर्याप्त बनाइवरी विदेश निर्यात भइरहेको छ । कृषिका लागि इजरायलको माटो अन्यत्रको दाँजोमा गुणकारी मानिँदैन । प्रविधिले त्यति कमसल माटो भएको स्थानमा प्रचुर उत्पादन सम्भव बनायो । यो जीवन्त दृष्टान्तले मात्र पनि सजिलै प्रस्ट हुन्छ, विज्ञान–प्रविधिको तीव्र विकासले खाद्य पर्याप्ततामा मानवसमाज अब पुग्न सक्ने भयो । यो विषय मार्क्स–एंगेल्सले संश्लेषण गरेको प्रचुर उत्पादनकै युगको प्रारम्भ हो भन्ने स्वीकार गर्न हिचकिचाउनुपर्ने कुनै कारण छैन । आज नाफाखोर पुँजीवादका हातमा सत्ता हुँदाहुँदै पनि सञ्चार सुविधा प्रचुर हुन पुगेको छ ।
पुँजीवादले अझै सञ्चारलाई व्यापार बनाइरहेको छ तर थोरै रकममा वाईफाई जोडिएपछि विश्वव्यापी सञ्चार सम्बन्धबाट मानिसलाई रोक्न अब उसले पनि नसक्ने भयो । सञ्चारमा भएको यो छेलोखेलो उत्पादन विज्ञान–प्रविधिले ल्याएको हो जसलाई पुँजीवादले रोक्नै सक्दैन । रेडियो, पात्रो, घडी, क्यामेरालगायत चिज अब डिजिटल्ली छ्याल्लब्याल्ल उपलब्ध भए । जति चाहे पनि उपभोग गर्न सकिने भयो । गीत, सिनेमा, पुस्तक करोडौं मानिसले नगण्य दाममा उपभोग गर्न सक्ने प्रचुर उत्पादनको समय आयो ।
हिजो दुई प्रति ‘कम्युनिस्ट घोषणापत्र’ पुस्तकालयमा राखेर १०० जनाले पढ्न ५० साता पनि लाग्न सक्थ्यो । त्यो च्यातिन्थ्यो । अब त्यो पुस्तक इन्टरनेटमा राखिदिने हो भने दुनियाँभरिका अर्बौं मान्छेले एकसाथ पढ्न सक्ने, कपी गरेर जति अर्ब बनाए पनि हुने, अरूलाई डिजिटल्लीबाँड्दा आफूकहाँ पनि रहिरहने भयो । यही त हो मार्क्स–एंगेल्सले भनेको प्रचुर उत्पादन !
केही दशकअघिसम्म पुँजीवादले टिकाउ सामान बनाउने रणनीति लिन्थ्यो किनभने प्रचुर उत्पादन हुने विज्ञान–प्रविधिको विकास भएको थिएन । उत्पादन थोरै हुने हुनाले अभाव स्वतः रहन्थ्यो । त्यसले अभावमाथि नाफाको रणनीति बनाउँथ्यो । आज पर्याप्त उत्पादन हुने विज्ञान–प्रविधिको युग प्रारम्भ भएकाले पुँजीवाद नाफा बढाउन कृत्रिम अभाव सृष्टि गर्ने, उपभोक्तावादी बनाएर मानिसमा वस्तुको अनावश्यक उपभोगको लत बसाल्ने, छोटो समय उपभोग गरी फाल्नुपर्ने सामान बनाएर पटकपटक एउटै उपयोगिताको सामान चाँडोचाँडो किन्न बाध्य पार्ने, सफ्टवेयरको एप्लिकेसन बेच्दा त्यसलाई बिगार्ने भाइरस पनि सँगै पठाउनेलगायत रणनीति अख्तियार गर्न बाध्य भएको छ । यसरी विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युगले गर्दा भूमण्डलीकृत पुँजीवाद पनि सम्भव भयो र त्यसलाई अन्त्य गर्न छ्यालब्याल उत्पादनसहितको वैज्ञानिक समाजवादी युग पनि प्रारम्भ भयो ।
उत्पादन सम्बन्धमा परिवर्तन
मार्क्सवादले समाज विकासको द्वन्द्वात्मक भौतिकवादी संश्लेषण गर्दै अघि सारेको अवधारणाअनुसार मुख्य उत्पादक शक्ति फेरिएपछि उत्पादन सम्बन्धका तीनवटै आयाममा परिवर्तन हुन थाल्नु युग परिवर्तनले गति लिनु हो । यो संश्लेषणबाट हेर्दा हिजोको मेसिन र सामूहिक मानव श्रम मुख्य उत्पादक शक्ति गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति भइसकेको निष्कर्षलाई प्रस्ट पार्न उत्पादन सम्बन्धमा पनि तीव्र परिवर्तन भएको दृष्टान्तलाई स्पष्ट गर्न अनिवार्य आवश्यक हुन्छ ।
स्वामित्वको स्वरूपमा परिवर्तन
एकाधिकारी पुँजीवादको युगसम्म मुख्य उत्पादक शक्ति मेसिन र मानव श्रम हुँदा उत्पादनका साधन पुँजीवादी राज्यसत्ताको सुरक्षामा पुँजीपति वर्गको कब्जामा हुन्थे । सर्वहारा–श्रमिकहरू आफ्नो श्रमशक्ति बेच्न पुँजीपतिको अनुमतिमा घण्टी बजेपछि कारखानाभित्र छिर्नुपर्थ्यो ।
यसरी उत्पादक शक्तिको औजार र साधन खण्ड पूर्णतः पुँजीपति वर्गको हातमा हुन्थ्यो, जसले उसलाईमालिक बनाउँथ्यो ।
अहिले विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेकाले स्वामित्वको स्वरूप स्वतः परिवर्तन हुन सुरु भएको छ । विज्ञान–प्रविधि भनेको ज्ञान हो । ज्ञानलाई पर्खाल लगाएर वा सशस्त्र फौजको क्याम्पमा थुन्न सकिँदैन । विज्ञान–प्रविधि मानिसले पत्ता लगाएको प्रकृतिमा रहेको नयाँ प्रकृति हो । विज्ञान–प्रविधि प्रकृतिभित्रको मानिसले पत्ता लगाएको प्रकृति भएकाले प्रकृतिमाथि सबै मानिसको स्वामित्व हुन सक्छ ।
विज्ञानको नियम मानव जातिको सम्पत्ति हो । खास वर्गले मात्र प्रयोग गर्न मिल्ने सम्पत्ति होइन । जसरी आदिम साम्यवादी समाजमा प्रकृति मुख्य उत्पादक शक्ति हुँदा स्वामित्वको स्वरूप समान थियो, त्यसरी नै आज नयाँ प्रकृति अर्थात् विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति भएपछि निर्णायक स्वामित्वको स्वरूप पनि समान हुने क्रम तीव्र हुनैपर्छ । आजको विज्ञान–प्रविधि सबैले प्रयोग गर्न सक्छन् तर प्रयोग गर्ने कि नगर्ने, कति गर्ने, प्रयोग गर्ने क्षमता विकास गर्ने कि नगर्ने भन्ने चाहिँ मानिसको प्रयत्न र चाहनामा भर पर्छ । पुँजीपति वर्गले त्यसलाई प्रयोग गर्नबाट रोक्न सक्दैन । रोक्ने क्षमता पुँजीवादसँग छैन ।
यही कारणले पुँजीपति घरानाबाट नआएका माइक्रोसफ्ट र फेसबुक सञ्चालक घरानियाँ पुँजीपतिभन्दा बढी सम्पत्तिवाल हुन पुगे । विज्ञान–प्रविधिलाई घरानियाँ पुँजीपतिभन्दा उनीहरूले बढी सफलतापूर्वक प्रयोग गरे । आज सानो भूगोल र सानो अर्थतन्त्र भएको उक्तर कोरियाले किन संयुत्त राज्य अमेरिकालाई सैन्य चुनौती दिन सम्भव भयो ? उत्तर सीधा छ– हाइड्रोजन बमको विज्ञान–प्रविधि उपयोग गरेर । अब विज्ञान–प्रविधिको अगाडि अर्बौं पुँजीले पनि शासन गर्न नसक्ने युग आयो, जसरी प्रतिस्पर्धात्मक पुँजीवादको युगमा १०० बिघा जग्गाको धनी सामन्त १० वटा कपडा बुन्ने मेसिन र केही लाख पुँजी भएको पुँजीपतिका अगाडि निरीह बनेको थियो । यसरी स्वामित्वको स्वरूपमा तीव्र परिवर्तनको युग स्पष्ट देख्न सकिन्छ ।
वितरण प्रणालीमा परिवर्तन
एकाधिकार पुँजीवादसम्मको युगमा मानिसका निम्ति आवश्यक वस्तु पुँजीपतिवर्गले नाफा लिएपछि मात्र प्राप्त हुन्थ्यो तर आज तीव्र रूपमा वस्तु वितरणको तरिकामा फेरबदल सुरु भयो । सूचना र सञ्चार प्रविधिको वितरण मूलतः सामाजिक बन्दै छ । त्यसबाट नाफा त पुँजीपतिले अझै कमाउँदै छ तर त्यसलाई आम समाजले जति उपभोग गरे पनि हुने बनेको छ । टेलिभिजन, क्यामरा, पात्रो, घडी, रेडियो, पुस्तक इत्यादि वस्तु यो क्रूर पुँजीवादमा समेत नगण्य खर्चमा आम मानिसले प्राप्त गर्न थालिसके ।यही त हो– वितरण प्रणालीमा सुरु भएको तीव्र परिवर्तन र सामाजिकीकरण ।
सुरुमा सफ्टवेयरवाला रेडियोलगायत चिज पुँजी कमाउन पुँजीपतिले बनाएका हुन् । त्यो प्रविधि भएकाले धेरै प्राविधिकले बनाउन थाले । त्यसपछि त्यो मूलतः बिक्रीको माल बन्न सकेन र त्यो प्रचुर उत्पादन हुन पुग्यो । यसरी मानिसको आवश्यक वस्तुको उत्पादन प्रचुर हुन थाल्नाले उपभोगका निम्ति वितरण पनि प्रकृतिले उपलब्ध गराएको वस्तुजस्तै जति भोगे पनि मिल्ने हुन थाल्यो । के यो पुरानो उत्पादन सम्बन्धको वितरण प्रणालीमा आउन सुरु गरेको आधारभूत परिवर्तन होइन ?
मानिसबीच सम्बन्धमा परिवर्तन
उत्पादन सम्बन्धको तेस्रो पक्ष मानिसमा आपसी सम्बन्ध हो । पुँजीवाद सुरु भएदेखि एकाधिकार पुँजीवादको युगसम्म मानिसबीचका सम्बन्ध कस्ता थिए ? पुँजीपति र सर्वहारा, स्वतन्त्र किसान र कृषि मजदुर, दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति इत्यादि तर विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेपछि मानिसको आपसी सम्बन्धको चरित्रमा तीव्र परिवर्तन सुरु भएको छ ।
औद्योगिक सर्वहारावर्गको जमात क्रमशः घट्दो छ । असंगठित सेवा क्षेत्रका श्रमिकको संख्या अकल्पनीय बढेको छ । अपरेटरहरू पुँजीपतिवर्गको सहायक अंगमा फेरिएका छन् । भूमण्डलीकृत पुँजीवादले लिएको बहुराष्ट्रिय कम्पनी चरित्रले उत्पीडित राष्ट्रमा राष्ट्रिय पुँजीपतिवर्ग हराउने क्रम तीव्र भएको छ । निम्नमध्यमवर्ग विघटन भएर आधारभूत श्रमिक वर्गमा परिणत हुँदो छ । यो मानिसहरूको आपसी सम्बन्धमा तीव्र रूपमा आएको परिवर्तनबाहेक अरू के हो त ?
पुँजीवादको विकासक्रमका दृष्टिले उत्पादक शक्तिमा आएको गुणात्मक परिवर्तनका कारण पुँजीवादको चौथो चरण अर्थात् भूमण्डलीकृत पुँजीवादी युगमा मानव समाज पुगेको छ भने क्रान्तिका दृष्टिले वैज्ञानिक समाजवादी युग प्रारम्भ भएको छ । आजको युगलाई ‘भूमण्डलीकृत पुँजीवाद र वैज्ञानिक समाजवादी युग’ का रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ ।
भूमण्डलीकृत पुँजीवाद नाशवान् हो भने वैज्ञानिक समाजवाद उदीयमान हो । त्यसैले आजको युगको मूल प्रवृत्ति वैज्ञानिक समाजवाद हो । आज विश्वव्यापी रूपमा मुर्छित कम्युनिस्ट आन्दोलनलाई नवीन जीवन दिने चाहना राख्ने मार्क्सवादीहरूले अबको क्रान्तिकारी आन्दोलनको रणनीति विकास गर्न सर्वाधिक महत्त्व राख्ने युग परिवर्तनको यस विषयको बहसमा चाख राख्लान् ? अर्को विकल्प पनि सम्भवतः छैन ।
प्रकाशित : कान्तिपुर, फाल्गुन १२, २०७५ ०७:३३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...