Tuesday, June 11, 2019

धुन र ताल

धुन र ताल
युवा मौलिक बाजा र नाच प्रवद्र्धनमा जुटेका छन् । कतिपयले यसैलाई पेसा बनाएका छन् । विद्यालयले पनि परम्परागत बाजा र नाचलाई प्राथमिकता दिन थालेका छन् ।
फाल्गुन ८, २०७५लीला श्रेष्ठ
काठमाडौँ — छोरीले बाजा छुनु हुँदैन भन्ने समाजमा जन्मिएकी इन्दिरा लाछिमस्युले बाजा बजाउनुलाई पेसा बनाएकी छन् । उनको दाबी छ, ‘सम्भवत: धिमे बाजा बजाउने पहिलो महिला मै हुँ ।’
इन्दिरा ११ वर्षकी छँदा उनको घरमै १२ जना केटा धिमे बाजा सिक्थे । बाजे रत्नलाल र बुबा पञ्चलाल लाछिमस्युसँगै बाहिरबाट आएका गणेशबहादुर सिजखु र गेर्ट वक्ग्रारले उनीहरूलाई सिकाउँथे । ‘धिमे बाजाको कक्षा बेलुका हुन्थ्यो, घरमै बाजा सिकाएको सुनेर/हेरेर मैले पनि सिकें,’ ३५ वर्षीया इन्दिराले सुनाइन् । उनले बाजा बजाइरहेको एक दिन गुरु गेर्टले सुनेछन् । ‘त्यसपछि मलाई पनि कक्षामा नियमित बस्न भन्नुभयो,’ उनले भनिन् ।
भक्तपुर आदर्शकी इन्दिरा सिकिसकेपछि टोलटोलमा धिमे बजाउँदै हिँडिन् । केटीले बाजा बजाएको भनेर सुरुसुरुमा हेर्नेको भीड लाग्थ्यो । धिमे बाजा बजाएर हिँड्दा ‘धिमे थाइम्ह मिसाम्ह धिमे’ (धिमे बजाउने केटी आयो) भन्दै टोलका मान्छे हेर्न आउँथे । बाह्रजना केटाको बीचमा एक्लो केटीले बाजा बजाउनु सामान्य थिएन । यो बुबाकै प्रेरणाले सम्भव भएको उनी बताउँछिन् ।
छोरीलाई बाजा सिकाएको भनेर समाजका मान्छेले कुरा नकाटेका होइनन् । त्यही कुरा काट्ने समाज अहिले छोरीलाई बाजा सिक्न पठाउने भएको छ । ‘सुरुमा बाजा बजाएको रमिता हेर्ने छोरीहरू आफैं बाजा बजाउन सिपालु भएका छन्,’ इन्दिराले भनिन्  ।
इन्दिरा लोप हुने अवस्थामा पुगेका नौ बाजा संरक्षणमा जुटेकी छन् । परम्परागत नौ बाजा (करखीङ्ग, पास्त, धाँचा, न्याखिंङ्ग, धिमेचा, कोखिङ्ग, नगरा, छिमा, धलक), धिमे बाजा नेवारी परम्पराअनुसार दसंै, सकिमना पूर्णिमालगायत चाडपर्वमा बजाइने गरिन्छ ।
बाबु/बाजेले परम्परा धान्न बजाउने बाजा, चाडपर्वमा गरिने नृत्य (प्याखं) लाई इन्दिराले पेसामा परिणत गरेकी छन् । यसको श्रेय उनी बुबा र बाजेलाई दिन्छिन् । ‘पहिले हाम्रो कलासंस्कृति बचाउनुपर्छ भन्ने थिएन, चलनचल्तीका रूपमा मात्र आयो,’ उनले भनिन्, ‘अमूर्त सम्पदाको पनि मूर्त सम्पदाझैं महत्त्व छ । त्यही भएर बचाउन लागेकी छु ।’इन्दिरा विद्यार्थीलाई माकं प्याख:, देवी, जङ्गली, कवांचा, नागाचा, फाकन्दली प्याख: लगायत नाच सिकाउँछिन् ।
पछिल्लो समय रिदम भएको, समूहलाई आकर्षण गर्न सक्ने वाद्यवादनमा युवा पुस्ताको आकर्षण र सहभागिता बढ्दो छ । धिमे, बाँसुरी, धाँ बाजा उल्लेख्य वृद्धि भएको छ । आधुनिक शिक्षा प्रणालीले पनि स्थानीय मौलिक वाद्यवादन, गीतसंगीत र नृत्यलाई पनि विद्यार्थीको अतिरिक्त क्रियाकलापका रूपमा सिकाउन थालेको छ । विभिन्न स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय मौलिक भाषा, संस्कृति, बाजागाजा, नृत्य, जात्रा, स्थानीयस्तरमा उत्पादित खाद्यान्नलगायत विभिन्न विषयमा अध्ययन अध्यापन सुरु गरेपछि युवा पुस्तामा परम्परागत सीपलाई आयआर्जन तथा सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने अभ्यास सुरु भएको छ । यसले पनि मौलिक भाषा, संस्कृति, जात्रा पर्व र परम्पराको दिगो संरक्षणमा टेवा पुगेको छ ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा प्राथमिकताका साथ परम्परागत बाजा, नाचलाई राखेको छ । इन्दिरा एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुल र ब्रह्मायणी आधारभूत विद्यालयमा सांस्कृतिक महत्त्व बोकेको मौलिक बाजा नौ बाजा, धिमे, धाँलगायत बाजा विद्यार्थीलाई सिकाउँछिन् । विद्यालयमा उनी प्याख: (नाच) पनि सिकाउँछिन् । सामुदायिकभन्दा संस्थागत विद्यालयले मौलिक बाजा, नाचलाई प्राथमिकतामा राखेको उनको बुझाइ छ ।
इन्दिरा मौलिक बाजा, नाच विभिन्न कार्यक्रममा पनि प्रस्तुत गर्ने गर्छिन् । मौलिक बाजा प्रदर्शनका लागि थाइल्यान्ड, इटाली, जर्मन, अस्ट्रिया, भारतको सिक्किम, दार्जिलिङ, असमलगायतमा पुगेकी छन् । परम्परागत सांस्कृतिक बाजा सिकाउन व्यस्त इन्दिरालाई आजकल समय निकाल्न मुस्किल पर्ने गरेको छ । इन्दिराले चर्चित ब्यान्ड ‘कुटुम्ब’ लाई समेत धिमे सिकाइन् ।
भक्तपुर नगरपालिका ग:हिटीका मुक्तिसुन्दर जधारीको दिनचर्या पनि महाकाली नाच सिकाउँदैमा बित्छ । ४ वर्षको उमेरमा कवांचा प्याख: (कंकाल नाच) बाट सुरु गरेका जधारी सांस्कृतिक महत्त्वको मौलिक नाच जोगाउन लागिपरेका छन् । उनले परम्परागत नाचमा श्रीमती रोमी (रामकेशरी) जधारी, छोरी रोशीका र छोरा रोशिकलाई समेत समावेश गरेका छन् । उनले बुबा पूर्णबहादुर जधारीबाट चलनचल्तीका रूपमा कवांचा सिकेका हुन् । मुक्तिसुन्दरका लागि महाकाली नाच पेसामा परिणत भएको छ ।
‘बाबुबाजेले चलनचल्तीका रूपमा बजाउँदै आएको बाजा, चाडपर्वमा नाच्ने नाचलाई मैले पेसाका रूपमा अवलम्बन गरेको छु,’ उनले भने, ‘पछिल्लो समय हाम्रो कला, संस्कृति पुस्तान्तरण हुन छाड्यो । चलनचल्तीकै रूपमा सीमित भयो ।’ लोप हुने अवस्थामा पुगेको मौलिक अमूर्त सभ्यतालाई बचाउन अभिलेख तयारी तथा प्रशिक्षक आवश्यक भएको उनी बताउँछन् ।
मुक्तिसुन्दरले महाकाली नाच (देवी प्याख:) सम्बन्धी पुस्तकसमेत प्रकाशित गरेका छन् । लोपोन्मुख प्याख: को इतिहास, कला र संस्कृतिको जगेर्नाका लागि पुस्तक प्रकाशन गरेको उनले बताए । देवी प्याख: मा १७ देवगण आवश्यक पछ । देवगण जुटाउन कठिन भएकाले यो लोपोन्मुख अवस्थामा पुगेको थियो । उनले अहिले महाकाली, महालक्ष्मी, कुमारी १/१, बेत्ताल–३, ख्याक, कवां, जंगली, भूतभैरव २/२, सिंह, सिंहजो र दैत्य गरी १७ देवगणको तीन समूह तयारी अवस्थामा रहेको बताए । केही वर्षयता विभिन्न सांस्कृतिक कार्यक्रममा देवी प्याख: प्रदर्शन गर्ने गरेको छ ।
भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा वर्षमा एकपल्ट मौलिक नाचहरूको प्रतियोगिता गराउने गरेको छ । सोही प्रतियोगिताले समेत केही हदसम्म परम्परागत नाच प्रवद्र्धनमा टेवा पुगेको उनी बताउँछन् । भक्तपुर मात्र नभई उपत्यकाको विभिन्न स्थानमा देवी प्याख: प्रदर्शन गर्ने र प्रदर्शनबापत आउने रकमले देवगण (कलाकार) को जीवनस्तरमा सुधार हुने मुक्तिसुन्दरले बताए । देवी प्याख: प्रदर्शन गर्न थाइल्यान्ड, भारतलगायत मुलुकमा पुगेको र अस्ट्रेलिया जाने तयारीमा रहेको उनले बताए । मुक्तिसुन्दरले १ सय ५० भन्दा बढीलाई घरमै प्रशिक्षण दिइसकेका छन् । उनी ‘द राइजिङ स्कुल’ का विद्यार्थीलाई देवी प्याख: सिकाउँछन् । विशेष गरी गाईजात्रा, इन्द्रजात्रामा प्रदर्शन गरिने मल्लकालीन महाकाली नाचलाई मुक्तिसुन्दरले अन्य समयमा समेत प्रदर्शन गरेर बचाउनुपर्ने भन्दै सरोकारवालासमक्ष आवाज उठाउँदै आएका छन् । ‘वर्षमा दुईपल्ट मात्र प्रदर्शन गर्न देवगण पाइँदैन, अमूर्त सम्पदालाई पेसा/व्यवसायसँग नजोडे हराउने जोखिम छ,’ उनले भने, ‘स्थानीय तहले महाकाली नाचलगायत मौलिक नाच, बाजालाई पर्यटन व्यवसायसँग जोड्दै लैजानुपर्छ ।’ भक्तपुर अवलोकनका लागि वार्षिक लाखौं पर्यटक आउने गर्छन् । ‘ती पर्यटकलाई मूर्त सम्पदा मात्र होइन, अमूर्त सम्पदा (कला, संस्कृति) समेत अवलोकन गराउनुपर्छ,’ उनी भन्छन् ।
भक्तपुर दत्तात्रयका ४० वर्षीय विष्णुबहादुर मानन्धरले १३ वर्षको उमेरमा तबला सिके । तबलाबाट सुरु भएको उनको संगीत यात्रा काठमाडौं विश्वविद्यालय (केयू) मा मौलिक बाजा प्रशिक्षकमा पुगेको छ । उनी केयूमा नेवारी मौलिक बाजा नगरा, धिमे, धाँ, पोङ्गा, धिमेचा, नायखीं सिकाउँछन् । मौलिक धिमे/धाँ बाजामा नयाँ–नयाँ बोल थप्दै विद्यार्थीलाई सिकाउने गरेको उनी बताउँछन् । विष्णुबहादुरले केयूमा विदेशीलाई समेत परम्परागत मौलिक बाजा सिकाउँछन् । ‘नेवारी बाजाको छुट्टै स्वाद छ, सांस्कृतिक विविधता बोकेको बाजामा विदेशीको मोह बढ्दो छ,’ उनले भने, ‘पुर्खाको चलनचल्तीलाई पर्यटनसँग जोड्दै विदेशीलाई प्रशिक्षण दिँदै आएको छु ।’ स्थानीय तहलगायत सम्बन्धित निकायले पुर्खाले चलनचल्तीका रूपमा मनाउँदै आएको संस्कृति बचाउन आयआर्जनका रूपमा विकास गर्दै लैजानुपर्ने उनी बताउँछन् । ‘मुलुक व्यवसायीकरण हुँदै गएको छ,’ उनले भने, ‘हाम्रो कला, संस्कृति, बाजागाजा, नाचलाई समयानुकूल व्यावसायिक बनाउनुपर्छ, मौलिक सभ्यता पुस्तान्तरण नहुँदा संकटमा पुगेका छन् ।’ स्थानीय तहले सांस्कृतिक बाजा प्रवद्र्धनका लागि पर्यटनसँग जोड्न सकिने उनी बताउँछन् ।
मौलिक बाजा नगरा, धिमे, धाँ, पोङ्गा, धिमेचा, नायखींले उनलाई उपत्यकामा मात्र नभई चेक रिपब्लिक, अस्ट्रिया, फ्रान्स, जर्मनी, इटालीलगायत मुलुकमा पुर्‍याएको छ । विष्णुबहादुरसँग नेवारी परम्परागत बाजा सिकेका विद्यार्थीले नेवार समुदायलाई मात्र नभई सिंगो नेपाललाई विश्वसामु चिनाएको उनी बताउँछन् । एउटा टोल, समाजमा सीमित व्यक्तिले बजाउने मौलिक बाजा विदेशमा देखाउन पाउनुलाई उनी महत्त्वपूर्ण उपलब्धि मान्छन् ।
प्रकाशित : kantipur, फाल्गुन ८, २०७५ २१:०२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...