Tuesday, June 11, 2019

लिच्छवि को थिए ?

लिच्छवि को थिए?
'लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दाबी गर्ने कुनै जाति फेला पर्दैनन्’
फाल्गुन ९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — नेपालको इतिहासमा गोपाल र महिषपालपछिका शासक थिए– किरात । किरातकालपछि लिच्छविले शासन गरेका थिए ।
लिच्छविकाललाई स्वर्णकाल भनेर उल्लेख गरिएको पाइन्छ । लिच्छवि को थिए ? इतिहासविद्को मत छ– ती लिच्छविको वंश दाबी गर्ने कुनै जाति छैन । तर, किरात जाति भनेर दाबी गर्नेहरूमा छन्– राई, लिम्बू, याक्खा र सुनुवार ।
किरात राई प्रज्ञा परिषद्द्वारा हालै राजधानीमा आयोजित किरात राई प्राज्ञिक गोष्ठीमा किरात राई जातिको इतिहास, भाषा, लिपि, साहित्य, मुन्धुम संस्कृति, कलाबारे चर्चा चल्यो । मुन्धुमविद् बैरागी काइँलाले किरात जातिले बाँचेको जीवनले इतिहास खोतल्न नसकेको बताउँदै थपे, ‘ती इतिहासको सत्यतथ्य खोतल्न सके संसारलाई हेर्ने दृष्टिकोण बन्न सक्छ ।’
इतिहासविद् दिनेशराज पन्तको मतमा लिच्छवि काल प्रामाणिक काल हो । ‘लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दावी गर्ने कुनै जाति फेला पर्दैनन्,’ गोपाल राजवंशावली र भाषा वंशावलीको चर्चा गर्दै पन्तले भने, ‘किरात काल थियो भन्ने प्रष्ट हुन्छ । गोपाल राजवंशावलीले काल दिएको छैन ।
अहिलेभन्दा पाँच हजार वर्षअगाडि विक्रमपूर्व ३ हजार वर्षअगाडि साल छन् । हामीले भाषा वंशावलीका आधारमा भन्न सक्छौं । जति माथि गयो, उनीहरूको कुरा अर्धसत्य, कतै पूर्ण असत्य, कतै असत्य छन् ।’ दुई सय वर्षअघि लेखिएको अभिलेखले किरातकाल कायम गर्नु मूर्खता हुने उनको भनाइ थियो ।
किरात समाज र जनजीवन मुन्धुमबाट निर्देशित रहेको र मुन्धुम श्रुति र स्मृतिमा आधारित दर्शन भएको अध्येता चतुरभक्त राईले बताए । ‘मुन्धुमले मान्छेको इतिहास, जनावरको उत्पत्तिबारे व्याख्या गर्छ र यो ठोस हुँदैन,’ मुन्दुम अलिकति काल्पनिक र बढी दार्शनिक अलिखित ग्रन्थ भएको उल्लेख गर्दै उनले भने, ‘चेतना कि पदार्थ पहिला भन्ने बहस पनि छ । म पदार्थपछि चेतना आएको भन्ठान्छु । मुन्धुम दर्शन दुवै कोणबाट निर्देशित छ । यसले धार्मिक सहिष्णुताकोकुरा गर्छ ।’
दर्शनशास्त्री डा. भक्त राईले पूर्वीय सभ्यतासँग मुन्धुम जोडिएको बताउँदै थपे, ‘नेपालमा पूर्वीय दर्शनको बहस हुँदा नौ वटा दर्शनको मात्र उल्लेख गरिन्छ । श्रुति र स्मृति परम्पराले निर्देशित मुन्धुम फरक दर्शन हो । मुन्दुममा पनि पाँच चिन्तन छन् ।’
भाषाशास्त्री प्रा. नोवलकिशोर राईले किरात राई जातिको परम्परागत ज्ञान, सीप, कला, भाषा, संस्कृति लोपोन्मुख रहेको औँल्याए । अर्का भाषाशास्त्री प्रा. टंक न्यौपानेले किरात जातिले आफ्नोपन जोगाउन एकढिक्का हुनैपर्ने बताए । आयोजक संस्थाका कुलपति जयकुमार राईले किरात इतिहास, भाषा, संस्कृतिको पुनःउत्थानको प्रयास जारी रहने सुनाए ।
प्रकाशित : KANTIPUR, फाल्गुन ९, २०७५ ०८:०४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...