Tuesday, June 11, 2019

त्यो बनाना बैठकी

त्यो बनाना बैठकी
हामी यदाकदा 'बैठकी’ पनि गर्दथ्यौं । तिनताक एउटा ॅबनाना’ भन्ने पेय पाइन्थ्यो । त्यसले 'किक’ भने राम्रै दिन्थ्यो । मलाई भने त्यसको हरियो रङ मन पर्थ्यो । देख्दा लाग्थ्यो— काँचो केराको हरियो बोक्रा वा केराको पात निचोरेर यो चीज बनाइएको हो ।
फाल्गुन ११, २०७५ध्रुवचन्द्र गौतम
काठमाडौँ — संवत् २०२२ साल जेठको एउटा कुनै मध्याह्न ! भारतबाट हिन्दीका केही वरिष्ठ कविहरू आएका थिए  । तिनीहरूसँगै बागबजारको त्यस बखत ‘कोरोनेसन’ भन्ने एउटा होटल थियो, त्यहाँ नेपाली लेखक–कविले भेट्ने कार्यक्रम थियो  ।
ती कविहरू त्यसै होटलमा बसेका पनि थिए । सर्वेश्वर दयाल सक्सेना, भारतभूषण अग्रवाल, बालस्वरूप ‘राही’ र उनकी श्रीमती पुष्पा राहीसहित अर्का एक कवि । सर्वेश्वर, सबभन्दा प्रखर कवि थिए र भारतभूषण वरिष्ठ एवं विशिष्ट कवि । उनको निधनपछि उनको नाउँमा भारतमा एउटा पुरस्कार पनि राखिएको थियो । तर, म भने सर्वेश्वर दयाल सक्सेनासँग भेट नभए पनि परिचित र सबभन्दा प्रभावित पनि थिएँ, कविताकै कारण ।
मेरो कविता र कथालेखनको थालनी ‘रूप–रेखा’ मार्फत भइसकेको थियो तर म एकदम नयाँ थिएँ । खासमा त त्यो जमाना मोहन कोइराला, मदन रेग्मी, भूपी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र पारिजातहरूकै थियो । शंकर लामिछानेको गद्यले चारैतिर धुम मच्चाएको थियो । प्रेमा शाह, वानीरा गिरि आफ्नो लेखनद्वारा चर्चित भएको समय थियो । जुन दिनको म कुरा गर्दैछु, त्यस दिन म आफ्नो एमएको क्लास छाडेर आएको थिएँ । त्यसै हप्ता मेरो एक कविता ‘रानीपोखरीको किनारमा’ रूप–रेखा पत्रिकामा प्रकाशित भएको थियो । त्यसबखतको रानीपोखरीको किनार, अब त्यस्तो भेटिंदैन, जस्तो मेरो कवितामा छ । बागबजार मोडमा हामी भेट्दा थाहा भयो, त्यस दिनको कवि भेटघाटको कार्यक्रम क्यान्सिल भएछ, कुनै कारणवश को–को थिए— अहिले म सम्झिन्नँ तर त्यहीं वानीरा गिरिले एकाएक भनिन्—‘पारिजातलाई भेट्न जाऊँ ।’
पारिजात कविता र कथा दुवैमा चर्चित भइसकेकी थिइन् । उनको ‘बीसौं शताब्दी एउटा गल्लीमा’ कथा पढेर म निकै प्रभावित भएको थिएँ । त्यस्तोमा वानीराको प्रस्ताव सुनेर म निकै उत्साहित भएको थिएँ । त्यसरी एक जमात लेखक त्यसदिनको मौका खेर नजाओस् भनेर पारिजात निवासतर्फ लाग्यौं । पारिजात त्यसबखत पुतलीसडकको एक घरमा बस्थिन् । परम्परागत, सेतो रङको घर थियो । टाउको निहुराउने खालको काठे भर्‍याङ उक्लेर हामी उनको कोठामा पुग्यौं । त्यसबखतसम्म मैले पारिजात वा उनको तस्बिरसम्म पनि देखेको थिइनँ । त्यहाँ जाँदा केवल ‘बीसौं शताब्दी एउटा गल्लीमा’ मेरो मस्तिष्कमा घुमिरहेको थियो ।
पारिजात एक्लै बसिरहेकी थिइन् । परिचय त पछि गराइन् वानीराले, पहिले मैले नमस्ते नै गरें । पारिजातपछि मलाई आकर्षित गर्‍यो, पारिजातको कोठाको भित्तामा झुन्डिएको एक पेन्टिङले । सर्रियालियस्ट पेन्टिङ भन्ने त थाहा भयो, त्यसबारे थोरै जानकारी हुनाले, म सोच्न थालें, कसको होला यो चित्र ? अद्भुत खालको थियो । मैले ध्यानले हेरेको देखेर पारिजातले नै भनिन्, ‘साल्बाडोर डालीको हो यो ।’ त्यो त रहेछ, डालीको प्रसिद्ध चित्र, जुन मैले पछि साल्बाडोर डालीबारे पढ्दा, बारम्बार उनको प्रतिनिधित्व चित्रका रूपमा प्रस्तुत गरिन्थ्यो ।
त्यही भेट पारिजातसँगको मेरो पहिलो भेट र साक्षात्कार थियो । त्यसपछि उनीसित मेरो भेट लगातार हुन थाल्यो । त्यसको एउटा अर्को कारण पनि थपियो । केही समयपछि, म रत्नराज्यलक्ष्मी कलेजमा पढाउन थालें । रत्नराज्य त्यसबखत यति ठूलो थिएन । धेरैलाई थाहा नहुन सक्छ, त्यो त्यसबखत ‘रत्नराज्यलक्ष्मी गर्ल्स कलेज’ थियो । बिहानको कलेज, कोठा ससानै थिए । भित्र एउटा चौर थियो जहाँ कहिलेकाहीं कार्यक्रम हुन्थे । यसलाई सुविधै मानेको मैले के भने, त्यो कलेज, त्यही पुतलीसडकमा थियो, जहाँ पारिजात बस्थिन् । त्यही लहरमा म पढाइ सकेर, कहिलेकाहीं बीचको समयमा पनि पारिजातकहाँ जान थालें । एउटा कुरा के थियो भने जतिसुकै नयाँ लेखक भए पनि, पारिजातको ढोका, सबका लागि खुलेको हुन्थ्यो ।
सुकन्या, पारिजातकी बहिनी पनि त्यहीं हुन्थिन् । क्रमशः हामी पर्याप्त साहित्यिक कुराकानी गर्न थाल्यौं । पारिजातकहाँ सुरुसुरुमा जाँदाको संकोच क्रमशः मेटिँदै गयो । संकोचबाट बिस्तारै हाम्रो सम्बन्ध मित्रतातर्फ बढ्दै गयो । पछि क्रमशः मित्रता, घनिष्ठ मित्रतातर्फ हिंड्न थाल्यो । त्यो घनिष्ठता जीवनभरि रहिरह्यो । यद्यपि पारिजातका विचारधारामा पछि परिवर्तन आयो, तर हाम्रो मित्रता कायमै रह्यो । पछि उनी अरूअरू ठाउँमा बसे पनि म उनीकहाँ जाने गर्थें । जाँदा उही आत्मीयता भेटिन्थ्यो । उनका अन्तर्वार्ताहरूमा नयाँ लेखकमा मेरो नाउँ पनि लिन्थिन् उनी । पछि, अन्य नाउँहरू आउन थाले । तर, पारिजातको स्वभावगत विशेषता भनूँ, उनीसँग मेरो मित्रतामा भिन्नता आएन, मलाई कहिल्यै लागेन त्यस्तो । म्हैपीको घरमा पनि म लगातार जान्थें । म, सुकन्या र पारिजात कति साँझ गाएर पनि बिताउँथ्यौं । पारिजात र सुकन्या लोकगीत गाउँथे, एक्लै वा मिलेर पनि । म हिन्दी फिल्मी गीतहरू गाउँथें । हाम्रो समय यति राम्ररी काटिन्थ्यो कि समय गएको पत्तै हुँदैन थियो ।
म्हेपीमै एकदिन पारिजातले भनिन्, ‘हामीकहाँ बुधबार र शनिबार मोमो पाक्छ, आउनुस् न ।’ त्यसपछि म जहिले पनि जान्थें, बुधबार नै जान्थें । कोही न कोहीलाई लिएर जान्थें, प्रायः ध्रुव सापकोटा वा गोविन्द वर्तमान आदि । म अघिल्लो दिन नै फोन गरिदिन्थें । यसले के हुन्थ्यो भने, त्यो साँझ पारिजात अरूसँग अप्वाइन्टमेन्ट राख्दिन थिइन् । यसले के हुन्थ्यो भने संगतमा हामीहरू मात्र हुन्थ्यौं, यही मलाई राम्रो लाग्थ्यो ।
एक जर्मन दार्शनिक हर्बर्ट मार्कुस र रेगिस डेब्रेका नाउँहरू मैले पारिजातबाटै सुनेको हुँ । मार्कुसको ‘वन डाइमेन्सनल म्यान’ र डेब्रेको ‘रिभोल्युसन इन द रिभोल्युसन’ जस्ता पुस्तकको चर्चा गर्थिन् उनी । यिनमा ‘वन डाइमेन्सनल म्यान’ मैले पारिजातकै सिफारिसमा पढेको थिएँ । पछिबाट उनका भिक्ताहरूमा त्रान्तिकारीका तस्बिरहरू देखिन्थे— मोओत्सेतुङ, फिडेल क्यास्ट्रो, चे–गुवेरा आदि ।
यो बेला उनको ‘अनिदो पहाडसँगै’ आइसकेको थियो, ‘परिभाषित आँखाहरू’ लेख्ने बेला थियो । ‘परिभाषित आँखाहरू’ मा उनको केही उनका वैचारिक मित्रहरूले आलोचना गरेको कुरा पनि उनी गर्थिन् । तर, उनी भन्थिन्, ‘मैले यसलाई अझ कलात्मक बनाउने प्रयास गरेकी छु । म डोग्माटिक छैन ।’
पारिजातले मलाई पढ्न दिएको आफ्नो उपन्यास त्यही एउटा हो । ‘परिभाषित आँखाहरू’ मलाई मन पर्ने नेपाली उपन्यासमा पर्छ । एकदिन पारिजातले एउटा कविता पढ्न दिइन् । मैले पढें र सोधें—कसको हो यो, निकै राम्रो छ । पारिजात हाँस्न थालिन्, ‘तपाईं पनि ध्रुवजी’ भनिन् । ‘सबैलाई थाहा छ, तँलाई थाहा भएन’ भनेजस्तै गरी । कविता सुमित्रा ‘काँडा’को नाउँले छापिएको थियो । त्यो पारिजात नै हुन् भन्ने मलाई थाहा थिएन । पारिजात हाँसेकी थिइन्, त्यसकारण ।
एकताक पारिजात साहित्यकार, लेखकलाई सँगै राखेर आफ्नो उपन्यासको सामूहिक–श्रवण गराउँथिन् । त्यसपछि विभिन्न व्यक्तिले दिएको राय सुन्थिन् । त्यसपछि त्यसैअनुसार उपन्यासमा गर्थिन् कि गर्दिनथिन्, त्यो मलाई ज्ञान भएन । यस्ता पाठमा म हुन्न थिएँ । उनैले भनेर थाहा पाएको थिएँ । मैले भनें, ‘पारिजातजी, यसले कतिको राम्रो हुन्छ म भन्न सक्दिनँ तर पारिजातको उपन्यासमाथि राय व्यक्त गर्ने भनेर बोल्नैका लागि बोल्ने पनि हुन्छन् । पारिजातलाई राय दिएँ भन्ने क्षणिक सन्तुष्टि...।’
उनले त्यसपछि केही भनिनन् । मैले पनि कहिल्यै त्यो कुरा फेरि दोहोरयाइँन । तर, निकै समयपछि एकदिन उनले आफैं भनिन्, ‘ध्रुवजी, मैले सामूहिक पाठ अब बन्द गरिदिएँ ।’ म त्यसपछि पनि केही बोलिनँ । मैले आफ्नो कुरा धेरैअघि भनिसकेको थिएँ । पारिजातले ढिलो–चाँडो त्यो सुनाउँदा लाग्यो, उनी भनिरहेकी छन्— तेरो कुरा ठीक रहेछ । नत्र यो खबर मलाई किन सुनाउँथिन् ?
पारिजातले कति आफ्ना निजी संस्मरण पनि सुनाएकी थिइन् । तनाव र उपलब्धिका कुराहरू । जीवन र दर्शनका कुराहरू । जीवनमा धोका र बेइमानी पाएका कुराहरू । त्यसबखतका कुरा पनि सुनाउँथिन्, जब उनी पद्मकन्या कलेजमा साथीहरूसित हाँसखेल गर्दै घुम्थिन् । त्यसैगरी एक दिन इन्डियन लाइब्रेरीमा कार्यरत शंकर लामिछानेसित भेट्न गएकी थिइन् ।
पछि पारिजातकहाँ आउने लेखक–लेखिकाको दायरा बढ्दै गयो । बरु मेरै भेट अलि कम हुन थाल्यो । तैपनि हामीबीच मित्रता कम भएन, एकअर्काप्रतिको विश्वास कम भएजस्तो कहिल्यै लागेन मलाई ।
एकपटक म काठमाडौंबाट वीरगन्ज जान भनेर बस–स्ट्यान्डमा पुगेको थिएँ । त्यसबखत बस चल्थ्यो, भृकुटीमण्डप आसपासको कुनै ठाउँबाट । टिकट लिएर म आफू चढ्ने बसअगिल्तिर उभिएर कुनै गीत गुन्गुनाइरहेको थिएँ । समय भइसकेको थियो । त्यस कारण, हिंडोस् बस र गुडेको बसको ढोकाको ह्यान्डल समाएर उफ्रेर चढूँ भन्ने, हलुको रोमाञ्चकता उत्पन्न गर्ने ‘हिरोइक’ भाव । त्यत्तिकैमा ४–५ जना केटीहरू आए र भने, ‘तपाईं ध्रुवचन्द्र गौतम होइन ?’
‘हो,’ मैले भनें ।
तीमध्ये एउटीले एउटा सानो चिठी दिइन्, ‘यो पारिजात दिदीले दिनुभएको ।’
मैले चिठी लिएँ । तिनीहरू गएनन्, उभिइरहे । त्यसकारण पढें । त्यसमा लेखिएको थियो:
ध्रुवजी,
यी केटीहरू भूमिगत क्रान्तिकारी केटीहरू हुन् । ...कजका लागि फन्ड जम्मा गर्दैछन् । सकेको मद्दत गरिदिनुहोला ।
पारिजात ।
माथि जुन ‘डट’ हरू छन्, त्यो कारण मैले अहिले बिर्सेकाले त्यस्तो गरें । त्यहाँ कुन उद्देश्यका लागि भनेर लेखेकी थिइन् । नोकरी त म गर्न थालिसकेको थिएँ, तर भर्खरै थियो । अलिक फक्कडै भएर हिंड्ने बानी पनि थियो । तैपनि घर जाँदा केही त लिएर हिँडेकै थिएँ । पारिजातले मलाई पत्याएर ती भूमिगत केटीहरूलाई पठाएकी थिइन् । तिनलाई निराश किन पार्न चाहिनँ भने, एक त ती भूमिगत थिए । पारिजातले कतिलाई यस्तो चिठी लेखेकी होलिन् र ? मैले रित्तै फर्काउँदा म त छाडिदिऊँ, पारिजातप्रति पनि त अलिकति खिन्नै हुँदा हुन्, कस्ताकस्तालाई पत्याएकी उनले ? त मैले प्रसन्न भएरै तिनीहरूलाई सकेको सहायता गरेर पठाएँ । सोचें, म त वीरगन्ज, आफ्नो घरै जाँदै छु । रिक्सा पनि उधारै चढेर जान सक्छु । ती केटीहरू होलो मान्दै, धन्यवाद भनेर गए ।
त्यो चिठी र अरू पनि त्यस्ता चिठीहरू मैले लेखक काशीनाथ तमोटलाई दिएको थिएँ, सुरक्षित हुन्छ भनेर । उनले त्यस्ता सामग्री संकलन पनि गर्ने गरेका थिए । मैले आफ्नो एक उपन्यासको पाण्डुलिपि पनि उनीकहाँ त्यसैगरी दिएको थिएँ, उनैले मागेर । केहीअघि एक दिन ध्रुव सापकोटा र म काशीनाथ तमोटकहाँ गयौं, त्यस्ता चिठीहरू प्रकाशित गरूँ कि भनेर । उनीबाट पनि त्यो हराएछ । तर पनि पारिजातको प्रसंगमा अहिले त्यो संक्षिप्त नोटको बेहोरा सम्झन मलाई कठिन भएन । पारिजातले मलाई कसरी लिंदिरहिछन् भन्ने एक नमुनाका लागि यो पर्याप्त छ । नत्र भने कसरी त्यसबखतसम्म पारिजात पहिलेभन्दा अर्कै वैचारिक धरातलमा उभिएकी थिइन् । प्रगतिशील लेखनको धरातल ।
ित्यो निकै पछिकी पारिजात हुन् । म त्यसबखतको आसपासकै पारिजातको कुरा गर्न चाहन्छु, जुन पारिजातको लेखकलाई उचाइ दिने जग थियो । ‘शिरीषको फूल’को समय । शंकर लामिछानेले सन १९६६ को क्यालेन्डरमा ‘शिरीषको फूल’ को उचाइको कुरा लेखेका छन्, त्यो समय । २०२२ को समय । पारिजातसँग मैले भेटेको समय । त्यसबखत ‘शिरीषको फूल’ पारिजातले लेख्दै थिइन् कि अन्तिम चरण थियो कि ? प्रकाशितै चाहिं भएको थिएन कि ? नभएको भए, हाम्रो भेटको केही समयपछि नै भयो । भएपछि, मैले त्यो उपन्यास एक बसाइमा पढें । जति मनोयोगले र जति अभिभूत भएर मैले ‘शिरीषको फूल’ पढेको थिएँ, त्यति मैले एकदमैं कम नेपाली उपन्यास पढेको छु । पारिजातकै पनि अन्य उपन्यास त्यस्तरी पढेको छैन होला । कारण त्यो उपन्यासले उपन्यास विधामा ल्याएको नयाँपन र मेरो आफ्नो नयाँपनप्रतिको मोह, जे पनि हुन सक्छ । त्यसमा शंकर लामिछानेले लेखेको भूमिकाको पनि चर्चा भयो । केहीले त यस्तो पनि भने, भूमिकाका कारण ‘शिरीषको फूल’ चर्चित भयो । मैले त्यो भने कहिल्यै भनिनँ । शंकर लामिछानेको भूमिका अद्भुत हो, यसमा सन्देह छैन । तर, फेरि उपन्यास त उपन्यासै थियो । उपन्यास अद्भुत थियो र भूमिका भयो, नभए के हुन्थ्यो ?
पछि एक बेला यस्तो आयो, जब पारिजातमा वैचारिक परिवर्तन आयो र उनले ‘शिरीषको फूल’ प्रति निर्लिप्तता देखाइन् । हामीले भन्यौं— यो त न्यायपूर्ण हुँदैन । कुनै बेलाको पारिजात हो भनेर पनि राख्न सकिन्छ, त्यसलाई दस्तावेजका रूपमा । पछि म साझा प्रकाशनको सञ्चालकमा हुँदा (२०३६ तिर) एक दिन पारिजातले मलाई एउटा नोट पठाइन्, ‘शिरीषको फूल’ छाप्ने व्यवस्था मिलाउने हेतुको ।
जे भनिएको होस्, जे गरिएको होस्, ‘शिरीषको फूल’ ले पारिजातलाई जुन उचाइ दियो, नेपाली साहित्यमा त्यो उचाइ कायमै रहेको छ, यसमा सन्देह छैन । त्यो उचाइ छोएको त पहिलो पटक ‘शिरीषको फूल’ले नै हो, यसमा पनि सन्देह छैन । साँच्चि भन्ने हो भने त्यो समयलाई म बढी किन सम्झिन्छु भने पारिजात मसित घनिष्ठ बनेको त्यही समय हो । हामी यदाकदा ‘बैठकी’ पनि गर्दथ्यौं । तिनताक एउटा ‘बनाना’ भन्ने पेय पाइन्थ्यो । त्यो कस्तो थियो, त्यो त त्यति थाहा थिएन, ‘किक’ भने राम्रै दिन्थ्यो । मलाई भने त्यसको हरियो रङ मन पर्थ्यो । देख्दा लाग्थ्यो— काँचो केराको हरियो बोक्रा वा केराको पात निचोरेर बनाइएको चीज हो । हामीबीच त्यो ‘बनाना’ निकै प्रचलित थियो । खासगरी पारिजातकहाँ त धेरै कालसम्म हामी त्यही सेवन गर्दथ्यौं । बेलुकी हो तर कहिलेकाहीं, सूर्यास्त पर्खिने काम पनि गरिन्नथ्यो ।
पारिजात शालीन थिइन् । उनका व्यक्तिगत रुचिहरू पनि निकै सफा–सुग्घर थिए । फूल, गमला, क्याक्टस, स्कार्फ र नरम बोलाइ । सब सुरुचिपूर्ण थिए । तर, आफ्नो विचारमा अडिग पनि रहन्थिन्, कुरा मसिनोसँग गरे पनि । सुकन्याको रुचि पनि त्यस्तै सुकिलो थियो, उत्तिकै । दाँज्न नसकेकाले उत्तिकै भन्छु । म अलिक फरक थिएँ । रुचि त उनकै राम्रो लाग्थ्यो, तर मेरो बानीबेहोरा फरक थियो । अलिक ‘रफ’ खालको होला । म बहस गर्दा त्यति मसिनो स्वरमा गर्न सक्दिन थिएँ । मेरो बानी बेहोरामा त्यति सुकिलोपन थिएन । वीरगन्जको मानिस म बोली अलि ‘कडक’ नै होला । म कोसिस त गर्थें, अलिक मसिनो आवाजमा बोलूँ तर सफल हुन्थेंजस्तो लागेन । तैपनि केही कुरा होलान् जसले गर्दा पारिजात, सुकन्या मेरो कुरा सुन्थे । मलाई लाग्थ्यो— मन पराउँथे पनि ।
पारिजातकहाँ आउने साहित्यकारमा मदन रेग्मी, भूपी, द्वारिका श्रेष्ठ, मोहन कोइराला, पुरुषोत्तम बस्नेत, कृष्णभक्त श्रेष्ठ आदि पनि हुन्थे । यति भनूँ— उनीहरूसँग नजिक हुने क्रम पारिजातकै घरबाट थालियो भन्दा अनुपयुक्त हुँदैन । म साहित्यिक बहस पनि गर्थें । यो त्यो बेला थियो, जब ‘राल्फा’ को उदय भइसकेको थिएन । भविष्यमा ‘राल्फा’ बन्ने मञ्जुल, विमल, रायन, रामेश, अरिम, निनु आदि सब त्यहाँ आइरहन्थे । तर त्यसबखत पारिजात निस्सारता, अस्तित्व र अनस्तित्वको घनत्वमा थिइन् । हामी सबै, त्यसै प्रभावमा थियौं । निकटता त्यो कारणले पनि होला ।
टीएस इलियट (द वेस्टलेन्ड), अल्बेयर कामु, काफ्का, सार्त्र अनि डाइलन टमस उनका आदर्श कवि–लेखक थिए । एलेन गिन्सबर्ग (हाउल, अमेरिका) र बिट जेनेरेसनको प्रभाव निकै थियो । आर्थर रिम्बाउड (अ सिजन इन हेल), रेनर मारिया रिल्के, लरेन्स फेर्लिङ्घेटी आदिको पर्याप्त चर्चा हुन्थ्यो । साँच्चि भन्ने हो भने मेरो साहित्यिक चेतनाको एक खण्डको श्रेय म यही समयलाई दिन्छु ।
पारिजातकहाँ आउने साहित्यकार मात्र हुन्थे भन्ने पनि थिएन । एक दिन मैले दुई यस्ता युवकलाई त्यहाँ देखें जो काठमाडौंका जात्राहरूमा प्रायः भेटिन्थे र, ती मेला भर्न आएका केटीहरूसँग ‘छेडखानी’ पनि गर्थे । तिनीहरूसित ‘हाई–हेलो’ तिनै मेलाहरूमा भेट्दा भएको थियो । एक्कासि तिनलाई पारिजातकहाँ देख्दा मलाई केही अचम्म पनि लागेको थियो । त्यहाँ ती निकै भलाद्मी भएर प्रस्तुत भएका थिए । पछि पारिजातले बताइन्, उनले एउटा कथा ‘जिन्दगी ः फुर्सदको एक क्षण’ तिनैलाई आधार बनाएर लेखेकी थिइन् ।
एकदिन अपराह्नमा हामी ‘बनाना बैठकी’ मा थियौं । एकजना कहिल्यै नआउने मानिस पारिजातकहाँ आए । ती कमलमणि थिए । सामुको झिटीमिटी लाखापाखा लगाउने अवसर पनि पाइएन । स्थगित भने तत्कालै गरियो । कमलमणिले सुनाए— ‘तपाईंलाई बधाई छ, २०२२ सालको मदन पुरस्कार ‘शिरीषको फूल’ ले पायो ।’
त्यति भने उभिएरै र उनी लगत्तै फर्केर गई पनि हाले । कोठाभरि खुसीको लहर व्याप्त भयो । त्यसपछि के हुन्थ्यो ? ‘बनाना बैठक’ समाप्त हुन थालेको थियो, भएन ।
एक दिन म त्रिचन्द्र कलेजको बार्दलीमा घाम तापेर बसिरहेको थिएँ, मेरो हातमा एउटा प्याकेट आयो । खोलेर हेरें । बंगालमा ‘हंग्री जेनेरेसन’ भन्ने युवा कवि–लेखकको एउटा जमातले भर्खरै खोलेको एक संस्थाको घोषणापत्र रहेछ । अंग्रेजीमा लेखिएको त्यस घोषणापत्रमा, परम्परागत लेखनप्रतिको तीव्र आक्रोश–विद्रोह थियो । त्यस्तो पत्र काठमाडौंका केही अन्य पनि नयाँ साहित्यकारलाई आएको थियो । पारिजातलाई त कुरै आएन । मलाईसमेत व्यक्तिगत रूपमा आएको त्यो पत्र पाएर म चकित भएको थिएँ । कसरी मेरो नाउँ–ठेगाना जाने ? कसरी म लेख्छु भनेर नोटिस गरे ? ०२४ को कुरा थियो । म छापिन थालेको भर्खर चार वर्ष भएको थियो । मेरो पहिलो उपन्यास (अन्त्यपछि) त झन् केही महिना मात्र भएको थियो छापिएको आदि । त्यस घोषणापत्रलाई मैले कैयौं पटक पढें, अलिकति त अंग्रेजीमा भएकाले पनि हो, धेरै त्यसको अद्भुत विद्रोही स्वरका कारण ।
यो घटनासँग पारिजात कसरी जोडिइन् भने, केही समयपछि एउटा मेरा लागि यादगार घटना भयो । त्यसबखतसम्म पारिजात कुनै अरू घरमा सरिसकेकी थिइन् । वैशाख १, २०२५ को नयाँ वर्ष पारिजातको त्यसै कोठामा मनाइयो । यादगार कसरी भयो भने, त्यहाँ त्यस दिन ‘हंग्री जेनेरेसन’का तिनै हस्ताक्षरहरू, जसले ‘घोषणापत्र’ पठाएका थिए, पारिजातकहाँ आउने रहेछन् । त्यो नयाँ वर्ष त्यसरी यादगार भयो । हिन्दी जगत्मा पनि ‘भूखी पीढी’ भनेर त्यो जमातले हलचल मचाइसकेको थियो । तिनीहरूले नै खोज्दैखोज्दै पारिजातलाई सम्पर्क गरेका थिए । अनि वैशाख १ गतेको दिन निश्चित गरिएको रहेछ । त्यहाँ आएका ‘हंग्री जेनेरेसन’ का नेताहरू नै थिए— मलय राय चौधरी, समीर राय चौधरी, सुविमल बसाक यति नै थिए कि एउटा अर्को कोही पनि थियो, मलाई गाढा सम्झना भएन ।
अंग्रेजीमा बोल्नुपर्ने । अंग्रेजीमा त्यसरी बोलेको लामो, त्यो पहिलो पटक थियो मेरो । मेरा अन्य केही साथीहरूले सुनेका भए, ‘अंग्रेजी छाँट्यो’ भन्थे होलान् । म त कहाँ छाँट्नु, मलाई सहज थिएन, जति पारिजात वा सुकन्यालाई थियो । पोखरीमा पौडी नजान्नेले पौडी खेलेजस्तै थियो । हातखुट्टा चलाउनैपर्ने ।
मैले पनि तिनलाई प्रभावित पार्न दर्शन त अलिकति छाँटेको हुँ ।
अनौठो कहाँ भयो भने मैले बोलेपछि मलय
रायले भने, ‘मिस्टर गौतम, यू आर स्पिकिङ फ्रम द पेजेज अफ किर्केगार्ड ।’ उनको भनाइ थियो— तँ जे बोलिरहेको छस्, त्यो नयाँ होइन, किर्केगार्डले बोलिसकेको कुरा हो ।
पाठकलाई आश्चर्य लाग्ला, यो थाहा पाएर कि उनको त्यो कुरा सुनेर म त खिन्न हुनुसाटो गद्गद् भएँ । खुसी यसकारण कि त्यसबखतसम्म मैले किर्केगार्ड सुनेको त थिएँ, राम्ररी पढेको भने थिइनँ । तैपनि किर्केगार्डले बोलेको बोलिस् भनेको सुन्दा म आफैं अचम्मित भएँ, अकारण खुशी पनि ।
त्यहाँ उनीहरूले एक दिन एलएसडी खाने प्रोग्राम बनाएको कुरा गरे । एलएसडी एक चरम कोटिको ‘इल्युजन’ उत्पन्न गर्ने ड्रग मानिन्थ्यो । त्यो उनीहरूले चोभार, धुलीखेल कताको एकान्तमा सेवन गर्ने कार्यक्रम बनाएका थिए । दिन पनि तोके । तर, त्यसमा पारिजात पनि सामेल भइनन्, म पनि भइनँ । उनीहरूले के गरे, थाहा भएन ।
यी सारा घटनाहरूकी साक्षी प्रायः सुकन्या छिन्, उनलाई सम्झना पनि होला । पारिजातसँग जोडिएका यस्ता सम्झना अनन्त छन्, लेखीसाध्य छैन । यो आलेखमा तस्बिर पनि जुन छापिएको छ, त्यही समयको एउटा प्रेमिल चिनो हो ।
अन्तिम एउटा कुरा । कसैले सोध्यो, मसँग, लेखिकाहरूमा तेरो सबभन्दा घनिष्ठ मित्र को हो ? घनिष्ठ त अरू पनि भए तर तिनमा मेरो पहिलो नाउँ पारिजातकै हुन्छ, यसमा पनि फेरि कुनै सन्देह छैन ।
प्रकाशित : कान्तिपुर, कोसेली, फाल्गुन ११, २०७५ ११:४५

दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...