Friday, June 14, 2019

बोडो-मेचे सभामा छमछमी

बोडो-मेचे सभामा छमछमी 
कान्तिपुर संवाददाता
खाम (ढोलक), छिफुङ (बाँसुरी) र दोथ्रा (सारंगी) वाद्यवादक अघि लागेका छन् । दोस्रो पंक्तिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छन् । उनीपछि दोखना (मेचे पहिरन) लगाएका युवती । उनीहरूले बाजाको तालमा बोराइनाइ (स्वागत नाच) नाच्दै मुख्यमन्त्रीलाई स्वागत गरे ।
कुनै कार्यक्रम सुरु गर्नुपूर्व यो समुदायको जातीय विधि नै छ । विधि पूरा गरे । मुख्यमन्त्रीलाई राष्ट्रिय झन्डोत्तोलन गर्न लगाएपछि मञ्च चढाए ।
झापा यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसूचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको बसोबास छ । यसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । मेचे समुदायले शनिबार नेपालमै पहिलो पटक बोडो-मेचे साहित्यसभा आयोजना सुरु गरेको छ । दुईदिने महोत्सवमा मेचेहरूको पुख्र्याैली थलो भारत असमबाट समेत दुई सय हाराहारीमा सहभागी छन् । सम्मेलनमा आफ्नो साहित्य र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए । मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरूको भाषा, संस्कृति र रहनसहनबारे बहस हुनेछ ।
मुख्यमन्त्रीले नेपाल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमा वैभवशाली रहेको चर्चा गरे । संघीयताले सबै जातजाति र भाषाभाषीको पहिचानको सपना पूरा गर्न सक्ने उनले बताए । मेचे समुदायको भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि सक्दो पहल गर्ने आश्वासन दिए । मानवशास्त्री सन्तलालले मेचे समुदायको संस्कृति र रहनसहनको जगेर्ना गर्न यस किसिमको कार्यक्रम सार्थक हुने जनाए ।
उनले भने, 'हाम्रो अधिकार प्राप्तिका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्छन् ।' सम्मेलनमा मेचे समुदायका भाषा, साहित्य, कला, संस्कृति आदि विभिन्न विषयमा छलफल गरिने अध्यक्ष रुपेश मेचेले जनाए । यी समुदाय झापाको मेचीनगर, दमक, धाइजन, ज्यामिरगढी, चकचकी, जलथल, भद्रपुरलगायत स्थानमा छन् । २०६८ को जनगणनाअनुसार मेचेको संख्या ४ हजार ८ सय ६७ रहेको छ ।प्र
काशित : वैशाख ३०, २०७६ ०८:४५

हराउँदै लामा खाम बोली

हराउँदै लामा खाम बोली

जेष्ठ १, २०७६, कान्तिपुर संवाददाता

सिमकोट — हुम्लाको उच्च हिमाली भेकमा बोलिने लामा खाम बोली भाषा जनजिब्रोबाट हराउँदै जान थालेको छ । स्थानीय बासिन्दा सहरबजारतिर बसाइँ सर्नु र युवापुस्तामा भाषाप्रति मोह हराउँदै जानुले यो संकटमा पर्न लागेको हो ।लामा खाम हुम्लाका लामा समुदायको मातृभाषा हो
यसकोआफ्नै लिपि छैन । तर, गौतम बुद्धले सुरु गरेको लिपिलाई उनीहरूले आफनो भाषाको लिपि मान्दै आएका छन् । लामा सांस्कृतिक मञ्च, हुम्लाका अध्यक्ष धर्मनन्द लामा आफ्नो लिपि नहुँदा गाह्रो भएको बताउँछन् । ‘हाम्रै समुदायका मान्छेहरू पनि नेपाली भाषा बोल्छन् र नेपालीमै कामकाज गर्छन्,’ उनले भने, ‘आफ्नै भाषामा काम गरे पनि त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने बाध्यता छ, यसले गर्दा मातृभाषा बिरानो हुन थालिसक्यो ।’
नाम्खा गाउँपालिकाको पूरै क्षेत्र र सिमकोट गाउँपालिकाको वडा १ को डोजाम, वडा ३ को बरागाउँ, लिमाटाङ र चोर्पा तथा वडा ४ को बुरौंसेमा लामा खामभाषीको संख्या अधिक छ । सिमकोट ३ का वडाध्यक्ष जिङनेत लामाले उक्त वडामा लामा खाम भाषा बोल्न सक्ने स्थानीयको संख्या १ हजार ७ सय ४७ रहेको बताए ।
त्यस्तै, डोजाममा करिब ६ सय र बुरौंसेमा करिब ७ सयको संख्यामा लामा खामभाषीको संख्या रहेको सम्बन्धित वडाका अध्यक्षहरूले जानकारी दिए । नाम्खामा भने करिब ४ हजार ५ सय व्यक्तिलाई लामा खाम भाषा बोल्न आउने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । लामा खाम भाषासँग यति ठूलो संख्याको सम्बन्ध रहे पनि प्रचलनमा नरहनु र संवाद गर्दा नेपाली भाषाको सहारा लिनु विडम्बना रहेको लामा सांस्कृतिक मञ्चका अध्यक्ष लामा बताउँछन् ।
आप्mनो क्षेत्रमा बोलिने मातृभाषाको प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो । यसलाई स्थानीय तहले पाठ्यक्रम बनाई लागू गर्दा भाषा संरक्षणमा टेवा पुग्न सक्छ । तर, लामा खाम भाषा बोलिने क्षेत्रका विद्यालयमा यो भाषा पाठ्यपुस्तकमा समावेश छैन । नाम्खा गाउँपालिका अध्यक्ष लामा यहाँको मातृभाषालाई विद्यालय तहको
पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक भए पनि हालसम्म समावेश गर्न नसकिएको बताउँछन् । ‘आगामी आवमा हामीले लामा खाम भाषालाई विद्यालयको स्थानीय पाठ्यक्रममा समावेश गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘यसो गर्न सकियो भने मातृभाषा जोगाउन टेवा पुग्न सक्छ ।’ पाठ्यक्रम बनाइहाले पनि यो भाषा पढाउने शिक्षकको भने समस्या हुने उनले बताए ।
सिमकोट गाउँपालिका ३, लिमाटाङका रिनजिन लामा मातृभाषाको जगेर्ना गर्न सरकार र सरोकारवालाले विशेष पहल गर्नुपर्ने बताउँछन् । बेलैमा ध्यान नदिए आफ्नै भाषा भुल्ने अवस्था आउने उनको भनाइ छ । ‘हामीभन्दा पछिल्लो पुस्तालाई बेलैमा यो भाषा सिकाउनुपर्छ,’ उनले भने, ‘पुरानो पुस्ताले भाषा बोल्दै आए नयाँले बिर्संदै जान थालेको छ ।’
लामा खाम भाषा आफ्नै थलोबाट लोप मात्र हुने अवस्थामा मात्र पुगेको छैन, सरकारको आधिकारिक अभिलेखमा समेत अहिलेसम्म राखिएको छैन । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले स्थानीय तहका जनप्रतिनिधिले लामा खाम भाषाबारे जानकारी दिए पनि अनुसन्धान गर्न नसकिएको बताए ।
छपाल लामा (प्रशिक्षार्थी)
प्रकाशित : जेष्ठ १, २०७६ १०:१२

काडामाण्डौँकी मालिका र अखण्ड दीप

काडामाण्डौँकी मालिका र अखण्ड दीप
  डिलबहादुर सिंह
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ काडामाण्डौँ पुग्ने जोसुकैलाई यहाँको संरचनाले नेपाल एकीकरण अभियानको विषयलाई सम्झन बाध्य बनाउँछ । त्यसरी ऐतिहासिक क्षण सम्झन बाध्य पार्ने कारणमध्ये उक्त स्थानमा स्थापना गरिएको मालिका भगवतीको आकर्षक मंन्दिर र अखण्ड दीप मुख्य छन् । मालिका भगवतीको मन्दिर नेपाल एकीकरण अभियानक्रममा सरदार अमरसिंह थापाले विक्रम संवत् १८४६ मा स्थापना गरेका थिए । भगवती मन्दिरमा अखण्ड ज्योति बालिने प्रचलन पनि मन्दिर स्थापनादेखि नै कायम रहेको हो ।
एकीकरण अभियानको क्रममा सरदार अमरसिंह थापा पश्चिम गौँडाको इञ्चार्ज भएर आएका थिए । सोही बेला सरदार थापाले बालेको उक्त दीप भगवती मन्दिरभित्र हालसम्म पनि निरन्तर बलिरहेकै छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीले अखण्ड ज्योति निभाएको भए पनि शान्ति प्रक्रियाको शुरुवाती समयसँगै पुनः प्रज्ज्वलन गरियो र निरन्तर बलिरहेको छ ।
सरदार अमरसिंह थापाले डोटीको काडामाण्डौँमा मालिका भगवतीको मन्दिर स्थापना गर्नुका साथै उक्त क्षेत्रका उपराकॉडा, नवाघर, बोगटीगाउ‘ र बटालागॉउका बासिन्दालाई मन्दिरको रेखदेख र अखण्ड ज्योतिलाई संरक्षण गर्नुपर्ने जिम्मेवारी दिएका थिए । स्थानीयले आफूलाई प्राप्त जिम्मेवारी अनुसार मन्दिरकोे रेखदेख र अखण्ड ज्योतिलाई निरन्तरता दिएवापत उक्त क्षेत्रका चार गाउ“का ५७ परिवारलाई रैकर घोषणा गरी वार्षिक रूपमा अन्न र तेल मन्दिरमा चढाउनुपर्ने नियम बसाइदिएका थिए । सो नियम हालसम्म पनि पालना भइरहेकोे छ ।
उक्त क्षेत्रका चार गाउ“का ५७ परिवारलाई मन्दिरको प्रत्यक्ष रेखदेख गर्ने जिम्मा दिइएकोमा हाल परिवारको सङ्ख्या बढेर चार सयभन्दा बढी भइसकेको छ । एकीकरणकालीन जिउँदो इतिहास भएर पनि उक्त क्षेत्रको पर्याप्त मात्रामा प्रचार–प्रसार हुन नसक्दा र आवश्यक पूर्वाधार निर्माणतर्फ ध्यान नपु¥याउँदा ओझेलमा परेको अनुभव हुन्छ ।
सरदार अमरसिंह थापाले मन्दिर र बत्ती बाल्ने कार्यको शुरुवात गरेसँगै उक्त क्षेत्रका चार गाउ“का स्थानीय बासिन्दाले वार्षिक रूपमा अन्न र बत्ती बाल्नका लागि तेलको जोहो अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । स्थानीयवासी गोरख बोगटीका अनुसार– उहाँले २० रोपनी जमिन भोगचलन गरेवापत वर्सेनि नौ माना घिउ, १९ किलो चामल र एउटा बोको मालिका भगवतीको मन्दिरमा चढाउनुपर्छ ।
त्यसयताको दुई सय २९ वर्षमा देशमा अनेकौँ परिवर्तन भएका भए पनि काडामाण्डौँका बासिन्दाको परम्परागत चलन भने कायमै छ । बोगटीले भन्नुभयो– ‘गाउ‘लेले वर्षभरिको कुत उठाएर मन्दिरमा ४८ वटा बोका र २ वटा राँगाको अनिवार्य रूपमा बलि दिनुपर्छ । अखण्ड दीपको सम्पूर्ण खर्च पनि हामीले नै व्यहोर्नुपर्छ ।’
केही समयअघि पुरातत्व विभागको एक टोलीले उक्त क्षेत्रको भ्रमण गरेर के कसरी संरक्षण गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरेको बताएको छ । सरकारी स्तरबाट के कस्तो व्यवस्था हुने हो भन्ने सम्बन्धमा जनचासो बढेको भए पनि कुनै पहल भएको छैन ।
रक्षाबन्धनको अवसरमा बाजुरा जिल्लामा पर्ने प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरमा भव्य मेला र पूजा हुने गर्दछ । राणाकालीन समयदेखि नै सरकारी स्तरबाट जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा पूजा सामग्री (पेटारो) लिएर सरकारी टोली बडिमालिका मन्दिरमा जानेक्रम निरन्तर नै छ । सिलगढीबाट पूजासामग्री लिएर गएको टोली पहिलो दिनको एक रात काडामाण्डौँ गाउँमा बास बस्ने गर्दछन् । उक्त टोलीले मालिका भगवतीको मन्दिरमा पूजाआजा गरेपछि मात्र बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा रहिआएको छ ।
केही वर्ष अगाडिसम्म मन्दिर र ज्योतिको रेखदेख गर्ने जिम्मेवारी पाएकाले पालो बाँधेर हेरचाह गर्दैआएका भए पनि अहिले भने ‘भगवती मन्दिर व्यवस्थापन समिति’ गठन गरिएको छ । घरघरबाट घिउ, तेल अन्नलगायतका सामग्री जम्मा गर्नुपर्ने भए पनि केही हदसम्म विभिन्न निकायबाट सहयोग गर्ने क्रम बढेकोले समितिलाई काम गर्न सजिलो भएको छ । हाल आएर गाउ“पालिका लगायतका निकायले तेल तथा पूजा सामग्री खरिदका लागि सहयोग गर्न थालेका छन् ।
http://gorkhapatraonline.com/news/70515

राउटे किराँती ?

राउटे किराँती ?

डा. माधवप्रसाद पोखरेल
फुर्सद
०४ जेठ २०७६ ०९:०६:००
भाषा
हिमालय मुन्तिर आएको तुलनात्मक जेठकान्छीका आधारमा नेपाल र भारतमा भएका भोट चिनियाँ भाषा बोल्ने जातिहरूलाई प्राचीन र अर्वाचीन जाति भनेर छुट्याउन सकिन्छ। भोट चिनियाँ भाषा बोल्ने प्राचीन समूह चाहिँ दक्षिण चीनबाट पूर्वोत्तर भारतको ब्रह्मपुत्र बेँसीको बाटो असम छिरेर हिमालयको मुन्तिर पहाडै पहाड अरुणाचल प्रदेश, भुटान, सिक्किम, नेपाल, उत्तराखण्ड र हिमाचल प्रदेशसम्म पुगेको पाइन्छ भने, अर्वाचीन समूह चाहिँ सातौँ शताब्दीमा स्रङ चन गम्पोले तिब्बतको एकीकरण गरेपछि क्रमशः हिमालयका भन्ज्याङ हुँदै दक्षिणतिर ओर्लेको पाइन्छ। भाषा वैज्ञानिक दृष्टिले प्राचीन समूहका भोट चिनियाँ भाषाहरू प्रायः जटिल क्रियापद भएका पाइन्छन् भने, अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरू तुलनात्मक रूपले सरल क्रिया पद भएका पाइन्छन्। अर्थात्, प्राचीन भोट चिनियाँ भाषाहरूमा क्रिया पद लामो हुन्छ भने, अर्वाचीन भोट चिनियाँ भाषाहरूमा क्रिया पद छोटो हुन्छ।
प्राचीन र अर्वाचीन समूहका भोट चिनियाँ भाषामा अर्को भिन्नता के छ भने, प्रायः अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरू तानल (रुद्रघण्टी तलमाथि सार्दा एउटै उही अक्षरबाट बेग्लाबेग्लै अर्थ निकाल्ने खालका) हुन्छन् भने, प्राचीन समूहका भाषा चाहिँ प्राय अतानल हुन्छन्। तान नभएका (नेपाली, लिम्बु, नेवार र धिमाल) जस्ता भाषाका वक्ताहरूलाई सुन्दा उस्तै उस्तै लाग्ने शब्दबाट तान भएका भाषा (तामाङ, गुरुङ, घले, ह्योल्मो, शेर्पा, ह्लोमी, थकाली, मनाङे, चुम, नार, फु, छन्त्याल, काइके) का वक्ताहरूले चार ओटा सम्म फरक फरक अर्थ निकाल्छन्। हिमालयको दक्षिण तिर केही प्राचीन भोट चिनिया भाषा (व्यासी, खालिङ, थुलुङ, मगर(खाम, मगर(ढुट, सुनुवार) हरू पनि तानल पाइएका छन्।
यसबाट भाषा वैज्ञानिकहरूले के अड्कल गरेका छन् भने, सबै भोट चिनियाँ भाषाहरू पहिले तानल नै थिए होलान्, तर पछि अरू भाषाको सम्पर्कमा आएपछि तान गुमाए होलान्। यो कुरो हिमालयको छेउछाउमा बोलिने तामाङ र गुरुङ भाषाका भाषिकाहरू तानल भएको, तर नवलपरासी र पोखरामा चाहिँ तान हराएको पाउँदा ठीक हो कि जस्तो पनि लाग्छ।
क्रियाको रूपावली र तानका आधारमा अमेरिकाली भाषा वैज्ञानिक जेम्स मातिसोफले सबै भोट चिनियाँ भाषाहरूलाई चीनात्मक (साइनोस्फोरिक) र हिन्दात्मक (इन्डोस्फोरिक) भन्ने दुई वर्गमा बाँडेका छन्। चीन भित्रका बहुसङ्ख्यक भोट चिनियाँ भाषाहरू तानल र एकाक्षरी (अर्थात्, चिनियाँ जस्ता) छन् भने, भारतीय उपमहाद्वीपमा भएका अधिकांश भोट चिनियाँ भाषाहरू चाहिँ संस्कृतमा जस्तो (हिन्दात्मक) क्रियामा एकवचन, द्विवचन, बहुवचनको फरकफरक रूप चल्ने र लामा लामा क्रिया पद हुने खालका छन्।
यी हिन्दात्मक अथवा प्राचीन भोट बर्मेली भाषाहरूमा क्रियाको जटिलता वाक्यमा प्रयोग भएका सर्वनाम र क्रिया पदको सङ्गतिले भएको हो। सर्वनाम र क्रिया पदको सङ्गतिलाई ‘सर्वनामीकरण’ भन्ने चलन छ। झापा र मोरङको धिमाल भाषा, दोलखाको नेवार भाषा, दोलखा र रामेछापको थामी भाषा, गोरखाको बराम भाषा, तनहुँको भुजेल भाषा अनि पश्चिम स्याङ्जा (लसर्घा) को मगर–ढुट भाषा जस्तै केही भाषामा
चाहिँ कर्ता सर्वनाम र क्रिया पदबीचमा मात्र सङ्गति हुन्छ भने, धेरै जसो किराँती (लिम्बु, याक्खा, राई), रामेछाप र सिन्धुलीको हायु, मकवानपुरको चेपाङ, रोल्पा, रुकुम र पश्चिम बाग्लुङको मगर–खाम, कैलालीको राजी र दार्चुला तथा पिथौरागढको व्यासी (सौका) भाषामा चाहिँ वाक्यमा प्रयोग भएका सर्वनामको कारक (कर्ता, कर्म, सम्बन्ध, सम्प्रदान, आदि) को पारस्परिक साइनाको जटिलता समेत मिसिएर क्रिया पदको रूपावलीमा जटिलता हुने हुनाले यस्ता प्राचीन भोट बर्मेली भाषाहरूलाई चाहिँ जटिल सार्वनामिकता (अथवा जटिल सर्वनामीकरण) भएका भाषा भनेर
छुट्याउने चलन छ।  लिम्बू, याक्खा र धन्कुटाका केही राई जस्ता पूर्वी किराँती भाषामा त निषेधार्थक प्रत्ययको जटिलता पनि क्रिया पदमा थपिन्छ। होल्यान्डका भाषा वैज्ञानिक भान ड्रिमले यस्ता सबै किसिमका सर्वनामीकरण हुने भोट चिनियाँ भाषालाई ‘महाकिराँती’ भाषा भन्ने नाम दिएका छन्।
तामाङ, गुरुङ, थकाली, मनाङे, छन्त्याल, काइके, ह्लोमी, ह्योल्मो र शेर्पा जस्ता अर्वाचीन अथवा भोटात्मक (अथवा तिब्बतीय) भोट बर्मेली भाषामा चाहिँ कर्ता (अथवा जुनसुकै कारकको सर्वनाम) र क्रियाका बिचमा पद सङ्गति नै पाइँदैन।  तिब्बतलाई तिब्बती भाषामा ‘बोद’, ‘बोत’, ‘भोद’ उच्चारण गरेको नेपाली कानले ‘भोट’ सुनेर तिब्बत देशलाई भोट (संस्कृतमा ‘त्रिविष्टप’) र तिब्बतको विशेषण तिब्बती जाति, भाषा र संस्कृतिलाई ‘भोटे’ भनेको अड्कल गर्न सकिन्छ। नेपालमा अचेल ‘भोट’ शब्दको गरिमा चाहिँ घटेको छैन, तर ‘भोटे’ शब्दचाहिँ संस्कृति बुझाउन (जस्तै, भोटे घोडा, भोटे नुन, भोटे ताल्चा, भोटे सेलो, भोट मास) र हिमाल पारिकै जाति बुझाउन त प्रयोग भएकै छ, तर हिमाल वारिका तिब्बती मूलका नेपाली जाति बुझाउन चाहिँ यस शब्दको प्रयोगमा अर्थको गरिमा घटेको पाइन्छ, त्यसैले गाली गर्दा बाहेक यस शब्दको प्रयोग गर्न छोडिएको छ। जे भए पनि तिब्बती भाषासित निकट ऐतिहासिक साइनो भएका अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरूलाई भोटात्मक (बोडिस) भन्ने पनि चलन छ।
ग्रियर्सन (१९२७ इ, ‘टिबेटो–चाइनिज फेमिली’, लिङिस्टिक सर्भे अफ इन्डिया, १।१।४०–४९) ले भोट चिनियाँ भाषा बोल्नेहरूको मूल थलो तिब्बतकै ईशान कोणको (तिब्बत, छिङ्हाई र सिछुवानतिर) माल भूमिलाई ठहराएका छन्। त्यसै ठाउँबाट चीनका महानदी ह्वाङ ह र याङ्सी, सिछुवान (चार खोला) का चार ओटा नदी अनि भिएत्नाम र कम्बोडिया तिर बग्ने मिकङ नदी उम्रेका छन्। म्यान्मारको इरावती र चीनको युन्नान हुँदै म्यान्मार र थाइल्यान्डका साँधमा बग्ने साल्विन नदी पनि त्यसै पठारबाट उम्रिन्छन्। असमको डिब्रुगढ नजिकैको परशुराम कुण्ड (सदिया) मा मानसरोवरबाट बग्दै आउने ब्रह्मपुत्र नदी पनि त्यसै माल भूमिको अलिक दक्षिणतिरबाट बग्छ।
चिनियाँ भाषाको नक्सामा मानसरोवरको पूर्वतिरको ब्रह्मपुत्र नदीलाई ‘तामाङ खोलो’ (तामाङ ह) भनेको पाइन्छ। यसबाट तामाङहरूको मूल थलो त्यही रहेछ भन्ने अड्कल गर्न सकिन्छ। सातौँ शताब्दीमा तिब्बतको एकीकरण अभियानपछि सम्भवतः तामाङहरू त्यसै ठाउँबाट नेपाल पसे होलान्। तामाङहरू तिब्बती मूलका जातिमध्ये सबभन्दा पहिले नेपाल आए जस्तो लाग्छ। पहिलो कुरो त तिब्बती मूलका नेपाली जातिमध्ये दक्षिण सम्म (जस्तै, नवलपरासी) नै चक्ला बस्ती हुने तामाङबाहेक अर्को जाति छैन। अर्को कुरो काठमाडौँ उपत्यका वरिपरि तामाङहरूकै घना बस्ती छ। स्रङ चन गम्पोले अंशुवर्माकी छोरी भृकुटी (छि चन) बिहे गरेका थिए। त्यस वैवाहिक साइनाले सबभन्दा पहिले काठमाडौँ आउने तामाङहरू
नै थिए होलान्। जति जति काठमाडौँ उपत्यकाबाहिरका
आप्रवासीहरूले ढाक्तै गए, त्यति तामाङहरू काठमाडौँ उपत्यकाबाट पाखा लाग्दै गए जस्तो लाग्छ।भाषा वैज्ञानिकहरूले आफूलाई ‘त–म–ङ’ व्यञ्जनबाट चिनाउनेहरूका भाषा (तामाङ, तमुङ, तमङ, तमु, आदि) लाई तामाङ समूहका भाषा मानेका छन्। यस समूहमा तामाङ, गुरुङ, थकाली, मनाङे, छन्त्याल, तीन गाउँले, बार गाउँले आदि भाषा पर्छन्। अस्ट्रेलियाका भाषाविद् वारेन ग्लोभरले चाहिँ तिनै तामाङ समूहका भाषालाई गुरुङ समूहका भाषा मानेका छन्। मुगुका कार्मारोङ र मुगाली भाषा बोल्नेहरूमा पनि तामाङ थर पाइन्छ। तिब्बती मूलका अरु जातिमा पनि तामाङ थर पाइएको छ।
ग्रियर्सनले ठहराएको सबै भोट चिनियाँ भाषाहरूको मूल थलालाई आधार मान्दा त्यहाँबाट पश्चिमतिरको तिब्बती उच्च भूमिमा फस्टाएका मातृभाषाहरू नै भोटे अथवा तिब्बती भाषा हुन्। स्विट्जरल्यान्डका भाषा वैज्ञानिक दिवंगत रोल्यान्ड बिल्मायाले ठूलो परियोजना बनाएर तिब्बतीका सबै भाषिकाहरू जोडेर ‘तिब्बती भाषिका कोश’ तयार गरेका छन्, तर उनको असामयिक निधनले त्यो कोश अझै प्रकाशित भएको छैन। अहिले प्राध्यापक भान ड्रिम बिल्मायाकै बर्न विश्व विद्यालयको नेतृत्व गरी रहेका छन्, त्यसैले त्यो कोश छिटै प्रकाशित होला भन्ने आशा छ। त्यस कोशमा उनले नेपालका तामाङ, गुरुङ, थकाली, ह्लोमी र शेर्पा जस्ता भोटात्मक भाषा र भुटानको जोङ्खा भाषालाई पनि समेटेका छन्।
शरीरका अङ्ग, शारीरिक क्रिया अनि माटो, पानी, घाम, हावा जस्ता आधारभूत शब्दावलीको समानताका आधारमा तुलनात्मक भाषा विज्ञानले चिनियाँ भाषा, तिब्बती भाषा, म्यान्मारका (बर्माली) भाषा र नेपाल भारतका प्राय उत्तरी भेगका भाषाहरू एउटै मूलबाट विकसित भएको ठहर्‍याएका छन्। त्यसै हुनाले यस भाषा परिवारलाई चिनियाँसमेत समेट्ता भोट चिनियाँ र चिनियाँ नसमेट्ता भोट बर्मेली भन्ने चलन छ। यस हिसाबले भोट बर्मेली भाषा परिवार पनि भोट चिनियाँ भाषा परिवारअन्तर्गत पर्छ। जेम्स मातिसोफ (२००८ इ) ले यौन र प्रजनन अङ्ग जनाउने ९ ओटा मात्र शब्दबाट अर्थ विस्तार भएको तुलनात्मक कोश प्रकाशित गरेका छन्, जसमा उल्लिखित सबै भोट चिनियाँ भाषाहरूलाई अर्थ वैज्ञानिक सामीप्यका आधारमा अध्ययन गर्न सकिन्छ। मातिसोफले गरेका तिनै नौ ओटा शब्दहरूको अर्थ सामीप्यका आधारमा भोट चिनियाँ भाषालाई यसरी वर्गीकरण गरिएको छ ः
भोट चिनियाँ भाषा पहिले चिनियाँ र भोट बर्मेली हाँगामा बाँडिन्छ। भोट बर्मेली भाषाहरू आठ ओटा हाँगामा बाँडिन्छन्। (१) कामरूपीय (असम) हाँगामा बोडो (मेचे), गारो, नागा, मेतेई (मणिपुरी) आदि पर्छन्। (२) एउटा हाँगामा बर्माली र लोलो आउँछन्। (३) ताङ्गुत–
छ्याङ वर्गमा चीनमा बोलिने ग्यारोङ भाषा आउँछ, जसले भोट बर्मेली माउ भाषाका रूपहरू साँचेको पाइएको हुनाले भोट बर्मेली भाषाको ऐतिहासिक पुनर्निर्माण गर्न ग्यारोङले निकै सघाएको छ। (४) हिमाली भाषाहरूले ती आठओटा हाँगामध्ये एउटा हाँगो ओगटेका छन्। यस हाँगामा नेवार बेग्लै हाँगामा पर्छ। मैले माथि नाम लिएका प्राचीन (सबै सार्वनामिक) भोट बर्मेली भाषा चाहिँ ‘महाकिराँती’ वर्ग भित्र राखिएका छन् भने, अर्वाचीन (तिब्बती मूलका) भोट बर्मेली भाषाचाहिँ ‘भोट–किन्नर’ वर्गभित्र पाइन्छन्।
जर्ज भान ड्रिमको ‘महाकिराँती’ शब्दमा परेको ‘किराँती’ शब्द नेपालमा प्रचलित शब्द हो भने संस्कृतमा चाहिँ ‘किराँती’ शब्दका ठाउँमा ‘किरात’ र ‘किलात’ शब्द प्रयोग भएको पाइन्छ (म्याक्डोनेल र किथ, १९१२ इ, वेदिक इन्डेक्स)। यो किरात शब्द अथर्व वेदलगायत उत्तर वैदिक साहित्यमा प्रयोग भएको पाइन्छ। म्याक्डोनेल र किथले ‘वेदिक इन्डेक्स’ भन्ने कोशमा वैदिक कालमा भारतीय उपमहाद्वीपमा भएका जातिहरू कुनकुन भूभागमा थिए भन्ने देखाउने नक्सा बनाएका छन्। त्यस नक्सामा उनीहरूले किरात जाति कर्णाली नदीको पूर्वतिर देखाएका छन्। यसरी उत्तर वैदिककालमा जहाँ आर्यहरूले किरातहरूलाई भेटे, ती किरातहरू त सम्भवतः भाषालाई ‘पाङ’ भन्ने रुकुम, रोल्पा र पश्चिम बाग्लुङका मगरहरू थिए, आज पूर्वी नेपालमा ‘किराँती’ भनेर प्रसिद्ध भएका ‘चिराइतो’ (किराततिक्त) चलाउने राई, लिम्बू र याक्खा (सुनीति कुमार चटर्जी, १९७४ इ, ‘किरात जन कृति’, पृ. २९) थिएनन् होला।
इमानसिंह चेमजोङले ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’मा नेपाल एकीकरण कालमा गोर्खाली सैनिकमा भएका मगर र लिम्बूहरू दुवै किराँती भएको ठहर गरेर आपसमा लडाइँ गर्न नहुने निधो गर्दै नुनपानी छोएर सन्धि गरेका थिए भनेर लेखेका छन्। भान ड्रिमले समस्त प्राचीन भोट चिनियाँ भाषालाई ‘महाकिराँती’ घोषित गरेका छन् र म्याक्डोनेल र किथको वैदिक कोशमा पनि कर्णाली र भेरी नदीको पूर्वतिर किरातहरू भेटिएको हेर्दा के कुरो बुझिन्छ भने, उत्तर वैदिक साहित्यमा ‘किरात’ र ‘किलात’ शब्दले जनाउने जातिका विशेषतामा तिनीहरू ओढारमा बस्ने, सिकार खेल्ने र जडिबुटी सिलो गर्ने आदि विशेषता पर्छन्। मगर–खाम भाषाको व्याकरण पनि किराँती भाषासित निकै मिल्छ।
वैदिक साहित्यमा उल्लिखित किरातहरूका विशेषता आज राउटेहरूमा काटिकुटी मिल्छन्, केही दशकअघि चेपाङ र कुसुन्डाहरूमा पनि ती विशेषता मिल्थे। कुसुन्डाहरूको भाषा त भोट चिनियाँ होइन, तर राउटे र चेपाङको भाषा चाहिँ भान ड्रिमको ‘महाकिराँती’ भित्रै पर्छन्। संस्कृतका महाकवि भारवि (भारवि) ले ‘किरातार्जुनीय’ महाकाव्यमा किरातेश्वर महादेवसित अर्जुनले युद्ध गरेको प्रसङ्ग पनि अनुसन्धाताहरूले कुमाउँ (उत्तराखण्ड) तिर औँल्याएका छन्। राहुल सांकृत्यायन (१९५३ इ, गढवाल, पृ० ४२) ले पिथौरागढका ‘राजी’ लाई जनाउन ‘राजकिरात’ भन्ने शब्द प्रयोग गरेका छन्। रमेश खत्री (२००८, राजी भाषाको व्याकरण) ले नेपाल (कैलाली) को राजी भाषामा अनुसन्धान गरेका छन् भने, कविता रस्तोगी (२०१२ इ, ले भारत पिथौरागढको राजी भाषामा पिएचडी गरेकी छिन्।
रमेशको अनुसन्धान (राजी भाषाको भाषा वैज्ञानिक अध्ययन) का आधारमा कैलालीको राजी भाषा किराँती भाषाझैँ सार्वनामिक छ। राजी भाषाको स–उपसर्गले भाषा वैज्ञानिकहरूले कल्पना गरेको किराँती भाषामा लोप भएको सकार फेला परेको छ।  लखनऊ विश्व विद्यालयकी प्राध्यापक कविता रस्तोगीले अध्ययन गरेको पिथौरागढको राजी भाषा र रमेश खत्रीले अध्ययन गरेको कैलालीको राजी भाषा नाम मिले पनि एउटै भाषा होइनन्। कविता र रमेश दुवै जनासित छलफल गर्दा रस्तोगीले अध्ययन गरेको पिथौरागढको राजी भाषाचाहिँ राउटे भाषाको नजिक भएको थाह भएको छ।
वैदिक साहित्यका किरातहरूका लक्षण हेर्दा पिथौरागढका राजी, दार्चुलाका व्यासी र कर्णाली प्रदेश र सुदूर पश्चिममा यायावर भएर घुम्ने राउटे जाति पनि व्यापक अर्थमा ‘किरात’ समूहमै पर्ने देखिन्छ। राउटेहरू आफुलाई जङ्गलका राजा मान्दछन्। फिरन्ते प्रकृतिका राउटेहरू अहिले सम्म पश्चिममा बझाङ, उत्तरमा मुगु जिल्लाको रारा ताल, दक्षिणमा दाङ हुँदै कैलाली अनि महेन्द्रनगर र पूर्वमा रोल्पा सम्म पुगेका कुरा बताउँछन् (सूर्य नारायण कल्याल शाही, राउटेका मुखिया)। त्यस हिसाबले व्यापक अर्थमा कर्णाली प्रदेशका दैलेख र सुर्खेतका मगर मात्र होइन, कैलालीका राजीहरू पनि किरात समूहमै पर्न सक्छन्।
वनमै बस्नु, बाँदरको सिकार गर्नु, एक किसिमको वस्त्र लगाउनु, घर नबनाउनु, आफ्नो वासस्थान सारी रहेर यायावर बन्नु, आफ्ना तीन किसिमका थर सुनाउनु, एउटै थरमा बिहे नगर्नु, पुरुष र स्त्रीका लोकाचारमा फरक पर्नु, विधवालाई निषेध गर्नु, काठका सामान बनाउनु, आँटोपीठो साट्नु, भोट बर्मेली खाम्ची भाषा बोल्नु, मस्टाको पूजा गर्नु, केही निश्चित लोककथा र लोक साहित्य पुस्ता पुस्तामा सार्नु, आफुलाई वनको राजा मान्नु र अरू मानव समुदायबाट आफुलाई अलग्ग राख्नु राउटेहरूको संस्कृति हो।
आज राउटेहरू जस्तो किसिमको जीवन बिताइरहेका छन्, प्रागितिहासमा र वैदिक तथा उत्तर वैदिक कालमा ‘किरात’ जाति भनेर म्याक्डोनेल र किथले चिनाएका लक्षणहरू धेरैजसो मिल्छन्, तर एउटै कर्णाली प्रदेशमा बसे पनि राउटेकै जस्तो चलन उही भोट बर्मेली सार्वनामिक भाषा नै बोल्ने राजीकै चलनसित पनि मिल्दैन।

पर्वपिच्छे फरक स्वाद

पर्वपिच्छे फरक स्वाद
वैशाख ४, २०७६कान्तिपुर संवाददाता
जनकपुर — मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नहि भेटैत छै ।’ अर्थात् माछा, पान र मख्खन स्वर्गमा समेत पाइँदैन । नयाँ वर्षसँगै वैशाख २ गते जुडशीतल पर्व मनाउँदा स्थानीयबासीले सातु, गुड, आँपको चटनी, बरी भोजन गरे । यस दिन तिलकोर, तरुल, तरुवा (पकौडा) सँगै दही खाने चलन छ ।
‘मिथिलाञ्चलमा चार ऋतुलाई लक्षित पर्व मनाइन्छ,’ जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले भने, ‘जुडशीतल, दशहरा, तिलासंक्रान्ति र फागुपर्व । यी सबैमा खानपान पनि ऋतुअनुसार भिन्नाभिन्नै हुन्छ ।’ उनका अनुसार गर्मी मौसमको खानपान भएकाले काँचो आँप चटनी, सातु, बरी, दहीजस्ता परिकार जुडशीतल पर्वसित जोडिएको छ ।
धेरैले मौलिक भेषभूषा, भाषा, संस्कृति, चित्रकला, लोकगीत, लोकगाथा तथा विवाह पद्धतिसँग मात्रै मिथिलाञ्चलको मौलिकता जोड्दै आएकोमा मौसम अनुसारका परिकारको संस्कृतिले भने खासै चर्चा नपाएको महन्थ वैष्णवले बताए । ‘मिथिलाको आफ्नै मौलिक भोजन विन्यास छ’, उनले भने, ‘आज मिथिला भोजन हुन्छ भन्नेबित्तिकै पाहुनाहरू हुरुक्कै हुने त संस्कार नै हो ।’
उनले पछिल्लो समय मैथिली चित्रकलाले बढी चर्चा पाए पनि यहाँको मौलिक खाना संस्कृति भने आधुनिक बजारमा प्रवर्द्धन हुन नसकिरहेको बताए । छठ पर्वमा गहुँको पीठोमा सख्खर मिसाएर बनाइने ठकुवा, चामलको आटामा सख्खर मिसाएर बनाइने भुसुवाजस्ता परिकार, साउनमा हुने चौठचन्द पर्वमा खाइने पूरी, खीर, ओलको तरकारी र चोखाले पनि मिथिलाका मौलिक परिकार हुन् । त्यस्तै शारदीय नवरात्रको अवसरमा मासु, माछासँगै खीर र पूरी खाने चलन छ । तिलासंक्रान्तिमा खिचडी, घ्यू, चाकु, तरुल, मुरही, तिल खाइन्छ भने फागु पर्वमा पुवा, पुरी र माछामासुका परिकार खाने गरिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका निरीक्षक प्रवीणकुमार तिवारी मिथिला क्षेत्रको पारम्परिक भोजनसंस्कृति वैज्ञानिक भएको व्याख्या गर्छन् ।
‘खाद्य विज्ञानले हामीलाई पौष्टिक तथा सन्तुलित भोजन खान निर्दिष्ट गर्छ,’ उनले भने, ‘सिजनअनुसारको खानपानको संस्कृति वैज्ञानिक छ । यो मिश्रित खाद्य परम्परा हो ।’ एउटै खाद्य पदार्थको अनेकथरि परिकार बनाएर खानु मिथिलाञ्चलको अर्को विशेषता हो । मौलिक खानपानले पनि मिथिला समाजको सम्मुनत सभ्यताको संकेत गर्ने समाजशास्त्रका जानकार रामचन्द्र झा बताउँछन् ।
प्रकाशित : वैशाख ४, २०७६ ०९:१७

सुरु भयो बालकुमारी जात्रा



 


सुरु भयो बालकुमारी जात्रा
वैशाख ५, २०७६कान्तिपुर संवाददाता
ललितपुर — नागको प्रतीकस्वरूप ५४ हात लामो लिंगो ठड्याउँदै सुनागुथिमा बुधबार बालकुमारी जात्रा सुरु भएको छ । लिंगो ठड्याउँदा इन्द्र गुठीयारहरूले बालकुमारी मन्दिर परिसरमा इन्द्र बाजा बजाए । चैत शुक्ल त्रयोदशीदेखि तीन दिन मनाइने जात्रामा बालकुमारीलाई इष्ट देवताका रूपमा पुज्छन् ।
जात्राकै लागि भृगारेश्वर महादेव मन्दिर परिसरमा रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । बालकुमारी गुठीका जनकराज महर्जनका अनुसार लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र बिमिरो राख्ने चलन पुरानै हो । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित प्राचीन थान्का सजाउने चलन पनि छ ।
पूर्णिमाको दिन यो जात्रा निकै रोचक हुन्छ । गुठीकै पुणिराज महर्जनका अनुसार यस दिन लिंगोको टुप्पोमा राखिएको बिमिरो प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । त्यसैले बिमिरो खोस्न स्थानीयबीच तँछाडमछाड चल्छ । सुनागुथिमा १ हजार १ सय ४९ घरधुरी छन् । लिंगो ठड्याउन प्रत्येक वर्ष छुट्टाछुट्टै टोलको पालो हुन्छ । यस वर्ष च्वःकेबः टोलबासीको पालो हो । च्वःकेबः टोलका ८० वर्षीय सानुबाबु महर्जन ब्याङला आजु गुठीका थकाली हुन् । यस वर्ष उनको नेतृत्वमा लिंगोठड्याइएको छ ।
जात्राको दोस्रो दिन बिहीबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिर बाहिर ल्याइन्छ । पूजा गरेर गरगहनाले सजाइन्छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी बाजागाजासहित नगर परिक्रमा गरिन्छ । महर्जनका अनुसार जात्रामा गणेश र कुमारको खट बालकुमारी पीठमा लानुपर्छ, यो पारिवारिक मिलनको प्रतीक हो । ‘आमाबुवालाई सेवा गर्नु भनेको संसारको सबै तीर्थ घुम्नुसरह भएको सन्देश दिन्छ जात्राले,’ उनले भने । अन्तिम दिनछ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । यो जात्राको मुख्य आकर्षण मानिन्छ ।
सिद्धिपुरबासीले पनि बालकुमारी जात्रा मनाइरहेका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन बुधबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराइयो ।प्रकाशित : वैशाख ५, २०७६ ०९:००

देवी खुसी पार्न सराये नाच

देवी खुसी पार्न सराये नाच
प्रेमनारायण आचार्यअन्नपूर्ण,  ०४ बैशाख २०७६ ०८:१९:००
सन्धिखर्क : अर्घाखाँचीमा चैते दसंैमा पनि सराये नाचिएको छ। अर्घाखाँचीको मौलिक नाच सरायेमा महिला र पुरुष हातमा तरबार खुँडा आदि लिएर ‘वाखै भाइ हो’ भन्दै नाच्ने गर्दछन् ।
बडा दसैँमा जिल्लाका अधिकांश मन्दिरमा नाचिने सराये चैते दसैंमा पनि केही ठाउँमा नाच्ने गरिन्छ। हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ। सराये सबै जातजातिहरू एकै ठाउँ भएर नाचिने नाच हो।
मंगलबार भूमिकास्थान नगरपालिकास्थित ढिकुरामा रहेको जय दुर्गा काली मन्दिरमा सराये नाचियो। तरबार, खुँडा आदि हतियार लिएर पञ्चैबाजाको तालमा नाचिने यस नाचमा देवीहरूको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ। यो नाचले देवी खुसी हुने विश्वास रहेको जयकाली मन्दिर व्यवस्थापन समिति ढिकुरा चरेपानीका अध्यक्ष हुमाकान्त पौडेलले बताए।
बडा दसैंमा सन्धिखर्क, खाँची, नुवाकोट, ठाडालगायतका देवीका मन्दिर तथा शक्ति पीठहरूमा यो नाच नाच्ने गरिन्छ भने चैते दसंैमा चरेपानीसहित गौचौर, अर्घातोष र सेंगलेंगको मन्दिरमा नाचिएको जयकाली मन्दिर व्यवस्थापन समितिका सचिव खिमबहादुर खासुले बताए। सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ। देवीले महिषासुर र शुम्भको वध गरेको खुसीयालीमा नाच्न थालिएको ढिकुराकी स्थानीय बृद्ध महिला धनकला गैरेले बताइन्।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...