Friday, June 14, 2019

बुटवलमा जितगढी उत्सव मनाइँदै

बुटवलमा जितगढी उत्सव मनाइँदै
वैशाख ७, २०७६अमृता अनमोल
बुटवल — नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको सम्झनामा आज बुटवलमा विजय उत्सव मनाइँदै छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन भन्दै बुटवल उपमहानगरपालिकाले गतवर्षदेखि उत्सव मनाउन थालेको हो ।
बिहान ८ बजेदेखि विजय उत्सवको झल्को दिनेगरी बुटवलमा बृहत झाँकी निकालिएको छ। झाँकी बुटवल बजार परिक्रमा गरी जीतगढी किल्ला पुग्ने छ। र्‍यालीमा तत्कालीन समयमा प्रयोग भएका हतियार बोकेका प्रहरी तथा सेना समेत सहभागी छन्।

जितगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइने छ। मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउँदै छन्।
विसं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए। कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए। त्यही फौजले १८७१ देखि सुरु भएको पटक पटकको आक्रमण सामना गरेर विसं. १८७२ वैैशाख ७ गते विजय गरेको थियो।
अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो। तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो। त्यसमध्ये नेपाली फौजको जित भएको जितगढी मात्रै हो। प्रकाशित : Kantipur, वैशाख ७, २०७६ ०९:१४

‘खसानी’ जातभातको खास कुरो

खसानी’ जातभातको खास कुरो
डा. माधवप्रसाद पोखरेल
Naya Patrika, २०७६ बैशाख ७ शनिबार ११:०५:००
सांस्कृतिक मानवशास्त्र 
कल्याल महलको ताम्रपत्र (१८०२) मा खसहरू बसोबास गर्ने नेपालको भू–भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली प्रदेशदेखि भारतका उत्तराखण्ड र हिमाचल प्रदेशसम्मको खस जाति बसोबास गरेको भू–भाग जनाउँछ । हुन त ‘खस जातिको खास कुरो’ (अन्नपूर्ण, फागुन १३, २०७५) भन्ने लेखमा स्थान नाम, सांस्कृतिक समानता र युरेसिया, चीन तथा दक्षिण एसियासम्मका ऐतिहासिक प्रमाणका आधारमा ताजिकिस्तानमा पर्ने विश्वको सबभन्दा अग्लो पामिरको माल भूमिवरिपरिको नेपाल, पश्चिम तिब्बतको ताक्लाकोट, सिन्च्याङको ताक्लामकान उपत्यका, किर्घिजिस्तान, उज्वेकिस्तान, अफगानिस्तान, पाकिस्तान, कास्मिर, हिमाचल प्रदेश र उत्तराखण्डको हिमाच्छादित भू–भागको मानव बस्तीलाई ‘खस मण्डल’ भनेर चिनाएको थिएँ, तर जातभातका आधारमा खस जातिलाई नै अनेक पत्रमा विभाजन गर्ने देश नेपाल र भारत मात्र भएकाले यस लेखको ‘खसान’ शीर्षकले चाहिँ नेपाल र भारतका त्यति क्षेत्रको जातभातलाई मात्र समेटेको छ ।
सप्त सिन्धुदेखि गंगाको बेँसीसम्म आर्यहरूले वैदिक साहित्य (इपू. १२औँ शताब्दीको ‘ऋग्वेद’ को दसौँ मण्डल (९०÷१२) र इपू. १०औँ शताब्दीको ‘शुक्ल यजुर्वेद’ को ३१औँ अध्यायको ‘पुरुषसूक्त’) मा उल्लेख गरेको चार जातको विभाजनको प्रभाव र सुइँको आर्यहरू नै भए पनि हिमाच्छादित पहाडी भेगमा गाई, भेडा, बाख्रा र घोडा पालेर बसेका खसहरूलाई थिएन, तर सुरुमा वैदिक धर्मले रचेको अनि गुप्त काल (चौथोदेखि छैटौँ शताब्दी) मा पुराणहरूमा व्यापक भएको हिन्दु धर्मको चार जातले भारतीय उपमहाद्वीपका आर्य, अनार्य सबैलाई प्रभाव नपारी छोडेन, त्यसैले खसानका खसहरू पनि वैदिक र हिन्दु धर्मको जात विभाजनको प्रभावबाट मुक्त हुन सकेनन्, तर त्यो जात विभाजन खसानमा चाहिँ बेछन्द्याइलो र अड्बंगे देखिन्छ ।
बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ धामी, रोकाया र कडायत छेत्रीहरू तागाधारी र मतुवाली दुवै पाइन्छन् अरे । दार्चुला (वासुदेव बिस्ट) मा जनै नलगाउने बोहोरा (कुकुडे्कुखुरा काट्ने बोहोरा) को पानी पनि चल्दैन अरे र तिनीहरूलाई घरभित्र पस्न पनि दिँदैनन् अरे । उनीहरूको लोथ्यान र बडालसित मात्र बिहे चल्छ अरे । डँडेल्धुरा (आर. डी. प्रभास चटौत) र बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ बोहोरा बाहुन पनि हुन्छन् अरे । बैतडीमा चाहिँ बोहोरा जनै लगाउने छेत्री नै छन् अरे ।
बैतडी (आत्माराम भट्ट)मा ठगुन्ना जनै लगाउने छेत्री हुन् अरे, अछाम (डा. हर्क शाही) र बझाङ (डा. लक्ष्मी पण्डित)मा चाहिँ ठगुन्ना मतुवाली हुन् अरे । त्यस्तै डोटी (शान्ति भट्ट)मा साउँद र ऐरले जनै लगाएको देखिन्छ अरे, बैतडी (आत्माराम भट्ट)मा भाट, साउँद (साउन) र राउत (राउट) ले जनै लगाउँदैनन् अरे, तर अछाममा त साउँदहरू दलित नै मानिन्थे अरे (डा. हर्क शाही)।
डँडेल्धुरा (आर. डी. प्रभास) र डोटी (शान्ति भट्ट) मा उपाध्याय बाहुनमा पनि चार राठभन्दा बार राठ तल्लो जात मानिन्छ अरे, तर चार राठका बाहुनले बार राठलाई छोरी चाहिँ दिन्छन् अरे, बुहारी चाहिँ ल्याउँदैनन् अरे । डँडेल्धुरा (प्रभास) का छेत्रीहरूमा विवाहिता पत्नीले पकाएको भात पनि नखाने चलन छ अरे ।
इतिहासको मध्यकालमा बिग्रेको जाति विभाजनको रूढी नै नेपाली दलितहरूको छुवाछुत प्रथामा देखिन्छ । भारतमा स्वामी दयानन्द सरस्वती र पूर्वी नेपालमा पण्डित छविलाल पोखरेलले हिन्दू धर्मशास्त्रका मानक ग्रन्थहरूका प्रमाण अघि सारेर दलितहरूको उत्थानमा जुन सामाजिक क्रान्ति ल्याए, त्यसलाई पूर्ण रूपमा समस्त नेपालमा लागू गर्नुपर्ने आवश्यकता छ । 
दार्चुलामा बडू जैसी बाहुन हुन् (वासुदेव बिस्ट) अरे, तर डोटीमा बडू दलितमा पर्छन् अरे (शान्ति भट्ट) । जुम्ला (बालकृष्ण पोखरेल, बिहारीकृष्ण श्रेष्ठ) मा छेत्री मात्र ‘घिउ पोल्ने’ र ‘घिउ खाने’ दुई जातका हुन्छन् अरे, तर बाजुरा (रूपक रोउले) मा बाहुनलाई नै ‘घिउ पोल्ने’ (उपाध्याय) र ‘घिउ खाने’ (पाध्याय) भनेर छुट्याउँछन् अरे ।
बाजुरा (रूपक रोउले) का उपाध्याय पण्डितहरू पहिले राजा थिए अरे, त्यसैले उनीहरू अरू उपाध्याय बाहुनसित बिहेबारी चाहिँ गर्थे अरे, तर छोएको भात चाहिँ खाँदैनथे अरे, आफूलाई ठूला मानेर अरू बाहुनको टीको चाहिँ थाप्थे अरे, तर अरू कसैलाई पनि टीको लगाइदिँदैनथे अरे ।
बाजुरामा बाहुनका तीन जात हुन्छन् अरे । बाजुरामा खत्री बाहुन र हमाल बाहुन पनि हुन्छन् अरे । खत्री बाहुन चाहिँ तेस्रो दर्जाको बाहुनमा पर्छ अरे, हमाल बाहुन चाहिँ दोस्रो दर्जा (जैसी सरह) र तेस्रो दर्जाका हुन्छन् अरे । बाजुरामा ठकुरीहरूमा अरूभन्दा आफैँलाई ठूलो मान्ने चलन छ अरे । खसानमा धेरैतिर ठकुरीहरू छेत्रीभन्दा आफूलाई माथ्लो जातका ठान्छन् अरे ।
बाजुरामा छेत्रीहरू थरैले पनि तिन दर्जाका छुट्टिन्छन् अरे । नुवाँघरी थापा पहिलो दर्जाका छेत्रीमा पनि अब्बल दर्जाका मानिन्छन् अरे । त्यहाँ पहिलो दर्जाका छेत्रीमा नुवाँघरे थापा, बुड्थापा, बिस्ट, कार्की, अधिकारी, कुँवर र बानियाँ आउँछन् अरे, दोस्रो दर्जामा भँडारी, रौले, खँड्का, खाती, बुढाथोकी, बोगटी, ओली, कटुवाल, खडायत, ऐडी, जेठारा, राना र दानी पर्छन् अरे भने, तेस्रो दर्जाका छेत्रीमा चाहिँ बुढा, धामी, राउत, बोहोरा, डँडाल, भाट र साउँद आउँछन् अरे । रूपक रौलेको भनाइअनुसार बाजुरामा यी तेस्रो दर्जाका छेत्रीहरू दुर्गम ठाउँमा चाहिँ जनै लगाउँदैनन् अरे, तर सुगम ठाउँमा चाहिँ जनै लगाएका भेटिन्छन् अरे । डोल्पा (जयबहादुर डसाल) को एउटा गाउँमा ८० प्रतिशत छेत्री (डसाल, महतारा, साहिला, आदि) जनै नलगाउने नै छन् अरे । हुम्ला (दीपक बुढा) का थपाल्या व्यासी पनि जनै नलगाउने छेत्री नै हुन् । बझाङमा झैँ खसानमा कतै कतै जनै लगाउने र नलगाउने छेत्रीबीच बिहेबारी पनि चल्छ अरे ।
सबै भारतीय आर्य समुदायमा झैँ खसानमा पनि परम्परागत प्रविधिज्ञ (टेक्निसियन अथवा इन्जिनियर) जतिलाई दलित बनाइएको पाइन्छ, जस्तै, दार्चुलाका लावड (दलितको पुरेत), लोहार (फलाम), मउर (घर बनाउने), ओड (फलाम, सुन, घर), पार्की (बाँस), चुनारा (ठेकी), दमाईं (लुगा, बाजा), बादी (नाचगान), भाण (गीत), भुल (छाला), आउजी (बाजा, लुगा), टमट्टा (तामा, सुन, चाँदी) । बाजुरा (रूपक रौले) मा चाहिँ सेराला (ठालुका खेतमा पानी लगाउने), सनाई (सनई बजाउने), कुमाल, कँडारा (माटाका भाँडा) र तिरुवा (तिरो तिर्न नसकेर हली भएको) जातका पनि दलित पाइने रहेछन् । रुकुम, जाजरकोट र सल्यान (मनोहर लामिछाने) मा चाहिँ तामाको काम गर्ने दलितलाई ‘ताम्या’ अथवा ‘ताउल्या’ भन्छन् अरे अनि गाइने अथवा गन्धर्वहरू गीत र कर्खाका लागि प्रसिद्ध छन् अरे । अरूतिर भुल दलित छन् अरे, तर बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ भुल बाहुन पनि छन् अरे । बझाङमा सूचना प्रसारण गर्ने ओखेडा र सरसफाइ गर्ने च्यामे पनि दलितमै पर्छन् अरे । कालीकोट (धनकृष्ण उपाध्याय) मा कामीहरू पनि मिझार (फलाम), सुनार (सुन), कसारा (काँस), टमोट्टा (तामा), लोहार (फलाम) र ओड (घर) गरी ६ किसिमका, दमाईंहरू दमाईं (दमाहा), हुड्के (हुड्को) र आउजी (लुगा) गरी तीन किसिमका हुन्छन् अरे ।
लक्ष्मीदत्त जोशी (१९८४ इ) को अनुसन्धानअनुसार खसहरूका समुदायमा हिन्दु वर्णाश्रम धर्मको वैश्य जाति नै पाइँदैन, तर पनि मैदानी भागको भारतीय हिन्दु वर्णाश्रम धर्मसित मिलाउन खसहरूका समुदायमा पनि ठूलो जात (चोखा) र सानो जात (बिटालु) मा वर्गीकरण गरिएको पाइन्छ ।
यसरी खसानमा वैदिक धर्मले चार जात छुट्याउनुभन्दा अगाडिका मतुवाली छेत्री पनि पाइन्छन् अनि अनेक किसिमका प्राविधिक सिप भएका परम्परागत टेक्निसियन र इन्जिनियरहरूलाई नै दलित बनाएर घर र मन्दिरमा पस्न नदिने र पानी काढ्ने प्रवृत्ति पाइन्छ, तर यही असमान व्यवहार आधुनिक टेक्निसियनहरूलाई गर्ने गरेको पाइँदैन ।
मानव इतिहासमा मान्छेलाई अनेक जातिमा बाँड्नु त स्वाभाविकै देखिन्छ । त्यस्तै, एउटै जाति पनि अनेक राज्यमा बाँडिएर होड गरेको पनि देखिन्छ । मानव जातिका अमानवीय युद्धहरूले राष्ट्र राष्ट्रका सीमाहरू बनाएर अनेक जातिलाई मात्र होइन, आफ्नै जातिलाई थिचेको र दास बनाइएको पनि देखिन्छ । अस्को पार्पोला (‘द रुट अफ हिन्दुइज्म’, २०१५ इ) को अनुसन्धानअनुसार स्थायी बसोबास गर्ने आर्यहरूलाई यायावर शकहरूले पटकपटक आक्रमण गरेको र कति शकहरूलाई स्थायी बसोबास गर्नेले कमारै बनाएर राखेका हुनाले ‘ऋग्वेद’ मै पनि शकहरूलाई ‘दास’ र ‘दस्यु’ भनेको पाइन्छ । इतिहासमा जित्ने देउता हुन्छ, हार्ने राक्षस मानिन्छ !
मानव इतिहासमा सबैभन्दा पहिले घोडा, भेडा र गाई पाल्नेलाई भारोपेली जाति भन्ने चलन छ । पुरातत्वविद्हरूले युराल पहाडको छेउछाउमा कृष्ण सागर र कश्यप सागरको सेरोफेरोलाई त्यस जातिको मूल थलो ठहराएका छन् । आर्य जाति त्यसै भारोपेली जातिको पूर्वी बगाल ठहराइएको छ । आर्यहरूसँग सबभन्दा पछाडि मूल थलाबाट छुट्टिने लिथुआनियालीहरू र त्यसभन्दा अगाडि छुट्ने ग्रिसेलीहरू मानिन्छन् । पुरातत्वविद्हरूले कजाखस्तान (आन्द्रोनोभो संस्कृति) लाई इरानी र दक्षिण एसियाली आर्यको साझा संस्कृति बुनिएको ठाउँ मान्दछन् (इलेना कुज्मिना, ‘द ओरिजिन अफ इन्डो इरानियन’, २००७ इ) ।
आर्यहरूकै एउटा बगालले दक्षिण तुर्कमेनियातिर इपू. १५औँ शताब्दीतिर ऋग्वेदको रचना गर्न थालेका पुरातात्विक दसी भेटिएका छन् (भिक्टर मायर र जेन हिक्मन, ‘रिकन्स्ट्रक्टिङ द सिल्क रोड’, २०१४ इ)। पछि सिन्धु नदीको बेँसीमा वैदिक सभ्यता फस्टायो । इरानमा पसेको आर्यहरूको अर्को एउटा बगाल हो, तर यी दुइटा बगालबाहेक पूरै युरेसिया, चीन, मंगोलिया, सिरिया र ‘खस मण्डल’ का हिमाच्छादित मानव बस्तीहरूमा घोडा चढेर घोडा, गाई, भेडा र बाख्रा चराउँदै हिँड्ने सबै आर्यका बगाल तिनै इरानमा बस्ने र ऋग्वेद लेख्ने भारतीय आर्यहरू मात्र होइनन् । अहिले पनि त्यस हिमाच्छादित भू–भागका मानव बस्ती (चित्राल, नुरिस्तान आदि) मा सहरको मुखै नदेख्ने आर्यहरूका थुप्रै बगाल छन् । खसहरूले आर्यहरूका तिनै बगालमध्ये एउटा बगालको प्रतिनिधित्व गर्छन् (कुज्मिना, २००७ इ) ।
ऋग्वेद लेख्ने आर्यहरूका बगालमा खस र शकहरू सामेलै थिएनन्, त्यसैले वैदिक सामाजिक धर्मअनुसार मानव जातिलाई चार जातमा विभाजन गर्ने ऋग्वेदको ऋचा (‘ब्राह्मणोस्य मुखमासीत्...’) अनुसार खसहरू त बाहुन, छेत्री र वैश्यमा पर्न सक्ने नै थिएनन्, त्यसैले खसहरूको वैदिक जात विभाजन नहुनु स्वाभाविक हो । यसरी बुझ्दा वैदिक आर्यहरूभन्दा अवैदिक आर्यका बगालहरू धेरैतिर बग्रेल्ती हुने भए । वास्तवमा खसहरू अवैदिक आर्य नै भएका हुनाले गवारियो (१९७६ इ) ले खसानका जनै नलगाउने मतुवाली छेत्रीलाई चाहिँ सक्कली खस मानेका हुन् ।
वैदिक आर्यहरूले नै पनि ब्राह्मण हुनलाई धेरै नियम र अनुशासन पूरा गर्नुपथ्र्यो, त्यसैले ‘जन्मना जायते शूद्रः कर्मणा जायते द्विजः’ (जन्म मात्रले मान्छे शूद्र मात्र हुन्छ, कर्मले मात्र ब्राह्मण हुन्छ) भन्ने उखानै चलेको थियो । क्षत्रिय र वैश्य वास्तवमा जातै नभएर पेसाका आधारका सामाजिक वर्ग मात्र थिए । यस हिसाबले वैदिक आर्यहरूले जन्मनेबितिक्कै कसैलाई ब्राह्मणै ठहराउँदैनथे । ब्राह्मण हुन धर्मका निर्धारित नियम, अभ्यास र अनुशासनको अनिवार्य आवश्यकता थियो .।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, १७/४, शतपथ ब्राह्मण, १३/४/२/७) हरूमा कसरी अवैदिकलाई वैदिक धर्ममा प्रवेश गराउने भन्ने विधि पनि पाइन्छ, जसलाई ‘व्रात्यस्तोम’ भनिन्छ । त्यसअनुसार रहर गर्ने खसहरूलाई पनि वैदिक जात दिइयो । वैदिक धर्मअनुसार जनै लगाउन पाउने अवैदिक आर्यहरूलाई ‘व्रात्य’ भन्ने चलन थियो । पञ्चविंश ब्राह्मणमा व्रात्यहरूका बेहोरा यस प्रकार छन् : कुरो नबुझ्नेलाई कुट्ने, फेटा (उष्णीष) बाँध्ने, हातमा कोर्रा लिने (प्रतोद), अनौठो धनुष बोक्ने (ज्याह्रोड), कालो लुगा लगाउने, छालाकै पोसाक लगाउने (अजिन), फलेकका घेरा लगाउने (फलकास्तीर्ण), लक्ष्यहीन हुल (व्रात) बाँधेर हिँड्ने, तल्लो जातको संगत गर्ने, थातवासको ठेगान नभएका अर्थात्, यायावर, संस्कृतको अशुद्ध उच्चारण गर्ने, आर्य भएर पनि अनार्यको भाषा बोल्ने, मगध निवासी अर्थात् पुर्बेली भाषिका बोल्ने, दश संस्काररहित, शूद्र र छेत्रिनी आमाका सन्तान, ब्रह्मचर्य पालन नगर्ने, आदि (पञ्चविंश ब्राह्मण, मोनियर विलियम्स) । यस्ता केही बेहोरा हुने शिवजी र उनका केही भक्त पनि पर्छन्, खसहरू पनि पर्छन् ।
‘मनुस्मृति’मा खसहरूलाई पनि ‘व्रात्य’ भनिएको छ । अथर्व वेद संहिता (१५/१/४/५) मा त शिवजीलाई पनि ‘व्रात्य’हरूका नाइके (महादेव) भनिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भएकाले शिवजीलाई पुराणहरूमा पनि गतिछाडा मानिएको छ । वैदिक अनुशासन नमान्ने हुनाले पार्वतीकी आमाले पनि दक्ष प्रजापतिले पनि शिवजीलाई ‘असभ्य’ ठहराएका छन् । शिवजी आधारभूत रूपमा हरप्पा अथवा भारतीय उपमहाद्वीपका देवता हुन् । कैलाश पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’) अर्थात्, एट्किन्सनअनुसार ‘खस’ मानिएको छ ।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, आदि) हरूमा पाइने ‘व्रात्यस्तोम’ अनुसार वैदिक धर्म लिन निकै ठूलो श्रम र धन खर्च गर्नुपथ्र्यो, त्यसैले धनीमानी, राजा महाराजाहरूले त जनै लगाएर वैदिक धर्म लिँदा फाइदै देखे होलान्, तर खसानका जुन गरिबहरूसित जनै लगाउन चाहिने धन पनि थिएन र जनै लगाउँदा फाइदा पनि थिएन र जनै नलगाउँदा नोक्सानी पनि थिएन, ती खसहरूका काँधमा जनै नै पाइँदैन । यसरी नेपाल र भारतको खसानमा जनै नलगाउने अर्थात् मतुवाली छेत्री जो भेटिन्छन्, गबारियोले भने झैँ, ती चोखा खस हुन् । तिनीहरूले हिमालयका यस भेगमा खसहरूको प्रागितिहासिकताको जीवन्त परिचय दिइरहेका छन् ।
भारतवर्षमा वैदिक धर्मले राजनीतिक शक्तिको पुठ पाएपछि, त्यो धर्मको जोडदार प्रचार प्रसार हुनु स्वाभाविक हो । समाजका ‘ठुलाबडा’ ले जे गर्छन्, लोकले त्यसैको सिको गर्छ । यसरी वैदिक धर्म नमान्ने कोही भेटियो भने, त्यसको उपहास गर्ने प्रवृत्ति हुनु र उछित्तो काढ्नु पनि स्वाभाविक भयो । छान्दोग्य उपनिषद् (१/१०/७–९) मा नजान्नु नै दण्डनीय अपराध मानिने कुरो लेखिएको छ (अस्को पर्पोला, ‘रुट अफ हिन्दुइज्म’, १३९) । उत्तर वैदिक साहित्यमा त्यसको पनि दसी पाइन्छ । मैदानी भागबाट राजनीतिक शरण लिन हिमालय पसेका राजाहरूले वैदिक धर्मको प्रभाव हिमालयमा ल्याए होलान् । यसरी धेरैजसो खसहरू वैदिक धर्मको जातभित्र पसे पनि मतुवाली छेत्रीहरू मिलेनछन् । अरूको धर्मको सिको गर्दा केही ढंग नपुगेको हो कि किन हो, खसान क्षेत्रको जात विभाजनमा मैदानी आँखाले हेर्दा धेरै कुरा अनौठा देखिने रहेछन् ।
मध्यकालपछि गंगाको मैदानका हिन्दु समाजमा जसका हातमा प्राविधिक सिप छ (कामी, दमाईं, सार्की, गाइने), त्यसलाई चाहिँ शूद्र बनाइएको पाइन्छ (दिनकर, १९५६ इ) । त्यस स्थितिको नराम्रो प्रभाव तराई र पहाडका नेपाली समाजमा परे झैँ कर्णाली प्रदेशमा पनि नराम्रो गरी प्रचलित छ ।
ऋग्वेद र यजुर्वेदको ‘पुरुष सूक्त’ मा चार जातको जस्तो विभाजन देखिन्छ, त्यो पेसागत विभाजन मात्र थियो, भात, पानी र बिहेवारी नचल्ने आजको हिन्दु समाजको जस्तो निकृष्ट विभाजन थिएन । त्यसको प्रमाण महाभारतमा अनेक ठाउँमा देखिन्छ :
क. एउटै राजा गाधिका छोरा विश्वामित्र चाहिँ छेत्री र छोरीका छोरा नाति अष्टावक्र चाहिँ बाहुन भएका छन् ।
ख. विश्वामित्र आफैँ पनि जन्मिँदा छेत्री थिए, वशिष्ठ ऋषिले बाहुन भइस् भनेपछि बाहुन भए ।
ग. पराशर ऋषिले माझीकी छोरी सत्यवतीबाट जन्माएका व्यास ऋषि बाहुन भएका छन् ।
घ. वासुकि नाग (जनजाति) की बहिनी जरत्कारुको जरत्कारु ऋषिबाट जन्मेका आस्तिक मुनि चाहिँ बाहुन थिए ।
नेपालको मुलुकी ऐनले छेत्रिनी, जनजाति र बिहे नगरेका कन्याबाट जन्मेका बाहुनका छोरालाई बाहुन बनाउन कहिल्यै सक्थ्यो ? त्यसैले नेपाल भारतका दलितहरू अन्यायपूर्वक वैदिक सनातन धर्म र हिन्दुहरूका आधारभूत ग्रन्थ (वेद, ब्राह्मण, उपनिषद्, रामायण र महाभारत) मा कतै नभएको कुरो ‘हिन्दु धर्म’ ले निषेध गरेको भनेर मध्यकालीन उत्तर भारतको जातीय स्वार्थबाट विकसित भएको छुवाछुत र समाजबाट मुलुकी ऐन समेतले काढिएका छन् ।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, आदि) हरूमा पाइने ‘व्रात्यस्तोम’ अनुसार वैदिक धर्म लिन निकै ठूलो श्रम र धन खर्च गर्नुपथ्र्यो, त्यसैले धनीमानी, राजा–महाराजाहरूले त जनै लगाएर वैदिक धर्म लिँदा फाइदै देखे होलान्, तर खसानका जुन गरिबहरूसित जनै लगाउन चाहिने धन पनि थिएन र जनै लगाउँदा फाइदा पनि थिएन र जनै नलगाउँदा नोक्सानी पनि थिएन, ती खसहरूका काँधमा जनै नै पाइँदैन ।
कुमाउँका पुरातत्वविद् महेश्वर जोशी (१९८४ इ) को अनुसन्धानअनुसार हिमालयको यस भेगमा त ‘शूद्र’ (डोम) हरू खसहरूभन्दा पनि पहिले आएका आर्य हुन् । महेश्वर जोशी (२०११ इ) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने शोध ग्रन्थमा के कुरो भनेका छन् भने, ‘ब्राह्मण’ शब्दको आधारभूत अर्थ ‘कर्मकाण्ड गर्न जान्ने’ मात्र हो, त्यसैले गंगा र सिन्धुको बेँसीमा विकसित भएको कर्मकाण्डको ज्ञान नहुने मध्य हिमालयका आर्यहरूलाई उनीहरू वैदिक कर्मकाण्ड नजान्ने हुनाले ‘शूद्र’ ठहराइयो । उनले कुमाउँका त्यस्ता ‘शूद्र्र’हरूसँग बाहुनको बिहेबारी नहुने र तिनीहरूले छोएको पानी नचल्ने प्रतिबन्ध १९औँ शताब्दीसम्म थिएन, गोर्खाली फौजले जितेपछि मात्र तिनीहरू अस्पृश्य भए भन्ने कुरो लेखेका छन् ।
जे भए पनि, ‘शूद्र’, ‘अछुत’, ‘पानी नचल्ने’, ‘दलित’ जस्ता मानव जातिभित्रका पक्षपाती र अन्यायी वर्गीकरण वैदिक सनातन र हिन्दु धर्म दुइटैका आधारभूत मानक ग्रन्थसँग मेल नखाने सामाजिक रोग हुन् । तिनीहरूको अन्त्य हुनुपर्छ, त्यसैले नेपालले दलित उत्थान अभियान कार्यक्रमका रूपमा ल्याउनुपर्छ । नेपालीहरू संस्कृत भाषामा भगवान्का मुखबाट जसले जे भने पनि पत्याउँछन्, त्यसैले दलितहरूको जातभातको अन्त्य गर्ने यस अभियानमा नेपाल संस्कृत विश्वविद्यालय, सम्पूर्णानन्द विश्वविद्यालय अथवा पुणें विश्वविद्यालयका संस्कृतका धुरन्धर विद्वान् र अनुसन्धाताको उपयोग गर्नुपर्छ । स्व. योगी नरहरिनाथजस्ता विद्वान् जोगी, महात्मा र साधु सन्तहरूलाई पनि दलितहरूको सम्मानपूर्ण उत्थान र जातभातको समानताको अभियानमा अघि सार्नुपर्छ ।
इतिहासको मध्यकालमा बिग्रेको जाति विभाजनको रूढि नै नेपाली दलितहरूको छुवाछुत प्रथामा देखिन्छ । भारतमा स्वामी दयानन्द सरस्वती र पूर्वी नेपालमा पण्डित छविलाल पोखरेलले हिन्दु धर्मशास्त्रका मानक ग्रन्थहरूका प्रमाण अघि सारेर दलितहरूको उत्थानमा जुन सामाजिक क्रान्ति ल्याए, त्यसलाई पूर्ण रूपमा समस्त नेपालमा लागू गर्नुपर्ने आवश्यकता छ ।
सिप नभएका दलित नै हुँदैनन् । दलितका परम्परागत सिपहरूसित नेपाली संस्कृति नङमासु भएर मिलेको छ । नेपालमा प्रचलित शिक्षा ‘उल्टो बाटो’ मा चलिरहेकाले (हेर्नु ‘उल्टो बाटोमा शिक्षा’, कान्तिपुर, कात्तिक १०, २०७५) नेपाली संस्कृतिका सिक्नुपर्ने कुरा सिकाउने, अभ्यास गराउने र नेपाल र नेपाली चिनाउने कुनै पनि चलन लोप नहुने गरी नयाँ पुस्तामा कसरी शिक्षा र तालिम, अभ्यास, परीक्षा, पुरस्कार र प्रचारद्वारा सार्ने भन्ने कुरामा नेपालको शिक्षा मन्त्रालय संवेदनशील नभएकाले दलितहरू, उनीहरूको सिप र रोजगारसँगै नेपाली संस्कृति र हाम्रो राष्ट्रिय चिनारी दिनानुदिन संकटमा परिरहेका छन् । नेपालको शिक्षा व्यवस्थामा प्रभावकारी रूपमा राष्ट्रिय चेत र दूरदर्शिता उच्चतम प्राथमिकतामा नपरेकाले समग्र नेपाली संस्कृति अहिले दलित र शूद्र झैँ बनाइएको छ ।
शिक्षा मन्त्रालयले हरेक दलितको सिप त्यही जात अथवा अरू जातका सिक्न चाहने विद्यार्थीहरूलाई र विदेशी विद्यार्थीहरूलाई पनि त्यसै गाउँ, ठाउँ, जिल्ला र प्रदेशका मात्र होइन, देशका अन्य प्रदेशका देशभरकै र विदेशका विद्यार्थीहरूलाई तालिम केन्द्र र पाठ्यक्रम बनाएर क्रेडिट कमाउने प्रयोगात्मक तालिम तिनै दलितहरूबाट लिने चाँजो मिलाउन सक्छ । नेपाली लोक संस्कृतिको ठूलो अंश दलितहरूका परिवारमा सीमित भएकाले उच्च सम्मानका साथ त्यसको जगेर्ना, उत्थान, विकास, प्रचार, प्रशिक्षण, प्रदर्शन र बजारीकरण गर्न सरकार सचेत र सक्रिय हुनुपर्छ ।
क. नेपालभरिकै दलितहरूको उत्थान गर्न प्रथमतः उनीहरूको सिपलाई राज्यले राष्ट्रिय सिपका रूपमा सबै सरकारी कार्यालयमा अनिवार्य रूपले उपयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।
ख. दलितहरूलाई नै प्राथमिकता र टेवा दिएर सबै प्रदेशमा विदेशी र स्वदेशी पाहुनाहरूको सत्कार गर्ने कार्यक्रम चलाउनुपर्छ ।
त्यो सामाजिक सुधार गरेर न्यायिक समानताका आधारमा दलितहरूको वैज्ञानिक र वैधानिक सामाजिक उत्थान नगर्ने हो भने, विदेशी विस्तारवादी धर्महरूले नेपालीहरूका धर्ममा अतिक्रमण गर्ने फटाइँ मुलुकमा कायम रहन्छ । नेपालका कानुनले धर्म परिवर्तन गर्न निषेध गरे पनि थुप्रै विदेशी आइएनजिओहरू नेपालको सामाजिक उत्थान गर्ने निहुँ बनाएर गाउँगाउँमा धर्म परिवर्तन गर्न डलर बाँडिरहेका छन् भन्ने कुरो नेपाल सरकारले किन देख्न सकिरहेको छैन ? दलितहरूलाई विदेशी विस्तारवादी धर्ममा दीक्षित गराउने अपराध देशभर खुल्लमखुल्ला चलिरहेको छ । त्यसमा रोक र कानुन लगाउनुपर्छ ।


धाः बाजा महोत्सव

धाः बाजा महोत्सव
२३ औं नगरपालिका स्थापना 
वैशाख ८, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले नेवारी संस्कृति झल्काउने महोत्सव गरेको छ । कीर्तिपुरको पाँगा, ल्हाछीमा भएको नेवारी संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सहसंयोजक विनोद महर्जनले बताए ।
‘नेवारी संस्कृतिलाई जर्गेना र नयाँ पिँढीलाई प्रोत्साहन गर्दैर् छौं,’ उनले भने, ‘लोपोन्मुख नेवारी बाजाको संरक्षण गर्न र ऐतिहासिक पक्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका हौँ ।’ नेवारी जीवनमा जन्मदेखि मृत्युसम्म चलाइने वस्तुहरू प्रदर्शनीमा छन् ।
पौराणिककालदेखि चलिआएको संस्कृतिलाई परिमार्जन गरी आधुनिक जीवनमा पनि जीवन्त राख्न स्थानीयले पुराना, ऐतिहासिक वस्तु र बाजालार्ई संरक्षण गर्न निरन्तरता दिइरहेका छन् । संगीत तथा नाट्य प्रतिष्ठान परिषद् साहित्यका सदस्य प्राज्ञ रामकृष्ण दुवालका अनुसार धाः बाजा बुद्धको पालादेखि सुरु भएको मानिन्छ । बुद्धले बुद्धत्त्व प्राप्त गरी फर्केपछि लुम्बिनीमा गई धाः बाजा बजाएर भिक्षाटन गरेको पौराणिक विश्वास छ ।
धाः बाजा इतिहास ईसापूर्व १ हजार वर्षपछिको ४ सय ३० देखि प्रादुर्भाव भएको नृतक शास्त्रीयहरूको भनाइ रहेको छ । यो बाजाले अब आउने पुस्तालाई दिशा निर्देशन गराउन प्रदर्शन गरिएको उनले बताए । तान्त्रिक पद्धतिअनुसार बजाइने धाः बाजा गाईजात्रा, लाखे जस्ता संस्कृतिमा प्रयोग गरिन्छ । लौकिक शास्त्रीय पद्धतिअनुसार बजाइने यो बाजा नेपालबाहेक अन्य कहीँ छैन ।
महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित ‘कीर्तिपुर नगरपालिकाको सांस्कृतिक ऐतिहासिक सम्पदा’ नामक पुस्तक विमोचन गरिएको थियो । कीर्तिपुर नगरपालिका २ का अध्यक्ष रमेशमान डंगोलका अनुसार उपत्यकाभित्र लोप हुँदै गएका सांस्कृतिक सम्पदालाई जगेर्नाका लागि महोत्सव गरिएको हो । ‘संस्कृतिको महत्त्व झल्काउन यस्ता महोत्सवले सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘प्रदर्शनले पर्यटनका सम्भावना बढाउन सहयोग पुर्‍याएको छ ।’
नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)प्रकाशित : वैशाख ८, २०७६ ०८:०६

सुरक्षा नीति र नेपालका चुनौती

सुरक्षा नीति र नेपालका चुनौती
गेजा शर्मा वाग्लेविचार
०८ बैशाख २०७६ १०:५०:००
संविधानको भावनाविपरीत रहेको विवादास्पद सुरक्षा नीतिबाट विद्यमान जटिल र बहुआयामिक चुनौतीको सामना गरी शान्ति तथा सुरक्षा प्रत्याभूति सम्भव छैन
नेपालमा राष्ट्रियताको परिभाषा र सुरक्षा चुनौतीका बारेमा गम्भीर बहस भइरहेको बेला सरकारले गत चैत पहिलो साता नयाँ राष्ट्रिय सुरक्षा नीति जारी गरेपछि अर्को विवाद उत्पन्न भएको छ। परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक तथा सुरक्षा परिवेशमा नयाँ संविधानको भावनाअनुरूप उक्त नीति संशोधन गर्नु स्वाभाविक हो। किनभने, नेपालले संघीय लोकतान्त्रिक प्रणाली अनुसरण गरेको तथा नयाँ संविधानमा मानव सुरक्षालाई राष्ट्रिय सुरक्षाको मार्गनिर्देशक सिद्धान्तको रूपमा उल्लेख गरिएको कारणले नयाँ नीति अपरिहार्य नै थियो।
तर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिले संशोधन गरेको ३१ पृष्ठ लामो नीतिलाई चैत ४ गतेको मन्त्रिपरिषद्ले गोप्य दस्ताबेजका रूपमा लागू गरेपछि विवाद उत्पन्न हुनु अस्वाभाविक होइन। त्यसैले सुरक्षाको परिवर्तित परिभाषा, नेपालको आन्तरिक तथा बाह्य चुनौती, ‘गोप्य’ सुरक्षा नीतिको उद्देश्य र सुरक्षा निकायहरूले सामना गरिरहेको चुनौतीका बारेमा समिचीन मीमांसा नगरी जारी विवाद निरूपण हुने सम्भावना छैन।
 सुरक्षाको परिवर्तित परिभाषा
सन् १६४८ को वेस्टफालिया सन्धिपछि विकसित राज्यको अवधारणा तथा प्रथम तथा द्वितीय विश्वयुद्धपछि विकसित राष्ट्रवादको परिभाषाअनुसार कुनै पनि भूगोल वा देशविशेषको सिमानाको प्रतिरक्षालाई नै सुरक्षाको रूपमा व्याख्या गरिँदै आइएको थियो। राजनीतिशास्त्रको परम्परागत परिभाषाअनुसार पनि सुरक्षा भन्नाले राज्य तथा सेनाकेन्द्रित थियो। राज्यको उक्त संकीर्ण अवधारणा तथा परम्परागत परिभाषाले जनतालाई होइन, राज्य र भौगोलिक सीमालाई सर्वोच्च प्राथमिकता दिएको थियो। त्यसैले सोही कारणले राज्यका साथै साम्राज्यवाद र उपनिवेशवादको विकास भयो र साम्राज्यवादी तथा औपनिवेशिक कालखण्डमा विश्वव्यापीरूपमा युद्ध तथा द्वन्द्वका विभीषिकाबाट मानव इतिहास कलंकित भयो तर मानव सुरक्षाको प्रश्न गौण थियो।
सन् १९९० मा शीतयुद्धको अन्त्यपछि राज्य तथा सेनाकेन्द्रित परम्परागत परिभाषा परिवर्तन भई राज्यका साथै जनतालाई पनि सुरक्षाको प्रमुख आधारका रूपमा पुनः व्याख्या गरियो। यसैले राज्य तथा सेनाकेन्द्रित अवधारणा व्यापक र विस्तारित भई मानव सुरक्षा अवधारणा विकसित भएको छ। उक्त अवधारणाअनुसार सुरक्षा भनेको केवल भौगोलिक अखण्डता, भौगोलिक सीमा सुरक्षा र सार्वभौमिकताको संरक्षण मात्रै होइन, जनताको पनि सुरक्षा हो। त्यसैले नेपालको सन्दर्भमा सुरक्षा नीतिभन्दा पहिले राष्ट्रियता र सुरक्षालाई पुनः परिभाषा गर्नु आवश्यक छ। राष्ट्रियताको संकीर्ण र परम्परागत होइन, संविधानको भावनाअनुरूप बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक र बहुलवादी आयामबाट पुनः परिभाषा गरिनुपर्छ र सोही उदार राष्ट्रियताको आधारमा सुरक्षा नीति तर्जुमा गरिनुपर्छ।
 आन्तरिक चुनौती
सन् १९९० देखि उदार लोकतान्त्रिक प्रणालीको लहर प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय परिवेशमा आन्तरिक युद्ध तथा द्वन्द्व न्यूनीकरण भई शान्तिपूर्ण रूपान्तरणको आधारशिला स्थापित हुने अपेक्षा गरिएको थियो। तर ०५२ मा नेकपा माओवादीको नेतृत्वमा सशस्त्र द्वन्द्वको सूत्रपात भएपछि संगीन आन्तरिक चुनौती सिर्जना भएको थियो। दशक लामो हिंसात्मक द्वन्द्व त्यागेर माओवादी मूल प्रवाहमा प्रवेश गरेपछि दिगो शान्ति स्थापना हुने विश्वास गरिएको थियो। तर उक्त अपेक्षाविपरीत बहुआयामिक जटिल चुनौती सिर्जना भएका थिए।
विवादास्पद सुरक्षा नीतिबारे प्रमुख राजनीतिक दललगायत सरोकारवालासँग अर्थपूर्ण परामर्श गरी पारदर्शी र सहभागितामूलक प्रक्रियाद्वारा पुनः संशोधन गरी अविलम्ब सार्वजनिक गर्नुपर्छ, नत्र विवादास्पद नीतिको परिणाम विवादित नै हुनेछ।
त्यसैले नेपालको सन्दर्भमा हिंसात्मक द्वन्द्व अन्त्य भई शान्ति प्रक्रिया प्रारम्भ भए पनि सुरक्षा चुनौती थप जटिल र तरल भएको देखिन्छ। किनभने, दशक लामो राजनीतिक अस्थिरताको कालखण्ड, संघीयताको विवादास्पद बहस, हिंसा र दण्डहीनताको संस्कृति, धार्मिक तथा सामाजिक विद्वेष, जातीय तथा क्षेत्रीय विवाद र पृथकतावादी गतिविधिहरूले नेपालको मर्मस्थलमै संगीन आक्रमण गर्दै आइरहेका छन्।
नयाँ संविधान जारी तथा तीनै तहको निर्वाचन सम्पन्न भएपछि अहिले सापेक्षिक रूपमा आन्तरिक सुरक्षा सुदृढ भएको छ। तर, संविधान निर्माणको बहसका क्रममा धर्म, भाषा, संस्कृति, जातीयता, सीमांकन, नामांकन जस्ता संवेदनशील विषयलाई यति राजनीतीकरण तथा अतिरञ्जित रूपमा प्रस्तुत गरियो कि राजनीतिक दृष्टिले मात्रै होइन, धार्मिक, जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय दृष्टिले नेपाली समाज अर्थपूर्णरूपमा विभाजित तथा धु्रवीकृत भएको छ। उक्त धु्रवीकरणले धार्मिक, जातीय, भाषिक तथा क्षेत्रीय विद्वेषको वीजारोपणसमेत भइसकेको छ। त्यसैले नयाँ संविधानको विरुद्धमा गरिएको ६ महिना लामो मधेस आन्दोलन हिंसात्मक र अराजक हुँदै गएपछि ५४ जना नागरिकको मृत्यु भएको दुःखद नजिरले अवस्था कति संवेदनशील र तरल रहेछ भन्ने पुष्टि गरिसकेको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा (माओवादी) का हिंसात्मक गतिविधि आन्तरिक सुरक्षा चुनौती भएको विश्लेषण गर्दै सरकारले प्रतिबन्ध लगाएपछि परिस्थितिको जटिलता पुनः पुष्टि भएको छ। माओवादीबाट विभाजित सापेक्षितरूपमा कमजोर मानिएका विप्लवका गतिविधि त यति चुनौतीपूर्ण छन् भने यदि अर्को दल, जाति, वर्ग वा समुदाय सडकमा उत्रिएको अवस्थामा कति भयावह होला ? अर्को आन्दोलन वा द्वन्द्व भयो भने विगतको जस्तो होइन, अब बहुआयामिक द्वन्द्व (धार्मिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक) हुने सम्भावना देखिन्छ। उक्त सम्भावित बहुआयामिक द्वन्द्वले तत्कालीन सुरक्षा मात्रै होइन, भौगोलिक अखण्डताको दृष्टिले समेत प्रश्नचिह्न खडा हुन सक्छ। त्यसैले केही वर्षसम्म सानो स्तरको बहुआयामिक द्वन्द्व जारी रहने संकेतहरू देखिन्छन्।
सुरक्षाका परम्परागत मात्रै होइन, गैरपरम्परागत चुनौती पनि उत्तिकै जटिल छन्। पर्यावरणीय ह्रास, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका दृष्टिले नेपाल उच्च जोखिममा छ। २०७२ को विनाशकारी भूकम्पको कारणले ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उद्धारका लागि विदेशी फौज गुहार्नुपरेको थियो। यसैगरी नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगार, आर्थिक असमानता, सामाजिक विभेद, खाद्यान्न अभाव, साइबर असुरक्षा, महामारी जस्ता समस्याले गम्भीर मानवीय संकट सिर्जना गर्न सक्छ। त्यसैले नयाँ सुरक्षा नीतिले यस्ता गैरपरम्परागत चुनौतीहरूको यथोचित सम्बोधन गर्नुपर्छ।
 बाह्य चुनौती
अन्तर्राष्ट्रिय परिवेशमा शीतयुद्धको अन्त्यपछि बाह्य सुरक्षा चुनौतीहरू कमजोर हुँदै गएका छन्। तर उदाउँदा शक्तिराष्ट्रहरूबीच अवस्थित भूपरिवेष्ठित भएकाले भूराजनीतिक दृष्टिकोणले संवेदनशील नेपालका बाह्य चुनौतीहरू पनि उत्तिकै पेचिला छन्। नयाँ संविधान जारी भएपछि अन्तर्राष्ट्रिय समुदायको विवादास्पद
अभिव्यक्ति र भारतीय नाकाबन्दीको पृष्ठभूमिमा अध्ययन गर्दा नेपाल अझै पनि शीतयुद्धकालीन भूराजनीतिक चक्रव्यूहको भुमरीको अवस्थाभन्दा मौलिकरूपमा पृथक् नभएको पुष्टि भइसकेको छ। नाकाबन्दी मात्रै होइन, भारतसँग सीमा विवादसमेत छ। सीमा विवाद भएको भारतसँगको सम्बन्ध कुनै पनि बेला तीक्त हुन सक्छ र अप्रत्यासित मोड लिन सक्छ भन्ने इतिहासबाट पुष्टि भइसकेको छ।
भूपरिवेष्ठित भएकाले केही हदसम्म अर्थतन्त्र, व्यापार तथा पारवहनमा छिमेकीसँग निर्भर हुनु स्वाभाविक हो।
भारतसँगको परनिर्भरता र व्यापार घाटाको प्रवृत्ति र तथ्यांक विश्लेषण गर्दा अर्थतन्त्र पराधीन हुँदै गइरहेको आभास हुन्छ। ०७२ मा चीनसँग भएको व्यापार तथा पारवहन सन्धि राष्ट्रहित र स्वाधीन अर्थतन्त्रको दृष्टिले सकारात्मक छ। एकातिर भौगोलिक विकटता र दूरीको कारणले उक्त सन्धि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ भने अर्कोतिर सन्धि भएको चार वर्षसम्म पनि प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन। त्यसैले नेपालले दुवै छिमेकीसँग भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिनुपर्छ। भविष्यमा कुनै छिमेकीसँग व्यापार तथा पारवहनमा समस्या भयो भने अर्को छिमेकीसँग सहजरूपमा प्रयोग गर्न सकियोस्। पटकपटक भएका नाकाबन्दीबाट शिक्षा लिएर नेपालले सोहीअनुरूपको रणनीति अवलम्बन गर्नु अपरिहार्य थियो। सरकारले गरेको छैन।
नेपालमा भारत र चीनका गहन सामरिक स्वार्थ र सुरक्षा सरोकार छन्। १८०० भन्दा बढी खुला सीमा भएकाले भारतको तथा १४०० भन्दा बढी चिनियाँ सुरक्षाका दृष्टिले संवेदनशील मानिने तिब्बतसँग सीमा जोडिएकाले चीनको सुरक्षा चासो र सरोकार हुनु अस्वाभाविक होइन। केवल भारत र चीनको मात्रै होइन, शक्तिराष्ट्र अमेरिका तथा युरोपेली देशको समेत नेपालमा अर्थपूर्ण सामरिक स्वार्थ छ। त्यसैले महाशक्ति तथा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक र सामरिक सन्तुलन कायम गर्नुपर्छ। होइन भने नेपाल सामरिक स्वार्थको मैदान हुन सक्छ।
पटकपटकको नाकाबन्दीको कारणले पेट्रोलियम पदार्थको अभाव भई राष्ट्रिय तथा मानवीय संकटसमेत गर्नुपरेको छ। त्यसैले ऊर्जालाई राष्ट्रिय सुरक्षाको दायरामा परिभाषित गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्नुपर्छ। पेट्रोलियम पदार्थको निर्बाध आयात तथा यथेष्ट भण्डारणलाई सुरक्षा नीतिले उच्च प्राथमिकता दिनुपर्छ।
यसैगरी अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार अपराध, हातहतियार, मानव तथा लागूऔषध तस्करी, धार्मिक तथा सांस्कृतिक अतिवाद, गैरकानुनी आप्रवासन, तिब्बती तथा भुटानी शरणार्थी समस्या पनि प्रमुख बाह्य चुनौतीहरू हुन्।
गोप्य कि सार्वजनिक दस्ताबेज ?       
एक्काइसौं शताब्दीमा जस्तो उदार र लोकतान्त्रिक युगमा नागरिकलाई दमन गर्ने अस्त्र होइन, लोकतान्त्रिक पद्धति, विधिको शासन, बहुलवादी समाज, मानवीय तथा आर्थिक विकास, नागरिकमैत्री, मानव अधिकारमैत्री, लैंगिकमैत्री सुरक्षा नीति हुनुपर्ने थियो। देशको प्रतिरक्षा तथा जनताको सुरक्षा गर्नेजस्तो संवेदनशील तथा दीर्घकालीन महत्वको दस्ताबेज केवल सरकार र सत्तारूढ दलले भूमिगत शैलीमा तर्जुमा गरी छापामार शैलीमा जारी गर्ने होइन। यो सरकार र दलविशेषको नीति पनि होइन। त्यसैले प्रमुख राजनीतिक दलका साथै सबै सरोकारवालाहरू औपचारिकताका लागि होइन, अर्थपूर्ण परामर्श गरी मस्यौदा गरिनुपर्ने थियो र सार्वभौम नागरिकको सर्वोच्च निकाय संसद्मा समेत बहस गरी सहमतिको दस्ताबेजका रूपमा जारी गरिनुपर्ने थियो तर सरकारले गरेन।
राष्ट्रिय सुरक्षासम्बन्धी रक्षा मन्त्रालयको प्रतिरक्षा रणनीति तथा सेनाको सैन्य डक्ट्रिन र अपरेसनसम्बन्धी कार्यनीति र कार्ययोजना गोप्य हुन्छन् र हुनुपर्छ। तर, सुरक्षा नीति गोप्य दस्ताबेज होइन। लोकतान्त्रिक प्रणालीमा सहभागितामूलक, समावेशी र पारदर्शी प्रक्रियाद्वारा सुरक्षालगायत सबै नीति तर्जुमा तथा सार्वजनिक गरिन्छन्। कम्युनिस्टबाहेक विश्वका सबै लोकतान्त्रिक देशहरूमा सुरक्षा नीति सार्वजनिक गरिन्छ।
अमेरिका, बेलायत, भारत जस्ता देशहरूको सुरक्षा नीति सार्वजनिक छन्। ढिलै भए पनि पूर्ववर्ती सरकारले नेपालको पहिलो सुरक्षा नीति सार्वजनिक गरेको थियो तर, वर्तमान सरकारले सार्वजनिक गरेको छैन, किन ?        त्यसैले सरकारको नियतमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। एकातिर सुरक्षा नीति सार्वजनिक नगर्ने तर अर्कोतिर ‘विशेष परिस्थिति’ को नाममा सेना परिचालनको अधिकार पनि रहस्यमयरूपमा प्रधानमन्त्रीमा केन्द्रीकृत गरेपछि सरकारको अभीष्ट पर्दाफास भएको छ।
निष्कर्ष
उपरोक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा नेपालका आन्तरिक तथा बाह्य दुवै चुनौतीहरू बहुआयामिक र जटिल छन्। परिवर्तित सुरक्षा आयाम र चुनौतीको वस्तुनिष्ठ विश्लेषण गरी राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, नागरिकको सुरक्षा र सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने नीति अहिलेको आवश्यकता हो। तर राजधानीमा गत फागुनमा पंक्तिकारसहित केही सीमित सुरक्षाविद्, पूर्वप्रशासक तथा कूटनीतिज्ञ र अवकाशप्राप्त उच्च सुरक्षा अधिकारीहरूसँग गरिएको परामर्श बैठकमा पेस गरिएको नीतिमा परम्परागत सुरक्षाका ‘जार्गन’ बाहेक परिवर्तित सुरक्षा परिवेश तथा जटिल आन्तरिक तथा बाह्य चुनौतीको वस्तुनिष्ठ विश्लेषण गरी
उपयुक्त र ठोस नीति र रणनीति उल्लेख गरिएको छैन। तर, सुरक्षा परिवेश र चुनौतीलाई सरकारले आफ्नो अनुकूल हुने गरी व्याख्या र परिभाषित गरेको छ।
परिवर्तित विश्व परिवेश र मानव सुरक्षाको भावनाअनुरूप जारी गरिएको भनिएको आठ अध्यायमा विभाजित उक्त नीति पनि मानव सुरक्षाकेन्द्रित होइन, विगतको जस्तै अपूर्ण र परम्परागत सुरक्षा अवधारणाकेन्द्रित छ।
त्यसैले यो नीति संविधानको अक्षर र भावनाविपरीत भएकाले विवादास्पद छ। उक्त विवादास्पद नीतिले विद्यमान जटिल र बहुआयामिक चुनौतीहरूको सामना गरी शान्ति तथा सुरक्षा प्रत्याभूति गर्न सक्षम छैन। त्यसैले प्रमुख राजनीतिक दललगायत सबै सरोकारवालासँग अर्थपूर्ण परामर्श गरी पारदर्शी र सहभागितामूलक प्रक्रियाद्वारा पुनः संशोधन गरी अविलम्ब सार्वजनिक गर्नुपर्छ। होइन भने विवादास्पद नीतिको परिणाम पनि विवादित नै हुनेछ।

नुवाकोट भैरवी र जालपादेवीमा जात्रा

नुवाकोट भैरवी र जालपादेवीमा जात्रा
वैशाख ७, २०७६कृष्ण थापा
नुवाकोट — बैशाख पूणिर्माको अवसरमा नुवाकोट भैरवी र जलपादेवीको जात्रा सुरु भएको छ । विदुरनगरपालिका २ नुवाकोट साततल्ले मूनि रहेको बूढी भैरवीथान र व्रम्हटोलमा रहेको भैरवीमा ४२ हात लामो लिंगोसहित आलम (नागको प्रतीक) ठड्याएपछि जात्रा सुरु भएको हो ।
यो जात्रालाई भैरवी वर्ष बन्धन अर्थात् सिन्दुरे जात्रा भनेर चिनिन्छ । साततल्ले दरबारको उत्तरपट्टी रहेको तुलजा भवानीमा धामी, धमिनी, गणेश र कुमारसहित तान्त्रिक विधिअनुसार महाबलि लिएपछि रथ लिएर शुक्रबार राति देवीहरुको भेटघाट गर्ने ठाउँ देवीघाटमा रहेको जलपादेवीलाई भैरवीको अष्टमात्रिका, बाह्र गण लिएर रथ र धामीसहित छ घण्टाको बाटो पैदल हिडेर देवीघाट जाने चलन छ । शुक्रबार राति पुगेका धामी हरिमानसिं डंगोल र पूजाविधि गर्ने गुभाजुसहित देवीघाटमा छन् । देवीघाटमा बलिपूजा सहित धामीले बलि लिइरहेका छन् ।
शनिबार राति भैरवीदेवीको रथसहित धामी फर्किएर भैरवी मन्दिर मूनि रहेको धरमपानीमा बस्छन् । आइतबार सरकारी तवरबाट सलामी दिएपछि बाजागाजा सहित रथ लिएर नुवाकोटडाँडामा रहेको भैरवी मन्दिरमा राजप्रतिनिधि शाहीले सिन्दुर छर्केर धामीलाई हालेपछि सिन्दुरे जात्रा गर्ने चलन रहेको छ ।
शनिबार राति भैरवीदेवीको रथसहित धामी फर्किएर भैरवी मन्दिर मूनि रहेको धरमपानीमा बस्छन् । आइतबार सरकारी तवरबाट सलामी दिएपछि बाजागाजा सहित रथ लिएर नुवाकोटडाँडामा रहेको भैरवी मन्दिरमा राजप्रतिनिधि शाहीले सिन्दुर छर्केर धामीलाई हालेपछि सिन्दुरे जात्रा गर्ने चलन रहेको छ ।

मुस्ताङी राजाको गुलाबी छाता

मुस्ताङी राजाको गुलाबी छाता
वैशाख १०, २०७६विपिन श्रीस
काठमाडौँ — पाँच वर्षअघि चित्रकार विधाता केसी उपल्लो मुस्ताङको जात्रा हेर्न पुगेकी थिइन् । उनले सोचेकी थिइन्– जात्रामा तत्कालीन मुस्ताङका राजा मौलिक पहिरनमा आउनेछन् । राजा भने गुलाबी रंगको आधुनिक छातासहित जात्रामा देखिए ।
त्यसपछि उनले ‘कसरी मौलिक मूल्यमान्यता परिवर्तन भइरहेका छन्’ भन्ने विषयमा नजिकबाट अध्ययन गर्न थालिन् । सोही अनुरूपको आफ्नो भाव चित्रमा पनि अभिव्यक्त गर्दै गइन् । उनले सोही थिममा केही महिनाअघि मात्रै बनाएकी ‘सिफटिङ भ्यालुज्, एक्स्पेक्टेसन भर्सेज रियालिटिज’ शीर्षकका दुई चित्र यति बेला मुस्ताङको बदलिँदो सांस्कृतिक सौन्दर्यबोकेर ललितपुरको ग्यालरी एमक्युबमा प्रदर्शनरत छन् ।
‘मौलिक बुट्टा भरेको छाता मैले कल्पना गरेको हुँ, छेउको पिंक कलरको सानो छाताचाहिँ मुस्ताङको राजाको’ अमूर्त शैलीमा कोरेको चित्रबारे प्रस्ट पार्दै केसीले भनिन्, ‘आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति मासिँदै जान लागेका छन्, त्यसलाई जोगाउनुपर्छ ।’ केसीले जस्तै प्रदर्शनीमा ६ जना चित्रकारले प्रतिस्थापन, कोलाज,पेपर कटिङलगायत विभिन्न माध्यमबाटबनाएका समाज, संस्कृति र प्रकृतिसम्बन्धी चित्र राखेका छन् ।
सुषमा शाक्यले प्रदर्शनीमा फूलको बोटको जीवनचक्रको चित्र राखेकी छन् । उनले पञ्चतत्त्वको सन्तुलनबाटै सृष्टि सम्भव हुने कुरा देखाउन खोजेको बताइन् । ‘कुनै पनि सृष्टि पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चतत्त्वको सन्तुलनबाट हुन्छ,’ उनले भनिन्, ‘मैले त्यही सन्तुलनलाई रंगका माध्यमबाट सकारात्मक सन्देश दिन खोजेकी छु ।’
प्रदर्शनीमा न्युड पेन्टिङ आर्टिस्ट कपिलमणि दीक्षितका ‘न्युड्स’ शीर्षकका २० वटा चित्र पनि देख्न सकिन्छ । दुई दशकदेखि ‘न्युड आर्ट’ गर्दै आएका दीक्षितले आफ्ना चित्रमार्फत समानताको सन्देश दिन खोजेको बताए । ‘आवरणमा जस्तो पहिरन लगाए पनि मानिस समान हुन्छन्,’ उनले भने, ‘म चित्रमार्फत समानताको सन्देश दिन चाहन्छु ।’ उनले न्युड पेन्टिङप्रति नेपाली समाजमा पनि सकारात्मक धारणा बन्दै गएको बताए । ‘पहिले पहिले न्युड पेन्टिङ कस्तो रहेछ भनी लजाइ–लजाइ हेर्न आउँथे, अहिले कपिलको पेन्टिङ भनी हेर्न आउँछन्, यसबारे जिज्ञासा राख्ने पनि आउँछन्,’ उनले भने ।
चित्रकार जुपिटर प्रधानको ‘सेभिङ माई बेबी गर्ल’ शीर्षकको इन्स्टलेसन आर्ट (प्रतिस्थापन कला) मा ‘बेबी गर्ल’ अर्थात् छोरीको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ भएको देख्न सकिन्छ । महिला हिंसाका घटना सार्वजनिक भइरहेका बेला चित्रकार प्रधानको चित्रमा छोरीको रक्षाका लागि संवेदना देख्न सकिन्छ । चित्रकार सन्ध्या सिलवालले प्रधानका चित्रले छोरीको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिने तर सँगसँगै छोरी भएकै कारण कहिलेसम्म सुरक्षा घेराभित्र बसिरहनुपर्ने हो भन्ने प्रश्न पनि जन्माउने बताइन् ।
सन्ध्या आफैंले भने प्रदर्शनीमा ‘पेपर कटिङ’ माध्यमबाट सिर्जना गरेको एक जना बूढी आमाको चित्र राखेकी छन् । उनले त्यस चित्रको शीर्षक ‘डिभाइन’ दिएकी छन् । कालो बुट्टाबीचमा सेतो कागजबाट आमाको आकृति बनाएकी उनले चित्रको रचनागर्भबारे भनिन्, ‘म केही वर्षअघि दोलखा गएको थिएँ । त्यहाँ कोही पनि युवा देखिनँ । सायद पैसा कमाउन र पढ्न बाहिर गएका थिए होलान् तर उमेरले नेटो काटे पनि आफ्नो काम आफैं गर्दै गरेकी आमा देखेपछि यो चित्र बनाएको हुँ ।’ सो चित्रमार्फत जतिसुकै कठिनाइ भए पनि जीवन आफैंमा सुन्दर हुन्छ भन्ने सन्देश दिन खोजेको उनले बताइन् ।
ग्यालरीका सञ्चालकसमेत रहेका चित्रकार मनीषलाल श्रेष्ठले पनि प्रतिस्थापन कलामा बनाएको ‘मेड इन माइन्ड’ शीर्षकको चित्र राखेका छन् । ‘हुन त जुनसुकै माध्यमबाट बनाइएका चित्रले मानिसको ध्यान आकर्षण गर्छ,’ प्रतिस्थापन कलाका बारेमा प्रस्ट पार्दै श्रेष्ठ भन्छन्, ‘यो विधिबाट बनाइएका चित्रलाई छुन सकिन्छ, महसुस गर्न सकिन्छ ।’ उनले काठको बोर्ड, कपडाका टुक्रा, टाँक, ऐनालगायत वस्तुको संयोजन गर्दै चित्र बनाएका हुन् ।
पुरुष र महिलालाई संकेत गर्न छुट्टाछुट्टै बोर्ड प्रयोग गरेका उनले चित्रमार्फत लैंगिक समानताको सन्देश दिन खोजेको बताए । ‘हाम्रो समाजले पुरुषलाई रुनु हुँदैन भन्ने सिकाउँछ, महिला कमजोर हुन्छन् भन्ने मानसिकता निर्माण गर्छ, त्यसो होइन नि,’ उनले आफ्नो चित्रले दिन खोजेको सन्देशलाई थप प्रस्ट पार्दै भने, ‘पुरुष पनि भावुक हुन्छन् र महिला पनि सशक्त हुन्छन् । दुवैमा मानवीय गुण हुन्छ, त्यही भावनालाई चित्रमा देखाएको छु ।’ प्रदर्शनीमा जुपिटर प्रधानको भिडियो आर्ट पनि राखिएको छ ।
चित्र भनेको सजाउने वस्तु मात्र होइन । चित्रकारले चित्रमार्फत आफ्नो धारणा राख्दै सकारात्मक सन्देश दिन पनि सकिन्छ भन्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकले बताएका छन् । प्रदर्शनी अवलोकन गर्न पुगेका ललितकलाका विद्यार्थी चिरञ्जीवी श्रेष्ठले प्रदर्शनीबाट समयसामयिक चित्रकलाबारे थाहा पाउन र सिक्न सजिलो हुने बताए । प्रदर्शनी आउँदो शुक्रबारसम्म चल्नेछ ।
प्रकाशित : कान्तिपुर, वैशाख १०, २०७६ ०८:४७

लुम्बिनीमा रुमिन्देई माइको मेला

लुम्बिनीमा रुमिन्देई माइको मेला
वैशाख ८, २०७६मनोज पौडेल
कपिलवस्तु — बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पूर्वतिर राम नवमीमा लाग्ने रुमिन्देई माई चैते पूर्णिमा मेला लागेको छ । मेला भर्न कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट श्रद्धालु भक्तजन आएका छन् । त्यस्तै सिमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थी आएका छन् ।
दर्शनार्थीहरु पारिवारिक सुख शान्ति, धनदौलत प्राप्ति र मनोकाक्षा पूरा होस् भनेर रुमिन्देई माईको दर्शन गर्न आउने गरेको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरीले बताए । 'मायादेवी मन्दिरलाई ४०/५० वर्ष अघि रुमिन्देई माई भनिन्थ्यो उनले भने भाकल पूरा हुने हुँदा यहा पूजाआजा गरी मन्दिर दर्शन गर्नेको उत्तिकै घुइँचो । त्यही भएर अहिले पनि यहाँ रुमिन्देई माइकै नाममा चैते पूर्णिमा मेला लाग्ने गरेको छ । आइतबार मेलाको तेस्रो दिन हो । ५ दिनसम्म मेला लाग्छ ।
मेलाको अर्को महत्व पनि छ । यहाँ बालबलिकाको मुडन (पहिलोपटक कपाल काट्ने) काम गरिन्छ । 'बुद्धले मानव जातिलाई प्रदान गर्नुभएको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि लुम्बिनी हो' स्थानीय पण्डित वीरेन्द्र मिश्राले भने, 'त्यही भएर श्रद्धालु बालबालिकाको पहिलो पटकको कपाल काट्न यहाँ मरिहत्ते गर्छन् ।' कपाल खौरिँदै रुमिन्देई माईसँग सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । लुम्बिनीमा एक दैनिक हजार बढी बालबालिकाको मुड्न भइरहेको पण्डित मिश्राले बताए ।
तराईमा कराही (भगवानलाई प्रसाद) चढाउने अर्को प्रचलन पनि छ । जुन यहाँ पनि देख्न पाईन्छ । भगवानसँग सुख शान्ति, उन्नति र प्रगतिको कामना गर्दै कराही चढाइन्छ । पुडी र लप्सी पकाएर पहिले मायादेवी मन्दिरमा चढाएर आफूहरुले प्रसादका रुपमा खाने गरिन्छ । दर्शनार्थीको मायादेवी मन्दिरमा उत्तिकै भीड छ । मन्दिरको पूर्वी गेट पनि खोदिएको छ । यसअघि उत्तरको गेटमा खुला हुन्थ्यो । दर्शानार्थीका लागि मन्दिर प्रवेश निःशुल्क गरिएको छ । मेला व्यवस्थापन गर्न मेयर चौधरी आफै खटिएका छन् ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...