Friday, June 14, 2019

मुस्ताङी राजाको गुलाबी छाता

मुस्ताङी राजाको गुलाबी छाता
वैशाख १०, २०७६विपिन श्रीस
काठमाडौँ — पाँच वर्षअघि चित्रकार विधाता केसी उपल्लो मुस्ताङको जात्रा हेर्न पुगेकी थिइन् । उनले सोचेकी थिइन्– जात्रामा तत्कालीन मुस्ताङका राजा मौलिक पहिरनमा आउनेछन् । राजा भने गुलाबी रंगको आधुनिक छातासहित जात्रामा देखिए ।
त्यसपछि उनले ‘कसरी मौलिक मूल्यमान्यता परिवर्तन भइरहेका छन्’ भन्ने विषयमा नजिकबाट अध्ययन गर्न थालिन् । सोही अनुरूपको आफ्नो भाव चित्रमा पनि अभिव्यक्त गर्दै गइन् । उनले सोही थिममा केही महिनाअघि मात्रै बनाएकी ‘सिफटिङ भ्यालुज्, एक्स्पेक्टेसन भर्सेज रियालिटिज’ शीर्षकका दुई चित्र यति बेला मुस्ताङको बदलिँदो सांस्कृतिक सौन्दर्यबोकेर ललितपुरको ग्यालरी एमक्युबमा प्रदर्शनरत छन् ।
‘मौलिक बुट्टा भरेको छाता मैले कल्पना गरेको हुँ, छेउको पिंक कलरको सानो छाताचाहिँ मुस्ताङको राजाको’ अमूर्त शैलीमा कोरेको चित्रबारे प्रस्ट पार्दै केसीले भनिन्, ‘आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति मासिँदै जान लागेका छन्, त्यसलाई जोगाउनुपर्छ ।’ केसीले जस्तै प्रदर्शनीमा ६ जना चित्रकारले प्रतिस्थापन, कोलाज,पेपर कटिङलगायत विभिन्न माध्यमबाटबनाएका समाज, संस्कृति र प्रकृतिसम्बन्धी चित्र राखेका छन् ।
सुषमा शाक्यले प्रदर्शनीमा फूलको बोटको जीवनचक्रको चित्र राखेकी छन् । उनले पञ्चतत्त्वको सन्तुलनबाटै सृष्टि सम्भव हुने कुरा देखाउन खोजेको बताइन् । ‘कुनै पनि सृष्टि पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चतत्त्वको सन्तुलनबाट हुन्छ,’ उनले भनिन्, ‘मैले त्यही सन्तुलनलाई रंगका माध्यमबाट सकारात्मक सन्देश दिन खोजेकी छु ।’
प्रदर्शनीमा न्युड पेन्टिङ आर्टिस्ट कपिलमणि दीक्षितका ‘न्युड्स’ शीर्षकका २० वटा चित्र पनि देख्न सकिन्छ । दुई दशकदेखि ‘न्युड आर्ट’ गर्दै आएका दीक्षितले आफ्ना चित्रमार्फत समानताको सन्देश दिन खोजेको बताए । ‘आवरणमा जस्तो पहिरन लगाए पनि मानिस समान हुन्छन्,’ उनले भने, ‘म चित्रमार्फत समानताको सन्देश दिन चाहन्छु ।’ उनले न्युड पेन्टिङप्रति नेपाली समाजमा पनि सकारात्मक धारणा बन्दै गएको बताए । ‘पहिले पहिले न्युड पेन्टिङ कस्तो रहेछ भनी लजाइ–लजाइ हेर्न आउँथे, अहिले कपिलको पेन्टिङ भनी हेर्न आउँछन्, यसबारे जिज्ञासा राख्ने पनि आउँछन्,’ उनले भने ।
चित्रकार जुपिटर प्रधानको ‘सेभिङ माई बेबी गर्ल’ शीर्षकको इन्स्टलेसन आर्ट (प्रतिस्थापन कला) मा ‘बेबी गर्ल’ अर्थात् छोरीको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ भएको देख्न सकिन्छ । महिला हिंसाका घटना सार्वजनिक भइरहेका बेला चित्रकार प्रधानको चित्रमा छोरीको रक्षाका लागि संवेदना देख्न सकिन्छ । चित्रकार सन्ध्या सिलवालले प्रधानका चित्रले छोरीको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिने तर सँगसँगै छोरी भएकै कारण कहिलेसम्म सुरक्षा घेराभित्र बसिरहनुपर्ने हो भन्ने प्रश्न पनि जन्माउने बताइन् ।
सन्ध्या आफैंले भने प्रदर्शनीमा ‘पेपर कटिङ’ माध्यमबाट सिर्जना गरेको एक जना बूढी आमाको चित्र राखेकी छन् । उनले त्यस चित्रको शीर्षक ‘डिभाइन’ दिएकी छन् । कालो बुट्टाबीचमा सेतो कागजबाट आमाको आकृति बनाएकी उनले चित्रको रचनागर्भबारे भनिन्, ‘म केही वर्षअघि दोलखा गएको थिएँ । त्यहाँ कोही पनि युवा देखिनँ । सायद पैसा कमाउन र पढ्न बाहिर गएका थिए होलान् तर उमेरले नेटो काटे पनि आफ्नो काम आफैं गर्दै गरेकी आमा देखेपछि यो चित्र बनाएको हुँ ।’ सो चित्रमार्फत जतिसुकै कठिनाइ भए पनि जीवन आफैंमा सुन्दर हुन्छ भन्ने सन्देश दिन खोजेको उनले बताइन् ।
ग्यालरीका सञ्चालकसमेत रहेका चित्रकार मनीषलाल श्रेष्ठले पनि प्रतिस्थापन कलामा बनाएको ‘मेड इन माइन्ड’ शीर्षकको चित्र राखेका छन् । ‘हुन त जुनसुकै माध्यमबाट बनाइएका चित्रले मानिसको ध्यान आकर्षण गर्छ,’ प्रतिस्थापन कलाका बारेमा प्रस्ट पार्दै श्रेष्ठ भन्छन्, ‘यो विधिबाट बनाइएका चित्रलाई छुन सकिन्छ, महसुस गर्न सकिन्छ ।’ उनले काठको बोर्ड, कपडाका टुक्रा, टाँक, ऐनालगायत वस्तुको संयोजन गर्दै चित्र बनाएका हुन् ।
पुरुष र महिलालाई संकेत गर्न छुट्टाछुट्टै बोर्ड प्रयोग गरेका उनले चित्रमार्फत लैंगिक समानताको सन्देश दिन खोजेको बताए । ‘हाम्रो समाजले पुरुषलाई रुनु हुँदैन भन्ने सिकाउँछ, महिला कमजोर हुन्छन् भन्ने मानसिकता निर्माण गर्छ, त्यसो होइन नि,’ उनले आफ्नो चित्रले दिन खोजेको सन्देशलाई थप प्रस्ट पार्दै भने, ‘पुरुष पनि भावुक हुन्छन् र महिला पनि सशक्त हुन्छन् । दुवैमा मानवीय गुण हुन्छ, त्यही भावनालाई चित्रमा देखाएको छु ।’ प्रदर्शनीमा जुपिटर प्रधानको भिडियो आर्ट पनि राखिएको छ ।
चित्र भनेको सजाउने वस्तु मात्र होइन । चित्रकारले चित्रमार्फत आफ्नो धारणा राख्दै सकारात्मक सन्देश दिन पनि सकिन्छ भन्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकले बताएका छन् । प्रदर्शनी अवलोकन गर्न पुगेका ललितकलाका विद्यार्थी चिरञ्जीवी श्रेष्ठले प्रदर्शनीबाट समयसामयिक चित्रकलाबारे थाहा पाउन र सिक्न सजिलो हुने बताए । प्रदर्शनी आउँदो शुक्रबारसम्म चल्नेछ ।
प्रकाशित : कान्तिपुर, वैशाख १०, २०७६ ०८:४७

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...