Showing posts with label Traditional Dance. Show all posts
Showing posts with label Traditional Dance. Show all posts

Friday, June 14, 2019

तेमाल जात्रालाई डम्फु गीत

तेमाल जात्रालाई डम्फु गीत
वैशाख ६, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — हरेक वर्ष राजधानीको बौद्ध र स्वयम्भूको लाग्ने तेमाल जात्राको विशेषता हो– फापरे हृवाई । जात्रा या मेला पर्वमा तामाङ समुदायले डम्फुबिना नै गाउने यो खुल्ला प्रेमगीत हो । बिहीबार बौद्ध महाचैत्य परिसरमा भने भिन्न दृश्य देखिए ।
राजधानी आसपासका गाउँबाट मानिस डम्फु बोकेरै आएका थिए । उनीहरूले डम्फुमै प्रेमगीत गाए । ‘तामाङ संस्कारमा डम्फुरे गीत र फापरे गीतबीच ठूलो भिन्नता छ,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले भने, ‘डम्फुरे गीत संस्कारसँग सम्बन्धित हुन्छ भने फापरे गीत प्रेमसँग । पहिले पहिले बिनाडम्फु फापरे गीत गाएको देखेको हुँ, केही वर्षयता जात्रामा डम्फु पनि देखिन थालेको छ ।’
उनले यसो भन्दै गर्दा बौद्धनाथ वरिपरि लामा गुरु लस्करै भुइँमा बसेर पूजा गर्दै थिए । वर्षभरि दिवंगत प्रियजन र पितृको सम्झनामा बत्ती बाल्दै पूजा गर्ने र फापरे गीत गाएर रमाउने यो पर्वमा राजधानी आसपासका जिल्लाबाट तामाङहरू ओइरिन्छन् । चैत्रशुक्ल चतुर्दशीका दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा मनाइने यो जात्रामा युवायुवतीहरूचाहिँ चैत्य परिक्रमा गर्दै मन पराएका बीच ‘फापरे गीत’ मार्फत जुहारी खेल्छन् । गीतबाटै ठेगाना सोध्नेदेखि प्रेमप्रस्ताव राख्नेसम्म हुन्छ । ‘मन पराएमा रातभर जागा बसेरै गीत गाउँछन्,’ संस्कृतिविद् एवं लेखक रवीन्द्र ग्याबा तामाङले भने, ‘भोलिपल्ट सडकैसडक गीत गाउँदै स्वयम्भू पुग्छन् ।’
यस्तै भिन्न दृश्य डम्फुरेको थियो । फापरे गीतलाई डम्फुको ताल दिनेमध्येमा थिए काभ्रेका पेमा लामा । उनका अनुसार डम्फु गीत पनि पछिल्लो समय जात्राहरूमा चल्न थालेको छ । भिन्नभिन्न ठेगानाबाट जात्रामा आएकाहरूबीच आपसी संवाद र चिनाजानीको आधार नै फापरे हृवाई हो । ‘पहिले पहिले सञ्चारका माध्यम थिएन, वर्षमा एक पटक जात्रामै भेट हुन्थ्यो,’ काभ्रे तेमालका मानबहादुर दोङले भने, ‘दिनरात गीत गाएर अर्को वर्ष भेट्ने वाचा हुन्थ्यो । वर्षभरि कुरेर जात्रामै भेट्न प्रेमीहरू आउँथे ।’
तामाङ समुदायमा विवाह र व्रतबन्धको बेला डम्फु बजाउँदै पृथ्वीको उत्पत्तिदेखि मानव सृृष्टि, आदिमानवबीचको प्रेम सम्बन्ध हुँदै तामाङ भाषा, संस्कार, परम्परा गीतबाटै बताउने प्रचलन छ । ‘फापरे गीतमा ख्यालठट्टा र जिस्काजिस्की चल्छ,’ उनले भने, ‘तर डम्फु गीतमा यस्तो हुँदैन । यसमा त एक समूहले अर्को समूहलाई नातागोता, थर, संस्कार र उत्पत्तिबारे सोधिन्छ र अर्को समूहले आफ्नो संस्कार, कुलबारे उत्तर दिन्छ ।’
सुशीला तामाङ प्रकाशित : वैशाख ६, २०७६ ०८:०२

बोडो-मेचे सभामा छमछमी

बोडो-मेचे सभामा छमछमी 
कान्तिपुर संवाददाता
खाम (ढोलक), छिफुङ (बाँसुरी) र दोथ्रा (सारंगी) वाद्यवादक अघि लागेका छन् । दोस्रो पंक्तिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छन् । उनीपछि दोखना (मेचे पहिरन) लगाएका युवती । उनीहरूले बाजाको तालमा बोराइनाइ (स्वागत नाच) नाच्दै मुख्यमन्त्रीलाई स्वागत गरे ।
कुनै कार्यक्रम सुरु गर्नुपूर्व यो समुदायको जातीय विधि नै छ । विधि पूरा गरे । मुख्यमन्त्रीलाई राष्ट्रिय झन्डोत्तोलन गर्न लगाएपछि मञ्च चढाए ।
झापा यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसूचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको बसोबास छ । यसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । मेचे समुदायले शनिबार नेपालमै पहिलो पटक बोडो-मेचे साहित्यसभा आयोजना सुरु गरेको छ । दुईदिने महोत्सवमा मेचेहरूको पुख्र्याैली थलो भारत असमबाट समेत दुई सय हाराहारीमा सहभागी छन् । सम्मेलनमा आफ्नो साहित्य र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए । मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरूको भाषा, संस्कृति र रहनसहनबारे बहस हुनेछ ।
मुख्यमन्त्रीले नेपाल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमा वैभवशाली रहेको चर्चा गरे । संघीयताले सबै जातजाति र भाषाभाषीको पहिचानको सपना पूरा गर्न सक्ने उनले बताए । मेचे समुदायको भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि सक्दो पहल गर्ने आश्वासन दिए । मानवशास्त्री सन्तलालले मेचे समुदायको संस्कृति र रहनसहनको जगेर्ना गर्न यस किसिमको कार्यक्रम सार्थक हुने जनाए ।
उनले भने, 'हाम्रो अधिकार प्राप्तिका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्छन् ।' सम्मेलनमा मेचे समुदायका भाषा, साहित्य, कला, संस्कृति आदि विभिन्न विषयमा छलफल गरिने अध्यक्ष रुपेश मेचेले जनाए । यी समुदाय झापाको मेचीनगर, दमक, धाइजन, ज्यामिरगढी, चकचकी, जलथल, भद्रपुरलगायत स्थानमा छन् । २०६८ को जनगणनाअनुसार मेचेको संख्या ४ हजार ८ सय ६७ रहेको छ ।प्र
काशित : वैशाख ३०, २०७६ ०८:४५

Thursday, June 13, 2019

देउडा गीत पश्चिमको प्रमुख चिनारी

देउडा गीत पश्चिमको प्रमुख चिनारी
बिधुत्मा रैका
http://eaawaj.com/archives/27203
कोहलपुर
, फागुन, २६,
देउडा गीत पश्चिमको ढुकढुकी हो । मेलापात, विवाह, छैंठी तथा विभिन्न चाडपर्वहरुमा यसका सुरिला भाकाहरु सुन्न र देख्न पाईन्छ ।
यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा, ठाडी भाका, न्याउले, भारी खेल, हुड्क्यौली आदीले चिनिन्छ । पश्चिमेली खस भाषामा आधारित देउडा गीत अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, मुगु जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा गाउने गरिन्छ ।
यी जिल्लामा पुख्र्यौली पश्चिमका पहाडी जिल्लामा घर भएका मानिसहरु जहाँ जान्छन् त्यही देउडामय बनाउँछन् । शनिबार कोहलपुरको गोलपार्क देउडामय बन्यो । दैलेखी एकता समाजले आयोजना गरेको देउडा कार्यक्रममा धेरै मानिसहरुले देउडा गाएर तथा नाँचेर आफ्नो सांस्कृतिक सहभागीता जनाए । देउडाको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा धेरै दर्शकहरुको उपस्थिती रहेको थियो ।
महिला पुरुष मिलेर गोलपार्कको खुल्ला मैदानमा गोलो घेरा बनाएर एकै तालमा हातखुट्टा मिलाउदै दुई समूहमा देउडा खेलिरहेका थिए । कार्यक्रममा अछाम, दैलेख, हुम्ला, जुम्ला तथा मुगुका देउडा पे्रमिहरु देउडामा झुमिरहेका थिए । र धेरै जना दर्शकहरु रमाईलो मान्दै हेरिरहेका थिए । महिला र पुरुषहरूले छुट्टा–छुट्टै समुह बनाएर एक आपसमा हात समाएर देउडा गीत गाएको तथा पैतल मिलाएर देउडा खेलेको दृश्य निकै आकर्षक थियो ।
वि.सं. २०७० साल फागुन ४ गते दैलेखी एकता समाज शाखा कार्यालय कोहलपुरको स्थापना भएको थियो । स्थानीय कला संस्कृति तथा देउडाको जगेर्नाका लागी एकता समाज गठन गरिएको अध्यक्ष भरत कठायतले बताए । उनी भन्छन्–‘समयको परिवर्तनसँगै बजारमा विभिन्न किसिमका आधुनिक, रिमिक्स, ¥याप गीत संगीतहरू आईरहेका छन्, यसले हाम्रो देउडा संस्कृति पछाडी धकेलिरहेको छ । देउडाले हाम्रो छुट्टै पहिचान बोकेको छ ।’ उनले, मध्य तथा सुदुरपश्चिमकै शान देउडा गीत पछिल्लो समयमा संकटमा परेकाले समाज गठन गरि यसको जगेर्ना गर्न लागी परेको बताए ।
दैलेखी एकता समाजले हरेक महिनाको १५ गते देउडा कार्यक्रमको आयोजना गरि देउडा खेल्दै एक आपसमा रमाईलो वातावरणको सिर्जना गर्छ । यस्ता किसिमका कार्यक्रमहरुले यसको प्रचार प्रसार तथा देउडा संस्कृतिको जगेर्नामा टेवा पुग्ने दैलेखी एकता समाज वडा नम्बर ११ का सचिब प्रेमिका शाहीले इआवाजलाई बताईन् । उनले भनिन्,–‘हाम्रो मुख्य अभियान भनेको देउडा बचाउनु हो । आफ्नो पुख्र्यौली कला संस्कृति भनेको हाम्रो लागी पुर्खाहरुले छोडेको अनुपम उपहार पनि हो । उनीहरुले धेरै संरक्षण गरेर हामीलाई सुम्पेका छन् । हामीले यसको संरक्षण गर्नुपर्छ ।’
कोहलपुरमा आ–आफ्ना जिल्लाका एकता समाज गठन गरिएका छन् । एकअर्कालाई समस्या पर्दा मिलेर समाधान गर्दै आएका छन् । जुनसुकै एकता समाजले देउडा कार्यक्रमको आयोजना गर्छन त्यहाँ सबै जिल्लाका सदस्यहरुको उपस्तिथी रहने गरेको कालिकोट एकता समाजका अध्यक्ष खड्क बहादुर शाहीले बताए । उनले भने,–‘सुदूर तथा मध्यपश्चिमको कला संस्कृति एउटै हो । सबैलाई आफ्नो संस्कृतिको माया लाग्छ । त्यस कारण म पनि यस संरक्षणको अभियानमा सरिक भएको छु ।’
उनीहरुलाई समस्या पर्दा एकआपसमा सहकार्य गर्दै आएका छन् । जुनसुकै जिल्लाका एकता समाजको देउडाको संरक्षण, सम्र्वद्धन, विकास तथा प्रचार प्रसार गर्ने एउटै लक्ष्य रहेको छ । यसै क्रममा अछामी एकता समाज कोहलपुरका सदस्य कमल शाही भन्छन्,–‘देउडा हामीलाई चिनाउने माध्यम हो । पश्चिम भन्ने वित्तिकै देउडाको झल्को आउँछ । त्यसैले देउडालाई संरक्षण एवं सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो ।’
नेपालको संविधानको धारा ३२ को उपधारा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । त्यसैलाई मध्यनजर गर्दै कोहलपुरमा हरेक महिनाको १५ गते देउडा कार्यक्रम गरिँदै आएको छ ।
कामको सिलसिलामा हिँडेकी अछामको जनालीकोट घर भई कोहलपुर बस्दै आएकी सरस्वती स्वाँर शनिबार दिउँसो जब गोलपार्कमा पुगिन् उनको मन फुरुङ्ग भयो । त्यहाँ उनले देउडा खेल निकै चाख दिएर हेरिन् । उनी भन्छिन्,–‘अहिले म ६५ वर्षकी भएँ । १७ वर्षको उमेरमा कोहलपुर झरे पनि देउडा भनेपछि हुरुक्कै हुन्छु । घाँतपात मेला पर्व वनपाखा गर्दा आफुले आफ्नो काकी, भाउजुहरुले गाएको ठाडी भाका निकै याद आउँछ ।’
जो कोहीलाई पनि देउडा सुन्दा या गाउँदा छुट्टै आनन्द आउँछ । देउडाले एकआपसमा गहिरो सम्बन्ध र आत्मियता स्थापित गराउँछ । यसले मानिसलाई मनोरञ्जन र सन्देश दिनुका साथै समाजलाई एक सूत्रमा बाँध्ने काम गर्छ । पछिल्लो समय बजारमा चलेका गीतहरूको प्रभाव बढ्दै जाँदा देउडाका मौलिक सिर्जनाहरु खुम्चिंदै गएका छन् । यसको संरक्षण एवं सम्वद्र्धन गर्न सके हाम्रो लोक कला संस्कृति र हाम्रो पहिचान जोगिने छ । आउनुहोस् यस्ता लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा सबैले हातेमालो गरौं ।

बुढेसकालमा माइती

बुढेसकालमा माइती
चैत्र २०, २०७५भवानी भट्ट
कञ्चनपुर — 'चैत महिना दादा, चैत महिनाभेट्न आए दादा तेरी बैना  । ’डोटेली गायक महेशकुमार आउजी र राधिका हमालको स्वरमा रहेको सुदूरपश्चिमेली यो गीतले मनोरञ्जन मात्रै दिँदैन  ।
२०६० तिरको यो गीतले सुदूरपश्चिमको संस्कति र परम्परालाई समेत समेटेको छ । दाजुभाइले आफ्ना दिदीबिहिनीलाई चैतको महिना भेट्न जाने सुदूरपश्चिमको ‘चैतालो भैटौलो’ परम्परालाई यो गीतले झल्काउँछ । आइतबार महाकाली साहित्य संगमले महेन्द्रनगरमा आयोजना गरेको चैतालो भेटौलो कार्यक्रममा उल्टाखामकी सीता पुजाराले उक्त गीत गाउँदा कार्यक्रमका सहभागी सबै नाच्न झुम्मिए । दिदीबहिनी, दाजुभाइ सबैका कुरा समेटिएको गीतमा हुड्केली गाउने र नाच्नेसमेत रमाए ।
चैतको महिना । सुक्खा यामको सुरुवात । वन जंगलमा बास्ने कोइली र न्याउलीले झनै उदास बनाउँछन् । विवाह भएका छोरी बहिनीहरू माइती भेट्न आउने आशमा बसेका हुन्छन् । दाजुभाइ नहुनेहरू निराश हुन्छन् ।
त्यसकै प्रतिविम्ब आउजीको गीत हो । सुदूरपश्चिममा चैतालो भेटौलोलाई एउटा प्रमुख पर्वका रूपमा मानिन्छ । विभिन्न जिल्लामा माघमा भेटने चलन भए पनि प्रायःले चैतमै दिदीबहिनी भेट्न जान्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा घरघरै पुगेर चैतोली हुड्केलो गाउने चलन पनि छ । साहित्य संगमको कार्यक्रममा पनि चैतालो हुड्को गाउनेसँगै दाइभाइ नभएका टुहुरा दिदीबहिनीहरूलाई कोसेलीसहित भैटौलो प्रदान गरियो ।
दाजुभाइ नभएका ६ जना दिदीबहिनीलाई कोसेली प्रदान गरियो । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी ७० वर्षीया पुष्पा भट्टका माइतीबाट चैतालो भेटौलो नआएको २६ वर्ष भयो । बुवा सानो छदै बिते । आमा पनि २०४९ मा मृत्यु भएपछि भेट्न कोही आएनन् । ४ बहिनीमध्ये पुष्पा जेठी हुन् ।
उनले नै आफूभन्दा कान्छी बहिनीहरूलाई भेट्ने गर्छिन् । तर उनलाई भेट्न कोही आउँदैन । ‘आज २६ वर्षपछि मैले माइती र भाइ भेटे,’ आइतबार महाकाली साहित्य संगमले चैतालो भेटौलो प्रदान गरेपछि खुसी हुँदै पुष्पाले भनिन्, ‘दाइभाइ नहुँदाको पीडा मैले महसुस गरेकी छु, चैतमा भेट्न मात्रै होइन, भाइटीकाका बेला पनि मन उदास हुन्छ ।’
बुढेसकालमा महाकाली साहित्य संगमले बहिनी मानेर भेटेकोमा उनी निकै खुसी छिन् । थारू समुदायमा चैतालो भेटौला चलन छैन । संगमले गीता चौधरीलाई पनि चैतालो भेटौलो प्रदान गरेपछि उनीपनि खुसी छिन् । भारतबाट भागी विवाह गरेकी उनको माइतीसँग कुनै सम्पर्क छैन । अब त माइतीमा कोको छन् भन्ने पनि उनलाई थाहा छैन । ‘नयाँ चलन थाहा पाए, माइती पनि भेट्टाएँ,’ उनले भनिन्, ‘वर्षौंअघि माइती घर छाड्दाको पीडा अहिले सम्झेँ ।’
संगमले समावेशी रूपमा दाजुभाइ नभएका जनजाति, दलित र एकल महिलालाई छानेर चैतको कोसेली प्रदान गरेको हो । भट्ट र चौधरीसँगै शौका समुदायकी मञ्जु लामा, उष लुहार, गोमती बोहोरा र गीता आउजीलाई चैतालौ भेटौलो प्रदान गरेको हो । छोरी बहिनीलाई भेट्न जाँदा पकवान, फलफूल र कपडा लैजाने चलन छ । पहाडतिर सुक्खा याममा खाद्यान्नकोसमेत अभाव हुन्छ ।
त्यही बेला छोरीबहिनी के खाने हो भन्ने मनसायले केही दिनका लागि भए पनि पकवान र फलफूलसहित भेट्न जाने चलन सुरु गरिएको हो । हुड्को गाउँनेहरू मोहन आउजी, चिना नेपाली र गीता आउजीले चैतालो भेटौलोको संस्कार बोकेको कत्युवंशी राजा भानादेउ र गोरीधानाको कथा गाए । कथाअनुसार १३ शताब्दीमा राजा भानादेउकी छोरी गोरीधानाको विवाह नागवंशी राजा कालीनागसँग हुन्छ । विवाह भएको लामो समयसम्म गोरीधानाले माइत आउने तथा माइतीले उनलाई भेट्न जाने गरेनन् ।
भानादेउका छोरा सादेउवालाको जन्म भयो । उनी ठूला भएपछि दिदीबहिनी भए नभएको सोधी खोजी गरे । दिदीबारे जानकारी पाएपछि उनले भेट्न जाने इच्छा गरे । तर आमा कौशिलाले नागहरूले खाइदिने भन्दै उनलाई पठाउन मानेनन् । छोराका जिद्द अगाडि कौशिलाको केही चलेन । उनलाई नयाँ लुगा सिलाएर पकावानसहित छोरीका घर पठाए । घरमा पुगेपछि भाइबहिनीबीच लामो समयपछि भेटले निकै भावुक बनाउँछ ।
काली नागले पनि सालाको राम्रो स्वागत गरे । करिब एक महिनापछि दिदीसँगै घर फर्किने बेला काली नागकी बहिनी भागानन्दले शंका पैदा गरेपछि कालीनागले सालालाई रोके । त्यसपछि उनीमाथि आक्रमण गरे तर त्यसले केही असर गरेन । त्यपछि सदेउवालाले आक्रमण गर्दा काली नागको मृत्यु भयो । नागको मृत्युपछि दिदी गोरीधानाले पनि आत्महत्या गरिन् । त्यसपछि सादेउवालाले पनि आत्महत्या गरे ।
कालीनागकी बहिनी भागा नन्दको शंकाका कारण दुईटा परिवारको नाश हुन्छ । त्यससँग सम्बन्धित एक डोटेली गीतको बोल चर्चित छ– इचली व कनालीका पलुइ झान्ना तिता, भलो गरे भागा नन्द दुई घर रित्ता ।
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०९:४६

‘सांस्कृतिक नीति खोइ ?’

सांस्कृतिक नीति खोइ?’
कान्तिपुर, चैत्र १५, २०७५दीपक परियार
लेखनाथ — प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने गण्डकी प्रदेशको तयारी उहिल्यै हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गत वर्ष तयारी थाल्न सार्वजनिक आव्हान नै गरे । राज्य पुनर्संरचनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिसकेका उनमा पोखराका प्राज्ञिक व्यक्तित्वको भरोसा थियो । तर हालसम्म प्रदेश प्रज्ञा प्रतिष्ठान गठन भएको छैन ।
सर्वप्रथम गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको आफ्नै सांस्कृतिक नीति हुनुपर्ने धारणा राख्छन्, कवि तीर्थ श्रेष्ठ । विश्व रंगमञ्च दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले पोखरेली नाटकका अन्तरकुन्तर खोले । पोखरा थियटरले गरेको ‘नाटक हेर्छ पोखरा’ विषयक कार्यक्रममा उनले प्रमुख वक्ताका रूपमा आफ्ना विचार राखेका थिए ।
नाट्य क्षेत्रलाई राज्यको सहयोग नहुँदा पनि व्यक्तिगत तथा संस्थागत रूपमा रंगमञ्चको यात्रा अगाडि बढेको उनको बुझाइ छ । ‘कर्मचारी पाल्न नसक्ने एकेडेमीबाट हामीले के आशा गर्ने ?’ उनले भने, ‘यति हुँदाहुँदै पनि नाटक देखाउनुपर्छ, नाटक हेरिनुपर्छ भन्ने प्रयत्नले नाट्य क्षेत्र अगाडि बढ्नु सुखद् हो ।’ सांस्कृतिक नीति बनाएर नाटक विधा राज्यबाटै आरक्षित हुनुपर्नेमा उनी जोड दिन्छन् । पोखरा थिएटर सञ्चालनमा आएपछि एक वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाटक महोत्सव हुनु पोखरेली रंग क्षेत्रको लागि सौभाग्य भएको उनले बताए । उनले धनशमशेरको पालादेखि सुरु भएको पोखराको रंगमञ्चका विभिन्न उतारचढावका बारेमा बेलिविस्तार लगाए ।
साहित्यकार सरुभक्त रंगमञ्चको यात्रालाई अगाडि बढाउन अध्ययन आवश्यक पर्ने बताए । पछिल्लो क्रममा अध्ययन नगरी यो क्षेत्रमा प्रवेश गर्नेहरूप्रति उनको चिन्ता थियो । ‘नाटक हेर्छ पोखरा भनेजस्तै, नाटक पढ्छ पोखरा हुनुपर्छ,’ उनले भने । नाटक लेखनदेखि मञ्चनसम्म थुप्रै चुनौती रहेको बताउँदै उनले नाटकको भविष्यप्रति सचेत बन्नुपर्ने आवश्यकता औंल्याए ।
प्रकाशित : चैत्र १५, २०७५ १२:३५

रौनक गौराको


रौनक गौराको
भाद्र १९, २०७५डीआर पन्त
डडेलधुरा — भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।
लालावाला पाल्न बिदेसिएका वा तराई झरेका कतिपय परिवार पनि गाउँ फर्किएका छन् । सदरमुकाम र स्थानीय बजारमा किनमेल गर्नेको घुइँचो छ । समृद्ध सांस्कृतिक पर्वका रूपमा मनाइने गौरा पर्वका अवसरमा गाउँगाउँमा विभिन्न भाका र लयमा देउडा घन्किन थालेका छन् । सबै वर्ग, जातजातिले मनाउने सांस्कृतिक संगमको पर्वले यति बेला सिंगो सुदूरपश्चिम गौरामय भएको छ ।
गौरापर्वका बेला गाउँगाउँमा रहेका मठमन्दिरमा महिला, पुरुष, बालबालिका भेला भएर विभिन्न लोकगाथा गाउने र देवीदेउताको पूजाअर्चना हुने गर्दछ । ‘गाउँगाउँमा बेग्लाबेग्लै गौरा हुन्छिन्,’ संस्कृतिविद् डा. भोजराज पन्त भन्छन् । जातीय सद्भाव, सामाजिक सद्भाव र सांस्कृतिक मिलनको रूपमा गौरा समूहगत रूपमा मनाइने पर्व हो ।
गाउँगाउँमा गौरा महोत्सव आयोजक समितिले पर्व मनाउनका लागि व्यवस्थापन गरिरहेका छन् । पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर बनाइने बिरुडासँगै सुरु हुने गौरा झन्डै एक हप्तासम्म धुमधामका साथ मनाइन्छ ।
धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउंँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।
अविवाहित कन्याहरूले घर भित्र्याउने गौरा सेलाउँदा भने विवाहित बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विसर्जन गर्ने परम्परा रहेको छ ।
कुनै गाउसँग गौरा नभए धार्मिक विधिअनुसार गौरा हुने गाउँबाट माग गर्ने परम्परा रहेको पन्तले बताए । ‘यति पुरानो आदि सभ्यता र मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोककाव्य अन्य कुनै पनि संस्कृतिमा भेटिँदैन,’ डा. पन्तले भने, ‘गौरामा गाइने लोककाव्यहरूको संग्रह बनाउने हो भने महाकाव्य नै निर्माण हुन्छ ।’ यो पर्वमा महिलाले गौरी र शिव पूजा गर्छन् । पुरुषहरूले विभिन्न देव गाथाहरू चैत र ठाडोखेलका रूपमा गाउँदै देवतारुलाई आह्वान गर्छन् ।
डोटेली संस्कृतिका शोधकर्ता डा. नरेन्द्रदेव भट्ट भन्छन्, ‘गौरा एउटा मात्र पर्व नभई सांस्कृतिक पर्वहरूको संगम पर्व हो ।’ रामायणकालीन सभ्यतासँग जोडिएका दर्जनौं लोककाव्यहरू गाइने र विविध संस्कृतिलाई गौरा पर्वमार्फत एकै ठाउँमा जोड्ने अद्भुत संस्कृतिको संगम मानिन्छ गौरा पर्व ।
हिमालय पुत्री गौरीले शिव प्राप्त गरेका लोककाव्य, त्रेता युगमा अवतार लिने भगवान् रामका कथा, भगवान् कृष्णका लीलादेखि महाभारतकालीन वीरहरूका पौराणिक गाथासँगै नेपाल एकीकरणका वीरहरूको लडाइँका गाथा गाइने यो गौरा पर्व डोटी प्रदेशमा रहेका बहुल सांस्कृतिक पर्वलाई एकै ठाउँमा जोड्ने पर्वका रूपमा युगौंदेखि मनाइँदै आएको संस्कृतिविद् डा. पन्तले बताए ।
‘गौरा आदिपर्व हो,’ ‘गौरा संस्कृति र डोटी प्रदेशको इतिहास’ पुस्तकका लेखक पं. दयानन्द पन्तले भने, ‘आर्य सभ्यताको सबैभन्दा पुरानो संस्कृति कालान्तरमा गौरा सभ्यताका रूपमा विकसित हुँदै आएको हो ।’ नेपालको सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेश, भारतको कुमाउँ, गढवाल, हिमाञ्चलका केही भू–भाग हुँदै कश्मीरसम्म मनाउने परम्परा रहेको उनले बताए । कुमाउ, गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिमाञ्चल र कश्मीरमा भने केही भिन्न रहेको पं. पन्तले बताए ।
अमुक्ताभरण सप्तमीका दिन भित्र्याइने गौरा एक हप्तासम्म पूजाअर्चना गरी स्थानीय देवीदेवताका मठमन्दिरमा लगेर विर्सजन गरिन्छ । प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘माइतबाट चेलीबेटी बिदा गरेजस्तै गौरा देवीको बिदाइ हुन्छ ।’
अचेल गौरापर्व देउडा र नाचगानमात्रै सीमित थालेको डडेलधुराका साहित्यकार कैलाश पाण्डेयको चिन्ता छ । भने, ‘पुरानो पुस्ताले चाडपर्वका बेला लगाउने पहिरन पनि लोप हुँदै गएको छ, गौरा पर्वको महत्त्वलाई जीवन्त राख्न र संस्कृति जोगाउन सामाजिक जागरण आवश्यक छ ।’
प्रकाशित : कान्तिपुर, भाद्र १९, २०७५ ०९:११

पैसेरु नाचको रमझम

पैसेरु नाचको रमझम [फोटोफिचर)
फाल्गुन १०, २०७५हरि गौतम
रुकुम पश्चिम — मुसीकोट नगरपालिका-१, बराहटाकुरा तीन दिन बालबालिकादेखि वृद्धवृद्धासम्मको अवलोकन स्थल बन्यो । मंगलबार, बुधबार र बिहीबार त्यसरी सबै बराहटाकुरा जानुको एउटा मात्रै उद्देश्य थियो, पैसेरु नाचमा रमाउने । लोपोन्मुख पैसेरु नाच संरक्षणको उद्देश्यसहित गरिएको पैसेरु प्रतियोगिताले धेरैको ध्यान तान्यो । किशोरदेखि ७५ वर्ष उमेरसम्मकाले पैसेरु नाचे । एक अर्का समूहसँग नाचेरै प्रतिस्प्रर्धा गरे । राम्रो गर्नेले पुरस्कार पनि लिए ।
मुसीकोट नगरपालिकाको मुख्य सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले यसरी सबैलाई जम्मा हुने अवसर दिएको थियो । मुसीकोट नगरभित्रका वडास्तरीय पैसेरु नाच प्रतियोगिता पैसेरुको संरक्षण गर्ने र पछिल्लो पुस्तामा हस्तान्तरणको उद्देश्यसहित गरिएको आयोजक प्रतिष्ठानका शाखा सचिव तुल देवकोटाले बताए । प्रतियोगितामा सहभागी सबै समूहको भिडियो खिचिएको र भिडियो डकुमेन्ट्री बनाएर पछिका पुस्तासम्म पैसेरु नाच देखाइने छ । यो प्रतियोगिता जित्ने र हार्नेसँग मात्रै सरोकार नभएर नाच संरक्षण लागि भएकाले खुसी लागेको मुसीकोट नगरपालिका-२, का ७५ वर्षीय सर्जु खड्काले बताए ।
पहिले पहिले घरमा या मन्दिरमा गरिने पूजाआजामा धेरै नाचिने पैसेरु पछिल्लो समय निकै कम भइसकेको छ । पैसेरु नाच ठाउँ अनुसार फरक/फरक हाताबाट नाचिन्छ । कतै १६ देखि २० हाता नाचिन्छ भने कतै २२ हातामात्रै नाचिन्छ । मादलको पछिपछि लाग्ने अगुवाको चालअनुसार पछिकाले नाच्नुपर्ने विशेषता पैसेरु नाचको हो । पैसेरु नाच हेर्न गएका अतिथि तथा सर्वसाधारणसमेत पैसेरुको नाचमा मिसिएर नाचेका थिए । पैसेरु प्रतियोगितामा सहभागीमध्येका १२ समूहलाई पछि पार्दै मुसीकोट नगरपालिका-१, छिङको छिङ बहुउद्देश्यीय सहकारी प्रथम भयो । मुसीकोट नगरपालिका-१४, लोरिवाङको समूह दोस्रो हुँदा मुसीकोट नगरपालिका-१०, चुनको समूह तेस्रो भएको छ । जिल्लामा पहिलोपल्ट आयोजित पैसेरु प्रतियोगितामा प्रथम आउने छिङको समूहले ३०, दोस्रोले २५ र तेस्रो हुने समूहले २० हजार नगद पुरस्कार हात पारेको छ ।
मुसीकोट नगरपालिकाको ६ र ७ नम्वर वडा सान्त्वता भए । १३ समूहको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट पोसाकमा वडा नम्वर ७ साँखको समूह र ६ झिजाको समूह पहिलो भएको छ । उत्कृष्ट बाध्यवादनमा वडा नम्बर ११ लहु पहिलो भएको छ । त्यस्तै नयाँ पुस्ताको सहभागितामा वडा नम्वर २ रातामाटाको समूह पहिलो भएको छ । कान्तिपुर,

खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा

खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा
‘पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे । अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो ।’
आश्विन १८, २०७५हरि गौतम
रुकुम पश्चिम — पुतला दमाई गृहिणी हुन् । घरको सम्पूर्ण चाँजोपाँजो मिलाउनु मुसीकोट नगरपालिका–१ की यी ५८ वर्षीयाको मुख्य जिम्मेवारी हो । पछिल्ला चार वर्षयता उनी यही काम मात्रै गरिरहेकी छैनन् ।
जिल्लामा हुने मेला, पर्व, उत्सव, दिवसमा बाजागाजाको जिम्मेवारी पनि उनकै हो । घरको कामकाज सकेर उनी बाजा बजाउन निस्किन्छिन् । पञ्चैबाजाको आफ्नो टिमसहित ।
सिर्जनशील महिला पञ्चैबाजा समूहकी सदस्य पुतलाको काँधमा दमाहा हुन्छ । बिनाकुनै थकावट उनी निरन्तर दमाहा बजाउँछिन् । २०७१ को फागुन महिनादेखि यहाँ महिलाहरूले काँधमा दमाहा र टयाम्की, मुखमा सहनाई र नरसिंगा, हातमा छिल्लरलगायत बाजा सम्हालेका हुन् । स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सबै राजनीतिक दलले सबै कार्यक्रममा महिलाबाटै पञ्चैबाजा बजाएका थिए ।
‘केही वर्षयता जिल्ला सदरमुकाममा हुने कुनै कार्यक्रममा पुरुषले पञ्चैबाजा बजाएको मैले देखेको छैन,’ खलंगाका पहल खड्काले भने, ‘पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे । अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो । पुरुषले बजाएको कहिल्यै देखिँदैन ।’
हरेक कार्यक्रमको र्‍याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै महिलाहरू हुन्छन् । एकै किसिमका पोसाकमा महिलाले पञ्चैबाजा बजाउँदा हेर्नेहरूको भीड पनि उत्तिकै हुन्छ । ‘महिलाहरूले पञ्चैबाजा बजाउनु नौलो नै हो,’ खलंगा बजारकी पुष्पा केसीले भनिन्, ‘त्यो आकर्षक पनि देखिन्छ त्यसैले महिलाले बाजा बजाएको हेर्न धेरै झुम्मिने गर्छन् ।’
केही वर्षअघिसम्म जिल्लाका कुनै पनि कार्यक्रममा पुरुषले नै पञ्चैबाजा बजाउने चलन थियो । ‘कार्यक्रम महिला समूहको मात्रै भए पनि पुरुष डाक्नुपथ्र्यो,’ सिर्जनशील महिला पञ्चैबाजा समूहकी अध्यक्ष हीरा परियारले भनिन्, ‘त्यसको अन्त्यका लागि आफैं बाजा बजाउन सुरु गरेका हौं ।’ महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर उनीहरूले बजाउन सुरु गरेका हुन् । सुरुका केही दिनसम्म पुरुषहरूले बाजा बजाउन सिकाइदिएका थिए ।
पञ्चैबाजा उनीहरूको आम्दानीको स्रोत पनि बनेको छ । एउटा कार्यक्रममा पञ्चैबाजा बजाएबापत् १२ हजार रुपैयाँसम्म लिने गरेका छन् । अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन् । उनका अनुसार न्यूनतम ६ हजार रुपैयाँ लिने गरिएको छ । उनीहरूको समूह पछिल्लो पटक जिल्लाका अन्य ठाउँमा पनि पञ्चैबाजा बजाउनका लागि जान थालेको छ । पाँच दिनसम्म चलेको दोस्रो स्यार्पू पर्यटन महोत्सवमा पनि उनीहरू पञ्चैबाजासहित डाकिएका थिए । अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि पञ्चैबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।
प्रकाशित : कान्तिपुर, आश्विन १८, २०७५ ०८:४०

हरिसिद्धिमा देवीनाच

हरिसिद्धिमा देवीनाच
हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्य चाडपर्वको रुपमा लिने गर्दछन् ।
चैत्र ७, २०७५कान्तिपुर संवाददाता
ललितपुर — मुलुकभर होली मनाउँदा हरिसिद्धिमा भने बुधबार हरिसिद्धि भवानी देवीनाच देखाइएको छ । हरिसिद्धि भवानी देवीका पुजारी ८२ वर्षीय राइटर महर्जन, छुस्याः, पोंगा बाजा बजाउने ५६ वर्षीय शालिकराम महर्जन र ६९ वर्षीय नारायण महर्जन निधारमा तिलक, शिरमा बेताली (देवगणले लगाउने टोपी), शरीरमा द्यः अनि धुजी लं (विषेश प्रकारको लुगा) लगाएको अवस्थामा भेटिए ।
उनीहरूजस्तै देवगणको भूमिका खेल्ने अन्य २६ जना गुठीयार पनि उस्तै भेषमा थिए । पुजारी महर्जन भन्छन्, ‘हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्यचाडपर्वको रूपमा लिने गर्दछन् ।’
उनका अनुसार नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ । त्यस १८ भागमा दृश्य देखाइन्छ । ‘नाचको प्रारम्भ जोडीबाट हुन्छ,’ उनले भने, ‘जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् ।’ नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाकः(काठको ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाकःमा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।
अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । ‘यस नाचमा सन्तान नहुने भक्तजनमध्ये जसले पहिलो पटक देवता ढोक्न सफल हुन्छ । उसको छोरा पाउने जनविश्वास रहेको पुजारी महर्जनको भनाइ छ । त्यसैले तमन्ना द्योको दर्शन गर्न भक्तजनकोभीडभाड लाग्ने गर्दछ ।
ठेचोकी गीता महर्जनको माइती हरिसिद्धि हो । उनी प्रायः प्रत्येक वर्ष व्रत बस्न हरिसिद्धि पुग्ने गर्छिन् । यस पटक पनि व्रत बसेकी उनी भन्छिन्, ‘तनमनले व्रत बसेमा मनोकांक्षा पूरा हुन्छ ।’ नाचमागुरु वाल्मीकि र शिष्य भारद्वाजको भेषमा पनि नृत्य देखाइयो । ब्राह्मण (बुद्धिसेन) को नाचमा परम्पराअनुसार दाँत माझेको र नुहाएको अभिनय पनि
नाचमार्फत देखाइयो ।
यस नाचलगत्तै महादेव अवतरण भयो । ब्राह्मणलाई विक्रमादित्य राजाका मन्त्री वीरसेन (बुद्धिसेन) मानेको दृश्य देखाइयो । पुजारी भन्छन्, ‘नाचमार्फत परम्परागत रीतिथिति बुझ्न सकिन्छ ।’ एक शक्तिस्वरूपा देवीको पूजाआराधना गरेमा सबैको कल्याण हुनेमा उनको विश्वास छ ।
काठमाडौंमा मनाइने इन्द्रजात्रामा पुलु किसी (स्वर्गका राजा इन्द्रको बहान) को नाच देखाइन्छ । हरिसिद्धि पनि हात्तीको नाच देखाइन्छ । हरिसिद्धिमा इन्द्रको बहानको रूपमा नभई महादेव र धिन्चो माजु (देवता) ले हात्तीलाई धपाएको अभियनको रूपमा नृत्य प्रस्तुत गर्छन् । यसका लागि डबलीमा निलो मुकुट गाढा नीलो शरीर भएको हात्तीको साथमा पहेलो मुकुटमासिकुचा नाम गरेको महादेव र धिन्चो माजु प्रवेश गर्छन् ।
त्यसपछि सेतो मुकुटको कौमाद्य (महादेव) र रातो मुकुटको अग्नि देवताको नृत्यमा अग्नि देवताले कौमाद्यः लाई पच्छ्याउँदै नृत्य देखाइन्छ । अनि राजासिंह, मन्त्री, नारदको नृत्य हुन्छ । महर्जन भन्छन्, ‘यो विक्रमादित्यमाथि विजय प्राप्त गर्ने विषयमा त्रिशूलधारी नारद आइपुगी सहमति जनाएको दृश्य हो । त्यसपछि विश्वमित्र ऋषि कुटीमा यज्ञ गरिरहेको, रामले पहरा दिइरहेको र यज्ञको गन्धले कुटीतिर आएको मारिच राक्षस आएको दृश्य देखाइन्छ ।
अनि राम र राक्षसबीच भएको युद्ध हुन्छ ।’ अन्तमा सुग्रीवले बाली वध गरेको, नारदले सुग्रीव र ताराको पुनः विवाह गरिदिएको र मालीले माला ल्याई हनुमानलाई दिएको दृश्य नाचमार्फत देखाइएको छ । नाच वाद्यवादनमा दमोखिं, प्वांगा, भुस्याहा, छुस्याहा र ताः हुन्छ । नाच प्रत्येक वर्ष फागुपूर्णिमाकोअवसरमा देखाइन्छ । प्रकाशित : चैत्र ७, २०७५ ०७:५९

संगिनीलाई साथ

संगिनीलाई साथ
चैत्र ७, २०७५रमेशचन्द्र अधिकारी
धनकुटा — पुर्खाले सिर्जेको यो नेपाल देशआफ्नै संस्कृति प्यारो छ भेषजोगाऔं संस्कृति...कमला दाहालसहितको समूहले यसरी लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्न थाल्छन् । यो संगिनी नाचको शैली हो ।
घुमाउरो गरी बसेकाहरू हात र खुट्टाको हाउभाउ मिलाएर एकै स्वरमा नाच्नुपर्छ संगिनीमा । यी महिला भने लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमै छन् ।
पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न धनकुटा नगरपालिका १ का महिला जुटेका हुन् । खासगरी विवाहमा रत्यौली, धार्मिक उत्सव, पूजाआजामा परम्परागत रूपमा यो नाच नाचिने हिलेकी कमला दाहालले बताइन् । उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक घटना क्रम, धार्मिक ग्रन्थका श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय वीरगाथा, जाँगरमूलक र राष्ट्रिय भावनाका शब्दलाई गीतमा उन्ने गरिन्छ ।
‘अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले अभियान नै थालेका हौं ।’ कुनै समय संगिनी नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय थियो । तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन् ।’
यस्तो अवस्थामा स्थानीय महिलाहरू प्रवर्द्धनमा लागिपरेका हुन् । हालैको दिन एउटा हिले बजारमा नाच्दै गरिरहेका बेला भेटिएकी जमुना घिमिरेका अनुसार स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा उनीहरूको समूहले संगिनी नृत्य प्रस्तुत गर्दै आएको छ । यसमा मनोभावदेखि एकअर्काबीचको संवाद गीतमार्फत नै गरिन्छ ।
जेठा र दाजु नि नुहाउन गाका
शिव हौ हरर, जेठानी भाउजू
नुहाउन जाँदा साथैमा सरर..
यस्ता शब्द सुरुमा एक/दुई जनाले लामो स्वरमा खिपेर गाएपछि सहभागी सबैले फन्को मार्दै गीतको भाकामा साथ दिनुपर्ने समूहकै जानुका पोखरेलले बताइन् । ‘एकातर्फ मनोरञ्जन र अर्कोतर्फ संस्कृति जगेर्ना,’ उनले भनिन् । यो समूहले गुन्यूचोली र एकै प्रकारको ओढ्ने ओढेर संगिनी प्रस्तुत गर्छ ।
‘कम्तीमा पछिल्लो पुस्तासम्म यो नृत्यलाई सिकाउने हाम्रो प्रयास हो,’ स्थानीय तुलसा थापाले भनिन्, ‘चासो जगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ ।’ हिले लगायत धनकुटा बजार आसपासका बस्ती तथा चौबिसे क्षेत्रमा पनि संगिनी नृत्य लोकप्रिय बन्दै गएको स्थानीय सरिता बरुवालको दाबी छ । प्रकाशित : कान्तिपुर, चैत्र ७, २०७५ ०८:४४

यसरी नाचिन्छ सँगिनी नृत्य

यसरी नाचिन्छ सँगिनी नृत्य
फाल्गुन २६, २०७५कुम्भराज राई
ओखलढुंगा — सँगिनी नृत्य भन्नाले महिला दिदिबहिनीहरु जम्मा भएर आफ्नो दुःखलाई गीतको माध्यमबाट प्रस्तुत गर्दै तीजको बेलामा नाच्ने संस्कृतीको रुपमा चिनिन्छ ।
https://youtu.be/Pny45oj8i4o
आफना साथीस“गीस“ग दुख बा“डेर रमाउने भएकोले पनि यसको नाम स“गिनी भनिएको हो । तर हिजोआज यहा“को गाउ“घरहरुमा यो परम्परा विस्तारै लोप हु“दै गएको छ ।
यही परम्परा संरक्षण गर्ने उद्देश्यले यहा“को मानेभन्ज्याङ गाउ“पालिकाले बजेट विनियोजन गरेरै अभियान शुरु गरेको छ । स“गिनी नृत्य लोप हुन नदिन विभिन्न प्रतियोगिता र सार्वजनिक कार्यक्रममा प्रस्तुत गरि संरक्षणको अभियान शुरु गरेको हो । स“गिनी मात्र नभएर गाउ“घरमा लोप हु“दै गएका यस्ता परम्परागत स“स्कृतिलाई जगेर्ना गर्न गाउ“पालिकाले अभियान चलाउने जनाएको छ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २७, २०७५ ०७:३३

भन भन देउसे को थिए बलि राजा ?

भन भन देउसे को थिए बलि राजा ?मेदनाथ प्रश्रित
गोरखापत्र, October 28, 2008
दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।
को थिए ती बलि राजा ? कुन मुलुकका र के सङ्कट पर्‍यो ? के नेपालमा गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रलाई आपत परी नार्गाजुनको बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाएको भनेर पैसा मागिन्छ ? म हरेक तिहारमा यस्तै प्रश्नले ठट्टा गर्छु, देउसे भैलेहरू खिस्स हाँस्छन् बस् ।
यसपालि राजा ज्ञानेन्द्र दरबार छाडेर जाँदा बिजुली, पेट्रोल डिजल आदिको लाखौं, करोडौं रुपियाँ दरबारले नतिरेको चर्चा आयो । प्रसङ्गवश बलिराजाको पुरानो कथा कोट्याउन मन लाग्यो ।
पुराण कथाहरूमा अत्यन्त दानी व्यक्तिका रूपमा बलि राजाको नाम प्रसिद्ध छ । जसले जे माग्यो, त्यही दिने अति उदार स्वभावले गर्दा उनको तीन लोकको राज्य नै उड्यो र पातालमा विस्थापित भए । अति गरे खति हुन्छ नेपाली उखान छ । दृष्टान्तमा संस्कृत कविले भनेका छन्-
अति रूपाद्धृता सीतातिगर्वाद्रावणो हतः
अति दानात् बलिर्बद्धो हृयति सर्वत्र बर्जयेत् ।
-अति सुन्दरी भएकीले सीताको हरण भयो, अति घमण्डी हुनाले रावण मारियो, अति दानी हुनाले बलि बन्धनमा परे, त्यसैले कुनै कुरामा पनि अति नगर्नु ।)
राष्ट्रको अति शोषण, गरिब वर्गको अति उपेक्षा लोकतन्त्र न्याय र अधिकार निम्ति आन्दोलन गर्ने जनताको अति दमनको कारणले तीन चार हजार वर्ष पुरानो नेपालको राजतन्त्र परम्परा भर्खरै समाप्त भएको विश्वले देख्यो ।
देव, दानव, असुर मूलतः एउटै पुर्खाका शाखा सन्तान थिए । टाढाटाढासम्म फैलिदै भएपछि जमिन, जड्ढल, पानी पशु आदि कारणले परस्पर विरोध बढ्दै र एउटा पक्षले अर्को पक्षमाथि आक्रमण गरी गाई वस्तुदेखि, गाउँ वस्ती र राज्यसमेत कब्जा गर्ने होड बढ्दै गयो । कहिले समुद्र मन्थन जस्ता साझा उत्पादनका कुरा देवपक्षले लुट्थ्यो, कहिले देवपक्षको सम्पत्ति र स्वर्ग असुर पक्षले कब्जा गथ्र्यो । यस्तै प्रतिस्पर्धामा दानव कुलका शक्तिशाली राजा बलिले इन्द्रको स्वर्ग कब्जा गरे । साधन सम्पन्न, शीतल, समृद्ध, सुखी र स्वस्थ, दीर्घायु हुने र प्रशस्त सुन पाइने ठाउँहरूलाई त्यसताक स्वर्ग, सुरलोक, वैकुण्ठ आदि भनिन्थ्यो । सुमेरु, -पामीर) तियान सियान, त्रिविष्टप -तिब्बत) कास्मिर, सिरिया आदि थुप्रै 'स्वर्ग' थिए । राजा बलिले त्यस्तै महत्त्वका तीन लोक जितेका थिए ।
बलि पुराण प्रसिद्ध दानव राज हिरण्य कसिपुका पनाति, प्रहृलादका नाति, विरोचन र सुरुचिका छोरा थिए । धेरै राज्य जितेपछि उनी अनेक यज्ञ, दान धर्मकर्मतिर लागेर क्रमशः महादानीको रूपमा चर्चित हुँदै गए । उनको ख्याति देखेर देवपक्षलाई असहृय हुनथाल्यो । बलिको लोकपि्रयता, सैन्य शक्ति धन आदि देखेर उनलाई युद्धबाट हराएर आआˆना राज्य खोस्ने आँट देवपक्षले गर्नसकेन र षड्यन्त्रद्वारा परास्त गर्ने योजना बनायो । इन्द्रका भाइ उपेन्द्र अर्थात् विष्णु त्यस्ता काम फत्ते गर्न खूब चतुर थिएर इन्द्रले गुहार मागेपछि विष्णुले षड्यन्त्रका तानाबाना बुने ।
भागवत -८।१८) अनुसार नर्मदा नदीका उत्तर किनारको भृगुकच्छ भन्ने ठाउँमा भृगुवंशी ब्राहृमणहरूको बीचमा बलि राजाले अश्वमेध आदि अनेक ठूलठूला यज्ञ गर्दै थिए । दानदातव्यको लहर चलेको थियो । दैत्य गुरु शुक्रचार्य प्रमुख निर्देशक थिए । त्यसैबेला एउटा पुड्के जोगी वामनको भेषमा -विष्णु) त्यहाँ पुगेर बलिको ठूलो प्रशंसा गर्नथाले । बलिले भने तपाईं यस यज्ञमा मबाट के चाहनु हुन्छ ? वामनले भने म सानो कुरा माग्छु, पक्का दिन्छु भन्ने वाचा गर्नुहोस् ।
कूटनीतिज्ञ शुक्रले यो विष्णुको छल हो भन्ने बुझेर त्यस्तो वाचा नगर्न सल्लाह दिए । तर बलिले आˆनो स्वभाव अनुसार शुक्रको कुरा नसुनी वामनले मागेको दिने वाचा गरे । वामनले बलिको खुब प्रशंसा गर्दै भने तपाईं विख्यात विष्णु भक्त प्रहृलादका नाति हुनुहुन्छ । तपाईंका पिता विरोचन, ठूला ब्राहृमण भक्त हुनुहुन्थ्यो । उहाँले देवताहरूले छल गरेर मागेको बुझेर पनि आˆनो आयु उनीहरूलाई दिनुभयो । मलाई विश्वास छ मैले मागेको कुरामा तपाईंले आˆनो वाचा पक्कै तोड्नुहुने छैन । -भागवत)
बलिले विष्णुको छल चिनेर पनि वाचा नतोड्ने वचन दिए । वामनले भने मलाई तपाईका स्वर्ग, मत्र्य र पाताल तीनवटै राज्य दिनुहोस् । किनभने तपाईं जस्ता महादानीका लागि यी तीन राज्य मामुली तीन पाइला जमिन जस्तै हुन् ।
वाचा हारेका बलिले भने मैले यी तीन लोक तपाईंलाई दिएँ । अब म बस्ने आश्रयस्थल तपाइर्ंले नै दिनुहोस् भनी खुट्टामा ढोगे । विष्णुले आˆनो मूल रूप देखाउँदै भने अब तिमी रसातलमा गएर बस Û देवता पक्षबाट कुनै खतरा भएमा म तिम्रो रक्षा गरुँला । यसरी महादानी बलिको तीनै लोकको राज्य स्वाहा भयो । विष्णुको छलले भएभरको सब कुरा गुमाएर बलि राजा भिखारी भएको देख्दा उनको उद्धार राज्य व्यवस्थामा बसेका जनता ज्यादै दुखी भए ।
अनुश्रुति -दन्त्यकथा) भन्छ बलिको पुनर्वास व्यवस्था निम्ति सघाउन अनुमति लिएर हजारौं जनता चारैतिर छरिएर सबका घरघर पुगी सामूहिक स्वरमा सहयोग माग्न थाले
भनभन साथी हो - देहि श्री,
बलि राजाले पठाए - देहि श्री,
स्वर मिलाई भन - देहि श्री,
दानी राजाले पठाए - देहि श्री,
हामी त्यसै - देहि श्री,
आपत पर्‍यो - देहि श्री,
माग्न आएनौं - देहि श्री,
सहयोग गरौं - देहि श्री,
हामी कोही - देहि श्री,
जुटेर आयौं - देहि श्री,
स्वर्गबाट - देहि श्री,
घुम्दै आयौं - देहि श्री,
कोही हामी - देहि श्री,
जसले देला मानो - उसको सुनको छानो,
जसले देला मुरी उसको सुनको धुरी,
हामीकोही - देहि श्री,
सहयोग पायौं - भैलो
मत्र्यलोकबाट - देही श्री,
तपाईंको जयहोस् - भैलो
यसरी विस्थापित बलिको सहयोग
निम्ति -देहि श्री
-धन दिनुहोस्) भन्दाभन्दै लोकलयमा 'देउसिरे' भयो ।
उसबेला त्यसरी जम्मा गरेको धन बलि कहाँ पुर्‍याइए होला । पछि क्रमशः यो मनोरन्जनको माध्यम भयो । मत्सेन्द्र नाथ जात्रामा भोटो देखाए जस्तो ।
पौराणिक कथा कति यथार्थ हो, कति काल्पनिक, तर कुनै राजा, राष्ट्राध्यक्ष, नेता, मन्त्री असल, विवेकी जनताको हित र उन्नतिमा लागिरहन्छ भने ऊ असुर, दानव, देव मानव जुनसुकै वंशको भए पनि उसलाई चाहे सत्तामा होस् चाहे बाहिर जनताले बलि राजालाई झैँ श्रद्धा, सम्मान र सहयोग गर्छन् । उसको कीर्ति युगयुग उज्यालो रहन्छ । यदि राजा नेता, मन्त्री स्वार्थी लोभी दमनकारी, जनघाती, देशमारा हुन्छन् भने सत्ताभित्र या बाहिर छँदा, बाँच्दा र मर्दा पनि उसलाई घृणाले थुकिरहन्छन् । पुराणकथाले भन्छ देवपक्षमा विष्णुले बलिलाई छलेर राज्य हड्पेका भए पनि बलिराजाको असीमित सुख्यातिले गर्दा पछि स्वयं रसातल पुगी बलिको पूर्ण सुरक्षाको व्यवस्था गरेका थिए ।
आधुनिक अनुसन्धाताहरूले स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदिलाई पृथ्वीका विभिन्न भूभाग र द्वीपद्वीपान्तरका रूपमा समीकरण गर्दैछन् । सरदर पृथ्वीको कर्कट रेखा वरिपरिको भूभाग -प्राचीन सभ्यता विकसित भएका ठाउँ) लाई स्वर्ग समतुल्य, भूमध्ये रेखाबृत्तको गर्मी र कम उर्वर ठाउँ मत्र्य अपिका, अष्ट्रेलिया दक्षिण) अमेरिका आदिलाई पाताल रसातल, महापाताल आदि रूपमा परिभाषित गर्न खोज्दैछन् । अमरकोसले 'बलिसद्म रसातलम्' बलिको निवास रसातल हो ) भनेको छ । त्यो ठाउँ दक्षिण अफ्रिका, अष्ट्रेलया या त्यसैको समकक्षी कुनै टापू हुनसक्छ

बझाङमा हराउँदै भार्ते

https://youtu.be/J1iJAwbSBPo
बझाङमा हराउँदै भार्ते
फाल्गुन ३०, २०७५बसन्तप्रताप सिंह
बझाङ — तल्कोट–१ सुनिकोटका ५५ बर्षिय प्यारु आउजी भार्ते हुन् । उनले विवाह, वर्तबन्ध र अन्य उत्सबहरुमा गाउने, कथा बाचन गर्ने तथा डमरु बजाउदै नृत्य गर्न थालेको ४५ बर्ष भयो ।
उनले लयात्मक कथा बाचन र गायनको माध्यमबाट, युद्ध, महामारी, देवता दानव, प्रेम आदी विषय बोकेका कथाहरू भन्छन् । भार्तेले भन्ने कथाको विषय जे सुकै भए पनि कथाको सन्देश सामाजिक एकता, शान्ति र सदभावको हुन्छ । स्थानिय बोलीमा भार्तेले भन्ने कथालाई भार्ता भनिन्छ ।
कुनै बेला हरेक जसो विवाहमा भार्ते हुन्थ्यो । १० बर्षयता भने भार्तेको चलन हराउदै गएको छ । माग हुनै छोडे पछि नयाँ पुस्ता भार्ते जन्मिनै छोडेको र पुराना भार्तेहरूपनि बुढ्यौलीमा प्रबेश गरिसकेकाले भेटिन छाडेका छन् । यसले गर्दा मौलिक परम्परा र सुदुरपश्चिमेलीको साँस्कृतिक अस्तित्व लोप हुदै गएको छ । प्रकाशित : फाल्गुन ३०, २०७५ १७:४०

संकटमा हुड्केली नाच

संकटमा हुड्केली नाच
लक्ष्मणओझाशनिबार, ०२ चैत २०७५, ०८ : ५२ |  नागरिक
दुई दशकअघिसम्म सुदूरपश्चिममा हुड्केली नाच्ने प्रचलन थियो। त्यतिबेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा हुड्केली नचाइन्थ्यो। तर, पछिल्लो समय भने नाच लोप हुने अवस्थामा पुगेको छ। पश्चिमे संस्कृतिको आकर्षणले नाच लोप हुने अवस्थामा पुगेको जानकार बताउँछन्। ‘आधुनिकताका नाममा यो नाच लोप हुने अवस्थामा पुगेको छ,’ संस्कृतिसम्बन्धी जानकार डोटीका मदनराज ओझाले भने।
जानकारका अनुसार दुई दशकअघिसम्म गाउँगाउँमा हुड्केली नाच्ने भेटिन्थे। तर, अहिले मुस्किलले भेटिन्छन्। नयाँ पुस्ताले यसप्रति चासो नदिँदा यसप्रति कसैले चासो नदिएको उनीहरूको भनाइ छ। लामो समयदेखि हुड्केली नाच नाच्दै आएकाहरू पनि नयाँ पुस्ताले चासो नदिँदा हुड्केली लोप हुने अवस्थामा पुगेको बताउँछन्। पहिले हुड्के नाचेरै घरखर्च चलाउन सकिन्थ्यो। तर, अहिले त्यो अवस्था नरहेको उनीहरूको भनाइ छ। हुड्केली नाच्नेलाई स्थानीय भाषामा ‘हुड्के’ भनिन्छ।
हुड्केली नेपालको पश्चिमी भेगको प्रचलित नाच मानिन्छ। यो हुड्का (डमरुजस्तै एक हातले बजाउन मिल्ने बाजा) को तालसँग नाचिन्छ। यसमा राजा महाराजका तथा पौराणिक गाथा गाइन्छ। हुड्केलीमा एक मुख्य हुड्के र अन्य चार–पाँच जना सहायक हुड्के हुन्छन्। यो नाचमा मुख्य हुड्केले गाएको गीत सहायक हुड्केले लय मिलाउँदै गाउँछन्। हुड्केली नाच्नेले सेतो पहिरन लगाएको हुन्छ भने टाउकोमा पनि सेतो पकडी बाँधेको हुन्छ। त्यस्तै, रातो कपडा छड्के पारेर कम्मरमा बाँधेको हुन्छ।
भारतको उत्तराखण्डमा यो नाचलाई छलिया भन्ने गरिएको छ। हुड्के नाच्दा राजाका ऐतिहासिक तथा पौराणिक गाथा गाइन्छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सुदूरपश्चिम संयोजक एवम् लोक देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ पछिल्लो समय यस क्षेत्रका कला संस्कृति हराउँदै गएको बताउँछन्। ‘नयाँ पुस्तामा पश्चिमे संस्कृतिमा मोह भएकाले नै परम्परागत संस्कृति धरापमा परेको छ,’ उनी भन्छन्, ‘यसको असर हुड्केली नाचमा पनि परेको छ।’ तसर्थ, यसतर्फ सरकारले पहल थाल्नुपर्ने उनको माग छ।

Wednesday, June 12, 2019

मकैको बिहे !

मकैको बिहे !
फाल्गुन १५, २०७५हरिराम उप्रेती
लाप्राक, गोरखा — दुलाहा र दुलही दुईतिर गाउँलेहरू बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका–४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलाहाको घर ठूलोआँगन, दुलहीको घर फिसी ।
बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर फिँजाएका थिए । तीन दिनअघिदेखि नै बिहे प्रक्रिया सुरु भएको थियो । आइतबार लाप्राककै मनिडाँडामा काङछोय (डाँडामा गरिने पूजा) भयो । सोमबार बेलुकी दुई घोगा मकै ज्योतिषले जमिनमा गाडे । ‘हिजो (सोमबार) वरणी गरियो । त्यसपछि झाँतो चलाउन, मादल बजाउन, मकै भुट्न, होहल्ला गर्न, खनजोत गर्न नहुने मान्यता छ, कसैले गरेनन्,’ स्थानीय बिसबहादुर गुरुङले भने, ‘आज (मंगलबार) साइत हेरी हिजो गाडेको मकै झिकेपछि बिहे सुरु भएको हो ।’
गाउँलेले मंगलबार बिहान ठूलो आँगनबाट दुलाहा अन्माए । गाउँ परिक्रमा गर्दै जन्ती दुलही पक्ष बसेको स्थान फिसी छ्याक्याङ पाखा पुग्यो । जन्तीलाई सिबी चौतारामा दुलही पक्षका आफन्तले छेके । केही रकम दिएपछि जन्ती अघि बढ्यो । ‘यहाँ गाउँलेले पैसा जोहो गर्छन्, जन्तीलाई अलि–अलि पैसा तिराउन पर्छ, बल्ल जान दिने हो, पहिलेदेखि गरिआएको चलन,’ स्थानीय गोविन्द गुरुङले भने । दुलही पक्षले दुलाहा पक्षलाई ठाउँ–ठाउँमा बाटो छेके ।
छ्युाक्याङ पाखामा पातीको बुटामा कपडा बेरेर बनाएको घर पुगेपछि दुलही फकाउन दुलाहा पक्षलाई हम्मेहम्मे पर्‍यो । स्थानीय साइँली गुरुङले दुलहीकी आमा बनेकी करमाया गुरुङलाई फकाउन प्रयास गरिन् । नौतले घर रहेको, सुख सयलले पाल्नेलगायत प्रलोभन देखाइन् । अन्त्यमा एक बोत्तल रक्सी दिएपछि दुलही पक्ष राजी भयो । ‘कन्ये हुनुपर्छ, दुलही लिएर बाजा बजाउँदै गाउँभरि डुल्ने हो,’ साइँलीले भनिन् । एउटै गाउँको बिहे भए पनि जन्ती फेरि ठूलो आँगन पुग्दा साँझको ५ बज्यो ।
मकैको बिहेलाई रमाइलो बनाउन कन्ये केटी र केटालाई दुलाहादुलही बनाउने गरेको गाउँलेले बताए । ‘एउटा घरकाले गच्छेअनुसार मकै दिएको हुन्छ, त्यो मकै आधा भुटेर जन्तीलाई खाजा बाँडिन्छ, नभुटेको मकै बीउ राखेको ठाउँमा मिसाइन्छ,’ बिसानी गुरुङले भनिन् । उक्त मकै बीउमा मिसाउँदा धेरै उब्जनी हुने स्थानीयको विश्वास छ ।
साँझ घाटु नाचेपछि लाप्राकीको यस वर्षको मकै बिहे सकिएको छ । यहाँको मुख्य खाद्य बालीका रूपमा रहेको मकै छर्नेबेला यसरी बिहे गर्दा उब्जनी राम्रो हुने जनविश्वास छ । ‘बिहे नगरी मकै छर्न हुँदैन भन्ने मान्यता छ, यो वर्ष अहिलेसम्म लाप्राकमा कसैले मकै छरेका छैनन्,’ बिसानीले भनिन्, ‘भोलिबाट छर्न सुरु हुन्छ ।’

वडाध्यक्ष राज गुरुङका अनुसार यो परम्परा बोन संस्कृतिमा आधारित छ । धार्चे आसपासका गाउँमा पनि यो चलन छ । ‘यो प्राकृतिक पूजा हो । धर्ती, माटो, हावा, पानीको पूजा गरेपछि अशुभ हुँदैन,’ उनले भने ।
बारी खनजोत गरेर तयारी अवस्थामा राखेका गाउँलेहरूले अब बीउ छर्नेछन् । ‘मानो रोपेर मुरी उब्जाउन पूजा गरिन्छ,’ उनले भने, ‘नांगा जमिनमा हरियाली होस्, धेरै फलोस् भन्ने कामना पनि हो यो ।’
स्थानीयवासीका अनुसार १६औं शताब्दीदेखि यो परम्परा जारी छ । प्रकाशित : kantipur, फाल्गुन १५, २०७५ ०८:२८

Tuesday, June 11, 2019

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’
कार्तिक ६, २०७४अर्जुन राजवंशी
दमक — तिहारसँगै पूर्वी तराईका आदिवासी गाउँहरूमा हुदुरधुरा नाच सुरु भएको छ । लक्ष्मी पूजा गरेपछि सुरु हुने नाच हरिबोधनी एकदशीसम्म चल्ने गर्दछ ।
यो नाच झापा र मोरङका आदिवासी बाहुल्य गाउँहरूमा देखाउने गरिन्छ । राजवंशी र ताजपुरिया जातिको सांस्कृतिक नाचलाई करिब दुई सातासम्म विशेष रूपमा मनाइने गरिन्छ । पहिलापहिला टोलै पिच्छे देखाइने यो नाच पछिल्ला वर्षहरूमा भने संस्कृति संरक्षणका हिसाबले देखाउन थालिएको छ । ‘आदिवासी समुदायमा तिहारको रौनक भर्ने भनेकै हुदुरधुरा नाचले हो,’ राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले भने, ‘लक्ष्मी पूजा गरिसकेपछि गाउँगाउँ घुम्दै यो नाच देखाउने गरिन्छ ।’
यो नाच समूहमा देखाइन्छ । बाजागाजासहित कम्तीमा ८–१० जनाको समूहमा यो नाच देखाइने गरिन्छ । नाचको विशेष आकर्षक ‘बातियाँ’ र ‘छक्री’ हुने गर्दछ । अन्यले बाजा बजाउँदै गीत गाउने गर्छन भने बातियाँ र छक्रीले नाटकीय शैलीमा ‘स्लोक’ हरू भन्ने गर्छन् । नाचमा उठाइएका सामाजिक विषयवस्तुलाई बातियाँ र छक्रीले आफ्नै जीवनकालको घटनाझंै प्रस्तुत गर्छन् । नाचको माध्यमबाट समाजको विकृति विसंगतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिने भएकाले यो नाच आदिवासी समुदायमा विशेष मानिन्छ । यो नाचलाई राजधानीमा मनाइने गाईजात्रा पूर्वकै अर्को रूप भएको आदिवासीअगुवाहरू बताउँछन् ।
‘जेठाजु–बुहारी, देवर–भाउजू, परपुरुषसँगको सम्बन्धसहित समाजमा देखिने अन्य विभिन्न विकृतिजन्य घटनालाई यस नाचबाट व्यंग्य गर्ने गरिन्छ,’ पूर्वगृहराज्य मन्त्रीसमेत रहेका राजवंशीले भने । उनले समाजलाई विकृतिमुक्त गर्न यस नाचको महत्त्व विशेष रहेको बताए । हुदुरधुरा नाच राजवंशी, ताजपुरिया, गनगाई र थारू समुदायले देखाउने गर्छन् । झापाको जुरोपानी, गौरीगन्ज, खजुरगाछी, कोरोबारी, कुञ्जिबारी, रंगियाथान, शिवगञ्ज, चकचकी, घैलाडुब्बा, डाँगीबारी, राजगढ, घेराबारी, पथरिया, बनियानी, महेशपुर, ज्यामिरगढी, बिर्ताबजार तथा मोरङको कटहरी, दादरबैरिया, अमरदहलगायतका स्थानहरूमा हुदुरधुरा नाच देखाउने गरिन्छ ।
यसपालि भने हुदुरधुरा नाच तिहार अघिदेखिनै सुरु भएको छ । आश्विन २८ गतेदेखि मोरङ अमरदहका युवाहरूले नाच सुरु गरेका हुन् । झापामा कोचिला गाभुर फ्रन्टको सांस्कृतिक समूहले नाच देखाउँदैछ । घैलाडुब्बा, चारपाने, चैतुबारी, बिर्ताबजारलगायतका स्थानमा नाच देखाउने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । आदिवासी बाहुल्य पथरिया, घेराबारी, पाठामारी, हल्दिबारीलगायतका स्थानमा पनि नाचको तयारी गरिएको छ । पथरियामा ४ गते एक दिने कार्यक्रम राखिएको छ ।
‘नयाँ पुस्ताको ध्यानाकर्षण गराउनका लागि हामी पनि युवाहरूले नै यसपालि यो नाच देखाउने तयारी गरेका छौं,’ राजवंशी समुदायका कलाकार मनोरथ राजवंशीले भने, ‘संस्कृति बचाउनका लागि यति हिम्मत त, गर्नैपरेको छ ।’ उनले आदिवासी समुदायको आर्थिक अवस्था खस्किएसँगै संस्कृति पनि लोप हुँदै गएको टिप्पणी गरे । नाच संरक्षणका लागि मोरङको कटहरीमा बर्सेनि हुदुरधुरा जात्रा आयोजना गरिन्छ । जात्राका क्रममा मंसिर १५ गते हुदुरहुरा नाचसहितको र्‍याली विराटनगर परिक्रम गर्ने गरिन्छ ।
प्रकाशित : कान्तिपुर, कार्तिक ६, २०७४ ०९:४७

१९ वर्षपछि सल:चा नाच

१९ वर्षपछि सल:चा नाच
श्रावण २७, २०७४सुनीता साखकर्मी
काठमाडौं — भक्तपुर– २०५५ साल । मंसिरको महिना चिसिँदै थियो । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दै थियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झाँकी लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर ठिमी नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू ।
उनीहरूले ‘सल:चा प्याखं’ (घोडा चढेर नाचिने नाच) प्रस्तुत गरिरहँदा मान्छेहरूको भीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंको भीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षको उमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।
१९ वर्षपछि आफ्नै टोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्ने भएका छन् । बुधबारदेखि यो नाच फेरि सुरु भएको छ ।
के हो सल:चा ? 
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन् । महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन यो नृत्य निकालिन्छ । ‘पोसाकको रंगअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्यबारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातो वस्त्रमा भीम, नीलो वस्त्रमा अर्जुन, पहेंलो वस्त्रमा नकुल र सेतो वस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन् ।’
कान्छाजस्तै विकुमानले पनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैले पाउँदैनथे । गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास दयो (नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टाँ, झयाली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवको गीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।
किन रोकियो ? 
‘भिजिट नेपाल’ को झाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो । दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो । ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन् । नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउने गरी पचास/साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सल:चा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकाले पनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएको छैन ।’
यसरी फेरि सुरु गरियो 
नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नो ठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नो पहिचान र गौरव नै मेटिएर जाने भएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खल:’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सल:चा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्ने भयौं,’ कमिटीकै धनकाजी भासिमाले भने, ‘१९ वर्षपछि हाम्रो आफ्नै नाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनले नेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन् ।
प्रकाशित : कान्तिपुर, श्रावण २७, २०७४ ०९:०९

लोप हुँदै ऐतिहासिक नाच

लोप हुँदै ऐतिहासिक नाच
मंसिर २२, २०७५भरत जर्घामगर
सिरहा — मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोकगाथासँग जोडिएको दुई दर्जन बढी प्राचिन लोक–नाचहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
सातौ तथा आठौं शताब्दीदेखि चलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा बिकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सित वसन्त, राजा सलहेश, जंगली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर फूल, अल्लाहा रुदल जस्ता प्राचिन लोकप्रिय नाचहरू अचेल लोप भएका छन् ।
यस्तै मिथिला क्षेत्रमा अति लोकप्रिय रहेका दिनाराम दिनाभद्री, सति बिहला, दुलहा दयाल सिंह, विषहरा, राजा हरिचन्द्र जस्ता नाचहरू लोप भएका छन् । वर्षौंदेखि जंगली बादशाह कम्पनीमा काम गर्दै आएका सप्तरी पोखरीयाका रामचन्द्र पासवानले नाचबाट नै कमाएर परिवारलाई पाल्दै आएका थिए । तर अचेल नाचको माग घटन थालेपछि पासवान अरुको घरमा मजदुरी गरी परिवार पाल्न बाध्य छन् ।
नाच कम्पनीहरू बन्द हुँदा यसमा आवद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका नाचहरू बढ्दो महँगी, सिडिक्यासेटले प्रभावित भएको पासवान बताउँछन् ।
सिरहा १ का ५२ वर्षीय सैनी पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोकगाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी ‘राजा सलहेश’ को पोसाकमा सजिएर स्टेजमा उत्रदा दर्शकले प्रतापी राजा सलहेश नै हो भन्न बाध्य हुन्थे र दशर्कले तालीको गुन्जनले स्वागत गर्थे । ३१ वर्षे नाट्य अभिनय यात्रामा दर्शकको स्वागत नै उनको अभिनय यात्राको निरन्तरता थियो । तर अहिले लोक–नाचप्रति दर्शकको रुचि नभएको उनी सुनाउँछन् ।
सैनीसहित २० जना आबद्ध नवयुवक थ्रेटिकल नाच पार्टीले लोक–नाचहरूमा राजा सलहेशको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरेर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल थिए । उनको नाच पार्टीले महिनैभरि सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहार लगायतका क्षेत्रमा ‘राजा सलहेस’ को लोकगाथाको नाटकको माध्यमबाट वर्णन गरिसकेका छन् ।
‘मिथिला संस्कृतिका लोकगाथाका नाचहरूको गाउँघरमा माग छैन,’ उनले भने, ‘त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश हानिएका छन् ।’ उनका अनुसार अहिले पनि सलहेस नवयुवक थ्रेटिकल नाच पार्टीमा बाध्य वाधनका सम्पूर्ण सामग्री लगायत पोसाकसहित एक लाख बराबरको भौतिक सामग्री छन् । उनको टोलीले एक रात नाटक देखाएबापत ४० हजाररुपैयाँ पाउँथे ।
महिनामा नाटक देखाउन उनको टोली २० दिन सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहारका गाउँगाउँमा हुन्थे । ‘अहिले पनि विवाहको समय तथा चाडबाडका अवसरमा यस्ता नाचहरू खेल्ने गरिन्छ,’ उनले भने, ‘तर यस्ता लोकप्रिय तथा ऐतिहासिक नाचहरूलाई राज्यपक्षबाट कुनै किसिमको संरक्षण र कालाकारहरूलाई प्रोत्साहन समेत नपाएकाले कामको खोजीमा कालाकारहरू बिदेसिएका छन् ।’ यी नाचलाई संरक्षण र जगेर्नाका लागि पनि सरकार र स्थानीय तहले बजेट दिएर कलाकारको सम्मान गर्नुपर्ने उनले बताए । प्रकाशित : कान्तिपुर, मंसिर २२, २०७५ ०९:३४

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...