Thursday, June 13, 2019

रौनक गौराको


रौनक गौराको
भाद्र १९, २०७५डीआर पन्त
डडेलधुरा — भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।
लालावाला पाल्न बिदेसिएका वा तराई झरेका कतिपय परिवार पनि गाउँ फर्किएका छन् । सदरमुकाम र स्थानीय बजारमा किनमेल गर्नेको घुइँचो छ । समृद्ध सांस्कृतिक पर्वका रूपमा मनाइने गौरा पर्वका अवसरमा गाउँगाउँमा विभिन्न भाका र लयमा देउडा घन्किन थालेका छन् । सबै वर्ग, जातजातिले मनाउने सांस्कृतिक संगमको पर्वले यति बेला सिंगो सुदूरपश्चिम गौरामय भएको छ ।
गौरापर्वका बेला गाउँगाउँमा रहेका मठमन्दिरमा महिला, पुरुष, बालबालिका भेला भएर विभिन्न लोकगाथा गाउने र देवीदेउताको पूजाअर्चना हुने गर्दछ । ‘गाउँगाउँमा बेग्लाबेग्लै गौरा हुन्छिन्,’ संस्कृतिविद् डा. भोजराज पन्त भन्छन् । जातीय सद्भाव, सामाजिक सद्भाव र सांस्कृतिक मिलनको रूपमा गौरा समूहगत रूपमा मनाइने पर्व हो ।
गाउँगाउँमा गौरा महोत्सव आयोजक समितिले पर्व मनाउनका लागि व्यवस्थापन गरिरहेका छन् । पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर बनाइने बिरुडासँगै सुरु हुने गौरा झन्डै एक हप्तासम्म धुमधामका साथ मनाइन्छ ।
धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउंँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।
अविवाहित कन्याहरूले घर भित्र्याउने गौरा सेलाउँदा भने विवाहित बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विसर्जन गर्ने परम्परा रहेको छ ।
कुनै गाउसँग गौरा नभए धार्मिक विधिअनुसार गौरा हुने गाउँबाट माग गर्ने परम्परा रहेको पन्तले बताए । ‘यति पुरानो आदि सभ्यता र मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोककाव्य अन्य कुनै पनि संस्कृतिमा भेटिँदैन,’ डा. पन्तले भने, ‘गौरामा गाइने लोककाव्यहरूको संग्रह बनाउने हो भने महाकाव्य नै निर्माण हुन्छ ।’ यो पर्वमा महिलाले गौरी र शिव पूजा गर्छन् । पुरुषहरूले विभिन्न देव गाथाहरू चैत र ठाडोखेलका रूपमा गाउँदै देवतारुलाई आह्वान गर्छन् ।
डोटेली संस्कृतिका शोधकर्ता डा. नरेन्द्रदेव भट्ट भन्छन्, ‘गौरा एउटा मात्र पर्व नभई सांस्कृतिक पर्वहरूको संगम पर्व हो ।’ रामायणकालीन सभ्यतासँग जोडिएका दर्जनौं लोककाव्यहरू गाइने र विविध संस्कृतिलाई गौरा पर्वमार्फत एकै ठाउँमा जोड्ने अद्भुत संस्कृतिको संगम मानिन्छ गौरा पर्व ।
हिमालय पुत्री गौरीले शिव प्राप्त गरेका लोककाव्य, त्रेता युगमा अवतार लिने भगवान् रामका कथा, भगवान् कृष्णका लीलादेखि महाभारतकालीन वीरहरूका पौराणिक गाथासँगै नेपाल एकीकरणका वीरहरूको लडाइँका गाथा गाइने यो गौरा पर्व डोटी प्रदेशमा रहेका बहुल सांस्कृतिक पर्वलाई एकै ठाउँमा जोड्ने पर्वका रूपमा युगौंदेखि मनाइँदै आएको संस्कृतिविद् डा. पन्तले बताए ।
‘गौरा आदिपर्व हो,’ ‘गौरा संस्कृति र डोटी प्रदेशको इतिहास’ पुस्तकका लेखक पं. दयानन्द पन्तले भने, ‘आर्य सभ्यताको सबैभन्दा पुरानो संस्कृति कालान्तरमा गौरा सभ्यताका रूपमा विकसित हुँदै आएको हो ।’ नेपालको सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेश, भारतको कुमाउँ, गढवाल, हिमाञ्चलका केही भू–भाग हुँदै कश्मीरसम्म मनाउने परम्परा रहेको उनले बताए । कुमाउ, गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिमाञ्चल र कश्मीरमा भने केही भिन्न रहेको पं. पन्तले बताए ।
अमुक्ताभरण सप्तमीका दिन भित्र्याइने गौरा एक हप्तासम्म पूजाअर्चना गरी स्थानीय देवीदेवताका मठमन्दिरमा लगेर विर्सजन गरिन्छ । प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘माइतबाट चेलीबेटी बिदा गरेजस्तै गौरा देवीको बिदाइ हुन्छ ।’
अचेल गौरापर्व देउडा र नाचगानमात्रै सीमित थालेको डडेलधुराका साहित्यकार कैलाश पाण्डेयको चिन्ता छ । भने, ‘पुरानो पुस्ताले चाडपर्वका बेला लगाउने पहिरन पनि लोप हुँदै गएको छ, गौरा पर्वको महत्त्वलाई जीवन्त राख्न र संस्कृति जोगाउन सामाजिक जागरण आवश्यक छ ।’
प्रकाशित : कान्तिपुर, भाद्र १९, २०७५ ०९:११

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...