Wednesday, June 12, 2019

लोकसंकृति प्रवर्द्धनमा स्थानीय सरकारको ध्यानाकर्षण

लोकसंकृति प्रवर्द्धनमा स्थानीय सरकारको ध्यानाकर्षण 
कार्तिक १५, २०७५कान्तिपुर संवाददाता
भोजपुर — लोकवार्ता परिषद् नेपालले स्थानीय लोकसंस्कृतिको जगेर्ना गर्न नगरपालिका र गाउँपालिकाको विशेष ध्यानाकर्षण हुनुपर्ने माग गरेको छ । परिषद्को भोजपुरमा बिहीबार सम्पन्न आठौं सम्मेलनपछि नौ बुँदे घोषणापत्र जारी गर्दै उक्त माग गरेको हो ।
‘नेपालको संविधान २०७२ ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संवर्द्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको हुँदा लोकवार्ताका विभिन्न विधा र प्रतिभाको संरक्षण संवर्द्धनका निमित्त नगरपालिका र गाउँपालिकालाई सचेत रुपमा सक्रिय हुन आह्वान गर्दछौं,’ घोषणापत्रमा भनिएको छ ।
‘हाम्रो परम्परा हाम्रो पहिचान’ नारासहित सम्पन्न तीन दिने सम्मेलन प्रदेश नम्बर १ भोजपुरको सदरमुकाम, अरुण पौवादुम्मा गाउँपालिका र दिङ्गलामा सम्पन्न भएको हो । सम्मेलनमा लोकवार्तासम्बन्धी विविध पक्षका ६१ वटा गोष्ठीपत्र प्रस्तुत गरिएका थिए । साथै सहभागीलाई भोजपुरका टक्सार, प्याउली गढी, दिङ्लालगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको अवलोकन, निरीक्षण गराइएका थिए ।
सदरमुकाममा भव्य ऱ्यालीसहित सुरु भएको सम्मेलनको अन्तिम दिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । घोषणापत्रमा भोजपुर सदरमुकाम जोड्नेलगायत विभिन्न गाउँपालिकाका सडकहरु तत्काल निर्माण गर्नु पर्ने, षडानन्द–योगमाया विश्वविद्यालय तथा प्राज्ञिक प्रतिष्ठान स्थापना गर्नु पर्ने माग गरिएको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयले लोकवार्ता विषय पठनपाठन व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
लोकवार्ता परिषद् नेपालको भोजपुरमा सम्पन्न आठौं सम्मेलन समापन समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला, परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्री, भोजपुर क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठलगायत । तस्बिर सौजन्य : डिल्लीरमण सुवेदी प्रकाशित : कार्तिक १५, २०७५ १९:२८

सुदूरमा चेली भेटघाट र हुडे नाच


सुदूरमा चेली भेटघाट र हुडे नाच
खगेन्द्र अवस्थी
चैत्र २७, २०७३
चैत महिनाको सुरुवातदेखि सुदूर पहाडका बासिन्दा दिदीबहिनी भेटघाट र हुडे नाचमा व्यस्त छन् । दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँमा चेलीबेटीलाई ‘भिटौलो’ दिन भ्याइनभ्याई छ । यससँगै गाउँ–गाउँमा हुडे नाच चलेको छ ।
माइती पक्षले छोरीबहिनीलाई कोसेलीसहित भेटघाट गर्ने चलनलाई भिटौलो भन्दै आएका हुन् । वसन्त ऋतुको सुरुवातसँगै दलित (हुडे) समुदायका अगुवाबाट हुडे नाचमा ऋतुराग गाउने चलन छ । धार्मिक किंवदन्तीअनुसार देउताले राक्षससित गरेको लडाइँ र बाइसेचौबिसे राज्यका घटनालाई हुडेली गीतका माध्यमबाट सुनाइन्छ । बाइसेचौबिसे राज्यका बेला सुदूरपश्चिममा शासन गरेका राजाहरूको बखान, सुदूरपश्चिमेली तथा कुमाउनी सभ्यता र संस्कृतिलाई गीत र नृत्यका माध्यमले प्रस्तुत गरिँदै आएको बुढापाकाहरू बताउँछन् ।
‘भिटौलो’ को चलनले भाइबहिनीको प्रेम तथा माइती पक्षको स्नेहको प्रतीकका रूपमा लिने गरेको छ । चैत महिनामा विवाहित दिदीबहिनीलाई दाजुभाइ र माइती पक्षले घरमै गएर भेटघाट गरी कोसेली दिने परम्परा छ । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एक पटक भेट्नुपर्ने परम्पराले सुख–दु:ख आदानप्रदान गर्दै आएको स्थानीय भोजराज जोशीले बताए ।
भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्‍याउने गरिन्छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँछिमेकमा बाँड्ने चलन छ । विवाहित महिला चैत महिनामा माइती भेटघाटमा आउने प्रतीक्षामा बस्ने गरेको स्थानीय बताउँछन् । पहिले खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सन्चोबिसन्चोसमेत थाहा नहुने र वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइती सम्झना आउने हुँदा यो चलन बसेको जोशी बताउँछन् ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र आर्थिक अवस्थाअनुसार कपडा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई लगेर दिने परम्परा निरन्तर चलेको छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । सहोदर दाजुभाइ नभएका परिवारमा नजिककाले गएर भेट्ने चलन रहेको धार्मिक अगुवाहरू बताउँछन् ।
हुडे समुदायका व्यक्ति चैत महिनाभरि गैरदलित समुदायको घरआँगनमा गएर हुडे नृत्य र कथा सुनाउने चलन छ । घर आँगनमा आएका हुडेलाई अन्न र पैसा दिए शुभ हुने मान्यता छ । दलितमध्येका बादी, दमाईं समुदायले गैरदलितको घरमा गएर हुडे नाच देखाएर अन्न र पैसा माग्छन् । गाउँमा बसोबास गर्ने दलितले आफ्नो गाउँमा यो नाच देखाउँछन् । बिहे, व्रतबन्ध जस्ता शुभ कार्यमा पनि हुडो बजाएर रमाइलो गर्ने चलन छ ।
महिला र पुरुष दुवै ‘जोडी’ बनाएर गाउँछन् । पुरुष बजाउने महिलाको नाच्ने जिम्मेवारी हुन्छ । यहाँका बासिन्दाले मान्दै आएको कुमाउनी संस्कृतिबाट भित्रिएको नाच प्रदर्शन गर्न सीमा जोडिएका गाउँमा भारतबाट समेत हुडे आउँछन् । भारतको कुमाउ क्षेत्र र सुदूरपश्चिमका पहाडी जिल्लाको भाषा र संस्कृति मिल्दोजुल्दो रहेको छ । काठ र छालाबाट गाउमै बनाएको मादल जस्तै हुडो बनाउँछन् । पछिल्लो पुस्तामा हुडेली नृत्य र वादनकला लोप हुँदै गएको छ । युवायुवतीले चासो नदिँदा हुडो बजाउने कला र परम्परागत कथा पुस्तान्तरण हुन नसकेको सुर्नया ५ का देवराम लुहार बताउँछन् ।
प्रकाशित : चैत्र २७, २०७३ ११:३८

सन्देशमूलक स्वस्थानी

सन्देशमूलक स्वस्थानी
स्वस्थानी कथाले समाजका अनेक पाटा बोकेको छ । यो तत्कालीन समाजको ऐना हो । केही आलोच्य पक्ष होलान् तर धेरै अर्थमा सन्देशमूलक छ । यसबाट आवश्यक सन्देश मात्र ग्रहण गरौं ।
फाल्गुन ७, २०७५रामेश्वरी पन्त
काठमाडौँ — हामीकहाँ आयातित ‘प्रेम दिवस’को हल्ला धेरै हुने गर्छ । तर आफ्नै पूर्वीय दर्शनभित्रका कैयांै सुन्दर प्रेमकथाबारे अनभिज्ञ छौं । प्रेम दिवस अक्सर स्वस्थानी व्रत अवधिमा पर्छ । स्वस्थानी कथा एउटा आदिम प्रेमको अनुपम कथा पनि हो भनेर कमैलाई थाहा होला ।
स्वस्थानी कथामा वर्णित महादेव–सतीदेवी–पार्वतीको प्रेम सायद सृष्टिको पहिलो प्रेमकथा हो । स्वस्थानी कथामा वर्णित शिव–सती विवाह प्रसंग अन्तर्गत जब महादेवले सम्पूर्ण देवताको विवाह भएको खबर पाउँछन्, तब उनको संन्यासी मन र एक्लो फिरन्ते जीवनले पनि साथीको आवश्यकता महसुस गर्छ ।
गृहस्थ जीवन परिकल्पना गर्छ र दक्षप्रजापतिका तेत्तीसकोटी कन्यामध्ये विवाह गर्न बाँकी रहेकी जेठी छोरी सतीदेवीको हात माग्न पुग्छन् । घर न बासको फिरन्ता जोगीलाई आफ्नी सर्वप्रिय छोरी दिन दक्षले इन्कार गर्छ र शिवलाई अपमानित गर्दै घरबाट निकालिदिन्छ । शिवको सतीदेवीसँग एकोहोरो प्रेम बसिसकेको हुन्छ । उनी हार मान्दैनन् र जसरी पनि उनलाई प्राप्त गरेरै छाड्ने अठोटले विष्णुको सहयोग माग्न जान्छन् । अन्तत: उनै विष्णुले आफ्नालागि भनेर सतीदेवीको हात माग्छन् र छलपूर्वक महादेवसँग सतीदेवीको विवाह गराइदिन्छन् ।
विवाहपछि शिव र सतीको प्रेम यति उत्कर्षमा पुग्छ कि उनीहरू एकअर्काको निम्ति ज्यानकै बलिदानी गर्नेदेखि पागलसम्म बनिदिन्छन् । आफ्नै पिताबाट आफ्नो प्राणप्यारो पतिदेवको अपमान भएको सहन नसकेर यज्ञकुण्डमा हामफालेर सतीदेवीले आत्मदाह गर्छिन् । यो खबर पाएपछि शिव तत्काल दक्षको यज्ञमा पुग्छन् र सतीको मृत देहलाई यज्ञकुण्डबाट बाहिर निकाल्छन् । उनको देहमा लागेको धुलो खरानी टकटक्याइदिन्छन्, मुसार्छन्, बोलाउँछन्, म्वाइँ खान्छन्, उभ्याउन खोज्छन् । सतीको वियोगमा विछिप्त भएका महादेवले उनको मृत देहलाई अँगालो हालेर निकै बेर विलाप गर्छन् र अन्त्यमा उनको शरीरलाईआफ्नो शिरमा धारण गर्दै भन्छन्–
‘सती ! त्वं मम भार्यासि, लोकलज्जां परित्यज्यन् ।
मूध्र्ना वहामि ते देहं भाग्यं मम महत्तरम् ।।
– देवी भागवत् ।
(हे सती ! तिमी मेरी पत्नी हौ, तैपनि लाजै पचाएर तिमीलाई मैले शिरमै धारण गरेँ । तिम्रो पवित्रताको मैले सम्मान गरेँ । यो मेरो ठूलोभाग्य हो ।)
हाम्रो समाजमा पत्नीलाई पतिले शिरमा धारण गर्नु अथवा पतिभन्दा पत्नी उच्च स्थानमा रहनु लोकलज्जाको विषय हुने गर्छ । पत्नीले देवी नै भए पनि पतिको पाउ धुनुपर्ने, तर पतिले चाहिँं भुलवश वा प्रेमवश पत्नीको पाउ छुनु वा उसलाई उच्च स्थान दिनु अपराधजस्तै ठान्ने हाम्रो समाजमा यसरी महादेवले सतीको मृतदेहलाई शिरमा धारण गर्दा लोकलज्जा त्याग्नुपरेको कथाले भनेको छ । महादेवले प्रेमपूर्वक सतीलाई सम्मान गर्नुलाई सकारात्मक सन्देशका रूपमा हेर्नुपर्ने हुन्छ ।
विछिप्त शिव सतीको मृत देहलाई काँधमा बोकेर बेहोसीमै यत्रतत्र भौंतारिँदै हिँड्छन् । सतीको शरीर कुहिएर एकपछि अर्को गर्दै अनेक अङ्ग अनेक ठाउँमा खस्दै जान्छ । सतीको देह कुहिएर खस्दै सकिन्छ । शिवको भने चेतना फर्कंदैन । शिवलाई सामान्य अवस्थामा फर्काउन देवताहरूले अनेक प्रयास गर्नुपरेको कुरा कथामा पाइन्छ ।
उता जहाँ–जहाँ सतीका अङ्गपतन हुन्छ, त्यहाँ–त्यहाँ शक्तिपीठको उत्पत्ति हुन्छ । यसरी शिव र सतीको सम्बन्ध, प्रेम र समर्पणभाव यति अटुट रहेको देखिन्छ कि टुक्रा–टुक्रा भएर सतीको अङ्ग खसेर जाँदा पनि हरेक अङ्गबाट उत्पन्न शक्तिपीठमा शिव सँगै रहेका छन् र शिव र सती शिवशक्ति अर्थात् एकीकृत शक्तिका
रूपमा रहेका छन् र प्रेमको अनुपम उदाहरणबनेका छन् ।
शिवसँग सतीको सम्बन्ध टुट्दैन । पार्वतीका रूपमा सतीको पुनर्जन्म हुन्छ र पुन: शिवलाई नै पतिका रूपमा प्राप्त गर्न पार्वतीले अनेक कष्ट सहन्छिन्, कठोर तपस्या गर्छिन्, बाबुआमासँग विद्रोह गर्छिन् । सतीदेवीलाई पाउन महादेवले जति संघर्ष गरेका थिए, जति प्रेम सतीलाई गरेका थिए, त्योभन्दा कैयाैं गुणा बढी संघर्ष र प्रेम शिवलाई पाउन पार्वतीले गर्छिन् ।
अन्तत: शिवलाई पति रूपमा पाएरै छाड्छिन् । आफूप्रति पार्वतीको अगाध प्रेम र समर्पणको सम्मान गर्दै शिवले पार्वतीसँग विवाहमात्र गर्दैनन्, उनको प्रेमको उच्च सम्मानगर्दै पार्वतीले कठोर तपस्या गरेको स्थलमै हमेशा बस्ने निर्णय गर्छन् र हिमालयसँग आफू पार्वतीले तपस्या गरेको तपोभूमिमा बस्ने इच्छा जाहेरगर्छन् । शिवको यस्तो इच्छाबाट खुसी भएका हिमालयले उनलाई त्यहाँ बस्ने अनुमति दिन्छन् । त्यसपछि शिव–पार्वती हामै्र पाशुपत क्षेत्रदेवपाटनमा बस्न थाले भन्ने कुरा हाम्रा श्रुति,स्मृति, पुराणमा पाइन्छ ।
संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायआफ्नो पुस्तक ‘श्रीश्रीश्री स्वस्थानी’मा लेख्छन्, ‘देवपाटनमा बस्ती बसाएर बस्न थालेपछि महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । फूलको माला पहिरेका, बाघ र मृगको छाला लगाएका निकै सफा महादेव र पार्वतीलाई देखेर किरातहरू उत्सुक बन्दै उनीहरूलाई छुनथाले ।
यो देखेर महादेव र पार्वतीले उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । महादेव र पार्वतीले किरातलाई सभ्य बन्न यो दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो भनिन्छ । यसरी महादेव र पार्वती किरातका अत्यन्तै प्रिय बन्न थाले ।’
यही कुरा नेपाली सभ्यता र संस्कृतिका अध्येता लोककृष्ण भट्टराईको २०७१ चैत २८ गते नयाँ पत्रिकामा प्रकाशित ‘रावणकी श्रीमती शेरचनकी छोरी हुन्’ लेखमा पनि छ । भट्टराईले लेखेका छन्, ‘शिव र पार्वती मानवशास्त्रका प्रथम गुरु एवं मानव सभ्यता र संस्कृतिका जन्मदाता हुन् । मानिसलाई जंगली युगबाट मानवीय युगमा ल्याई सभ्यता र संस्कृति सिकाउने पहिलो व्यक्ति शिव नै थिए ।त्यो सभ्यता र संस्कृतिको विजारोपण शिवलेनेपाली भूमिमै गरेका थिए । उनले सिकाएको संस्कृति शिव संस्कृति हो । यसको जगेर्ना रमनन गर्नु अत्यन्त जरुरी छ ।’
स्वस्थानी कथाले समाजका अनेक पाटा बोकेको छ । केही अर्थमा यो आलोच्य होला, तर धेरै अर्थमा सन्देशमूलक छ । यस कथालाई ‘पुनर्लेखन’ गर्नुपर्छ भन्ने आवाज पनि सुनिन थालेको देखिन्छ । यो जस्तो छ, त्यस्तै पढौं र यसबाट आवश्यक सन्देशमात्र ग्रहण गरौं । यो तत्कालीन समाज (करिब पाँच सय वर्ष अगाडिको) को ऐना हो । यसको व्रत बाध्यात्मक नहोस् । स्वेच्छाले यसमा कोही समर्पित हुन्छ भने त्यो उसको अधिकारका रूपमा बुझौं ।
प्रकाशित : kantipur, फाल्गुन ७, २०७५ ०८:३०

सभ्यता खोज्दै स्रष्टा

सभ्यता खोज्दै स्रष्टा
माघ १३, २०७५कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक — तीन दशकअघि सेलो गायक चन्दकुमार मोक्तानले सिन्धुपाल्चोकको पुरानो सभ्यता बोकेको एउटा गुम्बाको बयान गर्दै गाएका थिए, ‘ह्रिस्याङ्गोला गोन्बो...।’ तीसको दशकमा रेडियो नेपालमा पहिलो पटक तामाङ सेलो गाएका यी पाका गायकको यो गीत अहिले पनि चर्चित छ ।
शुक्रबार उनै गायक मोक्तान लिसंखुको त्यही गुम्बा अघिल्तिर उभिएर आफ्नो पुरानो गीत गाउँदै गर्दा भावुक बने । ‘तामाङ सभ्यताको इतिहासमा पटक पटक नाम आउने यो गुम्बाबारे सुनेकै भरमा गीत गाएको थिएँ’, परेला थप्थपाउँदै उनी बोले, ‘बल्ल यहाँ टेक्ने मौका मिल्यो ।’
उनी मात्रै हैन, यही गाउँ पुख्र्यौली रहेको जापानका लागि पूर्व नेपाली राजदूत गणेश योञ्जन, यहीँ जन्मी हुर्केर १७ वर्षकै उमेरमा सगरमाथा कान्छा आरोहीको कीर्तिमान बनाएका शम्भु तामाङ, कुनै समय रेडियो नेपालका लोक गायक सुब्बा योञ्जन लगायत भावुक बने । काठमाडौंबाट गएका तीन दर्जन कवि तथा लेखकहरू यही थलोको प्रशंसा गर्दै कविता, गजल र गीत सुनाउँदै थिए । लिसंखुपाखर गाउँपालिका–२ को निम्तोमा तामाङ डाजाङले गरेको दुई दिने साहित्यिक यात्राको अन्तिम दिन गाउँ घुमेर स्रष्टाहरूले पुरातात्त्विक महत्त्वको ‘छ्योइफेल कुन्दलिङ गुम्बा’ मा सिर्जना प्रस्तुत गरेका हुन् ।
योञ्जनहरूको सभ्यता आरम्भसित जोडिने यो गुम्बा लामो समय गाउँमाथिको डाँडामा थियो ।
सगरमाथा आरोही शम्भु तामाङका अनुसार ७३ वर्षअघि यो तल भञ्ज्याङमा सारियो र पछिल्लो समय यसैलाई आधुनिक स्वरूप दिइयो । स्रष्टाहरूले यही गुम्बासँगै बाटामा भेटिने सयौं वर्ष पुरानो छयोर्तेन (स्तुप), सम्भोटा र रञ्जना लिपिमा कोरिएका हिगी–ओम (स्मारक), पुरानो काष्ठकला कुँदिएका घरहरू, मोक्तानहरूको आदि थलो मानिने आन्दरबुङ गाउँ लगायतका थलोलाई विम्ब र प्रतीक बनाएर सिर्जना गरे ।
केहीले तामाङ सभ्यतामा प्रचलित गाउँ ‘ह्रिस्याङ्गो’ को नाम बदलेर अर्थ नै नलाग्ने लिसंखु राखेकोप्रति गुनासो गरे । पूर्व राजदूत गणेश योञ्जनले स्थानीय मौलिकता र पहिचान राष्ट्रि्रय सम्पत्ति भएकोले त्यसलाई जोगाउन स्थानीय सरकार लाग्नुपर्ने सुझाए । ‘नामसित स्थानीय ज्ञान परम्परा, संस्कृति र पहिचान जोडिएको हुन्छ,’ उनले भने, ‘यसलाई त प्रवद्र्धन पो गर्नुपर्छ । ग्रामीण पर्यटनसित पनि जोड्न सकिन्छ ।’
काभ्रे र भक्तपुरबाट ‘फापरे व्हाई’ (लोकगीत) गाउन पुगेका धनकुमारी घिसिङ, रञ्जना मोक्तान, संगीता थिङलगायतले पनि गीतबाट यस्तै सुझाव दिए । दोहोरी खेल्न तम्सिए स्थानीय सेलो गायिका फुरुडोल्मो रुम्बा र फुर्मो लामा । राम गोम्जाले धादिङमा प्रचलित लोकभाका सुनाए ।
राजु स्याङ्तान, राबत, मुक्तान थेवा, नेत्र तामाङ, तेज योञ्जन, हीरामाया घिसिङ, कविराज काल्तान, पदमबहादुर ग्याबा, चन्द्री मोक्तान, ईश्वर थोकर, इकमान तामाङ, अटुट दोङ, रचना मोक्तान ‘यात्री’, हीरामाया घिसिङ ‘कुसुम’, साम्देन दोङ, रोज मोक्तान, पारस लामा लगायतले सिर्जना सुनाए । गाउँपालिका अध्यक्ष कलमप्रसाद नेपालले गाउँको मौलिकता र संस्कृति खोज्दै सहरबाट स्रष्टाहरू आएकोप्रति खुसी साटे । उपाध्यक्ष हेमगंगा मोक्तान, वडाध्यक्षहरू हस्त मोक्तान, कुमार लामा, गुम्बाका प्रमुख नार्बु लामा लगायतले स्थलगत सिर्जनाको प्रशंसा गरे ।
डाजाङकी अध्यक्ष सञ्चु ब्लोनले साहित्यमा स्थानीयपनको खोजी गर्न आफूहरूले ८ वर्षअघिदेखि ‘तामाङ ग्योइकाइ ल्हाम’ (साहित्यिक यात्रा) थालेको बताउँदै पाँचौं शृंखलाको रूपमा लिसंखु छानिएको बताइन् । डाजाङका पूर्व अध्यक्ष एवं यात्रा संयोजक बुद्ध योञ्जनका अनुसार यसअघि ललितपुर भारदेउ, चौघरे, काभ्रेको तेमाल, ललितपुरकै प्युटार, कोन्ज्योसोम र मकवानपुर लगायतका थलोमा यात्रा सम्पन्न भइसकेको छ ।
प्रकाशित : माघ १३, २०७५ ०९:१५

लिपुलेकको उल्झन

लिपुलेकको उल्झन
कान्तिपुर, फाल्गुन २१, २०७५
बुद्धिनारायण श्रेष्ठ
काठमाडौँ — नेपालको सम्प्रभुता भएको तर भारतले ओगटिरहेको लिम्पियाधुरा–कालापानी–लिपुलेक सीमा मामिलाबारे बेलाबखत चर्चा–परिचर्चा हुने गरेको छ । भारतका प्रधानमन्त्रीको चीन भ्रमणका बेला २०१५ मे १५ मा भारत र चीनबीच लिपुलेकबाट दुवै देशको व्यापार–वाणिज्य गतिविधि बढाउने सम्झौता भएपछि यो मामिला चर्केको थियो ।
यस मामिलालाई लिएर नेपाल र भारतका ट्र्याक–टु अध्येताबीच सञ्चार माध्यममा जुहारी नै चलेको थियो । यस पंक्तिकारले पनि यसै दैनिकको २०७२ जेठ ७ को अंकमा ‘सम्झौता सच्याउनुपर्ने’ शीर्षकमा आफ्ना धारणा प्रकाशित गरेको थियो । यसै प्रसंगमा ‘लिपुलेकमा एसडी मुनीका आँखा’जस्ता लेख पनि आएका थिए ।
यसै सम्बन्धमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको गतसाता भएको बैठकमा नेपाल–भारत सीमांकन, सीमा नक्सा, सीमा खम्बा, सीमा व्यवस्थापनबारे सरकारको धारणा प्रस्तुत गरेका छन् । ‘नेपालको सीमा अतिक्रमणबारे अध्ययन भइरहेको छ र यकिन तथ्यांकपछि भारतसँग कूटनीतिक तवरबाट सीमा विवाद टुंग्याउन पहल गरिनेछ । देशहरू साना–ठुला, धनी–गरिब हुन सक्छन्, तर सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुँदैन ।
नेपालले कुनै पनि देशको हितविरुद्ध काम गर्ने छैन रआफ्नो सीमारक्षा गर्न कुनै कसर बाँकी राखिने छैन । आफ्नो भूभाग रक्षाका लागि शिर ठाडो पारेर, आँखामा आँखा जुधाएर सरकारले काम गर्छ’ भन्ने बेहोरा पनि उल्लेख गरिएको थियो । सञ्चार माध्यममा आए अनुसार, उनले सीमा अंकन तथा व्यवस्थापनलाई लिएर उठाएका बुँदाहरू यी हुन् :
सीमांकन
१. नेपालको भूभाग लिपुलेक सीमा मामिलाबारे नेपालको अनुपस्थितिमा कुनै पनि देशले छलफल गर्न मिल्दैन ।
२. नेपाल सरकारले लिपुलेकलाई भारत–नेपाल–चीन बीचको त्रिदेशीय विन्दु संगम स्वीकार गर्ने छैन ।
३. भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देश बीचको लिपुलेक द्विदेशीय व्यापारिक मार्ग भन्दै सन् २०१५ मा संयुक्त वक्तव्य प्रकाशित गरेका थिए । यो भारत र नेपालले दस्तखत गरेको सन् १८१६ को सुगौली सन्धि प्रावधानको विपरीत रहेको छ भनी नेपालले यसलाई प्रतिवाद गर्दै आइरहेको छ । नेपालले भारत–चीनबीच लिपुलेकबारे भएको सहमतिको त्यतिखेर नै विरोध जनाइसकेको छ र सरकार आफ्नो अडानमा अडिग छ ।
४. १ सय ८२ थान नेपाल–भारत सीमा नक्सा (स्ट्रिप म्याप) मा दस्तखत गर्न भारतले प्रस्ताव राखे पनि कालापानी र सुस्ता विवाद समाधान नभएसम्म नेपाल सरकारले यसमा दस्तखत गर्ने छैन ।
५. नेपाल–भारत सीमामा ६ हजार खम्बा छन् । यीमध्ये केही बिगारिएका र भत्काइएका छन् । नदीले धार परिवर्तन गरेका कारण सीमापार जोत–कमोद दखल अन्तर्गत भारतीयले भोग गरेका नेपालको जग्गाकित्ता र यसैगरी नेपालीले चलन गरेका भारतीय जग्गाकित्ता सम्बन्धी मामिला साविक बमोजिमको अवस्थामा पारी समाधान गरिनेछ । सीमामा रहेका २ हजार ५ सय सीमा खम्बा मर्मत–सम्भार गरिनुपर्छ । यस्तै नदी क्षेत्रमा रहेका १ हजार ४ सय खम्बा पनि निर्माण गरिनुपर्छ ।
६. हामीले यी समस्या समाधान गर्ने एउटा संयन्त्र गठन गरेका छौं र यसले काम गरिरहेको छ । साढे तीन वर्षमा प्रतिवेदन आउने आशा गरिएको छ ।
७. सन् १८१६, १८६० तथा १८७५ का सन्धिका आधारमा सीमांकन गरेर आफ्नो भू–भागको संरक्षण गर्न सरकार सक्षम छ ।
८. नेपाल र भारतले सीमांकन गरेपछि सीमा मामिला अन्त्य हुनेछ । पहिलेका गल्तीपूर्ण निर्णयलाई नेपाल सरकार स्वीकार गर्ने छैन ।
सीमा व्यवस्थापन
१. खुला सीमाबाट फाइदा उठाउँदै अन्तर–सीमा अपराध र सीमा वारपार आपराधिक गतिविधिका सम्बन्धमा हाम्रो गम्भीर चासो छ । सीमावर्ती क्षेत्रमा रहेका बासिन्दाको भावनालाई ठेस नपुग्नेगरी दुई देशबीच सीमा नियमन गर्ने पक्षमा हामी छौं ।
२. नेपाल–भारत खुला सीमाका कारण भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सीमा व्यवस्थापन गर्न सरकार तयार छ ।
३. प्रबुद्ध व्यक्ति समूहको सिफारिस अनुसार हामी हाम्रो सीमा व्यवस्थित गर्नेछौं । समस्याहरू कूटनीतिक माध्यमद्वारा समाधान गरिनेछ ।
यी भनाइ समय–सापेक्ष देखिन्छन्, तापनि यसमा दुवैतर्फ उत्तिकै गम्भीर हुनुपर्छ, सहभागिता रहनुपर्छ । एकअर्काको धारणा बुझ्ने–बुझाउने, सुन्ने–सुनाउने उत्सुकता र तदारुकता रहनुपर्छ । सीमा भनेको दुवै देशको साझा तत्त्व हो ।
दुवैको आवश्यकता लिपुलेक मार्ग
व्यापारिक दृष्टिकोणले चीनलाई भारतको दिल्लीजस्ता प्रमुख सहरहरूसम्मको पहुँचको आवश्यकता परेको छ भने भारतलाई पनि ल्हासासम्म पुग्ने किफायती सडकमार्ग जरुरी परेको छ । छोटो मार्गबाट ट्रान्जिट सुविधा पाउँदा दुवै देशको ढुवानी खर्च घट्छ । खर्च कम हुनु भनेको व्यापारिक नाफा बढ्नु हो ।
चीनलाई आफ्ना उत्पादन भारतीय बजारमा किफायती दरमा सकेसम्म धेरै परिमाणमा बेच्नुछ भने भारतलाई पनि फलामजन्य गर्‍हौं तौल भएका आफ्ना कच्चापदार्थ चीनको औद्यागिक क्षेत्रसम्म सस्तो ढुवानीमा पुर्‍याउनुपरेको छ । त्यसैले यी दुवै देशलाई सहज र फाइदाजनक सडकमार्ग चाहिएको छ । चीन र भारत बीचको व्यापार हवाइमार्ग र जलमार्गबाट हुने गरेको भए पनि यी मार्ग खर्चालु छन् । त्यसैले आफ्नो व्यापार विस्तारको बाध्यतालाई सहज बनाउन चीन र भारतले नेपालको लिपुलेक मार्ग विकास गर्न खोजेका हुन् ।
भारतलाई दिल्लीबाट ल्हासा पुग्न सबभन्दा छोटो लिपुलेक मार्ग (दिल्ली–मोरादाबाद–पिलिभित–टनकपुर–पिथौरागढ–कालापानी–लिपुलेक–ताक्लाकोट–सिगात्से–ल्हासा) नै हो । तर लिम्पियाधुरा–कालापानी–लिपुलेक नेपालको (अतिक्रमित) भूमि भएको हुनाले भारतले आँट गरिहाल्नसकेको थिएन । यसलाई व्यापारिक मार्गका रूपमा खोल्न उसले निकै प्रयास गर्दै आए पनि हालसम्म सफल हुनसकेको छैन । उसले पटक–पटक यस्तो प्रयास गर्दै भने आइरहेकै छ ।
नाथुला मार्ग किन उपयोगी भएन?
चीन–भारत सिधै जोडिएको सिक्किमको नाथुला भू–मार्गबाट यातायात व्यवस्था प्राविधिक र व्यापारिक दृष्टिकोणले सहज नभएकाले ती दुवै देशले लिपुलेक बाटो रोजेका हुन सक्छन् । ४ हजार ४ सय मिटर अग्लो नाथुला भञ्ज्याङ भएर जाने मार्ग (सैनिकमार्ग) साँघुरो, घुमाउरो र धेरै भिरालो छ । यसले गर्दा कार्गो बोकेका लामा ट्रक कन्टेनर मोडिन सक्दैनन् । अर्को कुरा, धेरै हावा–हुरी चल्ने वातावरणको छ, त्यो मार्ग ।
यो नाका वर्षमा पाॅच महिना अनि दिनहुँ आठदेखि दुई बजेसम्म मात्र प्रयोग गर्न सकिने प्रकृतिको छ । यसैले लिपुलेक भएर पारवहन सञ्चालन गर्नु ती दुवै देशका लागि लाभकारी हुन्छ । यो उनीहरूको व्यापारिक बाध्यताभित्र परेको छ । यसैले नेपाल र भारतबीच विवादित क्षेत्र भए पनि त्यसलाई बेवास्ता गरिएको हुनुपर्छ । यद्यपि यसमा केही राजनीतिक गन्ध मिसिएको पनि हुनसक्छ ।
निचोड
लिपुलेक क्षेत्र पहिले सामरिक तथा रक्षाका दृष्टिकोणले भारतका निम्ति संवेदनशील क्षेत्र थियो । त्यसपछि लिपुलेक मार्ग भारत तथा नेपालबाट चीनको तिब्बत मानसरोवर कैलाश पर्वत दर्शन गर्न जाने–आउने तीर्थाटनको छोटो मार्ग बनेको छ । अब लिपुलेक मार्ग व्यापार–वाणिज्यका निम्ति महत्त्वपूर्ण रहेको छ ।
चीन र भारतलाई लिपुलेक मार्ग नै चाहिने भए त्यसमा नेपाल पनि समावेश हुने शान्त कूटनीति परिचालन गर्नुपर्छ । त्यस सीमा क्षेत्रको सम्प्रभुता (लालपुर्जा) नेपालको रहने तर तीनै देशले सदुपयोग गर्न सक्नेगरी संयुक्त रूपमा ‘स्पेसल इकोनोमिक जोन’ स्थापना गरिनुपर्छ । लिपुलेक–कालापानी क्षेत्रमा सुक्खा बन्दरगाह, ठूला क्षमताका गोदाम घर, संयुक्त भन्सार, अध्यागमन चौकी, सुरक्षा चौकी, क्वाटेन्टाइन आदिद्वारा सुसज्जित एकीकृत चेकपोस्ट निर्माण गरिनुपर्छ ।
यसो हुनसके नाभिडाङ, कालापानी, गुन्जी, कुटी, नावी, टिङ्कर, छाङरु, दार्चुलाका जनताको आर्थिक उन्नति हुन्छ । भारतका गर्ब्याङ, धार्चुला, पिथौरागढ, झुलाघाट, चम्पावत, टनकपुर जस्ता क्षेत्र पनि समृद्ध हुँदै जान्छन् । यस्तै चीनका शेरा, ताक्लाकोट, डोरीनाग्ला, बगाग, याग्राजस्ता बस्ती क्षेत्रको विकास हुनेछ । लिपुलेक मार्ग चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) योजना अन्तर्गत कश्मिर–इस्लामावाद–ग्वादर कोरिडोर मार्गसँग पनि आबद्ध हुन्छ ।
यी बुँदाहरूका आधारमा नेपाल–भारत उच्चस्तरीय सीमा कूटनीति स्पष्ट रूपमा परिचालित हुनुपर्छ । नेपाल र भारत बीचको दौत्य सम्बन्ध अझ सुदृढ र प्रगाढ पार्न आपसी वार्ता, विश्वास, समझदारी र समन्वयमा सीमा मामिला सदाका लागि समाधान गरिनुपर्छ । प्रकाशित : फाल्गुन २१, २०७५ ०७:५४

स्वस्थानी कथाहरूको ‘कथा’

स्वस्थानी कथाहरूको ‘कथा’
धेरै स्वस्थानीहरूको संकलन नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाअन्तर्गत राष्ट्रिय अभिलेखालयमा भयो । नेपाल भाषाका स्वस्थानीहरूको अर्को राम्रो संकलन आशा सफु गुथीमा छ ।
फाल्गुन ४, २०७५दीपक अर्याल
काठमाडौँ — माघ महिनादेखि सुरु भएको स्वस्थानी व्रतकथाको समय सकिनै लागेको छ ।
लगभग ४५० वर्ष पुरानो यस कथा विभिन्न समयमा हेरफेर भएको छ । कथा थपिएको छ । हस्तलिखित परम्पराबाट, प्रिन्ट, रेडियो र अनलाइनसम्म फैलिएको छ । भाषाका दृष्टिकोणले संस्कृत (१६२९), नेवारी (१६५९), मैथिली (१७६७), नेपाली (१८६७) र हिन्दी (१९२९) मा रहेका ग्रन्थहरू हाल मूलत: नेपाली र नेवारीमा सीमित भएका छन् । प्रकाशनका दृष्टिकोणले नेपाली भाषामा यसको व्यापकता छ तर काठमाडौं उपत्यकाका हकमा भने हस्तलिखित स्वस्थानीहरूको एकप्रति धेरै हिन्दु नेवार परिवारमा सुरक्षित छन् । यसका विषयमा केही महत्त्वपूर्ण अध्ययन–अनुसन्धान भएका छन् र हुनेक्रम जारी छ ।
ऐश्वर्यधर शर्मा २०४५ र २०४९, काशीनाथ तमोट (२०४७), लिन्डा इल्तिस (सन् १९८५), योगेशराज (सन् २००१), चन्द्रबहादुर कायस्थ (सन् २००४) आदि कामहरू भइसकेको सन्दर्भमा जेसिका भेन्तिन बिर्केनहोल्जको पुस्तक रिसाइटिङ द गडेस : न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल (सन् २०१८) देखा परेको छ । किताबका लागि खर्चिएको समय, प्रयोग भएका पाठ्यसामग्रीले पुस्तकका लागि परिश्रम परेको कुरामा कुनै शंका गर्नुपर्दैन । तर, किताबले पहिले नै नेपाली तथा विदेशी विद्वान्हरूले गरिसकेको काममा के नयाँ कुरा भनेको वा नयाँ ज्ञान थपेको छ? भनेर प्रश्न गर्नुपर्ने ठाउँ भने छाडेको छ । लेखिकाले सन् २००४ देखि २०१६ सम्मको लामो समयसम्म गरेको बृहद् अभिलेखीय तथा ‘इथ्नोग्राफिक’ अध्ययनका आधारमा यो पुस्तक तयार भएको हो । छ अध्यायमा विभाजित यस पुस्तकले हिन्दु धर्म र नेपालमा यसको इतिहास, स्थान वा कुनै ठाउँको देवी र देवीको स्थान, स्वस्थानी व्रतकथा र अभिलेख, महिलाको परम्परा तथा स्थानको वर्णनलगायतका मूल शीर्षकमा आफ्नो अनुसन्धान व्याख्यालाई प्रस्तुत गरेकी छन् । साँखुमा ‘इथ्नोग्राफिक’ अध्ययन र राष्ट्रिय अभिलेखालय, आशा सफु कुथी, केशर पुस्तकालय, ब्रिटिस लाइब्रेरी, मदन पुरस्कार पुस्तकालय तथा व्यक्तिगत संकलनमा रहेका स्वस्थानीका हस्तलिखित र मुद्रित सामग्रीलाई मिहिन तरिकाले अध्ययन गरेकी उनले साँखुमा स्वस्थानी व्रतका लागि सहभागीहरूको संख्या (पृ. १३), स्वस्थानीमा देखिएका मुख्य परिवर्तनहरू (पृ. ५९–७२), फरक खालका वर्णन समावेश भएका स्वस्थानीव्रतकथाको सूची (पृ. १९१), फरक समयमा देखा परेका स्वस्थानी व्रतकथाहरूको सूचीलाई पनि पुस्तकमा समावेश गरेकी छन् । दक्षिण एसियाका सन्दर्भमा नेपालको हिन्दु धर्म, धार्मिक परम्परा वा स्वस्थानीका विषयमा रुचि राख्नेहरूका लागि यो पुस्तक महत्त्वपूर्ण सामग्रीका रूपमा प्रकाशित भएको छ ।
लेखिकाले स्वस्थानी र स्वस्थानी कथालाई एउटा ‘लेन्स’ का रूपमा प्रयोग गरेकी छन् जसका माध्यमबाट नेपालको विद्यमान हिन्दु परम्परा वा संस्कृतिलाई फराकिलो तरिकाले हेर्न सकियोस् । तर, ‘लेन्स’बाट देखिने स्थान सीमित हुन्छ र फरकफरक दूरीको कुरा हेर्न फरक ‘लेन्स’को प्रयोग गर्नुपर्छ भन्ने कुरालाई भने उनले कम ध्यान दिएकी छन् । त्यसैले नै उनले एउटै किताबमा ४५० वर्षका धार्मिक, सांस्कृतिक र राजनीतिक परिवर्तनहरूलाई गज्याङगुजुङ पारेर ‘स्वस्थानी’सँग जोड्ने जमर्को गरेकी छन् । जुन निकै चुनौतीपूर्ण काम हो । मूल आधार ‘स्वस्थानी कथा’लाई मानेर यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, राजनीतिक, साहित्यिक तथा मुद्रण संस्कृतिसम्मलाई एकै ठाउँ राखेर त्यसका प्रभाव वा देखा परेका परिवर्तनका विविध पाटाहरूलाई लेखाजोखा गर्नु सानो चुनौतीको काम होइन तथापि उनले त्यो काम गरेकी छन् । फलस्वरूप एउटै किताबमा सन् १५७३ को स्वस्थानी कथादेखि सन् २००५ मा कान्तिपुर दैनिकमा प्रकाशित वात्स्यायनको कार्टुनको कथासम्म अटेका छन् । लामो कालखण्डको धार्मिक, सांस्कृतिक, राजनीतिक तथा ‘साहित्यिक’ लेखाजोखा गर्ने क्रममा स्वस्थानीका माध्यमबाट नेपाली हिन्दुहरूमाझ बाँडिएका, व्याख्या गरिएका, भनिएका वा फैलिएका कथाले स्थानीय, क्षेत्रीय वा हिन्दु ‘राष्ट्र–राज्य’को संकथन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको तर्क छ । पुस्तकको उद्देश्य स्वस्थानी कथा र सोहीसँग जोडिने ‘न्यारेटिभ’ हरूलाई भारतीय उपमहाद्वीपमा परिवर्तन भइरहेको धार्मिक, सांस्कृतिक तथा राजनीतिक परिदृश्यहरूको फराकिलो सन्दर्भमा जोड्नु हो जसले हिन्दु राष्ट्र–राज्यका रूपमा नेपालभित्र भएका सांस्कृतिक वा धार्मिक संकथनका विषयमा जानकारी दिनेछ । बृहत् क्षेत्र समेटेको यस पुस्तकका विषयमा लेखाजोखा गर्ने क्रममा मैले अप्रकाशित पुस्तकहरूको मुद्रण, पुनर्मुद्रण, बिक्री–वितरण वा उपभोग नै कुनै ‘टेक्स्ट’ वा कथाको ‘प्रभाव’क्षेत्र हेर्ने एउटा आधार हुन सक्छ भन्ने मान्यतालाई आधार मानेको छु ।
समाज वा समुदायमा ४५० वर्षदेखि निरन्तर वाचन गरिने कुनै पनि ‘टेक्स्ट’ आफंैमा महत्त्वपूर्ण हुने कुरामा कुनै शंका छैन । यसले पार्ने प्रभावका बारेमा पनि प्रशस्त बोल्न र लेख्न सकिन्छ । समाज वा समुदाय वा पुस्तकमा चर्चा गरिएजस्तै ‘राष्ट्र–राज्य’को काल्पनिकता र सोसँग जोडिएर आउने साझा भावनाका विषयमा पनि पूरै विमति राख्नुपर्ने ठाउँ छैन तर प्रश्न यसरी पनि उठ्न सक्छ, के स्वस्थानी कथाको परम्परा नभएका भए ‘राष्ट्र–राज्य’का रूपमा वर्तमान नेपालको चरित्र फरक हुन्थ्यो? के हिन्दु राष्ट्र, पहिचानका विषयमा नेपाल अहिलेभन्दा भिन्न हुन्थ्यो ? महिला, धर्म वा पहिचानका विषयमा हेर्ने दृष्टिमा कुनै भिन्नता देखा पथ्र्यो ? के नेपालको राजनीतिक, सांस्कृतिक, धार्मिक वा साहित्यिक परम्परा र सोसँग जोडिएर आउने संकथनमा एउटा स्वस्थानीको कथा नहुँदैमा कुनै फरक पथ्र्यो ? वा त्योभन्दा भिन्न तरिकाले नेपाली सार्वजनिक वित्तको विकास र विस्तार हुन्थ्यो?
लेखिकाको तर्क छ— स्वस्थानीको नेपाली भाषामा अनुवाद (पृ. ११०), मुद्रण प्रविधिको विस्तार र यसको घरघरमा उपस्थिति (पृ. ११५), यसका कथामा आएको परिवर्तन (पृ. २३) सँगै ‘टेक्स्ट’ तथा ‘भक्ति परम्परा’ का कारण यो शक्तिशाली र स्थायी माध्यम (पृ. २०९) का रूपमा सम्भ्रान्त शासकदेखि सामान्य जनले ग्रहण गर्‍यो । राज्यको भाषिक नीति, पृथ्वीनारायण शाहको पालादेखि देखिएको ‘असल हिन्दुस्थान’ को कल्पना (पृ. २९, १५९ र १६१), राणाकालीन समयमा गोरखा भाषा प्रकाशिनीको जन्म, प्रकाशनमा लागेको अघोषित हस्तक्षेप (पृ. ९०) लगायतका कारण पनि स्वस्थानी कथासँग शासक, हिन्दु नेवार र पहाडिया समुदाय जोडियो । यस अर्थमा स्वस्थानीले नेपाली समाज, राजनीति, धर्म र संस्कृतिसँग विशेष सम्बन्ध राख्छ र यसको अध्ययन महत्त्वपूर्ण छ ।
स्वस्थानी कथाको कथा
धेरै स्वस्थानीहरूको संकलन नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाअन्तर्गत राष्ट्रिय अभिलेखालयमा भयो । नेपाल भाषाका स्वस्थानीहरूको अर्को राम्रो संकलन आशा सफु गुथीमा छ । काठमाडौं उपत्यकाका कैयौं घरमा सुरक्षित रहेका हस्तलिखित स्वस्थानीबाहेक अध्ययनका लागि यी दुई स्थान महत्त्वपूर्ण छन् । मुद्रित नेपाली भाषाका स्वस्थानीहरू मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छन् । विसं १९६९ सालमा प्रकाशित पुस्तकमा ‘कवि शिखरनाथ शर्मा सुवेदी पण्डितले बनाई छपायाका पुस्तक हरूको सूचीपत्र’ मा बृहत्स्वस्थानीको विज्ञापन गरिएकाले (३१ अध्याय अनुक्रमणिकासहित अपूर्व दर्शनीय छ) त्योभन्दा पहिले शिखरनाथको बृहत्स्वस्थानीको पुस्तक छापिएको मान्न सकिन्छ । विसं १९६८ कात्तिकमा प्रकाशित शिखरनाथ सुवेदीको महाभारत कर्ण पर्वमा पनि ‘बृहत्स्वस्थानी’को विज्ञापन गरिएको छ । तर, सोही नामको पुस्तक भने मदन पुरस्कारको क्याटलग सूचीमा देखा पर्दैन । तथापि मिति उल्लेख नभएका शिखरनाथका दुई स्वस्थानी पुस्तक तथा २२ अध्याय मात्र रहेको नेपाली भाषाको हस्तलिखित स्वस्थानी भने पुस्तकालयमा रहेका छन् । स्वस्थानीका कैयौं प्रसंगहरूको आधार स्कन्दपुराण मात्र होइन, लिंग, पद्म तथा शिवपुराण पनि हो भनेर मानिन्छ । फरकफरक पुराणका फरकफरक प्रसंगहरू र कश्मीरदेखि आसामसम्मका पीठहरूलाई जोडेपनि स्वस्थानीलाई ‘मौलिक नेपाली कथा’का रूपमा स्वीकार गरिन्छ । स्वस्थानी कथा मूलत: नेपाल भाषामा काठमाडौं उपत्यकामा व्यापक रहेपनि संस्कृत, मैथिली, नेपाली तथा हिन्दी भाषामा पनि यसको अस्तित्व रहेको कुरा उल्लेखनीय छ ।
काशीनाथ तमोटले सन् १५७३ देखि ब्राह्मण पण्डितहरूबाट कथावाचन हुने परम्पराबाट सुरु भएको स्वस्थानी करिब ३० वर्ष सन् १६०३ मा नेवारी भाषामा अनुवाद भएपछि जनताको घरघरमा पुगेको बताएका छन् । नेपाल भाषाका स्वस्थानी सबैभन्दा धेरै भेटिनुले पनि काठमाडौं उपत्यकामा स्वस्थानीको लोकप्रियताको अनुमान गर्न सकिन्छ । विसं १८६७ मा नेपाली भाषामा लेखिएको स्वस्थानी पाल्पामा केशरसिंह बस्नेतले सारेको भेटिन्छ । काठमाडौं उपत्यकाका तुलनामा पश्चिमी भेग ‘हस्तलिखित सामग्रीका लागि चल्ती’को क्षेत्र होइन र उक्त क्षेत्रमा मुद्रण प्रविधि मार्फत स्वस्थानी कथाले लोकप्रियता पाएको हो । यस अर्थमा पाल्पामा सारिएको हस्तलिखित स्वस्थानी ‘अपवाद’का रूपमा भेटिएको मान्न सकिन्छ । मैथिल र हिन्दी भाषामा स्वस्थानी लोकप्रिय छैन । वास्तवमा स्वस्थानीको व्यापकता ‘नेपाली भाषी तथा नेवार भाषी’का कारण फैलिए पनि नेपालकै सुदूरपूर्व, पश्चिम, उत्तर तथा दक्षिणी भेगमा राम्रोसँग फैलिएको छैन त्यसैले यसको प्रभावका विषयमा प्रश्न गर्ने ठाउँ रहन्छ ।
लिंगपुराणमा विविध अंशहरू थपिँदै जाने क्रममा वर्तमान लिंग पुराणको अस्तित्व देखा परेको मानिन्छ । काशीनाथ तमोटका अनुसार स्वस्थानी व्रतकथा एक स्वतन्त्र मौलिक कथा भएपनि त्यसमा कथाहरू थपिँदै गए । स्वस्थानीले भूगोललाई पनि महत्त्व दिएको छ । पछिल्लो समयमा प्रकाशित ‘स्वस्थानी कथामा’ भूगोल भनेर विशेष चित्र पनि दिने गरेको पाइन्छ । खासगरी छापिएका पुस्तकहरूमा ‘भूगोल’ को प्रयोग भएको छ । अथ स्वस्थानीव्रतकथा (प्रकाशक पं टीकादत्त धिताल, नेपाली सौभाग्य पुस्तकालय)को आवरण पृष्ठमा महादेव पार्वती अष्टमातृका र बीचमा स्वस्थानीको आकृति र सुमेरु दूरी आदिको आकृति देखा पर्छ । चार हात्ती चार कुना (चार दिशामा) मा अवस्थित छन् । सन् १९४७ मा बाबु माधवप्रसाद शर्मा, बनारसबाट प्रकाशित स्वस्थानी–कथामा पनि श्री–स्वस्थानी–भूगोल भनेर सुमेरु पर्वतदेखि जम्बुद्वीपसम्मका फरक(फरक दूरीहरू दिइएको छ । सतीदेवीको अंग पतन भएका ठाउँ र पीठ उत्पन्न भएको चर्चाले भारतवर्ष तथा जम्बुद्वीपभरिको शैव स्थललाई समग्ररूपमा समेट्ने प्रयास गरेको देखिन्छ । जुन वर्तमान ‘राष्ट्र–राज्य’ वा राष्ट्रियताले बोक्ने ‘नेपाल’भन्दा भिन्न मान्न सकिन्छ ।
सबैभन्दा सुरुको स्वस्थानी कथा र व्रतविधि ताडपत्रमा थियो । केवल ८ पत्रमा । पछि यसमा अनेक प्रसंगहरू जोडिंदाजोडिंदै स्वस्थानीको वर्तमान रूपको विकास भएको हो । कतिपय साना–तिना प्रसंग वा शब्दहरूको थपघट त सार्ने क्रममा भएको हुन सक्छ । जे भएपनि स्वस्थानी घरघरमा पुगेपछि वा केही फरक ठाउँ र समुदायमा पुगेपछि पनि केही कथा वा प्रसंगमा थपघट भएका छन् । तर, यस्ता थपघट किन वा कुन उद्देश्यका लागि भएका थिए भनेर बहस गर्न सकिने ठाउँ भने छ । लेख्नेहरूले, बेच्नेहरूले यसको महत्त्वका विषयमा प्रचारप्रसार पनि पक्कै गरे । यसका लागि विभिन्न प्रसंगहरू पनि जोडिए नै । केही ‘स्थानीयकरण’पनि भयो नै त्यसको उद्देश्य के थियो भन्ने कुराको व्याख्या वर्तमान ‘राजनीतिक वा सांस्कृतिक’ व्याख्याले मात्र सहज नहुन सक्छ । त्यसो त यसको लोकप्रियताले गर्दा ‘बौद्ध स्वस्थानी’ बनाउने प्रयास भएको प्रसंग पनि यहाँ उल्लेख गर्न आवश्यक छ ।
मुद्रण संस्कृतिको आँखा
स्वस्थानीको कथा हस्तलिखित अवस्थामा सुदूरपूर्व, पश्चिम, उत्तर र दक्षिण फैलिएको थिएन जति प्रिन्टका रूपमा आएपछि फैलियो । त्यसैले त्यसका प्रभावका विषयमा थप चर्चा गर्न आवश्यक हुन्छ । प्रिन्ट आएपछि फैलियो र त्यसको प्रभाव पर्‍यो भन्ने तर्क मान्ने हो भने पनि स्वस्थानी सबैभन्दा धेरै मुद्रण वा वितरण भएको पुस्तक होइन । स्वस्थानी पुस्तकभन्दा अगाडि वा सोही समयमा त्योभन्दा धेरै भानुभक्तको रामायण सन् १९५५ सम्म ७३ औं संस्करण, रामाश्वमेघ सन् १९६० सम्म १४ औं संस्करण प्रकाशित भइसकेका थिए र कम्तीमा १०० फरकफरक लेखक, प्रकाशक वा संस्करणका रूपमा ‘रामायण’को उपभोग तथा वितरण भइसकेको थियो । त्यसैगरी १०० थरीका महाभारत, १०० थरीका गीता, २०औं थरीका श्रीमद्‌भावगत, २५औं थरीका सवाई, ५०औं थरीका लहरी वा २०औं थरीका बाइबलहरू सन् १९५०को दशकसम्ममा बिक्री–वितरणमा आइसकेका थिए ।बृहत् कृष्ण चरित्र सन् १९५५ सम्ममा २०औं संस्करण, असली कृष्ण चरित्र सन् १९३१ सम्म २६औं संस्करण प्रकाशित भइसकेको थियो भने सन् १९४९ सम्ममा ठूलो गोरखा (वर्णमाला)को बीसौं संस्करण निस्किसकेको थियो । देवी भागवत २०औं संस्करण (सन् १९५३), भागवत कुञ्ज २३औं संस्करण (विसं २०३२) प्रकाशित भइसकेका थिए । असली कृष्ण चरित्र अर्थात् सुखसागर सन् १९३१ मा २६औं पटक पुनर्मुद्रण भएर नेपाली समाज वा नेपालीभाषीले उपभोग गर्दै थिए । स्वस्थानीका हकमा लोकप्रिय स्वस्थानीमध्येको ठूलो स्वस्थानी व्रतकथा (होमनाथ केदारनाथ) सन् १९५६ सम्ममा बाह्रौं संस्करण बिक्री–वितरण भएको थियो । यस अर्थमा नेपाली भाषाका मुद्रित किताबहरूमध्ये स्वस्थानी लोकप्रिय पुस्तक त हो तर त्यति धेरै होइन जसले अन्य धार्मिक, शैक्षिक वा मनोरञ्जनका पुस्तकहरूका तुलनामा फैलिएको वा ठूलो प्रभाव पारेको होस् । स्वस्थानीको फैलावटका विषयमा काठमाडौं खाल्डोमा जति धेरै दाबी गर्न सकिन्छ त्यति नै कम दाबी खाल्डोसँग जोडिएका डाँडाहरूमा गर्न सकिन्छ । पक्का पनि मुद्रित पुस्तक आएपछि यो फैलिएको थियो तर स्वस्थानीका तुलनामा अन्य धार्मिक पुस्तकहरू अझ व्यापक रूपमा फैलिएका थिए भन्ने प्रशस्त आधारहरू छन् । त्यसैले धार्मिक पुस्तकहरूको प्रभाव नेपाली समाजमा परेको थियो भनेर मान्ने नै हो भने पनि स्वस्थानीको फैलावट वा लोकप्रियता सबैभन्दा धेरै भएको वा यसको प्रभाव धेरै परेको भन्ने तथ्य आफैंमा विश्वसनीय छैन ।
यसका अतिरिक्त कुनै पनि पुस्तकका माध्यमबाट समाजमा पर्ने प्रभावका विषयमा राज्यसँगै निजी क्षेत्रको ध्याउन्नलाई पनि ख्याल राख्न आवश्यक हुन सक्छ । नेपाली राज्यले नेपाली भाषालाई अन्य भाषाका हकमा सहुलियत दिएको वा सघाएको कुरामा विवाद छैन तर बजारले के गरिरहेको थियो वा बजारको के माग थियो भन्ने कुरामा ध्यान दिन आवश्यक छ । नेपालभित्र भन्दा नेपाल बाहिर र सरकारी स्तरमा भन्दा निजी क्षेत्रबाट धेरै पुस्तकहरू प्रकाशित र बिक्री–वितरण भइरहेको अवस्थामा सम्पूर्ण निजी क्षेत्रले ‘सरकारी नीति’ अनुरूप नेपाली भाषाको विकास तथा विस्तारलाई मात्र सघाए र आफ्नो व्यापार नाफा–घाटा वा पाठकको रुचि हेरेनन् भन्ने कुराको कुनै यथार्थ आधार छैन । प्रिन्ट माध्यमलाई नजिकबाट नियालेका रोड्रिक चाल्मर्स, माइकल हट वा प्रत्यूष वन्तका लेखनीले प्रकाशकहरूको रुचि, ध्याउन्न र बिक्री–वितरणको यो पाटोलाई कम ध्यान दिएको र प्रस्तुत पुस्तकमा गरिएका कतिपय मान्यताका आधार सोही अध्ययनहरू भएकाले त्यसका विषयमा पनि थप चर्चा र छलफल हुनु आवश्यक छ ।
नेपाली भाषाको विकास तथा विस्तारलाई खोलिएको गोरखा भाषा प्रकाशिनी समितिले धार्मिक पुस्तकहरू प्रकाशित गरिरहेको थिएन । अझ भन्नुपर्दा नेपालभित्रबाट भन्दा नेपाल बाहिरबाट प्रकाशन हुने पुस्तकहरूको संख्या धेरै थियो । त्यसैले कलकत्ता, बम्बई वा बनारसका प्रकाशकहरूले पुस्तक छाप्नुका अरू उद्देश्यका अतिरिक्त बिक्रीलाई पुस्तक छनोट गर्ने र पुन: मुद्रण गर्ने आधार बनाएको कुरालाई पनि ध्यानमा राख्न आवश्यक छ । फरकफरक प्रकाशकहरूले बिक्री भएका किताबहरूको नक्कल गर्ने वा उस्तै नाम राखेर नयाँ पुस्तकको सिर्जना गर्ने र बिक्री–वितरण गर्ने कुरालाई ध्यान दिंदा तत्कालीन समयमा चल्तीमा रहेको पुस्तकहरूका विषयमा केही भन्न सकिन्छ । त्यसैले नै धार्मिक किताबका अतिरिक्त सवाई, लहरी, वर्णमाला प्रकाशकहरूका प्राथमिकतामा परेका हुन् । बिक्री–वितरणलाई आधार मान्ने हो भने सो समयमा स्वस्थानीका किताबभन्दा धेरै रामायण, महाभारत, गीता, कृष्ण चरित्र, वर्णमाला वा सवाई र लहरीका पुस्तकहरूको प्रकाशन र पुनर्मुद्रण र बिक्री–वितरणको स्थिति सबल थियो र सायद प्रभाव पनि ज्यादा थियो ।
किताबको नाम : रिसाइटिङ द गडेस :
न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल (सन् २०१८) (साउथ एसिया एडिसन)
लेखिका : जेसिका भेन्तिन बिर्केनहोल्ज
प्रकाशक : अक्सफोर्ड युनिभर्सिटी प्रेस
मूल्य : भारु १२५०/– पृष्ठ : २२+२१०+११२
प्रकाशित : koseli, फाल्गुन ४, २०७५ ११:३४

माओवादी आक्रमण लगत्तै उद्धारका लागि घर्तीगाउँ पुग्दा

माओवादी आक्रमण लगत्तै उद्धारका लागि घर्तीगाउँ पुग्दा

रामेश्वर थापा काठमाडौं २० पुस २०७५
सञ्चारमाध्यमले माओवादीको ‘राजधानी’ को सङ्ज्ञा पनि दिने गरेका थिए। माओवादीको सो राजधानीमा युद्धकालीन एक दशकमा म कतिपल्ट पुगें, त्यसको हिसाबकिताब छैन। सदरमुकाम लिवाङलगायत रोल्पाका विभिन्न गाउँमा पटकपटक पुगेर त्यहाँको भूगोल, जनजीवन र समग्र परिवेशसँग साक्षात्कार गरेको छु।
२०५६ फागुन ९ गते रोल्पाको घर्तीगाउँ पुग्दा अवस्था सामान्य थिएन। अत्यन्तै विभत्स अवस्थासँग मैले साक्षात्कार गर्नुपर्यो। अघिल्लो रात माओवादी र प्रहरीबीच भएको भिडन्तको ज्वार सेलाउनसम्म नपाउँदै घाइते प्रहरीहरूको उद्धार गर्न बिहानै हामी घर्तीगाउँ पुगेका थियौं।
त्यहाँ घाइतेहरू पीडाले चिच्याइरहेका थिए भने प्रहरीका लासहरू यत्रतत्र छरिएका थिए। माओवादीले जलाएको चौकी भत्केको अवस्थामा थियो। चौकीका प्रमुख प्रहरी निरीक्षक नै मारिएपछि बाँचेकाहरूले पनि माओवादीसँग आत्मसमर्पण गरेका रहेछन्। एक प्रहरी भन्दै थिए, ‘अन्तिम समयसम्म इन्सपेक्टर सा’बले लड्न छाड्नुभएन। माओवादीविरुद्ध प्रतिकार गर्दागर्दै मारिनुभयो।’
सदरमुकाम लिवाङबाट मात्रै ७ घन्टाको पैदल दूरीमा रहेको घर्तीगाउँमा प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय थियो। त्यहाँ अत्यन्तै साहसी प्रहरी निरीक्षक श्रीराम आचार्यले नेतृत्व गरेका थिए। उनको चौकीमा ५०–६० जनाको प्रहरी जनशक्ति थियो।
सानो बजारका घरहरू गुचुमुच्च देखिन्थे। बजारबाट अलिकति माथि पथ्र्यो चौकी। चौकीको चारैतिर सेन्ट्री पोस्ट राखिएको थियो भने वरिपरि ‘माइन’ बिछ्याइएको थियो। घर्तीगाउँबाट झन्डै एक घन्टाको पैदल दूरीमा रहेको भावाङमा दङ्गा प्रहरीको बेसक्याम्प पनि थियो।
प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुट्ने अनि गाउँ–गाउँका चौकी विस्थापित गर्ने अभियानमा लागेको माओवादीको नजरमा घर्तीगाउँ चौकी टाउको दुखाइ बनेको थियो। दाङको होलेरी हुँदै या लिवाङबाट आउँदा–जाँदा घर्तीगाउँ एउटा मुख्य नाका थियो। यहाँ प्रहरीको बलियो उपस्थितिले लडाकु आवतजावतमा पनि जबरजस्त व्यवधान पुगिरहेको थियो। धेरैपटक त्यहाँको प्रहरी जनशक्तिका लागि राशन र एम्युनिसन लिएर पुग्दा प्रहरी निरीक्षक श्रीराम आचार्यसँग कुराकानी हुन्थ्यो।
उनी माओवादी गतिविधि नियन्त्रण गर्न दिलोज्यानले लाग्ने प्रण गर्थे। घर्तीगाउँको समुदायसँग राम्रोसँग भिजिसकेका थिए, उनी। आचार्यको आचरणका कारण प्रहरीलाई हेर्ने जनताको दृष्टिकोण पनि सकारात्मक पाइन्थ्यो। त्यसकारण पनि आचार्यलाई माओवादीले ‘टार्गेट’ बनाएका थिए।
फागुन ८ गते मध्यरातमा माओवादीले घर्तीगाउँ प्रहरी चौकी घेरेर आक्रमण शुरु गर्यो। उद्धारका क्रममा घाइते प्रहरीले बताएअनुसार बाजागाजासहित स्थानीयवासीलाई सुरक्षा कवजका रूपमा सबैभन्दा अगाडि लगाएर माओवादीले रातको एक बजे हमला बोलेका रहेछन्। ३ घन्टासम्म घमासान लडाइँ चलेको रहेछ।
हमलामा प्रहरी निरीक्षक आचार्यसहित १५ जना प्रहरी मारिए। आत्मसमर्पण गरेका भए आचार्य बाँच्न सक्ने रहेछन् तर उनी अन्तिम साससम्म डटेरै लडेछन्। बिहानै घटनास्थल पुगेर घाइतेहरूलाई नेपालगन्ज छाडेपछि पुनः त्यसै दिन थप प्रहरी शक्तिसहित हामी घर्तीगाउँ पुगेका थियौं।
फागुन २०५६
घर्तीगाउँ, रोल्पा
(क्याप्टेन रामेश्वर थापाको संस्मरण पुस्तक ‘बारुदमाथि उड्दा’ बुक–हिलले बजारमा ल्याएको छ।)
प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 20:30:49
https://nepalkhabar.com/np/news/magazine/52903/
http://saron.com.np/our-team/rameshwar-thapa/

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...