सुदूरमा चेली भेटघाट र हुडे नाच
खगेन्द्र अवस्थी
चैत्र २७, २०७३
चैत महिनाको सुरुवातदेखि सुदूर पहाडका बासिन्दा दिदीबहिनी भेटघाट र हुडे नाचमा व्यस्त छन् । दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँमा चेलीबेटीलाई ‘भिटौलो’ दिन भ्याइनभ्याई छ । यससँगै गाउँ–गाउँमा हुडे नाच चलेको छ ।
माइती पक्षले छोरीबहिनीलाई कोसेलीसहित भेटघाट गर्ने चलनलाई भिटौलो भन्दै आएका हुन् । वसन्त ऋतुको सुरुवातसँगै दलित (हुडे) समुदायका अगुवाबाट हुडे नाचमा ऋतुराग गाउने चलन छ । धार्मिक किंवदन्तीअनुसार देउताले राक्षससित गरेको लडाइँ र बाइसेचौबिसे राज्यका घटनालाई हुडेली गीतका माध्यमबाट सुनाइन्छ । बाइसेचौबिसे राज्यका बेला सुदूरपश्चिममा शासन गरेका राजाहरूको बखान, सुदूरपश्चिमेली तथा कुमाउनी सभ्यता र संस्कृतिलाई गीत र नृत्यका माध्यमले प्रस्तुत गरिँदै आएको बुढापाकाहरू बताउँछन् ।
‘भिटौलो’ को चलनले भाइबहिनीको प्रेम तथा माइती पक्षको स्नेहको प्रतीकका रूपमा लिने गरेको छ । चैत महिनामा विवाहित दिदीबहिनीलाई दाजुभाइ र माइती पक्षले घरमै गएर भेटघाट गरी कोसेली दिने परम्परा छ । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एक पटक भेट्नुपर्ने परम्पराले सुख–दु:ख आदानप्रदान गर्दै आएको स्थानीय भोजराज जोशीले बताए ।
भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने गरिन्छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँछिमेकमा बाँड्ने चलन छ । विवाहित महिला चैत महिनामा माइती भेटघाटमा आउने प्रतीक्षामा बस्ने गरेको स्थानीय बताउँछन् । पहिले खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सन्चोबिसन्चोसमेत थाहा नहुने र वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइती सम्झना आउने हुँदा यो चलन बसेको जोशी बताउँछन् ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र आर्थिक अवस्थाअनुसार कपडा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई लगेर दिने परम्परा निरन्तर चलेको छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । सहोदर दाजुभाइ नभएका परिवारमा नजिककाले गएर भेट्ने चलन रहेको धार्मिक अगुवाहरू बताउँछन् ।
हुडे समुदायका व्यक्ति चैत महिनाभरि गैरदलित समुदायको घरआँगनमा गएर हुडे नृत्य र कथा सुनाउने चलन छ । घर आँगनमा आएका हुडेलाई अन्न र पैसा दिए शुभ हुने मान्यता छ । दलितमध्येका बादी, दमाईं समुदायले गैरदलितको घरमा गएर हुडे नाच देखाएर अन्न र पैसा माग्छन् । गाउँमा बसोबास गर्ने दलितले आफ्नो गाउँमा यो नाच देखाउँछन् । बिहे, व्रतबन्ध जस्ता शुभ कार्यमा पनि हुडो बजाएर रमाइलो गर्ने चलन छ ।
महिला र पुरुष दुवै ‘जोडी’ बनाएर गाउँछन् । पुरुष बजाउने महिलाको नाच्ने जिम्मेवारी हुन्छ । यहाँका बासिन्दाले मान्दै आएको कुमाउनी संस्कृतिबाट भित्रिएको नाच प्रदर्शन गर्न सीमा जोडिएका गाउँमा भारतबाट समेत हुडे आउँछन् । भारतको कुमाउ क्षेत्र र सुदूरपश्चिमका पहाडी जिल्लाको भाषा र संस्कृति मिल्दोजुल्दो रहेको छ । काठ र छालाबाट गाउमै बनाएको मादल जस्तै हुडो बनाउँछन् । पछिल्लो पुस्तामा हुडेली नृत्य र वादनकला लोप हुँदै गएको छ । युवायुवतीले चासो नदिँदा हुडो बजाउने कला र परम्परागत कथा पुस्तान्तरण हुन नसकेको सुर्नया ५ का देवराम लुहार बताउँछन् ।
प्रकाशित : चैत्र २७, २०७३ ११:३८