Wednesday, June 12, 2019

स्वस्थानी कथाहरूको ‘कथा’

स्वस्थानी कथाहरूको ‘कथा’
धेरै स्वस्थानीहरूको संकलन नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाअन्तर्गत राष्ट्रिय अभिलेखालयमा भयो । नेपाल भाषाका स्वस्थानीहरूको अर्को राम्रो संकलन आशा सफु गुथीमा छ ।
फाल्गुन ४, २०७५दीपक अर्याल
काठमाडौँ — माघ महिनादेखि सुरु भएको स्वस्थानी व्रतकथाको समय सकिनै लागेको छ ।
लगभग ४५० वर्ष पुरानो यस कथा विभिन्न समयमा हेरफेर भएको छ । कथा थपिएको छ । हस्तलिखित परम्पराबाट, प्रिन्ट, रेडियो र अनलाइनसम्म फैलिएको छ । भाषाका दृष्टिकोणले संस्कृत (१६२९), नेवारी (१६५९), मैथिली (१७६७), नेपाली (१८६७) र हिन्दी (१९२९) मा रहेका ग्रन्थहरू हाल मूलत: नेपाली र नेवारीमा सीमित भएका छन् । प्रकाशनका दृष्टिकोणले नेपाली भाषामा यसको व्यापकता छ तर काठमाडौं उपत्यकाका हकमा भने हस्तलिखित स्वस्थानीहरूको एकप्रति धेरै हिन्दु नेवार परिवारमा सुरक्षित छन् । यसका विषयमा केही महत्त्वपूर्ण अध्ययन–अनुसन्धान भएका छन् र हुनेक्रम जारी छ ।
ऐश्वर्यधर शर्मा २०४५ र २०४९, काशीनाथ तमोट (२०४७), लिन्डा इल्तिस (सन् १९८५), योगेशराज (सन् २००१), चन्द्रबहादुर कायस्थ (सन् २००४) आदि कामहरू भइसकेको सन्दर्भमा जेसिका भेन्तिन बिर्केनहोल्जको पुस्तक रिसाइटिङ द गडेस : न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल (सन् २०१८) देखा परेको छ । किताबका लागि खर्चिएको समय, प्रयोग भएका पाठ्यसामग्रीले पुस्तकका लागि परिश्रम परेको कुरामा कुनै शंका गर्नुपर्दैन । तर, किताबले पहिले नै नेपाली तथा विदेशी विद्वान्हरूले गरिसकेको काममा के नयाँ कुरा भनेको वा नयाँ ज्ञान थपेको छ? भनेर प्रश्न गर्नुपर्ने ठाउँ भने छाडेको छ । लेखिकाले सन् २००४ देखि २०१६ सम्मको लामो समयसम्म गरेको बृहद् अभिलेखीय तथा ‘इथ्नोग्राफिक’ अध्ययनका आधारमा यो पुस्तक तयार भएको हो । छ अध्यायमा विभाजित यस पुस्तकले हिन्दु धर्म र नेपालमा यसको इतिहास, स्थान वा कुनै ठाउँको देवी र देवीको स्थान, स्वस्थानी व्रतकथा र अभिलेख, महिलाको परम्परा तथा स्थानको वर्णनलगायतका मूल शीर्षकमा आफ्नो अनुसन्धान व्याख्यालाई प्रस्तुत गरेकी छन् । साँखुमा ‘इथ्नोग्राफिक’ अध्ययन र राष्ट्रिय अभिलेखालय, आशा सफु कुथी, केशर पुस्तकालय, ब्रिटिस लाइब्रेरी, मदन पुरस्कार पुस्तकालय तथा व्यक्तिगत संकलनमा रहेका स्वस्थानीका हस्तलिखित र मुद्रित सामग्रीलाई मिहिन तरिकाले अध्ययन गरेकी उनले साँखुमा स्वस्थानी व्रतका लागि सहभागीहरूको संख्या (पृ. १३), स्वस्थानीमा देखिएका मुख्य परिवर्तनहरू (पृ. ५९–७२), फरक खालका वर्णन समावेश भएका स्वस्थानीव्रतकथाको सूची (पृ. १९१), फरक समयमा देखा परेका स्वस्थानी व्रतकथाहरूको सूचीलाई पनि पुस्तकमा समावेश गरेकी छन् । दक्षिण एसियाका सन्दर्भमा नेपालको हिन्दु धर्म, धार्मिक परम्परा वा स्वस्थानीका विषयमा रुचि राख्नेहरूका लागि यो पुस्तक महत्त्वपूर्ण सामग्रीका रूपमा प्रकाशित भएको छ ।
लेखिकाले स्वस्थानी र स्वस्थानी कथालाई एउटा ‘लेन्स’ का रूपमा प्रयोग गरेकी छन् जसका माध्यमबाट नेपालको विद्यमान हिन्दु परम्परा वा संस्कृतिलाई फराकिलो तरिकाले हेर्न सकियोस् । तर, ‘लेन्स’बाट देखिने स्थान सीमित हुन्छ र फरकफरक दूरीको कुरा हेर्न फरक ‘लेन्स’को प्रयोग गर्नुपर्छ भन्ने कुरालाई भने उनले कम ध्यान दिएकी छन् । त्यसैले नै उनले एउटै किताबमा ४५० वर्षका धार्मिक, सांस्कृतिक र राजनीतिक परिवर्तनहरूलाई गज्याङगुजुङ पारेर ‘स्वस्थानी’सँग जोड्ने जमर्को गरेकी छन् । जुन निकै चुनौतीपूर्ण काम हो । मूल आधार ‘स्वस्थानी कथा’लाई मानेर यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, राजनीतिक, साहित्यिक तथा मुद्रण संस्कृतिसम्मलाई एकै ठाउँ राखेर त्यसका प्रभाव वा देखा परेका परिवर्तनका विविध पाटाहरूलाई लेखाजोखा गर्नु सानो चुनौतीको काम होइन तथापि उनले त्यो काम गरेकी छन् । फलस्वरूप एउटै किताबमा सन् १५७३ को स्वस्थानी कथादेखि सन् २००५ मा कान्तिपुर दैनिकमा प्रकाशित वात्स्यायनको कार्टुनको कथासम्म अटेका छन् । लामो कालखण्डको धार्मिक, सांस्कृतिक, राजनीतिक तथा ‘साहित्यिक’ लेखाजोखा गर्ने क्रममा स्वस्थानीका माध्यमबाट नेपाली हिन्दुहरूमाझ बाँडिएका, व्याख्या गरिएका, भनिएका वा फैलिएका कथाले स्थानीय, क्षेत्रीय वा हिन्दु ‘राष्ट्र–राज्य’को संकथन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको तर्क छ । पुस्तकको उद्देश्य स्वस्थानी कथा र सोहीसँग जोडिने ‘न्यारेटिभ’ हरूलाई भारतीय उपमहाद्वीपमा परिवर्तन भइरहेको धार्मिक, सांस्कृतिक तथा राजनीतिक परिदृश्यहरूको फराकिलो सन्दर्भमा जोड्नु हो जसले हिन्दु राष्ट्र–राज्यका रूपमा नेपालभित्र भएका सांस्कृतिक वा धार्मिक संकथनका विषयमा जानकारी दिनेछ । बृहत् क्षेत्र समेटेको यस पुस्तकका विषयमा लेखाजोखा गर्ने क्रममा मैले अप्रकाशित पुस्तकहरूको मुद्रण, पुनर्मुद्रण, बिक्री–वितरण वा उपभोग नै कुनै ‘टेक्स्ट’ वा कथाको ‘प्रभाव’क्षेत्र हेर्ने एउटा आधार हुन सक्छ भन्ने मान्यतालाई आधार मानेको छु ।
समाज वा समुदायमा ४५० वर्षदेखि निरन्तर वाचन गरिने कुनै पनि ‘टेक्स्ट’ आफंैमा महत्त्वपूर्ण हुने कुरामा कुनै शंका छैन । यसले पार्ने प्रभावका बारेमा पनि प्रशस्त बोल्न र लेख्न सकिन्छ । समाज वा समुदाय वा पुस्तकमा चर्चा गरिएजस्तै ‘राष्ट्र–राज्य’को काल्पनिकता र सोसँग जोडिएर आउने साझा भावनाका विषयमा पनि पूरै विमति राख्नुपर्ने ठाउँ छैन तर प्रश्न यसरी पनि उठ्न सक्छ, के स्वस्थानी कथाको परम्परा नभएका भए ‘राष्ट्र–राज्य’का रूपमा वर्तमान नेपालको चरित्र फरक हुन्थ्यो? के हिन्दु राष्ट्र, पहिचानका विषयमा नेपाल अहिलेभन्दा भिन्न हुन्थ्यो ? महिला, धर्म वा पहिचानका विषयमा हेर्ने दृष्टिमा कुनै भिन्नता देखा पथ्र्यो ? के नेपालको राजनीतिक, सांस्कृतिक, धार्मिक वा साहित्यिक परम्परा र सोसँग जोडिएर आउने संकथनमा एउटा स्वस्थानीको कथा नहुँदैमा कुनै फरक पथ्र्यो ? वा त्योभन्दा भिन्न तरिकाले नेपाली सार्वजनिक वित्तको विकास र विस्तार हुन्थ्यो?
लेखिकाको तर्क छ— स्वस्थानीको नेपाली भाषामा अनुवाद (पृ. ११०), मुद्रण प्रविधिको विस्तार र यसको घरघरमा उपस्थिति (पृ. ११५), यसका कथामा आएको परिवर्तन (पृ. २३) सँगै ‘टेक्स्ट’ तथा ‘भक्ति परम्परा’ का कारण यो शक्तिशाली र स्थायी माध्यम (पृ. २०९) का रूपमा सम्भ्रान्त शासकदेखि सामान्य जनले ग्रहण गर्‍यो । राज्यको भाषिक नीति, पृथ्वीनारायण शाहको पालादेखि देखिएको ‘असल हिन्दुस्थान’ को कल्पना (पृ. २९, १५९ र १६१), राणाकालीन समयमा गोरखा भाषा प्रकाशिनीको जन्म, प्रकाशनमा लागेको अघोषित हस्तक्षेप (पृ. ९०) लगायतका कारण पनि स्वस्थानी कथासँग शासक, हिन्दु नेवार र पहाडिया समुदाय जोडियो । यस अर्थमा स्वस्थानीले नेपाली समाज, राजनीति, धर्म र संस्कृतिसँग विशेष सम्बन्ध राख्छ र यसको अध्ययन महत्त्वपूर्ण छ ।
स्वस्थानी कथाको कथा
धेरै स्वस्थानीहरूको संकलन नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाअन्तर्गत राष्ट्रिय अभिलेखालयमा भयो । नेपाल भाषाका स्वस्थानीहरूको अर्को राम्रो संकलन आशा सफु गुथीमा छ । काठमाडौं उपत्यकाका कैयौं घरमा सुरक्षित रहेका हस्तलिखित स्वस्थानीबाहेक अध्ययनका लागि यी दुई स्थान महत्त्वपूर्ण छन् । मुद्रित नेपाली भाषाका स्वस्थानीहरू मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छन् । विसं १९६९ सालमा प्रकाशित पुस्तकमा ‘कवि शिखरनाथ शर्मा सुवेदी पण्डितले बनाई छपायाका पुस्तक हरूको सूचीपत्र’ मा बृहत्स्वस्थानीको विज्ञापन गरिएकाले (३१ अध्याय अनुक्रमणिकासहित अपूर्व दर्शनीय छ) त्योभन्दा पहिले शिखरनाथको बृहत्स्वस्थानीको पुस्तक छापिएको मान्न सकिन्छ । विसं १९६८ कात्तिकमा प्रकाशित शिखरनाथ सुवेदीको महाभारत कर्ण पर्वमा पनि ‘बृहत्स्वस्थानी’को विज्ञापन गरिएको छ । तर, सोही नामको पुस्तक भने मदन पुरस्कारको क्याटलग सूचीमा देखा पर्दैन । तथापि मिति उल्लेख नभएका शिखरनाथका दुई स्वस्थानी पुस्तक तथा २२ अध्याय मात्र रहेको नेपाली भाषाको हस्तलिखित स्वस्थानी भने पुस्तकालयमा रहेका छन् । स्वस्थानीका कैयौं प्रसंगहरूको आधार स्कन्दपुराण मात्र होइन, लिंग, पद्म तथा शिवपुराण पनि हो भनेर मानिन्छ । फरकफरक पुराणका फरकफरक प्रसंगहरू र कश्मीरदेखि आसामसम्मका पीठहरूलाई जोडेपनि स्वस्थानीलाई ‘मौलिक नेपाली कथा’का रूपमा स्वीकार गरिन्छ । स्वस्थानी कथा मूलत: नेपाल भाषामा काठमाडौं उपत्यकामा व्यापक रहेपनि संस्कृत, मैथिली, नेपाली तथा हिन्दी भाषामा पनि यसको अस्तित्व रहेको कुरा उल्लेखनीय छ ।
काशीनाथ तमोटले सन् १५७३ देखि ब्राह्मण पण्डितहरूबाट कथावाचन हुने परम्पराबाट सुरु भएको स्वस्थानी करिब ३० वर्ष सन् १६०३ मा नेवारी भाषामा अनुवाद भएपछि जनताको घरघरमा पुगेको बताएका छन् । नेपाल भाषाका स्वस्थानी सबैभन्दा धेरै भेटिनुले पनि काठमाडौं उपत्यकामा स्वस्थानीको लोकप्रियताको अनुमान गर्न सकिन्छ । विसं १८६७ मा नेपाली भाषामा लेखिएको स्वस्थानी पाल्पामा केशरसिंह बस्नेतले सारेको भेटिन्छ । काठमाडौं उपत्यकाका तुलनामा पश्चिमी भेग ‘हस्तलिखित सामग्रीका लागि चल्ती’को क्षेत्र होइन र उक्त क्षेत्रमा मुद्रण प्रविधि मार्फत स्वस्थानी कथाले लोकप्रियता पाएको हो । यस अर्थमा पाल्पामा सारिएको हस्तलिखित स्वस्थानी ‘अपवाद’का रूपमा भेटिएको मान्न सकिन्छ । मैथिल र हिन्दी भाषामा स्वस्थानी लोकप्रिय छैन । वास्तवमा स्वस्थानीको व्यापकता ‘नेपाली भाषी तथा नेवार भाषी’का कारण फैलिए पनि नेपालकै सुदूरपूर्व, पश्चिम, उत्तर तथा दक्षिणी भेगमा राम्रोसँग फैलिएको छैन त्यसैले यसको प्रभावका विषयमा प्रश्न गर्ने ठाउँ रहन्छ ।
लिंगपुराणमा विविध अंशहरू थपिँदै जाने क्रममा वर्तमान लिंग पुराणको अस्तित्व देखा परेको मानिन्छ । काशीनाथ तमोटका अनुसार स्वस्थानी व्रतकथा एक स्वतन्त्र मौलिक कथा भएपनि त्यसमा कथाहरू थपिँदै गए । स्वस्थानीले भूगोललाई पनि महत्त्व दिएको छ । पछिल्लो समयमा प्रकाशित ‘स्वस्थानी कथामा’ भूगोल भनेर विशेष चित्र पनि दिने गरेको पाइन्छ । खासगरी छापिएका पुस्तकहरूमा ‘भूगोल’ को प्रयोग भएको छ । अथ स्वस्थानीव्रतकथा (प्रकाशक पं टीकादत्त धिताल, नेपाली सौभाग्य पुस्तकालय)को आवरण पृष्ठमा महादेव पार्वती अष्टमातृका र बीचमा स्वस्थानीको आकृति र सुमेरु दूरी आदिको आकृति देखा पर्छ । चार हात्ती चार कुना (चार दिशामा) मा अवस्थित छन् । सन् १९४७ मा बाबु माधवप्रसाद शर्मा, बनारसबाट प्रकाशित स्वस्थानी–कथामा पनि श्री–स्वस्थानी–भूगोल भनेर सुमेरु पर्वतदेखि जम्बुद्वीपसम्मका फरक(फरक दूरीहरू दिइएको छ । सतीदेवीको अंग पतन भएका ठाउँ र पीठ उत्पन्न भएको चर्चाले भारतवर्ष तथा जम्बुद्वीपभरिको शैव स्थललाई समग्ररूपमा समेट्ने प्रयास गरेको देखिन्छ । जुन वर्तमान ‘राष्ट्र–राज्य’ वा राष्ट्रियताले बोक्ने ‘नेपाल’भन्दा भिन्न मान्न सकिन्छ ।
सबैभन्दा सुरुको स्वस्थानी कथा र व्रतविधि ताडपत्रमा थियो । केवल ८ पत्रमा । पछि यसमा अनेक प्रसंगहरू जोडिंदाजोडिंदै स्वस्थानीको वर्तमान रूपको विकास भएको हो । कतिपय साना–तिना प्रसंग वा शब्दहरूको थपघट त सार्ने क्रममा भएको हुन सक्छ । जे भएपनि स्वस्थानी घरघरमा पुगेपछि वा केही फरक ठाउँ र समुदायमा पुगेपछि पनि केही कथा वा प्रसंगमा थपघट भएका छन् । तर, यस्ता थपघट किन वा कुन उद्देश्यका लागि भएका थिए भनेर बहस गर्न सकिने ठाउँ भने छ । लेख्नेहरूले, बेच्नेहरूले यसको महत्त्वका विषयमा प्रचारप्रसार पनि पक्कै गरे । यसका लागि विभिन्न प्रसंगहरू पनि जोडिए नै । केही ‘स्थानीयकरण’पनि भयो नै त्यसको उद्देश्य के थियो भन्ने कुराको व्याख्या वर्तमान ‘राजनीतिक वा सांस्कृतिक’ व्याख्याले मात्र सहज नहुन सक्छ । त्यसो त यसको लोकप्रियताले गर्दा ‘बौद्ध स्वस्थानी’ बनाउने प्रयास भएको प्रसंग पनि यहाँ उल्लेख गर्न आवश्यक छ ।
मुद्रण संस्कृतिको आँखा
स्वस्थानीको कथा हस्तलिखित अवस्थामा सुदूरपूर्व, पश्चिम, उत्तर र दक्षिण फैलिएको थिएन जति प्रिन्टका रूपमा आएपछि फैलियो । त्यसैले त्यसका प्रभावका विषयमा थप चर्चा गर्न आवश्यक हुन्छ । प्रिन्ट आएपछि फैलियो र त्यसको प्रभाव पर्‍यो भन्ने तर्क मान्ने हो भने पनि स्वस्थानी सबैभन्दा धेरै मुद्रण वा वितरण भएको पुस्तक होइन । स्वस्थानी पुस्तकभन्दा अगाडि वा सोही समयमा त्योभन्दा धेरै भानुभक्तको रामायण सन् १९५५ सम्म ७३ औं संस्करण, रामाश्वमेघ सन् १९६० सम्म १४ औं संस्करण प्रकाशित भइसकेका थिए र कम्तीमा १०० फरकफरक लेखक, प्रकाशक वा संस्करणका रूपमा ‘रामायण’को उपभोग तथा वितरण भइसकेको थियो । त्यसैगरी १०० थरीका महाभारत, १०० थरीका गीता, २०औं थरीका श्रीमद्‌भावगत, २५औं थरीका सवाई, ५०औं थरीका लहरी वा २०औं थरीका बाइबलहरू सन् १९५०को दशकसम्ममा बिक्री–वितरणमा आइसकेका थिए ।बृहत् कृष्ण चरित्र सन् १९५५ सम्ममा २०औं संस्करण, असली कृष्ण चरित्र सन् १९३१ सम्म २६औं संस्करण प्रकाशित भइसकेको थियो भने सन् १९४९ सम्ममा ठूलो गोरखा (वर्णमाला)को बीसौं संस्करण निस्किसकेको थियो । देवी भागवत २०औं संस्करण (सन् १९५३), भागवत कुञ्ज २३औं संस्करण (विसं २०३२) प्रकाशित भइसकेका थिए । असली कृष्ण चरित्र अर्थात् सुखसागर सन् १९३१ मा २६औं पटक पुनर्मुद्रण भएर नेपाली समाज वा नेपालीभाषीले उपभोग गर्दै थिए । स्वस्थानीका हकमा लोकप्रिय स्वस्थानीमध्येको ठूलो स्वस्थानी व्रतकथा (होमनाथ केदारनाथ) सन् १९५६ सम्ममा बाह्रौं संस्करण बिक्री–वितरण भएको थियो । यस अर्थमा नेपाली भाषाका मुद्रित किताबहरूमध्ये स्वस्थानी लोकप्रिय पुस्तक त हो तर त्यति धेरै होइन जसले अन्य धार्मिक, शैक्षिक वा मनोरञ्जनका पुस्तकहरूका तुलनामा फैलिएको वा ठूलो प्रभाव पारेको होस् । स्वस्थानीको फैलावटका विषयमा काठमाडौं खाल्डोमा जति धेरै दाबी गर्न सकिन्छ त्यति नै कम दाबी खाल्डोसँग जोडिएका डाँडाहरूमा गर्न सकिन्छ । पक्का पनि मुद्रित पुस्तक आएपछि यो फैलिएको थियो तर स्वस्थानीका तुलनामा अन्य धार्मिक पुस्तकहरू अझ व्यापक रूपमा फैलिएका थिए भन्ने प्रशस्त आधारहरू छन् । त्यसैले धार्मिक पुस्तकहरूको प्रभाव नेपाली समाजमा परेको थियो भनेर मान्ने नै हो भने पनि स्वस्थानीको फैलावट वा लोकप्रियता सबैभन्दा धेरै भएको वा यसको प्रभाव धेरै परेको भन्ने तथ्य आफैंमा विश्वसनीय छैन ।
यसका अतिरिक्त कुनै पनि पुस्तकका माध्यमबाट समाजमा पर्ने प्रभावका विषयमा राज्यसँगै निजी क्षेत्रको ध्याउन्नलाई पनि ख्याल राख्न आवश्यक हुन सक्छ । नेपाली राज्यले नेपाली भाषालाई अन्य भाषाका हकमा सहुलियत दिएको वा सघाएको कुरामा विवाद छैन तर बजारले के गरिरहेको थियो वा बजारको के माग थियो भन्ने कुरामा ध्यान दिन आवश्यक छ । नेपालभित्र भन्दा नेपाल बाहिर र सरकारी स्तरमा भन्दा निजी क्षेत्रबाट धेरै पुस्तकहरू प्रकाशित र बिक्री–वितरण भइरहेको अवस्थामा सम्पूर्ण निजी क्षेत्रले ‘सरकारी नीति’ अनुरूप नेपाली भाषाको विकास तथा विस्तारलाई मात्र सघाए र आफ्नो व्यापार नाफा–घाटा वा पाठकको रुचि हेरेनन् भन्ने कुराको कुनै यथार्थ आधार छैन । प्रिन्ट माध्यमलाई नजिकबाट नियालेका रोड्रिक चाल्मर्स, माइकल हट वा प्रत्यूष वन्तका लेखनीले प्रकाशकहरूको रुचि, ध्याउन्न र बिक्री–वितरणको यो पाटोलाई कम ध्यान दिएको र प्रस्तुत पुस्तकमा गरिएका कतिपय मान्यताका आधार सोही अध्ययनहरू भएकाले त्यसका विषयमा पनि थप चर्चा र छलफल हुनु आवश्यक छ ।
नेपाली भाषाको विकास तथा विस्तारलाई खोलिएको गोरखा भाषा प्रकाशिनी समितिले धार्मिक पुस्तकहरू प्रकाशित गरिरहेको थिएन । अझ भन्नुपर्दा नेपालभित्रबाट भन्दा नेपाल बाहिरबाट प्रकाशन हुने पुस्तकहरूको संख्या धेरै थियो । त्यसैले कलकत्ता, बम्बई वा बनारसका प्रकाशकहरूले पुस्तक छाप्नुका अरू उद्देश्यका अतिरिक्त बिक्रीलाई पुस्तक छनोट गर्ने र पुन: मुद्रण गर्ने आधार बनाएको कुरालाई पनि ध्यानमा राख्न आवश्यक छ । फरकफरक प्रकाशकहरूले बिक्री भएका किताबहरूको नक्कल गर्ने वा उस्तै नाम राखेर नयाँ पुस्तकको सिर्जना गर्ने र बिक्री–वितरण गर्ने कुरालाई ध्यान दिंदा तत्कालीन समयमा चल्तीमा रहेको पुस्तकहरूका विषयमा केही भन्न सकिन्छ । त्यसैले नै धार्मिक किताबका अतिरिक्त सवाई, लहरी, वर्णमाला प्रकाशकहरूका प्राथमिकतामा परेका हुन् । बिक्री–वितरणलाई आधार मान्ने हो भने सो समयमा स्वस्थानीका किताबभन्दा धेरै रामायण, महाभारत, गीता, कृष्ण चरित्र, वर्णमाला वा सवाई र लहरीका पुस्तकहरूको प्रकाशन र पुनर्मुद्रण र बिक्री–वितरणको स्थिति सबल थियो र सायद प्रभाव पनि ज्यादा थियो ।
किताबको नाम : रिसाइटिङ द गडेस :
न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल (सन् २०१८) (साउथ एसिया एडिसन)
लेखिका : जेसिका भेन्तिन बिर्केनहोल्ज
प्रकाशक : अक्सफोर्ड युनिभर्सिटी प्रेस
मूल्य : भारु १२५०/– पृष्ठ : २२+२१०+११२
प्रकाशित : koseli, फाल्गुन ४, २०७५ ११:३४

महापातकी विरूपाक्ष !

  महापातकी विरूपाक्ष ! विरूपाक्ष डा० माधव प्रसाद पोखरेल (‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बा...