Wednesday, June 12, 2019

सभ्यता खोज्दै स्रष्टा

सभ्यता खोज्दै स्रष्टा
माघ १३, २०७५कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक — तीन दशकअघि सेलो गायक चन्दकुमार मोक्तानले सिन्धुपाल्चोकको पुरानो सभ्यता बोकेको एउटा गुम्बाको बयान गर्दै गाएका थिए, ‘ह्रिस्याङ्गोला गोन्बो...।’ तीसको दशकमा रेडियो नेपालमा पहिलो पटक तामाङ सेलो गाएका यी पाका गायकको यो गीत अहिले पनि चर्चित छ ।
शुक्रबार उनै गायक मोक्तान लिसंखुको त्यही गुम्बा अघिल्तिर उभिएर आफ्नो पुरानो गीत गाउँदै गर्दा भावुक बने । ‘तामाङ सभ्यताको इतिहासमा पटक पटक नाम आउने यो गुम्बाबारे सुनेकै भरमा गीत गाएको थिएँ’, परेला थप्थपाउँदै उनी बोले, ‘बल्ल यहाँ टेक्ने मौका मिल्यो ।’
उनी मात्रै हैन, यही गाउँ पुख्र्यौली रहेको जापानका लागि पूर्व नेपाली राजदूत गणेश योञ्जन, यहीँ जन्मी हुर्केर १७ वर्षकै उमेरमा सगरमाथा कान्छा आरोहीको कीर्तिमान बनाएका शम्भु तामाङ, कुनै समय रेडियो नेपालका लोक गायक सुब्बा योञ्जन लगायत भावुक बने । काठमाडौंबाट गएका तीन दर्जन कवि तथा लेखकहरू यही थलोको प्रशंसा गर्दै कविता, गजल र गीत सुनाउँदै थिए । लिसंखुपाखर गाउँपालिका–२ को निम्तोमा तामाङ डाजाङले गरेको दुई दिने साहित्यिक यात्राको अन्तिम दिन गाउँ घुमेर स्रष्टाहरूले पुरातात्त्विक महत्त्वको ‘छ्योइफेल कुन्दलिङ गुम्बा’ मा सिर्जना प्रस्तुत गरेका हुन् ।
योञ्जनहरूको सभ्यता आरम्भसित जोडिने यो गुम्बा लामो समय गाउँमाथिको डाँडामा थियो ।
सगरमाथा आरोही शम्भु तामाङका अनुसार ७३ वर्षअघि यो तल भञ्ज्याङमा सारियो र पछिल्लो समय यसैलाई आधुनिक स्वरूप दिइयो । स्रष्टाहरूले यही गुम्बासँगै बाटामा भेटिने सयौं वर्ष पुरानो छयोर्तेन (स्तुप), सम्भोटा र रञ्जना लिपिमा कोरिएका हिगी–ओम (स्मारक), पुरानो काष्ठकला कुँदिएका घरहरू, मोक्तानहरूको आदि थलो मानिने आन्दरबुङ गाउँ लगायतका थलोलाई विम्ब र प्रतीक बनाएर सिर्जना गरे ।
केहीले तामाङ सभ्यतामा प्रचलित गाउँ ‘ह्रिस्याङ्गो’ को नाम बदलेर अर्थ नै नलाग्ने लिसंखु राखेकोप्रति गुनासो गरे । पूर्व राजदूत गणेश योञ्जनले स्थानीय मौलिकता र पहिचान राष्ट्रि्रय सम्पत्ति भएकोले त्यसलाई जोगाउन स्थानीय सरकार लाग्नुपर्ने सुझाए । ‘नामसित स्थानीय ज्ञान परम्परा, संस्कृति र पहिचान जोडिएको हुन्छ,’ उनले भने, ‘यसलाई त प्रवद्र्धन पो गर्नुपर्छ । ग्रामीण पर्यटनसित पनि जोड्न सकिन्छ ।’
काभ्रे र भक्तपुरबाट ‘फापरे व्हाई’ (लोकगीत) गाउन पुगेका धनकुमारी घिसिङ, रञ्जना मोक्तान, संगीता थिङलगायतले पनि गीतबाट यस्तै सुझाव दिए । दोहोरी खेल्न तम्सिए स्थानीय सेलो गायिका फुरुडोल्मो रुम्बा र फुर्मो लामा । राम गोम्जाले धादिङमा प्रचलित लोकभाका सुनाए ।
राजु स्याङ्तान, राबत, मुक्तान थेवा, नेत्र तामाङ, तेज योञ्जन, हीरामाया घिसिङ, कविराज काल्तान, पदमबहादुर ग्याबा, चन्द्री मोक्तान, ईश्वर थोकर, इकमान तामाङ, अटुट दोङ, रचना मोक्तान ‘यात्री’, हीरामाया घिसिङ ‘कुसुम’, साम्देन दोङ, रोज मोक्तान, पारस लामा लगायतले सिर्जना सुनाए । गाउँपालिका अध्यक्ष कलमप्रसाद नेपालले गाउँको मौलिकता र संस्कृति खोज्दै सहरबाट स्रष्टाहरू आएकोप्रति खुसी साटे । उपाध्यक्ष हेमगंगा मोक्तान, वडाध्यक्षहरू हस्त मोक्तान, कुमार लामा, गुम्बाका प्रमुख नार्बु लामा लगायतले स्थलगत सिर्जनाको प्रशंसा गरे ।
डाजाङकी अध्यक्ष सञ्चु ब्लोनले साहित्यमा स्थानीयपनको खोजी गर्न आफूहरूले ८ वर्षअघिदेखि ‘तामाङ ग्योइकाइ ल्हाम’ (साहित्यिक यात्रा) थालेको बताउँदै पाँचौं शृंखलाको रूपमा लिसंखु छानिएको बताइन् । डाजाङका पूर्व अध्यक्ष एवं यात्रा संयोजक बुद्ध योञ्जनका अनुसार यसअघि ललितपुर भारदेउ, चौघरे, काभ्रेको तेमाल, ललितपुरकै प्युटार, कोन्ज्योसोम र मकवानपुर लगायतका थलोमा यात्रा सम्पन्न भइसकेको छ ।
प्रकाशित : माघ १३, २०७५ ०९:१५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...