Wednesday, June 12, 2019

माओवादी आक्रमण लगत्तै उद्धारका लागि घर्तीगाउँ पुग्दा

माओवादी आक्रमण लगत्तै उद्धारका लागि घर्तीगाउँ पुग्दा

रामेश्वर थापा काठमाडौं २० पुस २०७५
सञ्चारमाध्यमले माओवादीको ‘राजधानी’ को सङ्ज्ञा पनि दिने गरेका थिए। माओवादीको सो राजधानीमा युद्धकालीन एक दशकमा म कतिपल्ट पुगें, त्यसको हिसाबकिताब छैन। सदरमुकाम लिवाङलगायत रोल्पाका विभिन्न गाउँमा पटकपटक पुगेर त्यहाँको भूगोल, जनजीवन र समग्र परिवेशसँग साक्षात्कार गरेको छु।
२०५६ फागुन ९ गते रोल्पाको घर्तीगाउँ पुग्दा अवस्था सामान्य थिएन। अत्यन्तै विभत्स अवस्थासँग मैले साक्षात्कार गर्नुपर्यो। अघिल्लो रात माओवादी र प्रहरीबीच भएको भिडन्तको ज्वार सेलाउनसम्म नपाउँदै घाइते प्रहरीहरूको उद्धार गर्न बिहानै हामी घर्तीगाउँ पुगेका थियौं।
त्यहाँ घाइतेहरू पीडाले चिच्याइरहेका थिए भने प्रहरीका लासहरू यत्रतत्र छरिएका थिए। माओवादीले जलाएको चौकी भत्केको अवस्थामा थियो। चौकीका प्रमुख प्रहरी निरीक्षक नै मारिएपछि बाँचेकाहरूले पनि माओवादीसँग आत्मसमर्पण गरेका रहेछन्। एक प्रहरी भन्दै थिए, ‘अन्तिम समयसम्म इन्सपेक्टर सा’बले लड्न छाड्नुभएन। माओवादीविरुद्ध प्रतिकार गर्दागर्दै मारिनुभयो।’
सदरमुकाम लिवाङबाट मात्रै ७ घन्टाको पैदल दूरीमा रहेको घर्तीगाउँमा प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय थियो। त्यहाँ अत्यन्तै साहसी प्रहरी निरीक्षक श्रीराम आचार्यले नेतृत्व गरेका थिए। उनको चौकीमा ५०–६० जनाको प्रहरी जनशक्ति थियो।
सानो बजारका घरहरू गुचुमुच्च देखिन्थे। बजारबाट अलिकति माथि पथ्र्यो चौकी। चौकीको चारैतिर सेन्ट्री पोस्ट राखिएको थियो भने वरिपरि ‘माइन’ बिछ्याइएको थियो। घर्तीगाउँबाट झन्डै एक घन्टाको पैदल दूरीमा रहेको भावाङमा दङ्गा प्रहरीको बेसक्याम्प पनि थियो।
प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुट्ने अनि गाउँ–गाउँका चौकी विस्थापित गर्ने अभियानमा लागेको माओवादीको नजरमा घर्तीगाउँ चौकी टाउको दुखाइ बनेको थियो। दाङको होलेरी हुँदै या लिवाङबाट आउँदा–जाँदा घर्तीगाउँ एउटा मुख्य नाका थियो। यहाँ प्रहरीको बलियो उपस्थितिले लडाकु आवतजावतमा पनि जबरजस्त व्यवधान पुगिरहेको थियो। धेरैपटक त्यहाँको प्रहरी जनशक्तिका लागि राशन र एम्युनिसन लिएर पुग्दा प्रहरी निरीक्षक श्रीराम आचार्यसँग कुराकानी हुन्थ्यो।
उनी माओवादी गतिविधि नियन्त्रण गर्न दिलोज्यानले लाग्ने प्रण गर्थे। घर्तीगाउँको समुदायसँग राम्रोसँग भिजिसकेका थिए, उनी। आचार्यको आचरणका कारण प्रहरीलाई हेर्ने जनताको दृष्टिकोण पनि सकारात्मक पाइन्थ्यो। त्यसकारण पनि आचार्यलाई माओवादीले ‘टार्गेट’ बनाएका थिए।
फागुन ८ गते मध्यरातमा माओवादीले घर्तीगाउँ प्रहरी चौकी घेरेर आक्रमण शुरु गर्यो। उद्धारका क्रममा घाइते प्रहरीले बताएअनुसार बाजागाजासहित स्थानीयवासीलाई सुरक्षा कवजका रूपमा सबैभन्दा अगाडि लगाएर माओवादीले रातको एक बजे हमला बोलेका रहेछन्। ३ घन्टासम्म घमासान लडाइँ चलेको रहेछ।
हमलामा प्रहरी निरीक्षक आचार्यसहित १५ जना प्रहरी मारिए। आत्मसमर्पण गरेका भए आचार्य बाँच्न सक्ने रहेछन् तर उनी अन्तिम साससम्म डटेरै लडेछन्। बिहानै घटनास्थल पुगेर घाइतेहरूलाई नेपालगन्ज छाडेपछि पुनः त्यसै दिन थप प्रहरी शक्तिसहित हामी घर्तीगाउँ पुगेका थियौं।
फागुन २०५६
घर्तीगाउँ, रोल्पा
(क्याप्टेन रामेश्वर थापाको संस्मरण पुस्तक ‘बारुदमाथि उड्दा’ बुक–हिलले बजारमा ल्याएको छ।)
प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 20:30:49
https://nepalkhabar.com/np/news/magazine/52903/
http://saron.com.np/our-team/rameshwar-thapa/

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...