Wednesday, June 12, 2019

सन्देशमूलक स्वस्थानी

सन्देशमूलक स्वस्थानी
स्वस्थानी कथाले समाजका अनेक पाटा बोकेको छ । यो तत्कालीन समाजको ऐना हो । केही आलोच्य पक्ष होलान् तर धेरै अर्थमा सन्देशमूलक छ । यसबाट आवश्यक सन्देश मात्र ग्रहण गरौं ।
फाल्गुन ७, २०७५रामेश्वरी पन्त
काठमाडौँ — हामीकहाँ आयातित ‘प्रेम दिवस’को हल्ला धेरै हुने गर्छ । तर आफ्नै पूर्वीय दर्शनभित्रका कैयांै सुन्दर प्रेमकथाबारे अनभिज्ञ छौं । प्रेम दिवस अक्सर स्वस्थानी व्रत अवधिमा पर्छ । स्वस्थानी कथा एउटा आदिम प्रेमको अनुपम कथा पनि हो भनेर कमैलाई थाहा होला ।
स्वस्थानी कथामा वर्णित महादेव–सतीदेवी–पार्वतीको प्रेम सायद सृष्टिको पहिलो प्रेमकथा हो । स्वस्थानी कथामा वर्णित शिव–सती विवाह प्रसंग अन्तर्गत जब महादेवले सम्पूर्ण देवताको विवाह भएको खबर पाउँछन्, तब उनको संन्यासी मन र एक्लो फिरन्ते जीवनले पनि साथीको आवश्यकता महसुस गर्छ ।
गृहस्थ जीवन परिकल्पना गर्छ र दक्षप्रजापतिका तेत्तीसकोटी कन्यामध्ये विवाह गर्न बाँकी रहेकी जेठी छोरी सतीदेवीको हात माग्न पुग्छन् । घर न बासको फिरन्ता जोगीलाई आफ्नी सर्वप्रिय छोरी दिन दक्षले इन्कार गर्छ र शिवलाई अपमानित गर्दै घरबाट निकालिदिन्छ । शिवको सतीदेवीसँग एकोहोरो प्रेम बसिसकेको हुन्छ । उनी हार मान्दैनन् र जसरी पनि उनलाई प्राप्त गरेरै छाड्ने अठोटले विष्णुको सहयोग माग्न जान्छन् । अन्तत: उनै विष्णुले आफ्नालागि भनेर सतीदेवीको हात माग्छन् र छलपूर्वक महादेवसँग सतीदेवीको विवाह गराइदिन्छन् ।
विवाहपछि शिव र सतीको प्रेम यति उत्कर्षमा पुग्छ कि उनीहरू एकअर्काको निम्ति ज्यानकै बलिदानी गर्नेदेखि पागलसम्म बनिदिन्छन् । आफ्नै पिताबाट आफ्नो प्राणप्यारो पतिदेवको अपमान भएको सहन नसकेर यज्ञकुण्डमा हामफालेर सतीदेवीले आत्मदाह गर्छिन् । यो खबर पाएपछि शिव तत्काल दक्षको यज्ञमा पुग्छन् र सतीको मृत देहलाई यज्ञकुण्डबाट बाहिर निकाल्छन् । उनको देहमा लागेको धुलो खरानी टकटक्याइदिन्छन्, मुसार्छन्, बोलाउँछन्, म्वाइँ खान्छन्, उभ्याउन खोज्छन् । सतीको वियोगमा विछिप्त भएका महादेवले उनको मृत देहलाई अँगालो हालेर निकै बेर विलाप गर्छन् र अन्त्यमा उनको शरीरलाईआफ्नो शिरमा धारण गर्दै भन्छन्–
‘सती ! त्वं मम भार्यासि, लोकलज्जां परित्यज्यन् ।
मूध्र्ना वहामि ते देहं भाग्यं मम महत्तरम् ।।
– देवी भागवत् ।
(हे सती ! तिमी मेरी पत्नी हौ, तैपनि लाजै पचाएर तिमीलाई मैले शिरमै धारण गरेँ । तिम्रो पवित्रताको मैले सम्मान गरेँ । यो मेरो ठूलोभाग्य हो ।)
हाम्रो समाजमा पत्नीलाई पतिले शिरमा धारण गर्नु अथवा पतिभन्दा पत्नी उच्च स्थानमा रहनु लोकलज्जाको विषय हुने गर्छ । पत्नीले देवी नै भए पनि पतिको पाउ धुनुपर्ने, तर पतिले चाहिँं भुलवश वा प्रेमवश पत्नीको पाउ छुनु वा उसलाई उच्च स्थान दिनु अपराधजस्तै ठान्ने हाम्रो समाजमा यसरी महादेवले सतीको मृतदेहलाई शिरमा धारण गर्दा लोकलज्जा त्याग्नुपरेको कथाले भनेको छ । महादेवले प्रेमपूर्वक सतीलाई सम्मान गर्नुलाई सकारात्मक सन्देशका रूपमा हेर्नुपर्ने हुन्छ ।
विछिप्त शिव सतीको मृत देहलाई काँधमा बोकेर बेहोसीमै यत्रतत्र भौंतारिँदै हिँड्छन् । सतीको शरीर कुहिएर एकपछि अर्को गर्दै अनेक अङ्ग अनेक ठाउँमा खस्दै जान्छ । सतीको देह कुहिएर खस्दै सकिन्छ । शिवको भने चेतना फर्कंदैन । शिवलाई सामान्य अवस्थामा फर्काउन देवताहरूले अनेक प्रयास गर्नुपरेको कुरा कथामा पाइन्छ ।
उता जहाँ–जहाँ सतीका अङ्गपतन हुन्छ, त्यहाँ–त्यहाँ शक्तिपीठको उत्पत्ति हुन्छ । यसरी शिव र सतीको सम्बन्ध, प्रेम र समर्पणभाव यति अटुट रहेको देखिन्छ कि टुक्रा–टुक्रा भएर सतीको अङ्ग खसेर जाँदा पनि हरेक अङ्गबाट उत्पन्न शक्तिपीठमा शिव सँगै रहेका छन् र शिव र सती शिवशक्ति अर्थात् एकीकृत शक्तिका
रूपमा रहेका छन् र प्रेमको अनुपम उदाहरणबनेका छन् ।
शिवसँग सतीको सम्बन्ध टुट्दैन । पार्वतीका रूपमा सतीको पुनर्जन्म हुन्छ र पुन: शिवलाई नै पतिका रूपमा प्राप्त गर्न पार्वतीले अनेक कष्ट सहन्छिन्, कठोर तपस्या गर्छिन्, बाबुआमासँग विद्रोह गर्छिन् । सतीदेवीलाई पाउन महादेवले जति संघर्ष गरेका थिए, जति प्रेम सतीलाई गरेका थिए, त्योभन्दा कैयाैं गुणा बढी संघर्ष र प्रेम शिवलाई पाउन पार्वतीले गर्छिन् ।
अन्तत: शिवलाई पति रूपमा पाएरै छाड्छिन् । आफूप्रति पार्वतीको अगाध प्रेम र समर्पणको सम्मान गर्दै शिवले पार्वतीसँग विवाहमात्र गर्दैनन्, उनको प्रेमको उच्च सम्मानगर्दै पार्वतीले कठोर तपस्या गरेको स्थलमै हमेशा बस्ने निर्णय गर्छन् र हिमालयसँग आफू पार्वतीले तपस्या गरेको तपोभूमिमा बस्ने इच्छा जाहेरगर्छन् । शिवको यस्तो इच्छाबाट खुसी भएका हिमालयले उनलाई त्यहाँ बस्ने अनुमति दिन्छन् । त्यसपछि शिव–पार्वती हामै्र पाशुपत क्षेत्रदेवपाटनमा बस्न थाले भन्ने कुरा हाम्रा श्रुति,स्मृति, पुराणमा पाइन्छ ।
संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायआफ्नो पुस्तक ‘श्रीश्रीश्री स्वस्थानी’मा लेख्छन्, ‘देवपाटनमा बस्ती बसाएर बस्न थालेपछि महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । फूलको माला पहिरेका, बाघ र मृगको छाला लगाएका निकै सफा महादेव र पार्वतीलाई देखेर किरातहरू उत्सुक बन्दै उनीहरूलाई छुनथाले ।
यो देखेर महादेव र पार्वतीले उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । महादेव र पार्वतीले किरातलाई सभ्य बन्न यो दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो भनिन्छ । यसरी महादेव र पार्वती किरातका अत्यन्तै प्रिय बन्न थाले ।’
यही कुरा नेपाली सभ्यता र संस्कृतिका अध्येता लोककृष्ण भट्टराईको २०७१ चैत २८ गते नयाँ पत्रिकामा प्रकाशित ‘रावणकी श्रीमती शेरचनकी छोरी हुन्’ लेखमा पनि छ । भट्टराईले लेखेका छन्, ‘शिव र पार्वती मानवशास्त्रका प्रथम गुरु एवं मानव सभ्यता र संस्कृतिका जन्मदाता हुन् । मानिसलाई जंगली युगबाट मानवीय युगमा ल्याई सभ्यता र संस्कृति सिकाउने पहिलो व्यक्ति शिव नै थिए ।त्यो सभ्यता र संस्कृतिको विजारोपण शिवलेनेपाली भूमिमै गरेका थिए । उनले सिकाएको संस्कृति शिव संस्कृति हो । यसको जगेर्ना रमनन गर्नु अत्यन्त जरुरी छ ।’
स्वस्थानी कथाले समाजका अनेक पाटा बोकेको छ । केही अर्थमा यो आलोच्य होला, तर धेरै अर्थमा सन्देशमूलक छ । यस कथालाई ‘पुनर्लेखन’ गर्नुपर्छ भन्ने आवाज पनि सुनिन थालेको देखिन्छ । यो जस्तो छ, त्यस्तै पढौं र यसबाट आवश्यक सन्देशमात्र ग्रहण गरौं । यो तत्कालीन समाज (करिब पाँच सय वर्ष अगाडिको) को ऐना हो । यसको व्रत बाध्यात्मक नहोस् । स्वेच्छाले यसमा कोही समर्पित हुन्छ भने त्यो उसको अधिकारका रूपमा बुझौं ।
प्रकाशित : kantipur, फाल्गुन ७, २०७५ ०८:३०

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...