Thursday, June 13, 2019

भन भन देउसे को थिए बलि राजा ?

भन भन देउसे को थिए बलि राजा ?मेदनाथ प्रश्रित
गोरखापत्र, October 28, 2008
दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।
को थिए ती बलि राजा ? कुन मुलुकका र के सङ्कट पर्‍यो ? के नेपालमा गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रलाई आपत परी नार्गाजुनको बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाएको भनेर पैसा मागिन्छ ? म हरेक तिहारमा यस्तै प्रश्नले ठट्टा गर्छु, देउसे भैलेहरू खिस्स हाँस्छन् बस् ।
यसपालि राजा ज्ञानेन्द्र दरबार छाडेर जाँदा बिजुली, पेट्रोल डिजल आदिको लाखौं, करोडौं रुपियाँ दरबारले नतिरेको चर्चा आयो । प्रसङ्गवश बलिराजाको पुरानो कथा कोट्याउन मन लाग्यो ।
पुराण कथाहरूमा अत्यन्त दानी व्यक्तिका रूपमा बलि राजाको नाम प्रसिद्ध छ । जसले जे माग्यो, त्यही दिने अति उदार स्वभावले गर्दा उनको तीन लोकको राज्य नै उड्यो र पातालमा विस्थापित भए । अति गरे खति हुन्छ नेपाली उखान छ । दृष्टान्तमा संस्कृत कविले भनेका छन्-
अति रूपाद्धृता सीतातिगर्वाद्रावणो हतः
अति दानात् बलिर्बद्धो हृयति सर्वत्र बर्जयेत् ।
-अति सुन्दरी भएकीले सीताको हरण भयो, अति घमण्डी हुनाले रावण मारियो, अति दानी हुनाले बलि बन्धनमा परे, त्यसैले कुनै कुरामा पनि अति नगर्नु ।)
राष्ट्रको अति शोषण, गरिब वर्गको अति उपेक्षा लोकतन्त्र न्याय र अधिकार निम्ति आन्दोलन गर्ने जनताको अति दमनको कारणले तीन चार हजार वर्ष पुरानो नेपालको राजतन्त्र परम्परा भर्खरै समाप्त भएको विश्वले देख्यो ।
देव, दानव, असुर मूलतः एउटै पुर्खाका शाखा सन्तान थिए । टाढाटाढासम्म फैलिदै भएपछि जमिन, जड्ढल, पानी पशु आदि कारणले परस्पर विरोध बढ्दै र एउटा पक्षले अर्को पक्षमाथि आक्रमण गरी गाई वस्तुदेखि, गाउँ वस्ती र राज्यसमेत कब्जा गर्ने होड बढ्दै गयो । कहिले समुद्र मन्थन जस्ता साझा उत्पादनका कुरा देवपक्षले लुट्थ्यो, कहिले देवपक्षको सम्पत्ति र स्वर्ग असुर पक्षले कब्जा गथ्र्यो । यस्तै प्रतिस्पर्धामा दानव कुलका शक्तिशाली राजा बलिले इन्द्रको स्वर्ग कब्जा गरे । साधन सम्पन्न, शीतल, समृद्ध, सुखी र स्वस्थ, दीर्घायु हुने र प्रशस्त सुन पाइने ठाउँहरूलाई त्यसताक स्वर्ग, सुरलोक, वैकुण्ठ आदि भनिन्थ्यो । सुमेरु, -पामीर) तियान सियान, त्रिविष्टप -तिब्बत) कास्मिर, सिरिया आदि थुप्रै 'स्वर्ग' थिए । राजा बलिले त्यस्तै महत्त्वका तीन लोक जितेका थिए ।
बलि पुराण प्रसिद्ध दानव राज हिरण्य कसिपुका पनाति, प्रहृलादका नाति, विरोचन र सुरुचिका छोरा थिए । धेरै राज्य जितेपछि उनी अनेक यज्ञ, दान धर्मकर्मतिर लागेर क्रमशः महादानीको रूपमा चर्चित हुँदै गए । उनको ख्याति देखेर देवपक्षलाई असहृय हुनथाल्यो । बलिको लोकपि्रयता, सैन्य शक्ति धन आदि देखेर उनलाई युद्धबाट हराएर आआˆना राज्य खोस्ने आँट देवपक्षले गर्नसकेन र षड्यन्त्रद्वारा परास्त गर्ने योजना बनायो । इन्द्रका भाइ उपेन्द्र अर्थात् विष्णु त्यस्ता काम फत्ते गर्न खूब चतुर थिएर इन्द्रले गुहार मागेपछि विष्णुले षड्यन्त्रका तानाबाना बुने ।
भागवत -८।१८) अनुसार नर्मदा नदीका उत्तर किनारको भृगुकच्छ भन्ने ठाउँमा भृगुवंशी ब्राहृमणहरूको बीचमा बलि राजाले अश्वमेध आदि अनेक ठूलठूला यज्ञ गर्दै थिए । दानदातव्यको लहर चलेको थियो । दैत्य गुरु शुक्रचार्य प्रमुख निर्देशक थिए । त्यसैबेला एउटा पुड्के जोगी वामनको भेषमा -विष्णु) त्यहाँ पुगेर बलिको ठूलो प्रशंसा गर्नथाले । बलिले भने तपाईं यस यज्ञमा मबाट के चाहनु हुन्छ ? वामनले भने म सानो कुरा माग्छु, पक्का दिन्छु भन्ने वाचा गर्नुहोस् ।
कूटनीतिज्ञ शुक्रले यो विष्णुको छल हो भन्ने बुझेर त्यस्तो वाचा नगर्न सल्लाह दिए । तर बलिले आˆनो स्वभाव अनुसार शुक्रको कुरा नसुनी वामनले मागेको दिने वाचा गरे । वामनले बलिको खुब प्रशंसा गर्दै भने तपाईं विख्यात विष्णु भक्त प्रहृलादका नाति हुनुहुन्छ । तपाईंका पिता विरोचन, ठूला ब्राहृमण भक्त हुनुहुन्थ्यो । उहाँले देवताहरूले छल गरेर मागेको बुझेर पनि आˆनो आयु उनीहरूलाई दिनुभयो । मलाई विश्वास छ मैले मागेको कुरामा तपाईंले आˆनो वाचा पक्कै तोड्नुहुने छैन । -भागवत)
बलिले विष्णुको छल चिनेर पनि वाचा नतोड्ने वचन दिए । वामनले भने मलाई तपाईका स्वर्ग, मत्र्य र पाताल तीनवटै राज्य दिनुहोस् । किनभने तपाईं जस्ता महादानीका लागि यी तीन राज्य मामुली तीन पाइला जमिन जस्तै हुन् ।
वाचा हारेका बलिले भने मैले यी तीन लोक तपाईंलाई दिएँ । अब म बस्ने आश्रयस्थल तपाइर्ंले नै दिनुहोस् भनी खुट्टामा ढोगे । विष्णुले आˆनो मूल रूप देखाउँदै भने अब तिमी रसातलमा गएर बस Û देवता पक्षबाट कुनै खतरा भएमा म तिम्रो रक्षा गरुँला । यसरी महादानी बलिको तीनै लोकको राज्य स्वाहा भयो । विष्णुको छलले भएभरको सब कुरा गुमाएर बलि राजा भिखारी भएको देख्दा उनको उद्धार राज्य व्यवस्थामा बसेका जनता ज्यादै दुखी भए ।
अनुश्रुति -दन्त्यकथा) भन्छ बलिको पुनर्वास व्यवस्था निम्ति सघाउन अनुमति लिएर हजारौं जनता चारैतिर छरिएर सबका घरघर पुगी सामूहिक स्वरमा सहयोग माग्न थाले
भनभन साथी हो - देहि श्री,
बलि राजाले पठाए - देहि श्री,
स्वर मिलाई भन - देहि श्री,
दानी राजाले पठाए - देहि श्री,
हामी त्यसै - देहि श्री,
आपत पर्‍यो - देहि श्री,
माग्न आएनौं - देहि श्री,
सहयोग गरौं - देहि श्री,
हामी कोही - देहि श्री,
जुटेर आयौं - देहि श्री,
स्वर्गबाट - देहि श्री,
घुम्दै आयौं - देहि श्री,
कोही हामी - देहि श्री,
जसले देला मानो - उसको सुनको छानो,
जसले देला मुरी उसको सुनको धुरी,
हामीकोही - देहि श्री,
सहयोग पायौं - भैलो
मत्र्यलोकबाट - देही श्री,
तपाईंको जयहोस् - भैलो
यसरी विस्थापित बलिको सहयोग
निम्ति -देहि श्री
-धन दिनुहोस्) भन्दाभन्दै लोकलयमा 'देउसिरे' भयो ।
उसबेला त्यसरी जम्मा गरेको धन बलि कहाँ पुर्‍याइए होला । पछि क्रमशः यो मनोरन्जनको माध्यम भयो । मत्सेन्द्र नाथ जात्रामा भोटो देखाए जस्तो ।
पौराणिक कथा कति यथार्थ हो, कति काल्पनिक, तर कुनै राजा, राष्ट्राध्यक्ष, नेता, मन्त्री असल, विवेकी जनताको हित र उन्नतिमा लागिरहन्छ भने ऊ असुर, दानव, देव मानव जुनसुकै वंशको भए पनि उसलाई चाहे सत्तामा होस् चाहे बाहिर जनताले बलि राजालाई झैँ श्रद्धा, सम्मान र सहयोग गर्छन् । उसको कीर्ति युगयुग उज्यालो रहन्छ । यदि राजा नेता, मन्त्री स्वार्थी लोभी दमनकारी, जनघाती, देशमारा हुन्छन् भने सत्ताभित्र या बाहिर छँदा, बाँच्दा र मर्दा पनि उसलाई घृणाले थुकिरहन्छन् । पुराणकथाले भन्छ देवपक्षमा विष्णुले बलिलाई छलेर राज्य हड्पेका भए पनि बलिराजाको असीमित सुख्यातिले गर्दा पछि स्वयं रसातल पुगी बलिको पूर्ण सुरक्षाको व्यवस्था गरेका थिए ।
आधुनिक अनुसन्धाताहरूले स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदिलाई पृथ्वीका विभिन्न भूभाग र द्वीपद्वीपान्तरका रूपमा समीकरण गर्दैछन् । सरदर पृथ्वीको कर्कट रेखा वरिपरिको भूभाग -प्राचीन सभ्यता विकसित भएका ठाउँ) लाई स्वर्ग समतुल्य, भूमध्ये रेखाबृत्तको गर्मी र कम उर्वर ठाउँ मत्र्य अपिका, अष्ट्रेलिया दक्षिण) अमेरिका आदिलाई पाताल रसातल, महापाताल आदि रूपमा परिभाषित गर्न खोज्दैछन् । अमरकोसले 'बलिसद्म रसातलम्' बलिको निवास रसातल हो ) भनेको छ । त्यो ठाउँ दक्षिण अफ्रिका, अष्ट्रेलया या त्यसैको समकक्षी कुनै टापू हुनसक्छ

बझाङमा हराउँदै भार्ते

https://youtu.be/J1iJAwbSBPo
बझाङमा हराउँदै भार्ते
फाल्गुन ३०, २०७५बसन्तप्रताप सिंह
बझाङ — तल्कोट–१ सुनिकोटका ५५ बर्षिय प्यारु आउजी भार्ते हुन् । उनले विवाह, वर्तबन्ध र अन्य उत्सबहरुमा गाउने, कथा बाचन गर्ने तथा डमरु बजाउदै नृत्य गर्न थालेको ४५ बर्ष भयो ।
उनले लयात्मक कथा बाचन र गायनको माध्यमबाट, युद्ध, महामारी, देवता दानव, प्रेम आदी विषय बोकेका कथाहरू भन्छन् । भार्तेले भन्ने कथाको विषय जे सुकै भए पनि कथाको सन्देश सामाजिक एकता, शान्ति र सदभावको हुन्छ । स्थानिय बोलीमा भार्तेले भन्ने कथालाई भार्ता भनिन्छ ।
कुनै बेला हरेक जसो विवाहमा भार्ते हुन्थ्यो । १० बर्षयता भने भार्तेको चलन हराउदै गएको छ । माग हुनै छोडे पछि नयाँ पुस्ता भार्ते जन्मिनै छोडेको र पुराना भार्तेहरूपनि बुढ्यौलीमा प्रबेश गरिसकेकाले भेटिन छाडेका छन् । यसले गर्दा मौलिक परम्परा र सुदुरपश्चिमेलीको साँस्कृतिक अस्तित्व लोप हुदै गएको छ । प्रकाशित : फाल्गुन ३०, २०७५ १७:४०

कर्णाली प्रदेशको भाषा

कर्णाली प्रदेशको भाषा
डा. दुवि नन्द ढकाल
अन्नपूर्ण, २ चैत्र, २०७५
नेपालको संविधान २०७२ अनुसार प्रदेशहरूले पनि ‘प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछन्। संघमा तय गरिने भाषा नीतिका अतिरिक्त प्रदेश तहमा समेत भाषाहरूको सरकारी कामकाजमा प्रयोगको चर्चा चल्न थालेको छ। राज्य पुनर्संरचनापश्चात् भूगोलका आधारमा कर्णाली प्रदेश सबैभन्दा ठूलो छ तर जनसंख्या भने न्यून रहेको छ।
प्रदेशका मातृभाषा
२०६८ सालको जनगणनाअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छ। यस प्रदेशमा बोलिने मूल भाषाहरूको सूची हेर्दा नेपालीसहित १२ भाषासमेत थपिन्छ। भारोपेली परिवारका नेपाली, थारू, जुम्ली र खस भाषा सूचीकृत भाषामा पर्छन्। त्यसैगरी मगर, खाम, राजी, डोल्पाली, काइके, खाम्ची (राउटे) भोट–बर्मेली परिवारका भाषा पनि यस प्रदेशमा मूलतः बोलिन्छ। सांकेतिक भाषाका बारेमा जनगणनामा एउटा भाषा मात्र सूचीकृत गरिएको छ।
अन्य प्रदेशमा जस्तै जनगणनामा पनि यस प्रदेशमा केही भाषा सूचीकृत हुनबाट छुटेका छन्। एथ्नोलोगको सूचनालाई आधार मान्दा कर्णाली भेगमा बोलिने अन्य आठ भाषाहरू– झांकोट सांकेतिक भाषा, जुम्ली सांकेतिक भाषा, जुम्ली, खाम (गमाले, शेशी, पश्चिमी पर्वते), मुगोम, सोनाहा, तिछुरोङ भाषाहरू थपिन जान्छन्। इथ्नोलगमा खाम भाषाको अर्काे भेद पूर्वीया पर्वते खाम पनि उल्लेख छ तर यो भेदचाहिँ बाग्लुङको निसी क्षेत्रमा बोलिन्छ।
डोल्पा जिल्लाको काइके गाउँपालिकाका कोहला, ताछिन, गुम्बातारा, खानीगाउँ जस्ता गाउँमा पोइके भाषा बोलिने केही सन्दर्भमा पाइन्छ। मगर–काइके–पोइके भाषाको अन्तरसम्बन्धका बारेमा अध्ययन हुनुपर्छ। कर्णाली प्रदेशमा समेत हिमाली भेगमा बोलिने तिब्बती मूलका केही भाषाहरू सूचीकरणबाटै छुटेका छन्। डोल्पाको लिमीमा बोलिने भाषालाई छुट्टै भाषा (लिमिरोङ) भनेर पनि उल्लेख गरेको पाइन्छ। ग्लोटोलगमा चाहिँ डोल्पो–तिचुरोङलाई एउटै भाषामा सूचीकृत रहेको छ भने कतै यिनीहरू अलग्गै भाषा ठानिएको छ। राष्ट्रिय जनगणनामा यसलाई डोल्पाली मात्र भनिएको छ। यी स्रोतहरूका आधारमा कर्णाली प्रदेशमा करिब २० ओटाजति भाषा बोलिने देखिन्छ।
सूचीकरणमा अलमल
यस प्रदेशका हिमाली भेगमा बोलिने भाषाहरूको सूचीकरणमा अलमल देखिन्छ। यस प्रदेशमा भारोपेली परिवारको बोटे भाषाका १४०३ वक्ता रहेको उल्लेख छ तर तिब्बती मूलको ‘भोटे’ भाषाको सूचीकरण गर्दा बोटे भएजस्तो देखिन्छ। डोल्पा जिल्लामा मात्र बोटे भाषाका १३९४ वक्ता रहेको देखिन्छ। यस प्रदेशका दुई स्थानीय निकायमा तामाङको बाहुल्य देखिन्छ। हुम्लाको नाम्खा गाउँपालिकामा तामाङ भाषाको बाहुल्य भएको तथ्यांकले देखाउँछ। तर अन्य सन्दर्भग्रन्थमा यहाँ हुम्ला (तिब्बती) हुनुपर्छ। तामाङ भाषाको सट्टा यहाँको हुम्ली (तिब्बती) हुन सक्ने देखिन्छ। मुगुमा बोलिने मुगोम भाषा भए पनि जनगणनाको सूचीकरणमा तामाङ भनेर राखिएको छ।
सरकारी कामकाजका अतिरिक्त यहाँ बोलिने भाषालाई दिन सकिने स्थान र कार्यबारेमा प्रान्त सरकारले निक्र्योल गर्नुपर्छ।
डोल्पामा गुरुङ भाषाका २४३५ वक्ताहरू देखिन्छन् तर डोल्पामा तिब्बती भाषासँग साइनो राख्ने डोल्पाली भाषा हुन सक्ने देखिन्छ। त्यसैगरी मुगुमा बोलिने भाषा मुगोम भनेर उल्लेख गर्ने गरिन्छ तर त्यसलाई तामाङ भनेर उल्लेख गरिएको छ। शेर्पा भाषा मूलतः मध्य तथा पूर्वीहिमाली जिल्लामा बोलिन्छ। त्यसकारण शेर्पा भनेर डोल्पामा सूचीकृत गरिएको भाषा डोल्पो भाषा हुने देखिन्छ।
कर्णाली क्षेत्रमा बोलिने नेपाली भाषाका भेदबारेमा विभिन्न अनुमान छन्। राष्ट्रिय जनगणनामा दैलेखी भाषा अलग्गै भाषाका रूपमा सूचीकृत रहेको छ। तर दैलेखमा यो भाषाका वक्ता पाइँदैन। यसकारण कैलाली र कञ्चनपुरमा सूचीकृत भएको दैलेखी भाषा स्वतन्त्र भाषा हो अथवा होइन भनेर निक्र्योल गर्न गाह्रो छैन किनभने यो मूलतः दैलेखबाट बसाइँ सरी कैलाली कञ्चनपुरमा बसोवास गर्नेले आफ्नो मूल थलोको नामबाट भनिएको भाषा हुनुपर्छ। पूर्वीसुर्खेत, जाजरकोट, रुकुम र रोल्पामा बोलिने नेपाली भाषालाई ‘सिम्ताली’ नामले पनि चिनिने गर्छ। जुम्लाको सिंजा उपत्यकामा बोलिने जुम्ली भाषा यस क्षेत्रका आसपासमा समेत बोलिने गर्छ। यो भाषा जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्लामा समेत बोलिन्छ। यसका छिमेकी जिल्लामा यस भाषालाई हुम्ली, कालिकोटे आदिबाट समेत चिनिनेछ।
जिल्लागत वितरण
कर्णाली प्रदेशका सबै जिल्लामा नेपाली भाषा ठूलो भाषा रहेको छ। मगर भाषा पाँच स्थानमा दोस्रो ठूलो भाषा रहेको छ। खाम भाषालाई पनि मगरभाषाको समूह मान्दा मगर–खाम समूहका भाषा ६ दोस्रो ठूला स्थानमा आउँछन्। त्यसैगरी तामाङ भाषा दोस्रो ठूलो स्थानमा रहेको छ। त्यसैगरी गुरुङ र खाम पनि एकएक स्थानमा दोस्रो ठूला भाषामा आएका छन्। त्यसैगरी खाम र मगरमा पनि प्रस्टता नभएजस्तो देखिन्छ। मगर, खाम, काइके नाममा सूचीकृत भाषालाई केके नामबाट समावेश गर्नुपर्छ, त्यसमा समुदायको भावनासमेत समाविष्ट हुनुपर्छ।
स्थानीय निकायमा भाषा
सरकारी कामकाजमा तथा शिक्षामा प्रयोगको सम्भावना हेर्न कर्णाली प्रदेशका स्थानीय निकायमा कुनकुन भाषाको विवरण हेर्नुपर्छ। स्थानीय निकायमा नेपाली भाषा ७४ स्थानमा मूल भाषा बोलिने देखिन्छ। यसका अतिरिक्त अन्य भाषा पनि प्रथम स्थानमा रहेका छन्। जस्तै– तामाङ ९२०, डोल्पाली ९१०, गुरुङ ९१०, शेर्पा ९१०। त्यसैगरी दोस्रो ठूलो भाषामा मगर ९२८०, मैथिली ९१२०, तामाङ ९८० स्थानमा रहेका छन्। त्यसैगरी नेपाली सांकेतिक भाषा ९५०, गुरुङ ९५०, खाम ९६०, शेर्पा ९२०, नेवारी ९२०, नेपाली ९२०, बोटे ९२०, डोल्पाली ९१०, हिन्दी ९१०, उर्दू ९१०, नखुलेको ९३०, अन्य ९१०, स्थानीय निकायमा दोस्रो स्थानमा छन्। यस प्रकारको वितरणले सरकारी कामकाजको अतिरिक्त यहाँ बोलिने भाषालाई दिन सकिने स्थान र कार्यका बारेमा निक्र्योल गर्नुपर्छ।
भाषा अभिलेखीकरण र विकास
भाषा अभिलेखीकरणलाई साँचो अर्थमा परिभाषित गर्ने हो भने यस प्रदेशमा बोलिने कुनै पनि भाषाको अभिलेखीकरण गरिएको छैन। डोल्पामा बोलिने काइके भाषाको व्याकरण र पाठसंग्रह उपलब्ध पनि छ र यस भाषाको अभिलेखीकरणका लागि छुट्टै कार्य पनि भइरहेको छ। पूर्वीया राजी भाषामा केही डिजिटल सामग्री उपलब्ध भए पनि यसबाहेकका भाषाको अध्ययन प्रारम्भिक चरणमा मात्र रहेको छ। त्रिभुवन विश्विविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागले माथि उल्लिखित अधिकांश भाषामध्येमा जुम्ली, राजी, मुगो, काइके, डोल्पो आदि भाषाको समाज भाषावैज्ञानिक सर्वेक्षण कार्य सम्पन्न गरेको छ। डिभेड ई. वाटर्सले संसारकै दस उत्कृष्ट व्याकरणमा पर्ने खाम व्याकरण तयार गरेका छन्।
यस प्रदेशमा बोलिने अन्य भाषाका भने यस प्रकारका व्याकरण, शब्दकोश तथा पाठसंकलन भएको पाइँदैन। खाम, मगर, काइके, पोइकेबीचको सम्बन्ध र स्वीकार्य समुदायको सहभागितमा हुनुपर्छ।
नेपाली भाषाका भएका कार्यहरूलाई भारोपेली परिवारका भाषामध्येमा थारू र जुम्ली भाषामा केही काम मात्र भएका छन्। भोट–बर्मेली परिवारको राउटे भाषासमेत यही प्रदेशमा बोलिन्छ। राउटेसँगै निकटमा साइनो राख्ने राजी भाषाको पूर्वीया भाषिकासमेत सुर्खेत जिल्लामा बोलिन्छ। कर्णाली प्रदेशका हिमाली जिल्लामा तिब्बती भाषासँग निकटको साइनो राख्ने केही भाषा बोलिन्छ। यसमध्येमा काइके भाषाको अभिलेखीकरणको प्रयास भए पनि डोल्पो, तिचुरोङ, मुगोम आदिमा अनुसन्धानको खाँचो छ।
भाषा विकासको मार्गचित्र
सर्वप्रथम यस प्रदेशमा बोलिने भाषाहरूको पहिचान र सूचीकरण गरिनुपर्छ। भौगोलिक दृष्टिकोणबाट पहुँच नपुगेका हिमाली जिल्लामा बोलिने तिब्बती भाषासँग निकटको पारिवारिक साइनो राख्ने भाषाको स्थिति अन्योलपूर्ण छ। भाषाको विकास र प्रवद्र्धनमा संघ (केन्द्र) को आशा र भरोसाभन्दा पनि प्रदेश सरकारले तत्परता देखाउन र संरचना निर्माण गरेर ठोस कदम चाल्न कर्णाली प्रदेश सरकारको ध्यान पुगेमा यस प्रदेशमा रहेको भाषिक विविधताको सूचीकरण, संरक्षण र विकास हुन सक्छ।

बुद्ध कसका हुन् ?

बुद्ध कसका हुन् ?
शनिबार, ०२ चैत २०७५, १२ : ०९ |  वसन्त महर्जन
बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।
बुद्ध भनेर सामान्यतः इ.पू. ५६३ मा लुम्बिनी वनमा मायादेवीको कोखबाट जन्मेका र पैतिस वर्षको उमेरमा बुद्धत्व लाभ गरी बुद्ध भएकालाई चिनिन्छ। बुद्धत्व प्राप्त नभएसम्म अर्थात् गृहस्थी हुन्जेल उनको नाम ‘सिद्धार्थ’ र घरबार छाडी श्रमण परम्पराअनुसार प्रवजित भएपछि ‘श्रमण गौतम’ रहेको पाइन्छ। इ.पू. ५२८ वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त भएपछि उनलाई महाश्रमण वा गौतम बुद्ध भनियो। यसको अर्थ हो, बुद्ध कुनै व्यक्ति विशेषको नाम होइन। बुद्धत्व प्राप्त गर्नेलाई बुद्ध भनिने हो। गौतम बुद्धभन्दा अघि मेधंकर, तण्हंकर, शरणंकर, दिपङ्कर, लगायत २७ जनाले बुद्धत्व प्राप्त गरेको बौद्ध वाङ्मयमा उल्लेख छ। निकट भविष्यमा बुद्धत्व प्राप्तगरी बुद्ध हुनेमा मैत्रय बुद्धको नाम छ।
बुद्ध पनि श्रावक बुद्ध, प्रत्येक बुद्ध र सम्येकसम्बुद्ध गरी तीन प्रकारका हुन्छन्। पहिलो, क्लेशरूपी शत्रुहरूलाई हताइसकेको अर्थात् अर्हत्। अर्हत्हरूले अब पुनः जन्मलिनु पर्दैन र यही जन्मलाई अन्तिम बनाइसकेको हुन्छ। यसलाई श्रावक बुद्ध भनिएको पाइन्छ। अन्य मार्गभन्दा यो सजिलो र चाँडो हुने भएकाले गौतम बुद्धले यही मार्गमा जोड दिएको बताइन्छ। वर्तमानमा प्रचलित हिनयान बौद्धधर्म अन्तर्गतको थेरवादी बौद्धधर्मले यही श्रावक बुद्ध वा अर्हतलाई जोड दिन्छन्। भनिन्छ– बुद्ध शासनमा अर्हत्हरू शून्य अवस्थामा पुग्दैन। अर्थात्, कहिँ न कहिँ एक जना भए पनि अर्हतको अस्तित्व रहेकै हुन्छ।
गौतम बुद्धलाई विष्णुको अवतार मान्दामान्दै पनि उनलाई राक्षसका रूपमा चिनाउने धृष्टता पनि गरेको पाइन्छ। विष्णुधर्मोत्तर पुराणमा बुद्धलाई राक्षसका रूपमा प्रस्तुत गरिएको छ। राक्षसको रूपमा घृणा गरेर पनि केही सीप नलागेपछि अन्ततः अवतार मानेर आफ्नो बचावट गरेको भन्ने बुझिन्छ।
अर्को मार्ग हो, आफ्नै अभ्यासबाट बुद्ध हुने। पूर्वजन्मको पुण्य संचयले धर्मलाभ गरी बुद्ध भएकालाई प्रत्येक बुद्ध भनिन्छ। यिनीहरूको आगमन दुई सम्येकसम्बुद्ध अर्थात् दुई बुद्धशासन (प्रभाव)को अन्तरमा मात्रै हुन्छन्। नयाँ सम्येकसम्बुद्धको आगमनअघि उनीहरूले निरूपादिषेश निर्वाण प्राप्त गरिसक्नुपर्छ। भविष्यमा सम्येकसम्बुद्ध (गौतम बुद्ध) हुन बोधिसत्वका रूपमा तुषित भुवनबाट आउने खबर पाएर आकासमा विचरन गरिरहेका सबै प्रत्येक बुद्धहरूले देहपात गरेको स्थल भएर त्यस स्थलको नाम नै ऋषिपतन भएको र पछि त्यहाँ मृगहरूको राम्रो वासस्थान भएका कारण पछि ऋषिपतन मृगदावन भन्ने नाम रहन गएको भन्ने भनाइ पाइन्छ। यही ऋषिपतन मृगदावन (सारनाथ)मा पछि सम्येकसम्बुद्ध (गौतम बुद्ध)ले प्रथम धर्मचक्र प्रवत्र्तन गरेका थिए। प्रत्येक बुद्धलाई आफूले बुद्धत्व प्राप्त गरी जन्म–मृत्युको चक्करबाट मुक्त भइसकेको ज्ञात हुँदैन। न उनीहरू सर्वसाधारणलाई धर्मउपदेश दिएर नै बस्छन्। तर, सर्वसाधारणले उनीहरूको चालचलन तथा अन्य कुराबाट प्रभावित भई धर्मलाभ गर्न पाएका हुन्छन्। यी बुद्धहरू प्रायः एकान्त वनजंगलमा विचरण गरी बस्छन् र समय आएपछि निरूपादिषेश निर्वाण प्राप्त गर्छन्।
बौद्ध धर्मअनुसार श्रावक बुद्ध र प्रत्येक बुद्ध हुनु सजिलो छ। यी दुवै प्रकारका बुद्धहरूको ध्येय आफू दुःखबाट मुक्त हुने हो। यी करूणाले पे्ररित भई अन्यको सहयोगी त हुन्छन्। तर, अरु प्राणीलाई दुःखबाट मुक्त गरेर मात्रै आफू बुद्ध हुन्छु भन्ने आकांक्षा नराख्ने भएकाले महायानी सम्प्रदायले यी दुवै प्रकारका बुद्ध वा दर्शनलाई निम्न कोटीको वा हिन ठान्छन्। हिनयानी बौद्ध दर्शन वा सम्प्रदाय भन्नुको अर्थ यही हो। महायानी बौद्धहरू अरु प्राणीलाई पनि दुःखबाट मुक्त गर्ने महत्वाकांक्षा राख्छन् र यसलाई बोधिसत्वयान पनि भन्ने गरेको पाइन्छ। यसका लागि अर्हत् (श्रावक बुद्ध) हुने क्षमता भएर पनि त्यसलाई उपेक्षा गरी बोधि प्रणिधान गरी बोधिचर्यातिर लाग्छन्। बोधिचर्या भनेको एक दुई जन्ममा सम्पन्न हुने नभएर असंख्य जन्म लिएर भए पनि विभिन्न पारमिताहरू पूरा गर्दै रहनु हो। यस क्रममा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावनाबाट ओतप्रोत भई विभिन्न प्रकारले प्राणीहरूको हितमा काम गरिरहेका हुन्छन्। जस्तोसुकै कठिन कार्य गर्न पनि तत्पर हुन्छन् चाहे त्यसका लागि आफ्नो प्राण नै उत्सर्ग गर्न किन नपरुन्, बिना हिचकिचाहट अघि सर्छन्। पारमिता पूरा गर्ने क्रममा नै अविद्याहरू नाश गरी जन्ममरणको भवचक्रबाट मुक्त हुन्छन् र यही मुक्त अवस्थालाई बल्ल सम्येकसम्बुद्ध भनिने हो। त्रिपिटकअन्तर्गत संग्रहित ४५७ वटा जातक कथा गौतम बुद्धका पूर्वजन्मसँग सम्बन्धित छन्।
हिन्दू धर्मावलम्बीमा पनि विशेषतः वैष्णव मतवादी बुद्धलाई विष्णुको नवौं अवतार ठान्छन्। र, बौद्ध सम्प्रदायलाई स्वतः हिन्दू धर्मकै एउटा शाखाको रूपमा प्रस्तुत गर्छन्। तर, बौद्ध मतावलम्बीहरू यसलाई अस्वीकार गर्नुका साथै खण्डन पनि गर्छन्। एक बुद्धको अवतार अर्को बुद्ध नभएर बोधिचर्या गर्ने बोधिसत्व नै बुद्धत्व प्राप्त गरेर बुद्ध भई जन्म र मरणबाट पूर्णतः मुक्त हुनेहरू बुद्ध हुन् भनेपछि यहाँ अवतारको कुरै हुँदैन।
आस्था र विश्वास आफ्नो ठाउँमा छ। तर, इतिहास र दर्शनशास्त्रको विकास केलाउने हो भने गौतम बुद्धको बेला (इसा पूर्व छैटौं शदी)सम्म वैष्णवी मतको उद्भव भइसके पनि त्यसको विकास र व्यापकता वर्तमानमा जस्तो देखिँदैन। यो मतवादको उद्भव महावीर जैन र गौतम बुद्धभन्दा केही सय वर्षअघि मात्रै भएको देखिन्छ। यसको उद्भव वैदिक परम्पराबाटै भए पनि वैदिक परम्पराका कतिपय कर्मकाण्डी तथा यज्ञयज्ञादिप्रति सहमति थिएन। र, कालान्तरमा बेग्लै सम्प्रदायको रूपमा यसको विकास भयो। वैदिक परम्परा के कस्तो थियो र यसका राम्रा र नराम्रा पक्ष के–के हुन् आदि प्रश्न बेग्लै विषयवस्तु हुन्। तर, यसका मूलभूत कुरालाई यथावत् स्वीकार गरी सुधारवादी दृष्टिकोण राख्ने र पूर्णतः अस्वीकार गर्ने अनेकौं मतवादीहरू तत्कालीन समाजमा देखा परेका थिए। वैदिक परम्पराप्रति पूर्णतः असहमत राख्ने चार्वाक मत पहिल्यैदेखि थियो भने त्यसपछि महावीरको जैनलगायतका मतवादीहरूले वैदिक मान्यताको खण्डन तीव्र रूपमा गर्न थालिसकेको थियो। यही परिवेशमा गौतम बुद्धले आफ्नो मतवाद दिन दुगुना रात चौगुनाको हिसाबले फैलाएर वैदिक मूल्य मान्यतालाई ठूलो हाँक दिए। बुद्धका उपदेशबाट अन्य दार्शनिक सम्प्रदायका साथै वैदिक समाज पनि निकै मात्रामा प्रभावित हुन पुगेको पाइन्छ। कतिसम्म भने, वैदिक मान्यतामा रहेका ठुल्ठूला व्यक्तित्वहरूदेखि सर्वसाधारण पनि बुद्धका अनुयायी हुन आइपुगे। सारिपुत्र, मौद्गल्यायन, महाकाश्यप, महाकात्यायन आदि भिक्षुहरूको पृष्ठभूमि वैदिक परम्परा थियो।
जैन तथा बौद्ध मतबाट वैदिकहरू प्रभावित भए पनि आफ्नो ठाउँमा भने दृढ नै भएको पाइन्छ। वैदिकहरू बुद्ध जीवित छँदै पनि उनीप्रति द्वेषभाव राख्थे। कतिपय अवस्थामा वैदिकहरू बुद्धसँग शास्त्रार्थ गर्न पुग्थे। तर, ती प्रयास ‘बायक फायर’ साबित हुन्थ्यो। अर्थात्, यसको उल्टो असर वा नोक्सान वैदिकहरूलाई नै हुन्थ्यो। वैदिकहरू बौद्धमा रूपान्तरित भएका घटना गौतम बुद्धको महापरिनिर्वाणपछि पनि कायम नै रह्यो। यस पृष्ठभूमिमा मगध साम्राज्यमा सेनापति पुष्यमित्रको उदय हुन्छ। सेनापतिले एक खुला समारोहमा तत्काल सम्राट बृहद्रथको हत्या गरी आफै सम्राट बनेका थिए र त्यही बेलाबाट भारतको इतिहासमा मौर्य वंशको अन्त्य भई शुंग वंशको सुरु हुन्छ। नवसम्राट् पुष्यमित्रको छत्रछायामा वैष्णवी धर्मले विकास हुने अवसर पाएको मात्रै नभएर बौद्ध धर्मविरुद्ध ज्यादती पनि बढ्न थालेको पाइन्छ। कुनै एक बौद्ध भिक्षुको शीर काटेर ल्याउनेलाई सय दिनार पुरस्कारमा दिने इस्तिहार यिनै सम्राटको राज्यकालमा भयो।
समाजमा बौद्ध धर्म र दर्शनको प्रभावलाई निस्तेज पार्न सकिएन। यही समय बौद्ध विद्वानले स्वतन्त्र चिन्तन गर्दै गौतम बुद्धद्वारा देसित दर्शनका विभिन्न पक्षहरूमाथि व्याख्या गर्ने क्रममा सौत्रान्त्रिक, वैशेषिक, माध्यमिक र विज्ञानवाद गरी चार दार्शनिक सम्प्रदायको विकास भयो। बौद्ध धर्मको विकासमा यी दार्शनिक खोजबाट बौद्ध धर्मलाई अझ सशक्त, तार्किक र प्राज्ञिक बनाउने काम भयो। बौद्ध धर्मलाई निस्तेज पार्नै नसक्ने भएपछि वैदिकहरूले बल्ल बुद्धलाई विष्णुको नवौं अवतार भनी आफ्नो मतवादमा भित्र्याएको पाइन्छ। विष्णुको अवतारको अवधारणा वैदिकहरूको सुरुदेखिको मान्यता थिएन पनि। अवतारवादको मान्यता आठौं नवौं वा त्योभन्दा पछिमात्रैको विकास हो। सम्भवतः गौतम बुद्धलाई स्वतन्त्र अस्तित्वको रूपमा स्वीकार नगरी आफ्नो मतवादभित्रकै कुरा हो भन्दै शाखा धर्मको रूपमा व्याख्या गर्नकै लागि वैष्णवीहरूले अवतारवादको अवधारणा ल्याएको हो।
ताज्जुबको कुरा त के हो भने, गौतम बुद्धलाई विष्णुको अवतार मान्दामान्दै पनि उनलाई राक्षसका रूपमा चिनाउने धृष्टता पनि गरेको पाइन्छ। विष्णुधर्मोत्तर पुराणमा बुद्धलाई राक्षसका रूपमा प्रस्तुत गरिएको छ। राक्षसको रूपमा घृणा गरेर पनि केही सीप नलागेपछि अन्ततः अवतार मानेर आफ्नो बचावट गरेको भन्ने बुझिन्छ। विष्णुको नवौं अवतारका रूपमा लिए पनि बुद्धका उपदेशलाई कहीँ कतै उल्लेख गरिएन। गौतम बुद्ध पनि भनिएन, बुद्ध मात्रै भनिए र कुन ठाउँमा जन्मेको भन्ने सन्दर्भमा अन्टसन्टको जानकारी राखेको पाइन्छ। दार्शनिक दुनियाँमा यो एउटा रमाइलो र ताज्जुबको प्रसङ्ग हो।
वर्तमान विश्वमा बौद्ध धर्मले अझ व्यापकता मात्रै लिएको नभएर लोकप्रिय पनि हुँदै आइरहेको छ। यही भएर कतिपय नयाँ दार्शनिक बुद्धको वैशाखी टेक्ने र त्यसको आडमा आफ्नो छुट्टै धर्मदर्शनको कुरा प्रचार सम्प्रदाय खडा गर्ने गरेको पनि पाइन्छ।   बुद्ध कसका हुन् भन्ने सन्दर्भमा बौद्धहरूका हुन् भन्नुमा स्वाभाविकता छ। तर, एकथरी छन्, बुद्धलाई बौद्धहरूको मात्रै मान्नुहुँदैन, यिनी त सबैका हुन् भन्ने। बौद्धहरूले बुद्धलाई सीमित घेरामा राख्न खोजेको आरोप पनि लगाउँछन्, यिनीहरू। बुद्ध सबैका हुन्, बौद्धहरूका मात्रै होइनन् भन्ने दलील झट्ट हेर्दा निकै आदर्श, सद्भावले ओतप्रद र बुद्धप्रति अत्यन्त श्रद्धा प्रकट गरेजस्तो देखिए पनि वास्तवमा यो तर्क आफैमा लङ्गडो र झेल्ली छ। बुद्ध बौद्धका हुन्भन्दा जतिसुकै संकुचित र संकीर्ण देखिए पनि यसको समाधानका लागि स्वयं बौद्ध नै को हुन् भन्ने प्रश्न उठाउनुपर्छ। यसको जवाफ सजिलो छ। जसले बुद्धलाई आफ्नो मार्गदर्शकका रूपमा लिन्छन्, बुद्धका उपदेशअनुरूप जीवन दर्शन बनाउँछन्, ती बौद्ध हुन्। जसले पूर्वाग्रह वा पूर्वमान्यतालाई त्याग्न नै सकेका हुँदैनन्, उसले बुद्धका उपदेशहरूलाई अपनाउने कुरै भएन अनि तिनीहरू बौद्ध हुन पनि सक्दैनन्।
जसरी महाकविका सन्तान महाकवि नै हुन्छन् भन्ने जरुरी छैन, त्यसरी नै बौद्ध हुनलाई आमाबाबु बौद्ध भएको हुनुपर्छ भन्ने आवश्यकता छैन। कुनै पनि जाति, वर्ण, रंग, भाषा, सम्प्रदायबाट आएको मानिस नै किन नहुनु, बिना भेदभाव जो कोही पनि बौद्ध हुन सक्छन्। बौद्ध धर्ममा दीक्षा दिने औपचारिकता त छ। तर, अनेकौं माध्यमबाट बौद्ध धर्मका बारेमा जानकारी पाएर मनप¥यो भने त्यसलाई दैनिक जीवनमा अभ्यास गरेर निर्वाध रूपमा स्वयं दीक्षित पनि हुन सकिन्छ। जसले बुद्ध र बौद्ध धर्म मान्दैन, ऊ स्वतः बौद्ध रहन्न। यो कुनै जड सम्प्रदाय विशेष होइन।
बुद्ध र बौद्ध धर्म मनपर्छ भन्ने तर आफ्नो संस्कार र पूर्वमान्यता त्याग्न सक्दिनँ भन्नुमा विरोधाभास छ। उसले फेरि बुद्ध बौद्धका मात्र होइनन्, हाम्रा पनि हुन् भन्नु झनै विरोधाभासपूर्ण कुरा भयो। बुद्ध विष्णुको नवौं अवतार भएका कारण हाम्रा पनि हुन् भन्नकै लागि ‘बुद्ध सबैका हुन्’ भन्न खोजेको हो भने बुद्ध र अवतारवादको अवधारणामा कुनै सामञ्जस्यता नभएकोमा ध्यान दिनुपर्ने हुन्छ। वैदिक वा विष्णुका अवतारवादीको दार्शनिक आधार आत्मा र परमात्मा तथा नित्यता हो। तर, बौद्ध धर्मको मूलभूत मान्यता वा दार्शनिक आधार अनित्य, दुःख र अनात्म (त्रिलक्षण) हो। सबै कुरा अनित्य, दुःख नै सत्य र अनात्मा बौद्धधर्मको दार्शनिक मान्यता हो। तर, यो वैदिकहरूलाई मान्य छैन। त्यसै भएर बुद्ध विष्णुको नवौं अवतार हो भन्ने दलील बौद्ध धर्मदर्शनको कसीमा मात्र होइन, स्वयं वैष्णव सम्प्रदायको धर्म सम्प्रदायको दार्शनिक कसीमा पनि स्वतः खण्डन हुन्छ वा आपत्तिदोष नै लाग्छ। यस अवस्थामा बुद्ध सबैका हुन्। तर, तिनीहरूले बुद्ध र बौद्ध धर्मलाई नै जीवनदर्शन बनाएको हुनुपर्छ। जसले बुद्धलाई शास्ता (मार्गदर्शक)का रूपमा स्वीकार गरेको छ, ऊ पक्का बौद्ध हो। अर्थात्, बुद्ध बौद्धहरूका हुन्।

‘नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल

नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल
शनिबार, ०२ चैत २०७५, ०८ : ५८ |  ध्रुव दङ्गाल
आकर्षक बुट्टा। चिटिक्क ‘फिनिसिङ’। झट्ट हेर्दा उपत्यकाका प्राचीन दरबार र मन्दिरझैँ लाग्ने कलात्मक झ्याल। तस्बिरमा देखिएको यो झ्यालको नाम ह्योल्मो भाषामा ‘नाम्दर घोसुम’ हो। यसको अर्थ हुन्छ, तीनखापे झ्याल। पर्यटकीय गाउँ हेलम्बुको तेम्बाथाङमा निर्माणाधीन एकीकृत बस्तीको मुख्य आकर्षण नाम्दर घोसुम रहेको छ। नाम्दर घोसुम ह्योल्मो संस्कृतिको प्रतीक हो।
हरियाली हेलम्बुमा हरियै बनेर ठडिइरहेको एकीकृत बस्ती जति चिटिक्क देखिन्छ, उति नै सुन्दर लाग्छन्, घर–घरमा राखिएका नाम्दर घोसुम पनि। ‘नाम्दर घोसुम ह्योल्मो पहिचान हो,’ तेम्बाथाङ एकीकृत बस्ती विकास केन्द्रका अध्यक्ष साङ्गे लामा ह्योल्मो नागरिकसँग भन्छन्, ‘हामी लोप हुँदै गएको परम्परागत संस्कृति र पहिचान फर्काउँदै छौँ।’
एकीकृत बस्तीका ४४ घर निर्माणको अन्तिम चरणमा पुगेका छन्। सबै घरमा एउटाको दरले पहिचान झल्कने झ्याल अर्थात् नाम्दर घोसुम राखिएको छ। ‘घरका सबै झ्यालमा नाम्दर घोसुम राख्न चाहन्थ्यौँ,’ साङ्गले भने, ‘निकै महँगो पर्न जाने भएकाले पहिचान लोप हुन नदिन अनिवार्य एउटाका दरले नाम्दर घोसुम राख्ने निर्णयमा पुग्यौँ।’ पछिल्लो समय हेलम्बुबाट नाम्दर घोसुम हराउँदै जान थालेको थियो। पुराना घरमा भने नाम्दर घोसुम देख्न सकिन्थ्यो। तर, २०७२ वैशाख १२ को विनासकारी भूकम्पले घरहरू भत्काउँदा परम्परागत बुट्टेदार झ्याल पनि सँगै नासिए। भूकम्पसँगै अब नाम्दर घोसुम हराउने भयो भन्ने चिन्ता स्थानीयलाई लाग्न थालेको थियो।
यस्तैमा स्थानीयले एकीकृत बस्तीको अवधारणा अघि सारे। यसको सुइँको पायो, गैरसरकारी संस्था जनहित ग्रामीण सेवा समितिले। जनहित भूकम्पपछि एकीकृत बस्ती बराल्ने ठाउँको खोजीमा थियो। अक्सफामको सहयोगमा बन्ने बस्ती निर्माणको प्रस्ताव लिएर हेलम्बु गाउँपालिका पुग्दा अध्यक्ष निमाग्याल्जेन शेर्पाले शर्त राखे, ‘बस्तीका घरमा नाम्दर घोसुम राख्ने भए स्वीकृति दिन्छु।’ यसको सांस्कृतिक महŒव बुझेपछि दाता नाम्दर घोसुम राख्न राजी भएका थिए।
एक वर्षदेखि तेम्बाथाङ एकीकृत बस्ती निर्माण भइरहेको छ। पुराना घर नासिएसँगै नयाँ संरचना बन्दा मौलिकता झल्कने परम्परागत बुट्टेदार झ्याल लोप हुँदै गइरहेको अध्यक्ष शेर्पा बताउँछन्। ‘ह्योल्मो संस्कृति झल्काउने बस्ती बनाउन पाएकोमा खुसी छौँ,’ उनले भने, ‘यसलाई ह्योल्मो क्षेत्रभरि विस्तार गर्ने ध्येय छ।’ ऐतिहासिक महत्व बोकेको नाम्दर घोसुम बनाउन कठिन थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र हेलम्बु गाउँपालिकाले झ्याल बनाउने र बुट्टा कुँद्ने तालिम दियो। सुरुमा १५ र पछि १० दिनमा २५ युवाले तालिम लिए। झ्याल बनाउने बेलामा तालिम लिएका अधिकांश लाखापाखा लागिसकेका थिए। नुर्बु लामा, पेमाढिन्दु शेर्पा र ढुकग्याल्मु शेर्पा नाम्दर घोसुम बनाउन कस्सिए। यी नै तीन युवाले ४४ वटा नाम्दर घोसुम बनाएका हुन्।
‘झ्यालमा बुट्टा कुँदेर मौलिकता दिनु कठिन थियो,’ नुर्बु अनुभव सुनाउँछन्, ‘सुरुमा अलमलियौँ। आत्मविश्वासी भएर काम गर्दा अहिले पोख्त भएका छौँ।’ उनले भनेजस्तै नुर्बुसहितका तीन युवा नाम्दर घोसुम बनाउन निपूर्ण भएको अध्यक्ष साङ्गे बताउँछन्। उनका अनुसार स्थानीयले काठ उपलब्ध गराउँदा एउटा नाम्दर घोसुम बनाउन ८० हजार रूपैयाँ खर्च भएको छ।
एउटा नाम्दर घोसुम बनाउन एक जनालाई एक महिनासम्म समय लागेको थियो। एउटा झ्याल बनाएको ज्याला २५ हजार रूपैयाँ दिइएको थियो। अक्सफामले २० र एकीकृत बस्ती विकास केन्द्रले पाँच हजार रूपैयाँ ज्याला सहयोग उपलब्ध गराएका थिए। नाम्दर घोसुम बनाउने तीन युवाले एक वर्षमा ११ लाख रूपैयाँ कमाइ गरे। नाम्दर घोसुम राख्दा घरमा भूत–प्रेत नलाग्ने किंवदन्ती ह्योल्मो समुदायमा छ। ‘नाम्दर घोसुम राखेपछि घरमा सामान्य पूजाआजा नगरे पनि हुने भनाइ रहिआएको छ,’ अध्यक्ष साङ्ले भने। उनका अनुसार ह्योल्मो भाषामा नाम्दर भनेको झ्याल र घोसुमको अर्थ तीनवटा खापा भन्ने हुन्छ। नाम्दर घोसुमको अर्थझैँ एकीकृत बस्तीका घरमा तीन खापा भएका झ्याल राखिएका छन्।
ह्योल्मो क्षेत्रमा नाम्दर घोसुम कहिलेदेखि प्रचलनमा आयो भन्ने यकिन समय पत्ता नलागे पनि यसको प्रयोग निकै पुरानो भएको अनुमान गरिँदै आएको छ। साङ्गेका अनुसार कलाकार अरनिको चीन जाँदा तिब्बतमा विशेष आकर्षक बुट्टेदार झ्याल बनाएका थिए। तिब्बतसँग सीमा जोडिएका नेपालका हिमाली क्षेत्रमा अरनिकोले बनाएको तिनै बुट्टेदार झ्याल फैलिए। र, यो नेपालमा नाम्दर घोसुम नामले कहलियो। पहिचान झल्कने एकीकृत बस्ती निर्माणको नेतृत्व गरिरहेका साङ्गे थप्छन्, ‘तिब्बतमा बनेर पहिला उतै प्रचलनमा आए पनि नाम्दर घोसुम नेपालीको मौलिक सिर्जना हो।’

संकटमा हुड्केली नाच

संकटमा हुड्केली नाच
लक्ष्मणओझाशनिबार, ०२ चैत २०७५, ०८ : ५२ |  नागरिक
दुई दशकअघिसम्म सुदूरपश्चिममा हुड्केली नाच्ने प्रचलन थियो। त्यतिबेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा हुड्केली नचाइन्थ्यो। तर, पछिल्लो समय भने नाच लोप हुने अवस्थामा पुगेको छ। पश्चिमे संस्कृतिको आकर्षणले नाच लोप हुने अवस्थामा पुगेको जानकार बताउँछन्। ‘आधुनिकताका नाममा यो नाच लोप हुने अवस्थामा पुगेको छ,’ संस्कृतिसम्बन्धी जानकार डोटीका मदनराज ओझाले भने।
जानकारका अनुसार दुई दशकअघिसम्म गाउँगाउँमा हुड्केली नाच्ने भेटिन्थे। तर, अहिले मुस्किलले भेटिन्छन्। नयाँ पुस्ताले यसप्रति चासो नदिँदा यसप्रति कसैले चासो नदिएको उनीहरूको भनाइ छ। लामो समयदेखि हुड्केली नाच नाच्दै आएकाहरू पनि नयाँ पुस्ताले चासो नदिँदा हुड्केली लोप हुने अवस्थामा पुगेको बताउँछन्। पहिले हुड्के नाचेरै घरखर्च चलाउन सकिन्थ्यो। तर, अहिले त्यो अवस्था नरहेको उनीहरूको भनाइ छ। हुड्केली नाच्नेलाई स्थानीय भाषामा ‘हुड्के’ भनिन्छ।
हुड्केली नेपालको पश्चिमी भेगको प्रचलित नाच मानिन्छ। यो हुड्का (डमरुजस्तै एक हातले बजाउन मिल्ने बाजा) को तालसँग नाचिन्छ। यसमा राजा महाराजका तथा पौराणिक गाथा गाइन्छ। हुड्केलीमा एक मुख्य हुड्के र अन्य चार–पाँच जना सहायक हुड्के हुन्छन्। यो नाचमा मुख्य हुड्केले गाएको गीत सहायक हुड्केले लय मिलाउँदै गाउँछन्। हुड्केली नाच्नेले सेतो पहिरन लगाएको हुन्छ भने टाउकोमा पनि सेतो पकडी बाँधेको हुन्छ। त्यस्तै, रातो कपडा छड्के पारेर कम्मरमा बाँधेको हुन्छ।
भारतको उत्तराखण्डमा यो नाचलाई छलिया भन्ने गरिएको छ। हुड्के नाच्दा राजाका ऐतिहासिक तथा पौराणिक गाथा गाइन्छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सुदूरपश्चिम संयोजक एवम् लोक देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ पछिल्लो समय यस क्षेत्रका कला संस्कृति हराउँदै गएको बताउँछन्। ‘नयाँ पुस्तामा पश्चिमे संस्कृतिमा मोह भएकाले नै परम्परागत संस्कृति धरापमा परेको छ,’ उनी भन्छन्, ‘यसको असर हुड्केली नाचमा पनि परेको छ।’ तसर्थ, यसतर्फ सरकारले पहल थाल्नुपर्ने उनको माग छ।

सामाजिक विभेदको खाडल गहिरिँदो

सामाजिक विभेदको खाडल गहिरिँदो
विजयराज गोतम,
अन्नपूर्ण, चैत्र १, २०७५

पोखरा मनपा- २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका       श्रेया बिक (सुनार) को २०७५ असोज ९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय कुसुम पौडेललाई गिरफ्तार गर्‍यो। मामाघर बस्दै आएकी ती बालिकाको शव असोज ९ गते घरभन्दा करिब ५० मिटरको दूरीमा झाडीमा फेला परेको थियो। पीडितका आफन्तले असोज ९ गते प्रहरीमा उजुरी दिएका थिए। बालिकाको पोस्टमार्टम असोज १० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो। जिल्ला अदालतले २०७५ पुस ४ गते आरोपितलाई जन्मकैदको फैसला सुनायो।
कञ्चनपुरको भीमदत्त नपा- २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त ०७५ साउन १० गते साथीको घर गएदेखि परिवारको सम्पर्क बाहिर थिइन्। खोजी गर्ने क्रममा साउन ११ गते बिहान उनको शव भीमदत्त नपा- १८ निम्बुखेडानजिकै रहेको उखुबारीमा पानीमा डुबेको अवस्थामा फेला परेको थियो। निर्मला पन्तको शवलाई साउन ११ गते नै महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि लगिएको भए पनि शवको पोस्टमार्टम साउन १२ गते मात्रै गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा उनको हत्या बलात्कारपश्चात् घाँटीको कड थिचेर गरिएको उल्लेख छ। प्रहरीले घटनाका आरोपित पत्ता लगाउन सकेन। आरोपित पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु हुनुका साथै कैयौं घाइते भए।
कैलाली जिल्ला गौरीगंगा नपा- ११ कि २१ वर्षीया माया विकलाई असार १२ गते बलात्कार गरी हत्यासमेत गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई असार १४ गते पक्राउ गरी असार २२ गते सार्वजनिक गर्‍यो। गौरीगंगा नपाअन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया असार १२ गते काममा निस्केकोमा तीन दिनपछि असार १५ गते नजिकैको जंगलमा मृत भेटिएकी थिइन्। पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालतले २०७५ साउन २१ गते पुुर्पक्षका लागि थुनामा पठायो। अहिलेसम्म मुद्दाको फैसला भएको छैन।
उल्लिखित घटना नेपालमा महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटनाको अवस्था जनाउन पर्याप्त छ। महिलामाथि हुने हिंसाको चरम रूप बलात्कार हो। नेपालका सञ्चारमाध्यममा हरेक दिनजसो बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटना प्रकाशन तथा प्रसारण हुने गरेका छन्। हरेक दिनजसो सार्वजनिक हुने यस्ता घटनाले हाम्रो सामाजिक मनोविज्ञानलाई नराम्ररी प्रहार गरेको छ। मानव अधिकार संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत फागुन ७ गते प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकले गत तीन वर्षमा भएका बलात्कार र यौन दुव्र्यवहारका घटना वृद्धि भएको देखाएको छ।
बलात्कारको समूल अन्त्यका लागि पुरुषको हातेमालो जरुरी छ, जसले बलात्कारमुक्त समाज निर्माणमा सघाउन सक्छ।
सन् २०१८ मा ८ सय १८ जना बालिका बलात्कारका घटनामा र २ सय ४५ जना यौन दुव्र्यवहारका घटनामा पीडित भए। सन् २०१८ मा बलात्कारका घटनामा १ हजार २ सय ९३ जना, बलात्कार प्रयासका घटनामा १ सय ५५ र यौन दुव्र्यवहारका घटनामा ३ सय २४ जना गरी १ हजार ७ सय ७२ जना महिला तथा बालिका पीडित भए। इन्सेकका अनुसार सन् २०१७ मा १ हजार १ सय ३९ जना महिला तथा बालिका पीडित भएका थिए। यो तथ्यांक हेर्दा बलात्कार र यौन दुव्र्यवहारका घटनामा बढोत्तरी भइरहेको पाइन्छ।
नेपाल महिलाविरुद्ध हुनै सबै खालका भेदभावविरुद्धको महासन्धिको पक्ष राष्ट्र हो। महासन्धिले महिलाको अधिकार रक्षाका सन्दर्भमा राज्यले चाल्नुपर्ने कदमका सम्बन्धमा राज्यलाई स्पष्ट मार्गदर्शन गरेको छ। यही महासन्धिको प्रावधानअनुरूप नेपालका संविधान तथा कानुन महिलामैत्री छन्। अर्थात् महिलाका हकअधिकार रक्षा सन्दर्भमा राज्यले कानुनी व्यवस्था गरेको छ। तर व्यवहारमा कानुनको प्रभावकारी कार्यान्वयनको पाटो कमजोर रहुञ्जेल यस्ता महासन्धि ऐन तथा कानुनी प्रावधानको कुनै अर्थ हुँदैन।
मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा करणीसम्बन्धी कानुनको व्यवस्था छ। दस वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेको पाइएमा १६-२० वर्ष, १०-१४ वर्ष उमेर समूहको बालिकाका हकमा १४-१६ वर्ष, १४-१६ वर्ष उमेर समूहको बालिकाका हकमा १२-१४ वर्ष, १६ देखि १८ वर्षसम्मको बालिकाका हकमा १०-१२ वर्ष र १८ वर्षदेखि माथि उमेरका महिलाका हकमा १० वर्ष सजाय हुने व्यवस्था संहिताले गरेको छ। बलात्कारका घटना दर्ताको समयको सीमितता ३५ दिनबाट बढेर ६ महिना भएको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा २२८ मा कसुरबाट पीडितलाई कसुरदारबाट पीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ।
पुरुष प्रधान समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने चलन अझै छ। महिलाको तेजोबध गर्न बलात्कारजस्तो जघन्य अपराध परम्परादेखि नै हुने गरेको विभिन्न ग्रन्थ तथा पुस्तकहरूमा पढ्न पाइन्छ। अहमतावादी पुरुष सोच बलात्कारको एउटा कारण हो। यौन शिक्षाको अभाव, चेतनाको कमी, महिला तथा बालबालिकामाथि हिंसा गर्नु हुन्न भन्ने चेतको अभाव, कमजोर कानुनको फाइदा उठाउनु, न्याय पाउन ढिलाइ हुनु, अपराधी कानुनी दायरामा नआउनुजस्ता कारणले पनि बलात्कार तथा यौनजन्य हिंसाका घटनाले प्र श्रय पाइरहेको देखिन्छ।
बलात्कारका घटनामा पीडितलाई नै दोष देखाएर पीडकलाई उन्मुक्ति दिने प्रचलन अझै पनि कायम छ। बलात्कृत महिलाको पुनस्र्थापनाको सवाल अझ टड्कारो रूपमा देखा पर्छ। बलात्कारपछि समाजमा हुने विभेदका कारण पीडित बाँचुञ्जेल प्रताडित हुनुपर्ने अवस्था छ। प्रहरी प्रशासनको गैरजिम्मेवारीपन, लापरबाही र घटना अनुसन्धानमा अपारदर्शी कार्य सम्पादन हुने गरेको यथार्थ कहिलेकहीं सार्वजनिक हुने गरेका छन्। गत वर्ष दरबारमार्ग प्रहरी कार्यालयमा दर्ता भएको एक बलात्कार घटनाका पीडितलाई मिलापत्र गर्न दबाब दिइएको सार्वजनिकसमेत भएको थियो।
नेपाली समाजमा बलात्कारका घटना जुन किसिमले सार्वजनिक भइरहेका छन्, त्यो अत्यासलाग्दो छ। विद्यमान कानुन तथा सामाजिक चेतमा विकास गर्न सकिए बलात्कारजस्तो जघन्य अपराधबाट समाजलाई केही हदसम्म मुक्त गर्न सकिन्छ। यौन स्वास्थ्यका विषयलाई लाजको घेराबाट बाहिर निकाली विद्यालयस्तरमा व्यावहारिक यौन शिक्षा प्रदान गर्नुपर्छ, जसले यस्ता घटनामा कमी ल्याउन मद्दत पुग्छ। वर्तमान कानुनी व्यवस्थाका बारेमा जनचेतना जगाउने खालका कार्यक्रम लागू गर्न स्थानीय सरकारहरूले नीति तथा कार्यक्रम तय गर्नुपर्छ। कानुनको प्रभावकारी कार्यान्वयन, पीडितमैत्री उजुरी प्रक्रिया, स्वास्थ्य जाँच गर्ने कार्यमा महिला चिकित्सकको व्यवस्था, उजुरी सुन्ने महिला प्रहरी, गोप्य तथा निष्पक्ष सुनवाइको व्यवस्था गर्न सके पीडित उजुरी गर्न तम्तयार हुने र न्यायप्रतिको आशा बढ्न सक्छ।
बलात्कार घटनामा मेलमिलाप गर्न नहुने मान्यताको विकास भएसँगै बलात्कारका घटनाको विरोधमा आवाज मुखरित हुनुका साथै बलात्कारविरुद्ध आवाज उठ्न थालेको छ। बलात्कार घटनामा धेरैजसो बालिका र किशोरी पीडित हुने गरेको तथ्यांक छ। सुस्त मनस्थितिका, बोल्न नसक्नेदेखि मानसिक सन्तुलन गुमेका महिला तथा बालबालिकासमेत यस्ता घटनामा पीडित छन्।
यौन हिंसा, बलात्कार र हत्याका अनेक घटनामा पीडित हुनेहरू निमुखा तथा आर्थिक रूपले कमजोर वर्गका हुने गरेका छन्। न्याय निरूपण गर्ने निकायको सक्रियता हुन सकेन भने पीडितको न्यायप्रतिको भरोसा टुट्न सक्छ। गत वर्ष ललितपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा थुनछेक बहसका क्रममा आरोपितलाई साधारण तारेखमा छाडेको घटना सार्वजनिक भयो। जबकि पीडितले आरोपितहरूका बारेमा सम्पूर्ण विवरण प्रहरीलाई दिएकी थिइन्। भलै जिल्ला अदालतले अन्तिम पैmसलाका क्रममा सो मुद्दामा आरोपितहरूलाई १०÷१० वर्ष कैदको फैसला सुनायो। न्याय निरूपणका झन्झटिला प्रावधानका कारण पीडितले न्याय पाउन नसकेको, राजनीतिक तथा सामाजिक दबाबका कारण उजुरी फिर्ता लिनुपर्ने, अदालतमा झूटो बयान दिनुपर्नेलगायतका समस्या पनि महिला तथा बालबालिकाले भोगेका छन्।
कहिलेकाहीं न्यायालयका फैसलासमेत पीडककै पक्षमा जाने गरेको छ भने लामो समयसम्म मुद्दाको फैसला नहुने अवस्था छ। यसमा सबैभन्दा अनदेखा गरिएको पक्ष पीडितको न्यायको सवाल नै हो। कतिपय अवस्थामा बाहेक बलात्कार घटनामा प्रायजसो पीडकहरू कानुनी दायरामा आएका छन् तर घटनाका कारणले उत्पन्न परिस्थितिको क्षतिपूर्ति पीडितले कहिल्यै प्राप्त गर्न सक्दैन। समाजमा बलात्कार पीडितप्रति गरिने अवहेलना जसका आर्थिक तथा सामाजिक विभेदको खाडल सिर्जना भएको हुन्छ, त्यसको परिपूर्ति पीडक जेल जानुले मात्रै पूरा हुँदैन।
बलात्कार पीडितको पक्षमा आवाज मुखरित गर्नु, हिंसामा परेका बालिका तथा महिला तथा पीडितका परिवारलाई सहयोग गर्नुजस्ता कार्य गरेर बलात्कारविरोधी वातावरण सिर्जना गर्न सकिन्छ। बलात्कारजस्तो जघन्य अपराध महिलाको मात्रै समस्या हो भन्ने बुझाइमा परिवर्तन ल्याउनु, बलात्कार तथा यौनजन्य हिंसाका घटना पुरुष, समाज र राष्ट्रकै समस्या भनी स्वीकार नगरेसम्म यस्ता घटनाको समूल अन्त्य हुनै सक्दैन। महिलामाथि हुने हिंसाको चरम रूप बलात्कारको समूल अन्त्यका लागि पुरुषको हातेमालो जरुरी छ, जसले बलात्कारमुक्त समाज निर्माणमा सघाउन सक्छ।
गौतम अधिकारकर्मी हुन्।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...