Thursday, June 13, 2019

बुद्ध कसका हुन् ?

बुद्ध कसका हुन् ?
शनिबार, ०२ चैत २०७५, १२ : ०९ |  वसन्त महर्जन
बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।
बुद्ध भनेर सामान्यतः इ.पू. ५६३ मा लुम्बिनी वनमा मायादेवीको कोखबाट जन्मेका र पैतिस वर्षको उमेरमा बुद्धत्व लाभ गरी बुद्ध भएकालाई चिनिन्छ। बुद्धत्व प्राप्त नभएसम्म अर्थात् गृहस्थी हुन्जेल उनको नाम ‘सिद्धार्थ’ र घरबार छाडी श्रमण परम्पराअनुसार प्रवजित भएपछि ‘श्रमण गौतम’ रहेको पाइन्छ। इ.पू. ५२८ वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त भएपछि उनलाई महाश्रमण वा गौतम बुद्ध भनियो। यसको अर्थ हो, बुद्ध कुनै व्यक्ति विशेषको नाम होइन। बुद्धत्व प्राप्त गर्नेलाई बुद्ध भनिने हो। गौतम बुद्धभन्दा अघि मेधंकर, तण्हंकर, शरणंकर, दिपङ्कर, लगायत २७ जनाले बुद्धत्व प्राप्त गरेको बौद्ध वाङ्मयमा उल्लेख छ। निकट भविष्यमा बुद्धत्व प्राप्तगरी बुद्ध हुनेमा मैत्रय बुद्धको नाम छ।
बुद्ध पनि श्रावक बुद्ध, प्रत्येक बुद्ध र सम्येकसम्बुद्ध गरी तीन प्रकारका हुन्छन्। पहिलो, क्लेशरूपी शत्रुहरूलाई हताइसकेको अर्थात् अर्हत्। अर्हत्हरूले अब पुनः जन्मलिनु पर्दैन र यही जन्मलाई अन्तिम बनाइसकेको हुन्छ। यसलाई श्रावक बुद्ध भनिएको पाइन्छ। अन्य मार्गभन्दा यो सजिलो र चाँडो हुने भएकाले गौतम बुद्धले यही मार्गमा जोड दिएको बताइन्छ। वर्तमानमा प्रचलित हिनयान बौद्धधर्म अन्तर्गतको थेरवादी बौद्धधर्मले यही श्रावक बुद्ध वा अर्हतलाई जोड दिन्छन्। भनिन्छ– बुद्ध शासनमा अर्हत्हरू शून्य अवस्थामा पुग्दैन। अर्थात्, कहिँ न कहिँ एक जना भए पनि अर्हतको अस्तित्व रहेकै हुन्छ।
गौतम बुद्धलाई विष्णुको अवतार मान्दामान्दै पनि उनलाई राक्षसका रूपमा चिनाउने धृष्टता पनि गरेको पाइन्छ। विष्णुधर्मोत्तर पुराणमा बुद्धलाई राक्षसका रूपमा प्रस्तुत गरिएको छ। राक्षसको रूपमा घृणा गरेर पनि केही सीप नलागेपछि अन्ततः अवतार मानेर आफ्नो बचावट गरेको भन्ने बुझिन्छ।
अर्को मार्ग हो, आफ्नै अभ्यासबाट बुद्ध हुने। पूर्वजन्मको पुण्य संचयले धर्मलाभ गरी बुद्ध भएकालाई प्रत्येक बुद्ध भनिन्छ। यिनीहरूको आगमन दुई सम्येकसम्बुद्ध अर्थात् दुई बुद्धशासन (प्रभाव)को अन्तरमा मात्रै हुन्छन्। नयाँ सम्येकसम्बुद्धको आगमनअघि उनीहरूले निरूपादिषेश निर्वाण प्राप्त गरिसक्नुपर्छ। भविष्यमा सम्येकसम्बुद्ध (गौतम बुद्ध) हुन बोधिसत्वका रूपमा तुषित भुवनबाट आउने खबर पाएर आकासमा विचरन गरिरहेका सबै प्रत्येक बुद्धहरूले देहपात गरेको स्थल भएर त्यस स्थलको नाम नै ऋषिपतन भएको र पछि त्यहाँ मृगहरूको राम्रो वासस्थान भएका कारण पछि ऋषिपतन मृगदावन भन्ने नाम रहन गएको भन्ने भनाइ पाइन्छ। यही ऋषिपतन मृगदावन (सारनाथ)मा पछि सम्येकसम्बुद्ध (गौतम बुद्ध)ले प्रथम धर्मचक्र प्रवत्र्तन गरेका थिए। प्रत्येक बुद्धलाई आफूले बुद्धत्व प्राप्त गरी जन्म–मृत्युको चक्करबाट मुक्त भइसकेको ज्ञात हुँदैन। न उनीहरू सर्वसाधारणलाई धर्मउपदेश दिएर नै बस्छन्। तर, सर्वसाधारणले उनीहरूको चालचलन तथा अन्य कुराबाट प्रभावित भई धर्मलाभ गर्न पाएका हुन्छन्। यी बुद्धहरू प्रायः एकान्त वनजंगलमा विचरण गरी बस्छन् र समय आएपछि निरूपादिषेश निर्वाण प्राप्त गर्छन्।
बौद्ध धर्मअनुसार श्रावक बुद्ध र प्रत्येक बुद्ध हुनु सजिलो छ। यी दुवै प्रकारका बुद्धहरूको ध्येय आफू दुःखबाट मुक्त हुने हो। यी करूणाले पे्ररित भई अन्यको सहयोगी त हुन्छन्। तर, अरु प्राणीलाई दुःखबाट मुक्त गरेर मात्रै आफू बुद्ध हुन्छु भन्ने आकांक्षा नराख्ने भएकाले महायानी सम्प्रदायले यी दुवै प्रकारका बुद्ध वा दर्शनलाई निम्न कोटीको वा हिन ठान्छन्। हिनयानी बौद्ध दर्शन वा सम्प्रदाय भन्नुको अर्थ यही हो। महायानी बौद्धहरू अरु प्राणीलाई पनि दुःखबाट मुक्त गर्ने महत्वाकांक्षा राख्छन् र यसलाई बोधिसत्वयान पनि भन्ने गरेको पाइन्छ। यसका लागि अर्हत् (श्रावक बुद्ध) हुने क्षमता भएर पनि त्यसलाई उपेक्षा गरी बोधि प्रणिधान गरी बोधिचर्यातिर लाग्छन्। बोधिचर्या भनेको एक दुई जन्ममा सम्पन्न हुने नभएर असंख्य जन्म लिएर भए पनि विभिन्न पारमिताहरू पूरा गर्दै रहनु हो। यस क्रममा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावनाबाट ओतप्रोत भई विभिन्न प्रकारले प्राणीहरूको हितमा काम गरिरहेका हुन्छन्। जस्तोसुकै कठिन कार्य गर्न पनि तत्पर हुन्छन् चाहे त्यसका लागि आफ्नो प्राण नै उत्सर्ग गर्न किन नपरुन्, बिना हिचकिचाहट अघि सर्छन्। पारमिता पूरा गर्ने क्रममा नै अविद्याहरू नाश गरी जन्ममरणको भवचक्रबाट मुक्त हुन्छन् र यही मुक्त अवस्थालाई बल्ल सम्येकसम्बुद्ध भनिने हो। त्रिपिटकअन्तर्गत संग्रहित ४५७ वटा जातक कथा गौतम बुद्धका पूर्वजन्मसँग सम्बन्धित छन्।
हिन्दू धर्मावलम्बीमा पनि विशेषतः वैष्णव मतवादी बुद्धलाई विष्णुको नवौं अवतार ठान्छन्। र, बौद्ध सम्प्रदायलाई स्वतः हिन्दू धर्मकै एउटा शाखाको रूपमा प्रस्तुत गर्छन्। तर, बौद्ध मतावलम्बीहरू यसलाई अस्वीकार गर्नुका साथै खण्डन पनि गर्छन्। एक बुद्धको अवतार अर्को बुद्ध नभएर बोधिचर्या गर्ने बोधिसत्व नै बुद्धत्व प्राप्त गरेर बुद्ध भई जन्म र मरणबाट पूर्णतः मुक्त हुनेहरू बुद्ध हुन् भनेपछि यहाँ अवतारको कुरै हुँदैन।
आस्था र विश्वास आफ्नो ठाउँमा छ। तर, इतिहास र दर्शनशास्त्रको विकास केलाउने हो भने गौतम बुद्धको बेला (इसा पूर्व छैटौं शदी)सम्म वैष्णवी मतको उद्भव भइसके पनि त्यसको विकास र व्यापकता वर्तमानमा जस्तो देखिँदैन। यो मतवादको उद्भव महावीर जैन र गौतम बुद्धभन्दा केही सय वर्षअघि मात्रै भएको देखिन्छ। यसको उद्भव वैदिक परम्पराबाटै भए पनि वैदिक परम्पराका कतिपय कर्मकाण्डी तथा यज्ञयज्ञादिप्रति सहमति थिएन। र, कालान्तरमा बेग्लै सम्प्रदायको रूपमा यसको विकास भयो। वैदिक परम्परा के कस्तो थियो र यसका राम्रा र नराम्रा पक्ष के–के हुन् आदि प्रश्न बेग्लै विषयवस्तु हुन्। तर, यसका मूलभूत कुरालाई यथावत् स्वीकार गरी सुधारवादी दृष्टिकोण राख्ने र पूर्णतः अस्वीकार गर्ने अनेकौं मतवादीहरू तत्कालीन समाजमा देखा परेका थिए। वैदिक परम्पराप्रति पूर्णतः असहमत राख्ने चार्वाक मत पहिल्यैदेखि थियो भने त्यसपछि महावीरको जैनलगायतका मतवादीहरूले वैदिक मान्यताको खण्डन तीव्र रूपमा गर्न थालिसकेको थियो। यही परिवेशमा गौतम बुद्धले आफ्नो मतवाद दिन दुगुना रात चौगुनाको हिसाबले फैलाएर वैदिक मूल्य मान्यतालाई ठूलो हाँक दिए। बुद्धका उपदेशबाट अन्य दार्शनिक सम्प्रदायका साथै वैदिक समाज पनि निकै मात्रामा प्रभावित हुन पुगेको पाइन्छ। कतिसम्म भने, वैदिक मान्यतामा रहेका ठुल्ठूला व्यक्तित्वहरूदेखि सर्वसाधारण पनि बुद्धका अनुयायी हुन आइपुगे। सारिपुत्र, मौद्गल्यायन, महाकाश्यप, महाकात्यायन आदि भिक्षुहरूको पृष्ठभूमि वैदिक परम्परा थियो।
जैन तथा बौद्ध मतबाट वैदिकहरू प्रभावित भए पनि आफ्नो ठाउँमा भने दृढ नै भएको पाइन्छ। वैदिकहरू बुद्ध जीवित छँदै पनि उनीप्रति द्वेषभाव राख्थे। कतिपय अवस्थामा वैदिकहरू बुद्धसँग शास्त्रार्थ गर्न पुग्थे। तर, ती प्रयास ‘बायक फायर’ साबित हुन्थ्यो। अर्थात्, यसको उल्टो असर वा नोक्सान वैदिकहरूलाई नै हुन्थ्यो। वैदिकहरू बौद्धमा रूपान्तरित भएका घटना गौतम बुद्धको महापरिनिर्वाणपछि पनि कायम नै रह्यो। यस पृष्ठभूमिमा मगध साम्राज्यमा सेनापति पुष्यमित्रको उदय हुन्छ। सेनापतिले एक खुला समारोहमा तत्काल सम्राट बृहद्रथको हत्या गरी आफै सम्राट बनेका थिए र त्यही बेलाबाट भारतको इतिहासमा मौर्य वंशको अन्त्य भई शुंग वंशको सुरु हुन्छ। नवसम्राट् पुष्यमित्रको छत्रछायामा वैष्णवी धर्मले विकास हुने अवसर पाएको मात्रै नभएर बौद्ध धर्मविरुद्ध ज्यादती पनि बढ्न थालेको पाइन्छ। कुनै एक बौद्ध भिक्षुको शीर काटेर ल्याउनेलाई सय दिनार पुरस्कारमा दिने इस्तिहार यिनै सम्राटको राज्यकालमा भयो।
समाजमा बौद्ध धर्म र दर्शनको प्रभावलाई निस्तेज पार्न सकिएन। यही समय बौद्ध विद्वानले स्वतन्त्र चिन्तन गर्दै गौतम बुद्धद्वारा देसित दर्शनका विभिन्न पक्षहरूमाथि व्याख्या गर्ने क्रममा सौत्रान्त्रिक, वैशेषिक, माध्यमिक र विज्ञानवाद गरी चार दार्शनिक सम्प्रदायको विकास भयो। बौद्ध धर्मको विकासमा यी दार्शनिक खोजबाट बौद्ध धर्मलाई अझ सशक्त, तार्किक र प्राज्ञिक बनाउने काम भयो। बौद्ध धर्मलाई निस्तेज पार्नै नसक्ने भएपछि वैदिकहरूले बल्ल बुद्धलाई विष्णुको नवौं अवतार भनी आफ्नो मतवादमा भित्र्याएको पाइन्छ। विष्णुको अवतारको अवधारणा वैदिकहरूको सुरुदेखिको मान्यता थिएन पनि। अवतारवादको मान्यता आठौं नवौं वा त्योभन्दा पछिमात्रैको विकास हो। सम्भवतः गौतम बुद्धलाई स्वतन्त्र अस्तित्वको रूपमा स्वीकार नगरी आफ्नो मतवादभित्रकै कुरा हो भन्दै शाखा धर्मको रूपमा व्याख्या गर्नकै लागि वैष्णवीहरूले अवतारवादको अवधारणा ल्याएको हो।
ताज्जुबको कुरा त के हो भने, गौतम बुद्धलाई विष्णुको अवतार मान्दामान्दै पनि उनलाई राक्षसका रूपमा चिनाउने धृष्टता पनि गरेको पाइन्छ। विष्णुधर्मोत्तर पुराणमा बुद्धलाई राक्षसका रूपमा प्रस्तुत गरिएको छ। राक्षसको रूपमा घृणा गरेर पनि केही सीप नलागेपछि अन्ततः अवतार मानेर आफ्नो बचावट गरेको भन्ने बुझिन्छ। विष्णुको नवौं अवतारका रूपमा लिए पनि बुद्धका उपदेशलाई कहीँ कतै उल्लेख गरिएन। गौतम बुद्ध पनि भनिएन, बुद्ध मात्रै भनिए र कुन ठाउँमा जन्मेको भन्ने सन्दर्भमा अन्टसन्टको जानकारी राखेको पाइन्छ। दार्शनिक दुनियाँमा यो एउटा रमाइलो र ताज्जुबको प्रसङ्ग हो।
वर्तमान विश्वमा बौद्ध धर्मले अझ व्यापकता मात्रै लिएको नभएर लोकप्रिय पनि हुँदै आइरहेको छ। यही भएर कतिपय नयाँ दार्शनिक बुद्धको वैशाखी टेक्ने र त्यसको आडमा आफ्नो छुट्टै धर्मदर्शनको कुरा प्रचार सम्प्रदाय खडा गर्ने गरेको पनि पाइन्छ।   बुद्ध कसका हुन् भन्ने सन्दर्भमा बौद्धहरूका हुन् भन्नुमा स्वाभाविकता छ। तर, एकथरी छन्, बुद्धलाई बौद्धहरूको मात्रै मान्नुहुँदैन, यिनी त सबैका हुन् भन्ने। बौद्धहरूले बुद्धलाई सीमित घेरामा राख्न खोजेको आरोप पनि लगाउँछन्, यिनीहरू। बुद्ध सबैका हुन्, बौद्धहरूका मात्रै होइनन् भन्ने दलील झट्ट हेर्दा निकै आदर्श, सद्भावले ओतप्रद र बुद्धप्रति अत्यन्त श्रद्धा प्रकट गरेजस्तो देखिए पनि वास्तवमा यो तर्क आफैमा लङ्गडो र झेल्ली छ। बुद्ध बौद्धका हुन्भन्दा जतिसुकै संकुचित र संकीर्ण देखिए पनि यसको समाधानका लागि स्वयं बौद्ध नै को हुन् भन्ने प्रश्न उठाउनुपर्छ। यसको जवाफ सजिलो छ। जसले बुद्धलाई आफ्नो मार्गदर्शकका रूपमा लिन्छन्, बुद्धका उपदेशअनुरूप जीवन दर्शन बनाउँछन्, ती बौद्ध हुन्। जसले पूर्वाग्रह वा पूर्वमान्यतालाई त्याग्न नै सकेका हुँदैनन्, उसले बुद्धका उपदेशहरूलाई अपनाउने कुरै भएन अनि तिनीहरू बौद्ध हुन पनि सक्दैनन्।
जसरी महाकविका सन्तान महाकवि नै हुन्छन् भन्ने जरुरी छैन, त्यसरी नै बौद्ध हुनलाई आमाबाबु बौद्ध भएको हुनुपर्छ भन्ने आवश्यकता छैन। कुनै पनि जाति, वर्ण, रंग, भाषा, सम्प्रदायबाट आएको मानिस नै किन नहुनु, बिना भेदभाव जो कोही पनि बौद्ध हुन सक्छन्। बौद्ध धर्ममा दीक्षा दिने औपचारिकता त छ। तर, अनेकौं माध्यमबाट बौद्ध धर्मका बारेमा जानकारी पाएर मनप¥यो भने त्यसलाई दैनिक जीवनमा अभ्यास गरेर निर्वाध रूपमा स्वयं दीक्षित पनि हुन सकिन्छ। जसले बुद्ध र बौद्ध धर्म मान्दैन, ऊ स्वतः बौद्ध रहन्न। यो कुनै जड सम्प्रदाय विशेष होइन।
बुद्ध र बौद्ध धर्म मनपर्छ भन्ने तर आफ्नो संस्कार र पूर्वमान्यता त्याग्न सक्दिनँ भन्नुमा विरोधाभास छ। उसले फेरि बुद्ध बौद्धका मात्र होइनन्, हाम्रा पनि हुन् भन्नु झनै विरोधाभासपूर्ण कुरा भयो। बुद्ध विष्णुको नवौं अवतार भएका कारण हाम्रा पनि हुन् भन्नकै लागि ‘बुद्ध सबैका हुन्’ भन्न खोजेको हो भने बुद्ध र अवतारवादको अवधारणामा कुनै सामञ्जस्यता नभएकोमा ध्यान दिनुपर्ने हुन्छ। वैदिक वा विष्णुका अवतारवादीको दार्शनिक आधार आत्मा र परमात्मा तथा नित्यता हो। तर, बौद्ध धर्मको मूलभूत मान्यता वा दार्शनिक आधार अनित्य, दुःख र अनात्म (त्रिलक्षण) हो। सबै कुरा अनित्य, दुःख नै सत्य र अनात्मा बौद्धधर्मको दार्शनिक मान्यता हो। तर, यो वैदिकहरूलाई मान्य छैन। त्यसै भएर बुद्ध विष्णुको नवौं अवतार हो भन्ने दलील बौद्ध धर्मदर्शनको कसीमा मात्र होइन, स्वयं वैष्णव सम्प्रदायको धर्म सम्प्रदायको दार्शनिक कसीमा पनि स्वतः खण्डन हुन्छ वा आपत्तिदोष नै लाग्छ। यस अवस्थामा बुद्ध सबैका हुन्। तर, तिनीहरूले बुद्ध र बौद्ध धर्मलाई नै जीवनदर्शन बनाएको हुनुपर्छ। जसले बुद्धलाई शास्ता (मार्गदर्शक)का रूपमा स्वीकार गरेको छ, ऊ पक्का बौद्ध हो। अर्थात्, बुद्ध बौद्धहरूका हुन्।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...