Friday, June 14, 2019

बिस्केट जात्रा सुरू

बिस्केट जात्रा सुरू
चैत्र २७, २०७५कान्तिपुर संवाददाता
भक्तपुर — भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्वको प्रशिद्ध बिस्केट जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।
बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि रथ तान्न सुरु हुन्छ ।
जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई 'होस्से/हैसें/हाहा' गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ-आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।
रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चर्ढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा 'स्याःक्वःत्याःक्वः' भनिन्छ ।
बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । बिस्केट जात्रा हर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
बिस्केटको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि/विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंबदन्ती छ ।
किंबदन्ती अनुसार प्राचीन समयमा भक्तपुरमा भक्तग्राम जङ्गल थियो । लिच्छविकालीन राजाको एकमात्र सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरे पनि सफल भएन । पछि राजाले आफ्नी छोरी विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो । जसले गर्दा राजाले आफ्नी छोरीको शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाट पुर्‍याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो ।
संस्कृतिकर्मी ओम द्यौभडेलका अनुसार एक दिन सिकारी युवक घुम्दै जाँदा हनुमन्ते खोला किनारमा एक तान्त्रिक वृद्धासित भेट भएछ । ती तान्त्रिक वृद्धाले ती युवकलाई त्यस रहस्यको सम्पर्ण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देशन दिए । भोलिपल्ट बिहान लास उठाउन जाँदा युवक जिउँदो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउँदा सबै आश्चर्यमा परेका थिए ।
अन्ततः ती युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको प्वालबाट निस्केका भाले-पोथी नागनागिनीले डस्न खोज्दा तरवारले दुई टुक्रा पारेपछि मृत्युबाट बचेको रहस्य सुनाएछन् । यसरी युवकले राजकुमारीको नाकबाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसँग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्येष्टिको सम्झनामा भक्तपुरवासीले बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती छ ।
प्रकाशित : चैत्र २७, २०७५ १६:४६

टोखा जात्रा ओझेलमा

टोखा जात्रा ओझेलमा
चैत्र २९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — टोखाको बिस्काः नखः (बिस्केट जात्रा) लिच्छविकालीन मानिन्छ । भक्तपुरको बिस्काः जात्राभन्दा पनि टोखाको बिस्काःको इतिहास पुरानो रहेको यहाँका स्थानीयबासी बताउँछन् । टोखाबासीका अनुसार जात्राका बारेमा प्रचारप्रसार कमीका कारण ओझेलमा पर्दै आइरहेको छ ।
उनका अनुसार प्राचीनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजू (पुजारी) थियो । एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् ।
पुजारी पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिकालागि बिस्केट जात्रा सुरु गरेको किम्वदन्ती छ ।
नेवाः गुथि टोखाका अध्यक्ष देवराज डंगोल भन्छन्, ‘टोखाबासीले अहिले पनि नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै बिस्काः जात्रा मनाउने गरिन्छ । टोखामा दरबार, तलेजु मन्दिर पनि छ । जात्रामा सरकारी पूजा गर्ने चलन बाँकी नै छ । ऐतिहासिक महत्त्वको जात्रा भए पनि प्रचारप्रसार गर्न नसकेका कारणले सीमित व्यक्तिलाई जानकारी छ ।’ टोखा बिस्काः जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा आठ रात नौ दिन मनाइन्छ ।
औपचारिक रूपमा साताअघि शुक्रबार क्वने लाछी (तल्लो लाछी चोक) मा सिन्दुर जात्रा गरेर सातैवटा खट बोक्ने गुठीयारले नागको प्रतीकको रूपमा ५४ हात अग्लो योसी (लिंगो) ठड्याइपछि जात्रा सुरु गरिएको थियो । अब चैत मसान्तमा सपनतीर्थमा बिहान स्नान गरी शिवपुर वनमा अवस्थित बाघद्धार जाने गरिन्छ । र, बेलुका सपनतीर्थ विनायक र चण्डेश्वरी माईको मूर्ति खटमा राखेर चिलाख बालेर गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ ।
वैशाख १ गते उपत्यका र बाहिरका भक्तजन सपनतीर्थमा स्नान गर्न आउने गर्छन् । तीर्थमा स्नान गरेमा चिलाउने, खटिरा आउने र कुष्ठरोगबाट मुक्त मिल्ने जनविश्वास छ । नेवाः गुथि टोखाका सल्लाकार गणेशमान श्रेष्ठले जात्रा व्यवस्थापन गर्न ३ सय जना स्वयंसेविका परिचालन गरिने बताए । ‘जात्रा अवलोकनमा आउनेलाई मध्यनजर गरेर ठाउँठाउँमा खानेपानी, सरसफाइ गरिएको छ,’ उनले भने, ‘सुरक्षाका लागि प्रहरीसँग समन्वय भइरहेको छ ।’ उनले जात्रा २ लाखजनाले अवलोकन गर्ने अनुमान रहेको बताए ।
टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलले जात्रालाई व्यवस्थापन गर्न सरकारी पूजाका लागि डेढ लाख छुट्ट्याएको बताइन् । ‘कुमारी र गणेशलाई वार्षिक २ लाख ५० हजार, बाजा मर्मत गर्न १० देखि २० हजार रुपैया छुट्ट्याएका छौं,’ उनले भनिन् । जात्रामा मसानकाली मन्दिर परिसर भूतखेल चौरमा होम गर्ने चलन छ ।
वैशाख २ गते चण्डेश्री, सपनतीर्थ, महादेव, सरस्वती, मसानकाली, गणेश, कोथु गणेशको सरकारी पूजा गरिन्छ । जीवित देवी गणेश र कुमारी आगमनपछि सिन्दुर जात्रा प्रारम्भ गरिन्छ । त्यसपछि सांस्कृतिक बाजागाजासहित नगर परिक्रममा गरिन्छ । जुन जात्राको रौकनको रूपमा लिइन्छ । जात्रा नागसँग सम्बन्धित नाच या प्यानाच र नाग प्याँखा देखाइन्छ ।प्रकाशित : चैत्र २९, २०७५ ०७:३९

नेपाल प्रहरीकाे इतिहास

नेपालको एकिकरणपछि लामो समयसम्म मुलकको बाहय तथा आन्तरीक सुरक्षामा सेना तैनाथ रहेको देखिन्छ । प्रहरीले गर्ने कार्य पनि धेरैजसो सेनाकै नामबाट हुने गरेको कुरा ऐतिहासिक दस्तावेजहरुमा अवगत हुन्छ । राणा कालिन समयमा मेजिस्ट्रेडको मातहतमा पुलिसथाना, चौकी, इन्पेक्टर अफिस रहने गरेको पाइन्छ । यसै गरी बिभिन्न सनद सवालमार्फत कोतवाली, पुलिस गोश्वारा मिलिसिया, चौकिदारी प्रचलन पनि लामो समय सम्म रहन गएको पाईन्छ । २००७ सालको क्रान्तिपछि भने नेपाल पुलिस फोर्सको इतिहासमा ठूलै उथुलपुथुल भएको थियो, जस अनुसार सर्वप्रथम इन्सपेक्टर जनरल अफ पुलिस (आई.जी.पी.बि. सं २०२९ पछि आई.जी.पी. को नेपाली रुपान्तर प्रहरी महानिरीक्षक) हुने सौभाग्य पाउने ब्यक्ति तोरण शमशेर राणा हुनुहुन्थ्यौ । उहाँको कार्यकाल केवल तीन दिन (२८ चैत्र, २००७ सालदेखि चैत्र ३० गते २००७) सम्म मात्र कायम रहयौ । पछि उहाँ शाही नेपाली सेनाका प्रधानसेनापति हुनुभयो । दोस्रा आई.जी.पी  भए जुद्धशन्शे्रका नाती बहादुरशमशेरका छोरा नरशमशेर राणा, जो राणा शासन कायम रहेको भए प्राइम मिनिष्टरका रोलवाला हुनुहुन्थ्यौ । त्यसैकारणले पनि हुनसक्छ उहाँ प्रजातन्त्रवादिका कटटर बिरोधी देखिनु हुन्थ्यौ ।राणा र नेपाली कांग्रेसको संयूक्त सरकारले नियूक्ति गरेको आई. जी.पी. नरशमशेर राणाका मातहतमा रहने गरी मुक्तियोद्धा जिबी याक्थुम्बालाई आम्र्ड पुलिस फोर्सतर्फको डी.आई.जी. र सिभिल पुलिसतर्फ टेकनारायण श्रेष्ठलाई डी.आई.जी. मा नियूक्ति गरियो ।
शसस्त्र क्रान्तिबाट आएका हामी सबै जीबी याक्थुम्बाको मातहतमा परेका थियौ । पुलिस फोर्सको स्थापना देशमा शान्ति सुरक्षार अमन चयन कयम गर्न गठित भएपनि दुई भिन्नाभिन्नै मत,सद्धान्त र बिचार राख्ने पृष्ठभूमि भएका ब्यक्तिहरुको समुदायभएका ले गर्दा भित्रभित्रै यस संस्था भित्र षड्गन्त्रहरु ह्ुन थाले नरशमशेर आई.जी. पी भएपछि निस्तेज भए राणाहरुको मनोबल बढेर आयो । उनिहरुकै पालामा सेना र सिभिल पुलिसहरुलाई नरशमशेरको सहमति र ईसारामा डी.आई. जी. टेकनारायण श्रेष्ठको नेतृत्वमा पुलिस फोर्स भित्र बगावत (एक किसिमको बिद्रोह ) गर्न लगाए । जिबी याक्थुम्बाको मातहतमा आर्मड पुलिस फोर्स भएपनि सुरबिर राईको नेतृत्वमा रहेको बिजेश्वरी ब्यारेक , पशुपतिको गुजेश्वरी बयारेक र अर्को बटालियनमा हरुमा राम दल र राणाकालिन सिभिल पुलिसबाट आएका निम्ति मध्यम तहका अवसरबादी अफिसरहरु मौकाको ताकमा बसेका थिए । उनीहरु नरशमशेर पट्टि लागेर  जिबी याक्थुम्बाले यस्तो कुरा राजनीति चलखेल र षड्यन्त्रलाई राम्ररी बुझ्नु भएको थियो । मातहतमा रहेका शसस्त्र बटालियनका विश्वपस्त र कर्मठ अफिसर एवं जवानहरुलाई पनि आफुबस्ने गरेको श्रीमहलस्थित शसस्त्र बटालियनमा बोलाएर राख्नु भएको थियो । त्यसपछि रातारात नै उहाँ आफु बिरुद्ध लागेका बगावती अफिसरहरु (जो काठमाण्डौ, पाटन र भक्तपुरमा डेरा गरी बसेका थिए) सबैलाई पक्रा उगर्न सफल हुनु भयो । पदोन्नतिको लोभ र भड्काउमा आएका बाँकी जवानहरलाई भने काबुमा ल्याउन केही कठिनाई भएन । प्रजातन्त्रवादी र राणा बादिको बीच भएको उक्त बिद्रोहको कुरा राजधानीबासीले थाहै पाएनन् ।
बि.सं. २०१० सालमा सरकारद्धारा पुलिस फोर्सभित्र भएको यस बिद्रोहको छानबिन गर्न आयोग गठन गरियो । आयोगको सिफारिसमा सरकारले बिजेश्वरी काण्डमा संलग्न आई.जी.पी.नरशमशेर, डी.आई.जी. टेकनारायण श्रेष्ठ, सुरबिर राई समेत अरु ३० जवानहरुलाई पनि सेवाबाट अवकास दियो । त्यसपछि सरकारले  बि.सं.२०१० सालमा नै स्वतन्त्र सेनानीबाट आउनु भएका जि.बी.याक्थुम्बालाई आई.जी.पी., बि.बि. चेम्जोड. र तारक बहादुर शाहलाई डि.आई.जी. बनाईयो ।
जिबी याक्थुम्बालाई आई.जी.पी.भएपछि पुलिस फोर्सलाई ब्यवस्थित गर्नतफ लागे । यसै बिच बि. सं.२०११ म राजा त्रिभूवन को स्वर्गवासपछि यूवराज महेन्द्र राजा भए ।यति बेला सम्म पनि देशमा राम्रो संग नीति नियम र कानून नबेको हुँदा देशको राजनीतिमा सतरञ्जको गोटि कस्ले कहाँ चाल्ने, हो भनि थाहै हुँदैनथ्यो । त्यसको फलस्वरुप याक्थुम्बाले आफ्नो कार्यकाल पूरा गर्न पाउनु भएन ।
२०१२ सालमा भदौ १० गते नै सरकारले गोपाल शमशेरलाई आई.जी.पी मा नियुक्ति गरी याक्थुम्बालाइ पदबाट हटाई श्रीमहलबाट त्रिपुरेश्वरको सरकारी गेष्ट हाउसमा (हालको भन्सार बिभाग) बन्दिको रुपमा राखियो । क्रान्तिका बेला देश, नरेश र प्रजातन्त्रको लागी राणा शाशकहरुलाई हटाई ठुलो योगदान दिलाएको कुरा मुमा बडामहारानीहरु (कान्तिराज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी) ले श्री ५ महेन्द्र सरकारलाई सम्झाई बक्सेकाले केहि दिनपछि त्यहिबाट जिबी याक्थुम्बालाइ बर्माको काउन्सीलर जनरल बनाई पठाईयो ।
बुच कमिसन एवं भारतबाट आएका आनन्द नामका पुलिस एडभाईजरको सिफारिस बमोजिम नेपाल पुलिसको ऐन तर्जुमा गरी २०१२ साल असोज मसान्तदेखि मात्र सोसम्बन्धी ऐन लागू गरियो । यसै ऐन बमोजिम बल्ल सिभिल पुलिस र आर्मड पुलिसको ब्यवस्था हुन गयो । देशको चौध अञ्चलमा क्रमशः एक एकवटा आर्मड पुलिस कम्पनीको दरबन्दी खडा भयो । पुलिस ऐन, २०१२ का धेरैजसो प्रावधानहरु ब्रिटिश इन्डियाको सन् १८६१ को पुलिस एक्टमा भए जस्तै ब्यवस्ता रहेको छ । कतिपय दफाहरु यद्यपि कायम देखिन्छन्, ती समयानुकूल संशोधन हुन आवश्यक छ ।
आइजीपी डिबि लामाको अात्मकथा स्तकबाट साभार

थरीथरी संस्कृति एउटै चाल

थरीथरी संस्कृति एउटै चाल
चैत्र २५, २०७५हरि गौतम
रुकुम पश्चिम — एकै खालका कार्यक्रम भइरहने मुसीकोटस्थित बराहटाकुरा टुँडिखेल आइतबार भने फरक देखियो । स्थानीयवासी आ–आफ्ना मौलिक पोसाकमा थिए नै, प्रस्तुति पनि मौलिक थियो ।
जिल्लापिच्छेका आआफ्नो मौलिक संस्कृति र परम्परा झल्कने झाँकीसहित बराहटाकुरा भरिएको थियो । एक ठाउँकाले अर्को ठाउँको संस्कृतिबारे बुझ्ने र बुझाउने मौका पाए ।
प्रस्तुति दिन आएका त मौलिकतामा थिए नै, निम्त्याइएका अतिथि पनि भिन्न शैलीमा देखिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, नेता मणि थापा, जनवादी गायक जीवन शर्मालाई पनि जिल्लावासीले स्थानीय वेशभूषा स्टकोट, कमिज, टोपीको साथमा छर्रा धरो हाल्न लगाए ।
जिल्ला समन्वय समितिले यस्तो मौका जुराइदिएको हो । बृहत् सांस्कृतिक सम्मेलन नाम दिइएको कार्यक्रममा कर्णालीका साथै ५ नम्बर प्रदेशका जिल्लाको पनि सहभागिता रह्यो । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका विभिन्न विधा तथा कर्णालीका केही जिल्ला तथा ५ नम्वर प्रदेशको रुकुम पूर्वको एक/एक विधाका मौलिक संस्कृति झल्कने प्रस्तुतिसहित बराहटाकुरामा बृहत् सांस्कृतिक सम्मेलन सुरु भएको हो ।
‘जिल्लाभित्र रहेका सबै मौलिक कला, संस्कृतिको प्रवर्द्धन, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना गरिएको हो,’ जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले भने, ‘कर्णाली प्रदेशभरका सांस्कृतिक कुराको आदानप्रदान तथा एक–अर्कालाई चिन्ने चिनाउने अपेक्षा पनि राखिएको छ ।’ पौराणिक र मौलिक लोककला तथा संस्कृतिको उजागर गर्ने र त्यसको प्रचारप्रसार गरी पर्यटनको विकास गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको शर्माले बताए ।
‘कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रचार, समृद्धि र समाजवादको आधार’ नारासहित आयोजना गरिएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनमा जिल्लाका ६ वटै स्थानीय तहले कला, संस्कृतिको एक/एक विधा प्रदर्शन गर्नेछन् । त्यस्तै अन्य जिल्लाबाट आएका कलाकारले आफ्नो जिल्लाको मौलिक संस्कृति समेटिएको प्रस्तुति दिनेछन् । जिल्ला भित्रका सिंगारु, पैसेरु, मयूर, पञ्चेबाजा, पापिनी नाच, ठाडी भाका, भूम्या, लगायतका गीत तथा नाच प्रदर्शन गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले परिवर्तनका लागि सांस्कृतिक सम्मेलन महत्त्वपूर्ण साबित हुने बताए । ‘विकास भनेको संरचनामा मात्रै हुँदैन, होइन पनि,’ मुख्यमन्त्री शाहीले भने, ‘मान्छेको सोचमा, धारणामा, संस्कृति र संस्कारमा विकास हुनु पनि परिवर्तन हो ।’ प्रदेशका सबै मौलिक परम्परा र संस्कृति आदाप्रदानका लागि सांस्कृतिक सम्मेलन कोसेढुंगा साबित हुने उनले बताए ।
प्रकाशित : kantipur, चैत्र २५, २०७५ ०८:३३

भ्रष्टाचार, नियत र डा. केसी

भ्रष्टाचार, नियत र डा. केसी
श्रावण २७, २०७४सम्झना वाग्ले भट्टराई
ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१७ जनवरीमा प्रकाशित प्रतिवेदनले समेटेका १७६ देशमध्ये सन् २०१६ मा भ्रष्टाचार मापन सूचकमा नेपाल १३१ औं स्थानमा छ ।
दक्षिण एसियामा नेपालभन्दा पछाडि बंगलादेश १४५ औं र अफगानिस्तान १६९ औं स्थानमा छन् । देशमा एकातर्फ सुशासनको खिल्ली उडाएका चूडामणि शर्मा, गोपाल खड्का प्रवृत्ति छ भने अर्कोतर्फ डा. गोविन्द केसी एघारौंपटक अनशन बसिरहेका छन् । पहिलो प्रवृत्तिमा राजनीतिका शीर्षस्थ नेताहरू चुपचाप छन् भने डा. केसीको अभियानमा सरकार अकर्मण्य बनेको छ र पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेताले सशब्द उनको अभियानको उपहास गरेका छन् । यसले लोकतान्त्रिक मुलुकका आधारभूत चरित्र सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनको खिल्ली उडाएको छ ।
२०४६ सालमा प्रजातन्त्रको पुन:स्थापनापछि नेपाली राजनीतिमा सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्ता शब्दहरू बढी उच्चारित छन् । तर विडम्बना मान्नुपर्छ कि यस अवधिमा भ्रष्टाचारको ग्राफ झन् मौलाएको छ । अझ गणतन्त्र स्थापनाको १० वर्षको अवधिमा त भ्रष्टाचार, अनियमितता पहिलेभन्दा बढी भएका प्रमाणहरू छन् । त्यसो त सरकार बेलामौकामा सुशासनको गीत गाउने गर्छ । तर आर्थिक वर्षको अन्त्यमा झन्डै अर्बका चेकहरू अनियमितता कुरेर बसेका समाचारहरू आइरहन्छन् । त्यसो त समाचार बन्ने भ्रष्टाचार र अनियमितता मूलत: सार्वजनिक प्रशासनका हुन् । निजी तथा गैरसरकारी क्षेत्रमा विद्यमान भ्रष्टाचारप्रति सरोकारवाला प्राय: बेखबर छन् ।

के हाम्रो समाज भ्रष्टाचारको लागि उर्वर नै हो त ? एक हदसम्म हो पनि । भ्रष्टाचार बढ्नुमा हाम्रो सामाजिक मनोविज्ञान पनि जिम्मेवार छ । समाजको चरित्र शक्ति र सम्पत्तिपूजक रहँदासम्म र कानुन कार्यान्वयन गर्ने एकाइ द्रव्यपूजक रहँदासम्म भ्रष्टाचार न्युनीकरण हुने सम्भावना रहँदैन । यस्तो मनोविज्ञान रहँदासम्म भ्रष्टाचारीलाई सामाजिक बहिष्कार जस्ता नारा व्यवहारत: कामयावी हुन सक्दैनन् । यसका लागि कठोर कानुन नै हुनुपर्छ । यस पृष्ठभूमिमा भ्रष्टाचारीलाई किरा परोस् जस्ता अमूर्त अभियानबाट कस्तो नतिजा अपेक्षा गर्ने ?
यसै प्रसंगमा २०६०/६१ सालतिरको कुरा सम्झन्छु, गाउँकै एकजना काका भूमिगत माओवादी आन्दोलनमा सक्रिय थिए । वर्षको एकाध पटक गाउँमा आउँदा म उहाँसँग हिंसापूर्ण आन्दोलनबारे प्रश्न गर्थें । गाउँकै काका हुनुको कारण पनि उहाँसँग प्रश्न गर्न खासै धक लाग्थेन । आन्दोलनको औचित्य सावित गर्न उहाँले देशको स्रोतसाधनमा निश्चित वर्गको कब्जा र विद्यमान भ्रष्टाचारको जालो उल्लेख गर्दै यसको अन्त्यका लागि पनि सशस्त्र आन्दोलन आवश्यक भएको पटक–पटक आंैल्याउनु हुन्थ्यो । स्थानीय तहमा भ्रष्टाचारी भनेर जनकारबाही गरिएका समाचार पनि आउँथे । यस्ता समाचारले काकाको तर्कमा बल पुर्‍याउँथ्यो । समय बित्यो, माओवादी सरकारमा सामेल भयो । तिनै काका गाउँमा सडक बनाउने काममा अनियमिततामा संलग्न भएको हल्ला चल्यो । दसैंमा घर जाँदा मैले बुझ्न चाहेंँ । काकाले राताराता आँखा बनाउँदै भन्नुभयो, ‘तेत्रो वर्ष कांग्रेस/एमालेले लुट मच्चाउँदा केही बोलिस् ?’
यो नमुना प्रवृत्ति हो । सायद २०४६/४७ सालपछि कांग्रेस/एमालेलाई प्रश्न सोध्दा पञ्चायत र राणाशासन देखाएर उनीहरूले पनि यस्तै प्रतिप्रश्न गर्थे होलान् । उनीहरू मात्र होइन, नयाँपार्टीका शीर्षहरू पनि अनियमितताका प्रश्नमा गोलमटोल उत्तर दिन अभ्यस्त लाग्छन् । पार्टी सञ्चालनको स्रोत सोध्दा घरायसी खर्च चलाउन ‘कन्सल्टेन्सी’ सुरु गर्ने भन्नेदेखि, भर्खर छाडेको संस्थाको आर्थिक पारदर्शिताबारे प्रश्न सोध्दा उत्तर नदिने नेतासम्म देख्दा नयाँपार्टीका आउँदा दिनहरू पनि आँंकलन गर्न सकिन्छ । तर यो निष्कर्ष भने होइन ।
समाजशास्त्रीहरूका अनुसार समाजका हरेक समस्या सामाजिक संरचनाकै उपज हुन् । हाम्रोमा झ्याङ्गिएको भ्रष्टाचार पनि हाम्रै समाजको गर्भबाट जन्मिएको हो । पूर्वीय सभ्यतामा हुर्किएकामा पाप र धर्मप्रतिको विश्वास गहिरो देखिन्छ । तर यसमा पनि प्रशस्त ‘लुपहोल’ देखिन्छन् । पटक–पटक पाप कर्म गर, कुनै धार्मिक स्थलमा जाऊ, अनि पाप पखाल । त्यस्तै हाम्रो धर्म–संस्कृतिमा भाकलको परम्परा पनि छ । भगवान मेरो यो काम होस्, म यो चढाउँछु । अर्थात भगवानसँग पनि हामी सहजै लेनदेनको प्रस्ताव राखिदिन्छौं । अहिले भ्रष्टाचारको जरो ‘लेनदेन’ पनि सायद यस्तै भाकल हो । तिमी मेरो यो काम गरिदेऊ, म यति दिन्छु ।
यस्ता प्रवृत्ति नियन्त्रणका प्रयासहरू नभएका होइनन् । पृथ्वीनारायण शाहले नै घुस दिने र लिनेलाई देशका ठूला शत्रु भनेकै थिए । विसं १९१० मा जारी भएको मुलुकी ऐनमा ‘हाकिमको नाममा कराउने महल’, अपिल सुन्ने, लगत झिकाइ हेर्ने आदि व्यवस्था थियो । भ्रष्टाचार निवारण सम्बन्धमा २००९, ०१३ र ०१७ मा ऐन जारी भएकै थिए । २०३२ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था, सम्पत्ति शुद्धीकरण ऐन र नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ सबैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था रहेकै छ । त्यस्तै राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रक कार्यालय, महालेखा परीक्षकको कार्यालय आदि पनि विद्यमान छन् । अदुअआको पहलमा विभिन्न मन्त्रालय अन्तर्गतका ४९ वटा विभागको कार्यविधि सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमा भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यले भ्रष्टाचार विरुद्धको समिति सम्बन्धी कार्यविधि २०६६ लाई प्रत्येक जिल्लामा लागु गरिएको छ । राज्यको स्रोतबाट तलब–भत्ता खाने कर्मचारीले वार्षिक रूपमा अनिवार्य सम्पत्ति विवरण बुझाउने प्रावधानको विकास भएको छ । प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्म अनुगमन गर्ने संयन्त्र विकास भएको छ । नेपाल सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई अनुमोदन गरी महासन्धिको कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ स्वीकृत गरी भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख निकायका रूपमा अदुअआलाई जिम्मेवारी दिएको छ ।
प्रयासहरू नभएका होइनन् । तर भ्रष्टाचार नीतिमा होइन, नियतमा हुने रहेछ । त्यसैले त झांगिँदै गएको भ्रष्टाचार, स्खलित हुँदै गएको सुशासन एवं मानवमूल्य र स्रोतसाधनको दुरुपयोग अझै विकराल सामाजिक समस्याका रूपमा छन् । विगत साक्षी छ, अदुअआका प्रमुखले अख्तियार दुरुपयोग गरेकै कसुरमा महाअभियोग झेल्न पुगे । आन्तरिक राजस्व संकलन व्यवस्थित रूपमा संकलन गर्ने जिम्मेवारी पाएका हाकिम यसकै दुरुपयोग गरेको आरोपमा प्रहरी हिरासतमा छन् । त्यस्तै वर्षेनि अर्बौंको घाटा ब्यहोर्ने संस्था कर्मचारीलाई बोनस बाँड्छ । सबैभन्दा धेरै मुनाफा कमाएको दाबी गर्ने कम्पनीहरू, डुबेका, घाटामा गएका कम्पनीको लागि लक्षित कर फछ्र्योट कार्यक्रममा सबैभन्दा अघि निवेदन हाल्न पुग्छ । तर यो सबबाट बेखबर सार्वजनिक लेखा समिति एकाध अपवादका रूपमा राम्रो कार्यसम्पादन गरेका कर्मचारीलाई लगाम लगाउन संसदमा स्वर सुकाउँछन् । भ्रष्टाचार नियत सिर्जित हो भन्ने उनीहरू नबुझे जस्तो गर्छन् । कानुनका ज्ञाताहरू अर्बौं राजस्व लुट्नेहरूलाई बचाउनेतर्फ केन्द्रित हुन्छन् । अब योभन्दा ठूलो विडम्बना अर्को के हुनसक्छ ?
सार्वजनिक क्षेत्रमा कार्यरत धेरैको स्खलित मानवीय प्रवृत्तिलाई ध्यान दिएर होला, लोकसेवा आयोगले पनि नैतिकता आचरणजस्ता विषयहरू पाठ्यक्रममा समेट्न सुरु गरेको छ । अन्त्यमा, सन्तुलित विकास, समन्यायिक वितरण प्रणाली, वैयक्तिक, सामाजिक एवं आर्थिक जीवनको स्वच्छताको लागि प्रणालीगत पारदर्शिता, मूल्यमा आधारित समाज र सामूहिक ऐक्यबद्धताको जरुरी हुन्छ । यसका लागि डा. गोविन्द केसीको जस्तै आँटिलो मन नभए पनि उनको सम्मान गर्नसक्ने मुटुमात्र भए पनि हुन्छ ।
wagle.samjhana@gmail.com
कान्तिपुर, प्रकाशित : श्रावण २७, २०७४ ०८:०५

खट जुटाएर जात्रा

खट जुटाएर जात्रा 
चैत्र २४, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — पिसाच चतुदर्शी अथवा पाहाँ चःह्रे । सामान्यतः यस चाडलाई घोडेजात्राको रूपमा लिन्छन् । तर, वास्तविकता भने अर्कै छ । यसको पुष्टि जात्राको अन्तिम दिन राजधानीका विभिन्न स्थानमा रहेका अष्टमातृका देवीको खटजात्राले देखाउँछ ।
जात्रासम्बन्धी जानकार अर्बिन सिंह भन्छन्, ‘राजा गुणकामदेवले काठमाडौं सहर खड्ग आकारमा बसाल्दा नगरको सुरक्षार्थका लागि विभिन्न स्थानमा आठवटा अष्टमातृका देवगण पनि स्थापना गरेका थिए । यो जाक्रा राजा गुणकामदेवको योगदानको कदर र अष्टमातृकाको शत्ति नवीकरण हो ।’
त्यति बेला नगरको सुरक्षार्थ स्थापित अजिकाहरू (अष्टमातृका) भद्रकाली, श्वेतकाली, टंकेश्वरी, कंकेश्वरी, मैतीदेवी, उग्रतारा, लुँचुभुलु अजिमा र बटला अजिमा थिए ।
 जात्रामा असन चोकमा भद्रकालीको दुईवटा र कंकेश्वरीको एउटा गरेर तीनवटा खट जुटाएर जात्रा गर्नुलाई विषेश मानिन्छ । यसलाई जनजिब्रोमा देवीहरूको खट जुटाउने भन्ने चलन छ । त्यस्तै, नरदेवीस्थित डबलीमा श्वेतकाली देवीनाच देखाइएको छ ।
 नरदेवी श्रीश्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार नाच मल्लकालीन ‘सिस्टर सिटीहरू’ मा देखाउने परम्पराअनुसार नरदेवीस्थित डबलीमा देखाइएको हो । समितिका अध्यक्ष सत्यनारायण डंगोलले नरदेवी डबलीमा प्रस्थान गर्नुअघि देवता घरमा विधिवत् सिद्धि पूजा गरिएको बताए ।
 श्वेतकाली (नरदेवी) लाई झल्लरवाला छत्रले ओढाई विशेष सम्मान दिइएको थियो । नाच सम्पूर्ण देवतालाई साधन गरी राखिएको कलशलाई शिव द्यः (मुख्य देवता) लाई केन्द्रबिन्दु बनाएर प्रदर्शन गरिएको थियो ।प्रकाशित : चैत्र २४, २०७५ ०८:०१

पाँचपोखरी अघिल्तिर


पाँचपोखरी अघिल्तिर
चैत्र २३, २०७५आरके अदीप्त गिरी
काठमाडौँ — चभाइ पाण्डवसरी प्रकृतिको काखमा थपक्क बसेजस्तो देखिन्छ— पाँचपोखरी  । टाढाटाढादेखि आएका थकित यात्रुहरू यहाँ पुग्दा यसरी मोहित हुन्छन् कि थकानै बिर्सन्छन्  ।
जस्तो कि मैले महसुस गरें । इन्द्रावती नदीको मुहान पाँचपोखरी सौन्दर्यको पनि मुहानजस्तै लाग्छ । काठमाडौंदेखि तीन दिन लगाएर यसको सौन्दर्यपान गर्न आइपुग्यौं हामी । करिब ७० किलोमिटर बसयात्रा मार्फत मेलम्ची र त्यहाँबाट दुई घण्टाको पैदलयात्रापछि तिपेनी आइपुग्यौं । सहयात्री थिए– शशिशेखर घिमिरे र उत्तम फुँयाल ।
पहिलो दिनको बास भयो– रैथाने पोखरीमा । यो एक सुन्दर गाउँ, जहाँ तामाङ समुदायको रैथाने बस्ती छ । करिब ४० डिग्री भिरालो जमिनमा उभिएको यस गाउँको माटो उर्वर देखिन्छ । पौरखी पाखुराहरूको कमाल पनि हुन सक्छ, यो भिरालोमा मज्जाको उब्जनी हुँदोरहेछ । परम्परा जीवित छ र त गाउँ राम्रो लाग्छ । स्थानीय जीवनशैली, भाषाभेष, लवज र न्यानो आतिथ्यले हामीलाई अभिभूत बनायो । भोलिपल्ट ब्रेकफास्टपछि बिहानै हाम्रा पाइला भोताङ गाउँतर्फ बढे । भोताङ पुग्नका लागि हामीले करिब दुई घण्टासम्म बाटो नाप्यौं । भोताङ पुग्दाको दृश्यले भने हृदयमै पाइला राखेजस्तो भयो— एक प्रकारको स्तब्धता छायो । तीन वर्षअघिको भूकम्पले सोत्तर पारेको यस बस्तीमा घरका भग्नावशेष उसैगरी लम्पसार अवस्थामै थिए । पुनर्निर्माणको नाउमा केही घरका जगसम्म मात्र उठाएर छोडिएको देख्दा मनमा प्रश्नले ठुङ्न थालेको थियो— कहिले उठ्लान् यी घर ? कहिले फर्केला यो बस्ती आफ्नो पुरानै संरचनामा ? गाउँले जीवनको दैनिकी उस्तै थियो । गाउँको अनुहार भने केही हराएजस्तो, केही खजमजिएजस्तो !
भोट माग्ने बेला मात्र विकास र समृद्धिका नारा बोकेर गाउँ पस्नेहरू सम्झँदा मन कुँडिएर आयो । आत्मविश्वासमा बाँचेको गाउँ देख्दा भने राहत महसुस भयो । त्यस दिन हाम्रो बास नोसिममा तय भयो । अर्को बिहान, रविले क्षितिजबाट चियाउँदै गर्दा हामी लौरीविनायक, छुपीडाँडातिर बढ्यौं । करिब चार घण्टाको यात्रापछि बल्ल पाँचपोखरीमा टुप्लुक्किएका थियौं ।
पोखरी मात्रमा सीमित छैन पाँचपोखरी । यो एउटा पहिचान बनिसकेको छ— भूगोल, संस्कृति, प्रशासकीय विभाजनको । सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी–थाङपाल गाउँपालिका, वडा नं ३ । जहाँ अवस्थित छ— खास प्राकृतिक धार्मिक पाँचपोखरी । यो समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा पर्छ । पाँच भाइसरीका यी पाँचपोखरी कसरी जन्मिए त ? किंवदन्ती छ— करिब ३/४ सय वर्षअघि एक बुम्बा रुवा वाइबा नाम गरेका सिकारी यस लेकमा आइपुगेछन् । कसैले रोपाइँ गर्दै गरेको देखेछन् । कौतूहल जागेर त्यो दृश्य नियाल्न भनी रोपाइँ गरिरहेको स्थाननजिकै पुगेछन् । तर अचम्म, त्यहाँ पुग्नेबित्तिकै दृश्य नै एकाएक अलप भएछ । अनि सिकारीले अनुमान गरेछन्— रोपाइँ गरिरहेको समूह पक्कै महादेवको हुनुपर्छ । सोही आधारमा वाइबाले उक्त स्थानमा मन्दिर स्थापना गरेछन् । अनि सो मन्दिर वरिपरिका खेतका गह्राहरू पाँचवटा पानी पोखरीमा परिणत भएछन् ।

 आज पाँचपोखरी धार्मिक आस्थाको धरोहरकै रूपमा स्थापित छ, पुजिँदै आएको छ । जनैपूर्णिमाका दिन यहाँ विशेष पूजाआजा गरिन्छ भने मनोकामना पूर्ण गर्न टाढाटाढाबाट तीर्थालु आउँछन् । पाँचपोखरीको दर्शन गरी वर मागेमा इच्छाएको कुरा पूरा हुने जनविश्वास रहेको छ । बेलाबेला धानको बाला भेटिने र त्यसलाई भेटाउने मानिस भाग्यमानी हुने अनौठो जनविश्वाससमेत यहाँका स्थानीयमा देखिन्छ । अर्को अनौठो विश्वास– पाँचपोखरीमा जलविहार गर्न आउने जोडी–हाँसको दुर्लभ दृश्य देख्नु पनि भाग्यमानी ठहरिन्छ ।
उकाली–ओराली बाटाहरू । गोठको बसाइ । रैथाने तामाङ समुदायको मौलिक जीवनशैली । खोलानालाका सुसेलीमय झङ्कार । बटुवा तथा तीर्थयात्रीको लावालस्कर । यस्ता अनेक दृश्यानुभूतिले पाँचपोखरी पुग्ने यात्रुहरूलाई मुग्ध बनाउँछ ।
अझ पाँचवटै पोखरीको सिंगो दृश्य नियाल्न मन छ भने तपाईं पोखरीमाथिको गादिगाङ डाँडा (४ हजार ४ सय १० मिटर उचाइ) मा उक्लनुपर्ने हुन्छ । मौसमले साथ दिएमा त्यहाँबाट दोर्जे लाक्पा र जुगल हिमालको समेत मोहक दृश्य नियाल्न सक्नुहुन्छ । पाँचपोखरीबाट सूर्योदयको दृश्य पनि उत्तिकै मनोरम देखिन्छ ।
जैविक विविधताले पनि यो क्षेत्र धनी छ । सुनपाती, धुपी, बैरुङपाती, निगालो, थरीथरीका गुराँस, गोब्रेसल्लालगायत दुर्लभ वनस्पति/जडीबुटी पाइन्छन् । यस वरपरको भू–भाग आलुखेतीका लागि पनि प्रख्यात छ । यहाँको भू–दृश्य जसरी मन लोभ्याउने खालको छ, उसैगरी विकट पनि छ । मानिसहरू यहाँ सहजै आइपुग्न नसक्नुमा भौगोलिक जोखिम र विकटता कारक मानिन्छ । बाटोघाटो, हावापानी, गाँसबासको समस्या झेल्नुपर्ने हुन्छ ।
पाँचपोखरी पुग्ने उपयुक्त समय चैतदेखि कात्तिकसम्म हो । हिउँदका चार महिनाबाहेक अन्य समय यस लेकाली भेगमा गाई/चौंरीगोठहरू बस्छन् । गोठालाहरू भेटिन्छन् । उनीहरूसँगै गाँसबास गरी यात्रालाई सहज बनाउन सकिन्छ । अफ सिजनमा पाँचपोखरी जानेले भने अनेकौं कष्ट झेल्नुपर्ने हुन सक्छ । यसका लागि यात्रामा आवश्यक बन्दोबस्तीको व्यवस्था स्वयमुले गर्दा सजिलो बन्न सक्छ । पाँचपोखरीको दर्शन–यात्राको भरपूर आनन्द लिने हो भने पाँचदेखि सात दिन समय छुट्याउँदा उपयुक्त हुन्छ ।
-rkadiptagriri@gmail.com/fb.com
प्रकाशित : kantipur, चैत्र २३, २०७५ १२:०१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...