पाँचपोखरी अघिल्तिर
चैत्र २३, २०७५आरके अदीप्त गिरी
काठमाडौँ — चभाइ पाण्डवसरी प्रकृतिको काखमा थपक्क बसेजस्तो देखिन्छ— पाँचपोखरी । टाढाटाढादेखि आएका थकित यात्रुहरू यहाँ पुग्दा यसरी मोहित हुन्छन् कि थकानै बिर्सन्छन् ।
जस्तो कि मैले महसुस गरें । इन्द्रावती नदीको मुहान पाँचपोखरी सौन्दर्यको पनि मुहानजस्तै लाग्छ । काठमाडौंदेखि तीन दिन लगाएर यसको सौन्दर्यपान गर्न आइपुग्यौं हामी । करिब ७० किलोमिटर बसयात्रा मार्फत मेलम्ची र त्यहाँबाट दुई घण्टाको पैदलयात्रापछि तिपेनी आइपुग्यौं । सहयात्री थिए– शशिशेखर घिमिरे र उत्तम फुँयाल ।
पहिलो दिनको बास भयो– रैथाने पोखरीमा । यो एक सुन्दर गाउँ, जहाँ तामाङ समुदायको रैथाने बस्ती छ । करिब ४० डिग्री भिरालो जमिनमा उभिएको यस गाउँको माटो उर्वर देखिन्छ । पौरखी पाखुराहरूको कमाल पनि हुन सक्छ, यो भिरालोमा मज्जाको उब्जनी हुँदोरहेछ । परम्परा जीवित छ र त गाउँ राम्रो लाग्छ । स्थानीय जीवनशैली, भाषाभेष, लवज र न्यानो आतिथ्यले हामीलाई अभिभूत बनायो । भोलिपल्ट ब्रेकफास्टपछि बिहानै हाम्रा पाइला भोताङ गाउँतर्फ बढे । भोताङ पुग्नका लागि हामीले करिब दुई घण्टासम्म बाटो नाप्यौं । भोताङ पुग्दाको दृश्यले भने हृदयमै पाइला राखेजस्तो भयो— एक प्रकारको स्तब्धता छायो । तीन वर्षअघिको भूकम्पले सोत्तर पारेको यस बस्तीमा घरका भग्नावशेष उसैगरी लम्पसार अवस्थामै थिए । पुनर्निर्माणको नाउमा केही घरका जगसम्म मात्र उठाएर छोडिएको देख्दा मनमा प्रश्नले ठुङ्न थालेको थियो— कहिले उठ्लान् यी घर ? कहिले फर्केला यो बस्ती आफ्नो पुरानै संरचनामा ? गाउँले जीवनको दैनिकी उस्तै थियो । गाउँको अनुहार भने केही हराएजस्तो, केही खजमजिएजस्तो !
भोट माग्ने बेला मात्र विकास र समृद्धिका नारा बोकेर गाउँ पस्नेहरू सम्झँदा मन कुँडिएर आयो । आत्मविश्वासमा बाँचेको गाउँ देख्दा भने राहत महसुस भयो । त्यस दिन हाम्रो बास नोसिममा तय भयो । अर्को बिहान, रविले क्षितिजबाट चियाउँदै गर्दा हामी लौरीविनायक, छुपीडाँडातिर बढ्यौं । करिब चार घण्टाको यात्रापछि बल्ल पाँचपोखरीमा टुप्लुक्किएका थियौं ।
पोखरी मात्रमा सीमित छैन पाँचपोखरी । यो एउटा पहिचान बनिसकेको छ— भूगोल, संस्कृति, प्रशासकीय विभाजनको । सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी–थाङपाल गाउँपालिका, वडा नं ३ । जहाँ अवस्थित छ— खास प्राकृतिक धार्मिक पाँचपोखरी । यो समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा पर्छ । पाँच भाइसरीका यी पाँचपोखरी कसरी जन्मिए त ? किंवदन्ती छ— करिब ३/४ सय वर्षअघि एक बुम्बा रुवा वाइबा नाम गरेका सिकारी यस लेकमा आइपुगेछन् । कसैले रोपाइँ गर्दै गरेको देखेछन् । कौतूहल जागेर त्यो दृश्य नियाल्न भनी रोपाइँ गरिरहेको स्थाननजिकै पुगेछन् । तर अचम्म, त्यहाँ पुग्नेबित्तिकै दृश्य नै एकाएक अलप भएछ । अनि सिकारीले अनुमान गरेछन्— रोपाइँ गरिरहेको समूह पक्कै महादेवको हुनुपर्छ । सोही आधारमा वाइबाले उक्त स्थानमा मन्दिर स्थापना गरेछन् । अनि सो मन्दिर वरिपरिका खेतका गह्राहरू पाँचवटा पानी पोखरीमा परिणत भएछन् ।
आज पाँचपोखरी धार्मिक आस्थाको धरोहरकै रूपमा स्थापित छ, पुजिँदै आएको छ । जनैपूर्णिमाका दिन यहाँ विशेष पूजाआजा गरिन्छ भने मनोकामना पूर्ण गर्न टाढाटाढाबाट तीर्थालु आउँछन् । पाँचपोखरीको दर्शन गरी वर मागेमा इच्छाएको कुरा पूरा हुने जनविश्वास रहेको छ । बेलाबेला धानको बाला भेटिने र त्यसलाई भेटाउने मानिस भाग्यमानी हुने अनौठो जनविश्वाससमेत यहाँका स्थानीयमा देखिन्छ । अर्को अनौठो विश्वास– पाँचपोखरीमा जलविहार गर्न आउने जोडी–हाँसको दुर्लभ दृश्य देख्नु पनि भाग्यमानी ठहरिन्छ ।
उकाली–ओराली बाटाहरू । गोठको बसाइ । रैथाने तामाङ समुदायको मौलिक जीवनशैली । खोलानालाका सुसेलीमय झङ्कार । बटुवा तथा तीर्थयात्रीको लावालस्कर । यस्ता अनेक दृश्यानुभूतिले पाँचपोखरी पुग्ने यात्रुहरूलाई मुग्ध बनाउँछ ।
अझ पाँचवटै पोखरीको सिंगो दृश्य नियाल्न मन छ भने तपाईं पोखरीमाथिको गादिगाङ डाँडा (४ हजार ४ सय १० मिटर उचाइ) मा उक्लनुपर्ने हुन्छ । मौसमले साथ दिएमा त्यहाँबाट दोर्जे लाक्पा र जुगल हिमालको समेत मोहक दृश्य नियाल्न सक्नुहुन्छ । पाँचपोखरीबाट सूर्योदयको दृश्य पनि उत्तिकै मनोरम देखिन्छ ।
जैविक विविधताले पनि यो क्षेत्र धनी छ । सुनपाती, धुपी, बैरुङपाती, निगालो, थरीथरीका गुराँस, गोब्रेसल्लालगायत दुर्लभ वनस्पति/जडीबुटी पाइन्छन् । यस वरपरको भू–भाग आलुखेतीका लागि पनि प्रख्यात छ । यहाँको भू–दृश्य जसरी मन लोभ्याउने खालको छ, उसैगरी विकट पनि छ । मानिसहरू यहाँ सहजै आइपुग्न नसक्नुमा भौगोलिक जोखिम र विकटता कारक मानिन्छ । बाटोघाटो, हावापानी, गाँसबासको समस्या झेल्नुपर्ने हुन्छ ।
पाँचपोखरी पुग्ने उपयुक्त समय चैतदेखि कात्तिकसम्म हो । हिउँदका चार महिनाबाहेक अन्य समय यस लेकाली भेगमा गाई/चौंरीगोठहरू बस्छन् । गोठालाहरू भेटिन्छन् । उनीहरूसँगै गाँसबास गरी यात्रालाई सहज बनाउन सकिन्छ । अफ सिजनमा पाँचपोखरी जानेले भने अनेकौं कष्ट झेल्नुपर्ने हुन सक्छ । यसका लागि यात्रामा आवश्यक बन्दोबस्तीको व्यवस्था स्वयमुले गर्दा सजिलो बन्न सक्छ । पाँचपोखरीको दर्शन–यात्राको भरपूर आनन्द लिने हो भने पाँचदेखि सात दिन समय छुट्याउँदा उपयुक्त हुन्छ ।
-rkadiptagriri@gmail.com/fb.com
प्रकाशित : kantipur, चैत्र २३, २०७५ १२:०१