Friday, June 14, 2019

नुवाकोटमा सिन्दुरे जात्रा

नुवाकोटमा सिन्दुरे जात्रा
वैशाख १०, २०७६कृष्ण थापा
नुवाकोट — पृथ्वी नारायण शाहले नुवाकोट जितेको खुसियालीमा सुरु गरेको सिन्दुरे जात्रा अझै पनि निन्तर छ । पुरानो सदरमुकाम नुवाकोटको भैरवीथानमा जात्रा सम्पन्न भएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि सिन्दुरे जात्रा सुरु भएको थियो ।
‘नुवाकोट जित्यौ भन्ने सन्देश दिन देवीको जात्रासँगै सिन्दुर जात्रा गरेको इतिहास छ,’ शाहीले भने ।जात्राअन्तर्गत विदुर नगरपालिका– ५ देवीघाटस्थित जालपादेवी मन्दिरबाट शनिबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमातृका, बाह्रभाइ गणको मुकुटसहितको खट भैरवीथानमुनि धारपानीमा बिसाउने चलन छ । आइतबार साइत हेरेर अपराहृन ३ बजेको समयमा गुभाजुले धामी र धमिनीलाई पूजाविधि गरे । सेनाले सलामी अपर्ण गरे । सरकारी पदाधिकारीसहित सेनाको ब्यान्ड बाजा, देवीको बजाइने बाजा, धिमे बाजासहित शक्ति पीठ भैरवीको खट, धामीधमिनीसहित भैरवीथान पुर्‍याए ।
कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामीधमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए । त्यसपछि राजप्रतिनिधि शाहीले धामी र धमिनीलाई सिन्दुर छरेर सिन्दुर जात्रा गरे । जात्रालुलाई सिन्दुर छर्किने, गाजल र सिन्दुरको टीका लगाउने चलन छ । जात्रा अवलोकन गर्न प्रदेश ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश सांसद उच्च पदस्थ पदाधिकारी उपस्थित थिए ।
भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित धामीलगायत झल्दरी छाता ओढाएर भैरवीको खट अघि लगाई साततले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । राजप्रतिनिधि शाहीको निवासमा हाँस बलि गर्दै भत्किएको पाँचतले तुलजा भवानीको प्रांगणमा सेनाले सलामी अर्पण गरे ।
धामी, धमिनी र गणेश र कुमारलाई तुलजा भवानीका उपासेहरूले भोज खुवाए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीको खट र धामी भैरवी मन्दिर प्रांगण लामपाटी राखिएको छ । सिन्दुर जात्रा गरेपछि काठमाडौंको वसन्तपुरबाट कँडेलचोक भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा एक रात बसेर फर्किएर लिंगो ढालेपछि १७ वैशाखमा सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए । प्रकाशित : कान्तिपुर, वैशाख १०, २०७६ ०८:५१

चोरिएको पद्मपाणी प्रतिरुप प्रदर्शनीमा

चोरिएको पद्मपाणी प्रतिरुप प्रदर्शनीमा
वैशाख ११, २०७६विपिन श्रीस
काठमाडौं — नवौं शताब्दीमा कुँदिएको र सन् ७० को दशकमा हराएको पद्मपानी अवलोकेतेश्वरको प्रतिमूर्ति नेपालका लागि अमेरिकी राजदूतको निजी निवास कमलकुञ्जमा प्रदर्शनीका लागि राखिएको छ  । प्रदर्शनीमा यो मूर्तिसँगै १४ अमेरिकी र ४ नेपाली कलाकारको कलाकृति राखिएका छन्  ।
सन् १९७० को दशकमा पाटनको टुनानीबाट हराएको मूर्तिको प्रतिमूर्ति मंगलबार अनेक संयोगले तानिएर अमेरिकी राजदूत र्‍यान्डी बेरीको निवासमा आयोजित प्रदर्शनीमा देखा परेको छ । राजदूत बेरी अघिल्लो साता सम्पदाविद् रवीन्द्र पुरीको भक्तपुर, दत्तात्रेयस्थित घरमा पुगेका थिए ।
त्यहाँ राजदूतले पुरीको ‘म्युजियम अफ स्टोलन आर्ट’ को प्रारुप र योजनाबारे लामै गफ सुने । राजदूतले त्यसबारे विशेष चासो देखाए र, आफ्नो निवासमा आयोजना हुनै लागेको कला प्रदर्शनीमा ‘स्टोलन इमेजेज’ को एउटा प्रतिरुप समेट्न चाहे । त्यही तत्कालको निर्णयमा पद्मपाणी अवलोकेतेश्वरको प्रतिमूर्ति राजदूत निवासमा आइपुगेको हो ।
नेपाली कला, संस्कृति र सम्पदामा बढी नै चासो देखाउने राजदूत बेरीले नेपालबाट हराएका र चोरिएका मूर्ति नेपालमै फर्काउन आफ्नो तहबाट सहयोग–समन्वय गर्ने प्रतिबद्धतासमेत सुनाए । ‘नेपाली सम्पदा संरक्षण गर्न र गुमेका सम्पदालाई नेपालमै फिर्ता गर्न सहयोग गर्नेछु, यसका लागि युनेस्को लगायतका सरोकारका संस्थासँग सहकार्य आवश्यक छ,’ राजदूतले भने, ‘मलाई आशा छ, अनुसन्धानबाट हराएका सम्पदाको पत्ता लाग्नेछ ।’
अमेरिकी राजदूतकै पहलमा पद्मपाणी अवलोकेतेश्वर प्रतिमूर्ति प्रदर्शनीमा राखिएको आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले बताए । ‘राजदूतले कला प्रदर्शनीको कार्यक्रम राख्दै हुनुहुँदो रहेछ, उहाँले नै पहल गरेपछि यो मूर्ति प्रदर्शनीका लागि राखिएको हो,’ पुरीले भने । हराएका सम्पदाको अवस्था र अवस्थितिबारे अध्ययनअनुसन्धान जारी रहेको पुरीले बताए । हराएका सम्पदाबारे संरक्षण र सचेतनाका लागि ‘म्युजियम अफ स्टोलन आर्ट’ बनाउने योजनाबारे पनि सुनाए ।
हाल पनौतीमा निर्माणाधीन यो म्युजियममा नेपालबाट हराएका र चोरिएकामध्ये ५० वटा मूर्तिहरूको प्रतिरुप राखिनेछ । यसमध्ये हाल २७ वटाको निर्माण सम्पन्न भइसकेको र सन् २०२१ भित्रमा म्युजियम सञ्चालनमा आइसक्ने पुरीले बताए । मल्लकालीन सभ्यता र सम्पदा झल्कने ऐतिहासिक ‘नमुना घर’ को पुनर्निर्माण गरेर ‘युनेस्को पुरस्कार’ पाइसकेका पुरीले हराएका मूर्तिहरूको विवरण र आधिकारिकता अनुसन्धानविद् लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिबाट लिइएको जानकारी दिए ।
‘ब्रिजिङ कल्चर थ्रु आर्टस्’ प्रदर्शनीमा १४ जना अमेरिकी कलाकार र ४ जना नेपाली कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा पद्मपाणी अवलोकेतेश्वरको प्रतिमूर्तिसँगै ७५ वर्षीय उर्गेन दोर्जेको ‘पिसफुल एन्ड वार्थफुल महायोग दाइटिज’ मण्डला थाङ्का चित्र, रवीन्द्र शाक्यले बनाएको भैरवको खप्पर, छिरिन शेर्पाको चित्र पनि राखिएको छ ।
अमेरिकी चित्रकार हर्लान डानोवान, शीला एफ डन, माइकल केस्लर, टोनी अबेयिया, करिन लेब्लोन्ड, डान नामिङ्घा, मौरिन डर्डक, सुसी फेसिक्स, ग्रेसियन वार्न, जोसेप के डिक्सन, बिर्गर स्यान्डिज, ल्लोयड स्कर्मर, जेन गुथ्रिज, टम डेभिसाका चित्र राखिएका छन् ।
‘अंग्रेजी या नेपाली भाषा सबैले नबुझ्न सक्छन्,’ राजदूत बेरीले भने, ‘तर कलाको भाषा सबैले बुझ्छन् । कलामार्फत संस्कृतिको आदानप्रदान गर्न सजिलो हुन्छ ।’ राजदूत बेरीले प्रदर्शनीमा राखिएका चित्रबारे जानकारी दिएका थिए । यसैबीच, यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरोको एजुकेसनल एन्ड कल्चरल एफेयर्स (ईसीए) द्वारा फन्डेड अमेरिकन आर्ट इन्कुबेटर (एएआई) ले सिर्जनात्मक आदानप्रदान कार्यक्रम आयोजना गर्दै छ ।
'बिजिङ कल्चर थ्रु आर्ट' अन्तर्गत मूर्ति र चित्रकला प्रदर्शनी क्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरी, अमेरिकी चित्रकार जेनिफर बेरी, थाङ्का चित्रकार उर्गेन दोर्जेलगायत ।तस्बिर : अंगद ढकाल/कान्तिपुर
प्रकाशित : kantipur, वैशाख ११, २०७६ १०:२३

अलमलमै नेपालका मातृभाषा

अलमलमै नेपालका मातृभाषा
सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मातृभाषा भन्नासाथ जनजातिको भाषा बुझ्ने गरिन्छ एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं
फाल्गुन ९, २०७४गणेश राई
काठमाडौँ — देहात बस्ती र गाउँघरका सबै खाले मातृभाषी समुदायका अभिभावक छोराछोरी बोर्डिङ स्कुल पढाउन नगर र सहरतिर झरेको निकै वर्ष भइसकेको छ । प्रजातन्त्र उदयसँगै नागर सभ्यता र ग्राम परिवेशको सम्मिश्रणले आधामरो परिवेश सिर्जना हुनपुगेको छ ।
नागर सभ्यतामा हुर्केकाहरूले ग्रामवासी मिसिन आएपछि सरकारी विद्यालय छाडेर बोर्डिङतिर आफ्ना सन्तानलाई पढाउन थाले । गाउँबाट आएकाहरूले त्यतै पछ्याउन थाले । फलत: अंग्रेजी मोह बढेको बढ्यै छ । ग्रामीण जीवनबाट नयाँ परिवेशमा पनि बाउआमाहरू आपसमा मातृभाषामै कुराकानी गर्छन् । छोराछोरीले ती बाजेबोजु र बाउआमाले बोलेको भाषा ‘पाल्सी कुरा’जस्तै ठान्दै आएका छन् । कसैलाई झुक्याउन वा अरूले नबुझुन् भनेर दुईजना बीच बनावटी शब्द बोलेसरी भएको स्थिति छ, मातृभाषा । मोबाइल, इन्टरनेटको व्यापक प्रयोगसँगै पश्चिमा हावाको झोँक्का थामिनसक्नु छ । उता गाउँघरतिर त्यसको प्रत्यक्ष असर भित्रिएको छ ।
गाउँघरका बाजे, बोजु, बडाबा, बडीआमा, काका, काकी, मामा, माइजू सबैले बोल्ने गरेको भाषा अहिले उनीहरू उमेरले बुढाबुढी बनेसँगै थोत्रिन थालेका छन् । कतिपय साइनोसमेत मासिँदै जाँदैछन् । किनभने नेपाल सरकारले लामो समयदेखि चालेको कदम ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने नारा जताततै व्याप्त छ । खुबै भए माइला, माइलीसम्म रहलान् ।
मुलुकको सपाट स्थितिलाई आंँकलन गरेर सार्वजनिक गरिएको तथ्यांकले यो नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषा बोल्नेहरूको बसोबास छ भनेर देखाएको छ । नेपालको संविधानमै छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।’
तथ्यांक अनुसार नेपाली भाषा ४४ दसमलब ६ प्रतिशतले मातृभाषाका रूपमा बोल्छन् भने ३२ दसमलब ७७ प्रतिशतले दोस्रो भाषाका रूपमा बोल्छन् । दुवै मिलाएर ७७ दसमलब ३७ प्रतिशत मानिसले नेपाली बुझ्छन् । बाँकी २२ दसमलब ६३ प्रतिशतले नेपाली बुझ्दैनन् । ‘नेपाली बुझेन भने भाषाले गर्दा राष्ट्रिय अवसर, लाभ हासिल गर्न सक्दैन,’ भाषाशास्त्री प्राध्यापक योगेन्द्रप्रसाद यादवको कथन छ, ‘सबै कुरा नेपाली भाषामा हुनु भनेको भाषा नबुझ्नेलाई सामाजिक असमावेशीकरण नै हो ।’
यहाँ बोलिने भाषाहरूमा भोट बर्मेली भाषा परिवार, भारोपेली भाषा परिवार, अग्नेय भाषा परिवार, द्रविड भाषा परिवार र अवर्गीकृत भाषाका रूपमा कुसुन्डा भाषालाई लिइएको छ । यहाँ बोलिने भाषाहरू विभिन्न लिपिमा लेख्ने गरेको पाइन्छ । जसमा देवनागरीमा नेपाली अधिकांश मातृभाषा लेखिन्छन् । अन्य रोङ लिपि, किरात (सिरिजंगा) लिपि, सम्भोटा/उ छेन लिपि, रञ्जना (प्रचलित) लिपि, ओलचिकी लिपि, खेमा लिपि, मिथिलाक्षर लिपि, अक्खा लिपि, कैथी लिपि, धेमालाई लिपि, उर्दू लिपि, ब्रेललिपि, रोमन लिपि पर्छन् । तथ्यांक केलाउने अनि संविधान सुमसुम्याउने काम हाम्रो हो । सरकारले दायित्व निर्वाह नगरे पनि लेखिदिएकै छ ।
संविधानले आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने उल्लेख छ । तर नागरिकले आफ्नोपनको जगेर्ना होइन, छोराछोरीलाई अंग्रेजी भाषा सिकेर विश्व नै पोल्टामा पार्छन् झैं ऋणमै डुबेर किन नहोस्, ‘बोर्डिङ स्कुल’ पढाउने मोह अकाट्य बनेको छ । सरकारी विद्यालय पढाए छोराछोरीको भविष्य अँध्यारो हुने तर बोर्डिङ स्कुलको ‘इङ्लिस स्पिकिङ जोन’ छिर्नासाथ यो विश्वकै ढोका उघ्रिने सोच्छौं । त्यो जोनमा छिर्ने केटाकेटी उसले घरमा बोल्ने तामाङ–नेपाली या लिम्बु–नेपाली भाषाको के कुरो खस–नेपाली भाषा बोले सजायको भागिदार हुनुपर्छ ।
तथ्यांकमा उल्लेख नेपालका भाषाहरू साँच्चै जीवित छन् कि छैनन् ? स्वयं राज्यलाई थाहा छैन । तथ्यांक जप्दै सरकारका आधिकारिक निकायहरू कानमा तेल हालेर बसेका छन् । भाषाशास्त्रीहरू चाहिंँ ‘दिनदिनै मातृभाषा मर्दैछन्’ भनी भविष्यवाणी गरिरहेका छन् । वर्षमा एकदिन ‘फेब्रुअरी २१’ आइपुग्छ । नेपाल प्रज्ञा प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा दिवस आयोजना गर्छन् र एकदिन मातृभाषाको वकालत गर्न तम्सिन्छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सन् २०१२ बाट औपचारिक रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट मातृभाषा कविता महोत्सव समुद्घाटन गराइएकाले औपचारिक शुभारम्भ मानिएको हो । वास्तवमा बंगलादेशमा सन् १९५२ मा मातृभाषा आन्दोलनमा केही विद्यार्थीले सहादत प्राप्त गरेपछि त्यो घटनाको स्मरणमा यो दिवसको सुरुवात भएको हो । युनेस्कोले यसलाई आधिकारिक मान्यता दिएपछि विश्वव्यापी बनेको हो । युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस सन् २०१८ का लागि ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषी गणना’ नारा
तय गरेको छ । उसले विश्वमा करिब सात हजार भाषाबोलिने भए पनि केही पुस्तापछि पचास प्रतिशत भाषा लोपहुने संकेत गरेको छ, जुन भाषा विश्वको कुल जनसंख्याको ४प्रतिशतभन्दा कमले बोल्छन् ।
शिक्षा मन्त्रालय, विभाग, पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय जस्ता निकायले ‘मातृभाषा’का निम्ति बोल्दैनन् । चाहे खस–नेपाली मातृभाषा होस् या संस्कृत भाषा । विश्वकै सर्वप्राचीन भाषा संस्कृतको सम्बद्र्धन, प्रबद्र्धन गर्ने जिम्मेवार निकाय नेपाल संस्कृत विश्वविद्यालय चकमन्न ढंगले राज्यकोष रित्याउने काम गर्दै रहन्छ । ‘मातृभाषा’ भन्नासाथ जनजातिको भाषा सम्झिने गरिन्छ । मातृभाषाको कुरो उठ्नासाथ निहुँ खोज्ने कायदाझैं बुझिन्छ । खिसिटिउरी गरेझैं हुने गर्छ । एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं ।
संविधानत: भाषा आयोग गठन भई डेढ वर्षदेखि क्रियाशील छ । मुलुकमा बोलिने भाषाहरू सीमित भाषिक समुदायले बोल्छन् । व्यवहार गर्छन् । यो उनीहरूको पेवा होइन, मुलुकको सामाजिक सम्पदा हो । यद्यपि मातृभाषाको महत्त्व बुझाउने काम भइरहेको छैन । संघीय प्रदेशहरूमा यो दिवसको महत्त्व झल्काएर अघि बढ्नुपर्ने देखिन्छ । तर एकदिन दिवस मनाएर मात्र मुलुकको मातृभाषाहरू संरक्षण हुनसक्दैन । समुदाय निरन्तर जुटेर मातृभाषाका क्रियाकलाप हुनुपर्छ ।
अन्त्यमा, नेपालको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईको कथन छ– ‘भूमण्डलीकरणको आँधी–व्याधीले झपक्कै छोपेर ल्याएको आजको समाजमा आफ्नो भाषा र संस्कृतिलाई ज–जसले एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै लान सक्छ, उसको मात्र ‘चिनारी’ रहन्छ, नत्रभने यो सुनामीले शनै:शनै: अनेक भाषा समुदायलाई विलय गराउँदै लाने निश्चित छ ।’ जेमिनीको भनाइ छ, ‘कुनै देश नष्ट गर्नुछ भने त्यो देशको इतिहास नष्ट गर, कुनै जातिलाई नष्ट गर्नुछ भने त्यो जातिको भाषा नष्ट गर ।’
त्यस्तै डारिल वेब विल्सनको भनाइ छ– ‘यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (गोराहरूको भाषा) भाषा जान्नुपर्छ । तर सधैं–सधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नुपर्छ ।’
raiganesh@gmail.comप्रकाशित : kantipur, फाल्गुन ९, २०७४ ०७:३६

पृथ्वीनारायणअघि क–कसले गरे काठमाडौं आक्रमण ?

पृथ्वीनारायणअघि  क–कसले गरे काठमाडौं आक्रमण ?
सुजित मैनाली, वैशाख १४, २०७६कान्तिपुर संवाददाता
विसं १८०१ मा गोरखाली फौजले काठमाडौंअन्तर्गतको नुवाकोट जितेसँगै आधुनिक नेपाल निर्माणफ्रव्रिया औपचारिक रूपमा आरम्भ भयो  । ...राज्यविस्तारको अभिलाषा राखेर त्यसतर्फ अग्रसर हुने यस क्षेत्रका पहिलो शासक थिएनन् पृथ्वीनारायण  ।
उनीअघि पनि थुप्रै शासकले काठमाडौंअन्तर्गतका भूभाग आफ्नो अधीन ल्याउने प्रयत्न गरेकै थिए । उनकै पुर्खा द्रव्य शाहले यस्तो आँटेका थिए । राम शाहको पालामा छेउछाउका घलेराज्यलाई जित्दै गोरखाको सीमा ललितपुर र काठमाडौंसम्मै जोडिन पुगेको थियो । नरभूपाल शाहले पूर्वतिर बढ्ने उद्देश्यले नुवाकोटमा हमला गरेर हार खाएका थिए ।
पितापुर्खाले गर्न नसकेको काम पृथ्वीनारायणले सम्भव तुल्याए । काठमाडौं खाल्डो कब्जा गर्न तम्सिने गोरखा एक्लो थिएन । विभिन्न राज्यले पटक–पटक हमला गरिसकेका थिए तर उनीहरूमध्ये अधिकांशको ध्येय त्यहाँ लुट मच्चाई आर्थिक लाभ लिएर फर्किनेमा सीमित थियो । सन् ७८२ मा कश्मीरका राजा जयापीड विनयादित्य नेपालमाथि हमला गर्न दलबलसहित आएका थिए तर कर्णाली नाघ्न सकेनन् । त्यति बेलाको सम्पन्न राज्य नेपालको वैभव लुटेर चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको कश्मीरलाई त्यसबाट मुक्त गराउने उनको ध्येय थियो तर राजा अरमुडिले उनलाई पराजित गरी कालीगण्डकी किनारमै कैद गरिदिए । अरमुडिलाई राजतरङ्गिणीमा नेपालका राजा भनिएको छ ।
मिथिलामा कर्णाट–वंश स्थापना गर्ने राजा नान्यदेवले सन् १०९७ मा काठमाडौं उपत्यकामा हमला गरेका थिए । पश्चिम नेपालको सिञ्जा उपत्यकालाई राजधानी बनाएको खसराज्यका राजा जितारि मल्लले पनि विसं १३४४ मा हमला गरेका थिए तर काठमाडौंको फौजले ८ सय खसको संहार गरेपछि उनी फर्किए । विसं १३४५ मा जितारिले पुनः हमला गरे । काठमाडौंका गाउँहरूमा आगो लगाइदिनेजस्ता उत्पात मच्चाए ।
तिरहुत राज्यले सन् १२९० र सन् १३११ गरी दुईपटक आक्रमण गरेको थियो । पछिल्लो आक्रमणको एक वर्षसम्म तिरहुतियाहरूले काठमाडौं उपत्यका कब्जा गरेका थिए । सन् १३१३ मा खसराजा रिपु मल्ल र सन् १३२८ मा अर्का खसराजा आदित्य मल्लले पनि काठमाडौं उपत्यकामाथि हमला गरेका थिए । वि.सं. १४०६ मा बङ्गालका सुल्तान समसुद्दिनले त यहाँ लुटपाटै मच्चाए । आगजनी गरिदिए । पशुपतिनाथको मूर्ति फmुटाएर तीन टुव्रा बनाए । स्वयम्भूको धर्मधातु स्तूप ध्वस्त पारिदिए ।
पाल्पाका राजा मुकुन्द सेन प्रथमले पनि हमला गरेका थिए । उनले काठमाडौंलाई घेरा हाली थानकोट र कीर्तिपुरमा आगो लगाइदिए । राणाकालको उत्तरार्द्धतिर नेपाल आएका फ्रान्सेली लेखक सिल्भाँ लेभीले मुकुन्द सेनले गरेको हमलाबारे रोचक किंवदन्ती उल्लेख गरेका छन्–
‘एकजना मगरले काठमाडौंका घरका छाना, धाराका टुटीसमेत सुनका छन् भन्दै मुकुन्द सेनलाई उकासिदिएछ । यो सुनेर लोभिएका उनले घोडचडी सैनिकसहितको ठूलो दलबल उपत्यकामा उतारिहाले । पाल्पाली फौजसँग टिक्न नसकेर उपत्यकाका सैनिक भागाभाग हुन पुगे । तीनै शहरमा हाहाकार मच्चियो । लुटपाटमा उत्रिएको पाल्पाली फौजले रत्न–आभूषण त के छाड्थ्यो, अन्नबालीसमेत बाँकी नराख्ने भयो । यसबाट जोगिन कतिपय उपत्यकावासीले फौज आउनुअघि नै बारीको मुला उखेले । खेतको धान काटे अनि त्यसलाई जमिनभित्र लुकाए । लुटपाट मच्चाउने क्रममा मुकुन्द सेनले मत्स्येन्द्रनाथअगाडिको भैरवमूर्तिसमेत उखेलेर लगे । पाल्पाली सैनिक फर्किएपछि उपत्यकावासीले खाल्डोमा लुकाएको त्यही धान र मुला निकालेर खाना जोहो गरे । काठमाडौं उपत्यकामा हकुवा चामल र सिन्कीको फ्रचलन त्यही बेला सुर भएको रे !’
पृथ्वीनारायणले काठमाडौंमाथि हमला गर्नुको नियत पूर्ववर्तीहरूको जस्तो लुटपाट र आर्थिक लाभ थिएन । विजयपछि गोरखाली फौजले उपत्यकाका राजा तथा भारदारका सम्पत्ति नलुटेकैचाहिँ होइन । ब्राहृमणबाहेकका समुदायबाट खोसिएका रत्नादि बहुमूल्य द्रव्यहरूको चाङै लगाइएको र तिनलाई गन्न गर्गमुनिजस्ता मुख्य गणकबाट पनि सम्भव हुन नसकेको पृथ्वीनारायणका समकालिक कवि ललितावल्लभले आफ्नो भक्तविजय काव्यमा उल्लेख गरेका छन् । तर त्यति बेलाका सरकारी दस्तावेजहरू अध्ययन गर्दा पृथ्वीनारायणले नयाँ राज्य जितेपछि पराजित शासकको श्रीसम्पत्ति हरण गर्ने र स्थानीय बासिन्दाको निजी सम्पत्तिमाथिको अधिकार, रीतिथिति, चालचलन आदिलाई निरन्तरता दिने नीति लिएको देखिन्छ । कीर्तिपुर र अन्य केही ठाउँका एकाध सर्वसाधारणका सम्पत्ति हरण गरिएका अपवाद नपाइएका होइनन् ।
पराजित राजखलकलाई चाहिँ पृथ्वीनारायणले सम्पत्ति र ऐश्वर्यरहित बनाए । गोरखाली फौजले काठमाडौंका राजा जयप्रकाश मल्लकी आमाको घाँटीमा बचेको एकसरो हारसम्म बाँकी राखेन । उपत्यका गोरखामातहत आएपछि काठमाडौं छोडेर पटनाका लागि निस्किनै लाग्दा उनको हार खोसियो । वृद्धावस्थाका कारण दृष्टि गुमाएकी उनी विधवा नातिनीबुहारीका साथ जाँदै थिइन् । बुच्चै घाँटी पटना पुगेकी जयप्रकाशकी आमाको दीनहीन अवस्था देखेर आफूले आासु थाम्न नसकेको पादरी जिसेप्पीले उल्लेख गरेका छन् । जिसेप्पी तिनै इसाई मिसनरी हुन् जसलाई पृथ्वीनारायणले काठमाडौंबाट निकालेका थिए ।पृथ्वीनारायणको राज्यविस्तारको मूल उद्देश्य ती क्षेत्रमाथि स्थायी शासन सञ्चालन गर्नु नै थियो । मूल थलो गोरखाबाट राजधानी सारेर काठमाडौं ल्याउनुले उनको दीर्घकालिक राजनीतिक सोच झल्काउँछ ।
त्यो परिवेशमा राज्यविस्तार आलोच्य कदम थिएन । मल्ल र सेन शासकहरूले पनि क्षमताले भ्याएसम्म सीमाविस्तार गरेकै थिए । थ्वीनारायणकै मूल थलो गोरखा पनि विभिन्न कालखण्डमा पटकपटक पराजित झएको थियो । गोरखामा शाहवंश सुर गर्ने द्रव्य शाह लमजुङका राजकुमार थिए । उनीभन्दा अघि पश्चिम नेपालका खसराजा जितारि मल्लले विसं १३४४ तिर गोरखा र आसपास क्षेत्र जितेका थिए । मल्लराज्यमाथि पृथ्वीनारायणले विजय हासिल गरेजस्तै विसं १५२४ तिर भक्तपुरका राजा यक्ष मल्लले पनि गोरखालाई आफूअन्तर्गत ल्याएका थिए । पृथ्वीनारायणसँग पराजित सेनवंशले पनि कुनै बेला गोरखामाथि शासन चलाएको थियो । यी उदाहरणले पुष्टि गर्छन्– पहाडी क्षेत्रमा राज्यविस्तारको आकाङ्क्षा राखी अन्य राज्यमाथि बलपूर्वक कब्जा जमाउने प्रचलन पृथ्वीनारायणभन्दा निकै अघिदेखि थियो । उनले त्यही आकाङ्क्षालाई विरासतका रूपमा ग्रहण गरे । पृथ्वीनारायणको राज्यविस्तार अभियान हिंसाकै जगमा उभिएकोमा दुई मत छैन । हिंसा (युद्ध) मार्फत त्यो सम्भव पनि भयो । बेलायती लेखक जोन हृवेल्पटनले यो अभियानलाई विशुद्ध सैन्य–विजय उल्लेख गरेका छन् । यही तर्कमा टेकेर कतिपयले पृथ्वीनारायणको व्यापक आलोचना गर्छन् । आधुनिक नेपाल हिंसाको जगमा खडा हुनुलाई दुर्भाग्य मान्छन् उनीहरू । शान्तिपूर्ण तबरले गरिएको एकीकरणमात्र सर्वमान्य हुने उनीहरूको मत छ । कम्युनिस्ट लेखक आहुतिले लेखेका छन्– ‘संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण वर्वर युद्धमा होमिएका सयौं कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत सङ्घ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए ।’
अपरिपक्व जगमा उभिएकै कारण विघटन भइसकेको तात्कालिक सोभियत सङ्घको चर्चा नगरौं तर आहुतिले भनेजस्तो इस्लामिक राज्य निर्माण बल प्रयोगबिनै सम्भव भएको होइन । हजरतले जीवनको अन्तिम १० वर्ष सैन्य कमान्डरका रूपमा बिताएका थिए । उनले मदिनाको शासक भएर मक्कालगायत ठाउँमाथि युद्ध छेडेका थिए । संयुक्त राज्य अमेरिका निश्चय पनि विभिन्न राज्यहरूबीचको छलफलबाट निर्माण भएको हो । युरोपेली उफनिवेशवादी शक्तिविरद्ध लड्न हिंसा सङ्गठित गर्नुपर्छ भन्ने उनीहरूले महसुस गरे । यद्यपि अब्राहम लिङ्कनसम्म आइपुग्दा अमेरिकी एकतामा ठूलो दरार उत्पन्न भयो । दक्षिणी राज्यहरूलाई संयुक्त राज्य अमेरिकाबाट छुट्टिन नदिन १९औं शताब्दीको मध्यतिर एक लाखभन्दा बढी अमेरिकीको रगतको खोलो बगाइएको थियो ।
पृथ्वीनारायणको नेतृत्वमा खास गरी कीर्तिपुरमा मच्चाइएको हिंसाको आलोचना गर्दै अध्येता राजेन्द्र महर्जनले लेखेका छन्– ‘कसैले युद्धमा लिइने अङ्गच्छेदको प्रतिशोध त बृहत् राष्ट्रिय उद्देश्यसामु गौण हुने तर्कको खेतीपाती गर्ने क्रम जारी छ । विशेषतः राष्ट्रिय एकीकरण र एकताका लागि युद्धमा जे पनि जायज हुने तर्कको खेती अचेल लहलहाएको छ ।’ वर्वर हिंसा प्रयोग भएकाले पृथ्वीनारायणको अभियान गलत रहेको र यसलाई राष्ट्रिय एकीकरण मान्न नसकिने महर्जनको तर्क छ । पृथ्वीनारायणको अभियान विशुद्ध राज्यविस्तार हो तर त्यस क्रममा प्रयोग भएको हिंसालाई पूर्णतः अस्वीकार गर्नुचाहिँ राज्यनिर्माणको आधारभूत पक्षप्रति आँखा चिम्लिनुसरह हो । हिंसाबिना राज्यस्थापनाको परिकल्पना गर्नु जग नहालीकन आलिसान महल ठड्याउने सपना देख्नुसरह हो । मार नहानीकन साप्रा लुछ्ने चाहना राखेजस्तो । राज्यनिर्माण प्रक्रियासँग हिंसा कसरी अभिन्न छ भन्ने प्रकाश पार्न फ्रान्सिस फुकुयामाले ‘द ओरिजिन अफ पोलिटिकल अर्डर’ लेखेका छन् । उनले चिम्पान्जीमाझ हुने हिंसासमेतको अध्ययन गरेर मान्छेले जङ्गली युगदेखि नै हिंसाको प्रयोगमार्फत राज्यनिर्माण प्रक्रियालाई कसरी अघि बढाउँदै लग्यो भन्ने चर्चा गरेका छन् ।
अर्का लेखक चार्ल्स टिलीले राज्यसँग हिंसाको अन्योन्याश्रित सम्बन्ध प्रस्ट्याउन राज्यलाई ‘सङ्गठित अपराध गर्ने वैधानिकता पाएको विशाल झुन्ड’ भनेका छन् ।राज्यले युद्धदेखि कर असुलीसम्मका काममा हिंसा प्रयोग गर्छ । महाभारतमा यक्ष र युधिष्ठिरबीच सबाल–जवाफ हुँदा पनि यस्तै भाव व्यक्त गरिएको छ । यक्षले युधिष्ठिरलाई ‘ब्राहृमण, नट र नर्तक, सेवक र राजा, यी चारलाई दान किन दिइन्छ ?’ भनी सोध्छन् । युधिष्ठिर जवाफ दिन्छन्– ‘ब्राहृमणलाई धर्म, नट र नर्तकलाई यश तथा सेवकलाई उनीहरूको भरणपोषणका निम्ति दान दिइन्छ । राजालाई भयका कारण दान (कर) दिइन्छ ।’
कल्पना गरिहेरौं, पृथ्वीनारायणको नेतृत्वमा गोरखाले राज्यविस्तार अभियान आरम्भ नगरेको भए के हुन्थ्यो ? निम्न दुईमध्ये कुनै एक अवस्था निम्तिन सक्थ्यो । पहिलो– छिन्नभिन्न अवस्थामा रहेको नेपाललाई एकपछि अर्को गरी बेलायतले निल्दै जान्थ्यो । दोस्रो– गोरखाबाहेक अन्य कुनै राज्यको नेतृत्वमा राज्यविस्तार अभियान अघि बढी नेपाल आजकै जस्तो स्वरूपमा आइपुग्थ्यो । पृथ्वीनारायण राजा बन्दाताका गोरखाभन्दा बलिया राज्य थुप्रै थिए । राज्यविस्तार अभियान सञ्चालन गर्न सक्ने हैसियत पनि उनीहरूसँगै बढी थियो । गोरखाले नथालेको भए अर्को कुनै राज्यले यसको नेतृत्व लिन सक्थ्यो । भारतमा मराठा र बेलायतले निरन्तर राज्यविस्तार गरिरहँदा पृथ्वीनारायणले त्यसको मनोवैज्ञानिक प्रभाव आत्मसात् गरेका थिए । चाँडै नेपालतर्फ त्यो खतरा सोझिन सक्ने सम्भावना अरू राजाहरूलाई पनि पक्कै छिपेको थिएन । त्यो मनोवैज्ञानिक प्रभावलाई दृढ–सङ्कल्पमा बदलेर राज्यविस्तार आरम्भ गर्न पृथ्वीनारायणभन्दा ती राजालाई बढी सहज हुन्थ्यो ।
काठमाडौं उपत्यकाका राज्य गोरखाभन्दा हरेक दृष्टिले सबल थिए । माटो बढी मलिलो भएकाले त्यहाँको कृषि–उत्पादन राम्रो थियो । तिब्बत र भारतबीचको व्यापारबाट काठमाडौंले लिच्छविकालदेखि नै मनग्गे कमाउँदै आएको थियो । मगर, खस र बगाले थापाजस्ता लडाकू जाति भनिएकाहरूको पनि कमी थिएन त्यहाँ । सामरिक रूपमा उपत्यका बढी सुरक्षित थियो । गोरखाली फौजले हमला गर्दा काठमाडौंका मल्लराजाहरूले सजिलै धपाउने गरेका थिए । मकवानपुर र पाल्पाका सेनराज्य पनि गोरखाभन्दा सशक्त थिए । मकवानपुरका सेनराजाहरूले अहिले नेपाल भनिने भूभागमा सर्वप्रथम बन्दुक–पत्थरकला पैठारी गराएका थिए । यति हुँदा पनि पृथ्वीनारायण नेतृत्वकै राज्यविस्तार अभियानले सफलता पायो ।
किन ? इतिहासविद् महेशचन्द्र रेग्मीका अनुसार यसका तीन कारण छन् । पहिलो– समग्र हिमाली क्षेत्रमाथि विजय सम्भव नभए पनि अधिकांश हिमाली क्षेत्रलाई आफ्नो बनाउनुपर्छ भन्ने दूरदर्शी नेतृत्व गोरखासँग थियो । दोस्रो– गोरखाले अन्य राज्यको तुलनामा ठूलो सङ्ख्यामा स्थायी सैनिक व्यवस्था गरेको थियो । तेस्रो– विजय–अभियान फैलादै जाँदा गोरखालाई करदाता, सैनिक, भरिया, श्रमिक, जमिन, जङ्गल, खानी आदि थप हासिल भयो । यसबाट अभियान अघि बढाउने सामर्थ्य पनि थपिँदै गयो ।
विसं १६३९ देखि १६७५ सम्म कान्तिपुरका राजा रहेका शिवसिंह मल्लले दोलखा, लिस्ती, केरुङ, मकवानपुर र सिंधुली जितेका थिए । उनले मोरङ क्षेत्रलाई पनि कान्तिपुरअन्तर्गत ल्याए । जनाति पार्थिवेन्द्र मल्लको पालामा तयार वंशावलीमा शिवसिंह मोरङसमेतका राजा हुन सफल भएको चर्चा गर्दै गरिएको छ ।
काठमाडौं उपत्यकाका यक्ष मल्लले पनि आफ्नो राज्य निकै विशाल बनाएका थिए । उनले गया, मगध, मिथिला, गोरखा, तिब्बतको सिकार्जोङसम्म सिमाना फैलाएको भनी उल्लिखित ऐतिहासिक सामग्री उपलब्ध छन् । यद्यपि तिनको प्रामाणिकतामा शङ्का गर्ने ठाउँ प्रशस्तै छ । त्यो राज्य विशाल थियो भन्नेचाहिँ निर्विवाद हो । उनको मृत्युपछि छोराहरूले दूरदर्शिता देखाउन सकेनन् । तीनै छोराले राज्य भाग लगाए । सिङ्गो मल्लराज्य पाटन, भादगाउँ र बनेपा गरी तीन टुक्रा हुन पुग्यो । विभाजनसँगै मल्लराज्यले विशाल नेपाल निर्माण गर्ने क्षमता फनि गुमायो । बरु तीनै राज्यबीच कलह सुर भयो । यसै कारण पनि पृथ्वीनारायणलाई उनीहरूमाथि विजय पाउन सहज भयो ।
(मैनालीको पुस्तक ‘शिलान्यास’ को सम्पादित अंश।)
-सुजित मैनाली प्रकाशित : वैशाख १४, २०७६ ०९:१३

सीमा मिच्ने आशंका

सीमा मिच्ने आशंका
परमानन्द पाण्डे,  अन्नपूर्ण, १५ बैशाख २०७६ ०८:१९:००
टीकापुर : नेपाल-भारत सीमा विवाद कैलालीमा अझै सुल्झिएको छैन। टीकापुर-८ खक्रौला र धनगढी-१४ फूलबारीमा सीमा विवाद कायमै छ। द्विदेशीय सीमा सर्भे टोलीले चारवटा सीमास्तम्भको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४÷५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२÷१, ७४२÷२ र ७४२÷३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्नेछ।
सार्दा र पुनर्निर्माण गर्दा नेपाली भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए। त्यसपछि संयुक्त सीमा सर्भे टोलीले काम स्थगन गरेको हो। स्थानीयको विरोधपछि काम स्थगन गरिएको नेपालतर्फका प्रमुख सर्भे अधिकृत जनकराज भट्टले बताए। ‘विवाद भएका ठाउँको काम रोकेर अन्य सीमास्तम्भको काम भइरहेको छ’, उनले भने, ‘स्थानीय जनप्रतिनिधिको रोहबरमा विवाद भएका ठाउँको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं।’
खक्रौलाको सीमास्तम्भ सार्दा आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको स्थानीय लक्ष्मी कोइरालाले बताए। आफ्नो डेढ बिघा जमिनसमेत मासिने उनको भनाइ छ। २०२८ सालदेखि सीमास्तम्भ यथास्थानमा देख्दै आएको उनले बताए। उनका अनुसार सो क्षेत्रमा २०२२ सालमा बसोबास सुरु भएको हो। ‘म सानै हुँदादेखि यो पिलर यही ठाउँमा छ’, उनले भने, ‘सीमा मिलाउने नाममा सार्न खोज्नु नेपाली भूमि अतिक्रमण गर्ने षडयन्त्र हो।’
टीकापुर-८ का अध्यक्ष दीर्घ ठकुल्लाले सीमा मिलाउने नाममा स्तम्भ सार्ने षड्यन्त्र भएको बताए। यथास्थानमा रहेकाका आधारमा हराएका सीमास्तम्भ खोज्नुपर्नेमा हराएकाका आधारमा यथास्थानकालाई सार्न खोजिएको उनको भनाइ छ। यसले गर्दा मोहना नदीमा निर्माण भएको खक्रौला पुलसमेत भारततर्फ पर्न सक्ने स्थानीयको आशंका छ। उनीहरूले भारतले आफ्नो भूमि खक्रौला पुलसम्म पुर्‍याउन खोजेको बताएका छन्।
पुलको दक्षिण भागनजिकै रहेको एक सीमास्तम्भ यथास्थानमा छ भने अर्को मोहना नदीले बगाएको छ। सो सीमास्तम्भ २०६४ सालको बाढीले बगाएको स्थानीय बताउँछन्।
फूलबारीमा पुनर्निर्माण गर्दा स्थानीय गौरीशंकर सामुदायिक वनको ठूलो हिस्सा भारतमा गाभिने देखिएको छ। वर्षौंदेखि भोगचलन गर्दै आएको वन भारतमा गाभिन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन्। टीकापुर क्षेत्रमा मात्र दुई देशका ५ मुख्य र १३ मझौला गरी १८ वटा सीमास्तम्भ हराएका छन्। दुई देशको टोलीले बुझाएको प्रतिवेदनमा ७०२÷४ र ७०२÷७ नम्बरको मझौला सीमास्तम्भ मोहना नदीले बगाएको उल्लेख छ। प्रतिवेदनमा अन्य सीमास्तम्भ भने फेला नपरेको बताइएको छ।
कैलालीमा २८२ सीमास्तम्भ छन्। तीमध्ये कतिपय हराएको अवस्थामा छन्। १२ वटा पुनर्निर्माण गरिएको प्रमुख सर्भे अधिकृत जनकराज भट्टले बताए। उनले सोही हाराहारीमा भारतीय पक्षले पुनर्निर्माण गरेको बताए। पुनर्निर्माण गर्नुपर्ने सीमास्तम्भ मध्ये जोर नम्बर नेपाल र बिजोर नम्बर भारतीय पक्षले निर्माण गर्ने प्रावधान छ।
 

भाषा सिक्न दाङ झरे कुसुन्डा

भाषा सिक्न दाङ झरे कुसुन्डा
वैशाख १५, २०७६काशीराम डाँगी
रोल्पा — लोपोन्मुख रहेको कुसुन्डा भाषा सिक्न रोल्पाबाट एक परिवार दाङ झरेको छ । यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो । भाषा आयोगको सहयोगमा देउखुरीमा कुसुन्डा भाषाको औपचारिक कक्षा सञ्चालन भइरहेको छ ।
रोल्पाको रुन्टीगढी–५ का लालबहादुर कुसुन्डाले पत्नी र एक्ली छोरीलाई कक्षा पठाएका हुन् । त्यहाँ उनैकी दिदी कमला र साथी ज्ञानीमैयाले भाषा सिकाउँछन् । लालबहादुरलाई कुसुन्डा भाषाको सामान्य जानकारी छ । उनकी पत्नी बेलमती र पाँच वर्षकी छोरी सवितालाई दाङ लैजान कुसुन्डा विकास समाजले सहयोग गरेको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भाषा सिकेका कुसुन्डा परिवारको संरक्षणसम्बन्धी योजना अघि सार्ने बताए । उनले जीवनयापनका लागि कुसुन्डालाई सघाउने वचनसमेत दिए । जिल्लाकै एक मात्र कुसुन्डा परिवार भएकाले सरकारले एक दशकअघि उनीहरूलाई घर बनाइदिएको थियो । ५१ वर्षे लालबहादुर र ४८ वर्षकी बेलमतीको ०६८ मा गाउँलेको पहलमा बिहे भएको थियो । बेलमती स्थानीय पुनमगर समुदायकी हुन् ।
भाषा सिकाउन लमही नगरपालिका–६, कुलमोडका ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला लागिपरेका छन् । आयोगले दुवैलाई स्रोत व्यक्तिका रूपमा खटाएको छ । उनीहरूले मासिक तीन हजार रुपैयाँ पाउँदै आएका छन् । कुसुन्डा समाजका अनुसार ज्ञानीमैया र कमला मात्रै कुसुन्डा भाषाका जानकार हुन् । रोल्पाकी कमला बिहे भएर दाङ आएकी हुन् । दुवै जनाले पुर्खाले बोलेका आधारमा भाषा सिकेको बताए ।
समाजले देशभर कुसुन्डाको संख्या २ सय ७३ रहेको जनाएको छ । तीमध्ये दाङमा ९८ र रोल्पामा ३ जना छन् । दाङमा भाषा सिक्न रोल्पा, दाङ र प्यूठानका गरी २२ जना सहभागी छन् । कुसुन्डा भाषाका अध्येता उदय आलेमगरले सहजीकरण गर्दै आएका छन् । उनले लोपोन्मुख अवस्थामा पुगेको भाषा जोगाउन पाएकामा खुसी व्यक्त गरे । उनले यसअघि कुसुन्डा भाषासम्बन्धी शब्दकोशसमेत प्रकाशित गरिसकेका छन् । थारू र मगर भाषा, संस्कृति र अवस्थाको समेत अध्ययन गर्दै छन् ।
कुसुन्डा भाषा चार चरणमा पढाइ भइरहेको छ । आलेका अनुसार कुल ३ सय ६० घण्टा पढाइन्छ । पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहारका भाषा सिकाइन्छ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणका बारेमा भाषागत शिक्षा दिने योजना छ ।
कुसुन्डा समाजका अध्यक्षमा दाङका धनबहादुर कुसुन्डा छन् । वनमै रमाउने, खेतीपाती नगर्ने र जंगलमै डुलिहिंड्ने कुसुन्डाको पुर्ख्यौली चलन हो । उनीहरू समूह बनाएर वनमा बस्ने, कन्दमूल खाने, धनुकाँडबाट सिकार खेल्ने र मागेर जिउ पाल्ने गर्दै आएको पाइएको अध्येता आलेले बताए ।
प्रकाशित : kantipur, वैशाख १५, २०७६ ०८:२४

मच्छिन्द्रनाथको रथ यात्रा सुरु

मच्छिन्द्रनाथको रथ यात्रा सुरु
रवीन्द्र गौतम, ११ बैशाख २०७६ ११:४९:००
दोलखा : करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ। पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई दुधमा नुहाएर रथारोहण गरिए पछि आइतबारबाट रथजात्रा सुरु गरिएको हो। प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पुर्‍याउने प्रचलन रहेको छ।
मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको क्लबका संयोजक सुरेश श्रेष्ठले बताए। एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, ९ गते कोर्छेसम्म, १० गते टसिचासम्म, ११ गते माथिल्लो स्वयम्भुस्थान, १२ गते दुंगलसम्म, १३ गते पिंगलसम्म र अन्तिम दिन १४ गते डोकुलढुङ्गा टोलसम्म पुर्‍याएर समापन गरिने परम्परा छ।
यो जात्रा मनाउँदा रोग नलाग्ने, सुख्खा याममा पानी पर्ने आदी जनविश्वास छ। धार्मिक आस्थाका कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु व्रत समेत बस्ने गर्छन। स्थानीय पर्शुराम जोशी रथ तान्ने बेलामा पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन्।
मल्ल राजा जय वासुदेवले कुन मितिदेखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभेटिए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यो भन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ।
राजा जय वासुदेवले हालको लापिलाङ गाउँस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठीको समेत व्यवस्था गरेको उल्लेख छ। उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, दुई पाथी तेल, दुई पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था रहेकोमा थामीहरुले ती सामानहरु दिन छाडेका थिए।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...