Friday, June 14, 2019

सीमा मिच्ने आशंका

सीमा मिच्ने आशंका
परमानन्द पाण्डे,  अन्नपूर्ण, १५ बैशाख २०७६ ०८:१९:००
टीकापुर : नेपाल-भारत सीमा विवाद कैलालीमा अझै सुल्झिएको छैन। टीकापुर-८ खक्रौला र धनगढी-१४ फूलबारीमा सीमा विवाद कायमै छ। द्विदेशीय सीमा सर्भे टोलीले चारवटा सीमास्तम्भको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४÷५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२÷१, ७४२÷२ र ७४२÷३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्नेछ।
सार्दा र पुनर्निर्माण गर्दा नेपाली भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए। त्यसपछि संयुक्त सीमा सर्भे टोलीले काम स्थगन गरेको हो। स्थानीयको विरोधपछि काम स्थगन गरिएको नेपालतर्फका प्रमुख सर्भे अधिकृत जनकराज भट्टले बताए। ‘विवाद भएका ठाउँको काम रोकेर अन्य सीमास्तम्भको काम भइरहेको छ’, उनले भने, ‘स्थानीय जनप्रतिनिधिको रोहबरमा विवाद भएका ठाउँको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं।’
खक्रौलाको सीमास्तम्भ सार्दा आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको स्थानीय लक्ष्मी कोइरालाले बताए। आफ्नो डेढ बिघा जमिनसमेत मासिने उनको भनाइ छ। २०२८ सालदेखि सीमास्तम्भ यथास्थानमा देख्दै आएको उनले बताए। उनका अनुसार सो क्षेत्रमा २०२२ सालमा बसोबास सुरु भएको हो। ‘म सानै हुँदादेखि यो पिलर यही ठाउँमा छ’, उनले भने, ‘सीमा मिलाउने नाममा सार्न खोज्नु नेपाली भूमि अतिक्रमण गर्ने षडयन्त्र हो।’
टीकापुर-८ का अध्यक्ष दीर्घ ठकुल्लाले सीमा मिलाउने नाममा स्तम्भ सार्ने षड्यन्त्र भएको बताए। यथास्थानमा रहेकाका आधारमा हराएका सीमास्तम्भ खोज्नुपर्नेमा हराएकाका आधारमा यथास्थानकालाई सार्न खोजिएको उनको भनाइ छ। यसले गर्दा मोहना नदीमा निर्माण भएको खक्रौला पुलसमेत भारततर्फ पर्न सक्ने स्थानीयको आशंका छ। उनीहरूले भारतले आफ्नो भूमि खक्रौला पुलसम्म पुर्‍याउन खोजेको बताएका छन्।
पुलको दक्षिण भागनजिकै रहेको एक सीमास्तम्भ यथास्थानमा छ भने अर्को मोहना नदीले बगाएको छ। सो सीमास्तम्भ २०६४ सालको बाढीले बगाएको स्थानीय बताउँछन्।
फूलबारीमा पुनर्निर्माण गर्दा स्थानीय गौरीशंकर सामुदायिक वनको ठूलो हिस्सा भारतमा गाभिने देखिएको छ। वर्षौंदेखि भोगचलन गर्दै आएको वन भारतमा गाभिन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन्। टीकापुर क्षेत्रमा मात्र दुई देशका ५ मुख्य र १३ मझौला गरी १८ वटा सीमास्तम्भ हराएका छन्। दुई देशको टोलीले बुझाएको प्रतिवेदनमा ७०२÷४ र ७०२÷७ नम्बरको मझौला सीमास्तम्भ मोहना नदीले बगाएको उल्लेख छ। प्रतिवेदनमा अन्य सीमास्तम्भ भने फेला नपरेको बताइएको छ।
कैलालीमा २८२ सीमास्तम्भ छन्। तीमध्ये कतिपय हराएको अवस्थामा छन्। १२ वटा पुनर्निर्माण गरिएको प्रमुख सर्भे अधिकृत जनकराज भट्टले बताए। उनले सोही हाराहारीमा भारतीय पक्षले पुनर्निर्माण गरेको बताए। पुनर्निर्माण गर्नुपर्ने सीमास्तम्भ मध्ये जोर नम्बर नेपाल र बिजोर नम्बर भारतीय पक्षले निर्माण गर्ने प्रावधान छ।
 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...