Saturday, April 04, 2020

मगर जातिको उत्पत्तिको बारेमा


मगर जातिको उत्पत्तिको बारेमा
विके राना
मगर जातिको उत्पत्तिको बारेमा फरक मत यथावत् रहदै आएको छ । यसबारेमा विद्वान डा. गोविन्द पि. थापाले यसबारे तल एउटा इमेलमा लेख्नु भएको छ । यसमा विज्ञहरुले छलफल गरेर निर्क्यौल गर्नु पर्दछ । तर, हाम्रा आदरणीय दाज्यू खिलधव्ज थापाले ४ वर्ष अघि नै एउटा ईमेलमा जनाउनु भएअनुसार भै के राखेको छ भने जनस्तरमा चाहिँ अर्कै कुरो पुर्याइएको छ वा पुगिसकेको छ ।
एम. एस. थापा हाम्रा अग्रज हुनुहुन्छ । उहाले हाम्रो समाजकानिम्ति जे जति गर्नु भएको त्यो अति नै प्रसंशनीय छ । त्यो कुरा आफ्नो ठाउमा छदैछ ।मगर जातिको उत्पत्तिको बारेमा उहाको कुरो विद्वान डा. थापाजीले उल्लेख गर्नु भएको छ तल (Please scroll down) । त्यसबारेमा आफुलाई लागेको कुरो प्रस्तुत गर्न चाहेको चू मैले आज यसमा । अस्तु ।
एम. एस. थापाका त्यस कुरासंग सहमत हुनु पर्ने आधारहरु अत्यन्त कम छन् वा छैनन् भने पनि हुने अवस्था छ । उहाले 'अक्खा लिपि' (जसलाई पश्चिमाहरुको त कुरै छोडौ नेपालकै प्राज्ञिक जगत समेतले स्वीकारेको छैन !) को कुरो उठानगरि वा टेको टेकी त्यसैको आधारमा मगरहरुलाई 'प्रकृति पूजक, बोन, हिन्दू वा अन्य धर्मावलम्वी नभएको' तर प्राचीन मगर समाज 'बौद्ध धर्मावलम्वी' थियो भन्दै लेख्दै आउनु भएको छ । उहाको यस दावीलाई स्वीकार गर्न सकिन्न । एउटै प्रश्न, बुद्ध वा बौद्ध धर्मको स्थापना हुनुभन्दा पहिलेका मगरहरु के थिए त ? कुनै पनि प्राचीन समाज शुरुमा 'प्रकृति पूजक' थियो भन्ने प्राज्ञिक मान्यता छ ।
एम. एस. थापाको 'अक्खा लिपि'को कुरो बढी राजनीतिक छ । प्राज्ञिक वहस वा छलफलमा जातिवाद (Nationalism) कुरो स्वीकार्य हुदैन । एउटा दृष्टान्त यहाँ प्रस्तुत गर्न मन लाग्यो । उहाको 'प्राचीन मगर र अक्खा लिपि' भन्ने किताबको पृष्ठ (बुझिदैन, त्यो कति पृष्ठ भनिएको हो ? ) को 'मगर लिपि (अक्खा लिपि) 'च्याप्टरमा' रायस डेभिड्स (T. W. Rhys Davids) को Buddhist India भन्ने किताबको पृष्ठ ११९ बाट "All the present available evidence tends to show that the Indian alphabet was not Aryan at all " मात्र पाद टिप्पणीमा लेख्नु भएको तर "that it was introduced into India by Dravidian merchants..." भन्ने मूल कुरो नै छुटाउनु भएको छ । यो सरासर राजनीतिक अभ्यास हुनगयो । रायस डेभिड्सको भनाईलाई आफुलाई मिल्नेगरि लेखिएको प्राज्ञिक ईमान्दारिता भएन । अनि रायस डेभिड्सको भनाईलाई मान्ने हो भने पनि द्रविडहरुले प्रचलनमा ल्याएका लिपि कसरी मगरको 'अक्खा लिपि' थियो वा हुन् सक्छ त अहिले ? मगर जातिको नश्ल द्रविड होईन । अहिलेको प्रचलित भाषामा भन्नु पर्दा मंगोलयोड़ (Mongoloid) हो।
एम. एस. थापाको अर्को कुरो 'बृजि, बाज्जी, बिज्जि इत्यादी' का बारेमा चाहिँ एउटा पुरानो पोष्ट तल जस्ताको तस्तै :-
_______________________________________________________________________________
यसबारेमा केही महीना पहिले पनि पोष्ट गरिएसकिएको हो । मगर जातिको प्राचीनताको बारेमा कहिँ कतै एकाध ठाउँमा बुद्धकालीन मगरहरुलाई 'वृजी मगरहरु' भनेर लेखेको पनि पाइएको छ । यसबारेमा केही भनिहाल्न सकिने अवस्थामा हामी छैनौ अहिले । अथवा, अर्को शव्दमा भन्नु पर्दा 'वृजी मगरहरु' भनेर प्राचीन कालका मगरहरुलाई बुद्धको नजिकका नातेदार देखाउन खोजिएको हो भने भाषिक हिसाबले यो कुरा मिल्दैन भन्नै पर्ने हुन्छ । यो कुरा ठीक होईन, मिल्दैन ।
आजका मगरहरुले बोल्ने 'मगर कुरा', 'खाम मगर कुरा' वा 'काइके मगर कुरा' सबै भोट-बर्मेली परिवारका भाषाहरु हुन भने बुद्धकाल अर्थात् ५०० ईशा पूर्वतिर बैशालीका 'लिच्छवी' वा 'बृजी'हरुले बोल्ने 'बज्जिका' भारोपेली परिवारको भाषा हो । 'वृजी मगरहरु' बारेको कुरो भाषिक हिसाबले पटक्कै मिल्दैन । भाषा नै फरक भएपछि मानिसको जाति वा नश्ल पनि फरक हुने भै हाल्यो ।
आजका मगरहरुले बोल्ने भाषाहरु र 'बज्जिका' भाषा एकै परिवारका होइनन्। 'बज्जिका' मैथिली भाषाको उप-भाषा हो । मैथिली भाषाका बारेमा यहाँ लेखिरहनु पर्ने देखिदैन । नेपालको पूर्वी तराईतिर बोलिने मुख्य भाषा मध्य मैथिली पनि एक हो । आज भारतमा र नेपालमा समेत गरेर झन्डै २ करोड जतिले 'बज्जिका' बोल्दछन भन्ने अनुमान गरिएको छ । नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनमा ७ लाख ९३ हजार ४१६ जनाले आफ्नो मातृ भाषा 'बज्जिका' लेखाएका भन्ने जनाइएको छ ।
यसमा अलिकति थप कुरा गर्दा यो 'बज्जी वा वृज्जी' भनेको के हो त्यो बुझ्नु आवस्यक हुन्छ । बौद्ध ग्रन्थहरु 'अंगुत्तर निकाय' 'महावस्तु'मा प्राचीन कालमा १६ महाजनपदहरु थिए भनेर लेखिएको छ (फोटो हेर्नुहोस)। ति महाजनपदहरुको नाम यसप्रकार थियो : १) अवन्ति, २) अश्मक या अस्सक,३) अंग, ४) कम्बोज,५) काशी, ६) कुरु,७) कोशल, ८) गांधार , ९) चेदि , १०) वज्जि या वृजि,११) वत्स या वंश ,१२) पांचाल,१३) मगध, १४) मत्स्य या मच्छ, १५) मल्ल र १६) सुरसेन या शूरसेन ।
महर्षि पाणिनि द्वारा रचित 'अष्टाध्यायी' नामको विश्व प्रशिद्ध 'संस्कृत व्याकरण'को अध्याय ४ भाग २ शूत्र १३१ मा पनि " मद्र, वृज्यो: कन " भन्ने लेखिएको छ । पाणिनिले भनेका 'वृज्यो' अथवा 'वृजी वा वृज्जी' कहाँ वा कतातिर पर्दथ्यो भन्ने कुनै स्पष्ट संकेत पाइदैन । तर, एउटा कुरा पक्कै पनि के हो भने महर्षि पाणिनि बुद्धका समकालीन हुन। साथै, कसैकसैले चाही प्राचीन उत्तर पूर्वी ईरानको पार्थियन साम्राज्यको एक हाँगा 'वरज' ( ईशापूर्व ७० ) बाट 'वृज्जी ' जनपदको बनेको हो पनि भनेका छन् । यसमा प्रश्तुत 'वज्जि या वृजि', भनेको आठ गणतांत्रिक कूलहरुको एउटा महासंघ थियो जसको राजधानी वैशाली थियो ।
महाराजा अशोकको ईशापूर्व २४९ को लुम्बिनीको स्तम्भमा ब्राह्मी लिपिमा लेखिएको "अठ-भागिये च (||*)" ले, बुद्धका पार्थिव अवशेष 'वज्जि या वृजि' समेत यिनै आठ गणराज्यहरुको वीच भाग लगाइएको थियो भन्ने कुरा बुझिन्छ ।
***
पूर्वमन्त्री आदरणीय गोरे बहादुर खपांगीले पनि प्राचीन नालन्दा विश्वविद्यालयको शिलन्यास कुनै 'सोमई थरका मगर'ले गरेका भनेर लेख्नु भयो । 'नालन्दा'को अर्थ मगर भाषामा 'कमलको फूल राख्यो' भन्ने लगाउनु भएको छ त्यस लेखमा उहाले । लेखक तथा प्रधान सम्पादक हिरासिंह थापा (सामेसेन मगर)ले पनि मगर संघ केन्द्रीय समितिद्वारा २०६६ सालमा प्रकाशित ९८४ पृष्ठको 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष'को आवरण पृष्ठमा नै एउटा पुरेनी र त्यसको मुनि "नालन डा" ("नालन डा" दुई छुट्टा छुट्टै शव्दहरु लेखिएका छन् । एउटै 'नालन्दा' होईन ) लेख्नु भएको छ ।
मगर भाषामा 'नालन> 'कमलको फूल' 'डा' > 'राख्यो 'मा भएका दुई शव्दले 'कमलको फूल राख्यो' भन्ने अर्थ लाग्छ नै । 'नालन्दा' भन्ने नाम शव्दले पनि कमलको फूललाई संकेत गरेको स्पष्ट देखिन्छ । बौद्ध मत अनुसार कमलको फूलको प्रतिकात्मता 'तन, मन र वाक् शुद्धता' (Purity) हुने भएपछि आफ्नो मगर भाषा अनुसारको अर्थ 'कमलको फूल राख्यो' भन्नु वा त्यस्तो अर्थ लगाउनु जातिवाद (Nationalism) कै कुरा हुन् आउछ । यो त 'प्राचीन किराँत-इतिहास'का लेखक स्वामी प्रपन्नाचार्यले ऋग्वेदमा उल्लेख गरिएका ईन्द्र वा दिवोदासहरुको विरुद्ध लड्ने सबैजसोलाई राजाहरु 'किराँत राजाहरु" थिए र इमान सिंह चेमजोंगले चाहिँ लिम्बूहरुको इतिहासलाई ईसाईकरण गरिदिएको भनेर लेखेको जस्तो भयो ।
अब कुरो के भने आफ्नो हिसाबले मात्र कुरो गर्न भएन । मानौँ बुद्ध मगर नै थिए अरे, तर त्यसले अहिलेको मगर समाजलाई के फरक पर्छ त ? फेरी पनि मानौँ कुनै 'ब्राह्मी लिपि' नभएर 'मगरको लिपि (अक्खा लिपि)' नै थियो रे वा हो रे । तर, जवसम्म एउटै प्राचीन रचना वा साहित्य वा अन्य कुनै विधाको कृति मगर भाषामा, 'मगरको भनिएको लिपि (अक्खा लिपि)'मा लेखिएको हामी पाउन सक्दैनौ त्यसले 'मगरको लिपि (अक्खा लिपि)' को जति दुहाई दिए पनि कुनै माने लाग्दैन । साथै आफ्नो लिपि हुनु राम्रो हो तर नहुदैमा पनि के कमी हुन्छ त ? स्वयम् ब्रिटिश वा अमेरिकनहरु खुद कै पनि आफ्नो लिपि छैन: रोमन लिपिले काम चलाइरहेका छन् । लिपि सरल हुनु पर्यो लेख्नलाई, रोमन लिपि लेख्नलाइ अत्यन्त सरल छ ।
आजभोलि जिल्ला जिल्लामा सबैतिर एम. एस. थापाले 'मगरको अक्खा लिपि' भनि दाबी गर्नु भएको लिपिको 'लेखन-तालीम' दिन शुरु गरिएको सुनिएको छ । फेसबुकको भित्ता भित्तामा यस्तै लेखिएको पाइएको छ । त्यो पनि ठीकै हो तर त्यसमा अलिकति परिवर्तन वा आधुनिकीकरण गरेर त्यहि लिपिलाई पूर्वेली मगर वा खाम मगर भाषाहरुको लिपिका रुपमा विकशित गरिए ठीकै होला नत्र उही सम्राट अशोकको लुम्बिनीको जस्तो हुबहु लेख्न लगाइयो भने त्यसको पनि के माने भो र ? लिपि नै गाह्रो छ लेख्नलाई - हिज्जे र व्याकरणका कुरा त कता हो कता ?
अर्को कुरो नरु थापाको "सौभार वंशीय किराती वा जनजाति" । यो 'सौभार' भनेर उहाले ऋग्वेद ६ ।२६ ।५ मा आउने 'तवं तदुक्थमिन्द्र बर्हणा कः पर यच्छता सहस्राशूर दर्षि |
अव गिरेर्दासं शम्बरं हन परावो दिवोदासं चित्राभिरूती ||" को कुरो गर्नु भएको हो भने प्रथम किराँत राजा 'यलम्बर' र ऋग्वेदमा वर्णित शक्तिशाली राजा 'शम्बर'को नाम कै बारेमा पनि अनुसन्धान हुनु जरुरी छ । यी 'यलम्बर' 'शम्बर' दुई नाम शव्दहरुमा ध्वन्यात्मक समानता भेटिन्छ ।
तलको इलेमा लेखिएको नरु थापाजीको कुरो उहाको पुस्तक 'किरात मगर इतिहास - २०६७ ' पृष्ठ ५२ र ५३ मा पनि लेखिएको छ । जहासम्म नाग वंशको कुरा छ त्यसमा उहाका कुरामा केही सत्यता भेटिन्छ । केही नागहरु हिमाली क्षेत्रका आदिवासी पनि भएपछि त्यसमा मगरहरु नपर्ने भन्ने कुरा आउदैन तर उहाले पनि नागहरु नाम फेरिएर "लिच्छवि , वृजी ,वैदेही , यूची" (उही पुस्तकको पृष्ठ ५३) जस्ता शव्द हरु एम. एस. थापाबाट नै सापटी लिनुभएको बुझिन्छ । यसमा यसै हो भनेर कसरी ठोकुवा गर्ने जबकि अनन्तनाग भन्ने शहर आज पर्यन्त भारतको जम्मुकश्मिरमा छ । यो अनन्तनाग शहरको नाम किन रहन गयो ? भन्ने कुरा पनि कम रोचक छैन। यसै गरी तेश्रो र चौथो शताव्दीमा पद्मावती र मथुरामा नागहरुको राज्य थियो । राजा भव नागहरुले आफ्नो मुद्रा नै चलाएका थिए । नागार्जुन- 'नाग+झोङ्ग'को नेपालीकृत आधुनिक रुप हो ।यसको अर्थ नागको झोङ्ग' अर्थात् 'किल्ला' भन्ने हुन्छ । नेपालका राजाका सिंहासानमा नागहरुको फणा उठाएर राखिएको हुनु, नक्सालको नागपोखरीको विशाल नाग, भक्तपुर दरबार स्क़्वाएरको भित्रि पोखरीको अर्को विशाल नाग र बन्संतपुर लगायत अन्य दरबारहरु (जो अहिले भग्न भए ) को प्रत्येक तलामा नागको आकार कलात्मक काठको पेटी वा टेको राखिएको हुनु काठमाडौँ उपत्यका प्राचीन काल देखिनै नागहरु द्वारा संरक्षित रहेको भन्ने जनविश्वासलाई बुझाऊदैन र ?
कुरो जे भएपनि मगरहरुलाई बुद्धको मावली खलक भन्नु वा मगरहरुले झैँ 'साक्खै' साली बिबाह गरेर बुद्धका पुर्खाहरु पनि 'शाक्य' कहलिएका वा अझ भनौ महपरिनिर्वाण माने मर्ने बेलामा 'सुँगुरको मासु' खाएकाले बुद्ध पनि खाट्टी मगर नै थिए भनेर भन्नु आत्मरति भन्दा अरु केही होईन ।
नमस्ते

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...