पुरुषोत्तम समशेरको गुनासो :
बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?
'क्रान्तिमा सर्वस्वहरण भयो, रुद्रसमशेरका सन्तानले केही
पाएनौं'
सन्त गाहा मगर
Online
Khabar, २०७६ जेठ १४ गते १३:४० मा प्रकाशित
१४ जेठ, काठमाडौं
। वि.सं. १९९० सालको महाभूकम्पको दुई महिनापछिको कुनै आइतबार सिंहदरबार बिलियार्ड
बैठक अघिल्तिरको चौरमा ठूलो पाल टाँगिएको थियो । श्री ५ त्रिभुवन, कमाण्डर इन चीफ रुद्रशमशेर जबरा, रोलवाला जनरल र उनीहरूका आफन्तजन श्री ३ महाराजको पर्खाइमा
थिए ।
अपरान्ह
ठीक दुई बजेर २५ मिनेट जाँदा दुबै हातमा लोडेड पेस्तोल लिएका जुद्धशमशेर बैठकको
बीचमा आएर उभिए । त्यसैगरी हातमा माजर पेस्तोल सोझ्याएका तीन भाइ छोरा जुद्धको
पछाडि उभिए । कमाण्डर इन चीफ रुद्रशमशेरलाई हेर्दै जुद्धशमशेरले कराए, ‘…तिमी पाल्पा जाउ, उहीँ बस ।’
‘मैले त केही बिराएजस्तो लाग्दैन…’, रुद्रशमशेरको जवाफ ।
‘तिमीले केही बिरायौ भनेर मैले भनेको
छैन’, जुद्धशमशेरले थपे ‘सबै काम राम्रोसित
गरेका छौ, … लौ जाऔ ।’
प्रमोद
समशेर जबराको पुस्तक ‘राणाशासनको वृत्तान्त’ मा उल्लेख भएको रुद्रशमशेरको खलक
पाल्पा धपिँदाको प्रसंग हो यो ।
प्रमोदशमशेरका
अनुसार, त्योबेला रुद्र समशेरबाहेक अरुको
चल-अचल सम्पत्ति खोस्ने, जफत
गर्ने काम भएन । उनी लेख्छन्, ‘जुद्ध र
र रुद्र बालसंगाती थिए । बेलामौकामा जुद्धलाई रुद्रले धेरै प्रकारबाट सहयोग पनि गर्थे
भन्ने सुनिएको थियो । तर, के
कारणले हो, उनकै सम्पत्ति मात्र जफत गरे । त्यो
कुरा खुल्न सकेन ।’
त्यतिबेला
जुद्धशमशेरले रुद्रको हीरा-पन्ना जडित श्रीपेच, बाबु वीरशमशेरबाट अंशमा पाएको सुनका भाँडाहरुको सेट र डेढसय रोपनी
जग्गामा बनेको चारबुर्जा दरबार जफत (कब्जा) गरी आफ्ना छोराहरूलाई बकस दिएको
‘राणाशासनको वृत्तान्त’मा उल्लेख छ । जुद्धका छोरा बहादुरशमशेरले पाएपछि
चारबुर्जा दरबार (हाल निर्वाचन आयोग) बहादुर भवन कहलियो ।
कमलमणि
दीक्षितका अनुसार (मजलिशको आँखा-१५, तीनओटा
चारबुर्जा दरबार,
हिमाल -२०७२) वीरशमशेरले त्यो
दरबार बनाउने जिम्मा त्यसबखतका नामी इन्जिनियर जोगलाल स्थापितलाई दिएका थिए ।
स्थापितले भवनको चारैतिर बुर्जा (गोलकौसी) बनाए । तिनै बुर्जाबाट भवनको नाम रहन
गयो- चारबुर्जा दरबार ।
रुद्रका
नाति पुरुषोत्तमशमशेर जबरा २००७ सालमा प्रजातन्त्र आएपछि पनि जफत भएको आफ्नो पैतृक
सम्पत्ति फिर्ता नभएको बताउँछन् । ‘श्री ३ हरूको तथ्यवृत्तान्त’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ लगायत आधा दर्जन पुस्तकका
लेखक उनी प्रजातन्त्रका सेनानी पनि हुन् ।
पछि २०२१
मंसिरमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको ललिता निवाससहित
राणाकालीन ६ वटा दरबारको १२९८ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण र १४ रोपनी जफत
गरेका थिए । त्यसमा महावीर भवन नक्साल (१५४ रोपनी), हरिहर भवन, पुल्चोक
(२४० रोपनी), सीता भवन नक्साल (११९ रोपनी), लक्ष्मी निवास, महाराजगञ्ज
(२५८ रोपनी), बबरमहल कुरिया गाउँ (२५३ रोपनी) र
ललिता निवास बालुवाटार (२९९ रोपनी) परेका थिए ।
यसैवीच, ०४७
सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले प्रजातान्त्रिक संघर्षमा लाग्दा जफत
भएको सुवर्ण समशेरको जग्गा सम्बन्धमा गृह मन्त्रालयले यकिन गरेर सम्बन्धित
व्यक्तिलाई फिर्ता दिने र रोक्का भएको भए फुक्का गर्ने निर्णय गर्यो ।
त्यसअनुसार
सुवर्णशमशेर र कञ्चनशमशेरको जफत १४ रोपनी ११ आना जग्गा फिर्ता हुनुपर्ने हो । तर, मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गासमेत भूमाफियाहरूले
व्यक्तिको नाममा सारेर किनबेच गरिसकेको पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको
समितिले निष्कर्ष निकाल्यो ।
भूमाफियाले
प्रधानमन्त्रीनिवासको जग्गा समेत व्यक्तिको बनाइसकेको छानविनको निश्कर्षपछि यो
विषय अहिले ‘बालुवाटार जग्गा प्रकरण’ का नाममा तातो बहसको विषय बनिरहेको छ ।
बालुवाटार
(ललिता निवास) जग्गा प्रकरण सम्बन्धी समाचारहरु चाखपूर्वक पढिरहेका ९४ वर्षीय
इतिहासकार पुरुषोत्तमशमशेर जबरा भन्छन्, ‘सुवर्ण, महावीरशमशेरको जग्गा फिर्ता हुने, रुद्र शमसेरको नहुने ? यस्तो
पनि हुन्छ न्याय ?’
सम्पत्तिहरणपछिको अवस्था, प्रजातन्त्र प्राप्तिका निम्ति भएको
सशस्त्र संघर्षमा लाग्दाको अनुभव आदिबारे कुपण्डोलस्थित निवासमा वयोवृद्व
पुरुषोत्तमशमशेर अनलाइनखबरका सन्त गाहा मगरसँग यसरी खुले :
मेरो
जन्म १९८२ चैत १५ गते चारबुर्जा दरबारमा भएको हो । विसं. १९९० सालमा जुद्ध समशेरले
सर्वस्वहरण गरेर मेरा जिजुबुबा रुद्रसमशेर जबरालाई पाल्पा धपाउँदा म आठ वर्षको
थिएँ । जिजुबुबा, बुबा ईश्वरसमशेर जबरा लगायतका परिवार र सहयोगी, सुरक्षा गारतसमेत गर्दा हामी करिब २०० जनाभन्दा बढी
पाल्पातर्फ लाग्यौं ।
काठमाडौंबाट
थानकोट हुँदै चित्लाङ, भीमफेदी
हुँदै तेस्रो दिन वीरगञ्ज पुगेर बसेको याद छ । वीरगञ्जबाट रक्सौल झरेर भारतीय रेल
चढेर नौतनवा पुग्यौं । त्यहाँबाट बुटवल निस्किएर उकालो पाल्पातिर लाग्यौं ।
पाल्पा त
पुगियो, तर त्यहाँ जिजुबुबासँग लडीबुडी खेल्ने
मेरो चारबुर्जा दरबार थिएन । सबै चीज नौला र अप्ठ्यारा थिए । अप्रत्यासितरुपमा
जानु परेकाले त्यहाँ केही बन्दोबस्त पनि थिएन । १२-१५ दिन एउटै लुगामा बस्नुपर्यो
। कति बस्ने भन्ने ठेगान थिएन, तीन-चार
वर्ष त्यत्तिकै बित्यो । पढ्न लेख्न पाइएन । पछि अलि ठीक हुँदै गयो ।
पाल्पा
दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण
कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरें । थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु
विश्वविद्यालयमा भर्ना भएँ ।
राणाजी भएर ‘तपाईं’ भन्ने ?
१९९७ मा
धर्मभक्त माथेमा,
दशरथ चन्द ठकुरी, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई जुद्व शमसेरले
मृत्यदण्ड दिएको समाचार सुनेर हाम्रो परिवार निकै मर्माहत भयो । काठमाडौंमा छँदा
धर्मभक्त र दशरथ चन्द हाम्रो पारिवार निकट थिए ।
धर्मभक्तका
बुबा आदिभक्त माथेमालाई मेरा जिजुबाजे श्री ३ वीरशमशेरले काजी बनाइबक्सेको थियो ।
आदिभक्तले मेरा जिजुबुबा मुख्तियार रुद्रशमशेरको खरिदार भएर पनि काम गर्नुभएको
थियो ।
धर्मभक्त
पहलमान थिए । चारबुर्जा दरबारमा म उनको पाखुरामा झुन्डिन्थेँ । दरबारमा आइरहने
भएकाले शुक्रराज शास्त्रीलाई पनि चिनेको थिएँ । धर्मभक्त, दशरथ र शुक्रराजलाई व्यक्तिगत रुपमा चिनेकाले पनि १९९७ को
घटनाले मलाई व्याकुल बनाएको थियो ।
सम्पत्ति
हडपेर पाल्पामा धपाइएकाले हाम्रो परिवार काठमाडौंका राणा शासकप्रति आक्रोशित थियो
नै । तिनै कारणहरुले गर्दा बिकम पढ्दापढ्दै म क्रान्तिमा लागेँ । गलकोट, भीरकोट, गरङ्गकोट, बुर्तिवाङ्ग, बाग्लुङ्ग, नुवाकोट, प्युठान, बुटवल, भैरहवा, पोखरा, परासी
लगायतका स्थानमा पुगेर क्रान्तिको पक्षमा काम गरेँ ।
त्यहीबेलामा
बीपी कोइरालालाई भारतबाट गोप्यरुपमा पाल्पा पुर्यायौं । त्यहाँबाट सकुशल भारत
फर्काउन पनि सफल भयौं ।
हामी
खुल्ला रुपमा क्रान्तिमा जान चाहन्थ्यौं । तर, राजकाज देखे-भोगेका जिजुबुबा रुद्रशमशेर त्यसरी जान मान्नुभएन ।
उहाँ भारतमा बसेर क्रान्ति गर्दा उसले समातेर नेपालका शासकलाई बुझाइदिन सक्ने
सम्भावना औंल्याउनुहुन्थ्यो । पाल्पामा पनि हामी मान्छेहरूलाई सरकारविरुद्ध क्रान्तिमा
लाग्न उक्साउँथ्यौं । हामीले मान्छेलाई बेलाएर ‘तपाईं, तपाईं’ भन्दै फकाएको थाहा पाएर जुद्धशमशेर पड्के छन्-
‘राणाजी भएर पनि रैतीलाई तपाईं
भन्दै हिँड्ने ?
के बुद्वि होला !’
उता, हामीले भने मानिसहरुलाई तँ, तिमी भन्नै बिर्सिसकेका थियौं । अति भएको लागे छ क्यार, जुद्धशमशेरले ‘राणा बाहेकलाई तपाईं नभन्न तिम्रा छोरानातिलाई
सम्झाउ’ भन्दै जिजुबुबालाई चिठी नै पठाएछन् ।
मोहनशमशेरका
पालासम्म आइपुग्दा हाम्रो परिवार क्रान्तिमा लागेको भन्ने पक्कापक्की भइसकेको थियो
। उनले हामीलाई समात्न कर्णेल चन्द्रजंग थापाको नेतृत्वमा ९ जना अफिसर पाल्पा पठाए
। त्योबेला पाल्पामा तीन पल्टन थियो- सबुज, बरफ र
भवानी दल । जिजुबुबा रुद्रशमशेर पश्चिम क्षेत्रको कमाण्डर इन चीफ भए पनि पाल्पाको
राजकाजमा उति चासो राखिबक्सन्नथ्यो । नेपालकै कमाण्डर इन चीफ भइसकेको व्यक्ति
पाल्पामा खुम्चिँदा जाँगर लाग्ने कुरै भएन ।
बडाहाकिम
भन्ने पद नासु-खरदारले पनि पाउने हुँदा उहाँलाई पश्चिमतर्फको कमाण्डर इन चीफ
भनिएको थियो । उमेरले पनि उहाँ धेरै पुगिबक्सेको थियो । सैनिकहरु आउँथे, सलाम गर्थे, जान्थे ।
सेना, अड्डा-अदालत, निर्देशन आदिमा उहाँको रुचि नै थिएन ।
वायरलेसले जोगायो
पाल्पामा
तीन पल्टनको नेतृत्व मोहन शमशेरका विश्वासपात्र मेजर समशेरबहादुर थापाले गर्थे ।
हामीलाई पक्राउ गर्न काठमाडौंबाट खटिएका कर्णेल चन्द्रजंग थापाले सबुज र बरफ
पल्टनबाट थप बल लिएछन् ।
हामीले
त्यो सब वायरलेसबाट थाहा पाइसकेका थियौं । त्योबेला काठमाडौंमा तोरणशमशेर जबरासँग
पनि वायरलेस थियो । हाम्रो पाल्पा, काठमाडौं
र कलकत्ताबीच वायरलेसबाट कुरा हुन्थ्यो ।
कर्णेल
थापाको टोली ‘मुभ’ भयो भन्ने थाहा पाएपछि हामी मेसिनगन तयार पारेर बसेका थियौं ।
आयो भने भुटिदिने भन्ने थियो ।
हाम्रो
तयारीको सुइँको मेजर समशेरबहादुर थापाले पाएछन् । उनले चन्द्रजंगलाई ‘मागेको सहयोग
गर्छु, तर म आफैं अगाडि सर्दिनँ’ भनेछन् ।
मेरा
जिजुबुबाका अगाडि लुत्रुक्क पर्ने समशेरबहादुरले मलाई चाहिँ घुरेर हेरेको सम्झन्छु
। उनी अग्रसर नहुने भएपछि चन्द्रजंगले पनि आँट गर्न सकेनन् । उनी हामीलाई पक्राउ
नगरी काठमाडौं फर्के ।
त्यसपछि
जिजुबुबालाई मोहनशमशेरले दिनहुँजसो फोन गर्न थाले । उनी ‘दाइ, हजुरको छोरा-नातिलाई केही विषयमा सम्झाउनु छ, नेपाल (काठमाडौं) पठाइदिनुपर्यो’ भनिरहन्थे । जिजुबुबा
कहिले बिरामी छु त कहिले के भनेर टारिबक्सन्थ्यो ।
तर, बहाना पनि कति गर्नु ? एक दिन
जिजुबुबाले ल यिनीहरुलाई नेपाल पठाउँछु, यति
अफिसर, यति उलिन काठ, भीमफेदी पठाइदिनु, यति खर्च
चाहीँ पाल्पा पठाउनु भनेर पत्र लेखिबक्स्यो ।
मोहनशमशेर
तीन साचे बैंक (तीन साँचेको हाकिम, मालको
सुब्बा र बडा हाकिमसँग साँचो हुने एक किसिमको बैंक) मार्फत १० हजार रुपैयाँ पठाउन
तयार भएछन् ।
हामीले
तीन साँचेबाट १० हजार निकाल्यौं । तर, जुद्ध
शमशेरले सर्वस्वहरण गरेर धपाएका हामी पक्राउ पर्न काठमाडौं र्फकने कुरै थिएन ।
त्यो रुपैयाँ लिएर लखनउतिर लाग्यौं । हामीलाई लिन काठमाडौंबाट गएका सैनिकहरू
पाल्पा पुगेछन् ।
लखनउबाट
बुबाले मोहनशमशेरलाई चिठीमा लेखिबक्यो-महाराजले हामीलाई काठमाडौं बोलाइबक्सेकोमा
बन्दी भइएला भनेर आएनौं । कुनैबेला दर्शन गर्न अवश्य आउनेछौं ।
मोहनशमशेर
चिठी सिधा हैन,
यसो छड्के राखेर पढ्थे । बुबाको
चिठी पढिसकेपछि भनेछन्- मलाई आजसम्म कसैले झुक्याएको थिएन, काहिँला दाइका छोरानातिले झुक्याए ।
झण्डै आफ्नै सुराकीको हत्या
ईश्वरशमशेर
जबराले क्रान्तिका लागि गोरखपुरमा दुईवटा घर भाडामा लिएर भारतीय फौजका सेवा
निवृत्त गोर्खाहरूलाई जम्मा गर्नुभएको थियो । तर, भोको पेट क्रान्ति गर्ने कुरा भएन । तिनलाई खाने प्रबन्ध मेरा बुबा
ईश्वरशमशेरले मिलाइबक्यो ।
झुक्याएर
हामी लखनउ गएपछि मोहनशमशेरले बहादुरशमशेरलाई पठाउने भएछन् । त्यो सुइँको पाएपछि
मेरा बुबा, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मात्रिकाप्रसाद
कोइराला, सुवर्ण शमशेर र महावीर समशेरबीच छलफल
भयो ।
बहादुरसमशेरलाई
बाटोमा रोक्ने,
त्यस्तै परे मार्ने छलफलको
निर्णय भएपछि बुबा र म गोरखपुर गयौं । त्यहाँको छलफलमा बहादुरसमशेरलाई मार्न जाने
धेरै निस्किए । रोमबहादुर थापा (पछि प्रहरी महानिरीक्षक) ले तीमध्ये ९ जना छाने ।
उनीहरूलाई एक-एकवटा पेस्तोल दिएर नौतनवा पठाइयो ।
टोली अर्को
स्टेशन नपुग्दै के थाहा पायों भने बहादुरशमशेर होइन, प्रचण्डशमशेर पो पाल्पा जाने भएछन् । तिनै प्रचण्डशमशेर, जसले हामीलाई पाल्पा धपाइँदैछ भन्ने सूचना दिएका थिए । उनले
त्यो कुरा कागजमा लेखेर पाँच दिन पहिला मेरा बुबालाई दिएका थिए ।
उनलाई
मार्ने कुरै भएन । त्यसपछि बुबा र रोमबहादुर थापा हतार-हतार बस चढेर मार्न हिँडेको
टोलीलाई रोक्न जानुभयो । बुबासँग टोली खुब रिसाएछ । क्रान्ति भनेपछि प्रचण्ड शमशेर
भए पनि छोड्नुहुँदैन भन्ने कुरा गरेछन् ।
त्यो
अवधिमा मैले बहादुरगञ्ज, कृष्णनगरलगायतका
मोर्चामा खटेका मुक्तिसेनाका लागि बिहार, उत्तर
प्रदेश र पश्चिम बंगालबाट हातहतियार, गोला-बारुद, खाकीका लुगाफाटा आदि सामग्री पुर्याउने काम गरेँ ।
नयाँदिल्लीको हैदरावाद हाउसमा बसिरहेका राजा त्रिभुवनसम्म पश्चिम मोर्चाको जानकारी
पुर्याउने काम पनि मेरै जिम्मामा थियो ।
विसं.
२००७ साल फागुन ४ गते बुबा र म राजा त्रिभुवनसँग एउटै जहाजमा नयाँदिल्लीबाट
काठमाडौं फर्कियौं ।
दुईपटक सर्वस्व
विसं. १९९० सालमा जुद्धशमशेरले पाल्पा धपाएका हामीलाई प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिमा लाग्दा मोहनशमशेरले फेरि सर्वस्वहरण गरे । त्यसबोला हामीसँग १२-१३ वटा हात्ती, हात्तीसार, खस्यौलीमा ९ वटा मोटर, ग्यारेज र जग्गा थियो । हामी काठमाडौं नआई झुक्याएर लखनउ गएपछि मोहनशमशेरले अहिलेको बुटवलमा रहेका ती सबै सम्पत्ति फौज पठाएर जफत गरे ।
विसं. १९९० सालमा जुद्धशमशेरले पाल्पा धपाएका हामीलाई प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिमा लाग्दा मोहनशमशेरले फेरि सर्वस्वहरण गरे । त्यसबोला हामीसँग १२-१३ वटा हात्ती, हात्तीसार, खस्यौलीमा ९ वटा मोटर, ग्यारेज र जग्गा थियो । हामी काठमाडौं नआई झुक्याएर लखनउ गएपछि मोहनशमशेरले अहिलेको बुटवलमा रहेका ती सबै सम्पत्ति फौज पठाएर जफत गरे ।
चारबुर्जा
दरबार जफत हुँदा हामीले एक पैसा मुआब्जा वा क्षतिपूर्ति पाएनौं । जुद्धशमशेरले
त्यो दरबार आफ्ना माइला छोरा बहादुरशमशेरलाई दिएछन् । हाम्रो अरु सम्पत्ति क-कसले
लिए, थाहा छैन । प्रजातन्त्र प्राप्तिपछि
हामी काठमाडौं आएर लीलाशमशेर काकाकोमा बस्यौं । लीलाशमशेरका छोराहरू छुट्टिएपछि
भने कहाँ जाने भन्ने भयो ।
क्रान्तिका
बेला कांग्रेस नेताहरूले हाम्रो सत्ता आएपछि सर्वस्वहरण हुँदाको सबै जग्गा फिर्ता
गर्छौं भनेर कसम खाएका थिए । तर, त्यो
बाचा पुरा गरेनन् । बाचामा चुकेकैले होला, नेताहरू
सबै खत्तम भए । हामी त खत्तम थियौं नै, उनीहरू
पनि खत्तम भए ।
राजा
महेन्द्रले २०२१ सालमा राणाहरूका विभिन्न दरबार अधिग्रहण गरेर प्रधानमन्त्रीनिवास, मन्त्री क्वार्टर बनाए । त्यसबेला सरकारले मुआब्जा दिएर
किनेको जग्गा पनि व्यक्तिका नाममा गरेको समाचारहरु अहिले आइरहेका छन् । लिनेले
सुटुक्क लिएछन्,
हामीले चाँहि जफत भएको जग्गा
पनि पाएका छैनौं । क्रान्तिमा हिँडेकाले उनीहरूको सम्पत्ति फिर्ता भएको हो भने
हामी पनि क्रान्तिमा नलागेको होइन । हामीलाई मात्र फिर्ता नदिँदा त अन्याय भयो नि
। यस्तो अन्याय गर्न मिल्छ ?
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर