Wednesday, April 15, 2020

समीक्षा : मगर जाति र भाषा


समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~
साहित्य संग्रहालय
Posted on January 2, 2019 by Editor
मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल थलो मान्छन् । गोर्खाली सेनासित लागेर मगरहरूको यो समूह पूर्वी नेपाल र उत्तर पूर्वी भारतसम्म पनि छरिएको छ ।
यस समूहका केही मगर बस्तीहरू त दैलेख र सुर्खेतमा पनि पाइन्छन् । मगरहरूको यस समूहले भाषालाई ‘ढुट’ भन्ने हुनाले यस समूहलाई अचेल ‘मगर ढुट’ भनेर पनि चिनिन्छ । रोल्पा, रुकुम र पश्चिम बाग्लुङको निसी र भुजी खोलातिर ठुलो सङ्ख्यामा बसोबास गर्ने मगरहरूको समूहले भाषालाई ‘पाङ’ भन्छन्, त्यसैले अचेल मगरहरूको यस समूहलाई ‘मगर पाङ’ अथवा ‘मगर खाम’ भन्ने चलन छ । तेस्रो किसिमको मगर भाषा बोल्नेहरू डोल्पामा बस्छन् । उनीहरू भाषालाई सम्भवतः ‘के’ मात्र भन्छन् ।
उनीहरू ‘काइके’ भाषा बोल्छन्, जहाँ ‘काइ’को अर्थ ‘अप्सरा’ होला, त्यसैले उनीहरूको भाषाको नाउँबाट ती मगरहरू आफ्नो भाषालाई अप्सराको भाषा ठान्छन् जस्तो लाग्छ । डोल्पामै ‘पुइके’ भाषा पनि भएको सूचना डा. दानराज रेग्मीले दिएका छन् । मेरा विचारमा पुइके मातृभाषीहरू पनि काइके भाषाको नजिकैको साइनो लाग्ने भाषा बोल्छन् होला, तर पुइके भाषा बोल्नेहरू आफुलाई मगर भनेर चिनाउँछन् कि चिनाउँदैनन्, त्यो चाहिँ मलाई थाहा छैन ।
भाषा वैज्ञानिक दृष्टिले काइके भाषाचाहिँ तिब्बती भाषासित नजिकैको ऐतिहासिक साइनो लाग्ने तामाङ, गुरुङ, थकाली, मनाङे, नार, फु, घले, दुरा, ह्लोमी, ह्योल्मोजस्ता भोट चिनियाँ भाषा परिवारमा पर्छ । संगीतमा ‘सा,रे,,म’ को फरक उच्चारण गर्न जसरी रुद्र घण्टी तल माथि सार्नुपर्छ, त्यसै गरी एउटै जस्तो लाग्ने अक्षरको उच्चारण गर्दा रुद्र घण्टी तल माथि सार्‍यो भने, यी भाषामा चिनियाँ भाषामा जस्तो नयाँ अर्थ दिने शब्दै बेग्लै बन्छन्, त्यसैले नेपाली मातृभाषा हुनेका कानमा एउटै जस्तो लाग्ने ‘ङा’ शब्दलाई रुद्र घण्टी तल माथि सारेर नुवाकोट रिसिङ्खुका तामाङहरूले चारओटा बेग्ला बेग्लै शब्द बनाए झैँ काइके भाषा बोल्ने वक्ताहरू पनि उच्चारणको फरकले एउटै अक्षरका कम्तीमा चार चार ओटा शब्द बनाउँछन् । रुद्र घण्टीको उँचाइको फरकले एउटै अक्षरका अनेक अर्थ बन्ने भाषालाई तानल भाषा भन्छन् । यस आधारमा डोल्पाका मगरहरूले बोल्ने काइके चाहिँ तानल भाषा हो । काइके भाषालाई पूर्णतः एकाक्षरी भाषा भन्न सकिन्छ ।
भाषा वैज्ञानिक दृष्टिले रोल्पा, रुकुम र पश्चिम बाग्लुङ अर्थात् गण्डकी र कर्णाली नदी बिचमा बसोबास गर्ने मगरहरूले बोल्ने भाषा (मगर पाङ् मगर खाम) झन्डै पूर्वी नेपालका राई लिम्बुले बोल्ने किराँती भाषा जस्तो छ । काइके भाषामा क्रियाहरू एकदम छोटा हुन्छन् भने, मगर पाङमा चाहिँ किराँती भाषामा जस्तै क्रियाहरू एकदम लामा हुन्छन् । धेरैजसो त एउटा क्रियाले नै पुरै वाक्यको काम गर्छ । नेपालीमा ‘कुट्यो’ भन्ने एउटा शब्दले पुग्ने ठाउँमा रुकुमको तकसेरातिर बोलिने मगर भाषामा (‘मलाई कुट्यो’, ‘हामी दुई जनालाई कुट्यो’, ‘हामी तिन जनालाई कुट्यो’, ‘तँलाई कुट्यो’, ‘तिमीहरू दुई जनालाई कुट्यो’, ‘तिमीहरू धेरै जनालाई कुट्यो’, ‘उसलाई कुट्यो’, ‘उनीहरू दुई जनालाई कुट्यो’ र ‘उनीहरू धेरै जनालाई कुट्यो’) नौ ओटा बेग्ला बेग्लै शब्द चाहिन्छन् ।
यस्ता भाषालाई सार्वनामिक भाषा भन्ने नाउँ हज्सनले दिएका छन् । नेपालमा सार्वनामिक भाषा बोल्ने यी मगर मात्र नभएर राजी, राउटे, व्यासी, चेपाङ, वनकरिया, हायु, राई र लिम्बु भाषाहरू पर्छन् । नेपालका भाषामा सरल सर्वनामीकरण र जटिल सर्वनामीकरण पाइन्छ । आर्य परिवारमा मैथिली र दराईमा जटिल सर्वनामीकरण पाइन्छ । झापा र मोरङमा बोलिने भोट बर्मेली धिमाल भाषा र परिवारमा कसैसित नमिल्ने कुसुन्डा भाषामा चाहिँ सरल सर्वनामीकरण पाइन्छ । मगर पाङ भित्रकै जटिल सर्वनामीकरणमा पनि पर्वते भाषिका जति जटिल त रोल्पामा बोलिने सेसी भाषिका पनि छैन । यसै मगर भाषाको गमाले भाषिका बुझ्न त यसै भाषाका अरु भाषिका बोल्नेहरूलाई पनि गारो पर्छ ।
सबैभन्दा पूर्वतिर बसोबास गर्ने मगरहरूले बोल्ने भाषालाई अचेल ‘मगर ढुट’ भन्ने चलन भएको कुरो माथि लेखीसकियो । मगर ढुट बोल्ने मगरहरूले नै सबभन्दा ठुलो भौगोलिक क्षेत्र ओगटेका छन्, सबभन्दा धेरै ऐतिहासिक सामग्री बटुलेका छन्, सबभन्दा धेरै राजनीतिक, प्रशासनिक र सैनिक शक्ति कमाएका छन् र नेपालको राष्ट्र निर्माणमा सबभन्दा ठुलो भूमिका पुरा गरेका छन् । यसै समूहका मगरहरू नै विश्वप्रसिद्ध पनि भएका छन् । मगर ढुटका कम्तीमा तिन ओटा भाषिका देखिन्छन् ।
लो बहादुर थापाले गरेको अनुसन्धान अनुसार, पश्चिम स्याङ्जा, पूर्वी स्याङ्जा र अन्यत्र गरी यो मगर भाषामा कम्तीमा तिन किसिमको क्षेत्रीय भेद देखिन्छ । पश्चिम स्याङ्जाको लसर्घामा ‘मैले खाएँ’ भन्नु पर्दा ‘ङाज्याङ्’ भन्नुपर्छ, पूर्वी स्याङ्जामा ‘ङाज्या’ भन्नुपर्छ र अन्यत्र ‘ज्याले’ भन्नुपर्छ । यस समूहका मगरहरूले अन्य भौतिक विकास धेरै गरेकाले होला, झन्डै ३०-३५ प्रतिशत मगरहरूले मात्र आफ्नो पुख्र्यौली भाषा बोल्न सक्छन् ।
हङ्गेरीका जातिहरू आफुलाई मग्यार भन्दछन्, कज्जाकहरू पनि आफुलाई मजर भन्छन् भन्ने मैले कतै पढेको थिएँ अनि मङ्गोलियाका बासिन्दा नै मङ्गोल हुन् । संसारभरकै एकनासे अनुहारको बान्की भएकालाई ‘मङ्गोलोइड’ (मङ्गोलियाका बासिन्दा जस्ता) भन्ने नाम बेलाइती मानवशास्त्रीले कुनै वेला दिए । भाषा विज्ञानको सन्धि नियम अनुसार, संसारभरका भाषामा लकार र रकार (वा रेफ) मा पारस्परिक परिवर्तन हुन्छ । यसरी ‘म-ग-र’ अनि ‘म-ग-ल’ व्यञ्जनबाट बनेका शब्द एउटै माउका सन्तान हुन सक्छन् । ऐतिहासिक भाषा विज्ञानको यसै सिद्धान्तका आधारमा मगर, मग्यार र मङ्गोलहरू पुर्ख्यौली साइनो लाग्ने हुन सक्छन् ।
मध्यएसियाको पुरातात्विक अन्वेषण र ऐतिहासिक खोजीका आधारमा मङ्गोल, तुर्क, कज्जाक, किर्घिज, युगुर, मन्चुहरू एउटै मूलका देखिन्छन् । जनकलाल शर्माले मगरहरू मध्य एसियाबाटै नेपाल आउने मङ्गोल हुन् भनेका छन् । अनुहार हेर्नु हो भने कज्जाक र किर्घिजहरूको अनुहार मगरहरूसित मिल्छ भने, मङ्गोलियाका बासिन्दाहरूको अनुहार चाहिँ तिब्बतीहरूसित मिल्छ । ‘राजा केसर’ भन्ने लोक महाकाव्य आज पनि तिब्बत र मङ्गोलियाका जातिहरूले साझा महाकाव्य वा गाथाका रूपमा गाउँछन् ।
मैले मगर ढुट र मग्यार (हङ्गेरियाली) भाषाका आधारभूत शब्दावलीमा १६ प्रतिशत समानता पाएको छु । यसका आधारमा मगर ढुट र मग्यार भाषा बोल्नेहरूका साझे पुर्खा झन्डै ६ हजार वर्ष अघि एउटै बगालमा थिए भन्ने निष्कर्ष निकालेको छु । तुर्की, हङ्गेरियाली, कोरियाली, जापानी आदि भाषाहरूलाई युराल-अल्टाइक भाषा परिवार भन्ने नाउँ दिइएको छ । यस भाषा परिवारको विशेषता के हुन्छ भने, यहाँ प्रेरणार्थक क्रिया अनेक पल्ट बनाउन सकिन्छ ।
जापानी भाषामा ‘ताबेरु’ भनेको ‘खानु’, ‘ताबेसासेरु’ भनेको ‘खुवाउनु’, ‘ताबेसासेसासेरु’ भनेको ‘खुवाउने पार्नु’, आदि । मगर भाषाका क्रियामा पनि त्यस्तै किसिमको प्रेरणार्थक क्रिया (हाट्के ‘उम्लिनु’-हाटाक्के ‘उमाल्नु’-हाटाकाक्के ‘उमाल्न लगाउनु’) बन्छ । मगर भाषामा जस्तो यस्तो प्रेरणार्थक क्रिया बन्ने नेपालमा अर्को भाषा छैन । यसरी एकातिर मगर भाषा युरालिक भाषा परिवारको छेउमा पुग्न सक्ने देखिन्छ भने, अर्कातिर यसमा भोट चिनियाँ भाषा परिवारका बेहोरा नै प्रशस्त देखिन्छ । यसरी मगर ढुट भाषा युरालिक बेहोरा मिसिएको भोट चिनिया भाषाका रूपमा चिनिने देखिन्छ ।
मगर पाङ वा मगर खामले पनि अनुसन्धानमा समस्या तेस्र्याएको छ । यो भाषा किराँती भाषाका बेहोराले समृद्ध छ भन्ने कुरो माथि नै उल्लेख गरियो, तर इतिहासमा कतै कतै मगर जातिलाई किराँती लेखेको पाइए पनि मगरलाई कसैले किराँती भनेर ठोकुवा गरेको छैन । डा. सुनीति कुमार चटर्जी (१९७४ ई०) ले ‘किरात-जन-कृति’ भन्ने किताबमा किराँती भनेर पूर्वी नेपालका राई लिम्बुलाई मात्र चिनाएका छन् । चटर्जीले चिरैतो पूर्वी नेपालका किराँतीहरू मात्र चलाउँछन् र चिरैतो शब्द संस्कृतको ‘किराततिक्त’ भन्ने शब्दबाट बनेको हो भन्ने व्युत्पत्ति निकालेका छन् । अथर्व वेद र अरू उत्तर वैदिक ग्रन्थहरूमा ‘किरात’ शब्द पाइन्छ ।
संस्कृत महाकवि भारविले ‘किरातार्जुनीय’ महाकाव्यमा किरात रूप शिवसित अर्जुनले युद्ध गरेको कुरो लेखेका छन् । किथ र म्याक्डोनेलले ‘वेदिक इन्डेक्स’ भन्ने कृतिमा वैदिक साहित्यका आधारमा बेग्लाबेग्लै देश र जाति क्षेत्र देखाउने नक्सा प्रकाशित गरेका छन् । त्यस नक्सामा किरातहरू बसोबास गर्ने क्षेत्र ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत पर्दैन, बरु गण्डकी र कर्णाली बिचको भूभाग देखाइएको छ । यसबाट इतिहासमा अर्को एउटा गाँठो के पर्छ भने, उत्तर वैदिक साहित्यले किरात भनेर चिनेको जाति चाहिँ रोल्पा र रुकुमको मगर थियो कि क्या हो ?


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...