भक्तपुरे रानीपोखरी
सभ्यता
विचारणीय कुरा के छ भने नेपालमण्डलका कुनै एक
मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई
समग्रमा बिर्सनुहुन्न । त्यो सम्पदाभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो ।
काठमाडौँ — भौतिक सम्पदा निर्माण गरेसँगै
त्यसलाई अभौतिक सम्पदाले समेत अपरिहार्य रूपमा सांस्कृतिकीकरण गर्दै लानु नेपाली
संस्कृतिको अतुल्य विशेषता रहेको छ । प्राचीन/मध्यकालीन सहरी सुन्दरता र प्रतिष्ठालाई आज पनि उत्तिकै बढाइरहेका तात्कालिक नेपालमण्डल (काठमाडौं उपत्यका) का अन्य पोखरीलगायत भक्तपुरको रानीपोखरी पनि यस कुराको अपवाद होइन ।
यी खुला स्थानका खुला
सम्पदा हुन् । कैयनकालदेखिका धूलोमाटो, घाँस, झारपातले ढाकेर जीर्ण अवस्थामा
पुगिसक्दा आज पनि यो उत्तिकै सुन्दर देखिन्छ । यसको सुन्दरताले पनि सहरको शोभा बढाएको छ । तर, योसित यसको स्थापनाकालदेखि गाँसिँदै आएको धार्मिक–सांस्कृतिक
सम्बन्ध वा संस्कृति वर्तमानमा खुम्चिन पुगेको छ, केही त लोप भइसके । केही सांंस्कृतिक–सास भने कुनै न कुनै रूपमा
अझै चलिरहेको छ ।
भक्तपुरको मध्यकालीन मूल
सहरीबस्ती बाहिर पश्चिममा, सल्लाघारी थुम्कोमै, मूल सडकको उत्तरपट्टि यो पोखरी रहेको छ । पूर्व–पश्चिम लाम्चो परेर आयताकार देखिने यस पोखरीको चारैतिर, भित्र बाहिरका पर्खालका भित्तामा माछाकाँडे
शैलीमा ठाडो इँटा छापेर बनेका अग्ला डिल छन्, जुन सडकभन्दा माथि छन् । त्यसो हुँदा सडकबाट यो पोखरी नदेखिएको हो । अर्को कुरा सो पोखरीको दक्षिणपट्टिको सतह घाँस झारपातले लगभग पूरै ढाकिएको र त्यतापट्टि पोखरी पस्ने मूल प्रवेशद्वारसहितको सत्तललगायतका अन्य कलाकृति पाताल भइसकेकाले पनि
त्यतातिर के छ भन्ने ध्यान कसैको जाँदैन । र, यो पोखरीलगायत यसको आसपासका बृहत् खुला स्थान, पुतलीबगैंचा, गौचर आदि विसं २०४० सालदेखि नेपाली सेनाअन्तर्गतमा गएको छ र पोखरी
परिसरका खुला स्थानमा सैनिक आवासीय महाविद्यालयका भवनसमेत उठेका छन् । त्यसो हुँदा सो पोखरी, खुला स्थान, गौचरलगायत ती सम्पदासित
गाँसिएर आएको सांस्कृतिक जीवन क्रमभंगको संघारमा पुगेको छ ।
विचारणीय कुरा के छ भने
नेपालमण्डलका कुनै एक मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई समग्रमा बिर्सनुहुन्न । त्यो युग कला वास्तुकला एवं अनेक नूतन शैलीहरू एकसाथ प्रवाहित हुन पुगेको प्रयोगात्मक युग थियो र अनुकरणको यस्तो प्रतिस्पर्धात्मक युगसमेत थियो जहाँ एकले अर्कोलाई उछिन्ने गरी बनेका सुन्दर एवं बेजोड कलाकृतिले विस्मयकारी रूपमा नेपालमण्डलको भण्डार
भरिन पुगेको थियो । त्यो भण्डारभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो ।
***
भक्तपुरको रानीपोखरी
नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका
हुन् । यस भेकका बृहत् खुला स्थानमा वा भनौं गढरूपको राजधानी सहरको पश्चिमपट्टिका गढपर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला
पोखरीहरू (इन्द्र दह/त:पुखु/सिद्धपोखरी : नेसं २३९/वि.सं.११७६), न:पुखु/गुह्यपोखरी नेसं २८९/विसं १२२६), भाज्या पुखु (सोह्रौं शताब्दीको पूर्वाद्र्ध
इसं) बनिसकेका थिए । यसो हुँदा जगज्योतिर्मल्ललाई यहाँ
पोखरी बनाउन ती पुराना सुन्दर भव्य पोखरीहरूले प्रेरित गरेको देखिन्छ । मल्लकालीन सहरी सुरक्षा वास्तुतिर दृष्टि दिँदा तत्कालीन समयमा सहर पस्ने, सहर बाहिर जाने पश्चिमतर्फका दुई मजबुत किल्लाका प्रवेशद्वारमध्ये
भार्वाचोढोका समीपमा बनेको पोखरी ‘भाज्यापुख’ु थियो भने इताछेंढोका समीपमा बनेको
पोखरी खु’ ‘न:पुथियो । अचम्मको कुरा देखिन्छ भने न:पुखुको सीधा ठीक पश्चिममा त:पुखु र लगभग त:पुखुको पनि सीधा पश्चिममा उस्तै दूरीमा यो रानीपोखरी बनेको छ । रानीपोखरीको मध्यभागमा गाडिएको काष्ठस्तम्भमा सुनको वासुकिनाग पनि प्रतिष्ठापित थियो । यसरी समान दूरीमा रहेका यी तीन पोखरीका अवस्थानबारेमा विचार गर्दा रानीपोखरीको निर्माणले अन्य दुई पुराना पोखरीलाई समेत पूर्णता प्रदान गरेको प्रतीत हुन्छ । यसैकारण यो पोखरीलाई भक्तपुरको सांस्कृतिक जीवनले पश्चिमतर्फ फर्केको एक विशाल नागको शिर, त:पुखुलाई सो नागको शरीर
र न:पुखुलाई सोही नागको पुच्छर भनी (मान्दै) आस्थाभाव प्रकट गर्दै आएको विदित
हुन्छ ।
मल्लकालमा, विशेषगरी कान्तिपुरका राजा प्रताप मल्ल र उनका
समकालीन भक्तपुरका राजा जगतप्रकाश मल्लबीचको राजनीतिक सम्बन्ध राम्रो थिएन । प्रताप मल्ल शैव तथा बौद्ध तान्त्रिक राजा थिए । भक्तपुरको रानीपोखरी बनेपछि चलेको लोक–आहान सायद उनले पनि सुनेका थिए । यसो हुँदा आफ्नो राज्यतिर लक्षित नागको शिर र अन्य सुन्दर सम्पदाले सुशोभित
यो पोखरी भताभुंग पार्ने दाउमा उनी थिए भन्ने अनुमान हुन्छ ।
ललितपुरसित मिलेर पहिले
भक्तपुर जित्ने र त्यसपछि ललितपुरलाई पनि जितेर सिंगो नेपालमण्डलको चक्रवर्ती
सम्राट् बन्ने ठूलो इच्छा प्रताप मल्लको थियो । सोहीअनुरूप उनले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा लगातार भनेजस्तै आक्रमण गर्न थाले । प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा जहिले पनि वनदुर्गको रूपमा रहेको, भक्तपुरको पुस्तैनी
अधिकारमा परेको भए तापनि लामो समयसम्म आफ्नो अधिकारमा पार्न सफल भएको चाँगुलाई
सैनिक मुकाम बनाएको देखिन्छ । यहीँबाट उनले नेसं ७८१(विसं १७१८) मा ललितपुरको समेत साथ पाएर, सैन्य तयारीका साथ भक्तपुरको उत्तरी किल्लाको रूपमा रहेको
महाकालीपीठसम्म अधिकार गर्न पुगेका थिए । र, यहीँबाट उनले नालालगायतका पूर्वी भेग पनि हान्न
पुगेका थिए । तर, सिंगो भक्तपुर सहर यक्ष मल्लको पालादेखि नै (सोह्रौं शताब्दीको
आरम्भदेखि) गहिरा खाई र अग्ला पर्खालले घेरिएको मजबुत गढ भएको हुनाले गढ–पर्खाल
फोडेर सहरभित्र पस्ने हिम्मत भने उनले गर्न सकेनन् । त्यसो भए तापनि उनले आफ्नो अधिकार भक्तपुर सहरको उत्तरी
भेगसम्म जमाउन आएको कुरा सांकेतिक रूपमा समेत जनाइराख्न एउटै बेहोराका दुईवटा
शिलालेख (नेसं ७८१) महाकालीपीठमा राख्न लगाए । ती शिलालेख अद्यापि छन् । त्यसपछि कायल भएर उनी कान्तिपुरतिर लाग्ने क्रममा भक्तपुरको सुरक्षा पर्खालबाहिरका भूभाग जस्तै : व्यासी, खौमाढोका र
इन्द्रायणीपीठ, कालीदह, इताछेँढोका र न:पुखु, भाज्यापुखु र सिद्धपोखरी हुँदै रानीपोखरी पुगे । यहाँ पुगेपछि उनलेआफ्नो राज्यतिर लक्षित नागको शिरको रूपमा रहेको रानीपोखरीलाई बिगारेर भक्तपुर जित्न नसकेको रोषलाई शान्त मात्र पारेनन्, यहाँका सुन्दर
कलाकृतिलगायत सुनको नागसमेत उठाएर लगी हनुमानढोका दरबार सजाए ।
***
कान्तिपुरको रानीपोखरी
प्रताप मल्लले नेसं ७९० (विसं १७२७) मा, आफ्ना दिवंगत पुत्र चक्रवर्तीन्द्र मल्लको स्मृतिमा बनाउन लगाएका
थिए । भक्तपुरको रानीपोखरी कान्तिपुरको रानीपोखरीभन्दा चालीस वर्षअघि बनेको थियो । र, त्योभन्दा पनि पुरानो भाज्या पुखु थियो जुन रानीपोखरीहरूभन्दा एक
शताब्दीअघि नै बनेको थियो । भाज्या पुखुको मध्यभागमा शिखरशैलीको सुन्दर मृन्मयमन्दिरसमेत थियो । कान्तिपुरको रानीपोखरीमा जस्तै सो पोखरीको मन्दिरमा पुग्नका लागि उस्तै आकर्षक पुल पनि बनेको थियो । यसप्रकार भक्तपुर सहरबाहिरका यी भव्य पोखरीबाट प्रेरित भएर प्रताप मल्लले आफ्नो देशमा पनि रानीपोखरी बनाउन लगाएको दृष्टिगोचर हुन्छ । भक्तपुर र कान्तिपुरका यी रानीपोखरीसित सम्बद्ध लिखित इतिहासमा (शिलालेखलगायतका अन्य अभिलेखीय सामग्री) पोखरीलाई ‘पुष्करणी’/‘पुखुरि’/‘पोषरि’
मात्र सम्बोधन गरिएको पाइन्छ । मौखिक इतिहासका दृष्टिले भने, राजाहरूले बनाउन लगाएकाले होला, ती पोखरीहरू स्वत:स्फूर्त रूपमा लौकिक जीवनमा ‘रानी
पुखु’/‘रानीपोखरी’ नामले प्रख्यात रहिआएको जानिन्छ ।
भक्तपुरको रानीपोखरी
जगज्योतिर्मल्लले सहरी सुन्दरता, शोभा र प्रतिष्ठाका लागि मात्र नभएर विशेषगरी पोखरीसित
धार्मिक–सांस्कृतिक अर्थ जोड्न चाहेका थिए । यो कुरा सो पोखरी परिसरमा प्रतिष्ठापित कुलदेवता/देवालीदेवताका आधारमा पनि जान्न सकिन्छ । प्रत्येक वर्ष अक्षय तृतीयाको दिनमा र त्यसपछि आउने पहिलो आइतबार वा बिहीबारका
दिनमा भक्तपुरको विविध जात वा थरका समुदायले सिद्धपोखरी, भाज्यापोखरी, कमलपोखरीलगायत यस रानीपोखरीमा आएर धुमधामका साथ कुलपूजा/देवालीपूजा
गर्छन् ।
त्यसैगरी पाँच दशकअघिसम्म पनि सिद्धपोखरी, भाज्या पोखरीलगायतमा समेत पनि स्नान कर्म, देवतर्पण, श्राद्ध, पितृतर्पण गर्न आउने चलन
रहेको ज्ञात हुन्छ । सिद्धपोखरीमा यो परम्परा आज पनि कायम छ ।
नेपालमा
उत्तरलिच्छविकालतिर स्वतन्त्र रूपले चलेका, तान्त्रिक स्वरूपका अनेक शैव सम्प्रदाय, उपसम्प्रदायहरूमध्ये एउटा वीरशैव वा लिंगायत
सम्प्रदाय पनि थियो । शरीरमा शिवलिंग धारण गर्नु यस सम्प्रदायको खास विशेषता हो । यस सम्प्रदायका आचार्य जंगम (लिंगीब्राह्मण) हुन् । भक्तपुरमा यस सम्प्रदायको गहिरो धार्मिक–सांस्कृतिक प्रभाव सातौं शताब्दीदेख रहिआएको देखिन्छ । विश्वेश्वर, वीरभद्र/विश्वनाथ भैरव+भद्रकाली वीरशैवहरूका कुलदेवता हुन् । भक्तपुरको प्रसिद्ध विस्केट जात्राका देवता पनि विश्वनाथभैरव+भद्रकाली हुन् । बिस्केट–संस्कृति यही सम्प्रदायको लोकप्रियताको उपज थियो भन्दा अतिशयोक्ति नहोला । नेपालमा यस सम्प्रदायको एक मात्र प्रधान मठ ‘जंगममठ’ हो जुन भक्तपुर राजदरबार समीपस्थ दक्षिणस्थित टौमढीटोलमा छ ।
जस्तो भारतको काशीस्थित जंगमबाडी मठ, उस्तै नेपालको भक्तपुरस्थित जंगममठ । दुवै देशका उही भैरवनाथ । उही भैरवनाथको शिर भने नेपालको भक्तपुरमा र शरीर भने भारतको काशीमा † भक्तपुरको सांस्कृतिक जीवन मात्र नभएर तात्कालिक मल्ल राजाहरूसमेत वीरशैव मतबाट प्रभावित थिए ।
यसैले यो सम्प्रदायलाई पनि राजकीय संरक्षण प्राप्त थियो । विश्व मल्ल, गंगा रानी, त्रैलोक्य मल्ल, त्रिभुवन मल्ललगायत जगज्योतिर्मल्ल उदाहरणीय छन् । जगज्योतिर्मल्लले रानीपोखरी बनाउन लगाएपछि यस पोखरीमा प्रतिष्ठापित चतुर्मुख शिवलिंग, भवानीशंकरलगायत वासुकिको
नित्य एवं वार्षिक पर्व पूजा गर्ने अभिभारा जंगममठलाई दिएको विदित हुन्छ । भक्तपुर जंगममठका पूर्वमठाधीश स्व.राममणि जंगम, भरतमणि जंगमहरूका अनुसार करिब चार दशकअघिसम्म
पनि सो परम्परा चलेको थियो । तर, नेपाली सेनाले विसं २०४० सालतिर त्यहाँ तारबार लगाएपछि भने
बाहिरबाट पूजा गर्न सम्भव नभएपछि टुटेको छ ।
राजधानी सहर र यसको
आसपासका अनुपम कलाकृतिको संरक्षण, संवद्र्धन गर्दै नूतन कलाकृतिसमेत थपेर सहरलाई सुन्दरीकरण गर्ने
भक्तपुरका एक प्रसिद्ध राजा जितामित्र मल्ल पनि हुन् । यस कुराको एउटा उदाहरण रानीपोखरी पनि हो । ४८ वर्षअघि, आफ्ना बाजेका पालामा, कान्तिपुरका राजाले बिगारिदिएको रानीपोखरीलाई उनले नेसं ७९८ (विसं
१७३५), माघशुक्ल श्रीपञ्चमीका दिनमा
जीर्णोद्धार गरी यसको सुन्दरता फर्काउन सफल भए । त्यस अवसरमा ‘मालश्री’ राग/भजनकीर्तनसँगै आफूले निमन्त्रण गरेका कान्तिपुर र ललितपुरका राजाहरूलाई
हर्षोल्लासका साथ स्वागत गरेका थिए ।
जसरी भक्तपुरको
रानीपोखरी भक्तपुर राजदरबारदेखि पश्चिममा रहेको छ, उसैगरी कान्तिपुरको रानीपोखरी हनुमानढोका राजदरबारदेखि पूर्वमा छ । यताबाट तत्कालीन समयमा जो कोही पनि सजिलैसित ती पोखरीहरू हुँदै हेर्दै, पवित्र तीर्थस्थलकै
रूपमा तीर्थस्नान, दर्शनपूजन गर्दै देश वा
सहर जान आउन सक्थे र सोही अभिप्रायले समेत बनेका थिए भन्ने कुरा विदित हुन्छ । त्यसैगरी मल्लकालमा राजनीतिक एवं कूटनीतिक दृष्टिले समेत सिद्धपोखरी रानीपोखरीहरू महत्त्वपूर्ण थिए । सहरी सीमाबाहिरका नाकामा यी पोखरीहरू खुला आकाशमुनिका खुला स्थानमा भएकाले कान्तिपुर, ललितपुर र अन्य राज्यका राजा, मन्त्री, भारदार आउँदा भक्तपुरका शासकहरू यहाँसम्म आएर स्वागत गर्दै
देशभित्र लान्थे । स्थानीयबासीका अनुसार यहाँ उहिले रानीपोखरीको नगरप्रवेश नाकामा दायाँ–बायाँ एक जोडी विशाल प्रस्तरसिंह
स्थापित नगरप्रवेशद्वारसमेत बनेको थियो । यो द्वार भत्किएपछि त्यहाँका प्रस्तरसिंहहरू
उठाएर ल्याई हालको भार्वाचोढोकाका दायाँ–बायाँ राखिएका थिए जुन अद्यापि देख्न
सकिन्छ । नेपालमण्डलका मल्ल राजाहरू राजनीतिक, कूटनीतिक वार्ता गर्ने उपयुक्त थलो रानीपोखरी एवं पोखरीको डिलका
सत्तल थिए । विदेशबाट स्वदेश फिरेका, तीर्थयात्राबाट सकुशल
फर्केका आफन्तहरूलाई सिद्धपोखरी, रानीपोखरीसम्म सांस्कृतिक–जुलुसले धुमधामका साथ बाजागाजा बजाएर लिन
गई देश वा सहर भित्र्याउने चलन चार–पाँच दशकअघिसम्म पनि खुब चलेको थियो । बदलिँदो परिवेशमा यो संस्कृतिले पनि अन्तिम
सुस्केरा हालिसकेको छ ।
मल्लकालको अवसानसँगै
हजारौं वर्षदेखि समृद्ध रहिआएको उच्चकोटिका, एकले अर्कोलाई उछिन्ने गरी बनेका कला वास्तुकलाको बेजोड लहर पनि
शान्त हुनपुग्यो । त्योसँगै विश्वश्रेणीका शिल्पी हातले पनि विश्रान्ति पाउँदै आए । रानीपोखरीले
पनि त्यही नियति छ, रानीपोखरी मध्यभागमा
वासुकिनाग पनि छैन । त्यहाँ वासुकिनाग रहने काष्ठस्तम्भको ठूटो अवशेष मात्र छ । पोखरीको दक्षिणपट्टि प्रतिष्ठापित भवानीशंकर, चतुर्मुख शिवलिंगका सुन्दर मूर्तिहरू शिरविहीन
सालिक, पद्माकृति, सत्तलका अवशेष आदि यत्रतत्र छरिएर, झारपातले पुरिएका छन् । ढुंगेसिँढी खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
***
समयको मारले निकै जीर्ण
भइसकेको एउटा मल्लकालीन सत्तल रानीपोखरीको दक्षिणपट्टिको डिलको मध्यभागमा थियो । उहिल्यै जीर्ण भएर ठाउँ–ठाउँमा यसका छाना, गारो भ्वाङ पर्दै
ह्वाङह्वाङती देखिन थालेपछि सात दशकअघिका लोकजीवनले यसलाई ‘ह्वाङ्ह्वाङ्–पाटी’
भन्न थाले । यो अरू सत्तलभन्दा केही भिन्नै शैलीस्वरूपमा बनेको अनौठो, सुन्दर सत्तल थियो । यसको मोहडा दक्षिणतर्फ फर्केको दुईतले थियो भने उत्तरतर्फ यो एकतले थियो । यसको दक्षिणपट्टि छिँडी तलामा अर्धगोलाकार, प्रस्तरनिर्मित प्रवेशद्वार बनेको थियो । सो द्वार छेपु, मकराकृति आदि सुन्दर आकृतिहरूले सजिएको कलात्मक
द्वार थियो । पोखरी पस्ने मुख्य द्वार पनि यही थियो । सो द्वारबाट भित्र पसेपछि बनेको ठाडो ढुंगेसिँढी हुँदै पोखरीमा पुगिन्थ्यो । सो सत्तलको उत्तरपट्टिको भित्तामा जगज्योतिर्मल्ल र उनका नाति
जितामित्र मल्लले राख्न लगाएका शिलालेख थिए । मलाई लाग्छ, अत्यन्त जीर्ण अवस्थामा
पुगेर पनि खडा रहेको सो सत्तल मैले हेर्दाहेर्दै प्रत्येक वर्षको वर्षात, घाम र हावाहुरीका मारले गल्दै गयो र विसं २०४०
सालपश्चात् कुन बेला गल्र्याम्मै ढलेर पाताल हुन पुग्यो पत्तै पाइएन । यसका अवशेष ता अद्यापि त्यहीँ छन् र जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखहरू पनि त्यही अवशेषमा पुरिन पुगेका छन् र खोतलेर हेरेको खण्डमा पुन: पत्ता लाग्नेछन् भन्ने कुरा निश्चितप्राय: छ ।
ललितपुरको हरसिद्धि नाच, कान्तिपुरको नरदेवी नाच बाह्र वर्षमा एकपल्ट
भक्तपुर राजदरबारमा देखाउन ल्याउने चलन छ । उहिले यी प्रसिद्ध नाचका गणहरू भक्तपुर आउँदा सर्वप्रथम रानीपोखरीको यही सत्तलमा विश्राम गर्थे र औपचारिक सूचना पाएपछि उनीहरूलाई स्वागत गरी सहरभित्र लाने प्रबन्ध
हुन्थ्यो । धार्मिक–सांस्कृतिक महत्त्व बोकेको सो सत्तल जीर्ण भएर ह्वाङ्ह्वाङ्–पाटीमा परिणत भएसँगै त्यो संस्कृति पनि हराउन पुग्यो ।
मल्लकालमा नेपालमण्डलका
राजा, मन्त्री, भारादार आदि उच्चपदस्थ व्यक्तित्वहरूसमेत
जम्काभेट हुने यो सत्तल पाताल भएसँगसँगै योसित जोडिएको एउटा संस्कृति पनि सुस्ताउन
पुग्यो जुन संस्कृति मल्लकालको अवसानपछि भने उदाउन पुगेको देखिन्छ । विसं १८२६ मा गोर्खालीहरूले भक्तपुर पनि जितेपछि मल्लकालीन भक्तपुर राजदरबारको राजनीतिक महत्त्व रहेन । मल्लहरूको मूल राजकीय बासस्थान यही दरबार थियो । यसैले यो नेपालमण्डलको सांस्कृतिक मूल थलोको रूपमा पनि रहिआएको थियो । मल्ल वंशको अवसान भए तापनि शाह वंशको ‘राजतन्त्र’ ले निरन्तरता पाएको थियो ।त्यसपछि कान्तिपुर नेपालको राजधानी भयो र सोहीअनुरूप मल्लकालीन हनुमानढोका राजदरबार नयाँ वंशको राजकीय बासस्थान बन्न पुग्यो । भक्तपुरको सांस्कृतिक
पहिचान बोकेको एक विशिष्ट पर्व बिस्केट जात्रा हो । यो जात्रा आरम्भ हुनु एक दिनअघि हनुमानढोका राजदरबारबाट राजप्रतिनिधिको रूपमा राजकीय खड्ग ल्याउने चलन थियो । सो खड्ग विधिवत् यही रानीपोखरीको सत्तलमा ल्याएर राखिन्थ्यो । त्यसपछि भक्तपुरतर्फका सम्बद्ध सांस्कृतिक समूहले त्यहाँ पुगी
मुहाली बाजा (पञ्चेबाजा) बजाएर सहर भित्र्याउने चलन थियो । अब त्यो सत्तल हाम्रोसामु छैन, त्यो सित गाँसिएर
बाँचेको संस्कृति पनि छैन ।
व्यवस्थित बस्ती बसाइ र
खुला स्थान एउटै सिक्काका दुई पाटा हुन् । परम्परित धारा, कुवा, पोखरी, मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटीपौवा गौचरन/चउर, खुला आकाशमुनिका खुला सम्पदा हुन् । ती हाम्रो देशका खुला संग्रहालय पनि हुन् । ती रहेसम्म सांस्कृतिक जीवनले सास फेर्न पाउँछन् र नरहे मर्छन् । पाँच दशकअघिसम्म पनि नेपालमण्डल संस्कृति र प्रकृतिको अनुपम मेलले सिँगारिएको सुन्दर बगैंचा थियो । आज यो अनेक कारणले कसरी कुरूप बन्दै गइरहेको छ त्यो सबैमा विदितै छ । यो बगैंचाका सुन्दर सम्पदाहरूमध्येको एउटा रानीपोखरी पनि हो । यो सम्पदा पहिले सांस्कृतिक जीवनको हो र त्यसपछि मात्र सरकार र सेनाको हो भन्ने कुरालाई पनि बिर्सनुहुन्न । यसैले नेपाली सेनाले पनि तारबार लगाएर हैन, हटाएर, सांस्कृतिक जीवनसित कुममा कुम मिलाएर यसलाई
पुनर्जीवन दिने पुण्य कार्यमा लाग्दा सबैको कल्याण हुनेछ भन्ने कुरामा दुईमत नहोला ।
सम्पदालाई बिगारेमा पाप
लाग्ला, सपारेमा पुण्य मिल्नेछ
भन्ने कुरा जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखमा खुलाएका छन् । सिद्धपोखरीको उद्धार गर्नमा अपार सफलता पाएको भक्तपुर नगरपालिकाले अहिले यस सहरका अनेक सम्पदालगायत भाज्यापुखु र यही रानीपोखरीको पुरानै शैली स्वरूपमा उद्धार गर्ने पुण्य कार्यमा लागिपरेको छ । भक्तपुर नगरपालिकालाई निश्चय नै पुण्य मिल्नेछ । बिनाविवाद कान्तिपुरको रानीपोखरीले पनि पुरानै शैलीमा सँगसँगै उठ्ने अवसर पाओस् ।प्रकाशित : मंसिर १५, २०७५ ०८:५०