Tuesday, January 22, 2019

'सिंहदरबार'बारे


'सिंहदरबार'बारे
कार्तिक १, २०७०कान्तिपुर संवाददाता
काठमाडौसिंहदरबार देशको सबभन्दा प्रमुख प्रशासनिक भवन मात्र होइन, वास्तुकलाको एउटा नमुना पनि हो । राजनीतिमा यो शब्दको जुन महत्त्व छ, भवन निर्माणमा पनि त्योभन्दा कम छैन । सिंहदरबार कसरी बनेको थियो ? यसका खास विशेषता के के हुन् त ?
१२  फागुनको एक दैनिकमा 'चमक र चर्चाविहीन सिंहदरबार' शीर्षकमा एक लेखकले लेखेका कुराहरूमा केही थपिदिन मन लाग्यो, भवानी भिक्षुले अरूको कथालाई आफ्नो आवृत्तिमा ढालेजस्तो । तर, यही दैनिक रोज्नुपर्ने भयो आफ्ना नियमित पाठकहरूसम्म पुग्नका लागि । अर्काेतिर, नलेखिहाले कतिपय कुरा विस्मृतितिर जाने डर पनि भयो । यसैले प्रसंग यसरी अघि बढ्न गएको छ 
एक
वि.सं. १९५८ सालमा टुखुचा खोलालाई कमलादी मोडबाट अरू पश्चिम धकेली वर्तमान बाटो अर्थात् सुरेन्द्रविक्रम शाहको दस्तावेजमा परेको 'मेथीबारी-हाकुत्वाम्'बाट हिँडाइयो । वर्तमान कालिकास्थानको पश्चिम भिरालोमुनि बग्ने त्यो टुखुचा यम्पी महाविहार गुठीको जग्गामाथिबाट बग्दै कालमोचनमा टुंगिन्थ्यो  कालिकास्थानको पुरानो नाउँ नै टुखुचाटार हो । यसरी टुखुचाको पिँधमाथि सिंहदबार बन्यो । मेथीबारी अहिलेको भृकुटीमण्डपको इलाका हो, हाकुत्वाम् अर्थात् शुद्ध रूप 'हाकुतफालोहँ' लाई अहिले बजवीर भैरव भन्छन्, जुन बागबजारको इलाका हो, पट्टाबुं अर्थात् ढिस्कोमाथि सेतो मच्छिन्द्रनाथको झन्डा गाडेर खेती गरिने ठाउँमा अहिले राष्ट्रिय सभागृह उभिएको छ, तर सिंहदरबार रहेको र वर्तमान अनामनगरको पुरानो इलाका खुसीबुं र बुल्लागाँ हो 
(
यो देखेर नै हुनुपर्छ टुँडीखेललाई अरू विस्तार गर्दा त्यहाँ जग्गा पर्न गएका कुडोलबासीहरूलाई जग्गा भर्ना दिन टुखुचाटारको पूर्वी भिरालोमा बगिरहेको धोबीखोलालाई भीमशमशेर राणाले पनि वर्तमान बानेश्वर हाइटतल सारिदिए । चन्द्र र भीम दुवैका प्रेरणा धादिङको गल्छीमा खोला मोड्ने फौदसिंह खत्री हुन्, जसबाट 'हाँस्यो कि नास्यो' भन्ने उखान बनेको छ, न कि भन्ने गरिएजस्तो चन्द्रशमशेरबाट ।)
दुई
बेलायतमा बनेका अर्ल र ड्युकहरूका दरबारहरूका सबै पाटा (फसादहरू) का तस्बिरहरूको एउटा मोटो एल्बम थियो । त्यही एल्बम हेरी फसादहरू आफ्नो रुचिअनुसार फ्युजन गर्ने एउटा भित्री चलन थियो । अन्तिममा यो एल्बम सम्भवतः डिल्लीजंग थापाको हातमा परेको थियो । त्यताबाट अन्यत्र लागेको पनि हुन सक्छ (जसको एरियामा अहिले कालिकास्थानमा ठूलो घर बनिरहेको छ । यद्यपि, डिल्लीबजार डिल्लीजंगबाट होइन, डिल्लीमान सिंह बस्नेतको नाममा बसेको बजार हो । १९९० सालमा किशोरनरसिंह राणाको डिजाइनको शीतलनिवास भत्केपछि त्यसको वर्तमान डिजाइन थापाले नै तयार गरेका हुन् । शीतलनिवास र रमागृहका भित्ताका रङहरू पुराना भवनहरूको भन्दा भिन्न रह्यो । त्यो सोच पनि उनकै हो ।) त्यसैबाट राम्राराम्रा फसादहरूको फ्युजन गरेर सिंहदरबार पनि बनेको हो 
तीन
सन् १९०१ जोन मार्सल र चन्द्रशमशेर राणा दुवैको कार्यभार सुरु भएको वर्ष हो  मार्सलले नै ताजमहलको जीर्णोद्वार र त्यसका बगैंचाको रि-डिजाइन गरेका थिए, जसअन्तर्गत अघिल्लो पाटोदेखि द्वारसम्मको लामो पोखरी तय भएको थियो  त्यसैको प्रेरणा हो सिंहदरबारअघिको लामो पोखरी र बीचको फोहराको 
(
तर, यसको अर्थ मुगल बगैंचाको प्रेरणा भन्ने होइन । यस्तो प्रेरणाको एउटै नमुना खड्गनरसिंह राणाको इचंगु बगैंचामा मार्बलमाथिबाट पानी खसेर तल पानीको पर्दा 'क्यासकेड' बनाउने तरिकामा देखिन्छ, जुन बगैंचा अहिले विदुर धमलाको हातमा छ) 
गोल्ड फिस भीमसेन थापाकै बेला आइसकेको थियो । तर, जापानी रातो माछा -कोई कार्प) रानीपोखरी, कमलपोखरी, राजराजेश्वरीको पोखरीदेखि सिंहदरबारको पोखरीसम्म यही बेला विस्तार भएको थियो । पोखरीहरूको पिँधमा समेत नीलै रङ लगाउने चलनचाहिँ पुरानै हो । पाल्पाको रानीमहल कर्णेल इन्द्रबहादुर कार्कीले डिजाइन गरेपछि, त्यहाँको पोखरीमा पनि नीलै रङ लगाइएको थियो 
चार
इँटको साँचो त्यतिबेला दुईओटा थिए । एउटा निजी प्रयोजनमा बन्ने भवनका लागि, अर्काे केही शुल्क लिएर भट्टा चलाउन अनुमति दिइएकाहरूका लागि । पहिलोको प्रेरणा वीरशमशेर राणाको साँचो हो, दोस्रोको प्रेरणा 'लोभ' हो । यसैले पहिलो साँचो मोटो, गहु्रंगो र एउटै साइजको छ- एक नम्बर पोलाइको हो  दोस्रो, पातलो, हल्का र भिन्न साइजहरूका - दुई नम्बर र कहिलेकाहीँ तीन नम्बर पोलाइको हो । अर्थात्, सिंहदरबार आफ्नै भट्टाले बनेको हो । भट्टा त्यतिबेला कुरियागाउँमा राखिएको थियो, जसको एउटा पाटोमा पछि बबरमहल बन्यो  सन् १९१४ सँगै निजी भट्टाहरूसँग चन्द्रशमशेर प्रशासनले पूरै सम्झौता गरेको देखिन्छ । पहिलो विश्वयुद्धमा अंग्रेजहरूलाई सघाउने अभियानले परोक्ष प्रभाव पारेको हुनुपर्छ 
पाँच
सिंहदरबारका पछिल्ला इन्टेरियर डेकोरेटर टेकनरसिंह राणा हुन् । त्यसको फर्निचर चयन र कोठाहरूको रङको चयन पनि उनकै हो (जसरी कि समाज कल्याण परिषद्का फर्निचरहरूको डिजाइन आदित्यशमशेर राणाको हो र त्यसको माध्यम अर्थात् जंगली सिसौ/डाल्बर्गिया ल्याटिफोलियाको चयन पनि उनकै हो) 
सिंहदरबारभित्र लगाइएका किपका फूलहरूको अत्तर बन्थ्यो । किपको अत्तरलाई निरोली भन्छन्  व्रतबन्धमा कपासको फूलमा छर्किइने अत्तर यही निरोली हो । निरोली पाउन छाडेपछि किप नै प्रयोग गर्ने, त्यो पनि पाउन छाडेपछि कुनै पनि बिजुलायुक्त फल (कागती, सुन्तलाजस्ता सिट्रस) प्रयोग गर्ने चलन आएको हो 
सिंहदरबारभित्रैका कपुरका रूखहरूबाट वाष्पीकरण गरी कपुरको डल्ला पनि बनाइन्थ्यो । अन्तिम प्राविधिक नन्दराम माली हुन् । अहिले गैरकाष्ठ वन पैदावारको जुन हल्ला गरिन्छ, जो त्यही बेला सुरु भइसकेको थियो 

उत्तर-पश्चिम कुनाको पर्खाललाई त्यहाँसम्म ल्याइनुको कारण थियो, स्थानीय मूल र टुखुचाको एउटा भंगालोबाट चल्ने पानीढिकी अर्थात् पैसा छाप्ने टक्सारलाई बन्द गरेर कम्पाउन्डभित्र पार्नु र उल्टै धानखेती गर्नु । यहीँ पहिलोपल्ट थापाचिनी धान लगाइयो, प्रायोगिक रूपमा । यो चिनी अर्थात् गुलियो भनिएको हो । किनभने, थापाचिनी धान जापोनिका वर्गको होइन, इन्डिका वर्गको हो, जसको खेती अचेल जुम्लाको असिज्यूलादरा भेगतिर हुन्छ । नाममा परेको थापा सम्भवतः नेत्रजंग थापाको नाममा राखिएको हो 
पर्खालबाहिरको धापको नाउँ झोलपाखा हो, अचेल न्युप्लाजा हुन पुगेको छ । न्युप्लाजापूर्वको घना बाँसघारी बाँसले गोली (स्नाइपर) छेक्ने हुनाले कसैले सिंहदरबारमा नताकोस् भनेर टारमा जोगाइएको वनस्पति हो, जसरी नारायणहिटीको पूर्वपट्टि पनि घना बाँसघारी छ 

सात
सिंहदरबारको माथिल्लो कौशी कैलाशबाट उपत्यकाको भिरालोका सबै जंगलको निरीक्षण हुन्थ्यो । विदेशी पाहुनाले हेर्दा भिरालो नांगो नदेखियोस् भन्ने ठूलो प्रयत्न थियो । जंगीलाठ (अहिलेको प्रधानसेनापति)सम्मलाई पनि भिरालोको काठ काट्न दिइँदैनथ्यो । भीमशमशेरलाई नदिँदा नै काठमहालका तत्कालीन तालुकदार खरदार बाबुराम आचार्य -पछि इतिहास शिरोमणि)को जीवनभर पदोन्नति नभएको हो  सामुन्ने परेको छहराको जंगल अर्थात् चन्द्रागिरीदेखि चाल्नाखेलसम्मको जंगल, जसलाई सर्वाैषधि जंगल पनि भनिन्थ्यो, विशेष निगरानीमा थियो । जंगबहादुरले विदेशबाट जडीबुटी झिकाएर लगाइदिएकाले त्यसपछि सर्वाैषधि जंगल भन्न थालिएको हो । जे. कोलियरको प्रतिवेदनको आधारमा भारतमा रेलवे स्लिपरको निम्ति तराईको जंगल विनाश गरे पनि उपत्यकाको जंगलमाथि अहिलेको भन्दा धेरै संवेदनशीलता कैलाशमा थियो 
आठ
सिंहदरबारअघिको पुतलीसडक १९९० को भुइँचालोपछि सुरेन्द्रशमशेर राणा र गेहेन्द्रबहादुर शाहको निर्देशनमा बनेको हो । तर, यसको नाम पुतली जुद्धशमशेरकी कुनै पत्नी पुतलीबाट बनेको होइन, त्यस्तो नामकी पत्नी उनका थिएनन् । यो ठोकुवा नै हो । न पुतली बगैंचाबाट बनेको हो । सडक बनिसकेपछि नामको खोजी हुँदा त्यस भेगमा बेपत्तासँग फुल्ने पुतली फूल (पानको पातजस्तो पात, लहरा भएको, नीलो र सेतो सोलीजस्तो फूल फुल्ने बिरुवा, विज्ञानमा आइपमिया पर्परिया) बाट पुतलीसडक नाम दिने यी पात्रहरू नातेदार नै हुन् । त्यहीबेला बनेको नयाँसडक निर्माणको तालुकदारचाहिँ सूर्यजंग थापा हुन् । नयाँसडक बन्नुअघिको यसको नाम 'ठूलोबारी' हो 
नौ
नेपालभरिको सबैभन्दा मीठो आँपको बोट यसैको पहिलो चोकमा रहेको बोटलाई मानिन्थ्यो । यद्यपि, यो कुन जातको हो, अहिलेसम्म यकिन भएजस्तो लाग्दैन । तर, सुप्रसिद्ध अल्फोन्सो जात पृथ्वीवीरविक्रम शाहकै बेलामा नेपाल आइसकेको थियो । वासन्ती, सफेदा, मालदह आदिआदि धेरै पुराना नै हुन् । जाफरान मात्रै जिया उल हकको सौजन्यले भित्रिएको हो । प्रत्येक बिहान हेलम्बु-सुन्दरीजल हुँदै पातहरूले बेरिएको भाँडोभित्र बरफ भित्रिन्थ्यो, हरेक बिहान मुख धुनलाई मात्रै मच्छेगाउँको दूधपोखरीबाट पानी भित्रिन्थ्यो 
दस
जुन बैठकहरू जलेर ध्वस्त भए, त्यसमध्येको केहीमा त्यही कम्पनीको ग्लास थियो, जुनले भ्याटिकनको सेन्ट पिटर ब्यासिलिकालाई सप्लाई गथ्र्यो र केही ग्लासहरू बाहिर देखिने भित्र देख्न नसकिने खालका थिए भन्ने पनि भनाइ छ । विभिन्न स्वरूपहरू देखिने ऐना 'कने आइल्यान्ड मिरर' त हो नै । चट्याङ नपर्ने गरी बनाइएको पहिलो भवन पनि भनिन्थ्यो । यसको अर्थ अर्थिङ गरिएको भन्ने पनि हुन सक्छ 
एघार
ठूलो कटुस (क्यास्टेइना सटिभा), कार्नेसन (संस्कृतमा पदमलवङ/डियान्थस कार्याफाइलस), विदेशी फिरफिरे (मेपल/एसर पाल्माटम), जिङ्को बाइलोबा, म्याग्नोलिया सौलानजियानाजस्ता असंख्य वनस्पति यहीँको काठघरबाट अन्यत्र विस्तारित भएका हुन् (टुँडिखेलमा सुबेदार चन्द्रबहादुर थापाले रोपेको जिङ्कोबाहेक) । यसका पछिल्ला संयोजनकर्ता सोमशमशेर राणा हुन् र अघिल्ला आपूर्तिकर्ता हर्षजंग थापा हुन् । मुख्य स्रोत, कलकत्ताको ग्लोब नर्सरी र सहायक स्रोत देव नर्सरी हो  देव नर्सरी बबरमहलको चाहिँ केहीमध्ये एक उल्लेखनीय आपूर्तिकर्ता हो 
बाह्र
पुरानो ढोका, त्यस ढोकाभित्रको तोपको मोहरीले धरहराको बार्दली ताक्ने गरी राखिएको थियो, पछिको ढोका बन्दा त्यस्तो कुनै विचार रहेन, ढोकाले छेक्यो भन्ने भनाइ छ । यद्यपि, त्यस्तो लाग्दैन 
अन्त्यमा,
सिंहदरबारको ढोकामा कडिकडाउका कारण एक कुख्यात पाले बस्थे । तिनको अनुहार र काठमाडौंको एक प्रतिष्ठित ट्युसन मास्टरको अनुहार 'आइडेन्टिकल ट्वीन्स'को छ भन्ने काठमाडौंमा खुसखुस थियो र अन्त्यमा भनिन्थ्यो, 'अनुहारचाहिँ ठ्याम्मै चन्द्रशमशेरको जस्तो ' मानौं, चन्द्रशमशेर बितेपछि पनि छोराको अवतारमा आफ्नो दरबारको पहरा दिइरहेछन् 
थप कुरा
२०३० सालमा आगलागी भएपछि त्यो बेलाका जनताले पुनर्निमाणका निम्ति तलब काटेर र चन्दा उठाएर सरकारलाई बुझाएको कुल रकम २ करोड हो । जब कि त्यसको दुई वर्षअघि मात्र तत्कालीन नेपाल वायुसेवा निगमको भवन २७ लाखमा बनेको हो  अर्थात् सिंहदरबारलाई पुरानै आयतन ढाक्ने गरी, पुरानै शान र ढाँचामा निर्माण गर्न सरकारसँग पैसा थिएन भन्ने होइन । बरु, वीरेन्द्रसँग जाँगर थिएन र सरकारहरूसँग इमानदारी थिएन । वीरेन्द्रको सधैं प्रशंसा गरेर मात्र हुँदैन 
प्रकाशित : कार्तिक २, २०७० ११:४७

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...