Thursday, June 18, 2020

२०३० सालमा बिराटनगरबाट काठ्माण्डौ तर्फ उडेको विमान अपहरण


From Facebook
((जहाज अवतरण भएको चौरमा सुशील कोइराला, मनोहरि बराल र विनोद अर्याल ‘स्टेन्डबाई’ हुनुहुन्थ्यो। अलिक अगाडि गिरिजाप्रसाद र त्यसभन्दा अगाडि बीपीसँग भेट भयो । गिरिजाबाबुले एउटा र बीपीले दुई वटा बाकस गाडीमा हाले । त्यो रात हामी सिक्किम पुग्यौं।))
२०३० सालमा बिराटनगरबाट काठ्माण्डौ तर्फ उडेको विमान अपहरण गर्दाको नायिके, म दुर्गा सवेदी।
पार्टी सञ्चालन गर्न पनि सम्पत्ति चाहिन्छ । त्यतिबेला बैंक लुट्ने योजना थियो । इनरुवा र रंगेलीका बैंक लुट्न मैले नै ‘रेकी’ गरेको थिएँ तर सम्भव भएन। बैंक लुट्ने योजना असफल भएपछि गिरिजाप्रसाद कोइराला व्यक्ति लुट्नुपर्छ भन्न थाल्नुभयो। घरमा पस्ने, बन्दुक देखाउने र पैसा लुट्ने । नगेन्द्रप्रसाद रिजाल, शम्भु रिजाल र नारायणप्रसाद कोइरालालाई लुट्ने योजना थियो । नारायणप्रसाद गिरिजाप्रसादकै काका हुन् । व्यक्तिलाई लुट्न बीपीले मान्नु भएन ।
जेलबाट छुटेपछि मैले गिरिजाबाबुलाई भेटें । उहाँले त राष्ट्र बैंक नै लुट्ने प्रयास गर्नुभएको रहेछ । मैले त्यही किताब पढेको आधारमा ‘बन्धक बनाएर पनि पैसा प्राप्त गर्न सकिँदो रहेछ नि’ भनें । उहाँले ‘बन्धक त बनाउनु हुन्न’ भन्नुभयो। जहाज उडेपछि म पहिले ककपिटमा छिरें। गोजीबाट रिभल्बर निकालेर पाइलटको गर्धनमा तेस्र्याएँ। वसन्तजी पनि मसँगै पस्नुभयो । उहाँ त लडाकु पनि हो ।
हामी अघिल्ला दुई वटा सिटमा बसेका थियौं । त्यहाँ बसेका यात्रीलाई ‘सिन’ हेर्न भन्दै अर्को सिटमा पठाएका थियौं । हामी सबै विराटनगरका मान्छे, भन्नेबित्तिकै छाडिदिए । त्यसपछि जबर्जस्ती ककपिटमा पस्यौं ।
ककपिटमा पस्नासाथ वसन्तजीले को-पाइलटलाई पक्रिनुभयो, मैले पाइलटलाई । पाइलट आत्तिए र प्लेन त सुत्त तल झर्‍यो । वसन्तले को-पाइलटको कानमा लाउने सञ्चार उपकरण खोसे । मैले पनि पाइलटको उपकरण खोसें । टावरसँग सम्पर्क विच्छेद भयो ।
पाइलटले ‘यो के गरेको’ भने । मैले ‘हामीले भनेको ठाउँमा पुर्‍याउनूस्, तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ’ भनें । उनले फेरि प्लेन माथि उठाए । र, अगाडि बढाए ।
मैले भनें, ‘किन अघि बढाएको ?’ उनले भने, ‘थोडा गाडी हो र तपाईंले भनेबमोजिम रोक्न सक्छु र यो त बढिरहन्छ ।’ कोशी कटेर जहाज पश्चिमतिर बढिरहेको थियो ।
रिभल्बरले पाइलटको गर्धनमा धेरै घोचेको थियो । उनले ‘यसले धेरै घोच्यो अलिक पछि हटाउनूस्, अनि सल्लाह गर्छु’ भने । उनले भनेको मान्न मन तयार थियो तर हात आफ्नै नियन्त्रणमा थिएन ।
पाइलटले बल्ल ‘तपाईंहरूको ठाउँ कहाँ हो बताउनूस्’ भने । मैले ‘फारबिसगञ्ज, विराटनगरबाट दक्षिण पर्छ’ भनें । उनले सोधे, ‘कति नटिकल माइल ?’ मलाई नटिकल माइल थाहा थिएन । ‘तल रेलको लिक देखिएपछि थाहा हुन्छ । जोगवनीबाट ५० देखि ६० किलोमिटरजति पर्छ’ भनें । उनले ‘त्यसरी त जान सकिँदैन’ भने ।
मैले ‘तै पनि फर्काउनूस्’ भनें । उनले फर्काए । जहाज त बंगालतिर पुगिसकेछ । तलका गाउँ, ठाउँ केही थाहा नहुने । मैले ‘वीरपुरमा ल्यान्ड गरौं’ भनेँ । उनले ‘होइन, त्यहाँ एयरपोर्ट छ, विराटनगर फर्कौं’ भने ।
भनेको ठाउँमा गएनौ भने हामी एक मिनटमा सिद्धिन्छौं । कसैको बाँच्ने आशा रहँदैन । हामीले भनेकै ठाउँमा पुग्नु पर्छ,’ हामीले भन्यौं । पाइलटले ‘कसरी पुग्ने’ भने । हामीले भन्यौं, ‘फेरि घुमौं । तल लैजानूस् । धेरै तल जान सकिँदैन तर धेरै माथिबाट देखिँदैन ।’
त्यसबेला फारबिसगञ्जबाट वीरपुरसम्म ढुंगा ओसार्न रेल चल्थ्यो । पाइलटलाई भनें, ‘वीरपुर-फारबिसगञ्ज रेलको लिकै लिक हिंड्नूस्, हामीले भनेको ठाउँमा पुगिन्छ ।’
कांग्रेसले गरिबका पक्षमा आवाज उठायो तर धनीमानीका सन्तानलाई राजनीतिमा ल्यायो र त्यसैलाई निरन्तरता दियो ।
त्यो रेलको लिक टुंगिएपछि फारबिसगञ्ज पुगिन्थ्यो । पाँच मिनटमै पुग्यौं हामी । हामीले भनेझैं एउटा ठूलो सिमलको रुख र नजिकै चौर देखियो ।
पाइलटको मनस्थिति बदलियो । उनलाई बाँचिँदैन भन्ने लागेको थियो होला । यात्री सबैको ओठ, तालु सुकेको थियो । तर, कुनै यात्रीले केही भनेनन् । हामी दुई जना ककपिटमा थियौं । नगेन्द्र बाहिर रिभल्बर तेस्र्याएर बसेका थिए ।
भरखरै बिहे भएकी एक महिलाले आत्तिएर सोधिन्, ‘दाजु के गरेको यो ?’ मैले उनीतिर ध्यानै दिइनँ । चौरमा जहाज अवतरण भयो । हामी उत्रियौं, बाहिर साथीहरू हामीलाई पर्खेर बसिरहेका थिए । जहाजको लगेजमा धेरै आँप रहेछ । आँप सबै फ्याँकिदिएँ । १०/१० लाखका तीन वटा डब्बा गाडीमा हाल्यौं । जहाज छाडेर हिँड्यौं ।
फर्किने बेलामा पाइलटलाई भनें, ‘हाम्रो मिसन पूरा भएको छ । प्यासेन्जरलाई सुरक्षित तवरले विराटनगर लिएर जानूस् । अब काठमाडौं पुग्न सक्नु हुन्न । सामान त हामीले लिइसक्यौं ।’
जहाज अवतरण गरिसकेपछि पाइलटलाई इन्जिन बन्द गर्न दिएको थिइनँ । बन्द गर्दा फेरि ‘स्टार्ट’ नहुन पनि सक्थ्यो । सबै साथी उत्रिसकेपछि मात्र म उत्रें । जहाज अवतरण भएको चौरमा सुशील कोइराला, मनोहरि बराल र विनोद अर्याल ‘स्टेन्डबाई’ हुनुहुन्थ्यो । अलिक अगाडि गिरिजाप्रसाद र त्यसभन्दा अगाडि बीपीसँग भेट भयो । गिरिजाबाबुले एउटा र बीपीले दुई वटा बाकस गाडीमा हाले । त्यो रात हामी सिक्किम पुग्यौं ।
विहार र पश्चिमबंगालको सीमा अररियामा ढाट थियो, जहाँ प्रहरीको जाँच हुन्थ्यो । नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा बीपीसँग प्रहरीका सुरक्षा गार्ड थिए ।
उहाँको गाडीलाई रोके पनि सुरक्षा गार्ड देखेपछि छोडिहाल्यो । हाम्रो गाडी रोकेर चेक गर्नुपर्‍यो भन्यो । गिरिजाप्रसाद र सुशील पनि सँगै थिए । मसँग एउटा रिभल्बर पनि थियो । हामीले ‘होइन, होइन, हाम्रा मालिक अगाडि गइसके । यहाँ के सामान छ हामीलाई थाहा छैन’ भन्यौं ।
एउटा हवल्दारले अर्को प्रहरी पनि बोलायो । उसले त ‘इसको छोडेंगे नहीं’ भन्छ । अनि मैले पनि ‘जो लेना है लिजिए । छोड्दो हमको’ भनें । १० रुपैयाँ दिएको मानेन । मैले भनें, ‘कितना चाहिए ?’ उसले ‘२० रुपैयाँ’ भन्यो । पैसा दिएर अगाडि बढ्यौं ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...