Friday, February 07, 2020

छाउगोठ भत्काउँदा प्रहरी कुटिए


छाउगोठ भत्काउँदा प्रहरी कुटिए
माघ २०, २०७६मेनुका ढुंगाना
अछाम — अछाममा छाउगोठ भत्काउने अभियानमा खटिएका प्रहरीका अनुभव नमिठा छन् । थोरैले साथ दिएका छन् भने धेरैले अवरोध गरिरहेका छन् । 
छाउगोठ भत्काउँदा शनिबार एक प्रहरी हवल्दार कुटएिका छन् । बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलकी एक महिलाले प्रहरी चौकी जगढका हवल्दार धनबहादुर कैलालाई भैंसी बाँध्ने किलाले हिर्काएकी हुन् ।
घटनामा उनको ढाडमा चोट लागेको छ । ‘छाउगोठ भत्काउँदा देउता आएको भन्दै ती महिलाले प्रहरीमाथि हातपात गरेकी हुन्,’ अछामका प्रहरी प्रमुख दीपक भारतीले भने, ‘उनलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।’ छाउगोठ भत्काउन जाँदा असहयोग गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

चौरपाटी गाउँपालिका–४ पायलस्थित मष्टामाडौं आधारभूत विद्यालयका शिक्षक खम्मसिंह धामी पक्राउ परेका छन् । छाउगोठ भत्काउन असहयोग गरेको र वडाध्यक्षलाई जातीय गालीगलौज गरेको उजुरी आएपछि उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले मुद्दा नै दर्ता गरेको छ । वडाध्यक्ष हर्क लोहारले प्रहरीमा उजुरी दिएका थिए । नेपाल शिक्षक संघ चौरपाटी गाउँपालिकाले भने झूटो आरोप लगाई धामीको चरित्र हत्या गरिएको आरोप लगाएको छ ।

अछाममा अभियान सुरु गरेको डेढ महिनामा अछाममा ४ हजार ७ सय ३३ छाउगोठ भत्काइएका छन् । छाउ बार्न गोठमा बसेका बेला गत मंसिर १५ को राति साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको थियो । उक्त घटनापछि संघीय सरकारले छाउगोठ हटाउने अभियान चलाएको छ ।
प्रकाशित : माघ २०, २०७६ ०८:४८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...