गुमाउँदै विरासत
सरस्वती हृदयालंकार नामक संगीतग्रन्थ
सिमरौनगढका महराज न्यानसिंह देवद्वारा एक हजार इ. मा लेखिनुले नै मैथिली संगीतको
पाकोपनालाई दर्साउँछ । मिथिलाका प्रसिद्ध संगीत घरानामध्ये अहिले अमता घरान मात्रै अस्तित्वमा छ । रामचतुर मल्लिक, विदुर मल्लिक, अभय मल्लिक गायकीमा आदरपूर्वक लिइने नाम हो ।
माँगैन खवासका गायिकीलाई पछ्याउनेहरू पनि देखापरेका छैनन् । दरभंगा राजघरानामै आश्रित ती संगीत घरानासँगै कुनै बेला उस्ताद बिसमिल्लाह खानजस्ता महान् संगीतज्ञ हुर्किए, दरभंगा अहिले आफैं खण्डहरमा रूपान्तरित भइसकेको छ ।
मैथिली संगीतको अवस्था दक्षिण एसियाको अन्य भाषिक, सांस्कृतिक समुदायभन्दा पृथक् छैन । इथ्निक संगीतको स्रोत र आधार लोकसंगीतभित्र नै खोज्नुपर्ने हुन्छ । मान्छेको डीएनए परीक्षण गर्दा देखिने मिश्रणले जसरी जातीय श्रेष्ठताको दम्भलाई धराशायी पार्छ त्यसरी नै संगीतको डीएनए परीक्षण गर्दा आफ्नो रैथानेपनप्रति आशंका जन्माउँछ ।
मैथिलीमा गीत–संगीत
सबभन्दा शक्तिशाली विधा हो । अनुष्ठान,
श्रम, संस्कारका कुनै चरण गीतबिना पूर्णता पाउँदैन । धेरैजसो अवस्थामा वाद्यको प्रयोग हुँदैन । वाद्य नहुनाका कारण संगीत अपूर्ण हुँदैन । अहिले पनि मंसिर,
पुसतिर मिथिलाको गाउँमा बिहानीतिर परातीको शब्दसहित धुन सुन्न
पाइन्छ । बीस–बीस घण्टा काम गरी मालिकको भखारीमा धान भर्ने मजदुरको घर अझै पनि रित्तै छ ।
कखन हरब दुःख मोर
हे भोलेनाथ...
दुखही जनम भेल
दखही गमाओल
सुख सपनहुँ नइ भेल
हे भोलेनाथ...
कखन हरब दुःख मोर
हे भोलेनाथ...
दुखही जनम भेल
दखही गमाओल
सुख सपनहुँ नइ भेल
हे भोलेनाथ...
यो गीत समकालीन समाज
संघर्ष, वेदना, पीडा र विवशतालाई मात्रै फ्रकट गर्दैन, सामन्ती त्रूरताविरुद्धको अभिव्यक्ति दिन्छ । मेसिनी युग र कृषि कार्यमा मेसिनको बढ्दो प्रयोगले यो गीतले सार्थकता गुमाउने हुन सक्छ । दसैंमा रसनचौकी, दाहामा
तासा, महावीर
झन्डामा झरी, दसैं
र छठमा ढोल, विवाह, व्रतबन्ध र मुण्डनमा ढोल पिपही यस्ता अनेकौं
उत्सव र अनुष्ठान जहाँ भिन्न–भिन्न वाद्यको प्रयोग हुन्छ । तर गीतसँग यी वाद्यहरूले संगत गर्न सकेन । यसमध्ये पिपही प्रकारान्तरले सहनाईको रूपमा विकसित भयो, ढोल
तबलाको रूपमा विकसित भएको हुनुपर्छ तर अरू वाद्यहरू आफ्नो स्वरूप त्यसप्रकार
परिष्करण गर्न सकेन, जसकारण
गीतसँगको सांगीतिक यात्रा अगाडि बढ्न सकोस् ।
यी वाद्यमध्ये कतिपयको
उल्लेख विश्वकोशीय ग्रन्थ वर्ण रत्नाकर (१२६०–१३४० मतान्तर १२८०–१३४०) मा भएको छ । वर्णरत्नाकरको कलारूप र वाद्य वर्णनमा सुरतरिया, डाक, डौकी, डेञडी, डमरु, धोन्धसी, मजिरा, कठताल, किदला, चङ्गु, चुटकल, बाँसी, पुहिल, सिङ्गा, वजा बदुतँ, डफिला, डलोरी, विरहा, बेली, विरह, देई मन्त्रणा, भीषणा, सिरप्रदोशई, ठमरण, चउपई, चेड्गा, चाञ्चली, लोरिक नाचो, नगनी, मएना, बडती (प्रथम कल्लोल १३ क) को नाम उल्लेख छ । यसमध्ये केही वाद्ययन्त्र अझै पनि प्रयोगमा छन्, केहीले समयानुसार नाम र रूप परिवर्तन गरिसके ।
छाल वाद्यमा ढोलक मिथिला
संगीतको पुरानो साथी हो र त्यही वंशका नाल, तबला पनि त्यत्तिकै सघनताका साथ प्रयोग भइरहेको
छ । मृदंगलाई शास्त्रीय वाद्य मानिए पनि मिथिलामा अप्रत्याशित रूपमा लोकवाद्यको रूपमा प्रयोग भइरहेको छ । भगैत अर्थात् महराईमा झ्याली, करताल, मृदङ्ग, टुभकीको प्रयोग गरिन्छ । यो बोलप्रधान नभई स्वरप्रधान गीतको श्रेणीमा आउँछ । शब्द यसमा अस्पष्ट हुन्छ । पछिल्लो क्रममा लोकनाट्यहरूमा हारमोनियम, ढोलक, नाल, नङारा संगै कलारनेटको प्रयोग बडो अचम्भित पार्छ । कलारनेट कसरी कहिले र के कारणले मैथिली लोकसंगीतको अङ्ग बन्यो अनुसन्धानै गनुपर्ने हुन्छ । यो दूध र पानीको मिश्रण होइन जसले एकअर्काको अस्तित्व स्वीकार गर्छ, यो त
तेल र पानीको मिश्रण हो जसको घुलन हुँदैन ।
मिथिलाको मौलिक संगीतले
यस्ता बिजातीय वाद्यलाई पनि आफ्नै रङ र मौलिकतामा ल्याई छाड्यो । आफ्नो स्वर र शब्दको शक्तिले पनि मैथिली संगीतलाई खासै अबघात यी वाद्यहरूको प्रयोगबाट भएन । खासमा समकालीन संगीतज्ञ र गायकले मैथिली संगीतको मौलिक पहिचान क्षतिग्रस्त गरिदिएका छन् । अहिले सिर्जित होइन उत्पादित गीत संगीतलाई बजारले उत्पादन गरिरहेको छ । जटजटिन, झिझिया, धोबिया, कजरी, चैताबर, बारहमासा, भगैतजस्ता पारम्परिक गीत–संगीतहरूलाई उत्पादित
गर्दा माथि उल्लेख गरिएभन्दा पनि प्रोग्रामिङ गरिन्छ, त्यसमा अहिले उपलब्ध किबोर्ड, पैड, गिटार र अन्य उपलब्ध त्यसप्रकारका विभिन्न
बाजाहरूको प्रयोग गरिन्छ ।
मैथिलीमा चार दशकपहिला
एउटा गीतकारको उदय हुन्छ– काशीकान्त झा मधुप । उनी तत्कालीन लोकप्रिय हिन्दी गीतहरूको संरचनामा आधारित मैथिलीमा गीत लेख्छन् । मधुपको प्रशंसा गरिन्छ, प्रशस्ति
गाइन्छ । उनीद्वारा रचित गीत हिन्दी मौलिक गीतभन्दा श्रेष्ठ रहेको प्रमाणित गरिन्छ । मैथिली संगीतमा पैरोडी संगीतको दीर्घकालीन रोगको भाइरस त्यहीबेला भित्रियो।
प्रकाशित : माघ ११, २०७६ ०९:३७