‘देउपितृ खुसी छन्’
झाँक्रीले अन्तिम दिन जोखाना हेरेर भनेको
सम्झेँ– भेडा, कुखुराको
भित्री अंग हेर्दा, सपनीमा
आएको बिचार्दा कुलपूजा राम्रोसँग सम्पन्न भएकोमा देउपितृ खुसी छन्, देउपितृ हाँसेका छन् । झाँक्रीले नै देउपितृ खुसी छन् भनेपछि सन्तति स्वाभाविक रुपमा प्रसन्न हुँदा रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञान अडेसो समाएरै यहाँसम्म आइपुगेको रहेछ ।
काठमाडौँ — झाँक्री विधाबाट कुलपूजामेरा पुर्खा
प्रकृतिपूजक हुन् भन्ने अनुमान थियो तर यस पाटोतिर खासै पसेको थिइनँ । म आफूलाई बौद्वमार्गी भनी चिनाउँथेँ । कहिलेकाहीँ बोन हुँ कि भन्ने भाव आउँथ्यो । मुवा, पत्नी हिन्दु धर्म पनि मान्ने भएकाले त्यसप्रति मेरो सम्मानभाव
थियो नै ।
कर्मकाण्डप्रति भने आलोचनात्मक हुने प्रयास
गर्थें । यस्तै पृष्ठभूमिमा यही मंसिर अन्तिम साताको मुस्ताङ भ्रमणले आफ्नो परम्परालाई नजिकबाट नियाल्ने अवसर दिलायो ।
झन्डै १९ बर्षपछि हुन
थालेको कुलपूजाको निम्ति गंगबु बसपार्कवाट रात्रि बस समातेँ । थकाली झाँक्रीसँग साइत हेरेर मिति जुराइएको थियो । मंसिर २४ मा थालेर २५ मा सकिने कुलपूजा मेरालागि कौतुकमय विषय थियो । झाँक्रीको सन्तान भए पनि त्यसले मेरो भौतिक जीवनमा केही प्रभाव पारेको थिएन । सुदूर मुस्ताङको झाँक्री परम्पराको रहस्यमयी बतास विगतको भैरहवा, पोखरा
र वर्तमानको काठमाडौंसम्म कहिल्यै आइपुगेन ।
यात्रामा मसंँग बहिनी
सलमा शेरचन पनि थिइन् । लामै अन्तरालमा आफ्नो गाउँको यात्रामा पुलकित थिइन् । बसमै अशोक गौचन दाइ भेटिए । उहाँ पूजाकै निम्ति मुस्ताङ जाँदै रहेछन् ।
पोखरा पुग्दा झमक्कै रात
परेको थियो । बुद्धचोकबाट सन्तोष शेरचन पनि त्यही बस चढे । कस्तो संयोग ! कुलपूजा सन्तोषकै घरमा हुँदै थियो । उनका बुबा र मेरो बुबा, दुई
भाइ । सन्तोषको बुबा दाइ । मेरो बुबा विसं ०२६/०२७ सालमा मुस्ताङबाट बसाइ झरेपछि कुलघर सन्तोषको घर बन्यो । अन्यथा प्रचलनले कान्छा भाइको घर कुलघर हुन्छ । कारण बुबा–आमा कान्छो छोरासँग बस्छन् । झाँक्री पूर्वको ढ्याङ्ग्रो, पित्तलका
भाँडा, शालीग्राम
र समग पूजा सामग्री सन्तोषकै घरमा राखिएको थियो । तीन–चार बजे राति कोबाङस्थित कालीगण्डकी बगरमा बसले ओरालेपछि टर्च बाल्दैघर पुग्यौं ।
अर्को बिहान, डाँडामाथि सूर्य चढ्दै गएपछि, कोबाङ गाउँ पनि दृष्टिमा चढ्दै गयो । साँझ झाँक्री पनि आइपुगे । मेरो बुबा, मुवा, भाइ दुई साताअघि नै गाउँ पुगिसकेका थिए । मुवाले बहिनीहरूसँग मिलेर घरको सरसफाइ, लिपपोत
गरिसकेकी थिइन् । जाँड बनाउन भात र मर्चा हालिसकेकी थिइन् । सन्तोषले मलाई
भित्री कोठा देखायो । साँघुरो त्यो कोठामा चामल राख्ने माटाले लिपेका आठ दस घैंटा थिए । पश्चिम भित्ताछेउ काठका दुईटा मदुस देखिन्थ्यो । बलिया न बलिया लाग्ने, कालै भइसकेका । सन्तोषले एउटा मदुस खोल्यो, त्यहाँ देउता र पूजासामग्री राखिएका थिए । त्यसको ढक्कन खोल्दा अनौठो गन्ध कोठाभरि फैलियो । जालो लागिसकेको, धूलोको मोटो परत जमेको, मिनिएचर खण्डहर सादृश्य थियो मदुस । त्यसभित्रबाट पित्तलको चारवटा कलश, धुपी र सल्लाका सुकेका हाँगा, दर्जनौं शालिग्राम, चराको आकृति भएको धातुजडित लौरो, हाडखोर, अक्षता, पुराना सिक्का र नोट, सानो फलामे त्रिशूल, चुप्पी, तरबार निस्किए । सन्तोष र मैले पालैपालो ती सामग्री झिकेर डेक्चीमा राख्दै, मनतातो
पानीले पखालेर, शालिग्राम
र हतियारको हकमा तोरीको तेलले घसेर चोखो स्थानमा राख्यौं । भाइ उज्ज्वल, गौतम र उत्तमले सघायो ।
कुलपूजा अर्थात्
पूर्वजले थालेको पूजा । कति पुस्ता अघिसम्म कुलपूजा तन्किन्छ, थाहै
छैन । तर, मेरा बाजे पुर्खा नन्दबहादुर शेरचन उहिल्यै थाक
सात सय क्षेत्रमै कहलिएका झाँक्री थिए रे । अधिकांश सामग्री सायद उनैले जुटाएका हुन् । सात सय कुरिया भएकाले सात सय क्षेत्र भनिएको रहेछ । नन्दबहादुर बाजेको नाम मात्र सुनेथेँ । देउता र पूजा सामग्री सफा गर्दा बाजे हाम्रै अघिल्तिर उभिइरहेका छन्झैं लाग्ने । मैले धेरै तादात्म्य भाव देखाएकाले सायद त्यस्तो भयो । मान्छे इमोसनल क्रियचर पनि हो, थाहा
थियो । बेस्सरी अनुभव गरेँ । थाक सात सयकै कुलपूजा र अन्य कर्ममा उनी नै डाकिन्थे रे । कालीगण्डकीपारि सौरु गाउँतिर कोही दुःखबिमार भएर फाकफुक गर्न जानुपर्दा वर्षामासमा कालीगण्डकीको पानी टेकेर पुग्थे रे । लख काट्न सकिन्थ्यो— उनी नामूद झाँक्री थिए । किंवदन्तीहरू साधारण र सामान्य व्यक्तिमाथि कहाँ बनेको छ र ?
हाम्रो सन्तानमा कसैले
झाँक्री विधालाई निरन्तरता दिएनन् । खासमा कान्छा छोराले त्यस अर्थमा मेरो बुबाले नै निरन्तरता दिन पर्ने प्रचलन हो । बुबाले युवा उमेरमा उक्त विधा सिकेका पनि रहेछन् । गुरु झाँक्रीलाई एकाध कर्मकाण्डमा सघाएका पनि रहेछन् । ‘तर २००७ सालको जागरणले हामीलाई पनि छोयो । तसर्थ पढ्नुपर्छ भनेर बनारसतिर हिँडेँ’, बुबाले बताउनुभयो ।
बनारसबाट फर्किएपछि छत्र
मास्टर थकाली र बुबाहरू मिली जोमसोमको स्कुल स्थापना गरेका थिए । प्रारम्भिक वर्षहरू जोमसोमै पढाए पनि । एकाध बाजेहरूले भने झाँक्री परम्परा थामेको
देखिन्छ । तर, उपल्लो तहको झाँक्रीमा नन्दबहादुरकै नाम आउँछ । आफ्नो सन्ततिमा कसैले इच्छा राखे सपनामा आई मन्त्र फुकेर भए पनि झाँक्री विधा सिकाउँछु भनेका थिए रे !
०००००
थकाली समुदायमा ज्वाइँ
हुन सजिलो छैन । मर्दा–पर्दा, विवाह कर्ममा ज्वाइँ नभई कामै सर्दैन । यता गर ज्वाइँ, उता गर ज्वाइँ । एक जना ज्वाइँ काठमाडौंबाटै सँगै थिए । अर्को ज्वाइँ मुस्ताङमै व्यवस्था भए । थमसेल भनिने विधिप्रक्रियाबाट अर्को दिन कुलपूजा सुरु भयो । झाँक्री श्रुति–परम्परामा आधारित विधा रहेछ । शिष्य नभए, विधा
लोपै हुने । झाँक्री नवीन युवा थिए । थकाली सेवा समितिले परम्पराको जगेर्ना गर्न तालिमको व्यवस्था गरेकोले उनी झाँक्री परम्पराको पछिल्ला कडी थिए । उहिल्यै पूर्वज म्याग्दीमा सरेकाले मुस्ताङलाई पुर्खाभूमि मानेर नतमस्तक हुन्थे । नन्दबहादुरकै घरमा आई उनकै देउता र पूजासामग्री अघि राखी कुलपूजा गर्न पाउनुलाई अहोभाग्य मानेको थिएँ ।
पहिलो दिन, भेडाको भोग दिँदा रहेछन् । भेडा पनि सेतो, दाग कतै नलागेको, स्वस्थ हुनुपर्ने । भोग दिने भएकाले पूर्वज प्रकृति पूजक रहेछन् । बसाइसराइको क्रममा वा अहिंसा र करुणाको दर्शनबाट प्रभावित भएर बौद्धमार्गी हुने धेरै
थकाली छन् तर परम्परा अर्कै रहेछ । मन्त्रोच्चारण गरीवरी, सबै परिवार, ज्वाइँहरूले गिलासको रक्सीमा धुपीको पातले
चोपल्दै, झाँक्रीको
पछि थेमो थेमो... उच्चारण गर्दै रक्सी छर्कन्थ्यौं । सबै पूर्वजको नाम लिँदै उनीहरूलाई रक्सी, जाँड, चुरोट र स्वादिला खाने कुरा चढाउने चलन रहेछ ।
धुपी र दियालो जलेर
वातावरणमा सुगन्ध व्याप्त छ । काठको सिन्कामा धुपी, सल्ला र राता काला ध्वजा टाँगिएका छन् । सानो अग्निकुण्डबाट चरुको बास्ना र धूवाँको कुइरीमण्डलीबीच सबैले क्रमशः भेडामाथि पानी छर्क्यौं । पर्सिए मात्र त्यो भेडा भोग दिन योग्य मानिँदो रहेछ । लामो समय लिएर भेडा पर्सिइयो । मंसिरको जाडोमा, निथ्रुक्क भिजेको भेडासँग मन पनि भिज्दै गयो । सानो छँदा कसैले कुखुरा मारे रुने म, त्यो स्वाभाविक थियो । शताब्दियौंदेखि चलिआएको मार्ने तरिका अनौठो लाग्यो । छातीमा चुप्पी घोप्ने, चिर्ने र मुटु थुत्ने ! मन बिथोलिँदै थियो तर
तर्कले भन्न थाल्यो— सयौं वर्षअघि पूर्वजको सबैभन्दा ठूलो लडाइँ नै प्रकृति र
जंगली जनावरसँग थियो । त्यसैको सिम्बोल थियो त्यो ।
बिजुलीबिना जंगलछेउ
बस्नुपर्ने भएकाले हिंस्रक वन्यजन्तुको भय सधैँ थियो । त्यस्तोमा जनावरको मानवीय स्वरूपको कल्पना सम्भव थिएन । शत्रु भएपछि जनावरलाई मार्ने नै ध्येय हुन्छ । त्यस्तै प्रकृतिप्रदत्त हिमपात, हावाहुरी, भेलबाढी, खग्रास ग्रहण आदिले पनि मान्छेलाई जति दुःख
दिएका थिए, उति
रनभुल्लमा पारेका थिए । प्रकृतिजन्य अनेकन विपत्तिहरूको वैज्ञानिक कारण थाहा नभएको बेला
प्रकृतिलाई मनाएर हुन्छ कि, भोग
चढाएर हुन्छ, मान्छेले
आफ्नो समुदायलाई ढाडस दिँदै, आश्वस्त पार्दै आएका हुँदा हुन् । त्यही परम्परा त्यही स्वरूपमा अहिलेको समयसम्म आउँदा आश्चर्य लाग्ने नै भयो । भेडा मार्दा भाइ र बहिनी बाहिरिए । मचाहिँ भित्रै बसेँ । तर, नजर फेरेँ । त्यस क्षणलाई अनुभव गर्नुपर्छ भन्ने भावना बलियो थियो । यता भेडा पीडाले चिच्याउन थाल्यो, उता
वातावरण रहस्यमयी बन्दै गयो ।
झाँक्रीले कसैले नदेख्ने
गरी कालीगण्डकीको चोखो पानीले पूजा सामग्री पखाल्नु र जल ल्याउन भनेका थिए । बिहानै ३ बजे कालीगण्डकी जाने सल्लाह भयो । कालीगण्डकीे सबैभन्दा फराकिलो भएर बग्ने गाउँ सायद कोवाङ लार्जुङ नै होला । अर्को टुकुचे । मार्फामा कालीगण्डकी थोरै साँघुरिन्छ । जोमसोममा त झन् साँघुरिएको छ । त्यसकै किनारमा एयरपोर्टको रनवेबनेको छ ।
केही दिनयता घाम शिथिल
थियो । चिसोले कालीगण्डकी
उपत्यका कब्जा गरेको थियो । ३ बजे घरबाट निस्कियौं । सन्तोष, उज्ज्वल, उत्तम, अशोक दाइ र म टर्च बालेर कालीगण्डकीतर्फ अघि
बढ्यौं । त्यो निस्पट्ट अन्धकारमा कोही सुतेका छैन भने कालीगण्डकी र हामी मात्रै । काठमाडौंबाट हिँड्दा कुलपूजामा उपस्थित हुनेजस्तो मात्र सोचेथेँ । तर, यहा त भिड्नु नै पर्ने रहेछ ।
करिब २० मिनेट हिँडेपछि
कालीगण्डकीको पिलन्धरे भंगालो पार गरेर अलि ठूलो भंगालाछेउ रोकियौं । क्रमशः चारवटा पित्तलका भाँडा र पूजा सामग्रीलाई चोखो पानीले पखाल्यौं । चोखो जल भर्यौं । छोइनसक्नुको ठिहिराउने चिसो थियो पानी तर भावनात्मक बल कैयन गुणा तातो थियो । थेमो थेमो... गरेर निविड अँध्यारोमा पुर्खालाई सम्झनु धेरै भावुक बनाउने कर्म रहेछ । खोला, नदी र
समग्रमा पानी किन संस्कृति हो भन्ने विषय थप प्रस्ट हुँदै गयो । सानैदेखि भैरहवा, पोखरा
र अहिले काठमाडौंमा बसोबास गरेको, मुस्ताङमा घुम्न र जागिरको दौरानमा मात्रै
पुगेकाले त्यो पाटो छुटेछ । आफ्ना रुटलाई थोरै भए पनि खोतलेँ यसपालि । पुर्खा पितृहरूका निम्ति गरिने भएकाले यसै भावनात्मक भइने, झाँक्रीको दर्बिलो स्वर र रौद्र स्वरूप, मन्त्रोच्चारणले मनोदशालाई तरंगित गरिरहने, अतियथार्थिक अनुभव भयो ।
०००००
दोस्रो दिन सबै
गाउँलेलाई खाना खान सामुदायिक भवनमा आमन्त्रण गरिएको थियो । झाँक्रीको निर्देशनअनुसार थेमो गर्ने, चामल छर्कने, पूजा सामग्री पखाल्ने, चोखो ठाउँमा सार्ने, ध्वजालाई स्याउको बोटमा चारै दिशा अक्षता
छर्कंदै सिमेभुमेबाट रक्षा गर्ने, सबैको मंगल हुने र केही बिराम भए क्षमा गर्न
भन्दै ध्वजा बाँध्यौं, सन्तोष
र मैले । रातो भालेको पनि भोग दिइएको थियो । वास्तवमा कोबाङमा कुलपूजा छत (थकाली भाषामा थारा) मा गर्ने चलन रहेछ । छत समथर र कमेरो माटो खाँदेर बनाइएको हुनाले बिस्कुन सुकाउन, अन्न
झाड्न र पूजा गर्न उपयुक्त छ । तर, यो
कुलपूजा कोठाभित्र गरिएको थियो । झाँक्रीका अनुसार, यस परम्परामा गुरुबाट जे–जस्तो सिकिन्छ, त्यही गरिन्छ । त्यसलाई अन्यथा लिनुहुन्न । झाँक्री विनम्र र व्यावहारिक थिए ।
भेडाको मासुझोलसँग भात, ससेज (थकाली भाषा काढुङ) खायौं । सबै ज्वाइँ र
माइतीलाई बिदा गरियो, आशिष
थाप्यौं । लामो अन्तरालमा कुलपूजा सम्पन्न भएकोमा एउटा राम्रो काम भयो भन्ने सबैको मनमा परेको थियो ।
प्रकृतिको हिमकला
हिँड्ने बेला भारी
हिमपात भयो । जोमसोमबाट बसनछुट्ला कि शंका थियो । तैपनि खन्तीको बगरमा बस कुरेँ । सम्पूर्ण ल्यान्डस्केप सेताम्मे देखिएको थियो । दिउँसोको साढे बाह्र बजे बस आइपुग्यो । करिब डेढ घण्टा घट्टेखोलाको पुलमा हिउँमा चढ्न नसकेर गाडी रोकियो । बल्लबल्ल उक्ल्यो । लेतेनेर कालीगण्डकी बगर जमेको हिमतालजस्तो देखिन्थ्यो । त्यहाँ पनि गाडी उक्लन गाह्रै पर्यो । बेलुकीसम्म
जसै पोखरा पुग्नु छ । लेतेको चढाइ कटेपछि भने गाडीले गति समात्यो ।
सेताम्मे धौलागिरि
नीलगिरि ल्यान्डस्केपमा गाडी गुडिरहेको थियो । मेरो मनमा धेरै कुरा खेलिरहेका थिए । यसपालि आफ्ना पुर्खाको विश्वासपद्धति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएकोमा भिन्न अनुभव गर्दै थिएँ । झाँक्रीले अन्तिम दिन जोखना हेरेर भनेको सम्झेँ— भेडा, कुखुराको भित्री अंग हेर्दा, सपनीमा आएको पनि विचार्दा देउपितृहरू कुलपूजा
राम्रोसँग सम्पन्न भएकोमा खुसी छन्, देउपितृहरू हाँसेका छन् । थेमो थेमो... उच्चारण गर्दै भावविह्वल बन्यौं । सबै प्रसन्न भयौं । मुवा धेरै खुसी हुनुभएको थियो । धेरै अन्तराल बितेकाले कुलपूजा गर्न अब ढिलाइ गर्नुहुन्न भन्नेमा मुवा नै प्रमुख हुनुहुन्थ्यो । परिवारका सबै सदस्यले सहभागी जनाउँदै साथ दिए । झाँक्रीले नै देउपितृ खुसी छन् भनेपछि सन्ततिहरू स्वाभाविक रूपमा प्रसन्न हुँदा
रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञान अडेसो समाएरै यहाँसम्म आइपुगेको रहेछ । हिमदृश्य पनि बससँगै गुडिरहेको थियो । घाँसामा हिउँ देखिन छाडेपछि भने लाग्यो, अब पूर्वजभूमि छाडिएको छ ।
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकै छिनपछि घाम लाग्यो
भने
रहने छैनन् हाम्रा
नामहरू
एकै छिनपछि हिउँ थपियो
भने
पनि रहने छैनन् हाम्रा
नामहरू
हामी हुँदै नरहने हाम्रा
नामहरू,
हामी नै नभएपछि कसरी
रहलान् हाम्रा नामहरू
– तीर्थ
श्रेष्ठप्रकाशित : फाल्गुन १०, २०७६ १०:५२