Tuesday, July 16, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणाको पुस्तक राणाशासनको वृतान्तको दसों श्रृँँखला।।।
नयाँ भारदारी गठन गरी रणबहादुर शाहले दुई वर्षजति छोराकै नामबाट राजकाज चलाए । भीमसेन थापालाई काजी दर्जा दिएर सहायक बनाए । नायव दर्जा आफैले लिएर प्रशासन चलाइबक्सनु राम्रो होला भनि सल्लाहकारहरुले राय दिँदा यिनले राजाबाट लालमोहर गराई नायव पद लिए । तर यिनको नायवी धेरै दिन चलेन । सन १८०६को अप्रिल महिनामा राति कचहरी गर्न लागेको बखत एउटा विवाद उत्पन्न हुँदा उत्तेजित भएका चौतरिया शेरबहादुरले यिनीमाथि तरवारले आक्रमण गर्दा यिनी त्यही ढले । यिनको मृत्यु हुनासाथै काजी भीमसेन थापाको उदय सुरु भयो । अंगरक्षक बालनरसिंहले शेरबहादुरलाई तत्काल त्यही तरवारलेकाटे । उनका दाजु विदुर शाह र नाबालक छोराहरुसमेतलाई पक्राउ गरी तुरुन्त शिराच्छेदन गर्न लगाए । झण्डै सत्तरी असी जना भाइदारहरुलाई यो पर्वमा अकारण मुछेर काजी भीमसेन थापाको आदेशमा मृत्यु दण्ड दिइयो । पाल्पाली राजा मुकुन्दसेनले विना कुनै कसूर मृत्यु दण्ड पाए । जेठा महारानी राजराजेश्वरीलाई हेलम्बुबाट यहाँ ल्याउन रिसल्ला दौडाए । उनी पाटी भन्ज्याँग काटेर नौ दिनका दिन यहाँ फेदीमा आइपुगिन् । उनी नआइपुग्दै साँखु स्थित शाली नदीको बगरमा पन्द्रवटा चिता ठिकठाक पारिएको थियो । महारानी र उनका साथमा आएका चौध जना सुसारेहरुलाई लहरै बनाएर राखिएका चितामा हठात चढाएर जिउदै आगो लगाएर सती बनाए । ती अबला नारीहरुको हुदयविदारक चित्कार र जिउदै मानिस जलाएको दृष्य हेर्न र सुन्न नसकिने थियो । ती चौध जना सुसारेहरुसंग रणबहादुर शाहले सायदै कुनै शारीरिक सम्पर्क गरेका होलान् तापनि जेठा महारानीका सुरारेहरुलाई समेत समाप्त पारौं भनी भीमसेन थापाले जिउँदै जलाउन लगाए । काशीबाट आएकी एउटी अर्की नारीलाई पनि सती जान बाध्य गराइएयो । तर के कति कारणले हो रणबहादुरकी अर्की एउटी तरुनी विधवा त्रिपुरासुन्दरीसंग भीमसेनको गुप्त सम्बन्ध थियो भन्ने गामगुम हल्ला चलेको थियो । यस बखत राजा ८ वर्षका थिए ।
भीमसेन थापाले मुख्य मुख्य गढी गौडाहरुमा आफना पिता, भाई र भतिजाहरुलाई तालुकवाला बनाएर पठाए । एकजना भाइलाई कर्णेली दर्जा दिएर राजदरवबरको ढोकामा बस्ने गरी खटाए । राजा नाबालक र नायव महारानी आपनो मुठीभित्रको माखौजस्तो भएपछि यिनका सामुन्ने चँुक्क बोल्न सक्ने शक्ति कसैको रहेन । यिनले जस्तोसुकै कागत पेस गरे पनि महारानीले त्यसमा खुरुक्क लालमोहर लगाइदिन्थिन् ।
साभारः प्रमोदशमशेर राणा, राणाशासनको वृतान्त

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...