त्रिपिटक बुझाउने विश्वकोश
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पालि भाषामा
भएकाले सबैले बुझ्दैनन् । बुद्धकालीन नेपाली विश्वकोशले यसको अन्त्य गरेको छ
काठमाडौँ — बौद्ध धर्मको गहन अध्ययनका लागि
नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका
रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।
वीर पूर्ण पुस्तक
संग्रहालयले यसलाई बजारमा ल्याएको हो । बौद्ध धर्मको मूल ग्रन्थ हो त्रिपिटक । यो पालि भाषामा छ । यसको सरल अनुवाद पनि पाइन्न । यस्तोमा बौद्ध धर्मबारे सजिलै बुझ्ने उपाय के हो त ? बुद्धकालीन नेपाली विश्वकोश त्यही उपायसम्म
पुग्ने सबैभन्दा सटिक बाटो हुनेछ । ‘बौद्ध धर्मका जिज्ञासुका लागि यो विश्वकोश प्रकाशनमा आउनु आफैंमा अभूतपूर्व र अद्वितीय छ,’ प्रकाशक
संस्थाका दुण्डबहादुर वज्राचार्यले भने । उनी लामो समयदेखि त्रिपिटकको अनुवादमा व्यस्त छन् ।
उनले जीवनको अधिकांश समय
त्रिपिटकको अनुवादमै बिताएका छन् । नेपाल भाषामा त्रिपिटकका अधिकांश ग्रन्थ उपलब्ध भएका छन् । उनकै अनुवादमा नेपाली भाषामा त्रिपिटकको दीघनिकाय र मझिमनिकाय प्रकाशित भइसकेका छन् । यो क्रम अझ अगाडि बढ्नेछ । वज्राचार्यको अनुभवमा पनि सबैका लागि त्रिपिटक अध्ययन सजिलो छैन, एकैपल्टमा बुझ्न गाह्रो हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यिनै २७ पुस्तक पढ्नु उपयुक्त हुन्छ ।
यी सबै पुस्तकको पृष्ठ
जोडदा साढे १३ हजारभन्दा बढी हुन्छ । यी पुस्तक बेलाबेला प्रकाशित भएका हुन् । लेखक भने भिक्षु अमृतानन्द हुन् । उनले त्रिपिटकलाई आधार मानेर बुद्धकालीन ग्रन्थमाला लेखे । ती पुस्तक दुर्लभजस्तै भइसके, सजिलै पाउन सकिन्न । यस्तोमा वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बुद्धकालीन नेपाली विश्वकोशको स्वरूप दिएको हो ।
नेपालको थेरवादी बौद्ध
धर्मका अग्रणी भिक्षुमा पर्छन्, अमृतानन्द । तानसेनको भीमसेन टोलमा शाक्यकुलमा जन्मेका उनी बौद्ध धर्मको प्रचारप्रसार गरेको आरोपमा जेलसमेत परेका थिए । सन् १९४२ यता उनले काठमाडौं आएर बौद्ध धर्मको प्रचारमा सक्रिय रहे । उनी नै बौद्ध धर्मबारे नेपाली, नेपाल
भाषा र अंग्रेजीमा आजसम्म सबैभन्दा बढी पुस्तक लेख्ने लेखक हुन् । उनका ६ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
अमृतानन्दले त्रिपिटकका
ग्रन्थ र सूत्रमा उल्लेख भएका चरित्रलाई क्रमबद्ध मिलाएर २६ पुस्तक लेखे । त्यसमा बुद्धकालीन ब्राहमण भाग १ सबैभन्दा पहिले ०२८ सालमा प्रकाशन भएको थियो । त्यसपछि बुद्धकालीन गृहस्थी, राजपरिवार, परिव्राजक, महिला, श्रावक चरित, श्राविका चरित, ब्रहमादिदेव, प्रेतकथा, विमानकथाका पुस्तक निस्के । यी सबै सुरुमा आनन्दकुटी विहारबाट प्रकाशन भएका थिए । अब यी सबैलाई नयाँ स्वरूप दिइएको छ ।
विश्वकोशको २७ औं कृतिमा
भने संक्षिप्त बुद्ध जीवनीसँगै अनुरुद्ध स्थवीर, सम्राट् अशोक र बुद्धशासनको इतिहास रहेको छ । ‘भिक्षु अमृतानन्दले निकै मिहिनेत गरेर यी सबै पुस्तक तयार पारेका हुन् ।
यत्तिको गहन अध्ययन गरेर
लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तक सम्भवतः अरू भाषामा पाइन्न,’ वज्राचार्यले थपे, ‘हाम्रा लागि नेपाली भाषामा यति धेरै पुस्तक
उपलब्धि हुनु वास्तवमै निकै ठूलो उपलब्धि हो । यसले नेपाली भाषालाई पनि धनी बनाएको छ ।’प्रकाशित : श्रावण १३, २०७६
०९:०७