Monday, July 15, 2019

झाँक्री–बोक्सीको इतिहास र हाम्रो दायित्व

झाँक्री–बोक्सीको इतिहास र हाम्रो दायित्व
मोदनाथ प्रश्रित
एक्काइसौं शताब्दी विज्ञानका विभिन्न शाखा निर्बाध उन्नत हुँदै गएको शतँब्दी हो । अहिले आठ–दस कक्षामा पढ्ने विद्यार्थीले पनि यो तथ्य बुझ्दै गएका छन् । शरीरका प्रत्येक अंग र कोशिकामा के कारणले कस्ता रोग लाग्छन् र तिनको उपचार कसरी हुन्छ भन्ने प्रयोगमा संसारभरीका वैज्ञानिक र डाक्टर लागिरहेका छन् । उनीहरू अधिकांश रोगमा सफल भएका छन् र बाँकी रोगको उपचारबारे नयाँ नयाँ खोज र प्रयोग गरिरहेका छन् । विश्वका विकसित मुलुकहरूमा धामी झाँक्री र बोक्सी–डाइनीको युग समाप्त भइसकेको छ ।
अहिले विश्वका जुनजुन देशमा धामी–झाँक्री, बोक्सी–डाइनीहरूको फाइँफुइँ जति मात्रामा देखा पर्दैछ, ती देश त्यति मात्रामा अविकसित र असभ्य मानिन्छन् । नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरूको सभ्यताको इतिहास लामो रहेको र यिनीहरूको ज्ञान–विज्ञान परम्परा विकसित हुँदै आएको भए पनि यी देशमा धामी–झाँक्री र डाइनी–बोक्सी विश्वास अहिलेसम्म पनि व्यापकरूपमा रहेको हामी देखिरहेका छौं ।
प्रँचीनकालमा तान्त्रिक, धामी, झाँक्री, बोक्सा आदि पुरूष मात्र हैन , शाकिनी, डाकिनी, बोक्सी आदि महिला पनि तन्त्रमन्त्र (टुना–मुना) को साधना गरी मानसिक रोगहरूको उपचार गर्ने चिकित्सकहरूकै रूपमा मानिन्थे । तर समाजमा पितृसत्ताको विकास हुँदै गएपछि र धनसम्पत्तिको अधिकारमा महिला ठगिंदै आएपछि उनीहरू समाजमा झन् झन् हेपिँदै गए । अनि पुरूषले जस्तै टुनामुना गर्ने  महिलालाई रोग बढाउने दुष्ट बोक्सीको आरोप लगाई घृणा गर्न थालियो भने पुरूष धामी–झाँक्रीलाई रोग निको पापर्ने तान्त्रिक चिकित्सकका रूपमा मान मनितासाथ कुखुरा, बोका र पैसा दान गर्न थालियो । 
अहिले शरीर विज्ञान, रोग विज्ञान र उपचार विज्ञान गहन अनुसन्धान र प्रयोग सहित धेरै अघि बढिसकेछ । हाम्रै देशमा पनि शारीरिक र मानसिक रोगका ठूल्ठूला विशेषज्ञहरू अत्याधुनिक उपकरणसमेत प्रयोग गरी जटिलभन्दा जटिल रोग उपचारमा सफल हुँदैछन् । तर हाम्रा अविकसित गाउँ–सहरहरूमा समेत ढ्यांग्रो ठटाएर नाटकीय रूपमा उफ्रिने धामी–झाँक्रीले चिकित्सकको मान्यतासहित पगडी, स्याबासी र नगद पाइरहेका छन् । अर्कोतिर धामी–झाँक्री जस्तै टुनामुना गर्न जान्दछन् भनिएका अशिक्षित र अपहेलित महिलालाई बोक्सीको आरोप र रोग फैलाएको झुटा बापत लगाएर जबरजस्ती दिसापिसाब ख्वाउने, निर्मम कुटपिट गर्ने, आँखा फुटाइदिने, गाउँ निकाला गर्ने र मार्नेसम्मका जघन्य अपराध भइरहेछन् । यस्ता घोर अन्धविश्वास र अपराध निराकरण र दन्ड सजायका लागि कुनै कानूनी व्यवस्थासमेत हुन सकेको छैन । 
झाँक्री र बोक्सीको परम्परागत इतिहास ः
टुनामुना र झाँक्री–बोक्सीको परम्परा र इतिहास लामो छ । हामी जति अविकसित र पछौटे अवस्थामा रहेका, शिक्षादीक्षाविहीन गाउँ र अर्धजंगली समाजमा पुग्छौं त्यहाँ त्यति नै धामी, झाँक्री, बोक्सी, डाइनी आदि अन्धविश्वासको नांगो नाँच देख्न सक्छौं । जीवनको लामो अभ्यास र पुख्र्यौली अनुभवले त्यहाँ पनि केही मानिसले जडीबुटीद्वारा रोगहरूको उपचार गरेको देखिन्छ । मानसिक रोगहरूमा ढ्यांग्रो या कुनै धातुका भाँडाको ध्वनिद्वारा उपचार गरेका केही घटना पनि देख्छौं । तर त्यस्तो सीमित ज्ञानले पार नलागेको अवस्थामा धामीहरूले मयुरको व्वाँख जडेका टोपी, रूद्राक्ष या मुगाका माला लगाएर मुर्दाको खप्पर अगाडि राखी ढ्यांग्रो ठोकेर उफ्रीउफ्री अनेक पुर्खा र काल्पनिक जंगली देउता पुकार्ने या मसानघाटमा पुगेर हल्लिंदै अनेक कुरा धतुर्ने, आगो  दन्काएर ढ्यांग्रो ठोक्दै वरिपरि घुम्ने आदि क्रियाकलाप गरेको देखिन्छ । ती जंगली अवस्थाका बाध्यताका नाटक पनि हुन् । त्यस्ता क्रियाकलापबाट केही मनोवैज्ञानिक प्रभावद्वारा या जडीबुटीको असरद्वारा अथवा आफ्नै शारीरिक प्रक्रियाद्वारा कतिपय रोग निको पनि हुन्छन् तर त्यहाँ वैज्ञानिक उपचारको प्रणाली नभएकाले रोग बढ्दै गएर जटिल हुने र अकाल मृत्युको समेत खतरा हुन सक्छ । यस्तो समस्या जति अविकसित समाजमा गयो त्यति बढी मात्रामा देखिन्छन् ।
वर्षौंवर्षदेखि बोक्सी या डाइनीको आरोपमा महिलामाथि चरम अत्याचार भएको घटना हामी यत्रतत्र देखिरहेका छौं । अविकसित देशमा मात्रै हैन, यूरोप, अमेरिका जस्ता विकसित देशहरूमा पनि टुनामुना, झाँक्री, बोक्सी आदि घटना अहिले पनि यदाकदा देखा पर्दैछन् । तर प्राचीनकालका मातृप्रधान समाजहरूमा भने टुनामुना गर्न जान्ने महिलाको ठूलो सम्मान हुन्थ्यो । खास खास रोगहरूमा तन्त्रमन्त्र फलाक्दै हाउभाउसहित पशुबलि मात्रै हैन, नरबलिसमेत दिएर उपचारको अभिनय गर्ने महिलाले समाजमा जयजयकार पाउँथे । गर्भवती महिलाका बच्चा पेटमै मरेर या तुहेर जाने रोग देखा परेमा मान्छेकै बच्चा काटेर सुत्केरी या गर्भवतीको योनीमा रगतको बलि दिने जस्ता क्रुर प्रथा पनि थिए ।
मातृतन्त्री जंगली समाजमा दुई विरोधी कविलाबीच लडाइँ हुँदा जित्ने गणका अगुवा नेतृहरूले शत्रुपक्षका नाइकेको रगत तन्काएर, मारिएका शत्रुका टाउकाको माला र काटिएका हातहरू बुनेको फटिका लगाएर विजयोत्सव मनाउने क्रुरतम चलन थियो । अहिलेको सभ्य युगसम्म पनि नरमुन्डको माला र हातका फटिका लगाएका काली, महाकाली देवीहरूको पुजा आराधानमा मुग्ध भएर लाग्ने र आफूलाई ठूला भक्त र विद्वान ठान्नेहरू पनि हामी यत्रतत्र देखिरहेका छौं । उनीहरू शत्रुको रगत खाने देवीको यसरी प्रार्थना गर्छन्–
मुखे समूहगता येकस्या रक्तपातान्महासुराः
तांश्चखादाथ चामुन्डा पर्पो तस्य चशोणितम् । (चन्डी)
(जब कालीको मुखमा महादैत्यहरू उत्पन्न भए उनले ती सबलाई चपाउँदै गइन् र रक्तबीजको रगत पनि पिइन् )
त्यही जंगली युगको नरभक्षी प्रथा परम्पराका देवी हरू अहिलेसम्म ठूलठूला मन्दिरमा परमपुज्य बनाएर राखिएका छन् । त्यही कुसंस्कृति अहिले बोका, राँगा, भेंडाहरूको संहार गर्ने बलिप्रथाका रूपमा जीवित छ । त्यस युगमा शाकिनी  डाकिनी नामका देवीलाई “कुन्डलिनी योगअनुसार विशुद्ध चक्रममा रहेको देवी” भनी स्तुति गरिन्थ्यो । पितृसत्तात्मक समाज विकास हुँदै आएपछि नारीहरूको त्यो पुरानो सम्मान र  वर्चश्व समाप्त हुँदै गयो । पछि आएर तिनै देवीमध्येका “शाकिनी” लाई “किचकन्या” र “डाकिनी” लाई “डाइन” या “बोक्सी” भनेर घोर अपमान गर्ने परम्परा चल्दै आयो ।
त्यही अन्धविश्वास, त्यही नरसंहार, त्यही महिलाको अपमान जस्ता कुरा समाप्त गर्न हाम्रै  देशमा गौतम बुद्धले महान् ज्ञान अभियान चलाएथें । उनले हजारौं मान्छेको  हत्या गर्ने अंगुलिमाल र नगरबधुका रूपमा युवा उमेरभरी वेश्या बन्न विवश आम्रपाली जस्ता मानिसलाई नयाँ चेतनाद्वारा बुद्धमार्गमा ल्याएका थिए । उनले जातपात, छुवाछूत र जातीय विभेदले ग्रस्त समाजलाई समान मर्यादाको मानवीय समाजमा रूपान्तरण गर्न ठूलो अभियान चलाएका थिए । त्यो प्रभाव अहिले विश्वमा डेढ अर्ब बौद्धमार्गका रूपमा परिणत भएको छ । तर बुद्ध जन्मेकै देशमा एक्काइसौं शताब्दीमा पनि गरिब, अशिक्षित, निर्दोष नारीहरूलाई बोक्सीको आरोपमा घोर अपमानसहित सार्वजनिक रूपमा जबरजस्ती मूलमुत्र ख्वाउने, निर्मम रूपले कुटपिट गरी गाउँबाट निकाल्ने, आँखा फोर्ने, अंगभंग गर्ने र कुट्दाकुट्दै मार्ने समेतका घटना गाउँ गाउँ र सहरहरूमा समेत लगातार भइरहेका छन् । 
उस युगका एउटा बुद्धले जातपात, छुवाछूत जस्ता अन्धविश्वासविरूद्ध नयाँ मानवीय दर्शनसहित व्यापक अभियान चलाएका थिए । उनको मानवीय ज्ञानको प्रकाशले टुनामुना, बोक्सी, झाँक्री जस्ता रूढीवादी अन्धविश्वास हराउँदै गएका थिए । विवेकहीन समाजमा असंख्य “आम्रपाली”हरू बुद्धको आलोक पाएर मानवीय समता र मर्यादाको गरिमामय जीवन बाँच्न सफल भएका थिए ।
तर अहिले आफूलाई माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादका व्याख्याता ठान्ने कम्युनिस्टहरू आधुनिक पुँजीवादी दर्शन र समाज व्यवस्थाको स्पष्ट विकल्प दिनु त परै जाओस्, जनतालाई मध्ययुगीन झाँक्री र बोक्सी प्रथा जस्ता अन्धविश्वासबाट मुक्त गर्ने अभियान चलाउन समेत असमर्थ भएका छन् । बरू त्यसको उल्टो अहिले कतिपय कम्युनिस्ट नेताहरूका दिमागमा उल्टै मध्ययुगीन  झाँक्री तन्त्र सवार भएको छ । उनीहरू इतिहासले निषेध गरेका जातपातका गणतन्त्र र दलितहरूका सीमाहीन राज्य स्थापना गर्ने उन्मादी “झाँक्रीतन्त्र” तिर उन्मूख हुँदै आएका छन् ।
विज्ञानसम्मत नयाँ समाज व्यवस्थाको स्थापना र विकास गर्ने महायात्रामा झाँक्री बोक्सी जस्ता अन्धविश्वासविरोधी वैज्ञानिक सांस्कृतिक अभियानको कति ठूलो ऐतिहासिक महत्व हुन्छ । आफैले आदर्श मानी अंगालेको माक्र्सवाद र  माओ विचारधाराले झाँक्री दर्शन र बोक्सी आरोपबाट उत्पीडित महिलाको उन्मुक्तिनिम्ति कस्तो अभियान चलाउने निर्देशन दिन्छ ? आदि विषयतिर व्यापक रूपमा ध्यान दिई विज्ञानसम्मत सांस्कृतिक अभियान चलाउनुपर्नेमा नेताहरूको खास चिन्ता देखिंदैन । त्यसैले अब जागरूक जनता आफ्ना आमा, दिदीबहिनीलगायत सम्पूर्ण महिलालाई बोक्सी, डाइनी जस्ता घृणित आरोप, अपमान र हत्या जस्ता युगीन अपराधबाट पूर्णरूपले मुक्त गर्ने महाअभियानमा अघि बढनैपर्छ ।
जुन देशका मान्छेले झाँक्री, बोक्सी जस्ता मध्ययुगिन अन्धविश्वासबाट जनतालाई मुक्त गर्न सक्दैनन, तिनले सिंगो देश र जनतालाई रोग, अशिक्षा, अन्याय, गरिबीबाट मुक्त गर्लान् भनी कसले विश्वास गर्न सक्छ ?

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...