Tuesday, July 16, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणाको पुस्तक राणाशासनको वृतान्तको नवाैं श्रृँँखला.....
९. काशीवास गरी बसेका रणबहादुर शाहलाई मोरँग विजयपुरको मालपोतबाट असी हजार रुपियाँ जति भत्ता दिने निर्णय भयो र कम्पनी सरकार संग सन् १८०१ म वाणिज्य सन्धि पनि भयो । यो सन्धिपत्र गभर्नर जनरलले तुरन्तै अनुमोदन गरी हाले, तर नेपालतर्फबाट अनुमोदन गर्ने प्रकृया बाँकी छदैमा कप्तान नक्स वाणिज्य दूत भएर यहाँ आउन हत्तारिए । नेपालले भने यो सन्धि तुरुन्तै अनुमोदन नगरी आलटाल गरेर रअख्यो । तर कप्तान नक्स नेपालभित्र बसी कार्यालय खोल्ने प्रतिक्षामा बसे ।
काशीमा रणबहादुर शाहले अनेक प्रकारको फजुल खर्च गरी त्यहाँका साहुमहाजनहरुसमेतसंग ऋण लिन थाले । अनि साँवा व्याज समयमा चुक्ता गर्न नसक्दा साहुहरु दिनदिनै आएर आफनो थैलीका लागी ताकिता गर्न थाले । जेठा महारानीले यस्तो बेइज्जती सहन सकिनन् र जे सुकै होस, आफनै देशमा फर्कन्छु भनी पतिलाई काशीमै छोडेर नेपाल तर्फ प्रस्थान गरीन् । केही दिन वेतियामा विश्राम गरी उनि नेपाल प्रवेश गरी रौतहटमा मुकाम गरीन् । यो खबर काठमाण्डौ पुगेपछि अनलाई पक्राउ गरी ल्याउनू भनि रानी सुवर्णप्रभाले एक गुल्म फौज खाटाइन् । तर पक्राउ गर्न गएको फौजले उल्टै महारानीको सत्कार गरी उनलाई रराजधानीमा भित्रायो । यस्तो स्थिति आए पछि सुवर्णप्रभा हताश भइन्  र कम्पनी सरकारबाट सहयोग पाउँछु की भन्ने आशले हत्तपत्त वाणिज्य सन्धिलाई अनुमोदन गरी लालमोहर लागाइदिइन् । तर यतिले जेठा महारानीको वेग रोकिएन र उनी दरवारमा प्रवेश गरी पुनः नायव पद ग्रहण गरिन् ।
कप्तान नक्सले दुई जना अंग्रेजहरुलाई काठमाण्डौमा बस्न इजाजत पाउँ भनी नेपाल सरकार संग आग्रह गर्दा नेपालले स्वीकृति दिएन । यसै कुरामा विवाद चर्कदा नक्सले म र्फकन्छु भनी धम्की दिदै सन् १८०३ मार्चमा यहाँबाट स्वदेशतर्फ प्रस्थान गरे । आफनो देशमा पुगेपछि नेपालविरुद्ध विष वमन गर्दै अहिलेको नेपालसरकार अंग्रेजहरुको कटटर विरोधी छ र रणबहादुरलाई काशीमै रोकेर राखोस् भन्ने उद्देश्यले प्रेरित भएर हामीसंग मित्रता गरे जस्तो देखाएको मात्र हो, यसैले अहिले नै नेपाललाई करेपमा पार्न सके हाम्रो हात माथि पर्छ भन्ने प्रतिवेदन गभर्नर जनरलसमक्ष पेस गरे ।  तर अहिलेको अवस्थामा अनावश्यक नेपालमाथि हात हाल्नु ठीक छैन भनी गभर्नर जनरलले नक्सको प्रतिवेदन थन्काइ दिए ।
काशीका व्यापारीहरुको ऋणमा डुवेका रणबहादुर शाहलाई साहुहरुले कडा ताकिता गर्न थाले । कम्पनीलेपनि आफना नागरिकको लगानी डुब्न नपाओस भनि चाँडो ऋण चुक्ता गरिदिनुपरयो भनी नेपाल सरकारमाति कुटनितिक दवाब दिन थाल्यो । यस्तो परिस्थिति आएपछि नेपालदरबारले केही रकम काशीमा पठाएर साहुहरुको थैली चुक्ता गराइ दियो । अनि बल्ल रणबहादुर शाह कम्पनी सरकारको कडा निगरानीबाट मुक्त भए । अब काशीमा टिकेर बस्न सकिदैन, जे जस्तो परिस्थिति आउला बेहोरौला भन्ने आपसमा सल्लाह गरी सन् १८०४ मा नेपालमै फर्कन्छु भनी यिनी सदलबल हिडे । काठमाण्डौ पुग्न लागेको बखतमा काजी दामोदर पाँडेको कमाण्डमा खटिएर गएको फौजले यिनलाई रोक्ने प्रयास गरयो । तर रोक्न सकेन, यिनी फौजका अगाडी अभिएर कडकिनासाथ सैनिकले हातहतियार जमीनमा राखे । रणबहादुरको आदेशबाट काजी दामेदर पाँडेलागायत केही पदाधिकारीहरुलाई तत्काल पक्राउ गरी लुमडीथानको सत्तलमा ल्याएर गोर्खेलौरी कसेर राखे । केही दिन पछि काजी दामोदर पाँडे सहित धेरै जनाको शिरोच्छेदन गरियो । नायव महारानी राजराजेश्वरीलाई पदच्युत गरी हेलम्बुमा पठाएर कैद गरे । यति गरे पछि रणबहादुरले गेरुवा वस्त्र त्यागी राजदरवारभित्रै पसे ।प्रमोदशमशेर साभार प्रमाेद शमसेर राणाको पुस्तक राणाशासनको वृतान्त


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...