नवदुर्गा
उपासना: सद्मार्गको प्रेरणा स्रोत
डा. वासुदेवकृष्ण शास्त्री,
विचार, १७ असोज २०७३ ०८:२२:१७
सनातन वैदिक हिन्दुहरूको इतिहास विक्रम्भन्दा ३०
हजार वर्षभन्दा प्राचीन अन्वेषकहरू मान्छन् । वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः
... जस्ता वैदिक शक्ति साधनाका अनुयायी उपासक भएकाले शक्ति प्राप्तिको लागि
शक्तिको उपासना महत्त्वपूर्ण मानिन्छ । मनुष्य, वनस्पति, कीटपतंगादिलाई
भगवतांश र प्राणीका रूपमा लिइएको प्रमाणित हुन्छ ।
दसैँमा आरोग्यताको लागि गहुँ र जौ मिसिएको जमरा
शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवत् दर्शन गरी पूजा, आमन्त्रण, प्रवेश
गराउनु, फूलपातीलाई बाजा–गाजासहित दसैं घरमा प्रवेश गराउनु, सात्विक
भोजन गर्नु, खिचडी, कुभिन्डो, नरिवल
आदिको बलि दिनु जस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा
रहेको छ । नवदुर्गा उपासनाले दैविक साक्षात्कार गराउनमा सहयोग पुग्छ ।
नवदुर्गा स्वरूप
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
आद्यशक्ति जगत्जननी दुर्गाले विभिन्न परिस्थितिमा
अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको
देवीभागवतबाट पुष्टि हुन्छ । नवदुर्गा भवानीले महिषाशुर रक्तबीज, चण्डमुण्डप्रचण्डको
बध गरी दानवीय शक्तिको नास गरेर जगत्कल्याण गरेको शास्त्रहरूमा उल्लेख छ । वैदिक
सनातन धर्मावलम्बीहरूले नवरात्रअन्तर्गत घटनास्थापनाको दिन दीप, कलश, गणेश र
स्थापित देवीको पूजनपश्चात् पूजाआरति गरी नैवेद्य अर्पण गरिन्छ । घटस्थापनाको दिन
गहुँ, जौ र धान मिसाएर (सप्तधान्य पनि लिन सकिन्छ)
जयन्ती मंगला काली...मन्त्रले जमरा राख्नुपर्छ । द्वितीया तथा प्रतिपदाको दिन जसरी
नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्छ ।
यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको
समयमा गीत वाद्यादि गरेर बिल्ववृक्षमा देवीबोधन गर्नुपर्छ, बिल्व
निमन्त्रण गर्नुपर्छ । बेलको हाँगामा तेल र हर्दी लेपन गरेर मन्त्रसहित देवीको
आह्वान गरिन्छ । सप्तमीको दिन पहिलेको जस्तै पूजापाठ, आरतीपछि
बेलुकीको समयमा बेलवृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्छ ।
गीतवाद्यादि गर्दै फूलपातीलाई दसैँघरमा प्रवेश गराउनुपर्छ । फूलपातीको दिन
भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ ।
अष्टमीको दिन बिहान नित्यपूजा गरी नौबर्से
कन्यालाई पूजा गर्नुपर्छ । पूजा गरिएकी कन्यालाई नैवेद्य भेटी आादि अर्पण
गर्नुपर्छ । राति कालरात्री देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन बाघको
आह्वान, पूजन गर्नुपर्छ । गणेश, भैरव, चतुःषष्ठीयोगिनीको
पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ । रात्रिसमयमा
अग्निस्थापना विधिले हवन गर्ने विधान रहेको छ ।
नवमीको दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार
पूजा गरी दसवर्षीय कन्या ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्छ । नवमीको दिन
नौजना कन्या र दुई वटुक (गणेश र भैरव) को रूपमा पूजन गर्ने पद्धति पनि रहेको छ ।
मन्त्रसहित कुभिन्डो र नरिवलको बलि अर्पण गर्नुपर्छ । यही दिन अग्निस्थापना विधिले
विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गर्नुपर्छ । दशमीको दिन उत्तरांगपूजन गरी
अपराजिता देवीको पूजा गर्नुपर्छ । आफ्ना इष्टदेवता, कुलदेवतालाई
प्रसाद चढाएर आफ्ना मान्यजनबाट विजयादशमीको टीका–प्रसाद ग्रहण गर्नुपर्छ ।
पौराणिक मान्यताअनुसार, दक्षप्रजापतिकी
छोरी शैलपुत्रीको जन्म भएको हो । शैलीपुत्रीको भगवान् शिवका साथ विवाह भएको थियो ।
प्रजापति दक्षले एउटा विशाल यज्ञको आयोजना गरेका थिए । यज्ञमा सतीदेवीबाहेक अन्य
छोरीज्वाइँ आफन्त सबैलाई उक्त यज्ञमा आमन्त्रित गरियो । यज्ञमा भगवान् शंकरको
निन्दा गरियो । आफ्नो पतिको अपमान सहन नसकी सतीदेवीले यज्ञको अग्निकुण्डमा
हामफालिन् । भगवान् शंकरको जटाबाट वीरभद्र र महाकाली प्रकट भई दक्षको यज्ञलाई
विनाश गरिदिएर दक्षप्रजापतिले भगवान् शंकरको निन्दा गरेकाले उनको शिर छेदन गरी
बोकाको शिर जोडिदिनुभयो ।
महादेवको स्पर्शको प्रभावले सतीदेवीको शरीर यथावत्
रह्यो । अग्निकुण्डमा रहेकी सतीदेवीको देहलाई साथमा लिँदै महादेवले पृथ्वीको भ्रमण
गर्दा जहाँजहाँ अंग पतन भए, त्यहाँ–त्यहाँ शक्तिपीठ उत्पन्न भए । ती स्थानमा
शक्तिपीठ स्थापना गरी पूजा आरम्भ गरिएको विधान पाइन्छ ।
विधिपूर्वक घटस्थापना गरेर गहुँको जमरा राखी
प्रारम्भ गरिएको दुर्गापूजनको प्रथम दिन शैलपुत्री नामक देवीको पूजन गरिन्छ । शैल
अर्थात् हिमालयका घरमा जन्म लिएकीले यिनको नाम शैलपुत्री रहन गएको हो । गोरुमा
चढेकी शैलपुत्री भगवतीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको छ ।
देदीप्यमान शैलपुत्रीको ध्यान गरिन्छ । साधना गर्ने साधकको लागि मूलाधार चक्र रहने
स्थानमा शैलपुत्री माताको ध्यान गरेर आफ्नो इष्टकामना पूरा हुने मान्यता रहेको छ ।
नवरात्रको प्रथम दिन पूजा गरिने शैलपुत्री देवीको विशिष्ट महत्त्व छ ।
नवरात्रको दोस्रो दिन भगवती दुर्गाजीको
ब्रह्मचारिणी रूपको ध्यान र पूजा गर्ने गरिन्छ । सतीदेवीको देह त्यागपछि पार्वतीको
जन्म हिमालयको घरमा हुन्छ । भगवान् शिवजीलाई पतिको रूपमा पाउन हिमालयपुत्री
पार्वती कठोर तपस्या गर्नुहुन्छ । ब्रह्मचर्यमा रहेर कठोर तपस्याको आचरण गर्ने
भएकाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो ।
तेस्रो रूप चन्द्रघण्टा हो । शिरमा अर्धचन्द्रको
धारण गर्ने र समग्र शिरको स्वरूप घण्टजस्तो भएकाले चन्द्रघण्टा भनिएको हो ।
चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पहेँलो देदीप्यमान छ । घण्ट बजाएर
शत्रूको विनाश गर्नुभएकाले चन्द्रघण्टा रहन गयो भन्ने उल्लेख छ । दसभुजा भएकी
चन्द्रघण्टा देवीको वाहन सिंह हो । सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवीले
मानवमा रहेको अत्याचारी, दानवी र राक्षसी प्रवृत्तिलाई विनाश गर्नुहुन्छ ।
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष
पूजाआराधना हुने गर्छ । पूजाबाट प्रसन्न भई दुर्गा भवानीले साधकहरूलाई दुःखकष्टबाट
शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्ने शास्त्रमा उल्लेख गरिएको छ । चन्द्रघण्टा
रूपलाई भक्तजनले सामान्य शान्त, करुणामयी मातृरूपमा दर्शन
गर्छन् । संगीत क्षेत्रमा साधनारत व्यक्तिहरूका लागि अलौकिक स्वर, सप्तस्वर
ज्ञान र सफलता प्राप्त गर्न यो रूपको ध्यान गर्नाले अति नै कल्याण प्राप्त हुन्छ ।
चौथो दिन कुष्माण्डा माताको पूजाआराधना गरिन्छ ।
जगज्जननीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकीले दुर्गादेवीको नाम
कुष्माण्डा रहन गएको श्रुतिशास्त्रमा उल्लेख छ । तन्त्रअनुसार, साधकहरूले
अनाहत चक्रमा कुष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्छन् ।
आदिशक्तिस्वरूपा भवानी देवी थोरै समयको आराधनाबाटै प्रसन्न हुनुहुन्छ । जुन
शक्तिको आराधनाले दुःखकष्ट, रोगव्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त
हुने शास्त्रमा उल्लेख छ ।
पाँचौं दिनमा स्कन्द माताको पूजा गरिन्छ । दुर्गा
माताको पाँचौं रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकी
हुँदा यो स्वरूपलाई पद्मासना पनि भनिन्छ । स्कन्दमाताका चार हात छन् । उहाँले
दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा (भुजामा) कमलको फूल र काखमा षडानन कुमारको
बालरूपलाई समाउनुभएको छ । बायाँतर्फको तल्लो हातले वरमुद्रा धारण गर्नुभएको छ ।
स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो छ । सिंहमा भ्रमण गर्न रुचाउने स्कन्दमाताजीको
शास्त्रीय आधारमा नवरात्रमा पूजाआराधनाले सम्पूर्ण लौकिक, सांसारिक
मायामोहबाट छुटकारा मिल्ने शास्त्रीय विधान छ ।
आद्यशक्ति भवानी श्रीदुर्गा भगवती कात्या ऋषिको
कुलमा उत्पन्न भएकी हुँदा छैटौं स्वरूप कात्यायनी हो । नवरात्रको छैटौं दिन माता
कात्यायनीको पूजा–आराधना गरिन्छ । प्रतिपदाको दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा
कलशमा षोडशोपचारले माता कात्यायनीको पूजा गर्नुपर्छ । कात्यायनी देवीका चार हात
छन् । दायाँतिरका दुई अभय र वरमुद्राले युक्त छन् भने बायाँतिरका दुई हात तरबार र
कमल फूलले सहित छन् । सिंह वाहन भएकी कात्यायनी देवीको स्वरूप पहेंलो टल्किने
सुनजस्तै छ । अत्यन्त देदीप्यमान भगवती कात्यायनीका साधकहरूले आज्ञाचक्रमा ध्यान
गर्नुपर्छ । अविवाहित कन्याले कात्यायनी भगवतीको पूजा गर्दा विवाह चाँडो हुने
विश्वास रहेको छ ।
नवरात्रको सातौं दिनमा नवदुर्गा भवानीको कालरात्री
स्वरूपको पूजा गरिन्छ । कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ ।
सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान
आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुँदा दुर्गादेवीको यो स्वरूपलाई
कालरात्री भनिएको हो । कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ । रात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास
भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामाकरण भएको
देखिन्छ । चार हात भएकी कालरात्री स्वरूपमा दुर्गा भवानीको यो स्वरूप अन्य
स्वरूपहरूभन्दा डरलाग्दो छ । शास्त्रीय विधानअनुसार नियम पालना गरी पवित्र भएर
एकचित्तले कालरात्रीको साधना उपासना गर्नाले साधक कहिल्यै पनि दुःख र दरिद्रतामा
पर्दैन भन्ने शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ ।
नवरात्रको आठौं दिनमा दुर्गा भवानीको महागौरी
स्वरूपको पूजा आराधना गरिन्छ । चार हात भएकी सेतो वस्त्र लगाएर वृषभमा चढेकी
देवीको नवरात्रको अष्टमीको दिन विधिविधानअनुसार ध्यान, पूजन र
साधना गर्ने गरिन्छ । माता दुर्गाको यो आठौं रूप हो । माता पार्वतीले यही स्वरूपमा
भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गर्नुभएको थियो । दुर्गा भवानीको यो
स्वरूप अत्यन्त शान्त छ । चार हातमध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल
लिएकी तथा बायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरीको
उपासनाले असत्, अन्याय र अत्याचारको मार्गबाट निवृत्त भई सत्य
न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्छ ।
नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भवानी
दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ । महानवमीको दिनमा घटस्थापनादेखि
दैनिक रूपमा गरिने सप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ । यसै दिन हवन पनि
गरिन्छ । सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र
वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन् । सिद्धिदात्री देवीले चार हातमध्ये
दायाँतर्फका दुई हातमा गदा र चक्र तथा बायाँतर्फका दुई हातमा शंख र कमलपुष्प धारण
गरी कमलपुष्पमा विराजमान हुनुभएको छ ।
सृष्टिक्रममा भगवान् शिवले पनि आफ्ना आराध्यदेवीका
रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र
महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ ।
सिद्धिदात्रीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो ।
सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा केही पनि अप्राप्य र दुर्लभ हुँदैन
भन्ने भाव रहेको छ । मूलाधार चक्रदेखि सहस्र दलसम्मको तन्त्रविधिअनुसार प्रत्येक
दिन एक–एक चक्रको जागरण भई सहस्र दलमा गएर लय हुन्छ । तन्त्रमा भगवतीको उपासना
महत्त्वपूर्ण रहेको छ । देशभरिका शक्तिपीठ नवदुर्गा भवानीको पूजा–उपासना गरेर सुख, शान्ति, समृद्धिको
प्रार्थना गरौं ।