Monday, October 07, 2019

गोरखाबाट फूलपातीको डोली हनुमानढोका


गोरखाबाट फूलपातीको डोली हनुमानढोका
आश्विन १८, २०७६हरिराम उप्रेती
(गोरखा) — अघि–अघि धिमे बाजा, फूलपातीको डोलीसहितको लावालस्कर । शनिबार बिहान गोरखा दरबारमा छुट्टै चहलपहल थियो । हनुमानढोका लैजान तथा गोरखा दरबारमा भित्र्याउने फूलपाती खोजीका लागि गोरखा दरबारका कर्मचारीलाई शुक्रबारबाटै चटारो थियो । गोरखा दरबारमा चार सय वर्षअघिदेखि फूलपाती भित्र्याउने प्रचलन सुरु भएको अग्रजहरू बताउँछन् 
गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइयो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो । ‘अमराई जंगलबाट आज बिहान सुसारेहरूले विशेष प्रकारको फूलपाती ल्याएपछि हनुमानढोका पठाएका छौं,’ गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने । फूलपातीको अघिल्लो षष्टीका दिन बेल निमन्त्रणा पूजा गरिन्छ । गोरखा नगरपालिका–८ चुच्चे ढुङ्गामा बलिसहित पूजा हुने भट्टराईले बताए 

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन हिन्दु धर्मावलम्बीले घर–घरमा फूलपाती भित्र्याउँछन् । केरा, हलेदो, दारिम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको बाला वा अन्य नयाँ पालुवा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्र्याउने प्रचलन छ 

सडक नखुल्दासम्म गोरखा–धादिङको केवलपुर–जीवनपुरबाट पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । ‘सडक खुलेपछि गाडी वा मोटरसाइलमा राखेर पनि पठायौं,’ उनले भने, ‘२०६७ सालपछि भने बाजागाजासहित भव्य कार्यक्रमका साथ पठाउन थालेका छौं ।’

गोरखाबाट राजधानी सरेपछि यसरी गोरखाबाट हनुमानढोका फूलपाती लाने प्रचलन अझै कायम रहेको कट्टेलले सुनाए । गोरखा दरबारका पूजारी लोकप्रसाद भट्टराई फूलपातीसहितको डोली लिएर काठमाडौं गएका छन् । ‘हनुमानढोका फूलपाती नलगी बढाइँ हुँदैन,’ उनले भने,‘यो फूलपाती हनुमानढोका पुर्‍याएर भर्पाई गरेर फर्कन्छौं ।’ हनुमानढोकामा फूलपाती भित्र्याएपछि दसैं भित्रियो भन्ने प्रचलन छ 

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती लैजाँदा पर्यटन प्रवर्द्घनमा पनि सघाउ पुगेको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले बताए । ‘पहिले हुलाकी मार्गको प्रयोग भएर लाने प्रचलन थियो, सडक सञ्जाल खुलेसँगै गाडीको माध्यमबाट पठाउन थालिएको छ,’ पन्तले भने,‘बीचमा केही समय ब्रेक पनि भयो, यसको महत्त्व जनमानससम्म नपुगेको अवस्था थियो, अहिले सवारी साधनबाट लाँदा महत्त्व स्थापित भएको छ ।’

सडक नखुल्दासम्म गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरदेखि हनुमानढोकासम्म काठमाडौंबाट आएका ब्रह्माण जातिका ६ जनाले लाने परम्परा रहेको अग्रजहरू बताउँछन् 

अहिले गाडीबाट लगिने फूलपाती उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र नाचगानसहितको भित्र्याइँदै आएको छ । शाहवंशीय राजाहरूले गोरखाकालीकालाई कुल देवताको रूपमा पुज्दै आएका छन् । ‘पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाहवंशीय राजाहरूले नै सुरु गरेका हुन्,’ हेरचाह अड्डाका प्रमुख कट्टेलले भने 
प्रकाशित : आश्विन १८, २०७६ १७:१२


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...