Monday, October 07, 2019

‘चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल


चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल

खबर सम्पूर्ण संवाददाता प्रकाशित : शुक्रबार, अशोज १७, २०७६
धादिङ मा नेपालीको महान् चाड दसैं सुरु भइसकेको छ। ठाउँअनुसार रीतिस्थिति, रहनसहन र संस्कार फरक(फरक हुने गर्छ। यस्तै फरक विशेषतामध्ये पर्छ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बसोवास गर्ने कुमाल समुदायको ‘चोखा’ पेल्ने परम्परा।
ठूलो काठको खाँबोलाई काठकै साँचो बनाई ३४ जना मानिसले धकेलेर त्यसलाई घुमाउँछन्। खाँवो अड्याउने ठाउँमा प्वाल पारिएको मोटो र बलियो फलेकजस्तो काठ हुन्छ। त्यहाँ तिल, तोरीजस्ता तेलहन वस्तुहरू हाल्ने र घान लगाउन एक जना बस्छन्। खाँवो घुमाउनेको गतिअनुसार घान हालेर काठले नै पेलेर ‘चोखा’ निकाल्ने गरिन्छ।
दसैं, तिहार, छठजस्ता ठूला चाडपर्वमा आवश्यक पर्ने तेल परम्परागत काठे कोलमा पेलेर निकाल्ने कामलाई ‘चोखा पेल्ने’ भनिन्छ। आफ्नै बारीको तेलहन पदार्थ पेलेर शुद्ध र चोखो तरिकाले तेल निकाल्ने कामलाई उनीहरूको स्थानीय भाषामा चोखा पेल्ने भनिएको हो।
आधुनिक मेसिनमा तोरीलगायत अन्य तेलहन वस्तु पेल्दा छिटो, सस्तो र सजिलो हुने भए पनि त्यसरी पेलेर निकालिएको तेल चोखो नहुने जनविश्वास कुमाल समुदायमा छ। प्रविधिको विकाससँगै ठाउँ(ठाउँमा आधुनिक र विद्युतीय मिल स्थापना भएको छ। आधुनिक मिल स्थापनासँगै परम्परागत तेल पेल्ने प्रविधि ‘काठेकोल’ विस्थापितजस्तै भएका बेला त्रिपुरासुन्दरीको कुमाल समुदायमा भने यो प्रविधि अझै कायम छ। कुमाल समदायले गाउँघरमा तोरी, तिल, झुसेजस्ता तेलहन पदार्थ परम्परागत काठेकोलमा पेलेर तेल निकाल्ने गर्छन्।
यस्तो प्रविधि आधुनिक मिलको विकास हुनुभन्दा पहिले गाउँघरमा जताततै भेटिने भए पनि हराउँदै गएको छ। विशेष गरी बजारमा किनेको र मेसिनमा पेलेको तोरी, तिल र झुसेको तेलमा मिसावट हुने भएकाले खानभन्दा पनि पूजा(आजामा प्रयोग गर्न कोलमा पेल्ने गरिएको स्थानीय शान्ति कुमालले बताइन्।
विशेष पूजाआजामा आफ्नो घरपरिवारबाहेक कसैले छोएको तेल चल्दैन हाम्रो संस्कारमा, त्यसैले चोखो तेल बनाउन कोलमा तेल पेल्ने गर्छौं’, उनले भनिन्। उनका अनुसार विशेष पर्वका बेला धान, मकै गहँु पनि ढिकीजाँतोजस्ता परम्परागत प्रविधिबाट कुटानी(पिसानी गरिन्छ।
दराई र कुमाल जातिको बाक्लो बसोवास रहेको सल्यानटारमा एउटा मात्र काठेकोल छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्रसमेत रहेको सल्यानटारमा रहेको कोल पनि दसंै र कुनै विशेष पूजाआजा परेका बेला मात्रै जडान गरिन्छ। पर्व सकिएपछि फुकालेर राख्ने गरिन्छ।
काठेकोल कुनै जाति विशेषले प्रयोग गर्ने औजार मात्र नभई ऐतिहासिक, मौलिक परम्परा र संस्कृति पनि जोडिएको कुमाल समुदायका अगुवाहरूको भनाइ छ।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...