जात्रामा संलग्न हुने सबैलाई कुमारी घर
बोलाइन्छ र भोज खुवाइन्छ । भोज खर्च गुठीले व्यहोर्छ । भोज खाने, खुवाउने कार्यलाई
‘वलँ भ्वय्’ भनिन्छ । यही
दिन तलेजु भवानीका पुजारीको घरमा पनि भोज खाने चलन छ ।
काठमाडौँ — यःसिं उठाएको दिनदेखि वसन्तपुरमा
इन्द्रजात्राको रौनक सुरु भएको छ । इन्द्रजात्रा सुरु भएको चौथो दिन कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्छ ।
शुक्रबार वसन्तपुर क्षेत्रको
तल्लो टोलमा कुमारी रथयात्रा गराएपछि राति राष्ट्रप्रमुखले कुमारी दर्शन गर्ने
परम्परा छ । यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर गद्दीबैठकबाट कुमारी दर्शन गरिन् । कुमारीघरमा बस्ने कुमारी जुनसुकै दिन निस्कन नपाउने परम्परा छ । वर्षमा १३ पटक मात्र बाहिर निकालिन्छ । त्यसमध्ये इन्द्रजात्राको बेलामा विशेष महत्त्वको साथ बाहिर निकालिन्छ ।
भाद्र द्वादशी तिथिबाट
आश्विन चौथी तिथिसम्म मनाइने इन्द्रजात्राको अवसरमा तीनपटक कुमारी बाहिर निकालिने
परम्परा रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन् । राजकीय सम्मानका साथ भाद्र शुक्ल पक्षको चतुर्दशी, पूर्णिमा र आश्विन कृष्ण पक्षको चौथी तिथिमा
रथयात्रा चलाइन्छ ।
टोलबासीले आफ्नो
राष्ट्रिय जीवित देवी कुमारीको दर्शन गरून् भन्ने उद्देश्यले टोलटोलमा रथयात्रा
गर्ने परम्परा रहेको हो । शुक्रबार वसन्तपुरबाट सुरु भएको रथयात्रा तल्लो टोल घुमाइयो । तल्लो टोलमा वसन्तपुर, मरु, चिकंमुगल, जैसीदेवल, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदैन वसन्तपुर आएर टुंगिन्छ ।
भोलिपल्ट माथिल्लो टोलमा
रथयात्रा हुन्छ । माथिल्लो टोलको पनि परम्परादेखि चल्दै आएको रुट हुन्छ । वसन्तपुरबाट निकालेर प्याफल, यट्खा, नरदेवी, तेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै फेरि वसन्तपुरमै ल्याइन्छ ।
सप्ताहव्यापी कुमारी
पूजामा के हुन्छ ?
सैनिक बाजा, प्रहरीको बाजा, पञ्चैबाजा बजाइन्छ । कुमारीको दायाँ–बायाँ जीवित गणेश र जीवित भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरकफरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पूजा हुन्छ । यो दिन बिहान कुमारी, गणेश र भैरवमा सप्ताहव्यापी कार्यक्रमकका लागि
सरकारले निम्ता चढाउने परम्परा छ ।
पञ्चबुद्धको मूल
पुरोहितले बौद्धधर्म विधिअनुसार कुमारीलाई सगुन, शृंगार सामान र पोसाक चढाउँछन् । जीवित देवता गणेश र भैरवलाई पनि यही दिन निमन्त्रणा चढाउने परम्परा छ । जीवित देवी कुमारी कुमारीघरमा राखिएको छ भने गणेश र भैरवचाहिँ आफ्नै घरमा बस्दै आएका छन् । कुमारीलाई पञ्चबुद्धको मूल पुरोहितले र गणेश, भैरवलाई अन्य पुराहितले निम्ता चढाउने परम्परा
छ ।
कुमारीका लागि ६ गजको
कपडा चढाइन्छ । गणेश र भैरवलाई चाहिँ ‘गुल मण्ड’ नाम गरेको विशेष पोसाक चढाउने परम्परा छ ।
भाद्र द्वादशी तिथिमा
गर्ने अर्को पूजा विधि छ । यसलाई नेपालभाषामा मह्री ब्वयेगु भनिन्छ । यस दिन साँझ कुमारी, गणेश र भैरवमा सांस्कृति रोटी चढाउने कार्यक्रम
हुन्छ । रोटी विशेष तरिकाले बनाइएको हुन्छ ।
कुमारी परम्पराबारे
अध्ययन गरेकी दुर्गा शाक्यका अनुसार २६ प्रकारका रोटी चढाइन्छ । त्यो दिन कुमारीलाई दस पाउको अष्टमंगल ८ थान चढाइन्छ । गणेश र भैरवलाई भने अष्टमंगल चढाइँदैन । दस पाउको मठ कुमारीलाई २ थान र गणेश र भैरवलाई १/१ थान चढाइन्छ । चार पाउको मठ, दुई पाउको मठ, दस पाउको ऐंठा, तीन पाउको ऐंठा, डेढ पाउको ऐठा, दस पाउको जोपस्ता, तीन पाउको जोपस्ता, डेढ पाउको जोपस्ता कुमारी, भैरव र गणेशलाई नै चढाइन्छ ।
त्यसैगरी दस पाउको कल्ले
मह्री, दुई
पाउको कल्ले मह्री, ६
पाउको ‘ठू’ मह्री, ६
पाउको खाजा थान, दुई
पाउको खाजा, ५
पाउको फिनी, ६
पाउको मिठाइ, दुई
पाउको मिठाई, ६
पाउको गणेश भोग, एक
धार्नी मकैको कछुवा (भाले), एक
धार्नी मकैको कटहर (पोथी), पञ्च
पकवान मह्री चढाउनुपर्छ । रिकापीमा मसला पनि चढाउने परम्परा छ । कुमारीलाई ३२ रिकापी र भैरव, गणेशलाई
५/५ रिकापी मसला चढाउने परम्परा छ ।
त्रयोदशीमा गरिने
पूजालाई नेपाल भाषामा ‘वलँ भ्वय्’ भनिन्छ । कुमारीको रथयात्रामा संलग्न हुने सबैलाई कुमारी घर बोलाइन्छ यो पूजामा । भोज खुवाइन्छ । भोज खर्च गुठीले व्यहोर्छ । ‘भोज खाने, खुवाउने कार्यलाई नै वलँ भ्वय् भनिन्छ,’ शाक्य भन्छिन् । यही दिन तलेजु भवानीका पुजारीको घरमा पनि भोज खाने चलन छ । तलेजुका पुजारी नेवार समुदायभित्रका कर्मचार्य हुन् ।
चतुर्दशी तिथिमा गरिने
पूजालाई ‘क्वः नेयाः’ भनिन्छ । यो दिन रथयात्रा गराउने दिन हो । तल्लो टोलमा रथ यात्रा गराउने भएकाले यो दिनलाई ‘क्वः नेयाः’ भनिएको हो । यो दिन कुमारीको आगम कोठामा गोप्य पूजा हुन्छ । पूजा बौद्ध परम्पराअनुसार गरिन्छ । पूजा पञ्चबुद्ध पुरोहितले गर्छन् ।
यो पूजा सकिएपछि जीवित
देवता गणेश र भैरवलाई कुमारी घर ल्याइन्छ । कुमारी चोकबाट कुमारी श्रीखण्ड मूल श्रीविहार हुँदै रथ भएको ठाउँसम्म पैदल ल्याउने चलन छ । रथमा विराजमान भएपछि बलि पूजा हुन्छ । रथको अगाडि हुने ‘घःमाः’ मा भेडाको बलि दिने चलन छ । बलिपूजा भएपछि राष्ट्रप्रमुखले प्रसाद ग्रहण गर्छन् । भेटी चढाउँछन् । त्यसपछि रथयात्रा सुरु हुन्छ । राजसंस्था हुँदा राजाले यो विधि पूरा गर्थे । राजतन्त्रको अन्त्य भएपछि राष्ट्रपतिले राजाले गर्दै आएको यो परम्परलाई निरन्तरता दिएका छन् ।
कुमारीको रथ चलाउने पनि
आफ्नै विधि छ । यसको अगुवाइ पञ्चबुद्धका पुरोहित, सेनाको बाजा, प्रहरीको बाजा र पञ्चैबाजाले गरिन्छ । कुमारीको रथ पछाडि शार्दुल जंगको पल्टन हुन्छ । बाजागाजासहित सहरको परिक्रमा हुन्छ । रथ वसन्तपुरमा आएपछि देवीको पूजा गरी समय्बजी चढाउने र प्रसाद खाने चलन छ । पूर्णिमा तिथिमा हुने कार्यक्रमलाई थःने याः भनिन्छ । यो दिन माथिल्लो टोलमा रथयात्रा गरिन्छ ।
तल्लो टोल र माथिल्लो
टोलमा रथयात्रा सकिएपछि आश्विन प्रतिपदा तिथिमा गाईदान पूजा हुन्छ । कुमारीघर अगाडिको डबलीमा तीनवटा मउडापमा कर्माचार्य र ब्राम्हणबाट गाइदान गर्ने चलान छ । गाईदान
सकिएपछि भोलिपल्ट गणचक्र पूजा हुन्छ । यो पूजामा कानफट्टा जोगीबाट कुमारीको खाली रथमा बलि पूजा गर्ने परम्परा छ ।
गणचक्र पूजा भएको
भोलिपल्ट नानीचा यात्रा हुन्छ । सप्ताहव्यापी कार्यक्रमको समापनको दिनमा हुने रथयात्रा हो नानीचा । प्याफल, नरदेवी, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरस्थित गद्दी बैठकअगाडि रथ
विर्सजन हुन्छ । रथयात्रा सकिएपछि कुमारी, भैरव र गणेशलाई लसकुस (स्वागत) गरिन्छ । अनि कुमारीलाई कुमारी घरमा रहेको आसनमा विराजमान गराइन्छ । भक्तजन कुमारीबाट टीका थाप्न आउँछन् । यही दिन यः सिं पनि ढालिन्छ । इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न हुन्छ ।
रथायात्रामा को–को
सहभागी हुन्छन् ?
व्यवस्थापन समितिमा
संयोजक शाक्यका अनुसार नेवार समुदायभित्रका विभिन्न २९ गुठी छन् इन्द्रजात्रा
सञ्चालन गर्ने । ती सबै जातिको अलगअलग काम हुन्छन् । लाखेको व्यवस्थापन गर्ने बेग्लै गुठी छ । पुलुकिसि व्यवस्थापन अर्कै गुठीले गर्छ ।
कुमारीको रथ व्यवस्थापन
गर्ने काममा पञ्चबुद्ध, राजाको
खड्ग समाउने व्यक्ति, कुमारीको
खड्ग समाउने व्यक्ति, सिकर्मी, नकर्मी, पुई ज्यापूहरू, नायः (महानाइके), म्हे नायः, लायकू साःमी, यंगल साःमी र चित्रकार सहभागी हुन्छन् । रथयात्राको साथमा विभिन्न भेषभूषामा पञ्चबुद्ध रहेका हुन्छन् । ५ जना बौद्ध पुरोहितको समूहलाई पञ्चबुद्ध भन्ने गरिन्छ ।
राजाको खड्ग लिएको
व्यक्ति तीनवटै रथयात्रामा कुमारीको रथमा बस्छन् । रथ सुरु हुनु अघि र रथ विसर्जन भएपछि कुमारीलाई भन्दा अगाडि खड्गको पूजा गरिन्छ । कुमारीको खड्ग समाउने व्यक्तिचाहिँ दुई जना हुन्छन् । रथको काठसम्बन्धी सम्पूर्ण कामको जिम्मा सिकर्मीको हुन्छ । स्थापित थरका व्यक्तिले कुमारीको रथको गजुरमा पता चढाउने काम गर्छन् । नकर्मीले रथमा कुनै खराबी आएमा मर्मत गर्ने काम गर्छन् । पुई नाइकले कुमारीको पाउ भुइँमा नपरोस् भनेर
सेतो कपडा ओछ्याउँदै जाने काम गर्छन् ।
ब्रम्हटोलका महर्जन
ज्यापू पनि रथयात्राका महत्त्वपूर्ण वर्ग हुन् । यो जातिको काम कुमारी सानो खटमा विराजमान हुँदा बोक्ने हो । कुमारीको रथ ग्यारेजबाट बाहिर निकाल्ने, रथयात्रा सकेपछि भित्र थन्क्याउने, रथ तान्ने डोरी तयार गर्ने, वसन्तपुरमा कुमारीको इनार सफा गर्नेजस्ता काम
गर्छन् । नायः (महानाइके) को काम रथ कहाँ, कसरी लैजाने भनेर निर्देशन दिने हो । उनीहरू रथको अगाडि बसेर ‘होस्ते, हैसे’
भनिराखेका हुन्छन् । नायः दुई जना हुन्छन् । म्हे नायः को काम कुमारीको अगाडि बत्ती बालेर जाने हो ।
लाय्कु साःमीको काम
वसन्तपुरमा रथ रहुन्जेल ‘इला’ राख्ने हो । इला भनेको झल्लर मठको ठूलो कपडा हो । उनीहरूको अर्को काम रथको दायाँ–बायाँ खम्बा उठाउने पनि हो । इन्द्रजात्रा अवधिभर काठैकाठले बनाइएको पालामा बत्ती बाल्ने पनि हो । इन्द्रजात्रा अवधिभर यसलाई गद्दी बैठकको अगाडि विशेष रूपमा राखिएको हुन्छ । यंगल साःमीको कामचाहिँ रथलाई बलियो गरी बेत बाँसले कस्नु हो ।
यंगाल टोलका मानन्धर
जातिले गर्छन् यो काम । तीनवटै रथलाई यसरी कस्नु उनीहरूको काम हो । चित्रकारको कामचाहिँ
कुमारी, गणेश
र भैरवको रथमा रहेको ‘घःमाः’ मा रहेका रथको पांग्रामा विभिन्न रंगको चित्र कोर्नु
हो । ‘धेरै जाति सहभागी हुने रमाइलो पर्व हो इन्द्रजात्रा,’ संस्कृतिविद् यज्ञमानपति वज्राचार्य भन्छन्, ‘कालो, अँध्यारो र जंगली महिनाको रूपमा चिनेने गुँला
महिना सकिनासाथ आउँछ इन्द्रजात्रा । यसले सबैमा खुसीको सञ्चार गराउँछ । वातावरण उमंग बनाइदिन्छ ।’प्रकाशित : भाद्र २८, २०७६ ०८:५५