प्रमोदशमशेर राणा, राणाशासनको
वृतान्तको १५औं श्रृँखला
सन् १८३२मा नायव
त्रिपुरासुन्दरी हैजाको व्यथाबाट अकस्मात परलोक भइन् । यिनको मृत्युभएको खबर
सुन्नासाथ भीमसेन धुरीबाट खसेजस्तै भए । अब लालमोहर छाप राजा राजेन्द्रकी जेठा
महारानीको जिम्मामा गयपो । यस्तो बन्दोबस्त भएपछि धेरै टाठाबाठा मानिसले अब
भीमसेनको अघिजस्तो हुदैन कि भन्ने अनुमान गरे । हुन पनि त्रिपुरासुन्दरीको मृत्यु
भएपछि भीमसेन थापाको शक्ति केही ढलमल भएको जस्तो देखियो, तर
उनले कत्तिपनि हरेस खाएनन् र आफनो शक्ति यथावत राख्नकालागी परराष्ट्र मामिलामा बराबर
दखल दिन थालेकाले त्यसलाई मत्थर पार्न एउटा दूतमण्डल सोभैm बेलायतमा
पठाएर बादशाहसमक्ष नेपालका राजाको खरितापत्र पेश गराउने योजना तयार पारे । यो काम
तामेल गर्न माथवरसिंह थापालाई दूत बनाए । त्यहाँ पठाउन उनलाई छोटा जर्नेल पद दिएर
बेलायत जान भनी कलकत्तामा सदलबल पठाए । कलकत्तामा पुगेका जर्नेल माथवरलाई नेपालका
दूत भएर बेलायत जान गभर्नरले स्वीकृति दिएनन् । तर उनी बेलायत जानै चाहन्छन् भने
एउटा सामान्य नेपाली नागरिकको हैसिएतमा त्यहाँ जान सक्छन् र बेलायतका बादशाहसंग
भेट गर्ने अवसर पनि मिल्दैन भन्ने खरो जवाफ गभर्नर जनरलले
दिए । बेलायत जान भनी ठुलो रोब रवाफ साथ कलकत्ता पुगेका माथवर लोब्रे कान लगाएर
काठमाण्डौ फर्के । यो मिसन असफल भए हुदा भीमसेन थापाको राजनितिक छवि अरु खराब भयो
र उनका विरोधीहरु सलबलाउन थाले ।
राजा राजेन्द्रको उमेर
अठार वर्ष पुग्यो र उनी बालिग भए । अब यिनी देशको राजकाजमा पनि रुचि राख्न थाले ।
यिनका दुई जना महारानीहरु प्नि टाठाबाठा थिए र दुवै जना राजकाजका मामिलाहरुमा हात
बढाउन चाहन्थे । दरवारभित्र राजारानी सबै जनाले राजकाजमा रुचि लिन थालेको बुझेपछि
थापाहरुको दमन चक्रमा पिसिएर बसेको तिनका दुस्मन पाँडे, शाह
तथा गुरुज्यूहरुसमेत चलबलाउन लागे । मुख्तियारको खिलाफमा बोल्ने आँट गर्न नसकेपनि
यिनीहरुले सुटुक्क राजा रानीका कानमा थापाहरुको विरोधमा अनेक कुराहरु सुनाउन थाले
। थापाहरुको विरोधमा चारैतिरबाट उजुरीहरु प्राप्तहुनथालेपछि राजारानी सतर्क भए र
भीमसेन थापाको शक्ति केही मत्थर पार्नकालागी उनका कटटर विरोधि रणजङ्ग पाँडेलाई
काजी दर्जा प्रदान गरी अघि उनको सर्वस्वहरण गरी जफत गरिएको सम्पत्ति पनि फिर्ता दिनु भन्ने
हुकुम दिए । यसरी आफना विरोधी पाँडेको सर्वस्वसमेत फिर्ता भएको देखेर थापाहरु
झसङ्ग भए । यसै बखत २७ जुलाई १८३७ इ.का दिन नाबालक राजकुमार देवेन्द्रविक्रम शाह
केही दिन मात्र विरामी भई अकस्मात परलोक गए । भीमसेन थापाले जालझेल गरी भाजुमान
वैद्यलाई लगाएर राजकुमारलाई औषधी भनी विष सेवन गराई उनको हत्या गरिएको हो भन्ने
अभियोग मुख्तियार माथि लागाइयो । यसै अभियोगमा राजाको ठाडो हुकुमबमोजिम खटिएर गएको
हनुमान दल पलटनले प्रधानमन्त्री भीमसेन थापा र उनका केही भाइ भतिजाहरुलाई पक्राउ
गरी झयाँइकुटी पारी दरवारमा ल्याए । उनीहरुलाई तुरुन्तै नेल ठोकी कारागारमा जाकियो
। त्यसै दिन काजी रणजङ्ग पाँडे मुख्तियार भए । तेत्तीस वर्षसम्म नेपाललाई हाँकेर
अधिनायकवादी ढङ्गबाट शासन चलाएर बसेका भीमसेन यस्तो कपोलकल्पित आरोपमा थुनामा परे
। अङग्रेज इतिहासकार पर्सिभल ल्यान्डनले यिनी प्रति टिप्पणी गर्दै ‘तेत्तिस वर्ष
सम्म नेपाल भनेको भीमसेन र भीमसेन भनेको नेपाल थियो’ भनेका छन् ।
भीमसेन थापाले तीन दशक
सम्म आफनै मर्जी र तजविजका भरमा निर्वाध रुपमा एकलौटी शासन चलाएको थिए । अकस्मात
यिनको पतन हुँदा देशमा एउटा शुन्यता आएको जस्तो महसूस भयो । मुख्तियार बदलिए, शासन
चलाउने ढाँचा अर्कै भयो र अघिको जस्तो एउटै व्यक्तिको मर्जीबाट अब कामकाज नहुने
भयो, अब त राजा, महारानीहरु र
मुख्तियारसमेतको हुकुम र आदेशबाट राजकाज सञ्चालन हुन लाग्यो ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा