टोलटोलमा मतयाः
नेपालभाषामा मतको अर्थ दीप र याःको अर्थ यात्रा
बुझिन्छ । जात्रामा
वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै
दीपयात्रा गर्ने चलन छ ।
काठमाडौँ — ललितपुरमा निकै पुराना परम्परागत
बाजा बजाउने छुट्टाछुट्टै समूहहरू छन् । पाटनीमा तीमध्ये एउटा समूहलाई ‘नौ बाजा खलः’ भनिन्छ । यो बाजा बजाउन आवश्यक सम्पूर्ण बन्दोबस्त मतयाः पाः गुठीले गर्छ ।
ललितपुरमा मनाइने
विभिन्न चाडपर्वमध्ये महत्त्वपूर्ण बौद्ध चाड हो मतयाः । पाःको अर्थ पालो थाप्ने व्यक्ति वा समूह बुझिन्छ । मतयाः पाटनका १० टोलले प्रत्येक वर्ष पालैपालो आयोजना गर्छ । यस वर्ष हौगः टोलको पालो छ ।
नेपालभाषामा मतको अर्थ
दीप र याःको अर्थ यात्रा बुझिन्छ । जात्रामा वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै
दीपयात्रा गर्ने चलन छ । शनिबार पाटनमा अघिल्लो पंक्तिमा न्यकू (राँगाको सिङ) फुकेर र तिनका पछिपछि बलेको मैनबत्ती लिई अगाडि बढ्नेको संख्या थुप्रो थिए ।
उनीहरूले पाटनका चार थुर, १७ बहा र २१ बहीका साथै चैत्य, धर्मधातु, चिवाह र घरआँगन, चोकमा प्रतिस्थापित सबै देवदेवतालाई रोटी, फलफूल चढाएर पूजा गरेका थिए ।
प्रायःले नौ बाजा
भन्नेबित्तिकै नौवटा बाजा सम्झन्छन् । तर, यसमा
१८ वटा बाजा हुन्छन् । जसमध्ये अति महत्त्वपूर्ण न्यकू (सिङ) बाजा हो । यसलाई शास्त्रीय ग्रन्थमा शृंगभेरी भनिन्छ । न्यकू जात्रा मतयाः सञ्चालन समिति हौगका सल्लाकार रवीन्द्रराज ताम्राकार भन्छन्, ‘बाजामध्ये
अर्को महत्त्वपूर्ण दमोखिँ हो । यसलाई देव बाजा भनिन्छ ।
दमोखिँमा महालक्ष्मी, महाकाली, भैरव, नृत्यनाथ तथा महाकाल देवता प्रतिस्थापन गरिएका
हुन्छन् ।’ उनले नौ बाजामा समन्वयको भूमिका धाः बाजाले खेल्ने बताए । ‘धाः बाजा अत्यन्त प्रभावशली हुन्छ । दर्शकश्रोता
प्रभावित पार्ने बाजा पनि यही हो,’ उनले भने, ‘जोसिलो र रसिलो ताल नगरा हो । यो बाजको ताल विदेशी पर्यटकले बढी मन पराउँछन् ।’
जात्रामा धिमे, नायख, काशी बाजा, खैजनी, कोचाखिँ, मगःखिँ, नगरा, मृदंग, ढोलक, दः, धोँ, धोँचा, जो नगरा, कान्ताँ डब हुन्छन् । यी बाहेक मुहालि, कनाथ, झ्याली (ठूलो सानो दुवै) बजाउने चलन छ । जात्रासम्बन्धी एउटा रोचक कथा छ । शिशपटन राज्यमा सिहकेतु नामक एक हिंस्रक राजा थिए । रानी त्यसको ठीक उल्टो शान्ति रुचाउँथिन् ।
रानीले राजालाई हिंसा
नगर्न धेरै पटक आग्रह गरिन् । तर, मानेनन् । राजा कालगतिले
परलोक गए । त्यहाँ राजाले यातना भोग्नुपरेको सहन नसकेर रानी पापमोचन गर्ने आशामा सति गइन् । पुनर्जन्ममा रानी सोही देशको एक ब्राहृमण परिवारमा जन्म लिइन् । रानी जन्मेको परिवारमा पालिएको भैंसीले पनि पाँडो जन्मायो ।
ब्राहृमणपुत्रीले पतिसँग
सति गएको पुण्यले त्यो भैंसीले पाएको पाडो आफ्नो श्रीमान् भएको थाहा पाइन् । दुवै हुर्कंदै गए । उनी पाडोलाई प्रत्येक दिन जंगलमा चराउन लैजान्थिन् । एक दिन पाडोलाई बाघले खाइदियो । अनि सम्झानामा हाडखोर जम्मा गरेर गर्भभित्र हाली चैत्य निर्माण गरिन् । दिवंगतपाडोको दायाँ सिङ चैत्यको
गजुर बनाइन् ।
अर्को सिङको बाजा बनाई
गुलाँमास एक महिनासम्म निरन्तर व्रतपूजा गरिन् । अन्तिम दिन सिङ बाजा फुक्दै चैत्य परिक्रममा गर्ने क्रममा चैत्यको गजुरको सिङबाट एक दिव्य सुन्दर पुरुष प्रकट भए । धर्म चित्त र भावपूर्ण व्रतपूजाको फलस्वरूप पुनः उनीहरूको मिलन भयो । र, कालान्तरमा
ब्राहृमणीको पति शशिपटन नाम गरेको देशको राजा र ब्राहृमणी त्यस राज्यको रानी भएर
सुखसँग बसे । न्यकू बाजासम्बन्धी पुण्यकथाबाट प्राभावित भएर पछि सिद्धिनरसिंह मल्लले यो बाजा बजाई बौद्ध चैत्य परिक्रममा गराउने चलन बसालेको विश्वास गरिन्छ ।
ताम्राकारका अनुसार
सिद्धिनरसिंहले १० टोलले पालैपालो आयोजना गर्न बसालेको चलन अहिलेसम्म निरन्तर छ । ‘यो जात्रा राजा बालार्चन देवको पालादेखि सुरुवात भएको पनि विश्वास गरिन्छ,’ उनले
भने । बाजाको महत्त्वबारे चैत्य पुंगावदन नामक बौद्ध ग्रन्थमा पनि उल्लेख छ । डानियल राइट लिखित नेपालको इतिहास भन्ने ग्रन्थमा
पनि शृंगभेरी बाजा बौद्ध चैत्यको परिक्रममा गर्ने परम्पराको थालनी राजा गुणकामदेव
(एघारौं शताब्दी) पालामै चलेको कुरा उल्लेख छ ।
अर्को शृंगभेरी नाककै
एउटा ग्रन्थमा सम्राट् अशोकलाई उनका धर्मगुरु भिक्षु गुप्तले यस पर्वको
महत्त्वबारेमा चर्चा गरिएको बारे वर्णन गरिएको छ । जात्रा पालो थाप्ने गुठीले नयाँ व्यक्ति सम्मिलित गरेर नौ बाजाको प्रशिक्षण दिनुपर्छ । हौग गुठीले एक सयजनालाई प्रशिक्षण दिएको जनाएको छ । उनीहरूले जात्राका लागि ९ महिनाअघिदेखि नै तालिम दिएका थिए ।
बाजा सिक्नेमा १२ देखि
६० वर्ष उमेर समूहका छन् । यात्रा पुरानै परम्परागत रुट हौग, इखालखु, चूर्णचण्डी, गाःबहाल, पिम्बहाल, पाटन ढोका, नकबहिल, क्वबहाल, कुम्भेश्वर, चक्रबहिल हुँदै पुनः हौगमा आएर टुन्गिएको थियो । यात्राका क्रममा पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीलगायत ३० डबलीमा अनिवार्य बाजा बजाउनुपर्छ । एक महिनासम्म मनाइने अर्को ‘गुँलापर्व’ अहिले उपत्यकामा चलिरहेको छ । पर्व साउन शुक्ल प्रतिपदा भाद्र १४ गते सम्म चल्ने छ ।प्रकाशित : भाद्र १, २०७६ ०९:०८