पेट्रोग्लिफ
पछ्याउँदै
पुरातत्त्व
हिमालय
भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार भारतीय मैदान प्रवेश गर्ने प्राचीन
मार्ग भएकाले प्राचीन रेशम मार्गको उप–रेशम मार्गको सम्भाव्यता अध्ययन गर्ने
क्रममा पेट्रोग्लफको महत्त्वलाई जोड्न सकिन्छ।
उठान
पुरातत्त्व आफैंमा रोचक
विषय हो। इतिहास र विशेषगरी मानवशास्त्रीय अध्ययनका लागि यो विषय महत्त्वपूर्ण छ।
प्राग् मानवले छाडेर गएका तत्कालीन जीवनयापनका लागि आविष्कार गरिएका प्रस्तर उपकरण
तथा हतियार, कृषि प्रविधि, प्राचीन सम्पदास्थलबाट
प्राप्त संरचनागत भग्न अवशेषहरू, खाई, पर्खाल, किल्ला
वास्तुकला, मूर्ति, सिक्का र प्रस्तरकलाको
अवशेषहरूको अध्ययन र विश्लेषण गरी प्राचीन सभ्यताका पुनर्निर्माण गर्ने विषय हो
पुरातत्त्व। अझ भनौं, पुरातत्त्व इतिहासको यस्तो आँखीझ्याल हो जहाँ
खण्डहरका भग्न अवशेषबाट सभ्यता चियाइन्छ।
सभ्यताको विश्लेषण गर्ने
पुरातत्त्वका विभिन्न पुरा–अवशेषहरूमध्ये पाषाणकलाको अध्ययन एउटा विधा हो।
जीवनयापनको दौरान र अस्तित्वको संघर्षमा अन्य प्राणीमाथिको सिकार नै प्राग् मानवका
लागि र सिकारका लागि पाषाण हतियार नै महत्त्वपूर्ण आविष्कार पहिलो आदिम आवश्यकता
थियो। आफ्नै प्रजातिका भिन्नभिन्न समूहसँगको लडाइँ र सिकारका लागि निर्माण गरिएका
हातहतियार तथा उपकरण प्रविधिहरू आफैंमा कलायुक्त छँदै थिए साथै भाषिक सञ्चार तथा
अभिव्यक्तिको माध्यम पनि। विभिन्न आकारप्रकारका उपकरणहरूमा उत्कीर्ण गरिएका
ज्यामितीय आकृतिहरू, प्रकृतिबोधक चित्रहरू, सिकार
गर्दाका दृश्यांकित चिह्नहरू मूलतः सञ्चारका संकेतक चिह्न हुन् भनी
प्राग्विद्हरूले चर्चा गरेका छन्।
कलाको इतिहासमा मूलतः
प्रस्तरकला नै पहिलो माध्यम थियो। यद्यपि काष्ठकला र मृण्मयकलाको विकास नभएका भने
होइनन्। कारणतः छिटो नासिने जैविकीय गुण भएकाले कालान्तरसम्म ती जीवन्त रहन
सकेनन्। कडा प्रकृतिको भएकाले प्रागैतिहासिक समयदेखिका पाषाण उपकरणहरू लामो
समयसम्म जमिनमुनि दबिएर रहन सके, जुन प्रायः उत्खनन (आकस्मिक
रूपमा पनि प्राप्ति भएका छन्)बाट प्राप्त भएका छन्। उत्तरपुरापाषाण कालको मानिने
युरोपमा प्राप्त भेनसको मूर्तिलाई प्राग् मानवको सिर्जना मानिन्छ। यस मूर्तिको
व्याख्या गर्दै तन्त्रमन्त्र, अदृश्य शक्तिको डर वा त्रास
एवं मनोरञ्जन नै कलासिर्जनाको मूल तत्त्व हो भन्ने प्राग् इतिहासविद् एमसी
वर्किटको विचार छ (वर्किट, १९९२: द ओल्ड स्टोन एज)। भेनसको मूर्तिलगायत
युरोपका गुफा सभ्यतामा (गुफाका भित्तामा खोपिएका) विकास भएका प्रस्तरकला
आमसञ्चारको सांकेतिक अभिव्यक्ति हो भन्नेमा प्राग्विद्हरू सहमत छन्।
प्रागैतिहासिक सभ्यताको
क्षेत्रमा युरोपको विशेष योगदान छ। युरोपका विभिन्न क्षेत्रहरूमा प्राप्त
प्रागैतिहासिक अवशेषहरू भएको स्थानका आधारमा तत्तत् स्थानका नामले सांस्कृतिक
सभ्यताको नामकरण गरिएको पाइन्छ। नेपाल र भारतलगायत प्रायः देशहरूमा प्राग्
सभ्यताको नामकरणमा युरोपियन शैलीको अनुकरण गरिएको देखिन्छ।
पाषाणकलाको इतिहासको चर्चा
गर्दा युरोपमा प्राप्त गुफा संस्कृतिलाई भुल्न मिल्दैन। विशेषगरी ल्याक्सस, अल्तामिरा, दोरदोग्ने
लगायतका गुफाहरूका भित्तामा खोपिएका गुफाकलाले उत्कृष्ट कलाकारिता प्रमाणित गरेका
छन्। आद्यः ऐतिहासिक कालको मानिने इजिप्टको पिरामिडमा प्रयुक्त अद्वितीय पाषाणकला
विश्वमा प्रख्यात छ। प्रस्तरकलाको सन्दर्भमा बेलायतको स्टोनहेन्जलाई विशेष रूपमा
लिन सकिन्छ। सभ्यताका यी शिलाखम्बहरू कुन प्रयोजनले बनाइए ? आधिकारिक
जानकारी छैन। धार्मिक भावनाले अभिप्रेरित भएर नै यी कृतिहरूको निर्माण गरिएको
हुनसक्छ। तर यी भीमकाय शिलाखाँबोहरू गाडिनुमा केही न केही रहस्यको प्रश्न जोडिएकै
छ।
पाषाणकलाको विकासमा भारतीय
सभ्यताको उत्तिकै योगदान छ। भारतीय प्राग् र आद्यः इतिहासका पाषाण उपकरणहरूको
प्राप्तिले यस तथ्यलाई प्रमाणित गरेका छन्। विशेषगरी गुफा वास्तुकलाको निर्माण र
चट्टान कला, वास्तुकलामा (चट्टानलाई काटेर बनाइएको गुफा
संरचना) भारतीय कलाकारले अनुपम नमुना पेस गरेका छन्। गान्धार कलाशैली, मथुरा
कलाशैली, सुंगकुषाण कलाशैली र गुप्त कलाशैलीलगायतका
शैलीहरूले भारतीय पाषाणकलाको प्राज्ञिकतालाई प्रमाणित गर्छन्। भारतका विभिन्न कला
संग्रहालय र खुला स्थानमा रहेका पाषाणकलाहरूको अध्ययनबाट पनि यस तथ्य प्रमाणित
हुन्छ।
मानव निर्मित गुफा
वास्तुकलामा विशेषगरी अजन्ता, एलोरा र एलफेन्टा नामक
गुफाहरू प्रख्यात छन्। इसापूर्व दोस्रो शताब्दीमा निर्माण भएको मानिने अजन्ता गुफालाई
बौद्ध धार्मिक कलाको केन्द्र मानिएको छ। चट्टानलाई काटेर बनाइएको करिब ७५ मिटर
अग्लो यस गुफाका भित्ताहरूमा बुद्धजीवनसँग सम्बन्धित दृश्यावलीहरू अंकित गरिएका
छन्। भारतीय भूभागमा प्राप्त सम्राट् अशोकका विशाल स्तम्भ, मानवनिर्मित
प्राचीन गुफाहरू सयौं शिलालेखहरू प्राप्तिको सन्दर्भले पाषाणकलामा प्राचीन भारतीय
सभ्यता सम्पन्न रहेको भन्न सक्ने स्पष्ट आधार छन्।
बहसको
बिन्दु
शिलालेख, अभिलेख, चट्टान
वास्तुकला, चट्टान अभिलेख र पेट्रोग्लिफ जस्ता प्राविधिक
शब्दहरू सुन्दा उस्तै लागे पनि पारिभाषिक रूपमा फरक छन्। लेखनकलाको सुरुआत भएपछि
लेख्य माध्यमका रूपमा प्रस्तरको प्रयोग गर्ने प्रचलन चल्यो, जसलाई
शिलालेख भनिएको छ। विशेषतः शिक्षित मानिसले सिर्जना गरेका शिलालेख, चट्टान
वास्तुकला, स्तम्भकला र मूर्तिकला आदिलाई समग्रमा
प्रस्तरकलाका रूपमा सामान्यीकरण गर्ने प्रचलन छ। प्रागैतिहासिक कालदेखि प्राचीन
काल हुँदै मध्य कालसम्म चलिआएको प्राकृतिक अवस्थाको ठूलो चट्टानमा उत्कीर्ण कलालाई
अध्येता पुरुषोत्तमलोचन श्रेष्ठले पेट्रोग्लिफको भावार्थमा व्याख्या गरेका छन् (
श्रेष्ठ, २०७३: ४४ ) तर पेट्रोग्लिफले वहन गरेको शाब्दिक
भावार्थ माथिको परिभाषाभन्दा भिन्न लाग्छ।
सामान्यतया पेट्रोग्लिफलाई
अशिक्षित अर्थात् प्राग् मानवहरूले निर्माण गरेको कला भन्ने भावार्थमा बुझिन्छ।
फ्रेन्च भाषाको यो शब्दले प्रस्तरमाथि खोपिएका रेखात्मक आकृतिहरूलाई बताएको छ जुन
प्रागमानवले सिर्जना गरेको हुन सक्ने विद्वान्हरूको धारणा छ। प्रागमानवले फुर्सदको
समयमा कला र अभिव्यक्तिको रूपमा कोरेका यी रेखात्मक आकृतिहरूलाई लेखनकलाको
आद्यःरूप वा चित्रात्मक लेखन हुनसक्ने लिपिविशेषज्ञ आईजी गेल्वको धारणा छ
(दिनेशचन्द्र रेग्मी : पुरालेखन र अभिलेख)। आजभन्दा करिब चालीस हजार वर्षअगाडि
नियाण्डरथल मानवको समयदेखिका पेट्रोग्लिफका नमुनाहरू प्राप्त भएको तथ्य प्रमाण
प्रागैतिहासिक अध्ययताहरूले पेस गरेका छन्। अधिकांश पेट्रोग्लिफहरू नवपाषण काल र
उत्तरपूर्व पाषाण कालको सन्धिकाल अर्थात ई.पू. बाह्र हजारदेखि ई.पू. सात हजार
समयको मानिएका छन्।
विशेषताको
विश्लेषण
पेट्रोग्लिफको
प्राप्तिस्थान, समय र विषयवस्तुको प्रकृतिअनुसार यसका
विशेषताहरूको विश्लेषण गरिएको पाइन्छ। यसमा कुँदिएका ज्यामितीय र रेखात्मक
आकृतिहरू भाषिक सञ्चारको माध्यमका साथै धार्मिक र सांस्कारिक अभिव्यक्ति पनि
हुनसक्ने विद्वान्हरूको अभिमत छ। यद्यपि ती आकृतिहरूको व्याख्यामा एकरूपता भने
पाइँदैन साथै विभिन्न स्थानमा प्राप्त भएका पेट्रोग्लिफमा कुंँदिएका आकृतिहरूको
साझा विशेषता बताउनसमेत कठिन छ। मूलतः पेट्रोग्लिफ सामूहिक चेतनाको प्रतिनिधित्व
हो जुन अभिचारिक चिन्तन, प्रकृति र जीवनजगत्प्रतिको प्रतीकात्मक अभिव्यक्ति
हो भन्नेमा विद्वान्हरू सहमत नै छन्।
नेपालमा
पेट्रोग्लिफको खोजी
नेपालमा प्रागैतिहासिक
समयका पाषाण उपकरणहरू प्राप्त छन्। लुम्बिनीमा इपू २४९ मा स्थापित अभिलेखयुक्त
अशोक स्तम्भलाई स्तम्भकलाको उदाहरणका रूपमा लिन सकिन्छ। काठमाडौं उपत्यकामा
प्राप्त लिच्छवि, मल्ल र शाहकालीन सयौं सम्पदा पाषाणकलाबाट निर्माण
भएबाट यस कलाको विशिष्टता प्रस्टिन्छ। काठमाडौं काष्ठकला, धातुकला र
पाषाणकलाको सांस्कृतिक त्रिवेणीको रूपमा संसारभरि परिचित नै छ।
चट्टान वास्तुकला, चट्टान
अभिलेख र पेट्रोग्लिफको पारिभाषिक भिन्नताहरूबीच स्पष्ट भइसकेपछि पेट्रोग्लिफको
विषयमा चर्चा गर्न सहज हुन्छ। प्रायः प्रागमानवको बसोबास रहेका ठाउँहरूमा
पेट्रोग्लिफ प्राप्त गर्न सकिने सम्भावना बढिरहन्छ। नेपालमा प्राग् इतिहासको
खोजीसँगै पेट्रोग्लिफको अध्ययन सुरु भएको मान्नुपर्छ। प्राग् इतिहासको अध्ययन
गर्ने एउटा आधार पेट्रोग्लिफ भएकाले यस प्रसंगलाई अझ जोड दिन सकिन्छ। नेपालमा सन्
१९९३ देखि पेट्रोग्लिफको औपचारिक अध्ययन सुरु भएको इतिहास छ। जर्मन विद्वान्
पारदिता फोलेलेजर्मन रिसर्च काउन्सिल परियोजनाअन्तर्गत रहेर विशेष गरी मुस्ताङ
क्षेत्रमा यसको अध्ययन एवं खोजीकार्यको सुरुआत गरेका थिए। फोलेको यस अध्ययन
कार्यलाई पछि पुरातत्त्व विभागले निरन्तरता दिँदै आएको देखिन्छ। पुरातत्त्वविद्
शुक्रसागर श्रेष्ठले पेट्रोग्लिफको अध्ययनमा विशेष चासो राखेका थिए।
मुस्ताङको कागवेनी, एक्लेभट्टी, छुक्साङ र
समरमा पेट्रोग्लिफहरू पत्ता लागेका छन्। काठमाडौं उपत्यकाको चाँगु भेकमा
पेट्रोग्लिफका केही नमुना प्राप्त गरेको तथ्य पुरुषोत्तमलोचन श्रेष्ठले पेस गरेका
छन् (हेर्नुहोस्— गुहा, गुहालेख गुहाचित्र एवं अन्य सम्पदा) तर माथिल्लो
मुस्ताङमा प्राप्त पेट्रोग्लिफमा उत्कीर्ण आकृतिहरूको तुलनामा चाँगु भेकमा प्राप्त
पेट्रोग्लिफ न्युून कलाकारितायुक्त लाग्छ। श्रेष्ठले मल्लकालमा खोपिएका चट्टान
अभिलेख भनेकाले यसलाई पेट्रोग्लिफ भन्ने कि नभन्नेमा बहसको विषय रहेको छ। यो
सन्दर्भमा उनले प्रारम्भिक लिच्छवि कालदेखिकै प्रस्तर कलाको प्रसंग ल्याएर आफ्नो
विषयलाई प्रमाणित गर्ने प्रयास गरेका छन्।
के छ त
पेट्रोग्लिफमा ?
मुस्ताङ भेकमा
पेट्रोग्लिफको प्राप्तिले यस क्षेत्रमा प्राग् मानवहरूले विचरण गरेको हुन सक्ने
तथ्यलाई अझ प्रमाणित गरेको छ। पारदिता फोलेले पेट्रोग्लिफका निमार्णकर्ता प्राग्
मानव नै मानेका छन्। हिमाली गुफा सभ्यताको पुरातात्त्विक अध्ययनबाट (कार्बन–१४ को
परीक्षण गरी तिथि निर्धारण गर्ने विधि) १५–१६औं शताब्दी इसापूर्वदेखि नै यस
क्षेत्रमा प्राग् मानवको गतिविधि भएको तथ्य प्रमाणित हुन्छ (रेग्मी, २०६२: ७७)।
मूलतः कालीगण्डकी परिपथलाई केन्द्र बनाएर तिब्बत–भारत विचरण गर्ने मानिसहरूले नै
हिमाली क्षेत्रमा सभ्यताको शिलान्यास गरेको मानिन्छ।
कागवेनी एक्लेभट्टीस्थित
कालीगण्डकीको किनारामा पेट्रोग्लिफका नमुनाहरू पाइएका छन्। विशाल चट्टानमा खोपिएका
यी आकृतिहरूमा तत्कालीन समाजको धार्मिक, सांस्कृतिक
जीवनदृष्टिकोणहरू अभिव्यक्त भएका छन्। मानवआकृति, पशुपन्छीका
आकृति र बौद्ध धर्मसँग सम्बन्धित धार्मिक चिह्नहरूलाई बढी जोड दिएर कुँदिएका छन्।
घोडचढीको दृश्य, नीलभेडा, जंगली भेडा, जंगली
चौंरी, घरपालुवा चौंरी र मृग आदिका रेखात्मक चित्रहरू
अधिक मात्रामा खोपिएका छन्। अमूर्त प्रकृतिका ज्यामितीय ढाँचाका आकृतिहरूमा
गोलाकार, अर्धगोलाकार, त्रिकोणाकार, सर्पाकार
रेखाहरू पर्याप्त मात्रामा उत्कीर्ण गरिएका छन्। चित्रहरूको विश्लेषण गर्दा दैनिक
जनजीवनका गतिविधिलाई सजीव ढंगमा अभिव्यक्त गरिएको देखिन्छ।
सूर्यचन्द्रको प्रतीकात्मक
भावार्थमा खोपिएका चक्राकार आकृति, स्वस्तिक चिह्न र बौद्ध
धर्मसँग सम्बन्धित सांकेतिक चिह्नहरूले हिन्दू तथा बौद्ध धर्मलाई संकेत गरेको
अनुमान गर्न सकिन्छ। खेल खेल्नका लागि बनाइएका गहिरा र गोलाकार प्वालहरूले
मनोरञ्जन भावको अभिव्यक्त गरेको प्रतीत हुन्छ। योनी र लिंगको सम्भोगरत अवस्थाको
चित्रलाई कलाकारले रोचक ढंगले प्रस्तुत गरेका छन्। यसबाहेक तिब्बती भाषामा लेखिएको
बौद्ध विजाक्क्षरी मन्त्र ॐ मणि पेमे हूँलगायत करिब ११८९ वटा आकृतिहरू
कागवेणीस्थित एक्लेभट्टीका चट्टान अभिलेखमा कँदिएको तथ्य पारदिता फोलेले व्यक्त
गरेका छन् (पारदिता फोले, प्राचीन नेपाल अंक १३६, पृः १–७
२०५१)। यी आकृतिहरू लेखनकलाको पूर्व रूप अर्थात् चित्रात्मक लेखन हुनसक्ने
सम्भावना छ।
तुलनात्मक
अध्ययन
अभिलेख र चट्टान कलाभन्दा
पारिभाषिक रूपमा पेट्रोग्लिफ फरक प्रकृतिको विषय हो। प्रागैतिहासिक प्रकृतिको
भएकाले प्रायः विश्वभरिकै पेट्रोग्लिफका शैली र प्रस्तुतिमा केही मात्रामा समानता
देखिन्छ। विशेषगरी माथिल्लो मुस्ताङमा प्राप्त र चाँगुमा प्राप्त पेट्रोग्लिफका
नमुनाहरूमा केही समानता र केही असमानता देखिन्छ। पुरुषोत्तमलोचन श्रेष्ठले भनेझैं
चाँगुभेकका चट्टान अभिलेखहरू मल्लकालीन नै प्रतीत हुन्छ। भक्तपुर गामढोका गणेशथान
मन्दिरनजिकै रहेको पेट्रोग्लिफको नमुनालाई इस्वी पाँचौं–छैटौं शताब्दीको मानिएको छ
( श्रेष्ठ, २०७३:४४) यो शिलामा चत्राकार आकृतिको उत्कीर्ण
गरिएको छ जुन माथिल्लो मुस्ताङमा प्राप्त पेट्रोग्लिफका चित्रहरूसँग मिलेको
देखिन्छ।
पुरुषोत्तमलोचन श्रेष्ठले
प्रस्तुत गरेका अन्य नमुनाहरू मूलतः शिलालेख र मूर्तिशैलीका भएकाले माथिल्लो मुस्ताङमा
प्राप्त पेट्रोग्लिफको शैलीसँग कम मात्रामा मिल्न गएको छ। वस्तुतः चाँगु भेकमा
प्राप्त नमुनाहरू पूरै पेट्रोग्लिफ नभई पेट्रोग्लिफको आंशिक नमुना भन्न सकिन्छ।
समर र कागवेनीका पेट्रोग्लिफमा भने साझा विशेषता देखिन्छन्। वस्तुतः धर्म, संस्कृति र
प्रकृतिलाई केन्द्रमा राखेर नै पाषाणकलामा चित्रहरू खोपिएका छन्।
तिथि
निर्धारणमा समस्या
पेट्रोग्लिफ कहिले खोपिए ? यस
प्रश्नको जवाफमा आधिकारिक तिथि निर्धारण गर्न कठिन छ। प्राग् मानवदेखि आधुनिक
मानवले समेत पेट्रोग्लिफ खोप्ने प्रचलन देखिन्छ। कागवेनीस्थित एक्लेभट्टीको पाषाणकलामा
आधुनिक प्रकृतिका आकृतिहरूसमेत खोपिएका छन्। यस कारण कुन सभ्यताका मानिसले कहिले
यी पेट्रोग्लिफहरूको निर्धारण गरे भन्ने विषयमा निक्र्योल गर्न कठिन छ।
विद्वान्हरूले पैंतीस हजार वर्षदेखि बाह्र हजार वर्षअगाडि सम्मको पेट्रोग्लिफको
समय बताएको आधारमा मुस्ताङ क्षेत्रमा प्राप्त पेट्रोग्लिफलाई पनि यसै समयको मान्न
सकिने एउटा आधारहरू खोज्न सकिन्छ।
इपू १६औं शताब्दी अर्थात्
आजभन्दा छत्तीस सय वर्षअगाडिको मान्न सकिने गुफा सभ्यताको प्राप्तिले तिथि
निर्धारण गर्ने अर्को आधार मिल्छ। महाभारतलगायत पौराणिक साहित्यहरूमा कालीगण्डकी र
हिमालयको परिचर्चा परेकाले वैदिक सभ्यताको काल निर्धारण गरी त्यसको तुलनात्मक
अध्ययनबाट पनि तिथि निर्धारण गर्न सकिन्छ। पारदिता फोलेले माथिल्लो मुस्ताङमा
प्राप्त पेट्रोग्लिफमा शक जातिको प्रभावलाई जोड दिँदै युरोसियन कलाको अधिक प्रभाव
रहेको मानेका छन्। बुट्टा र ढाँचाहरूको अध्ययन गर्दा आदिवासी जनजातिका आदिम
पुर्खाहरूले निर्माण गरेको हुनसक्ने अन्दाज गर्न सकिन्छ।
यस क्षेत्रमा पुरातात्त्विक
उत्खनन गरी त्यसबाट प्राप्त वस्तुहरूको वैज्ञानिक विधिबाट विश्लेषण र तिथि
निर्धारण गरेपछि मात्र आधिकारिक रूपमा तिथि निर्धारण गर्न सकिने अवस्था छ। पारदिता
फोलेका अनुसार नवपाषाण कालभन्दा पहिलेका प्राग् मानवले निर्माण गरेको हुनसक्ने
सम्भाव्यतालाई पौराणिक साक्षीहरूको आधारबाट जोड्न सकिन्छ।
बैठान
मध्यपूर्वी एसिया र नेपालमा
प्राप्त भएका पेट्रोग्लिफको ढाँचा एउटै भएको विद्वान्हरूको अभिमत छ। हुनसक्छ, नेपालको
हिमाली क्षेत्र हुँदै भारतको हिमाली क्षेत्र लद्दाखको बाटो भएर गान्धार क्षेत्रबाट
अफगानिस्तान हँदै मध्य एसिया र युरोपसम्मको यात्रा गर्ने परिपथको एक अंश नेपाल नै
थियो कि भन्ने विषयमा प्रश्न उठाउन सकिन्छ। ग्वादरबाट कसघर पुगेर त्यहाँबाट उत्तरपश्चिममा
भारत, पाकिस्तान र चीनको सीमा जोडिएको विवादित भूभाग भएर
चीनको उत्तरी र पूर्वमा रेशम मार्गको एउटा शाखा जान्छ।
रेशम मार्गको अर्को शाखा
भने अफगानिस्तान र मध्य एसियाका ताजकिस्तान, किर्गिस्तान र
कजाकस्तानलगायत अन्य मध्य एसियाली राष्ट्र रुस तथा पूर्वी युरोप हुँदै पश्चिम
युरोप (केशवप्रसाद भट्टराई, अर्को रेशम मार्ग बनाउँदै भारत अन्नपूर्ण पोस्ट्, २०७३, २, २५)
निस्कने रेशम परिपथमा हिमालय मार्गहरूको विशेष भूमिका देखिन्छ। भारत र चिनियाँ
सभ्यतालाई जोड्ने सांस्कृतिक परिपथको रूपमा विकास भएको कालीगण्डकीको खोँच हुँदै
भारतको बाटो भएर केन्द्र एसिया निस्कने प्राचीन रेशम मार्गको उप–रेशम मार्ग
हुनसक्ने आधारहरूको खोजी गर्ने प्रयास भइरहेको छ। बौद्ध धर्मको विस्तारमा
उत्तरतर्फका हिमाल र भञ्ज्याङहरूले कुनै बाधा गरेनन्। कालीगण्डकी परिपथ भएर नै
नेपालको बौद्धधर्म महा–चीन हुँदै कम्बोडिया र मंगोलियासम्म पुगेको तथ्यमा
विद्वान्हरू सहमत छन्।
बौद्ध धर्मको विस्तार
हुनुभन्दा पहिले नै यो क्षेत्रमा प्राग् मानवले विचरण गरेको तथ्य हिमाली क्षेत्रका
गुफा सभ्यताका अवशेषहरूबाट प्रमाणित भएको छ। मुस्ताङको चोखोपानी गुफाबाट प्राप्त
अवशेषहरूको अध्ययन गरी यस क्षेत्रको मानवको सम्बन्ध भारत, तिब्बत र
मध्य एसियासँग सम्बन्ध रहेको हुनसक्ने आधारहरूलाई पुरातत्त्वविद् एन्जेला साइमन्स
र शुक्रसागर श्रेष्ठले संकेत गरेका छन् (प्राचीन नेपाल, अंक १३६, पृष्ठः
५१–७५ )। त्यसो त पौराणिक साहित्यहरूमा कालीगण्डकी र हिमालय सभ्यताको व्यापक
परिचर्चा भएबाट यस क्षेत्रको प्राचीनताको अनुमान गर्न सकिन्छ। महाभारको आधिकारिक
रचनाकाल र घटित समयको विषयमा विद्वान्हरूबीच विवाद नै छ यद्यपि महाभारतलगायतका
साहित्यहरूमा परेको हिमालहरूको प्रसंगका आधारबाट हिमाली सभ्यताको काल निर्धारण
गर्ने आधारहरूको खोजी गर्न सकिन्छ।
पेट्रोग्लिफ संस्कृतिको
निर्माता को हुन् ? भन्ने विषयमा उल्लिखित सन्दर्भहरूको आधारबाट खोजी
गर्न सकिन्छ। पेट्रोग्लिफको अध्ययन गर्दा इतिहासको कुन प्रजातिले यसको निर्माण ग¥यो भन्ने
विषयमा कुनै पनि संकेतको अनुमान गर्न सकिँदैन (पारदिता फोले, प्राचीन
नेपाल अंक १३६, पृः १–७ २०५१)। यसको लागि मानवशास्त्रीय अध्ययनको
आवश्यकता छ। तर कुँदिएका मृगका आकृतिहरूले केही प्रश्न उठान गरेका छन्। केन्द्र
एसिया (मध्य एसिया ) र दक्षिण एसियाका पौराणिक साहित्यहरूमा मृगलाई बढी महत्त्व
दिएको पाइन्छ। तर जंगलै नपाइने हिमाली क्षेत्रका चट्टानमा मृगलाई किन अंकित गरियो ? यो खोजको
विषय छ।
हिमाली मृग हुनसक्ने
सम्भाव्यतालाई स्वीकार गर्नु प्राज्ञिक दायित्व हुन्छ। बौद्ध धर्म मान्ने समुदायले
पेट्रोग्लिफ बनाए कि भन्ने प्रश्नको सम्भावनालाई नकार्न पनि सकिँदैन। हिमालय
क्षेत्र हिन्दूहरूको धार्मिक तीर्थस्थल भएकाले हिन्दू धर्मावलम्बीहरूले पनि यस्ता
आकृतिहरू खोपेका हुन सक्छन्। वस्तुतः उत्कीर्ण गरिएका चित्रहरूको विश्लेषण गर्दा
कुनै एक कालखण्डमा कुनै एक समुदायले निर्माण गरेको नभई विभिन्न समयमा प्राग् मानव, बौद्ध तथा
हिन्दू धर्मावलम्बी, प्र्रकृतिपूजक जनजाति, बोन
धर्मावलम्वी वा स्थानीय भेडा गोठालाहरूले फुर्सदको समयमा यी आकृतिहरू खोपेको
हुनसक्ने परिकल्पना गर्न सकिन्छ।
चीन र रोमलाई जोड्ने
सांस्कृतिक सेतुका रूपमा परिचित रेशम मार्गजस्तो विशाल क्षेत्रलाई एउटै सम्पदामा
सूचीकृत गर्न प्राविधिक तथा क्षेत्रगत अप्ठ्यारो हुने भएकाले यसलाई रेशम मार्ग
संरक्षित स्मारक क्षेत्र नाम दिई मुस्ताङको कालीगण्डकी उपत्यकालाई विश्वसम्पदा
सूचीमा सूचीकृत गर्ने सन्दर्भमा पेट्रोग्लिफको भूमिकाको खोजी हुनुपर्छ (शुक्रसागर
श्रेष्ठ, नेपालमा पहिलो ममिभूत अवशेष, समाज
अध्ययन, माट्रिन चौतारी अंक–११, पृष्ठ :
२३)। उत्तरी तिब्बतको पठार र दक्षिणको गंगा मैदानलाई जोड्ने कालीगण्डकी परिपथमा
विभिन्न जातजातिका मानिसले विचरण गरेको तथ्य उजागर भएको छ। कालीगण्डकी उपत्यकामा
दक्षिणभन्दा उत्तरी तिब्बती पठार र मंगोलियादेखिका मानिसहरूको सांस्कृतिक बाहुल्य
रहेको तथ्य गुफा सभ्यतामा प्राप्त अस्थिअवशेषहरूको वैज्ञानिक मानव–मापन तथ्यांक
विश्लेषणबाट प्रमाणित भएको छ।
सम्भवतः यी मानिसहरू
उत्तरपश्चिममा मुस्ताङ हुँदै मुक्तिनाथ उपत्यका आइपुगेको विषयमा पुरातात्त्विक
आधारबाट तथ्यको निकट पुग्न सकिन्छ। उत्तरको सिनसियानबाट प्राप्त पुरातात्त्विक
सामग्री र मुस्ताङ भेगका गुफा सभ्यताबाट प्राप्त अस्थिअवशेषहरूको तुलनात्मक
अध्ययनका आधारबाट यस तथ्यको निकट पुग्न सकिन्छ। दक्षिण भारतबाट ल्याइएको हुनसक्ने
कौडा र शंखको प्राप्ति र उत्तरी क्षेत्रबाट ल्याइएको हुनसक्ने सामग्रीहरू मुस्ताङको
चोखोपानीबाट प्राप्त भएकाले उत्तर–दक्षिणबीच व्यापारिक तथा सांस्कृतिक सम्बन्ध
रहेको कसीलाई पुरातात्त्विक सन्दर्भहरूबाट विश्लेषण गर्न सकिन्छ (ऐजन)। अतः हिमालय
भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार भारतीय मैदान प्रवेश गर्ने प्राचीन
मार्ग भएकाले प्राचीन रेशम मार्गको उप–रेशम मार्गको सम्भाव्यता अध्ययन गर्ने
क्रममा पेट्रोग्लिफको महत्त्वलाई जोड्न सकिन्छ।