आगोमा नाच
सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको फुल्पिङकोट
बगाले थापा गाउँमा मंगलबार बेलुकी छुट्टै रौनक देखिन्थ्यो । बेलुकी ९ देखि १० बजेसम्म पञ्चे बाजागाजाको
आवाज, वरीपरी
गाउँलेको सुरक्षाबीच ८४ भारी दाउराको आगोको चाङ दन्किरहृयो । के हुन्छ भन्ने जिज्ञासा मेट्न बसेका सबैको
नजर ‘अग्नीकुण्ड’ आगोको थुप्रोमा केन्द्रित थियो ।
एक्कासी
पञ्चे बाजाको स्वर चर्किलो बन्यो । स्थानीय गाउँले एकदमै सर्तक बनेर हेर्न थाले ।
आगोको थुप्रो छेउकै पालबाट एउटा समूह नाच्दै निस्के । रुद्राक्ष र घन्टी भिरेका
दुई वृद्धसहित १३ जना युवा आगोछेउ आएर उफ्रिन थाले ।
फेरि
त्यहाँ एउटा अपत्यारिलो घटना भयाे, एक्कासी
१३ जना युवा भटाभट आगोमाथि नाच्दै दौड्न थाले । हिमाली सिरेटोमा कठ्यांग्रीँदो
जाडोमा पनि सेतो कछाड र गन्जीको पहिरन । ‘हाहा हरे हरे ’भन्दै उनीहरु भटाभट आगोलाई
फुटबलझैं खेल्न थाले । हेर्न आएका गाउँलेदेखि बजारभरका स्थानीयमा खैलाबैला मच्चियो
। भीड नियन्त्रण गरिरहेका स्थानीय लौरा लिएर वरीपरी तैनाथ थिए । नजिकिरहेको
जमातलाई उनीहरुले कुशलतापूर्वक सम्हाले ।
आगोमाथिको
नृत्य ‘एडभेन्चर’ रमाइलो हेर्दै दंगदास परेको भीडको भिडियो र तस्बिर खिच्दै
सामाजिक सञ्जालमा हाल्न थाले । हेर्दाहेदै ८४ भारीको आगोको दन्किरहेको आगोको
थुप्रो १३ युवा नाच्दानाच्दै कोइलामा परिणत भयो । ‘बल्ल खली परम्परा सुरक्षित
रुपमा सकियो, यसको लागि ६६ वर्ष लाग्यो,’
थापा गाउँ सुधार समितिका अभियन्ता शम्भु थापाले भने । २०१० सालअघि
वर्षैपिच्छै यस्तो परम्परालाई मान्दै मृतात्माको शान्तीको लागि खली प्रथा गरिएको
उनले सुनाए ।
आर्थिक
र सामाजिक अनेक समस्या व्यर्होनुपरेकाले परम्परालाई नियमित गराउन गाउँबाटै सहयोग
जुटाएको उनको भनाई छ । ‘गाउँकै ८८ घरधुरी मिलेर वर्षौपछि यो परम्परा पूरा गरिएको
हो, ’उनले भने । अकालमा ज्यान गुमाएका मृतात्माको
मुक्तिको लागि खली प्रथा गरिँदै आएको उनले जानकारी दिए । गाउँलेले गाउँबाटै झन्डै
चार लाख ४४ हजार सहयोग संकलन गरेर यस परम्परालाई निरन्तरता दिएका हुन् ।
चमत्कार
कि अन्धविश्वास ?अनार्य सभ्यताको एउटा तान्त्रिक प्रक्रिया
मानिने खली प्रथा प्रेतात्माको मुक्तिको लागि गरिन्छ । तन्त्रमाध्यमबाट प्रेतआत्मा
‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।
दाउराको भारी आगोमाथि दौडाइँदा पैतालादेखि शरिरभर कुनै पोल्ने र चोट पट नलागेको
देख्दा आफु अचम्मित भएको कक्षा ११ मा अध्ययनरत २४ वर्षीय साजन थापाले बताए ।
‘त्यत्रो आगोमाथि दौडिए तर, पनि केही भएको छैन्,
यसलाई चमत्कार मान्ने या अन्धविश्वास ?,
’उनले प्रश्न गरे । आफूमाथि सेतीदेवी चढेपछि आफै कम्पन छुटेको र
अरुसँगै आगोमाथि दौडिएको उनले जनाए ।