लमजुङभित्रको एउटा इतिहास
यशु श्रेषठ, प्रहरी, वर्ष ६१, अंक ३, भाद्र।अश्विन, २०७६
लमजुङ पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित
एक जिल्ला हो। राजधानी काठमाडौँदेखि १६० कि.मि. पूर्व पृथ्वी राजमार्गको डुम्रेबाट
मनाङतर्फ तेर्सिदा २६ कि.मि. उत्तरतर्फको यात्रापछि नै प्रवेश गर्न सकिन्छ ।
सिउँदो झैँ गरी बगेकी प्रसिद्ध मस्र्याङ्दी नदीले सुशोभित, मबाट उज्ज्यालो टिप भन्दै चम्किदै उर्लिरहेका प्रशस्त नदीनालाहरू, अनेकौँ बहुमुल्य पत्थरहरू, दूधपोखरी, बाह्रपोखरी, मेपोखरी, घनपोखरा, पुरानकोट, राघिनासकोट, घलेगाउँ जस्ता अमूल्य निधीहरू
अनि नीरमसी, पाखनवेद, पाँचऔँले, जटामसी, यार्सागुम्वा, सुगन्धवाल जस्ता जडिबुटीहरूले
मगमगाइरहेको लमजुङभित्र पस्दापस्दै लमजुङको सोह्रौँ शदाब्दीका कथाले यसरी तान्दो रहेछ ।
कुरा साह्रौँ शदाब्दीकै आसपासको, कर्णाली नदीको आसपास र गण्डकी नदीको छेउछाउमा क्रमशः बाइसे र चौबिसे राज्यहरू
थिए । धेरै जसो राज्यका राजा खस, क्षेत्री या ठकुरी वंशका थिए
। केही गुरुङ एवम् मगर राजाहरू पनि थिए । गण्डकी प्रदेशका यिनै राज्यहरूमध्ये लमजुङ पनि
एक थियो । यहाँ त्यति
बेला यशोब्रम्ह शाहले राज्य गर्दथे । यशोब्रम्ह शाहको दरबार गाउँशहर र बेसीसहर गरी
दुई ठाउँमा थियो । गर्मीको समयमा उनी गाउँशहरमा बस्दथे । जाडोको समयमा बेसीसहरमा आई राज्य
चलाउने गर्दथे । दुवै ठाउँमा ठुला ठुला दरबारहरू थिए । उनी देवी देवताका पनि भक्त
थिए । त्यसैले उनको दरबारको आसपास महाकाली, भैरव, गोरखनाथ, शिव, गणेश आदि देवीदेवताका
मन्दिरहरू थिए । जसलाई उनले आफ्ना इष्ट देवका रूपमा मान्दै नित्य पूजा गराउँदै आएका थिए
। मन्दिरका पुजारीका रूपमा बोहोरा, कुँवर र मगरहरू थिए ।
मगर जातिलाई राजदरवारको सेवामा पनि राखिएको थियो ।
त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको प्रभाव समेत राजदरवार र राज्य
शासन सञ्चालनमा परेको थियो । मगर भाषामा अग्ला, लामा तथा ठुला पहाड अनि
पर्वतहरूले बनेको भूमिको अर्थ बोकेको ‘लमजुङ’ शब्द यसै भाषाबाट नै आएको मानिन्छ ।
मस्र्याङ्दी नदीको किनारमा रहेको लमजुङभन्दा
पश्चिमपट्टि कास्की, ढोर, सतां} नुवाकोटजस्ता स–साना राज्य
थिए भने पूर्वतर्फ माझकोट, लिगलिग, तल्लोकोट जस्ता ससाना
राज्यहरू थिए । जहाँ मगर जातका राजाहरूले राज्य गर्ने गर्दथे । यी स–साना राज्यहरूका
बिच आपसमा झैझगडा भने भई नै रहन्थ्यो । यी राज्यहरू मध्ये लमजुङ केही ठुलो थियो र
यो राज्य उत्तरमा पुस्तुनदेखि दक्षिणमा राघिनास, तार्कुसम्म फैलिएको
थियो ।
राजा यसोब्रम्ह शाह र उनकी रानी बसन्तावतीका तीन
छोराहरू थिए । यी मध्ये जेठा नरहरि शाह र कान्छा द्रव्य शाह नेपालको इतिहासमा
विषेश चर्चित छन् । यी दुई भाइमा जेठा नरहरि शाह शारीरिक रूपमा केही कमजोर थिए भने
कान्छा द्रव्य शाह निकै बलिया, मोटाघाटा र हिम्मतदार थिए ।
भनिन्छ,
उनी राजाको छोरा भए तापनि गोठतिरै बसी दरबारकालागी चाहिने गोरसको बन्दोबस्त
गर्ने गर्दथे । एकदिन बिहान द्रव्य शाह रहेकै गोठमा एक जना बालब्रम्हचारी आए र भने
“मलाई भोक लागेको छ । केही खान देऊ ।” चम्किलो मुहार, निधारमा त्रिकुण्ड, हातमा कमण्डलु, कम्मरमा बाघको छाला लगाएका
यस्ता बटुक जोगीलाई देखेर द्रव्य शाह छक्क परे । र उनले बटुक जोगीले चाहे जतिका
दुध, दही,
खीर खान दिए । जाने बेलामा ती बालयोगीले भने “राजकुमार, म तिम्रो सेवाबाट अति प्रसन्न भएँ । तिमी गोरखाका राजा हुनेछौ । म पनि
तिमीसँगै गोरखामा बस्न चाहन्छु ।”
द्रव्य शाह यी बालयोगीको कुरा सुनेर छक्क परे । जेठा
दाजु हुँदाहुँदै म कसरी राजा हुन सकुँला र ? उनको मनले यो कुरा मानेन । तर
पनि बालयोगीको भविष्यवाणी निरर्थक पनि त नहोला भनी उनी आशावादी भए । एककान, दुईकान, मैदान हुँदै यो खबर यशोब्रम्ह शाहको दरबारमा पनि
पुग्यो । रानी बसन्तावतीले राजा यशोब्रम्ह शाहलाई भनिन् “महाराज, द्रव्य शाह गर्भमा रहँदा मैले सूर्य निलेको सपना देखेकी थिएँ । यस्तो बालक
भविष्यमा राजा हुन्छ भन्ने सुनेकी पनि थिएँ । अहिले बालयोगीले पनि त्यही कुरा भने
। जेठा राजकुमार सक्षम हुँदाहुँदै कान्छालाई राजा बनाउने कुरै भएन । दरबारमा सँगै
रहँदा यी दुई बिच मनमुटाव हुन सक्छ । त्यसैले यी दुई भाइलाई सकभर आमुन्ने सामुन्ने
पर्न नदिने पो हो कि ?” राजाले भने “महारानी, तिमीले सोचे जस्तो अनिस्ट नहुन पनि सक्छ । तापनि यी दुईलाई सकभर टाढै राख्ने
बन्दोवस्त मैले मिलाएको छु । कान्छा अहिले गोठमा छन् । जेठा दरबारमा छन् ।
टाढाटाढा नै रहेका छन् । पछि उनले गोठमा नबस्ने विचार गरे भने उनलाई हाम्रै
राज्यको दक्षिणी भागमा रहेको रागिनासको रक्षक बनाई पठाइदिउँला । आखिर माइला राजकुमारले
उत्तरतर्फको पुस्तुनको रक्षा गर्दै आएका छन् । मेरो विचार तिमीलाई कस्तो लाग्यो ?” बसन्तावतीले भनिन् “महाराज, हजुरको योजना साह्रै
राम्रो रहेछ ।” दरबारबाट गोठमा आई बसेको
निकै समय भएका हुनाले द्रव्य शाह दरबार फर्किए । त्यसको केही समयपछि राजाले उनलाई रागिनासकोटको
उमराव (रक्षक) का रूपमा खटाए । उनी त्यतैतिर लागे । लमजुङभन्दा पूर्वपट्टि
उपल्लोकोट, माझकोट, लिगलिगकोट जस्ता राज्यहरूमा
मगर राजाहरूले राज्य गर्ने गर्दथे । यहाँका प्रजाहरूमध्ये धेरै जसो मगर नै थिए ।
माझकोटका राजा मानसिंह मगर बाहेकका अन्य जातिका मानिस आफ्नो राज्यमा नबसुन् भन्ने
चाहाना राख्दथे । त्यसैले यहाँका तागाधारी भने उनीसँग केही रुष्ट नै देखिन्थे ।
त्यतिबेला लिगलिग कोटमा दौडेर राजा हुने अनौंठो चलन
थियो । हरेक वर्ष दशैंको टीकाको दिन चेपे नदीको किनारमा मानिसहरू जम्मा हुन्थे ।
खसीबोका,
सुँगुर काटी मासु खाएर रमाइलो गर्दथे । त्यस पछि नदी किनारबाट लिगलिग कोटतर्फ
दौडने गर्दथे । यसरी दौडदा जो पहिले लिगलिगकोटको राजगद्दिमा पुग्न सक्दथ्यो, उही नै त्यहाँको राजा बन्दथ्यो र सबैले उसलाई मान्नु पर्दथ्यो । यसरी दौडनेहरू
मध्ये अधिकांश मगरहरू नै हुने गर्दथे । मगर राज्यमा आफुप्रति गरिएको भेदभावका कारण
त्यहाँका तागाधारीहरूले द्रव्य शाहलाई पनि उक्त दौडमा भाग लिई सबैलाई जितेर लिगलिगकोटको
राजा बन्न आग्रह गरे। चेपे नदीको
पश्चिमपट्टि रागिनासकोटको रक्षार्थ खटिएका द्रव्य शाहलाई यो कुरा उचित नै लाग्यो र
उनी राजा बन्ने त्यस दौडमा सहभागी भए । मगरहरू रमाइलाका लागि दौडिएका थिए भने द्रव्य शाह जितेर राजा हुन कै लागि
दौडेका थिए । त्यसैले उनी नै लिगलिगकोटको दरबारमा पुगी राज्य सिंहासनमा बस्न पुगे
। नचाहेरै भए पनि सबैले उनलाई एक वर्षका लागि राजा मान्न करै लाग्यो ।
मगर राजाहरूको बिचमा क्षेत्री राजा भएकोमा कतिपयलाई
मन परेको थिएन भने द्रव्य शाह र उनका सहयोगीहरू लिगलिग पछि तल्लोकोट, माझकोट समेतमा विजय प्राप्त गर्न चाहान्थे । यसका लागि आवश्यक पर्ने
हातहतियारको बन्दोबस्त पनि द्रव्य शाहले
गर्दै गए । र अन्त्यमा उनले तल्लोकोट, माझकोट, उपल्लोकोट, सिरानचोक, अजितगढ, बारपाक जस्ता ससाना राज्यहरूमा विजय प्राप्त गरी एउटै राज्य बनाई गोरखा
राज्यको प्रतिस्थापन गरे ।
यसरी दिनप्रतिदिन भाइ द्रव्य शाहले नयाँ नयाँ राज्य जोड्दै गरको देखी दाइ नरहरि शाहको मनमा शङ्का उब्जियो । तँलाई खाने बाघले मलाई पनि खान्छ भनेझैं भाइको विजय उन्माद लमजुङतर्फ मोडिने पो हो कि ? भन्ने चिन्तामा उनी रहे । त्यतिबेलासम्म महाराज यशोब्रम्ह शाहको मृत्यु भइसकेको हुनाले उनी लमजुङका राजा भएका थिए । उनले यो चिन्ता मुमा महारानी बसन्तावती समक्ष प्रकट गरे । उनले भने “मुमा हजुर, द्रव्य शाह लमजुङका राजकुमार हुन् । उनले जे जति राज्य जोडे, त्यसमा लमजुङको हक लाग्छ । अहिले म लमजुङका राजा भएकाले चेपे पूर्वका राज्यहरू लमजुङकै अधिन मानिनु पर्छ या मेरो भागमा लमजुङ र माझकोट, माइला भाइको भागमा उपल्लोकोट र कान्छालाई लिगलिगकोटको राजा बनाउँदा कसो होला ?” रानीले भनिन् “जे जसरी भए पनि कान्छाले आफ्नै बाहुबलले ती राज्यहरू जोडेका हुन् । त्यसैले तिमी यसमा आँखा नगाड, बरु तिमी दुई दाजुभाइका बिच झैझगडा नहोस् भनी म सिमाना भने बाँधिदिन्छु । ”
यसरी दिनप्रतिदिन भाइ द्रव्य शाहले नयाँ नयाँ राज्य जोड्दै गरको देखी दाइ नरहरि शाहको मनमा शङ्का उब्जियो । तँलाई खाने बाघले मलाई पनि खान्छ भनेझैं भाइको विजय उन्माद लमजुङतर्फ मोडिने पो हो कि ? भन्ने चिन्तामा उनी रहे । त्यतिबेलासम्म महाराज यशोब्रम्ह शाहको मृत्यु भइसकेको हुनाले उनी लमजुङका राजा भएका थिए । उनले यो चिन्ता मुमा महारानी बसन्तावती समक्ष प्रकट गरे । उनले भने “मुमा हजुर, द्रव्य शाह लमजुङका राजकुमार हुन् । उनले जे जति राज्य जोडे, त्यसमा लमजुङको हक लाग्छ । अहिले म लमजुङका राजा भएकाले चेपे पूर्वका राज्यहरू लमजुङकै अधिन मानिनु पर्छ या मेरो भागमा लमजुङ र माझकोट, माइला भाइको भागमा उपल्लोकोट र कान्छालाई लिगलिगकोटको राजा बनाउँदा कसो होला ?” रानीले भनिन् “जे जसरी भए पनि कान्छाले आफ्नै बाहुबलले ती राज्यहरू जोडेका हुन् । त्यसैले तिमी यसमा आँखा नगाड, बरु तिमी दुई दाजुभाइका बिच झैझगडा नहोस् भनी म सिमाना भने बाँधिदिन्छु । ”
यसपछि महारानी बसन्तावतीले चेपे नदीमा दुवै छोरा
नरहरि शाह र द्रव्य शाहलाई बोलाइन् । उनले लमजुङ र गोरखा तर्फको माटो हातमा लिँदै
भनिन् “यी दुवै राज्यका माटो मेरो लागि शिवजीको भष्म झैं पवित्र छ । आजका मितिदेखि
तिमीहरू दुवै दाजुभाइले खराब विचारले यो चेपे नदी पार गरेमा मलाई मारे सरहको पाप
लाग्नेछ । तिमीहरू दुवै मेरै कोखबाट जन्मिई, स्तनपान गरी हुर्केका मेरा
सन्तान हौँ । दाजुभाइका बिच कुनै किसिमको झैझगडा भई एकले अर्कालाई समाप्त गर्ने
सोच राखेमा या काम गरेमा आमाको रगत खाए बराबरको पाप लाग्ने छ ।” यति भनी
बसन्तावतीले चेपे नदीमा आफ्नो हातको औंला काटी रगत बगाइन् (कसैले कहन्छन्
बसन्तावतीले आफ्नो स्तन चोपेकी थिइन्) । यसरी उनले दुवै राज्यको सीमा बाँधिदिइन् ।
उनको यस सीमालाई नरहरि र द्रव्य शाहले मात्र हैन, उनी पछिका सन्तानहरूले
पनि मान्दै आए र लमजुङ १८४० तिरमात्रै
एकिकरण भई सिङ्गो नेपालमा गाभियो । यसरी द्रव्य शाहले नयाँ राज्यको स्थापना त गरे
तर कुलदेवता भने त लमजुङमा नै थिए । कुलदेवतालाई लिन जान पनि आमाको श्रापका कारण
सम्भव भएन । अब के गर्ने < उनी बडो धर्मसङ्कटमा परे ।
उनले आफ्ना कुल देवता काली, भैरव र गोरखनाथलाई सम्झे । उनीहरूको बासस्थान त
लमजुङ दरबारमै थियो । त्यहाँबाट मुर्ति गोरखामा स्थापना गर्न सम्भव भएन । त्यसैले
गोरखनाथले सपनामा उनलाई भने ‘तिमी यहाँ काली र मेरो मन्दिर बनाऊ । हाम्रो स्वरूप
लमजुङमै रहे पनि त्यसको केही शक्ति भने गोरखामा नै रहने व्यवस्था हुने छ । लमजुङ
नगई कुल देवताको आगमन गोरखामा नै हुने भएकाले द्रव्य शाह निकै प्रसन्न देखिए । उनले
गोरखनाथको मन्दिर त्यहीँ स्थापना
गरे । गुरु गोरखनाथ लमजुङबाट गोरखामा आई बस्न थाले ।
अब लमजुङमा मुख्यतः काली र भैरव मात्र बाँकी भए ।
लमजुङ दरबारमा बाँकी रहेकी कालीको नित्य पूजाका साथै चैते दशैं अर्थात चैत्र
अष्ठमी र ठुलो दशैं अर्थात आश्विन शुक्ल दशमीका दिन विशेष पूजा हुने प्रचलन भने
यथावत् नै थियो । त्यसै गरी नजिकै रहेका भैरवलाई पनि बलि दिई पूजा गर्ने गरिएकै
थियो । यी दुई देवी देवतालाई गोरखनाथले आफ्नो वशमा पारेका थिए । अब गोरखनाथ गोरखा
गए पछि भैरवको उदण्डता लमजुङमा सुरु भयो । उनी प्रसस्त जाँड रक्सि खाँदै कालीमाथि
दुवर््यवहार गर्न थाले । उन्मत भई मातिएका
भैरव कसैलाई नटेर्ने भए । त्यहाँका पुजारीसमेत उनको व्यवहार देखेर दुखी भए भने
काली अझ त्रसित भइन् ।
एक दिन कालीले वरपरका सम्पूर्ण देवीदेवताहरूको भेला
बोलाइन् । उनले उन्मत भैरवका नराम्रा व्यवहारबाट आपूmमात्र नभई अन्य देवदेवता र मानव समुदायसमेत त्रसित हुन थालेकाले उनको यो
व्यवहार कसरी सुधार्ने होला भन्ने विषयमा छलफल थालिन् । भैरवजस्ता उग्र देवतालाई
वशमा राख्न सक्ने क्षमता त्यहाँ भएका देवी देवता कसैसँग पनि थिएन । त्यसैले उनीहरूले भने “गोरखनाथ यहाँ
नभएर नै भैरव यसरी उम्लिएका हुन् । उनलाई नियण्त्रणमा राख्न सक्ने क्षमता
गोरखनाथमा मात्र छ । त्यसैले उनको आराधना गरी यहाँ आव्हान गरौं ।” देव सभाबाट यस्तै निर्णय भएकाले गोरखनाथलाई दैवी शक्तिकै
आधारमा त्यहाँ आव्हान गरियो । उनी पनि गोरखाबाट लमजुङ पुगे । आपूm सधैं लमजुङमा बसी भैरवको कुकृत्यलाई नियण्त्रण गर्न नसक्ने भएकाले आफ्ना गुरु
मच्छेन्द्रनाथसँग अनुरोध गरी उनलाई यहाँ पठाइदिने वाचा गरे । यही टुङ्गो सहित देव
सभाको अन्त्य भयो ।
यसको केही समयपछि नभन्दै मच्छेन्द्रनाथको आगमन लमजुङ
दरबारको परिसरमा रहेको मन्दिरमा भयो । उनको अगाडि भैरवको उदण्ड स्वभाव टिक्न
सकेन । उनी क्रमशः सुध्रिदै गए । रक्सि खाई कालीप्रति नराम्रो दृष्टिले हेर्ने
उनको बानी क्रमशः हट्दै गयो । मच्छेन्द्रनाथको यस कार्यप्रति सबै देवी देवताहरू
खुसी भए । पुजाका समयमा पनि रक्सि नै
खोज्ने भैरव अब दहीमा नै चित्त बुझाउने भए । भन्ने किंवदन्ती रहुँदै आएको छ ।
त्यही भएर अहिले पनि लमजुङ दरबारको परिसरभित्र केही
पर भैरवको मुर्तिलाई रक्सि र बलि दिइन्छ । भैरवको मन्दिरभित्र भने भक्तजनले चैते
दशैं र ठुलो दशैंको अष्टमीका दिन
घरबाट ल्याएको चामलको पिठोबाट रोटी बनाई भैरवलाई चढाउने गरिन्छ र सोही रोटी
प्रसादका रूपमा बाँड्ने पनि गरिँदै आएको छ । अहिले पनि बोहोरा, कुँवर थरका क्षेत्री तथा मगरहरू यहाँका पुजारीका रूपमा रहँदै आएका छन् ।
पुजारीहरूले वर्षको दुईपल्ट पारिश्रमिकसमेत प्राप्त गर्दै आएका छन् र पूजाको
प्रचलन अध्यावधि चलिरहेकै छ ।