अप्रमाणित ‘दिव्योपदेश’ !
लिखित वाङ्मयमा अतिप्रशंसित पृथ्वीनारायणको
नायकत्व र उनको ‘दिव्योपदेश’ लाई लोकसाहित्यले पुष्टि गर्दैन ।
संसारमा जति ठूला घटना हुन्छन्, त्यति नै ठूलो लोकहल्ली चल्छ । ठूल्ठूला संकट, युद्ध, महामारी, भुइँचालो आदिको प्रतिविम्बन लोकसाहित्यमा
पाइन्छ ।
औपचारिक अभिलेखहरूमा
नभेटिने इतिहास उखानटुक्का, किस्साकहानी, लोककथा, लोकगीतमा बाँचेको हुन्छ । औपचारिक इतिहासमा आख्यान र यथार्थ (फिक्सन एन्ड रियालिटी) को साँठगाँठ हुने गर्छ । कतिपय इतिहासकार त लेखिएको इतिहासमा भन्दा कहिलेकाहीँ दन्त्यकथा, लोककथा वा लोकगीतमा सत्यको मात्रा बेसी हुने
बताउँछन् । दुनियाँका शक्तिशाली व्यक्तिबारे लिखित सामग्री मात्रै हुँदैनन्, किंवदन्ती र ‘पपुलर गसिप’ पनि अनेक हुन्छन् । नेपाली इतिहासमा सबैभन्दा बढी चर्चा पाएका राजा पृथ्वीनारायण शाह र उनले चलाएको राज्यविस्तारको स्थान लोकसाहित्यमा कति छ त ? यतातिर
राजनीतिक इतिहासकार र साहित्यका इतिहासकारले खासै कलम चलाएको पाइँदैन ।
लोकितिहास र मौखिक
इतिहास नेपालमा खासै विमर्शमा छैन । लोकजीवनबाट इतिहास अध्ययनका सन्दर्भ–सामग्री बटुल्ने र त्यसआधारमा समाज र राजनीतिको यथार्थ विकासक्रम बुझ्ने पद्धति विकास नभएकाले
राज्यले स्थापित गरेका मूल्यहरूप्रति प्रश्न र सन्देह गर्ने परिपाटी पनि कमजोर छ । गम्भीर र सचेत इतिहासकारहरू लोककथा, लोकगीत, उखानटुक्काभित्र पनि इतिहासको सच्चाइ गढेको
देख्न सक्छन् । शासकले कपेका शिलालेख वा लालमोहर लागेका कागज मात्रै खोजखन्तर गरेर जनइतिहासको
यथार्थ भेउ पाइँदैन । यो पृथ्वीनारायण शाहको अध्ययनमा पनि लागू हुन्छ ।
नेपाली समाजमा उपलब्ध
लोकसाहित्यलाई आधार बनाएर पृथ्वीनारायण शाहको वस्तुगत भूमिका खोज्न बाँकी छ । उनीबारे नेपालको शासकीय राजनीतिले र राज्य स्वयंले जुन स्तरमा महिमामण्डन गरेको छ, त्यसलाई हालसम्म संकलन गरिएका लोककथा, लोकगीत, लोकगाथा र लोकपद्यहरूले पुष्टि गर्दैनन् । मोतीलाल पराजुलीको ‘नेपाली लोकगाथा’ (२०४९) र जीवेन्द्रदेव गिरीले विभिन्न संकलनबाट एकत्रित पारेर सम्पादन गरेको ‘हाम्रा लोकगाथा’ (२०५७) पुस्तकमा थुप्रै शासकका गाथा छन् । पछिल्लो पुस्तकमा
भक्ति थापा, अमरसिंह, जंगबहादुर राणा, चन्द्रशमशेर आदिका कर्खा छन् । त्यस्तै भोटसँग नेपालले गरेको लडाइँको सवाई पनि प्रसिद्ध गाथा छ । बहादुर शाहविरुद्ध लडेका गुल्मीका राजा श्रीनन्दको चाँचरी पनि गण्डकी क्षेत्रमा प्रसिद्ध छ । पुस्तकमा बाहेक विश्वयुद्धमा सहभागी लाहुरेका कथा पनि गन्धर्वहरूका गलामा
जीवितै छन् । तर, यति धेरै गाथा लोकजीवनमा भेटिँदा पृथ्वीनारायण
र उनको ‘एकता अभियान’ लाई लोकजीवनले सकारात्मक प्रक्रियाका रूपमा किन सम्झन दरकार
ठानेन ? यो प्रश्न आगामी अध्ययनका लागि महत्त्वपूर्ण छ ।
हंसपुरे सुवेदीले तयार
पारेको ‘नेपाली लोकपद्य : परिचय–विवेचना’ पुस्तकले थुप्रै लोककविता र लोकपद्य
सँगालेको छ । ‘गण्डकीका लोकपद्य’ (२०६४) नामक पुस्तकमा पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक चूडामणि खनालले पनि गण्डकी
सेरोफेरोका प्रसिद्ध सिलोकहरू टिपोट गरेका छन् । यी पुस्तकमा पनि पृथ्वीनारायणको पराक्रम वा वीरताको
चर्चा छैन, बरु
एकाध सिलोक गोर्खालीको नकारात्मक चित्रणमा केन्द्रित छन् ।
पृथ्वीनारायणकै पालाका
लिखित चाकरी–कविता वा पछिल्ला समयमा भारदारी कविले तयार पारेका रचनाको चाङको यहाँ
चर्चा गर्नु परेन किनभने हरेक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी जयन्ती’ मा
प्रभातफेरीसहित उनीप्रति समर्पित कविता–निबन्धसहितको वार्षिक संकलन छापिरहेकै छ
(अहिलेसम्म कविता मात्रै पनि डंगुर लागिसक्यो होला) । भारतमा सन् १८५७ को स्वतन्त्रता संग्रामको स्थान कति छ भन्ने म्यानेजर पाण्डेद्वारा सम्पादित त्यसै संग्रामसम्बद्ध लोकगीत संकलनबाट थाहा पाउन सकिन्छ । नेपालकै भोटसँगको लडाइँको बहुचर्चित सवाईको पनि माथि चर्चा गरिसकियो । पृथ्वीनारायणपछिका शासकहरूले नेतृत्व गर्दाको गोर्खा राज्य, गोर्खालीहरूको
बहादुरी, गोर्खाली
सिपाहीबारे पनि लोकजीवनमा फाट्टफुट्ट किंवदन्ती र कथा भेटिन्छन् । तर, पृथ्वीनारायणबारे किन कुनै लोकोक्ति नबनेको
होला ? सामूहिकताको प्रतिनिधित्व गर्ने लोकरचनामा
पृथ्वीनारायण किन स्थापित छैनन् ? यो
रोचक सन्दर्भ हो ।
अर्को सन्देहास्पद
सन्दर्भ छ– ‘दिव्योपदेश’ को । पछिल्लो सात/आठ दशकमा राज्यकै अगुवाइमा बहुप्रसारित यस लिखतबारे इतिहासकारहरूले
अनेकपटक आशंका प्रकट गरिसकेका छन् । पृथ्वीनारायणको मृत्यु १८३१ सालमा भयो । त्यसको १६० वर्षपछि अर्थात् १९९० सालको भुइँचालोपछि यस व्याख्यानको हस्तलिखित प्रति बाबुराम आचार्यले सरदार शिवरामसिंह बस्नेतको दरसन्तान बखतमानसिंह बस्नेतबाट हात पारेको आचार्यका छोरा
श्रीकृष्ण आचार्यले लेखेका छन् । प्रश्न उठ्छ— डेढ सय वर्षसम्म यो व्याख्यान कसरी विलुप्त भयो ? अनि यसलाई कसले उतारको थियो ? कसले पटकपटक सारेको थियो ? इतिहासकार प्रत्युष वन्त यसबारे थप अध्ययनको खाँचो
देख्छन् । ‘१९९० सालको
भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै अर्को चीज देखा पर्दैन, यसले विभिन्न किसिमका कौतूहल जन्माउँछ’, वन्तको प्रश्न छ, ‘९० सालको भुइँचालोसम्म किन यो कतै उल्लेख भएन
वा प्रकाशमा आएन ? यसको उत्तर खोज्नुपर्छ ।’ (हेर्नुहोस् अन्तर्वार्ता) ।
२००७ सालमा राणाशासन
अन्त्य भएपछि पहिलोपटक पृथ्वीजयन्त मनाउन २००९ सालमा शाह परिवारका चौतरिया फत्यजंग
पराक्रम शाहका नेतृत्वमा समिति बन्यो । त्यस समितिमा क्रमशः उपाध्यक्ष र सदस्य–सचिव बनेका बाबुराम आचार्य र योगी नरहरिनाथको संयुक्त सम्पादनमा ‘दिव्योपदेश’ नाम दिएर पहिलोपटक प्रामाणिक संस्करण भन्दै दरबारले नै
छपाएको थियो । यसको अघिल्लो संस्करण नरहरिनाथले नै बनारसबाट ‘गोरक्ष ग्रन्थमाला’ अन्तर्गत २००९ मा छापिसकेका थिए । बाबुराम आचार्य र नरहरिनाथ राजदरबारकै योजनामा राजइतिहास लेखनमा क्रियाशील रहेका व्यक्ति हुन् । अर्का इतिहासकार राजेश गौतमले बाबुराम आचार्यकृत पृथ्वीनारायण शाहसम्बन्धी
लेखनलाई ‘दरबार बाबुराम आचार्यका मुखबाट’ बोलेको भनेका छन् । गोरखाको इतिहासका अध्येता दिनेशराज पन्त भने ‘दिव्योपदेश’ पृथ्वीनारायणकै थियो भन्ने विश्वास गर्छन् । तर, ‘दिव्योपदेश’ को हस्तलिखित कसको थियो वा कसले
तयार गरेको थियो भन्न नसकिने बताउँछन् (हेर्नुस्, अन्तर्वार्ता) । शाह राजाहरू एक से एक हुन् भन्ने देखाउन पञ्चायतकालको ‘गाउँफर्क’ अभियानका पालामा पृथ्वीनारायणको औंला ठड्याइएका मूर्ति बनाउने र महिमामण्डन गर्ने काम भएको चाहिँ उनी स्विकार्छन् ।
बाबुराम आचार्यले
भेट्टाएको, सूर्यविक्रम
ज्ञवाली र नरहरिनाथलाई दिन उनैले सारेको, दरबारले बनाएको समितिमा बसेर संशोधन गरेको
(श्रीकृष्ण आचार्यका अनुसार) ‘दिव्योपदेश’ को मूलपाठ कुन हो ? यसका पाठान्तर कतिवटा छन् ? यो कसले तयार गरेको भन्ने विषयमा पुनर्परीक्षण
हुन बाँकी छ । कतिपय इतिहासकारले सन्देह गरेजस्तै यो ‘पृथ्वीनारायण शाहका काँधमा राखेर चलाइएको बन्दूक’ त होइन ? अध्ययन बाँकी रहेको र पुष्टि नभइसकेका कारण
धेरै इतिहासकार यसबारे बोल्न हिच्किचाउँछन् । तर, प्रश्न उठ्नु स्वाभाविक छ— के ‘दिव्योपदेश’
पृथ्वीनारायणकै आत्मकथा हो त ? कि
बाबुराम आचार्य, नरहरिनाथलगायत
शाहखलकप्रेमी भारदारी इतिहासकारहरूले जोडजाड पारेर पृथ्वीनारायणका हातमा राखिदिएका
हुन् ? अहिले भन्ने गरिएजस्तो त्यति लोकप्रिय प्रवचन
उनले दिएकै हुन् भने पनि त्यसबारे लोकजीवनमा कहीँ न कहीँ किस्सा, किंवदन्ती वा गाथा बन्नुपर्ने भन्ने अड्कल
काट्न सकिन्छ । तर, यो बहुप्रचारित व्याख्यानलाई लोकसाहित्यले किन
पुष्टि गर्दैन ?
यी प्रश्नको उत्तर खोज्न
बस्नु सजिलो काम पक्कै होइन । त्यसका लागि सात दशकभन्दा बढी समय लगाएर राज्यले जोरजुलुमसहित स्थापित गरेका विश्वासहरूमाथि प्रश्न गर्नुपर्ने हुन्छ । यसका लागि सत्य भनिएका लिखित सामग्रीको तुलनात्मक र भाषावैज्ञानिक अध्ययनको खाँचो छ । अनि, लिखित दस्तावेजहरूको मात्रै चिन्ता गरेर
मन्त्रालयका फाइल गन्ने वा अड्डाका ढड्डा पल्टाउने उपक्रमबाट बाहिरिनुपर्ने हुन्छ । लोकजीवन र मौखिक स्रोतहरूको विशाल संसारमा विचरण गर्ने प्रतिबद्धताबिना इतिहासको पुनर्परीक्षण गर्न कठिन छ । त्यो कठिनाइ झेल्न तयार इतिहासकारहरूका लागि लोकसाहित्यका हालसम्म भेटिएका सुरुआती रचना ढोका हुन सक्छन्, जसमा
गोरखाली राजाको अलोकप्रियता पनि चित्रण छ । गण्डकी प्रदेशतिर गाइने त्यस्ता एकाध सिलोक र
चुड्काहरूले गोर्खाली राजालाई धन बटुल्न (लुट्न ?) हिँड्ने व्यक्ति भन्छन् । जस्तै :
डाङ्डाङ् र डुङ्डुङ डरलाग्दा बाजा
राती–राती हिँड्ने गोर्खाली राजा
गोर्खाली राजालाई धनैले पुगेन
बाहुनका छोरालाई टन्टाले टुटेन ।(हंसपुरे सुवेदी, पृ. ६०)
सिरुवारी भारते
रातो भाले काटथे
गोर्खाली आउँदा– ढाकछोप गरथे
लमजुङे आउँदा– बाँडिचुँडी खानथे ! (उही, पृ. १५०)
डाङ्डाङ् र डुङ्डुङ डरलाग्दा बाजा
राती–राती हिँड्ने गोर्खाली राजा
गोर्खाली राजालाई धनैले पुगेन
बाहुनका छोरालाई टन्टाले टुटेन ।(हंसपुरे सुवेदी, पृ. ६०)
सिरुवारी भारते
रातो भाले काटथे
गोर्खाली आउँदा– ढाकछोप गरथे
लमजुङे आउँदा– बाँडिचुँडी खानथे ! (उही, पृ. १५०)
लोक जीवनमा उपलब्ध मौखिक
स्रोतहरू जनइतिहासका अनिवार्य स्रोत हुन् । किनभने लिखित इतिहासको मूल हिस्सा दुई–चार जना शासकका वृत्तान्तमा खर्चिएको छ, जसले अगणित शासितजनलाई निषेध गरिरहेको हुन्छ । भारतीय इतिहासकार लालबहादुर बर्मा भन्छन्, ‘लिखित
स्रोतहरूमा मुख्यतः समाजको उच्च शासकवर्ग परिलक्षित हुन्छ ।... लिखित शब्द शासकहरूको हतियार बनेर शासितहरूलाई निःशब्द पारिदिन्छ ।’ नेपालमा पनि शासकका घोषणा, अभिलेख, लेखोट र उनीहरूसम्बद्ध तिथिमितिको हिसाबकिताब
राख्नेहरू नै इतिहासकार भनेर चिनिन्छन् ।
तिनले राज्यले स्थापित
गरेका मान्यतामाथि प्रश्न गर्ने आँट गर्दैनन्, बरु त्यसैलाई एक मात्र सत्य मानेर प्रश्नलाई
निषेध गर्छन् । तर, प्रश्न र सन्देह लोकतन्त्रमा सही उत्तर खोज्ने
प्रारम्भिक विन्दु हो भने सत्यको पुनर्परीक्षण गर्ने आधार पनि हो । त्यसकारण पृथ्वीनारायणको महत्ता वा उनको ‘दिव्योपदेश’ को प्रामाणिकताबारे पुनः प्रश्न उठ्दा इतिहास अध्ययनको फलकले विस्तार हुने मौका पाउँछ । बरु प्रश्नलाई निषेध वा ढाकछोप गर्दा खोज र आविष्कारका ढोका बन्द हुन्छन् ।
@SangeetSrota,
प्रकाशित : पुस २६, २०७६ ११:०४
@SangeetSrota,
प्रकाशित : पुस २६, २०७६ ११:०४