Tuesday, January 21, 2020

माझी नगरीमा स्वागत


‘तपाईंलाई माझी नगरीमा स्वागत छ’
अनिश तिवारी, कान्तीपुर, पुस ६, २०७६,
(सिन्धुपाल्चोक) — झ्याडीखोला छेउ एक ल।हरमा चिटिक्क परेका सामूहिक घर देखिन्छन् । फिक्का रातो र सेतो रङले पोतिएको एकैखालका आवास हेर्दा कुनै भव्य नगरीजस्तो प्रतीत हुन्छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलको घना जंगलबीच छ, यो बस्ती । श्वेता फाउन्डेसनको समन्वयमा माझी परिवारका लागि ठड्याइएको ५३ घरधुरीमा पुग्ने जोकोहीले पनि फूलमालासहित माझी भाषामै न्यानो स्वागत पाइहाल्छन्— ‘ताहरूलाई नगर स्वागत आछु (तपाईंहरूलाई माझी नगरीमा स्वागत छ ।)’
माझी बस्ती ०७२ को भूकम्पले ध्वस्त बनायो । एक वृद्धासहित दर्जनौं घाइते भए । तीन वर्ष थोत्रो टहरामा रातदिन बिताएका माझी परिवार चार वर्षपछि एकीकृत बस्ती पाउँदा निकै हर्षित छन् । चौतारा साँगाचोकगढी–१४ की मैया माझीलाई बस्ती देख्दा सपनाजस्तै लाग्छ । पुरानो घरजस्तो परम्परागत बुइँगल र सबै मिलेको नभए पनि भूकम्पप्रतिरोधी घर पाउँदा उनी दंग छिन् । २८ रोपनी क्षेत्रफलमा बसाइएको बस्तीमा तीन आनामा एउटा घर बनेको छ । घरपिच्छे तीन कोठा र एक शौचालय छ । ‘परम्परागत माटो–ढुंगाजत्तिकै न्यानो त कहाँ हुन्थ्यो र तर, हेर्दा निकै आकर्षक देखिन्छ,’ माझीले भनिन् ।

अभिनेत्री श्वेता खड्काले दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेता श्री फाउन्डेसनबाट नमुना बस्ती बनाउने घोषणा गरेकी थिइन् । ०७४ जेठ १५ बाट स्थानीय माझीहरूकै समितिबाट थालिएको बस्ती निर्माण आवास अनुदान, सडक अवरोधलगायत समस्याले लामो समय अलमलियो । अभिनेत्री खड्काबाट ४० लाख र उक्त फाउन्डेसनको २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने सर्तमा चालु पुँजीको रूपमा परिचालन गरिएको फाउन्डेसनका प्राविधिक निराजन सापकोटाले बताए ।

अहिले यहाँ बालबगैंचा, सामुदायिक भवन, वाटर फाउन्टेन, स्वास्थ्य चौकीलगायचका संरचना बनाइँदै छ । ‘दायाँबायाँ पर्खाल र सडक निर्माणको काम भइरहेको छ । बनिसकेको बस्ती बीचबाट धमाधम कच्ची सडक छिचोलिँदै छ,’ झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले भने । उनका अनुसार केही दसैंको फूलपातीका दिन नयाँ घर सरेका छन्, कोही घरको भित्री संरचना सक्ने पर्खाइमा छन् । दुई घरबाहेक अन्यको भित्री संरचना तयार भइसकेको अध्यक्ष माझीले बताए ।

यहाँको उपभोक्ता समितिले प्रत्येक घर बनाउने जिम्मा लिएको थियो । जसमा केही गाउँलेले काम गरिरहेका छन् । माटो ढुंगाको घर मन पराए पनि अहिलेको घर सुरक्षित हुने माझी परिवारको बुझाइ छ ।

किस्ता कसरी तिर्नु ?
झ्याडी टोलकी चन्द्रमाया माझीलाई महिनामै सात हजार रुपैयाँ किस्ता बुझाउने कुराले पिरोल्ने गर्छ । भूकम्पपीडितका सरकारले दिएको तीन लाखमा उनले चार लाख ऋण लिएर एकीकृत बस्तीको घर टुंग्याइन् । ‘बस्तीमा बनेको घरको लालपुर्जा चौताराको लक्ष्मी बैंकमा राखेर ऋण निकालियो, महिनापिच्छै सात हजार तिर्न गाह्रो छ,’ उनले भनिन् । श्वेता फाउन्डेसनले अगुवाइमा झ्याडीटोल सुधार समितिले ऋणको व्यवस्था मिलाएपछि आवास बनाएको उनले सुनाइन् ।

५३ घरमा अधिकाशंले चौतारास्थित लक्ष्मी बैंकबाट चार लाख ऋण निकालेर आवास बनाएका हुन् । कतिले त मासिक १० हजारसम्म किस्ता तिर्छन् । माछा मार्ने, बालुवा झिक्नेजस्ता काम गरेर महिनामा सात/१० हजार जुटाउन उनीहरूलाई मुस्किल पर्छ । फाउन्डेसनका अभियन्ता यज्ञराज कार्कीले माझी परिवारलाई आयआर्जनको योजना बनाएर सक्षम बनाइने दाबी गरे । ‘त्यतिखेर सर्तअनुसार काम भएको हो, उहाँहरूलाई आयका कार्यक्रम बनाउने योजनमा छौं,’ उनले भने ।

प्रकाशित : पुस ६, २०७६ ०९:२५


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...